May 31, 2008

माओवादीले चमत्कार नै गर्लान त ?

कामरेड प्रचण्ड र उनका चेलाचपेटाहरूको मुखबाट 'चमत्कार' शब्द निस्कन लागेको धेरै नै भयो । यसमा कुनै शंका नै छैन कि संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएर उसले एउटा चमत्कार गरिनै सकेको छ , भलै यो चमत्कार कसरी भयो भन्ने कुरामा कोही अपरिचित नभएको नै किन नहोस् ।
जनयुद्दले जनतालाई प्रताडित गरेको भनिएको हिंस्रक मिलिसिया मात्र साथमा भएको, तल्लो तहको संगठन र बौद्दिक जमात दुबैको साथ नपाएको नया पार्टी माओवादीले शान्ति प्रकृयाको पछिल्लो समयमा जे भन्यो त्यही पाउन थालेको देखेर उसको राजनीतिमा बार्गेनिङ शक्ति बढेको फाइदा उठाउन राजनीति, प्रशासन, पुलिस,सेना र पूर्व दरबारिया पक्षहरूको ठूलो अवसरवादी समूह माओवादीतर्फ आकर्षित बनेको कुरा नकार्न सकिन्न । यथार्थ पनि त्यस्तै थियो किनभने अन्तरिम समयमा , सत्तामा मुख्य भूमिका निभाइरहेका कांग्रेस र एमाले यति निरिह देखिन्थे कि माओवादीले जे चाय्हो त्यही गर्न सक्ने स्थिति सर्वत्र बनेको प्रतीत हुन्थ्यो । सरकारी सेना र पुलिस कहाँ र कुन संसारमा आराम गर्दै छन् जस्तो भान हुन्थ्यो तर चर्चा देखि सडक अनि घर घरमa माओवादी छापामार र वाइसिएलका गतिबिधिको एकछत्रपन कायम भएको थियो । त्यो समयमा माओवादीले वा वाइसिएलले गरेका ज्यादतिको कुरा गर्‍यो भने , शान्ति प्रकृया खलबलिन्छ भनेर सतर्कता अपनाउन पर्ने बाध्यता छ भनिन्थ्यो । साँच्चै भन्ने हो भने ठूलो स्वरमा हाच्छ्यूँ गर्दा पनि घरघरमा 'नानि उठ्ला है' भनेर हैन 'शान्ति प्रकृया खलबलिएला नि' भन्ने एक खालको जोक नै चलेको थियो । एकपटक त माओवादीहरू सबैले सरकारबाट राजीनामा गरेर बाँकि पक्षहरूलाई आँफूले जे ह्यो त्यही गर्न सक्ने कुराको पाठ पढायो , अनि बर्षे बिदाको गृहकार्य गरेर फेरि सरकारमा फर्कियो पनि । यो घटनाले पनि माओवादीले आफ्नो इशारामा अरूलाई सजिलै चलाउन र नचाउन सकिन्छ भन्ने सोचमा आश्वस्त बनायो ।सायद हिंसात्मक शक्तिलाई शान्ति प्रकृयामा बनाइराख्न यो आवश्यक थियो होला , तर अरूको यो कमजोडीलाई सदैव आफ्नो पक्षमा उपयोग गर्ने बठ्याइँमा उसले अरू शक्तिलाई हाकाहाकी ऊल्लू बनाइरह्यो । अर्कोतिर 'निर्वाचन त हाम्रै हो र भएमा हामीले नै जितिन्छ' भनेर बिना तयारी नै मख्ख परेर माओवादी आतंक र आफ्नै अकर्मण्यतामा र दुष्कर्मयुक्त पात्रको कारण ध्वस्त बनिसकेको स्थानीय सांगठनिकतमा नदारद कांग्रेस एमालेले केवल माओवादीलाई संलग्न गराई चुनाबमा जाने कुरालाई मात्र आफ्नो सफलता देख्न र ठान्न थाले , तर माओवादीले ग्रामीण समाजको अन्तस्तह सम्मको जनमनोविज्ञानमा कुन हस्र र सिर्जना गरेको छ भन्ने कुरा बुझ्न उनीहरूले कहिलै तयारी देखाएनन् । फलत: परिणाम कहाँ पुग्यो देखिएको छ । कांग्रेस र एमाले मात्र हैन यो परिणामले नेपाली उदारवादी लोकतन्त्रका पक्षमा उभिनेहरूलाई समेत हतप्रभ बनाएकोमा शंका छैन ।यो डर र शंका माओवादी एउटा दल विशेषको विजयले मात्र कदापि हैन, यसका प्रवृत्तिगत र
व्यवहारिक कारणहरू छन:

(१) माओवादी पार्टी , मिलिसिया र छापामारहरूमा एकदलीय कम्युनिष्ट अधिनायकवादप्रतिको अगाध मोह हुनु र अरू राजनीतिक पार्टी र तिनका समर्थक वा कार्यकर्ताप्रति चरम असहिष्णुपन विद्यमान हुनु । साथै आँफूलाई एउटा राजनैतिक दल विशेषप्रति लागेको संगठनको रूपमा बुझ्न नचाहने र समग्र मुलुकको एकल मसिहा र सबै जनताको एकल प्रतिनिधि आँफूमात्र हौँ भन्ठान्ने सर्वसत्तावादी सोच र चरित्र ।
(२) एउटा राजनितिक पार्टिको रूपमा सांगठनिक ढाँचा निर्माणबाट रुपान्तरित बन्न नचाहने बरू , सैनिक र अर्धसैनिक संरचना र चरित्रलाई जबर्जस्ति अरूमाथी राजनैतिक नै हो भन्ने ढंगले लादेर बाहुबली शैलिमा हरेक कुरा प्रमाणित गर्न चाहने व्यवहार ।

(३) कार्य र व्यवहारमा एकरूपता देखाउन नचाहने अनि निश्चित उद्देश्यका लागि आँफूलाई नरम देखाए झैँ गर्दै फेरि हामि त त्यस्तो हैनौँ तर निश्चित रणनीतिका लागि त्यसो गरेका थियौँ भन्ने अस्थिर र बेइमान चरित्र । अनि हालका लचकताहरूलाई भोलिको अर्को फड्को मार्ने कामका लागि उपयोग गरेका हौँ भन्ने कार्यव्यवहार ।

( ४) आँफूले अनुकूल ठानको खण्डमा कम्युनिष्ट अधिनायकवादमा जान चाहने उसको खुला घोषणा ।

यी कारणहरूको फेहरिस्त धेरै लामो हुनसक्छ ।

केही प्रमाण स्वरूप कुरा गर्दा गणतन्त्रको लगभग सर्वसम्मत घोषणा भएको भोलिपल्ट नै कामरेड प्रचण्ड र उनका पार्टि शिर्ष्स्थहरूको भनाइ अरू सहकर्मी दलहरूप्रति एकाएक असहिष्णु देखापरेको छ । अरू दलहरू आफ्नो वर्तमान पराजय भन्दा भोलिको सम्भावित माओवादीले शुरू गर्ने तानाशाही पद्दतिका कारणले डराएका छन् भन्ने उसलाई थाहा नभएको हैन। यस्तोमा राजतन्त्रीय सामन्तवादबाट उम्केर नेपाल र नेपाली अर्को एकाधिकारवादी अधिनायकवादको ताड्नामा फँस्न सक्ने सम्बावना उत्तिकै छ । अहिले ब्यारेकमा बसेका पार्टी राजनितिबाट दिक्षित मिलिसिया छापामार र वाइसिएल आतंकको छायाँमा भएको चुनाबले त यस्तो हालत बनायो भने भोलि माओवादि शासनमा , माओवादी सरकार, उसका पार्टी पुलिस र सेना अनि सरकारी सेना र पुलिसमा समेत समाहित गरिएका छापामारहरूको मातहत र निगरानीको निर्वाचनको स्वतन्त्रताका बारेमा अहिले केवल अनुमान मात्र गर्न सकिन्छ, कसका लागि कति पलदायी होला र नेपाली गणन्त्रात्मक लोकतन्त्रको नियति कहाँनेर पुग्ला भनेर ।

कतिपयले नेपाली भूराजनिति र नेपाली जनताको आन्दोलित बन्न सक्ने सामर्थ्यको हवाला दिँदै, यस्ता अधिनायकवाद नटिक्ने आत्मरति राख्ने गरेको पनि पाइन्छ । तर अहिले भारतीय सद्भाव पनि खुल्लमखुल्ला माओवादी टाउकोमा आशीर्वादका हातहरू राख्न व्यग्र देखिन्छ र उसले माओवादीहरूको अचम्म लाग्दो तरफदारी हालैका दिनहरूमा गर्न थालेको देखिन्छ ।अर्कोतिर जनताको आन्दोलित बन्ने उर्जालाई पनि हरेक १० वर्षमा प्रयोग गर्न पर्ने स्थितिको निरन्तरता हेर्‍यो भने २००७ साल यताको राजनैतिक अस्थिरताको नियति हाम्रो दूर्भाग्य बनेर सदा रहिरहने देखिन्छ ।

नेपाली गणतन्त्रको औपचारिक आगमन २४० वर्षको शाह शासनको अन्त्य मात्र हैन बरू नेपालको आधुनिक इतिहासका राजतन्त्रात्मक २००० वर्षहरू जुन लेखोटमा भेट्न सकिन्छ, को अन्त्य पनि हो । सम्भवत: नेपालको राजनीतिमा यति ठूलो यु परिवर्तन भएकै छैन । तर यो परिवर्तनको गूरूतालाई अबका दिनमा दलहरूले कुन जतन अपनाएर काँध र मन थाप्न सक्ने हुन भन्ने कुराले ठूलो महत्व राख्छ भन्ने कुरामा कुनै शंका भने छैन ।

तर पनि म भित्र भने वर्तमानको उत्तेजना भन्दा भोलिको उत्कण्ठा र व्यग्रता छट्पटाएको महशूस मैले गरेको छु । सायद म आशा र निराशाको मझधारमा उभिएको छु, युग परिवर्तनको अनिश्चिततामा ।


यस्तो स्थितिमा कामरेड प्रचण्डले गणतन्त्र आएको खुशियालीमा अस्ति खुलामञ्चमा भनेका दुइटा कुराले भावी नेपालको भाग्य वा दूर्भाग्यका बारेमा बडो महत्वपूर्ण संकेत गरेका छन कि जस्तो लाग्छ :

"(१) खबरदार, कान्तिपुर ( पत्रिकालाई दिएको धम्कि) हाम्रा बारेमा लेख्दा सतर्कता अपनाउनू"
"(२) ...............नत्र भने हामी जनगणतन्त्रतिर गैदिम्ला नि "

कतै कामरेड प्रचन्डको भावुक मनले सत्य कुरा छताछुल्ल बनाएको त हैन ? मेरो कामना छ, सदा झैँ यो पनि कामरेडको अर्को बर्बराहट मात्र साबित बनोस्, सत्य नबनोस् !


भवतु सब्ब मंगलम् !!! - एकलव्य


2 Comments:

ठरकी दादा said...

एकदमै सहि र समय-सापेक्ष विश्‍लेषण !!

पहिलो कुरा त माओबादीले चमत्कार गरेका होईनन् चमत्कार भएको हो जस्तो लाग्छ मलाई । मतलव यो यौटा चमत्कार घटित भयो ।

२४० बर्षको राजतन्त्र त जनताले नचाहे नटिक्ने समयमा जनगणतन्त्रको धम्की दिनु अगाडि कामरेडले भर्खरै ईतिहास बनेको नेपाली राजतन्त्रको हविगत पनि यत्ति छिट्टै बिर्सीसकेको महशुस हुन्छ ।

म पनि चाहन्छु कि यो हाम्रा कामरेडको अर्को बर्बराहट मात्र साबित होस र सत्य नबनोस् ! तर वर्तमानमा चमत्कारका कारण मिलेको अकल्पनीय 'विजय' का कारण कामरेडहरुमा दम्भ पलाएको सजिलै देखिन्छ र यो त्यहि दम्भबाट निस्केको नेपाली जनताको मन जाँच्ने यौटा प्रयोग हो।

बिरोध भए सच्‍याउने नभए 'हत्याउने' त्यसैले "...............नत्र भने हामी जनगणतन्त्रतिर गैदिम्ला नि" भन्ने वाक्यलाई भने नेपाली जनताले गम्भिरतापूर्वक लिनुपर्छ जस्तो लाग्छ मलाई ।

Panda said...

बर्बराहट जस्तो लागे पनि कामरेडले त्यस्तो बेलामा आफ्नो पार्टीको एजेण्डा बोल्दा रैछन, शायद जनमानसमा स्टेप बाइ स्टेप आफ्नो सिद्दान्त या कार्य पहिले नै जानाकारी गाराउने र फीड ब्याक लिने प्रयास गर्ने साथै भविष्यमा उनीहरुले गर्ने कार्यलाइ जनताले सहज रुपमा लिउन भनेर "intentionally agenda leaking" गरेको जस्तो देखिन्छ उनीहरुको शैली हेर्दा ।

१० वर्ष बन्दुक बोकेर सत्ता कब्जा गर्ने उद्देश्यले जंगल पसेको पार्टी २ वर्षे सत्ताले चित्त बुझाउला जस्तो लाग्दैन । केही भइहालेन भने दलहरुको राजा भन्दा पनि लाचार स्थिति रहेको अवस्थामा कमसे कम अब अर्को दशक सम्म माओबादीले सत्ता छोड्ला जस्तो लाग्दैन । सारा शक्ति आफु माथि लाग्दा पनि जंगलबाट देश कब्जा गरेको भनिएको शक्तिले राष्ट्रिय सेना न्युट्रल बसेको अनि वैध रुपमा सत्ता नजीक पुग्ने सांचो पाएको बेलामा "विस्तारै विस्तारै" सबै हत्याउन्छन भन्ने कुरामा ढुक्क हुंदा हुन्छ । क्रान्ति र सत्ता कब्जा गर्ने भन्दा अर्को कुरा सिद्दान्तमा नभएका क्रान्तिकारीहरुले अक्टोबर क्रान्ति मात्र हैन आवश्यक देखे भने जुन, जुलाई क्रान्ति गर्न पनि पछि पर्दैनन् ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !