December 3, 2007

भयाक्रान्ता

भनिन्छ जवानीमा कविता नलेख्ने अनि प्रेमी मन नहुने मान्छे भावनात्मक रूपमा मान्छे नै हैन रे ! सत्यता को कसिमा यो भनाइको औचित्यता कति हुने हो थाहा भएन । तर स्कूल पढ्दा मेरो नेपाली विषय पढाउने गुरूसंग भएको संस्कृतका वार्णिक र मात्रिक छन्दमा लेख्न, भन्न र गाउन सक्ने काव्यिक खूबी देखेर त्यही कुराबाट प्रभावित हुन जति प्रयत्न गरे पनि , गैर संस्कृत विषय क्षेत्रको पढाइको पृष्ठभूमिले गर्दा जति कोशिसका बाबजूद छन्दमा कविता लेख्ने महारथको नजिक पुग्न पनि सकिएन । गद्य कवितालाई कविता नै नमान्ने मूर्खता त म जस्तो अदानबाट हुन हुन्न तर गद्यमा लेखेर भूपि बन्न पनि त अर्को नेपालीले सकिरहेको छैन अद्यापि ! तर छन्द र गद्य दुबै तर्फ सलल कलम बग्न सकेन भने पनि त कविता रचनामा अपूर्ण नै भइन्छ नि । गद्य कविताको गेयताको पनि आफ्नै श्रेष्ठता छ र गद्य कविताको संसारमा भरमार अभ्यास कविहरूको शिवरात्रीको पूजामा पशुपतिनाथ दर्शन गर्न लागेका धर्मभिरूको जस्तो भीडको लाम देख्न सकिन्छ तर किन हो किन माधव घिमिरेमा नै नेपाली शास्त्रीय कविताको पाङ्ग्रो कर्णको रथ झैँ अति लामो समय सम्म अड्किइराख्यो कि जस्तो लाग्न थालेको
छ मलाई त ।

यसो मन्दाक्रान्ता छन्दको प्रयोग गरी नेपाली जनजीवनको पद्दति बनिसकेको 'भय' लाई तीन श्लोकमा पुङ न पुच्छरको प्रस्तुत अकविता मार्फत प्रकट गर्दै, छन्द , तिमीप्रति मेरो मनमा प्रशस्त अनुराग छ है भन्न खोजेको छु ।

भयाक्रान्ता

आगो मुस्लो विपुल बलले फैलियो राप छर्दै
हाम्रा राम्रा सुदिन सब हूंकार सादृश्य भर्दै
गाऊँ सारा रगत भलले हेर सारा बगायो
हेर्दा हेर्दै सबजन ढले साथ तिम्रो हरायो ॥

भोग्थ्यौँ आफ्ना सुख दुख मिली वैर हाम्रो थिएन
हास्थ्यौँ खेल्थ्यौँ रमझम गरी चैन बाँकी रहेन
हाम्रा सारा सुख दुख कठै भोग्न आँफै सकेनौँ
पायौँ खै के? सरल मनका भावनाका रहेनौँ ॥

मार्ने आफ्नै भलभल सबै रक्त धारा बगाई
मर्ने आफ्नै धरधर सदा प्रिय आफ्ना रुवाई
शत्रू आफ्नै अपनपनको मृत्यु यस्तो अचम्मै
होला खै के हविगत यहाँ ? देश दन्क्यो ल जम्मै


उक्ता मन्दाक्रान्ता मभनतत भै अन्त दीर्घ दुबैमा

म भ न त त गू गू
SSI SII III SSI SSI S S


3 Comments:

nepalean said...

What chanda is this? is it itself bhaye kranta chanda? Never heard of it. I had similar chanda experience in high school. I had written one poem in anustup chanda and couple of poems in muna madan style. I think i wrote one more in next chanda, forgot its name. lekhna garo bhaye pani ramailo huncha chanda kabita padna. ramro chha bhyakranta.

Anonymous said...

डायरीजीले छन्दप्रति यहाँको अनुराग छ है भनेर त भन्नु भयो के तर यो छन्द ले मलाइ त रणभुल्ल पार्यो । नेपाली जनजिवनमा ब्याप्त त्रास र व्यक्तिभन्दा,समाजमा राजनितीको दुरुपयोगले थालनि गरेको स्वार्थी गतिविधिको बढि महत्व दिने परिपाटिलाई, छन्दमय तरिकाले प्रस्तुत गर्दा सृजित छन्द 'भयाक्रान्ता' तर 'मन्दाक्रान्ता' को डुब्लिकेट हो है पनि भन्न खोज्नु भएको हो कि?
कलेज पढ्दा एकजना सर हुनुहुन्थ्यो भैरब मजगैया वहाँको हरेक क्लासमा यो श्लोक भन्ने गर्नु हुन्थ्यो असाध्यै राम्रो लाग्थ्यो अझै सम्म पनि जस्ताको तस्तै ताजा छ-
"आइ कैल्यै पनि नसकिने चैत-बैशाख मेरो
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो"

तपाईको यो 'भयाक्रान्ता' पनि निकै राम्रो लाग्यो तर अलि अलि इर्ष्या पनि :)

Anonymous said...

अघि अन्तिममा लेख्न खोजेको कुरो भने छुटेछ त यो अहिले-
"शत्रू आफ्नै अपनपनको मृत्यु यस्तो अचम्मै
होला खै के हविगत यहाँ ? देश दन्क्यो ल जम्मै"
:)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !