November 1, 2007

पहिले जनमत संग्रह होस

गणतन्त्र र राजतन्त्र बिचको मतदानमा मैले भाग लिन पाउनु हो भने मेरो मत गणतन्त्र तिर जाने छ। तर म शाहबंशिय सबै राजाहरुलाई गणतन्त्रको नाममा गाली गर्ने पक्षमा भने छैन। मैले पैलेई भने जस्तो म पृथ्वीनारायण शाह्, बहादुर शाह जस्ता ब्यक्तित्वको सम्मान गर्छु। उनीहरु पूर्ण रुपमा दोष रहीत थिए भन्ने हैन तर समग्रमा उनीहरु देश भक्त थिए। नारा मात्रै लाएनन उनीहरुले। चाहेको भए दरबारमा मात्रै पनि बस्न सक्थे तर लडाईको मोर्चामा पुगे उनीहरु खुकुरी बोकेर। नेपालले त्यो बिर्सिनु हुन्न।

माओबादी लगायतका ती सबै ब्यक्तिहरु जो हरेक कुराको दोश २५० बर्षको सामन्ती संस्कारको बिल्ला लाउँदै राजतन्त्र तिर थुपार्छन संग म सहमत छैन। शुरुका केही शाह राजाहरुको समय युद्धमै बित्यो-- अनि राणाहरु आए शाहहरु थपना भए। राणाहरु पछी देश संक्रमण कालमा गयो। त्रिभुवन राजा त भए तर देश स्थिर थिएन अनि ११ साल तिर हो क्यार उनी उकालो लागे। आधुनिक नेपालमा राजाहरुको मुल्याङ्कन गर्ने हो भने महेन्द्रबाट सुरु गर्नु पर्छ। मलाई उनको सासनकाल बारे थाह छैन। उनलाई राष्ट्रबादी राजनेता भन्नेहरु पनि छ्न उनको दलबिरोधी नीतिलाई लिएर लोकतन्त्रका दुस्मन भन्नेहरु पनि छन। मैले उनलाई ईतिहासको किताबमा मात्रै चिनेको हो। उनी यस्तै थिए भन्न म सक्दिन। ईतिहास फेरी हिजोको तेस्तो किताब हो जो आज फेरीने गर्छ -- पंचायत कालमा अरास्ट्रिय तत्व भनेर ईतिहासमा लेखीएका हरु पछी राष्ट्रबादी नेता भए -- हिजो आतंककारी भनीनेहरु आज लोकतन्त्रका ठेकेदार छ्न। ईतिहास फेरीन्छ।

बीरेन्द्रको पनि ३६ साल सम्मको सासन ताल -- निर्दल बहुदलको चुनाब जस्ता कुरा मैले सुनेको मात्रै हो मलाई थाह छैन। ४६ सालको परीबर्तन भने मैले अनुभव गरेको हो। BAD B-बिरेन्द्र A- ऐश्वर्य D- दिपेन्द्र लाई ठोक्नु पर्छ भन्ने नारा लाग्थ्यो। मेरो त यसै पनि राजाहरुको गुनगान गाउने बानी थिएन। कुरो ठिक हो भन्थें। आखीर बीरेन्द्र श्रीपेच लाएर बसी रहे। उनको र उनका बंसको मृत्यु प्रति मलाई गहीरो खेद छ। त्यस्तो अन्त्य त दुश्मनको पनि नहोस भन्छु म त। आफुलाई लोकतान्त्रीक भन्ने सरकारले त्यो घटनाको फेरी छानबिन गरोस भन्ने लागेको छ मलाई। बीरेन्द्र राष्ट्रघाती थिएनन अनि उनले संबैधानिक राजा हुन सकेसम्म कोसिस गरे भन्ने मेरो मान्यता छ। गणतन्त्रको माला जप्ने माओबादीहरुले समेत बीरेन्द्रलाई राष्ट्रबादी भन्न हिच्किचाएनन।

मलाई सधै के लाग्यो भने राजा किन चाहियो? देश बनाउन देश बचाउन राजै किन चाहिन्छ? देश जनताको हो -- कुनै दिन जनताले बचाउन सकेनन देश भने राजाले कसरी बचाउँछन? राजा पनि जनतानै हुनु पर्छ। देश बनाउने मन छ भने जनतामा जाउन मत ल्याउन सरकार बनाउन अनि चलाउन सासन। सबैले चै चुनाब जितेर आफ्नो बैधानिकता देखाउनु पर्ने श्रीपेच लगाएर उनलाई राजगद्दीमा बस्न चै मेरा बाउ बराजुले आर्ज्याको भन्दैमा हुने? मलाई चित्त बुझ्दैनथ्यो। अझै बुझ्दैन।

तर राजा राख्ने हटाउने संसदले गर्ने हैन। जनताले निर्णय गर्ने हो। सांसद बा सम्बिधान सभाका सदस्यले पार्टीले जारी गरेको ह्वीपको आधारमा मत हाल्छन जनताको आदेश अनुसार गर्छन भन्ने केही छैन। त्यसैले राजतन्त्र लगायतका राष्ट्रिय मुद्दाहरुमा जनमत संग्रह गरीनु पर्छ। राजा राजतन्त्र चाहिन्छ भनेर प्रचार गर्न जाने भए दिनु पर्छ जे जस्तो चुनाबी आचार सहिता छ त्यस्को अन्तर्गत। राजनितिक दलका नेताहरुले चै राजतन्त्र चाहिन्न भनेर प्रचार गर्न हुने सरकारी पैसामा, राजाले चै धरापमा परेको आफ्नो गद्दी बचाउन बोल्नै नहुने? किन? सक्दो कोसीस गरुन न --किन डराउने? ९०% जनता गणतन्त्र चाहन्छन पनि भन्ने -- देश गणतन्त्रमय छ पनि भन्ने अनि जनमत संग्रह देखी डराउने पनि? राजा मन्दीर जाँदैमा कोलाहल गर्ने? सुहायो त?

बहुसंख्यक जनताले राजा चाहिन्छ भनें भने चाहिन्छ राजा। तर भन्लान जस्तो मलाई त लाग्दैन। जन प्रतिनिधीले गर्न नसक्ने कुन चै त्यस्तो काम छ जुन राजाले मात्रै गर्न सक्छ्न? आफुले बहुमत ल्याए चै सदर भन्ने राजाले ल्याए भने बदर भन्ने मनस्थीती भएका कोही छन भने ति कायर हुन। एक ताका प्रचण्डले पनि भनेका थिए जनताले राजतन्त्र राख्ने भनेछन भने उनको पार्टीले त्यो स्वीकार्ने छ। अचेल त्यस्तो कुरा गर्दैनन बेग्लै कुरा हो। तर जनमतको आदर त गर्नुपर्यो नी लोकतन्त्रको नारा लाउने हामीहरुले। आफुलाई चित्त बुझोस नबुझोस जनादेश मान्नै पर्छ। हैन भने हाक्काहाक्की भन्नु पर्यो हामी लोकतान्त्रिक हैनम भनेर या त भन्नु पर्यो हामी हाम्रो बिचार भन्दा फरक जनादेश मान्दैनम भनेर।

बिदेशी शक्ति र त्यस्का भारदारहरुले बचाए भने बचाए नभए ज्ञानेन्द्रको राजगद्दी गयो। बरु अहिलेका राजाले बिचार पुर्याएर भोलीको सांसद बन्न सके भने देश बिकासमा उनको योगदानको जनताले कदर गर्लान नभए ज्ञानेन्द्रले त्यस्तो केही गर्या छैनन जस्ले उनलाई जनता माझ सम्मानको हकदार बनाओस।

राजनैतिक दलहरुले हिजोको मात्रै कुरा गरेर हुन्न। आजको कुरा गरुन्। भोलीको कुरा गरुन्। देशको आर्थिक स्थिती बलियो बनाउने योजनाहरु बनाउन्, सामजिक न्यायका कुरा गरुन्। कार्यक्रम बनाउने मात्रै हैन कसरी कार्यन्वन हुन्छन नी ति कार्यक्रमहरु त्यो प्रस्ट पारुन्।

माओबादी आन्दोलनको एउटा पक्षको भने म प्रसंसा गर्छु। त्यो हो ग्रामीण ईलाकामा उनीहरुले ल्याएको सामाजिक परिबर्तन। ग्रामीण समाजमा ब्याप्त उँच निच मैले पनि देखेको छु। त्यहाँ रहेको सामंती अभ्यासलाई सम्पूर्ण त नभनम तर धेरै हद सम्म धरासाई पारेका छन। त्यस्को नाममा भएको अत्याचार वा हिसाको भने म निन्दा गर्छु। ती सामाजिक परीबर्तनको लागि हिसा आबस्यक थ्यो भन्ने म मान्दिन।

एमाले हिजो सम्म कम्युनिज्म नाम गरेको दोलैइँ ओडने काँग्रेस थ्यो। केशर जंगले राजा बनाईदीएको ज्ञानेन्द्रलाइ दाम राख्न काँग्रेस सँग काँधमा काँध थापेर गएको थियो। कामरेडहरुले राजा र दरबारको भत्ता निसंकोच बढाएका थिए। आज पानी माथिको ओभानो बन्न खोज्दैछन। तर त्यो हिंजोको कुरा हो। अझै पनि एमाले ले नेतृत्व दिन सक्छ। लोकतान्त्रिक प्रतिबद्धता पनि देखाउँछ (माओबादी जस्तो अधिनायकबादको खाल ओडेको लोकतान्त्रिक हैन एमाले) गाउँ घरमा एमाले अझै बलियो छ। राजनैतिक संरचना अझै सुढृढ छ। कार्यकर्ताहरु लगनशिल छन। अब त गणतन्त्र पनि भन्छ। चुनाब भएको भए एमालेको स्थिती राम्रो हुन्थ्यो। तर एमाले ले नेतृत्व फेर्नु पर्छ।

काँग्रेस लोकतन्त्रको हिमायत हो भन्ने मान्यता छ। कांग्रेसको झुकाब राजा तिर होला तर कम्निस्ट् प्रति छैन जस्तो लाग्छ। बाध्य भएर कामरेडहरु सँग मिलेको छ। मौका पाउने बित्तिकै छोडदिन्छ काँग्रेसले। तर त्यसमा नराम्रो केही छैन। आ-आफ्नो बिचारको संगठन हो। काँग्रेस दलले लोकतन्त्रको लागि धेरै गरेको छ। ज्ञानेद्रले राजतन्त्रको अपमान गरे जस्तै काँग्रेसका केही नेता भनाउँदाहरुले लोकतन्त्रको अपमान गरेका छन। तर लोकतन्त्र अनिबार्य छ। कठिनाईहरु छन तर लोकतन्त्र मर्दैन। काँग्रेस, एमाले, माओबादी र अन्य दलहरुले राष्ट्रिय हितमा काम गर्नै पर्छ। उपाय अर्को छैन।

देश हामी सबैको हो। नेपाल भारतियको हैन। अलिकति यता उता भयो की भारत पुग्ने बानी नेता हुनेहरुले छोडनु पर्यो। नेपालको नीति नेपालीले बनाउने हो लैनचौरको राजदुतले हैन। भारतलाई सरापेर मात्रै केही हुन्न। पर्यटन र अरु सेबा मुलक क्षेत्रमा नेपालले राम्रो बिकास गर्न सक्छ। भारतको सामान किनम भारतियहरुलाई हाम्रो देश घुम्न बोलाम। हामीलाई फाईदै हुन्छ। खाली धोती धोती भनेर केही हुन्न।

आफ्नै देशका नागरीकहरुलाई धोती भन्ने संकिर्ण घेरामा बाँचेकाहरुले मात्रै मधेसलाई दुस्मन देख्छन। मधेसको नाममा भारतियहरुलाई नेपाली नागरीकता बाँडेको छ भने त्यस्को बिरोध गर्दा हाम्रो मधेस रिसाउँदैन। पक्का हो। आज एकताको खाँचो छ, हाम्रा मधेस, पहाड, र हिमालको हामीले रक्षा गर्नु छ। ब्याँसाहरु देखी साबधान हुने बेला यही हो।

पहिले जनमत संग्रह होस अनि जनादेश अनुसार सम्बिधान सभाले सम्बिधान बनाओस। जनमत संग्रहमा जान आनाकानी गर्ने काँग्रेस हो अरु त मानेकै देखिन्छन। काँग्रेसलाई पनि मनाउन सकिन्छ होला।

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !