January 30, 2011

4th International Nepalese Blogger Meet (चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला)

4th International Nepalese Blogger Meet will be on Feb 5th 10 AM NST at Dautari Blog. Please visit http://www.dautari.org/ on 5th Feb 2011.

चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5-2011,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा(http://www.dautari.org/) पाल्नूहोला।

 भेलामा सहभागी हुने तरिका: तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ। भेलामा सहभागी हुनेका निम्ती कमेन्टबक्समा आउने जानकारी दिंदा नै प्रयाप्त हुनेछ। तपाईको सहभागिताको जानकारी अनुसार भेलामा सहभागी हुनेको नाम प्रकाशित गरिनेछ। भेला नेपाली समय १० बजे भएता पनि भेला सुरू हुनु केही घन्टा अघी तथा भेला सकिए पछी पनि भेलाको लागी प्रयोग हुने च्याट बक्स खुलै रहने छ। भेलामा समयको अभावले आउन सक्नु भएन भने पनि केही समय अघी या पछी आएर आफ्नो कुरा राख्न सक्नुहुनेछ। विश्व भरी छरिएर रहेका नेपाली ब्लगहरुको एकै ठाउंमा बसेर छलफल गर्न अन्य ब्लगरलाई खबर गरेर तपाईले पनि सहयोग गर्नुहोला।

चौथो भेलाको अनुरूप


चौथौ नेपाली अन्तराष्ट्रिय भेलाको सभापती-उज्वल आचार्य
स्वागत मन्तब्य-ध्रुब पन्थी
नेपाली ब्लगबारे परीचर्चा -के.पी ढुंगाना
ब्लगको महत्वबारे बिचार-नबिन मालाकार
भेला संचालन-नेपालियन
प्रावाधिक सयोग-सपना संसार

भेलामा हरेक ब्लगरले आफ्नो परिचय र आफूले छलफल गर्ने बिषय राख्नुहुनेछ(आफ्नो परिचय र छलफलको बिषय टाइप गरेर रेडी गरेर समय बचाउनूहोला र परिचयको क्रम सहभागीको सुची अनुसार हुनेछ)। ब्लगर बारे परिचर्चा केपी जी ले गर्नुहुनेछ भने ब्लगको महत्व बारेमा नबिन जीले आफ्नो बिचार राख्नुहुनेछ तथा उहांहरुसंग ब्लगहरुले छोटा प्रश्न राख्नसक्नुहुनेछ। भेलाको आधिकारिक अबधी १ घन्टा रहनेछ तथा भेलालाई आबश्यक अनुसार थप १ घन्टा थप्न सकिनेछ। समय अभावमा आउन नसक्नुहुने ब्लगरहरुलाई ध्यानमा राखी ब्लग छलफल ४ घण्टा सम खुलै राखिनेछ।



भेला सहभागीहुने को सुची: सहभागीको सुची समय अनुसार यसै ब्लगमा प्रकासित गरिनेछ।

1) नेपालियन: http://www.dautari.org/
2) सपानसंसार : http://sapanasansar.com/
3) वेदनाथ पुलामी (उमेश) : http://bednath.blogspot.com/
4) सुदिप काफ्ले : http://technott.com/
5) शिब प्रकाश: nepalimanharu.com
6) कृष्णपक्ष - http://krishnathapa.com/
7) गूल्मी दर्शन: http://www.gulminews.com/
8) गम्भिर: http://www.kahilekahi.blogspot.com/
9) प्रबिण थापा: http://www.prabin-thapa.blogspot.com/
10) कृष्ण पुरी: http://thenepalromania-krishna.blogspot.com/
11) केपी ढुगांना: http://www.hamroblog.com/
12) यात्री शेखर: http://yatrishekhar.blogspot.com/
13) रबिन्द्र रिजाल: http://www.rabindrarijal.com/
14) अर्चना श्रेष्ठ: http://archanashrestha.blogspot.com/
15) जिवन शर्मा: http://marojiban.blogspot.com/
16) बिष्नु मरासिनी: http://bismar.blogspot.com/
17)narayan silwal: http://www.sahakarisarokar.blogspot.com/
18) पवन पौडेल: http://www.creativepaudel.blogspot.com/
19) Aakar: http://aakarpost.com/
20) dev neupane: http://blog.devneupane.com/
21) Ekendra: http://blog.ekendraonline.com/
22) Anish: http://blog.enepal.com.np
23) Suraj Kumar Aryal: http://www.hamropathshala.wordpress.com/
24) Dhruba Panthi: http://www.dhrubapanthi.blogspot.com/
25)Pradeep Kumar Singh: http://nepaliblogger.com/
26))Aayush Sammoha: http://www.sahityabatika.blogspot.com/
27) musicbid : http://www.musicbid.co.cc/
28) शेखर: http://myhealthschool.blogspot.com/
29) Anil Adhikari: http://learnnfun.wordpress.com/
30) Aashish Bista: http://www.entertainmentnepal.co.cc/
31) Deependra: https://sites.google.com/site/deependrakumarjha/
32) Nabin: nabinkm.com
33) ज्ञानु बस्नेत: http://sahityamanjaree.blogspot.com/
34)Ujjwal Acharya: http://www.nepalivoices.com/
35) Ajaya Dhungana: http://abhinaw.com/
36)Mukunda Nepal: http://meroreport.net/
37)Bhupesh Mardi:http://www.youthcircleonline.blogspot.com/
38)Sweta Baniya: http://www.swetabaniya.wordpress.com/
39)Nepali Movie: http://nepalimovie.wordpress.com/
40)Basanta Giri : http://giri25.blogspot.com/
४१)Sarlahi express: http://www.sarlahiexpress.com/
४२)मेचीनगर अनलाइन : http://www.mechinagaronline.com/







सबै पहेंला धातु सुन हुदैनन्

प्रकाश सापकोटा
बनेपा, काभ्रे, ( हाल:त्रोम्सो, नर्वे )

सबै पहेंला धातु सुन हुदैनन्
सबै नुनिला अणु नुन हुदैनन्

अपार अनन्त सारा ब्रम्हाण्डभित्र
सबै चम्किला पिण्ड जून हुदैनन्

बरु नालीका किरा एकैनासे होलान्
सबै बालीका किरा घुन हुदैनन्

अभिमान केवल रातो रगत तर
सबै नसामा तातो खून हुदैनन्


January 24, 2011

किताब - लघुकथा




त्यो किताब लेख्न सजिलो थिएन ।

किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो
अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।

त्यसैले किताब लेखिने उर्दी जारी भयो । सैयौंको संख्यामा देशभरिका बडे बडे लेखकहरु भर्ना भए । उनीहरुको मुख्य काम त्यो महत्वपुर्ण किताब लेख्नु थियो ।

सर्वविदितै कुरा हो, शान्त वातावरणविना, हल्ली खल्ली र भाडभैलोको अवस्थामा लेखनकार्य सम्भव हुदैन। दिन, महिना र बर्ष बित्दै गयो किताब लेखिएन । कुर्दा कुर्दा पाठकहरु निराश भए ।

एकदिन मैले यसो चियाएर हेरें, उनीहरु कापी कलम बोकेर घरबाट त निस्कदा रहेछन तर दिनभर चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन, अनि कसरी लेखिन्थ्यो त त्यो किताब ?

बुझ्दै जादा थाहा पाएँ, त्यो किताबको नाम "संविधान" रहेछ ।



कृष्णपक्ष,इजरायल

January 23, 2011

म नेपालमा भएको भए ?(Nepal- The Country of Load Shedding)

विदाको मेसो पारेर भएभरका नेपाली ब्लग चाहर्दै थिएं। कुनै बेला कपि पेष्ट र चोरिएका सामग्री बारे गरिएको
गनथनको याद आयो। अन्जली तिमल्सिनाका चोरिएका सामग्री त के भयो कु्नी तर दिलीप आचार्यले भने चोरिएका सामग्रीको क्रेडिट लिइछाड्नू भयो। ३ बर्ष अघि दौंतरीले बनाएको स्वस्थानी फाइल धमाधम Rangeen Chara,X-Nepali, आदी जस्ता साइटले कपि गर्दै राखेका रहेछन्। यसो सोचें हामीले पनि सबैले सुनुन नै भनेर राखेका हौँ, उनिहरुले पनि बांढे स्वस्थानी माताले सबैको कल्याण गरुन।

हिजो आज नेपालमा फोन गर्यो प्राय फोन उठ्दैन। कि त मोबाइलमा चार्ज हुँदैन कि त मान्छे सुतिसकेका हुन्छन। बत्ती छैन ,मोबाइल कसरी चार्ज गर्ने? सबैका मोबाइल पिपलका पातले चार्ज हुदैन क्यार। जाडोको समय,दिन छोटा,लाइन नभए पछि रेडियो,टीभी सबै चट,अनि त सिरकको सहारा, ओक्षान जिन्दाबाद। साँच्चै नेपालमा अहिले मान्छे मात्र होइन टीभी,मोबाइल,राइस कुकर आदिको जिबन पनि कष्टकर छ। बिजुली भए ति सामानको भाग बढ्थ्यो। अब त मान्छेलाई टीभी देख्दा पनि रिस उठ्दो हो। त्यो सिसाको भाँडो के काम?


January 17, 2011

नग्न सत्य !

शिव प्रकाश 
लुगाले छोपेको छ 
तर अनुहारले देखाइरहेछ 
के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ?
नबोले नि त्यो मुख 
बोलिरहेछन् ती आँखा 
के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ? 
नभए नि तिम्रा सामू 
भित्ता थिए ओरिपरी 
के ती भित्ताका तिमीले कान थुन्न बिर्सियौ ?
नदेखे नि मैले केही 
हेरिरहेथ्यो अँध्यारोले


January 15, 2011

जिउँदो मान्छे र हराएको मन

- मधु माधुर्य, मस्को
जनवरी-२, २०१०


कुनै बेला -
हावाको झोक्कासंग बहकिएर जहाँ गए पनि
आफूलाई यतै छोडी हिँडे जस्तो लाग्थ्यो
एक गुच्छा फूलमा अड्केको आस्था
वा प्रेमिल क्षितिज भन्दा फराकिलो
मेरो अस्तित्व
सुकिसकेको गुँद सरि
यतै टाँसिए जस्तो लाग्थ्यो !


आज -


January 13, 2011

उचालेका कुकुरले मृग मार्दैनन् ।

यतिका महिना बल्छि थापेर पनि आफ्नो ढडियामा माछा नपर्ने निश्चित भए पछि रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिए । यसो गर्न , उनको ढडियामा माछा भर्न सकिन्छ भनेर खोला किनारमा बसेर उनलाई साथ दिने माधव नेपाल र केपी ओली नामका दुई माझीले हार खाएर लत्तो छोडेपछि मात्र सम्भव भएको हो । सुर्‍याउनेहरूले गति छाडेर एक्लै छाडी गए पछि, आफ्नै हूतिले माछा पक्रिने सामर्थ्य नभएकाले रामचन्द्रलाई नदी किनारमा बाँकि जीवन बिताउन सम्भव थिएन ।
आफ्नै पार्टीका वैकल्पिक नेता डाक्टर बाबुरामलाई प्रधानमन्त्रीमा मौका दिनु भन्दा एमाले नामको चमेरे पार्टीका अर्का लुब्ध कामरेड झलनाथलाई कामरेड प्रचण्डले उचालेका हुनाले, रामचन्द्रको उमेदवारी फीर्तिलाई उनले आफ्नो विजय ठानेको कुरा आजको कान्तिपुरमा पढ्न पाइयो । यो देखेर हाँसो मात्र उठेन ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने उखान सप्रसंग याद आयो । हाम्रा उखानहरू बेजोड् छन् ।

रामचन्द्र प्रधानमन्त्री बन्ने कुरा जतिको अरुको निगाहमा भर पर्थ्यो , निवर्तमान प्रम माधव नेपालको नियति पनि त्यही थियो । माओवादीले सत्ता छोड्नु पर्ने परिस्थति आएपछि , कुटिल नेता गिरिजाले कम्युनिष्ट नामका दुईटा अवसरवादी पार्टीलाई लडाउने मौका स्वरूप माधव नेपाललाई प्रम हुन दिने प्रस्ताव अघि सारे । यो प्रचण्डको अवसरवादीता र उपयोगवादी व्यवहार माथिको प्रहार थियो भने , आफ्ना समकालीन राजनीतिका फट्के सांक्षी र मतियार माकुनेप्रति गरिदिएको ससानो उपकार पनि थियो । तर माधव कामरेडको सत्तारोहण र सत्ता बसाइको काकतालीले , एमाले नामको दहीच्यूरे पार्टीभित्र भने यदुवंशी गृहयुद्ध मच्चाएर छोड्यो । झलनाथ-वामदेव खेमाको वर्तमान संस्थापन पक्ष र माधव नेपाल-ओली खेमाको पूर्व संस्थापन समानान्तर शक्तिशाली पक्ष अहिले परस्पर बिरोधी शक्तिको शत्रूता बोकेर एकार्कालाई पल्टाउन उद्यत देखिएका छन् । यिनको मति र गति देख्दा , यिनले गरी खालान् वा गरी खान देलान् भनेर पत्याउन सकिने संकेत सुदूर क्षितिजसम्म देखा परेको छैन ।


January 8, 2011

‘कू’ को कुहल्ला र घाटे वैद्यहरू :


अनमिन प्रमुख करिन ल्यान्ग्रेनले आफ्नो जागिर अफ्रिकाको बुरूण्डी सरूवा हुने तय भए पछि , संयुक्त राष्ट्र संघमा आफ्नो प्रगति हैन दुर्गति विवरणको पेश गर्दै भनिन् – हामीले छाडेपछि कि माओवादी बिद्रोह हुन्छ कि राष्ट्रपति शासन वा सेनाको कु हुन्छ । हाँसो लाग्दो कुरो के हो भने यी भविष्यवाणी गर्न कुनै विशेषज्ञताको जरूरी नै पर्दैन । प्रतेक दिन प्रकाशित हुने नेपाली अखवारका पाना र माओवादी पार्टिका दावाहरू पढ्यो भने घर बसी बसी यी समाचारहरू हात लाग्छन् । यस्तो रहस्य को अन्वेषण गरी यु एन को सभामा सुनाउन अरबौँ रुपैयाँको लगानीमा नेपालमा अनमिन बसेको हो भने , यस्तो पत्रू संस्था नबसेकै राम्रो हो । तर पनि , यसको बिगत २-३ वर्षे उपादेयता केलाउने हो भने , केही नेपलीले यसमा डलरे जागिर पाएका थिए , अब त्यो नहुने भयो ठानेर केही नेपालीका पक्षमा दु:ख मनाउ गर्न सकिन्छ , नत्र यो अनमिन नामको काउछोले गरेको काम केही छैन त्यसैले यो जाओस् कि बसोस् यसले केही माने राख्दैन सर्वसाधारण नेपालीको जीवनमा ।

जहाँसम्म ‘कु’ को कुरा छ यो माओवादी कोणबाट फ्याँकिएको प्रायोजित हल्ला हो । कम्युनिष्टहरू, विशेषत कट्टरपन्थी माओवादी जस्ता, अरू दल वा समूहलाई अनेक विकृति र कुकर्मको आरोप लगाउन खप्पीस हुन्छन् । अरूलाई भ्रष्ट, प्रतिगामी र अधिनयाकवादीसम्मको आरोप लगाउने निर्लज्जता देखाउन सक्ने कम्युनिष्टहरू स्वयंमा निर्दलियता र अधिनायकवादका पर्यायवाची हुन आधुनिक संसारमा भन्दा फरक पर्दैन । आँफूसंग असहमत हुने विचारको नामोनिशान मेटाउन चाहने अधीनायकवादी सोचका कम्युनिष्टहरू संसारभर आफ्नो पार्टीको अधिनायकतावादमा मुलक र राज्यको संरचना राख्न चाहने आदिम सोचमा हिँडिरहेका हुन्छन् र पनि अरू विचार बोकेका दल, समूह वा व्यक्तिलाई प्रतिगामीको बिल्ला भिराउन लागि परेका हुन्छन् । अधिनायकवाद भित्र मौलाएको भ्रष्टाचार र निरंकूश अतिवाद मुनि प्रश्रय पाएको विकृतिले सन् ९० को दशकमा संसारभरबाट कम्युनिष्ट शासनव्यवस्था भएका मुलुकहरूको लज्जास्पद अवसान देखेर पनि , गरीब मुलुकका नागरिकहरूका अभाव जनित आकांक्षाहरूको मनोवैज्ञानिक शोषण गरी कम्युनिष्ट समानताको नक्कली सपनाको हरियो घाँस देखाएर , नेपालीहरूलाई बलिको बधशालातिर डोर्‍याएर आफ्नो अभीष्ट सिद्ध गर्ने उद्धेस्यमा नेपालका माओवादी लागिरहेका छन् । भ्रष्टाचार, भौतिक लाभ र सुख सयलका विषयहरू र लूटलाई संस्थागत गर्ने काममा छोटो समयमा नै माओवादीले अरू दललाई पछाडि पारेको देखिएकै छ र अब उसले गर्ने कुनै कामबाट नेपालको जनजीवनमा कुनै गुणात्मक सुधार होला भनेर सायदै कसैले आशा राखेका होलान् । किनभने अरूलाई विकृत्तिको आरोप चर्को रूपमा लगाउँदै, आँफै त्यही कुकर्म चार गूणा गर्नु अतिवादीहरूको विश्वव्यापी चरित्र हो ।

नेपालको सन्दर्भमा माओवादीहरूको अव्यवहारिक र सर्वसत्तावादी सैनिक चरित्रका कारण, देश भित्र र बाहिरबाट उनीहरूले कसैको विश्वास जित्न सकिरहेका छैनन् । विशेष गरी आफ्ना छापामारहरूको ब्यारेकीय संरचनालाई भंग नगरी राखि राख्ने वा सेनामा डल्लै मिलान गर्ने र अरू विचारका राजनैतिक शक्तिहरूलाई बाहुबली दादागिरीबाट मात्र नेस्तनाबूद गरी सत्ता कब्जा गर्न सकिन्छ भन्ने नीति लिएर , सहमतिको राजनीतिमा आउन नखोजिरहेको माओवादीलाई केवल उपद्रो गर्ने निहूँ चाहिएको छ । निर्वाचित संसदमा सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि उसले आफ्नो दम्भका कारण सत्ता छोड्नु परेको जगजाहेर छ किनभने उसलाई उसैका सत्ता सहचारी दलहरूले साथ नदिँदा ऊ सरकारबाट हट्नु परेको थियो । अनेकौँ प्रपञ्च सहित लाग्दा र मित्रराष्ट्र चीनको ५० करोड उपहार सौजन्यमा पनि फेरि माओवादी सर्वोच्चताको सरकार बन्न नसक्दा , माओवादी पार्टी नेतृत्व भाउन्निएर बर्बराएको छ भन्ने कुरा बुझ्न गाह्रो छैन। उता माकुनेको सरकार राजीनामा स्वीकृत भएको महिनौँ पछि सत्तामा निर्लज्ज ढलिमली गरिरहेको छ , यता सुनौलो पलङमा सुतेर आफ्नी युवराज्ञी सिताजी र युवराज प्रकाश सहित बालुवाटारमा रमाउने प्रचण्डको सपना कुनै गीतको ‘उडायो सपना सबै हूरीले’ झैँ छरपष्ट बनेको छ । यस्तोमा माओवादीलाई अरूले यस्तो गर्न खोजेका छन् भन्ने आरोप चर्को रूपमा उचाल्दै , आँफूले उपद्रो गर्ने निहूँ चाहिएको कुरा प्रष्ट बनिसकेको छ । अझ भन्ने हो भने माओवादी पार्टीका एक मात्र बौद्दिक मुखौडा बनेका बाबुराम भट्टराईलाई भारतीय वा संशोधनवादी गोटी ठहर्‌याइसकिएको पालुङटार पर्व पछिको राजनीतिक सन्दर्भमा माओवादीलाई बाह्य र आन्तरिक राजनीतिको अप्ठ्यारो सामना गर्न एउटा तमाशा मञ्चनको खाँचो छ – त्यो खाँचो पेरिशडाँडाको खेस्रा दस्तावेज हुँदै करिन ल्यानग्रेनले वाशिङ्टन पुर्‌याएकी छन् । यसको मजबून हो – राष्ट्रपति रामवरणले सेनाको आडमा कू गर्न लागे भन्दै , कथित जनबिद्रोहको मोहन वैद्य धूनी बाल्नु । कुनै बेला संस्कृत छात्रावासको फ्रि खान्कीमा आफ्नो असहिष्णु कट्टरता तिखार्दै काठमाण्डुको सडकमा फ्री मा पाइने रसियन प्रायोजनका कम्युनिष्ट पोथा पोस्तक पढेर कम्युनिष्ट बनेका यी गैर नेवारी घाटे वैद्य, भने २ लाखको भीड जम्मा पारेर सिंहदरबार कब्जा गर्ने जडीबुटी जम्मा गर्न आफ्नो रुखो अनुहारलाई उजिल्याउँदै छन् । हुनत देशलाई ब्रम्हानालमा सुताएर , अक्षता टकटकाउने घाटे वैद्यहरू के पो जानून आफ्नो पेशाको लिखे बोसो टिप्नु बाहेक !

तर, ढुक्क भए हुन्छ , कुनै कू ले नेपाललाई २ महिना लतार्न सक्ने छैन । यसले गर्ने भनेको देशलाई अरू दलदलमा धकेल्ने मात्र हो । देश बनाउने हो र यसको भविष्यप्रति चिन्तित हुने हो भने सबै मिलेर संविधान बनाएर सबैलाई स्थान दिने राज्यव्यवस्था सहितको जनकल्याणकारी पद्दति बसाल्ने कोशिस गरे हुन्छ । हामीले आशासम्म गर्ने हो तर खल पात्रबाट प्रवृत्तिमा सुधारको आशा गर्नु पो कसरी ?

-एकलव्य


January 3, 2011

कोलोराडोमा यस बर्षको ल्होछार सुसम्पन्न


जहाँ पुग्छन नेपाली मनहरु ,झल्काउछन नेपाल र नेपाली पन
भिन्न भाषा ,भेष ,भुषा गुथेर माला,बढाउछन गौरब झन झन

तमु धि समाज कोलोराडोको आयोजनामा सन २०११ जनवरी ०२ का दिन यस बर्षको ल्होछार" हाम्रो संस्कार ,हाम्रो परम्परा "को
नारा सहित भब्य रुपमा मनाउन सफल भएको छ । अनेकतामा एकताको प्रतिकको रुपमा उदाउदै आएको ल्होछार पर्ब नेपालीहरुको
संस्कृतिलाई जोगाउने ,आपसी सदभाब अभिब्रिदी गराउने तथा शुभ कामना आदान प्रदान गर्ने पर्बको रुपमा बिकशित हुँदै 
गैरहेको छ ।


कोलोराडोका नेपालीहरु तथा बिदेशी पहुनाहरु समेतको बाक्लो उपस्थितिमा गत बर्ष झै यसपाली पनि बोल्डरको unity of boulder चर्चमा बिभिन्न सांस्कृतिककार्यक्रमका साथ मनाइएको थियो ।परम्परागत गुरुङ समुदायको भेष भुषामा सजिएका तमु तथा गैर तमुहरुको स्वागत पश्चात उदघोषक सुरेश गुरुङले कार्यक्रम अघि बढेको जानकारी दिनु भएको थियो । बिकास गुरुङ, सुसान थापा ,बिन्दु गुरुङ र सालीना रानाको 'माया पिरती 'बोलको गुरुङनाचबाट ताली र वाहावाही बटुले पछि साना नानीहरु महिमा गुरुङ र श्रेया थापाको मितिनि ज्यु भन्ने बोलको नाचले अझ रोचकता थपेको थियो ।


January 2, 2011

कथाकारको कथा - ए, को होस तँ ?

भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो ।

ब्लग, टुइट या फेसबुक । डिजिटल भित्ता भरि उसरी नै छाएका थिए अंग्रेजी नयाँ बर्षका यी कामनाहरु - तस्विर, शव्द र चलचित्र बनेर । त्यही बर्ष थियो जो एक बर्ष अगाडी नयाँ थियो, यसरी नै आएको, अनेकौं कामनाहरु बोकेर , गुज्रिएर गयो । अब सम्झनामा मात्र रहनेछ । अगाडी घमाइलो सूर्य जस्तो उज्याला नयाँ दिनहरु थिए । जसको आगमनको खुसीमा समय एउटा उत्सव मनार्इ रहेको थियो ।

"नयाँ बर्षको हार्दिक मङ्गलमय शुभ कामना ...."

आफन्त साथीसंगी वा कुनै साइनोको परिचय बोकेर हिड्ने सबैका ओठओठ बाट पोखिईरहेका थिए यी शव्दहरु ।

"के तँ आज पनि कथा नै लेखिरहेको छस? "
तन्मयतालाई भंग गर्दै कसैले सोध्यो । मेरै कथाको कुनै पात्र, कुनै चरीत्र मानौं त्यो म आफैं हुँ । उसको आवाज इनारबाट कोही चिच्याए झैं अस्पष्ट सुनियो ।
"कहाँ गए तेरा पात्रहरु ? तँ किन एक्लो छस? के लेख्दैछस ?"


एनेकपा माओवादी भित्रको तिन समुह

एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा अहिले आन्तरिक रुपमा जति वैचारिक मदभेदहरु भएता पनि सर्वसाधारणले बुझ्ने गरि विशेषत तिन थरि समुह सतहमा देखिन्छ। एउटै पार्टी भित्र गोलबद्द भएकोले सम्भवत सबैको लक्ष्य एउटै होला भन्ने जन विश्वास छ तर लक्ष्यमा पुग्ने बाटोको चयन गर्ने सम्बन्धमा भने गम्भिर अन्तरविरोध देखिन्छ।

तिन थरि समुह मध्ये पहिलो समुह आफुलाई कम्युनिष्ट सिद्धान्त निष्ठ थान्छ। यो समुहको बुझाईमा मार्क्स भनेका देवता हुन र मार्क्सवाद देववाणी हो जो अपरिवर्तनिय छ। यसका लागि मार्क्सले डेढ सय बर्ष अगि सारेको दर्शन अकाट्य छ, कुनै काँटछाँट आबश्यक छैन। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि खासै परिवर्तन नभएको देख्छ यो समुह। यसले वर्तमान विश्व परिवेश, सुचना प्रविधिको विकाश र मानविय चेतनाको वर्तमान अवस्थालाई खासै साम्यवाद उन्मुख देख्दैन। यो समुहको बुझाई सिमेन्टेड छ। मार्क्सवाद भन्दा फरक दर्शनको अध्ययन यसको लागी गम्भिर त्रुटिको विषय हो। जीवन र जगतको बहुआयामिक पक्षहरुलाई सिर्फ एकतर्फी तरिकाले बुझ्ने र बुझाउने यसलाई ‘सैद्धान्तिक बन्धक’ समुह भन्दा हुन्छ। माओवादी पार्टी भित्र यो समुह अहिले बोलवालाको अवस्थामा नै छ तर जिवनको बहुआयामिक पक्षलाई बुझ्न चाहने बौद्धिक समाज यो समुह प्रति त्यति आबद्ध छैन साथै सर्वसाधारण  कार्यकर्ताहरुमा बुझाईको क्षितिज बढ्दै जाँदा तथा वैचारिक द्धन्दात्मकताले निर्वाद रुपमा प्रश्रय पाऊँदा यो समुहको बोलवाला क्रमश घटने देखिन्छ। जे होस यहाँ जीवन शैलि भड्काव पाराको नभई सरल स्वभाबको छ। राष्ट्रियता यथार्थ भन्दा भावनात्मक बढि हो


January 1, 2011

नयाँ वर्षमा केही नयाँ गर्ने की?

नयाँ वर्षको अवसर पारेर म सधैं सधैं दौँतरीमा केही कुरा राख्ने गर्छु। पत्रिका र अन्य साइटहरु मसला भरेर आफ्नो साइट चलाउन व्यस्त रहन्छन्। झिली मिली सामग्री,उत्तेजक फोटो जबर्जस्ती विज्ञापन टाँसेर पाठकलाई आफ्ना कब्जामा राखिराखेका हुन्छन्। मलाई के लाग्छ भने समयको पारसँगै पाठकहरूलाई पनि आफ्नो यात्रामा समेटेर अगाडि बढ्नु पर्दछ। पाठकहरूको सफलता नै आफ्नो सफलता हो। र नियमित कार्यका साथै नयाँ वर्षमा केही गर्ने सोच राखेर आफ्नो जीवनको यात्रा सफल पार्नुपर्दछ।

भनिन्छ सफलता हासिल गर्न आफ्नो कम्फर्ट जनबाट बाहिर निस्केर भरमग्दुर प्रयास गर्नु पर्दछ। आफू सधैं जे गरिन्छ त्यही गरेर काम गर्दा पूरा नै नतिजा हात लाग्ने हुँदा केही फरक ढंगले काम गर्दा चाहेको सफलता मिल्न सक्दछ। सायद तपाईहरु कति पयले पनि नयाँ वर्षमा केही नयाँ गर्ने सोच बनाइसक्नु भयो होला। कोही अझै सोच्दै हुनुहुन्छ होला। नयाँ वर्षको प्रण गरिसक्नु भएको भए तपाईँलाई तपाईँको प्रण सजिलै प्राप्त होस,धेरै धेरै शुभकामना। अहिले सम्म सोच्दै गर्नुभएको भए म नयाँ वर्षमा गरिने प्रणहरु कस्ता कस्ता हुन्छन् प्रस्तुत गर्दैछु।
१)साथी भाइ र परिबारसंग थप समय बिताउने: काम या अन्य ब्यस्ताले गर्दा धेरै मानिसहरू आफ्नो परिवार ,आफन्त या साथी भाइबाट टाढिने गर्दछन। तर जिबनमा यी निकै महत्वपूर्ण अंग मानिन्छ। यस्तो महत्वपूर्ण अंगबाट कामको बाहानमा किन टाढिने त? करिब ५०% व्यस्त मानिसहरू नयाँ वर्षमा आफन्तसँग थप समय


December 31, 2010

नयाँ बर्ष

नयाँ बर्ष,तिमिले एउटा आयम थाल्नु पर्‍यो
चेतनाको दियालो निभाए तिमीले बाल्नु पर्‍यो

धुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु नि
सके देखि आउनु देश यो मिलेर टाल्नु पर्‍यो

भोका छन यहाँका उपिया उडुस जती डसे नि
खोजि खोजी लेराउ अचुक ओखती हाल्नु पर्‍यो

खै कसरी कुहियो टाउका ति आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्‍यो

माटो दुखे सुखी को चुहिए छाना ओतिन्छ को
हातेमालो गरेर एउटा कदम चाल्नु पर्‍यो

December 29, 2010

कुहिरोभित्रको काग

शर्मिला खड्का (दाहाल)
जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौं, हजारौं, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयंसेवकहरू सेवा गर्न तल्लीन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभित्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवयित्री कविता पाठ गर्छिन् ।
 राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझिदनँ । म केही सतर्क हुँदै चारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोर आँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारी हरू उत्तेजित हुँदै नाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको


December 26, 2010

नेताहरूलाई ट्युसन पढाउने कि ?

शनिबार पारेर घरमा फोन गरें। बहिनीले फोन उठाई। फोनको ब्याकग्राउन्डमा निकै हल्ला खल्ला आएको थियो। मैले सोधे शनिबार पनि क्याम्पस गइस् कि क्या हो? क्यामपस हैन ट्युसन पढ्ने ठाउँमा छु भनेर उत्तर दिई। ए बहिनीले त पैसा कमाउन पो थाली छे,म दंग भएं। टन्न पैसा कमाउने भइस् अब,प्रश्न सक्न नपाउँदै बहिनीले उत्तर दिई, ह्या कांहा कमाउने, पैसा तिरेर ट्युसन पढ्न आएको नि। म अवाक् भएँ,उ भने मास्टर डिग्री पढ्दै छ,स्कुल पढ्ने भुरा भूरि जसरी ट्युसन पढ्न पो जाने रही छे।

मास्टर्स पढ्नेको हालत देखेर दिक्क लाग्यो। भाइ कता छ,मैले कुरा मोडे। उ त बिध्धालय निरीक्षकको ट्युसन पढ्न गएको छ। मैले कुरा नबुझेको हो कि भने दोहोर्याए,ट्युसन की परीक्षा? बहिनी झर्किँदै भन्दैथी, ह्या के को परीक्षा हुने नि,परीक्षाको रुटीन निस्केकै छैन। ट्युसन पढ्न गएको हो,शनिबार शनिबार हुन्छ त्यसको क्लास। भयो त अब? ट्युसन पढेर निखारिएको निरीक्षकले खै के पो निरीक्षण गर्ने हो। मलाई उहिले मामाघरमा क्रिषी निरीक्षणमा आएको जे.टी.एको याद आयो। चौतारीमा बसेर गफको भरमा गाउँका सुन्तलाका बोटको मूल्याङ्कन गरेको थियो।पोहोर साल गाउँका अधिकांश


गीत

यात्री शेखर

फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।

बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।

आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।

फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।

http://www.yatrishekhar.blogspot.com/

December 24, 2010

तिमी बाँचेकी हैनौ, सास फेरेकी हौ!!

तिमी बाँचेकी हैनौ नि
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!

हरेक बिहान
मिर्मिरेको उज्यालो संगै

तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई


December 19, 2010

नआऊ सामू यो रात पनि……….

शिव प्रकाश

नआऊ सामू यो रात पनि, पिएर बिताउँछु
पारेर छिया छोडेको मुटु, सिएर बिताउँछु ॥

बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥

उर्लेर आई  ती भेललाई, बगायौ कति  रात
धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥

मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
बिर्सन  सबै  ढुंगाको रुप, जिएर  बिताउँछु ॥

पिएर सधैं मातेर बस्छु, ती मात मेट्नलाई
जलेर  आफू प्रकाश केही, दिएर विताउँछु ॥

http://www.nepalimanharu.com/
डिसेम्बर १९, २०१० ।


एकछिन हाँस्ने हैन त ?

घरायसी, व्यावसायिक र अन्य विविध कारणले दौँतरीमा टि-टाइम नटाँसेको मात्रै हैन, दौँतरीमा नलेखेको पनि धेरै भएछ । त्यसैले आज आफ्नो र टि-टाइम दुबैको पुनरागमन गर्दैछु केही रमाइला जोकहरुबाट:


बाबु:- छोरा, आजको जाँच कस्तो भयो ?
छोरा:- बाबा, अलि बिग्रीयो जस्तो छ  !
बाबु:-यही हो तैँले पढेको, भोलीको जाँच पनि बिग्रियो भने मलाई बाबा नभन्।
(भोलीपल्ट छोरा जाँच सक्काएर फर्कन्छ)
बाबु:- आजको जाँच चाहीँ कस्तो भयो नि ?
छोरा:- सरी, गोविन्द जी, आजको जाँच पनि बिग्रियो ।


"Will the band play anything I ask them to?"
"Certainly sir"
"Well, ask them to play chess with me !" Angel



कार्टुन

- Luna

' टिरिङ्ग ! टिरिङ्ग !! टिरिङ्ग !!! '
फोनको घन्टी लगातार बजिरहेकोथ्यो । मेरो आँखा खुल्नै सकेन ! मलाई ऐठन परे झै भईरहेको थियो । फोनको घन्टी बज्न छोड्यो । म पुन : निदाए ।
केही बेरमा फेरी उसैगरी फोन आईरह्यो लगातार । बेड संगैको टेबलमा टेबलघडी थियो । हात तन्काएर ताने आँखा नखोलेरै । बल्ल बल्ल आँखा उघारेर हेरे , बिहानको ५ बज्दै थियो !
साधारणतया साँढे सात बजेतिर ब्युझिएर करिब आधा घण्टा जती बेडमा नै अघिल्लो राती तयार गरेका खबर लेखहरुको खेस्रालाई
 दोहोर्याइ तेहेर्याइ पढिरहने मेरो बानी थियो । कलमजिबी न परे ! 'पत्रकार ' को कहाँ आफ्नो समय हुन्छ र ! ऊ त सधैं पब्लिक कै लागि कुदिरहनु पर्छ कुदिरहनु पर्छ बेला न कुबेला ---
एकाबिहानै फेरी कुन समाचारको लागि फोन आयो भन्ने सोची फोन उठाए मैले लामो हाई काढ्दै हेल्ल्ल्ल्लो ! भने । उता बाट कानको जाली हल्लिने गरी चर्को आबाज आयो ' आनन्दे ! गूड् मर्निङ ! '
' प्रेम पो रैछ ! ' ' एका ब्यानै ( बिहानै ) के गूड् -- गूड् -- ' मेरो शब्द नै भक्भकियो रिसले !
उस्ले ' आनन्द ! सुन न यार ! -- ' भन्दै थ्यो म जङ्गिए ' मैले तलाई हिजो अस्ती नै भन्या हैन म जगिङ्ग जान्न् भनेर ! ब्यान ब्यानै
 उठायो यस्ले ! हिजो रात भर रात भर तैले पनि त रिपोर्ट तयार पारेकै थिस नि ! तलाई थकाई लागेन ?! २-४ दिन पछी स्टार्ड गरे
  हुन्न ! ' ऊ चूप थियो ।


December 17, 2010

कि कसो?

एउटा भबिष्यको दृष्य देख्या जस्तै लाग्यो। हुन त पैला पैला शिबरात्री र फाउ पुर्नेमा नी त्यस्तो दृष्य देख्या जस्तो नलाग्या त हैन, तर यो दृश्य चै शिब-शम्भो प्रायोजित होईन। दृश्य यस्तो छ:

एउटा निक्कै जोशिलो ब्यक्ति ट्वाँट हातमा लिएर मन्द मुस्कानका साथ बोल्दैछ। उस्का वरीपरी थरी थरीका अरु छन। त्यो जोशिलो ब्यक्ति भरखरै साम्सदमा निर्बाचित भएर आएको हो। उ भन्दै हुन्छ : यता पो मस्ति रै छ। जे बोले नी हुने, जे गरे नी हुने, भत्ता पक्का रे छ, सुरक्षा त झन हुने नै भो। पैला पैला त केई बोल्नै नहुने, केई गर्नै नहुने। भत्ता पचाउनै गार्हो। पैला साथीका नाममा दुश्मन धेरै थिए, अहिले दुश्मनका नाममा साथी धेरै छन। कि कसो कामरेड? ट्वाँटको गिलास अर्को अलि पर तिर बसेर मासु तान्दै गरेको कामरेड सांसद तिर छचल्काउँदै जोशिलो ब्यक्ति बोल्छ। मासु तान्ने सांसद टाउको हो मा हल्लाउँदै मासु चपाउन थाल्छ।

जोशिलो ब्यक्ति भन्छ: अब १०/१५ जना जति अरु हाम्रो जत्थाका सांसद भेला हुन पाईयो भने त हाँकिने रे छ। धेरै सिट ल्याउने प्रधानमन्त्री थोरै ल्याउने मन्त्री, यस्तै रे छ गणित। हैन त? चारतारे साम्सद साथी बिजुलीजलमा निक्कै मातेको देखेर उ तिर हेर्दै जोशिलो दंग पर्छ।

त्यो जोशिलो ब्यक्ति सँगै उभिएको एउटा धुपौरेले सुटुक्क भन्छ :पारस सरकार, रुबेला राजालाई त भेटेरै धन्यबाद भन्नु पर्छ। सरकारलाई यो साम्सद बनाउन जग खनेको त उसैले हो। गुन त बिर्सिनु हुन्न सरकार।

कि कसो?

December 16, 2010

वैदिक हिन्दू दर्शन र सहृदयता

( 'आयोदधौम्य' निर्मलमणि अधिकारी

सहृदयताको अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सर्न्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रक्रियालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण 'संचारको साधारणीकरण ढाँचा' भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । 'वसुधैव कुटुम्बकम्' को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा 'सहृदयता' लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा लिनु उपयुक्त हुने देखिन्छ । मानवीय व्यवहारमा सहृदयताको अनुपम रूपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागिर् इश्वरीय भक्तिको सर्न्दर्भमा चर्चा गरौँ । "भारतीय विचारधारामा जहाँ हामी मानव र्रर् इश्वरबीचमा निष्कपट संगति पाउँछौं, उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रूपमा लक्षित हुन्छ । पश्चिमी
 देशका पौराणिक आख्यानहरू पनि यस्तै निर्देश गर्दछन् । ... पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र इश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य र इश्वरको शक्तिको मुकाबिला गर्दछ, मनुष्यजातिको हितकोलागी इश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्यर् इश्वरद्वारा निर्मित वस्तु हो ।"


December 13, 2010

पारस फेरी बिबादमा

यदा कदा पत्याउनै नसक्ने काम गरेर चर्चामा आउने पारस शाहा आफ्नो राजकुमार पद्दबी सकिएपछी पून एक पटक चर्चामा आएकाछन। त्यो पनि गोली चलाएर। समाचारमा आए अनुसार उनीले नेपालको बिदेश मन्त्री सुजाताको ज्वाई पर्ने बंगलादेशी नागरीक रिबेल चौधरीलाई गोली चलाएका हुन। तर कोही पनि घाइते नभएको सुनिएको छ। पछी बिज्ञप्ती आउंदा पारसले हवाई फाएर गरेको बुझिएको छ।

यो गोली काण्डसंगै पून राजतनत्र बारेमा कुराहरु उप्किएका छन। ज्ञानेन्द्रले गर्दा होइन कि पारसले गर्दा राजतनत्र गएको भन्ने एकथरी छन बने अर्काथरी नेताहरू भएको भए बिदेशीसंग हो हजूर भन्दै पूच्छर लुकाउंथे तर पारसले कमसेकम बिदेशीबाट आफूं हेपिन त जोगिए। साथै नेताहरुले मैले गरेकै होइन या मैले भनेकै होइन जस्ता जाल थापेर उमक्ने स्थीतीमा पारसले मैले गरेको हो भनेर सकारेका छन। केही भने राजतन्त्र समाप्त गर्नेमा गिरीजा कोइराला प्रमूख रेहेकोले पारस कोइराला परिबारबाट छुद्र भएको ले त्यो बदला लिन कोइराला परिबार प्रती लक्षीत गरेर आक्रमण गरेको हुनुपर्दछ। स्मरण रहोस रेबेल चौधरीले बर्तमान परराष्ट्र मन्त्री सुजता कोइरालाकी छोरी मिलेनी कोइरालासंग बिहे गरेका थिए।


December 11, 2010

विकीलिकका संस्थापको गिरफ्तारी र नेपाली पत्रकारको चासो

दौंतरीको इमेल खोल्दा नेपाली अनलाईन पत्रकार संघको इमेल प्राप्त भो। प्रेस विज्ञप्ती रहेछ जुलियन असान्जको बारेमा। सांच्चै अहिले जुलियन वाइट हाउस देखी काठमाण्डौसम्म केन्द्र बिन्दुमा परेका छन। नेपाली अनलाईन पत्रकारले चासो राखे ठिकै छ। सरर पढ्दा विज्ञप्तीले सुचना सम्प्रेशण गर्न पाउनू विश्वव्यापी लोकतान्त्रिक मान्यता हो,यसमा कोही पनि बन्चीत हुनुहुनुहुन्न भनेका रहेछन।

पहिले त मलाई यो लोकतन्त्र भन्ने कुरो सारै हांसो उठ्छ। प्रजातन्त्रबाट फ्लप भएका नेता लोकतन्त्रको खरानी धसेर निस्कदा अनलाईन पत्रकार तिनै खरानीको बिगुत बन्न पूगेछन। दोस्रो असान्ज बिकीलिक भन्दा पनि यौन दुराचारको कैदी भएर जेलमा सामेल भएका छन। हुन त वाक स्वतन्त्रता जस्तो सुकै प्रजातन्त्रमा पनि लगाम भएर निस्कन्छ तर अचम्म मान्नू पर्ने कुरा के


December 6, 2010

एक बित्ते भित्ता , कर्कश स्वर र दाम्जिङ्ग

- लूना

केहि वर्ष अघि मात्रै काठमाण्डौ ' मन्दिर नै मन्दिरको शहर ' भनेर बिश्वमाझ चिनिन्थियो तर अब हिजो आजका कुरा हेर्नुस ! तितो सत्य हेर्नुस !! काठमाण्डौ शहर 'कंक्रिट नै कंक्रिटको शहर ' मा परिणत हुदै छ। भैरहेको छ धमाधम ! जब तपाइको दुइ पाइलाले काठमाण्डौ टेक्नु हुन्छ त्यसपछि तपाइको आखाले के देख्नु हुन्छ ? घरै घर ! घरै घर !! हो , यहि घरै घर अर्थात कंक्रिट नै कंक्रिटको शहर मेरो प्यारो काठमाण्डौमा जिबन बाचिरहेका परिवारहरु मध्ये कुनै एक परिबार छ र त्यो परिबार संग सम्बन्धितहरुको कथा लेख्दै छु जुन अन्य लाखौ लाख काठमाण्डौबासिहरुको कथा भन्दा बिल्कुल फरक ' चै ' हुने छैन ।
धुन्चे बजार नजिकैका बस्नेत दम्पतीले आफ्नो बसोबास काठमाण्डौ शहरमा केन्द्रित गरेको करिब १ बर्ष भयो । उनीहरुको साथमा एक सन्तान छ करुण , ऊ सात मा पढ्दै छ । उनीहरु बस्ने अपार्टमेन्टको पहिलो तलामा स्पोर्ट्सक्लब छ । बुबाले तयार गरिदिनुभएको हर्लिक्स पिएर उ स्पोर्ट्सक्लब गयो बिहानभरको खेल अभ्यासको लागि । छोरा करुण बाहिर गए पछी कल्याण
  किचनबाट बेडरुमतिर गयो ।

' रुकु ' उसले रुक्मिणीलाइ ब्युझाउन खोज्यो ।
'उम्म्म् '! रुक्मिणी कोल्टे फर्केर निदाईरही ।
' रुकु ! उठ न बा ! आठ बजिसक्यो ! करुण तल गएको पनि एक घण्टा हुनै लाग्यो .!'


December 4, 2010

सुकन्या अर्थात नीलिमा

शर्मिला खड्का दाहाल


तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् । 
    म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
    म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।


December 2, 2010

ब्लगर प्रदिप बस्यालका ब्लग गफ

ब्लग भित्र ब्लग स्तम्भ पून लिएर आएका छौं। यसपटक दौंतरीमा ब्लगर निम्ताउने क्रममा http://pradeepbasyal.com.np/ का ब्लगर प्रदिप बस्याललाई निम्ताएका छौं। प्रदिपजीलाइ कसरी ब्लगर बन्ने भूत चढ्यो सुनौं उहांकै गफबाट। प्रदिपजीको ब्लग तथा दौंतरीको ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै नभूल्नुहोला।

१) ब्लगर कसरी बन्न पुग्नु भयो ?

यसको एउटा वेग्लै रोचक कथा छ । पिताजीको जागीरको दौरान म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना–प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग’ लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने
 भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।


December 1, 2010

खालि बेकारमा !

शिव प्रकाश
 
छोड अब प्रेमका मात्र, गीत गाउन  खालि बेकारमा
जहाँ पनि जहिले पनि प्रीत लाउन खालि बेकारमा  !

गर्न खोज्यो एउटा यहाँ, हुन्छ फरक थाह छैन किन ?
तिम्रै छायाँ आउँछ माया, छानो छाउन खालि बेकारमा !

अरु केही धेरै छ गर्नु, धेरै  छ लेख्नु, यही जिन्दगीमा,
घुमीफिरी पुग्छ यो  मन तिम्रै टाउन खालि बेकारमा !

गीत  पनि, गजल  पनि, कथा कविता सेरोफेरो उही
लेखुँ भन्छु अर्थोक केही, केही आउन्न खालि बेकारमा !

दोष दिउँ किन कस्लाई  छैन वसमा यो  मनको तृष्णा
साँचो सत्य बोल्छ प्रकाश तिम्रै ध्याउन्न खालि बेकारमा !

डिसेम्बर ०१, २०१०।


November 29, 2010

अनिर्णयको बन्दी

शर्मिला खड्का दाहाल

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।
      "ओहो भिनाजु कहिले आउनुभयो नेपालबाट ?"
      "केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? "
      "सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "
यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा  गर्नमा चाहिँ पछि पर्दैनन् उनी । " ओहो दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "


November 28, 2010

अस्तव्यस्त काठमाण्डु :

केही समय वा वर्ष बिदेश बसेर नेपाल फर्किएका हाम्रै नेपालीहरूले ‘फर्केर आउँदा नेपालको तस्वीर उदेक लाग्दो पाएँ ‘ भनेर बताउँदा मलाई त्यो मान्छेप्रति भाउन्न भएर रिस उठ्थ्यो । जिन्दगीको विडम्बना , आँफूलाई पनि परदेशी नै हुन केही विवशता र जीजीविषाका रहरहरूले वाध्य बनाए । एकाध वर्षमा स्वदेश फर्किनु पर्ने सन्दर्भ र परिस्थिति आउने नै भए , आखिर हाम्रा हाँगाबिँगा जता छरिएका भए पनि जरा त स्वदेशमा नै गाडिएका छन् । तर स्वदेश फर्किएर प्रथम गासको रूपमा आँफूले हासिल गर्ने अनुभवहरूले भने प्रतेक पटक दाँतमा ढुङ्गा लगाउने परिस्थिति बनाएका छन् , यसपालि पनि मैले खुशी हुनु पर्ने सन्दर्भ र घटना फेला पार्न सकिन । यसो भन्दा बाहिर बसेर स्वदेशको कन्तो खन्ने शठ-बुज्रुकमा म पनि दरिउँला तर पनि इमान्दारिता पूर्वक भन्ने हो भने मैले स्वदेशमा आशा र भरोसा कहीँ कतै फेला पारिन । मुलुक दश वर्ष उताको भन्दा हरेक क्षेत्रमा मूल्यवत्ता , संस्कार, परिष्कार र आशा-अपेक्षा का पक्षमा जतासुकै खस्केको हो कि भन्ने निराशाववादिताले मलाई यस पटक पनि निर्लिप्त गाँजेको छ ।
काठमान्डू , देशको मुटु र मष्तिष्क दुवै हो , जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाण्डु जनसंख्याको चाप , भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो , यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा


November 25, 2010

भ्रमपीडा !

शिव प्रकाश


उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको
  सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ – “मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?”
“म के हुँ ?”
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।