September 17, 2009
देशको नाम पनि फेर्ने कि ?
September 16, 2009
नदेउ,र नलाउ
दुइ मुक्तक
एक
नदेउ
दोष तिमी मेरो नजरप्यालालाई
सम्हाल त्यो झर्झर यौवनज्वालालाई
रोक्न सक्दैन फूलले आफ्नै वासना -
कसरी छल्छौ तिमी हजार आँखालाई ।
दूई
नलाउँ
फेरी माया फाटेपछि सिउन गाह्रो हुन्छ ।
फूटेको प्यालामा मधुरस पनि पिउन गाह्रो हुन्छ
साँचेर फाटेको माया, बाँचेको छु पिएर -
नपाए'नि माया, पिउन नपाए जिउन गाह्रो हुन्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 15, 2009
Admin Privelaged Changed!
--------------------------------------------------------------------
We are suspecting our administrator's password has been reached to second person. Admin privileges have been on hold for a short time. Dautari Admins I would request to change your passwords!
Thank You
Nepalean
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पर्खाई....
(पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो)
उसले चुरोटको अर्को लामो सर्को तान्यो।
बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।
३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।
“पैँतिस हजार…दुबई पठाइदिउँ?”
“कति लाग्छ नि लाग्न चाहिँ?”
“एक लाखमा भिसा आइपुग्छ!”
“एक लाख!”
“मेरो आफ्नै भान्दाईको म्यानपावर हो, दुबई गएर आउँछन् बर्षमा ३-४ पटक, चिनेको कम्पनिमा हो जानासाथ काम सुरु हुन्छ, सोच् राम्ररि!”
उ सडकतिर हेर्न थाल्यो।
“साला म्यानपावरहरु! ठगेर धनि हुन्छन र अझै अरुलाई कमाउने सपना देखाउँछन्!”
“के गालि गर्नु, एक लाख त हैन २०-३० हजारमा जान पाइने भए भोलि नै उड्न हुन्थ्यो यो नरकमा आधीपेट खाएर बस्नु भन्दा त!”
उसले थुक्यो र फेरि चुरोटको सर्को तान्यो।
“अझै आइन त?”
उसले आफैँलाई प्रश्न गर्यो र उता हेर्न थाल्यो।
उसलाई यसरि घाम र धुलोमा कुर्न साह्रै बोर लाग्छ।
“बालाजु हो? ल ल आउनुस छिटो!”
बस नजिकै रोकिएको थियो र फुच्चे खलाँसिले उसलाई सोधिहाल्यो।
ऊ केहि नबोलि मुख बिगारेर अलि पर सरेर बस भन्दा पर हेर्न थाल्यो।
“ओ दाई नचढ्ने भए किन बस रोक्ने ठाउँमा उभिन पर्यो?”
बस गुड्दै थियो र खलाँसि ऊ तिर हेरेर बोल्दै थियो। उसलाई हेपिएको आभाष भयो।
उसलाई खलाँसिको टाउको बसको टायरमुनि हुलिदिन मन लाग्यो। बस गुड्दै पर पुग्यो,खलाँसिले उसलाई गिज्याउने भावले हेरिरहेको जस्तो लाग्यो।
उसले चुरोट मुखसम्म ल्यायो र मुख बिगारेर हुत्याएर फालिदियो। फिल्टर सम्म बलिसकेछ।
ऊ फेरि उतै हेर्न थाल्यो।
“ के मर्थि र मुखले मात्र ठिक्क पार्छे सधैँ!”
उसले मुख बिगार्यो।
“दाई एक रुप्पे दिनोस न?”
गाला र निधारमा कट्कटिएको मयल लिएर पँहेला दाँत देखाउँदै एउटा खाते ऊ संग पैसा माग्दै रहेछ।
“के पैसा? चुप लाग् साले खाते!”
उसले खातेलाई हप्कायो र खातेसंग छोइएला कि भनेर अलि पर सरेर अर्कै दिशामा हेर्न थाल्यो।
पर ४ जना केटिहरु कुनै स्कुल ड्रेसमा शायद बस कुर्दै रहेछन्।
उसको नजर त्यतै गयो।
“सालीहरु सब घुस्याहाका छोरिहरु होलान्! बाउले ठगेर ल्याउँछ यिनिहरुको मोज!”
केटिहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए।
उसका आँखाले केटीहरुले लाएको स्कर्टमुनिको घुँडाहरु तुलना गर्न थाले।
“ यी सबै केटासंग सुत्ने बानि परिसकेका हुन्!”
उसले आफ्नो अनुमान मनमनै आफैँलाई सुनायो।
“साली रश्मी अझै मर्दिन!”
स्कर्टबाट देखिएको घुँडाबाट माथिको अंग कल्पनामा बनाउँदै उसले रश्मीलाई सम्झियो।
कुनै स्कुलबस केटीहरुको नजिक रोकियो।
केटीहरुको हल्ला बढ्यो।
बसको ढोकाबाट कुनै भर्खरको केटाले हात झार्यो र पालैपालो सबै केटिको हात समात्दै बसमा तानेर चढायो।
उसले फेरि मुख बिगार्यो।
“ बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!”
उसले सोच्यो।
उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्।
ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन।
“र.. हरु के हेर्छन कुन्नि?”
उसले फेरि आफैँलाई प्रश्न गर्यो।
“गाँठ भए जे पनि पाइन्छ काठमान्डुमा!”
उत्तर पनि ऊ आफैँले दियो।
केटिहरुलाई तानेर बसभित्र उकाल्ने केटा बसको ढोकामा उभिँदै हाँस्दै थियो र बस गुडेर उसको नजिकबाट गयो।
“साले म भन्दा ५-६ वर्ष कान्छो होला, लाईफको मोज सबै थाहा पाइसक्यो!”
उसको निधारमा ईर्ष्याको लहर जन्मियो।
उसले घडि हेर्यो र फेरि मुख बिगार्यो।
“रश्मी आइपुग्नु पर्ने हो अब त!”
उसले फेरि उता हेर्यो।
“अस्तिको त्यो बाइकमा हालेर लाने रन्जन बोकासंग यसको पक्कै पनि लसपस हुन पर्छ!”
“रन्जनेले दुख दिन्छ भएको नभएको गफ लाउँछ भन्छे अनि त्यसैसंग बाइकमा टाँसिएर हिन्छे साली!”
उसको बिग्रेको मुख झन बिग्रियो।
“ साला अर्को वर्ष यतिबेला सम्म त कसो एउटा बाइक नकिनौँला!”
उसले खल्ति छाम्यो र फेरि चुरोट सल्काएर तान्न थाल्यो।
“यु आर अ नाइस गाइ नि निरज, तिमी त्यो रन्जने जस्तो बिग्रेको छैनौ नि त्यसैले त तिम्रो माया लाग्छ मलाई!”
रश्मीले उसलाई भनेको सम्झियो।
“बिग्रेकोसंग किन जोल्ठेर हिन्न पर्या नि तेल्लाई चाहिँ?”
उसले रिसमा प्रश्न गर्यो, शायद आफैँलाई।
“ह्या बाइकमा घरसम्म पुर्याइदिन लगाकि होलि नि कम्ता बाठि छे त्यो!”
उसकै मनले उत्तर दियो।
उसलाई थाहा छैन किन हो, एकैछिनमा उसलाई रश्मीको माया लाग्छ र रश्मी प्यारी, पवीत्र, सोझि लाग्छ र एकैछिनमा उसलाई रिस उठ्छ र रश्मी चालु, चरित्रहीन र धुर्त लाग्छ।
उसले फेरि घडि हेर्यो।
“उसकै काम गरिदिन भेटौँ भन्छे उहि आउँदिन आधा घन्टा भन्दा बढि भैसक्यो!”
उसको रिस फेरि बढ्न थाल्यो।
एक पटक हैन दुई पटक हैन धेरै पटक उसले रश्मीलाई यसैगरि कुरेको छ र रश्मी यसैगरि आइदिएकि छैन। उसको रिस यसैगरि आकाशमा पुगेको छ र रश्मीको सामु परेपछि रश्मीको मिठो बोलीमा नआउनुको कारण सुनेपछि ऊ सधैँ पत्याउन बाध्य भएको छ।
उसलाई थाहा छैन ऊ किन मनमा उब्जेको रिस र प्रश्न रश्मीको अगाडि देखाउन सक्दैन।
ऊ अलिकता बेचैन देखियो।
“यस्ता संग लभ गरेर के बस्नु?!”
उसले फेरि घडि हेर्यो र केहि सोचेर चुरोट फाल्दै बाटो काट्यो।
एउटा कम्यूनिकेशनको बुथ भित्र छिर्यो।
“दाई एउटा लोकल कल!”
पसलेले केहि नबोलि फोन देखाइदियो।
उसले कतैको नम्बर घुमायो।
“हेलो! रश्मी छ?”
“हजूर म निरज!”
“साथि!”
“हो निरज नै हो हजुर!”
“ए! त्यहि त अहिले सम्म आइन भनेर यसो फोन गर्या! हस् त म कुर्छु अझै!”
ऊ पैसा तिरेर बाहिरियो, र फेरि सडकवारी पहिलेकै ठाउँमा आयो।
“ अलि ढिलो हिँडिछे जस्तो छ, मैकहाँ जाने भनेर हिँडेकि रे!”
ऊ अलि सन्तुष्ट देखिन्थ्यो।
“बिचरी टेम्पोमा कोच्चिएर हिँडिरहेकि होलि!”
उसको मनमा माया र सहानुभूती पलायो।
“खान कता लैजाने होला?”
उसले मनमनै भन्यो र खल्ति छाम्यो।
“छ्या त्यो समोसापसलमा त नाइँ पाखेहरु मात्रै हुन्छन!”
उसलाई रश्मीले भनेको याद आयो। उसलाई फेरि हल्का रिस उठ्यो।
“खल्तिमा डो नभएसि पाखे न साखे, त्यति नि बुझ्दिन साली!”
“बेकरीको मम क्या दामि हुन्छ नि निरज!”
फेरि उसलाई रश्मीले भनेको याद आयो।
“त्यसको बाउको कमाई त्यहि हो, तेल्लाई कसरि थाहा हुन्छ काठमान्डुको सबै महंगा रेस्टुरेन्टको मेनु??”
रिसले उसको निधार फेरि खुम्चियो।
“खै अझै मरिन? यति दुख दिन हुन्छ तेल्ले मलाई?”
“ओ निरजss!”
नजिकै एउटा बाइक रोकियो।
ध्रुवे रहेछ।
उसले दाँत देखायो।
“काँ जान लाग्या? हिन् म छोड्दिन्छु!”
“हैन यार तँ जा, पछि भेटौँला मेरो काम छ!”
उसलाई ध्रुवे गए हुन्थ्यो भन्ने लाग्यो।
“त्यसैलाई कुर्या त होलास नि तैँले। के त्यस्तो केटिको पछि लागिरा तँ? अगि भर्खर रन्जनेले तन्दुरी रेस्टुरेन्ट भित्र लिएर गा’ छ त्यसलाई तँ साले यहाँ कुरिराख्!”
ध्रुवेले हेल्मेटभित्रको आँखा चम्काउँदै भन्यो।
उसको मुटु हल्का उफ्रियो, अनुहार अलि बढि कालो भयो।
“हैन यार तेस्ता केटिलाई म किन कुर्थेँ, अरु नै काम छ क्या पछि भनौँला!”
“ल त, तँ यहिँ घाममा पाकेर बस् म गएँ!”
ध्रुवे हिँड्यो।
उसलाई औडाहा भयो।
“साली मलाई यता कुराएर त्यो बोकोसंग रेस्टुरेन्ट जान्छे!”
उसको मुख झनै बिग्रियो।
उसले टेम्पो रोक्यो।
टेम्पोमा दुईजना मोटि आइमाईहरुको बिचमा ऊ लगभग हराएको थियो। टेम्पो घाममा तातेको थियो र ऊ भित्रको औडाहा भन्दा बाहिरको गर्मि कम थिएन।
टेम्पो लैनचौरबाट लाजिम्पाट पुग्यो।
बाटो भरि तन्दुरी रेस्टुरेन्ट हेर्न उसले निकै सकसका साथ टाउको तन्काइरहेको थियो।
उसले टेम्पोको छत एकपटक ठटायो।
ड्राइवरले शायद सुनेन, टेम्पोको स्पिड उस्तै थियो।
रिस, जलन, गर्मि र औडाहामा उसले ४-५ पटक जोडले टेम्पोको छत ठटायो।
टेम्पोले ब्रेक लगायो, सबैले उसलाई वाल्ल परेर हेरे।
ड्राइवर भुन्भुनाउँदै थियो।
“आफ्नो बाउको टेम्पो भन्ठान्छन साले पाखेहरु!”
उसले ड्राइवरले बोलेको सुने पनि सुन्या नसुन्यै गर्यो।
बाहिर ओर्लेर पैसा फुत्त फाल्यो र एकातिर हिँड्यो।
फत्फताउँदै ड्राइवर टेम्पो चलाउन थाल्यो।
उसले रेस्टुरेन्ट देख्यो।
सर्ट प्यान्टबाट लगभग पुरै बाहिर निस्केको थियो। उसले सर्ट प्यान्टभित्र कोच्यो। उसलाई थाहा थियो उसको व्यक्तित्वले रेस्टुरेन्ट छिर्नु भनेको बेराहरुको गहिरो अविश्वासको आँखा आफ्नो टाउको देखि खुट्टासम्म बग्न दिनु हो।
रेस्टुरेन्टको ढोका खुल्यो।
ऊ सकपकायो र ढोकाको छेउमा उभियो।
रश्मि कुर्थाको सल मिलाउँदै फटाफट बाहिर निस्किइन र अलि पर पुगेर भुइँमा हेर्दै उभिइन्।
उसको मुटुको धड्कन बढ्यो।
फेरि ढोका खुल्यो। रन्जन हेल्मेट समातेर फुत्त निस्कियो र रश्मी उभिएको ठाउँमा गयो।
उसलाई दुवैले देखेनन्।
“ स्टुपिड मान्छे के गरेको अगि?”
उसले रश्मीको स्वर सुन्यो र लगत्तै रन्जनको हाँसेको स्वर सुन्यो।
“को थियो र त्यहाँ? बेसि डराउने क्या तिमी?”
रन्जन बाइक स्टार्ट गर्दै थियो। रश्मि पछाडि बसिन्।
बाइक गुडेर टाढा जानु भन्दा अगाडि उसले रश्मीको आवाज सुन्यो-
“ अस्तिकै बाटोबाट लैजाऊ है? धेरै दुख दिने हैन नि भन्द्या छ…….दुई घन्टामा घर पुग्न पर्छ उफ्!”
बाइक टाढा पुग्यो।
ऊसको मुटु उफ्रेको उफ्रेई थियो।
रेस्टुरेन्टको ढोका खोलेर एउटा बेरा उसैलाई हेरिरहेको हरेछ।
“के हेर्या दाई? तपाइँ हामिसित यस्ता केटि हिँड्दैनन्, यो दाई त हरिप छ, फेरि फेरि ल्याउँछ केटिहरु!”
ऊ ऊसले केहिबेर अघि गरेको आफ्नै अनुमान सम्झँदैथियो, बिगार्ने केटा कम हुन्छन्!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अथ: द्रूतरथ ऊर्ध्व उदरासन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 14, 2009
हिमालमुनि
- हस्त गौतम मृदुल
मगमग बास्ना छरेका सधैँ पालुवा आँकुरा ।
आकाशमुनि उडेका चील पखेटा फिजाई
सौन्दर्यशील सुन्दरता औधी प्रकृति रिझाई ।
सुनौला बादल रुपौला खेत धान छ मुलेको
बगेको नदी झरेको झर्ना सौन्दर्य खुलेको ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 13, 2009
गजल
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।
वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अकथा
ऊ नेपालमै थियो। सहरको कुनै साइबर क्याफेबाट दिनको समयमा विदेशिएको साथीसँगै कुरा गर्दै थियो:
ऊ: के छ, मस्ती होला नि तेरो त ?
उताबाट: मस्ती कि सास्ती ?
ऊ: विदेश गएपछि के को सास्ती ?, सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
उताबाट: हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो… ।
ऊ: अनि कमाइ कति हुन्छ त ?
उताबाट: ......., …
ऊ: ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
उताबाट: ...हैन कुरा त्यस्तो हैन ..., .... ....
नेपालमा अचानक बत्ती निभ्छ र इन्टरनेट डिस्कनेक्ट हुन्छ । उताबाट लेखिएको सबै मेसेज उसले पढ्न सक्दैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
खुल्ला आकाश
- यात्री शेखर
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।
प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 11, 2009
हैन हौ, शपथ किन खान पर्छ ?
कुरा ढिलो बुझ्ने र तीन पल्ट हाँस्ने उपबुज्रुगको कोटीमा मेरो नाम दरे हुन्छ । डेढ दुई महिनादेखि नेपाली समाचार हेरेको छु, जता पनि परमानन्द र हिन्दी शपथको मात्र चर्चा छ । त्यो पनि एक वर्ष अघि खा’को शपथको कुरा अहिले किन गर्दैछन् , मरिजाऊँ बुझ्याभए । अब ऊ बेला शपथ हो कि के जाती हो खाने बेलामा , मन्त्री -उन्त्रीलाई टि भि’आँ देखेकै हो ।
कसैले धोती कुर्ता, कसैले आईमाई भएर नि जिनका पाइण्टाँ , कसैले खरानी रंगका पाइन्ट कमेजमा रातो टाइ र टोपी लगार, कोहीले पाण्डा , डिंगो अनि गोल्डस्टार जुता लाएर शपथ खा’थे । भाषा पनि अनेक थरिका थे , यिनले शपथ खाए कि कुपथ खाए खासै कसैले मतलब राखेको देखिएन । अब मन्त्री बन्ने , फिर्ता हुने र नया आउने कुरा हुन कुनै आइतबार कुर्न नपर्ने मुलुकाँ , के कपडा लाएर के भाषामा के जाति कुरा कतिले खाए भन्ने कुराको हिसाब किताब औँला भाँचेर राख्न पर्ने दरकार पो हाम्लाई किन परेको छ र ? त्यसैले राखिएन ।
पहिला पहिलाको जमानामा मन्त्री, रापंस , सांसद बन्ने हरूले दौरा शुरवाल लाएर अगडि उभिएको एक जनाले पढेको कुरा अरू पनि त्यस्तै पहिरन लगा’काले समूहमै दोहोराउँथे र पढ्थे । किन होला यति ठूला जस्ता देखिने मान्छेलाई पनि केटाकेटीलाई पढाए झैँ , दोहोराउन लगाएको भनेर सोचिन्थ्यो । त्यहाँ कहिले काहीँ राजा पनि हुन्थे । पछि कुरा बुझियो यही कामलाई शपथ खाने बनेर भनिँदो रहेछ । हामी चानचुने मान्छेले ‘विद्यानास, गाईखाने, म मरि जाउँ, जनैको धर्म , म प्वाक्क हुन परोस्, भने जस्तै ठूला मान्छेले राम्रो तरिकाले किरिया खाएको कुरालाई नै राजनीतिमा शपथ खाने भनेर भनिँदो रहेछ । यति त बुझेकै हो अल्लि पछि बुद्दि छिप्पिन थालेसि । चानचुने मान्छेले कसम वा किरिया खा’को छ भने उसले झूटो भनेको, गरेको वा भन्ने गर्ने छैन कि भनेर भरोसा गर्न सकिने अलिकति ठाउँ रहन्छ । तर पनि , पच्पच्ति किरिया खाएर , मान्छेको विश्वासलाई पनि गाजर मूला खाएझैँ कर्याम कुरूम पार्ने नभएका पनि हैनन् ।
तर यी पहिला न्यायधीश पनि भएर नेपाली भाषाँ अदालतका निर्णयका ठेलीका ठली लेख्ने तिरहूते बाहुन परमानन्द झालाई देशको उपराष्ट्रपति भएसि के रोग लागेछ बिचरा नेपाली खर्लप्पै भुलेछन् । नेपाली भुलेपछि नेपालीसंग लिपी उपी मिल्ने दाइ भाषा हिन्दीमा शपथ खाएछन् । यो कुरा अदालतले एक वर्ष पुग्दा, नपुग्दा थाहा पाएर भन्दिएछ ‘ हैन, नेपालको उप हुने हो भने , नेपालीमा नै शपथ खान पर्छ ‘ । यही कुरोमा हलो अड्केर मुलुक ठप्पै भैसक्दा पनि मेरो मगजमा कुरा घुसेन । मलाई भने यो शपथ खाने नियम हटाइदिएर टण्टै खलाँस पार्दा हुन्न र भन्ने लागेको छ ।
शपथ जुन भाषाँ खाए नि , शपथले बाँधेर राख्ने कुरो पनि हैन । शपथ खा’काले इमान्दार र नैतिकवान भएर कुरा वा काम गर्छन् भन्ने पनि कहिँ देखिएको वा लेखिएको छैन । गतिला शपथ खाएकाले नै देश लुटेर, ध्वंश पारेर यो हालत बना’र हाम्रो कन्तबिजोग भएकै छ । शपथ खाएर , शपथलाई अगस्ति मुनिले झैँ पचाएर, देश नै खान मिलेकै छ भने शपथ को इज्जत बचाउन पनि अब शपथ खान नपर्ने बनाउने बेला भएन र ?
मलाई शपथ खाँदामा यो राम्रो कुरो हुन्छ है भनेर कसैले बता’को पनि छैन । शपथ काण्डले देशलाई नै कुपथमा पारेको हो कि जस्तो मेरो मोटो बुद्दिले ठानिरा’छ । त्यसैले मेरो कुरो कसैले सुन्छ र मान्छ भने मेरो फिराद यही छ कि ‘ मिल्छ भने यो शपथ कुपथ केही खान नपर्ने बनाऊँ , हुँदैन र खाने नै हो भनेर जिद्दी गर्ने हो भने जसलाई जे मन पर्छ त्यै त्यै तरिकाले, रूचि अनुसार खान मिल्ने पारौँ’ । नया नेपालमा खाने कुरा र पकवानमा पनि कसैलाई ‘यही खान पर्छ र खा’ भन्न पाइन्छ र ? त्यसैले शपथ खान र ख्वाउन कर नलगाऊँ , खानै पर्नेले रूचि अनुसार अझ मिल्छ भने घर घराँ गएर खाऊँ । यसो गर्दा गणतान्त्रिक लोकतन्न्त्रको कायाकल्प हुन्छ ! हैन र ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मुटु माझमा
- यदु
तिमीबाहेक यो मन कतै सर्दै सरेन |
यो मुटुमा तिम्रो माया मर्दै मरेन ||
अझै तिमीलाई पर्खिरहेछु भेटिएला भन्दै |
बाँचिरहेछु बिछोडका दिनहरु गन्दै ||
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 9, 2009
काठमाडौँ कथा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 8, 2009
ओरालो लागेको मृग अर्थात् नेपाल
नेपालको इतिहासमा सदैव देखिएको सत्य कुरा के हो भने, हामी राजनीतिको पछाडि सधै दगुरिरह्यौँ । राजनीतिको भीड बनाएर सदैव जिन्दावाद मूर्दावादका लयमा हिंसा, आतंक, भ्रष्टाचारको इन्धनले सडक तताइरहँदा, टायर बालिरहँदा र अरूकै थाप्लोमा आरोप थोपरिरहँदा हामी आफ्नै कर्तव्यबाट सँधै टाढिइरह्यौँ । कर्तव्य, प्रवृत्ति र पद्धतिलाई सुधार्न व्यक्तिले पनि गर्नु पर्ने वा गर्न सक्ने शुरूवातलाई बिर्सेर , आफैलाई राजनीतिक चेतनाको महानायक ठान्ने भ्रममा हामीले संसार कता जाँदैछ र हामी कता रुमल्लिएका छौँ भन्ने कुरालाई कहिल्यै हेक्का राख्नु पर्ने रूपमा सोच्नै सकेनौँ ।
देशमा महँगी, लूट, फरेब, कालाबजारी, हत्या, आतंक र हिंसाको राज चलेको छ । सर्वसाधारण नागरिक नेपाल भित्रै शरणार्थी बन्नुपरेको जगजाहेर हुँदा, कुनै राजनीतिक दल वा शक्तिको माग र बिरोध कार्यको मुद्दा नागरिकको बाँच्न पाउने अधिकार र जीउन चाहिने आधारभूत आवश्यकताका कुराहरू को उपलव्धता हुन सकेको छैन । सबैलाई सत्ता चाहिएको छ, सत्तामा पुग्दा आफ्नाहरूलाई मिल्ने मुलुकको अवसर र ढुकुटीको रजाइँ मात्र राजनीतिक सफलताको उद्देश्य हुने गरेको छ ।
अझै पनि, हाम्रो दशा र दिशा प्रष्टिएको छैन । हाम्रो लक्ष्य, गन्तव्य र मुलुकले लिन पर्ने बाटोका बारेमा कुनै राजनीतिक शक्तिहरूबीचमा मिल्नसक्ने आधारहरू देखापरेका छैनन् । यस्तोमा दलका समर्थक, जातीय समूह र क्षेत्रवादको आगो भर्खरै झोसेर मुलुक सल्काइएको छ र यसको दूरगामी प्रभाव भोलिका दिनमा कुन रूपमा हामीले अपनाउनपर्ने होला केवल अनुमान गर्न सकिन्छ । मध्य अफ्रिकाका मुलुकहरू कलह, हिंसा, भोक, अनिकाल, र खडेरीका पीडाबाट माथि उठ्न उपायको छटपटीमा छन् र युरोप र अमेरिकाको सहयोगी ध्यान पनि अब अफ्रिकालाई माथि उठाउन एकोहोरिएको छ, बिगत केही वर्षयता । तर हाम्रो मुलक नेपाल भने, आर्थिक विकासको चमत्कारिक दौडमा विश्वलाई नै अचम्म पार्दै अगाडि बढिरहेका दुई छिमेकीहरूको बीचमा बसेर पनि, ओरालोतिरको सजिलो दौडको बाटो झर्दै गरेको देखिन्छ ! कहिले होला यो दिशातर्फको यात्रा छोडेर हामी उँभो लाग्ने ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
उत्तमताको परिचय खोज्दै अन्जली तिमल्सिना
१) ब्लग दुनियाँमा कसरी आउनुभयो ?
=> ब्लग दुनियाँमा आउनुअघि ब्लग के हो भन्ने कुरा थाहा थिएन । मलाई त ब्लग भन्ने यस्तो अनलाइन मिडिया छ भन्ने पनि थाहा थिएन । जब मैले पत्रिकामा छापिएका ब्लगसम्बन्धी लेख पढेँ, तुरुन्तै ब्लगमा हाम्फालेँ ।
बेलाबखतमा लेख्ने बानी भएकोले, ब्लगलाई नै उपयुक्त माध्यमको रुपमा रोजेँ, अनि ब्लगमा लेख्न थालेँ । समाजमा घटेका घटना, परिघटना अनि आफ्नो दृष्टिकोण आदि कुराहरु लेख्नको लागि ब्लग नै उपयुक्त माध्यम लाग्यो ।
२) उत्तमताको परिचय(prelude to perfection) दिन कति हदसम्म सफल हुनुभयो ?
=> पर्फेक्सन भन्ने कुरा या भनौँ १०० प्रतिशत नै भन्ने कुरा त यो संसारमा केही नै छैन । “A prelude to Perfection” पर्फेक्ट भन्न नभई, पर्फेक्सन या भनौँ उत्तमतातिर बढेको पाइला मात्र हो । कति सफल भन्दा पनि कति आफू अगाडि बढ्न सकियो भन्ने कुरा नै मुख्य कुरा हो । समग्रमा भन्दा, पर्फेक्सनतिर चालिएको पाइला नै ‘A prelude to Perfection’ हो ।
३) तपाईँको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?
=> यो सम्पूर्णरुपमा आफ्ना विचारहरुले भरिएको छ । घटना, परिघटना, सामाजिक व्यवस्था का बारेमा आफ्नो विचारहरु पोख्ने थलो को रुपमा ब्लग अगाडि बढेको छ । मलाई लाग्छ, म हजारौँ सर्वसाधारण को बोली बोलिरहेको छु । मेरो ब्लगमा पोलिटिक्स का कुरा लेख्दिनँ भन्ने कुनै निर्णय त गरेको छैन, तर पनि बेलाबखत समसामयिक राजनीतिको बारेमा पनि लेख्ने गरेकी छु ।
खासमा ब्लग सुरु गर्दा त म असमानता अनि अव्यवस्थाका विरुद्ध आफ्ना भावनाहरु, निराशाहरु, लेख्ने गर्थेँ । तर अहिले यसो नै लेख्छु भन्ने छैन । ब्लगसँगै धेरै कुरा जान्दै बुझिँदै आइयो, अत: हिजोआज जे लेख्न विचार आउँछु त्यही नै लेख्छु । ब्लगमा कथा, कवितादेखि आफ्ना विचारहरु, राजनीति र समाजका अव्यस्थाका बारेमा टीका-टिप्पणीहरु सबै कुरा समेटिएका छन् जस्तो लाग्छ ।
४) ब्लगको पाठक अन्तरक्रियासँग कत्तिको सामीप्यता राख्नुहुन्छ ?
=> अन्तरक्रियाबिना ब्लग अलि खल्लो नै हुन्छ । पाठकबाट आउने प्रतिक्रियाले मलाई लेख्न नै हौस्याउँछ, अनि आफूले लेख्दा सुधार गर्नुपर्ने कुराहरु पनि थाहा हुने गरेको छ । हुन त, केही विषयमा म एकपक्षीय पनि हुनसक्छु, तर त्यस्तोमा आउने फरक धारणाले मलाई धेरै कुराहरु बुझ्न मद्दत गर्ने गरेको छ । ‘ब्लग’ पाठक प्रतिक्रियाबिना चल्न गाह्रो नै छ ।
५) ब्लग ३ वर्षअघिदेखि सुरु गर्नुभएको रहेछ तर ब्लग सामग्री त वर्षैपिच्छे घट्दै छन् नि ?
=> पेसाले विद्यार्थी परेँ, अत: लेख्नको लागि पनि समय निकाल्नुपर्छ । त्यसैले सामग्री कम लागेको हुनसक्छ । तर म नियमितजसो नै लेख्नेगर्छु, कहिले ढिलो कहिले चाँडो त भइहाल्छ ।
६) सभ्यताको परिचय के होला ?
=> सभ्यताको परिचय केही शब्दमा भन्न सकिने कुरा होइन । हामीले जसलाई सभ्य भन्छौँ, ऊ सभ्य नहुन सक्छ । सभ्यता भन्ने कुरा हाम्रो रहनसहन र रीतिथितिसँग जोडिएको कुरा हो, यो कुरा स्थानविशेष र जातिविशेषअनुरुप फरक-फरक हुनसक्छ । साँच्चै भन्दा, सबै कुरा छोडेर, ‘मानवता’ नै सभ्यताको परिचय हो ।
७) सफलताको परिचय नि ? सफलता र असफलताको वक्ररेखा कसरी निर्धारण गर्ने ?
=> सफलता र असफलता भन्ने कुरा जीवनका दुई पाटा हुन् । सफलताले अझै अगाडि बढ्न हौसला दिन्छ भने असफलताले अगाडि बढ्न अझै मिहिनेत गर्न हौस्याउँछ । खासमा, असफलता नै सफलताको सिँढी हो । सफल भइनँ भनेर चिन्ता गर्नु र निराश हुनुभन्दा, त्यस असफलतालाई शिक्षाको रुपमा लिएर अघि बढ्दा, सफलता पाउन सकिन्छ जस्तो लाग्छ । समग्रमा भन्दा, सफलता र असफलता दुवैलाई आत्मसात् गर्दै हामी अगाडि बढ्न जरुरी छ ।
८) नारी र पुरुषबीच के भिन्नता होला ? सीमित महिला ब्लगरबीच आफूलाई पाउँदा कस्तो महसुस हुन्छ ?
=> नारी र पुरुष दुवै संसारका सुन्दर श्रृजनाहरु हुन् । संसार चलाउनका लागि नारी र पुरुषमा मानवजातिलाई वर्गीकरण गरिएको छ । नारी-पुरुष दुवै एक-अर्काका पूरक हुन् ।
सबैको आफ्नै काम, कर्तव्य र अधिकार छन्, अनि दुवैको आफ्नै महत्व छ । यो ठूलो र त्यो सानोभन्दा पनि नारी र पुरुष एक-अर्काका पूरक हुन् भन्ने कुरा बुझ्न जरुरी छ । तर पनि नारीहरु केही हदसम्म अवसरबाट बन्चित छन् अनि पुरुषको दाँजोमा महिलालाई हेप्ने नै गरिएको छ । महिलाले पनि गर्न सक्छन् र उनीहरुमा पनि केही गर्न सक्ने खुबी छ भनेर मान्न नसकिएसम्म र अवसरबाट बन्चित गरिएसम्म, यो असमानता कायम नै रहनेछ ।
ब्लगिङको जमातमा केही सीमित महिला ब्लगरहरुबीच उभिन पाउँदा खुसी नै लागेको छ तर पनि आशा छ यो जमात छिट्टै ठूलो हुनेछ ।
९) योगालाई कसरी हेर्नुहुन्छ ?
=> यो आधुनिक र औषधिमय बनेको जमानामा योगा एउटा अचुक उपाय हो स्वस्थ रहनका लागि । हिजो आज प्राय: सबैको बिहानी नित्यकर्म योगा नै बन्दै गएकोले पनि योगा के हो भन्ने कुरा त सबैलाई प्रस्ट हुँदै आएको छ, हैन र ?
१०) निद्रामा घुरेको भिडियो राख्नुभएको रहेछ; निद्रामा घुर्ने समस्यासँग कत्तिको परिचित हुनुहुन्छ, केही रमाइला-नरमाइला घटना छन् कि ?
=> त्यो भिडियो साँच्चै रमाइलो थियो । घुर्ने समस्यासँग म त्यति परिचित छैन, अनि अहिलेसम्म त्यस्तो घटनाहरु सामना गर्नुपरेको पनि छैन ।
११) ब्रेन ड्रेनले नेपाललाई कत्तिको पिरोलेको छ जस्तो लाग्छ ?
=> ब्रेन ड्रेनले साँच्चै पिरोलेको हामीलाई । धेरैजसो युवाहरु विदेशिनुको कारण पनि यही नै हो । देशको अवस्था, अस्थिर राजनीति अनि भ्रष्ट नेतृत्वको कारण युवाहरुमा निराशा बढ्दै गएर, ब्रेन ड्रेन को समस्याले नेपाललाई गाँजेको छ ।
१२) अन्य ब्लग कत्तिको सयर गर्नुहुन्छ ? राम्रा-नराम्रा पक्ष केलाइदिनुहुन्छ कि ?
=> प्राय: फुर्सदमा म ब्लगहरु पढ्ने गर्छु । यही नै पढ्छु र यसकै ब्लग पढ्छु भन्ने त छैन, तर पनि फुर्सदमा विभिन्न व्यक्तिहरुको ब्लग पढिरहेको हुन्छु, केही नयाँ कुरा थाहा पाइरहेको हुन्छु ।
अनि ब्लगमा कमेन्ट गर्नका लागि मात्र कमेन्ट गर्ने प्रथा चाहिँ मलाई मन पर्दैन । प्रतिक्रिया दिँदा, लेखिएको कुरालाई एकपटक आफ्नो आँखाले विश्लेशण गर्न सबैलाई आग्रह गर्छु । यहाँ त प्राय: ब्लगरले जे लेख्यो, त्यसमै हो मा हो मिलाएर एक लाइनको सस्तो प्रतिक्रिया दिने गर्छन् । यो कुरा चाहिँ मलाई ब्लगमा कहिलेकाहीँ बिझ्ने नराम्रा पक्षहरु हुन् ।
१३) फुर्सदमा के गर्नुहुन्छ, व्यस्ततामा के गर्नुहुन्छ ?
=> भनिहालेँ नि, फुर्सदमा ब्लग पढ्ने गर्छु । वेबसाइट सर्फ गर्यो, ब्लग पढ्यो । तर धेरैजसो समय चाहिँ क्लासको एसाइन्मेन्ट गर्दैमा बित्छ ।
१४) तपाइले दौँतरीलाई के सुझाव दिनुहुन्छ ?
=> दौँतरीको काम प्रशंसनीय छ । विभिन्न व्यक्ति अनि उनीहरुका पृथक् धारणाहरु एकै ठाउँमा समावेश गरिएकोले पनि, एउटै विषयमा धेरै कोणबाट गरिएका विश्लेषणहरु पढ्न पाइन्छ, त्यसैले पनि मौका मिल्दा दौँतरी पढ्ने गर्छु ।
१५) तपाईंलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?
=> सबै कुरा नै भनिसकेकी छु जस्तो लाग्छ । त्यही पनि अन्तिममा भन्छु, दौँतरीले सबै नेपाली ब्लगरहरुलाई समेट्न चालेको कदम प्रशंसनीय छ । दौँतरीलाई बधाई एवम् शुभकामना !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 7, 2009
चुनौती बुझ्ने छाता
सायद कहीँ-कतै नजिकै
ओत खोज्न दौडिरहेछ ।
छड्के पर्छ त्यो बतासे पानी
सानो छाता, दुई आकृति
तैपनि अट्न खोजिरहेछ।
गडगड गड्कन्छ आकाश
हावाको वेग बढ्दै जान्छ
अझै चुनौती थपिरहेछ ।
छाता उढ़छ बेवास्ताले, सायदै
पानीको थोपै छिर्न सक्दैन
दुई बीचको दूरी खुम्चिसकेछ ।
बुझेन चुनौती मैले, दुनियाँले
तर चुनौती बुझ्ने त्यो छाता
महत्वहीन भई उत्तानो लडिरहेछ ।
* मुकुन्द
K.U.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाऊँखाने कथा - २९ (Nepali Gau Khane Katha)
अब गाउं माग्ने पालो पनि लुनाजी को।
------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।
तल थाल माथि झाल, त्यस माथि हीरालाल, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 6, 2009
लौ हाँसौं !
मुक्तक
झ्यालबाट हेर्दा बाटोमा कोही देखिएन ,
झ्यालबाट हेर्दा बाटोमा कोही देखिएन ।
बाटोमा गएर हेर्दा,
झ्यालमा पनि कोहि देखिएन ।
सरदार
Sardar Ji always studies in front of mirror for 3 reasons:
1: It helps saving revision time.
2: He can keep a watch on himself.
3: He likes combined study.
जँड्याको प्रयोग
आफैं जाँड खाने बाऊले छोरालाई जाँड-रक्सीको खराबी बताउन एउटा गिलासमा रक्सी भर्छ । भरीएको ग्लासमा भूईबाट एउटा कमिला समातेर हाल्छ । कमिला एकैछिन चलमल गर्छ र मर्छ ।
बाऊ: ल भन, छोरा तिमीले यसबाट के बुझ्यौ ?
छोरा: बुबा, जाँड रक्सी खायो भने पेट र शरिरमा भएका हानिकारक किटाणुहरु मर्दा रहेछन ।
माग्ने
एउटा माग्ने बाटो हिंडने संग पैसा माग्दै
“हजुर २० रुपैया दिनुस न कफी पिउन मन लाग्यो”
“अनि कफी त जम्मा १० ले नै आउँछ त”
“तर मसंग मेरो गर्लफ्रेण्ड पनि छ नि …”
“माग्ने भएर पनि गर्लफ्रेण्ड बनायौ?”
“हैन ! गर्लफ्रेण्डले मलाई माग्ने बनाई”
र अन्तमा यो पनि
रामेको बाउले घरमा एउटा अनौठो रोबोट ल्याए । त्यो रोबोटले कसैले झुठ बोल्यो कि थाहा पाउने र गालामा चड्कन हान्थ्यो ।
एकदिन रामे स्कूल नगै अन्तै गएर ढिला घर फर्कन्छ । बाउले उसलाई सोध्छन
“रामे !, यत्तिका बेरसम्म कहाँ थिईस ?”
“स्कूलमा एक्स्ट्रा क्लास थियो....” रामेको वाक्य पुरा नहुँदै रोबोटले रामेको गालामा एक चडकन हान्छ ।
आफूसंग झुठो बोलेकोमा रिसाएर बाऊ चाही पनि रामेलाई दनादन पिट्दै गर्दा कोठामा रामेको आमाको प्रवेश हुन्छ । छोरालाई सानो गल्तिको लागि निर्घात कुटेको देखेर आमाचाही बचाउ गर्दै रोक्न अघि सर्छीन:- “ हैन गल्ति भयो त के गर्नु, छोरा त तपाईकै हो नि, आफ्नो छोरालाई पनि यस्तरी कुट्छन ....”
यसपाला रोबोटको हात हाबामा लहराउँछ र आमाको गालामा एक चडकन लाग्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 5, 2009
जीवनको खुसी
तुल्सिपुर, दाङ्
जीवनको खुसी चहार्दै हिडेँ
भीडभाडको माहौलमा झपार्दै हिडेँ
जीन्दगी के हो परिभाषित नहुँदा
धर्तिमा आफैलाई लतार्दै हिडेँ
कर्मको बोझ थुप्रियो काँधमा
अशक्त पाउहरु बटार्दै हिडेँ
जीउनलाई साँच्चिकै नमज्जा लाग्यो
गलहत्याई पचक्क मार्दै हिडेँ
भूमिमा निष्फिक्री ढलेको ज्यान
यमराजको समिपमा टकार्दै हिडेँ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 2, 2009
एकादेशको छाडा देश
सर सम्मान निकै हुनेगर्छ त्यो देशमा। आफ्ना पूर्खाहरुको सालीक नै तोडे पनि बिदेशी नेताहरु फोटोहरु निकै जतनका साथ भित्तामा झुन्डाइन्छ। अझ संयोगबस कुनै देशको पाइखाना मन्त्री सवारी भए त सबैजना धनुष्टंकार भइबक्सिन्छ। नेताहरुमा हांहाकार चल्छ, राष्ट्रिय छापाहरुमाहरुमा अड्कल काटिन्छ अब सरकारको बयल गाडा बायां मोडिन्छ,फलानो ठाउंमा गएर रोकिन्छ। जब पाइखाना मन्त्रीको फिर्ती सबारी हुन्छ एक झुन्ड उफ्रिन्छ अर्को झुन्ड ओल्सिन्छ तर दुबै झुन्डको लोलीमा बोली मिल्छ अनि देशमा एउटा ऐतिहासीक निर्णय हुन्छ अब हरेक घरमा चर्पी निर्माण गर्ने। न योजना छ न बजेट। केही घरहरुमा चर्पी भइसकेका हुन्छन, केही घरहरुमा चर्पी निर्माण गरिन्छ, कतै त्यसै छाडिन्छ। तर अन्तत सबैले बाटैमा आची गर्छन। चर्पीको उपयोगिता कागतमै सिमित रहन्छ,इतिहांस बनेर दश बर्ष बित्न नपाउंदै फेरी त्यही चर्पीको लागी आन्दोलन हुन्छ,दुइ चार जना मर्छन,शहिदमा समेटिन्छन अनि देशमा पून चमत्कार हुन्छ। चम्तकारसंगै बिभिन्न अबतारको जन्महुन्छ। बिभिन्न बाबाहरु छ्याप छ्याप्ती शहरमा भेटिन्छन, कोही कात्रो बनाउन लाग्छन, कोही पात्रो बनाउन लाग्छन अनि कोही कानुन बनाउन लाग्छन। उनिहरुको कागजी कानुन उनीहरलाइ मात्र बुझ्ने अधिकार छ,अदालतले बुझेर ब्याख्या गर्ने खोजे कसैलाइ मान्ने हुनेछैन। कुरो सहि नै हो आफुले मान्ने कानुनको ब्याख्या आफैले गर्ने हो कहीं अदालतले गरेर पनि हुन्छ? कानुन पालन मनखूशी ले गरिन्छ। तर चाल चलन गज्जब छ त्यो छाडा देशको। नक्कली जोगीले खरानी धेरै धसेजस्तो जांहा कुनै नियम कानुनको वास्ता गरिंदैन त्याहां संबिधान सिजन सिजनमा बनिरहन्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 1, 2009
दुनियाँ हल्लाउन खोज्दा
साहस छ भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर ।
बोतलहरु सकिए तर मेरो दुनिया हल्लाउने र हल्लिएको हेर्ने प्रयास यसरी सकियो :
न त दुनियाँ हल्लाउन सके,
न त दुनियाँ हल्लिएको नै देखें,
दुई तीन बोतल सिध्याएपछि अरुलाई हल्लाउने त कुरै छाडौं,
फगत आंफै हल्लिन थालें ।
संभवत नेपाली या भारतियहरुले जस्तै चाइनिजहरुले कम्पलेन (वा शिकायत) गर्ने गर्दैनन र पृष्ठभुमीका धेरै कुराहरु बाहिर आउने गर्दैनन । त्यसैले किन र कसरी डा. काइ मिङले आफ्नो कामबाट हात धुनु पर्यो भन्ने कुराहरु धेरैलाई थाहा हुन सक्दैन ।
संगै काम गर्ने २-३ जना चिनिया मित्रहरुसंग बोतल शुरु भए पछि यस विषयमा कुरा भयो । उनिहरुलाई यसबारेमा धेरै थाहा रहेछ , किनकि उनको विषयमा चिनिया ब्लग र समाचारहरुमा समेत प्रशस्त चर्चा रहेछ ।
सिंगापुरको मोलेकुलर बायोलोजी सम्वन्धी संस्थाहरुमा केहि वर्षदेखि पश्चिमा (अंग्रेजी मातृभाषा भएकाहरु) लाई धमाधम जागिर दिइएको रहेछ । अंग्रेजी मातृभाषा भएकाहरुको लेख र प्रकाशनको रेकर्ड अरुको भन्दा कैयौं गुणा बढि छ यो धेरैले मानि आएको र जग जाहेर कुरो हो । किनकि तपाईको लेखन शैली भड्काउ अर्थात “ग्ल्यामरस” छैन भने अचेल साइन्टिफिक जर्नलहरुले समेत तपाइका लेखहरु पहिलो पटकमै रिजेक्ट गरिदिन्छन । मेरो आफ्नै फिल्डमा पनि देखेको कुरा हो नेचर र साइन्सहरु समेत “इम्प्याक्ट राख्ने लेखको” बहानामा भारतीय न्युज च्यानल "आजतक" र "एनडिटीभी"को स्तरमा ओर्लन्छन भने “अनुसन्धान” भन्ने विषय पनि “ग्ल्यामर” को दुनियासंग दाज्न मिल्ने भइसकेको छ । हैन भने नेचर र साइन्सका प्रकाशनहरुमा किन अमेरिकि र बेलायतिहरुको वर्चस्व हुन्छ ?
साइन्स र नेचरले छापेका प्रोपागाण्डा आर्टिकलहरुको थुप्रो मैले पनि उदाहरणको रुपमा देखाउन सक्छु ।
हो चिनिया मित्रले प्रा. डा. काइ मिङको विषयमा त्यहि भने । उनी एउटा सफल वैज्ञानिक रहेछन र उनको सिंगापुरको हिसाबले वार्षिक औसत रुपमा वैज्ञानिक अनुसन्धानका लेखहरु प्रकाशित हुंदारहेछन । तर पश्चिमी “बोस”हरुको प्रवेश पछि पहिले देखि काम गर्दै आएकाहरुको जागिर खोसिने क्रम शुरु भएछ । त्यसै क्रममा प्रा. डा. काइभन्दा अगाडि पनि धेरै जनाको जागिर खोसिइसकेको रहेछ त्यसैले उनिहरु चिन वा अन्य देशतर्फ लागेका रहेछन । तर डा. काइका बच्चाहरु सिंगापुरको स्कुलमै पढ्ने भएका कारण उनी सिंगापुर छोड्न नसक्ने वाध्यात्मक परिस्थितिमा रहेछन । त्यसैले अन्तिम बिकल्पका रुपमा ट्याक्सी चलाउन लागेका रहेछन ।
अहिले सिंगापुरका अन्य रिसर्च संस्थाहरुमा पनि त्यहि हाल देख्न सकिन्छ । यसलाई “कन्सपिरेसी थ्योरीका” रुपमा लिनुस वा “प्रतिस्पर्धा”मा फेल भएको हिसाबले लिनुस वा सिंगापुर सरकारको “फितलो भिजन”का रुपमा लिनुस तर विज्ञान यहां असफल भएको छ । दर्जनौं अनुसन्धानका लेखहरुले अरुलाई बाटो देखाउने वैज्ञानिक आज आंफै बाटो बिराएर बांच्ने बाटो खोज्दैछ , के यो बिडम्वना हैन ?
बेलायतमा कुनैबेला एनएचएसका मेनेजर भएर बसेका एक जना नेपाली भलाद्मी दाइ हुनुहुन्छ, उहांले ५५ वर्षको उमेरमा अथाह बायो डाटा र एप्पलिकेसन फाल्दै “निर्वाणा”को जीवन बिताइरहेको पनि नजीकबाट देखेको छु । मैले देखेको र बुझेको कुरा धेरै देशका आप्रवासीहरुको लागि पश्चिमा देशहरुमा उनिहरुको छालाको रंग र मातृभाषाको एक्सेन्टले एउटा हैन धेरै पुस्तासम्म पक्कै पनि पीडा दिइरहनेछ ।
एकजना विद्वानको भनाइ थियो :
"In a lot of the research institutes now, performance is assessed a huge part by how much intellectual property churned out, as well as how much industry dollars brought in." यो भनाइलाई वैज्ञानिक साम्राज्यबादको रुपमा लिनुस या व्यापार तर नियत छर्लङ छ ।
सिंगापुर मात्रै हैन मलेशियादेखि मध्य एशियाका स्कुल युनिभर्सिटिहरु पनि अंग्रेजी भाषाका आयातित “गुरु”हरुका लागि सुम्पिएका छन । हुन त नेपाली पनि विर्सेर पुरानै युगतिर फर्किन थालेको नेपाली समाजमा यस्ता कुराले अर्थ नराख्लान तर दुनियाँको अगाडि आफ्नो पनि अस्तित्व छ भनेर केहि गर्न खोज्ने नेपाल या चिन या अन्य एशिया देखि अफ्रिकासम्मका मान्छेहरुका लागि अंग्रेजी भाषाको दासत्व आफ्नै भूमीमा समेत लोप्पा ख्वाउन पछि पर्दैन भन्ने कुरा हेर्न डा. काईकै उदाहरण काफी छ । नेपालीहरु नाक, रौं र आंफैले नजान्ने “मातृभाषा”को विवादमा रुमल्लिएको बेला "मेरो सहानुभुति र प्रोफेशनल भातृत्व" नेपाल भन्दा धेरै टाढासम्म फैलिएर डा. काइ मिङसंगै रहनेछ ।
यो विषयमा धेरै कुरा लेख्न मन थियो तर कति शब्द वा भावहरु अपाच्य हुन सक्लान भनेर आफ्नो कलमलाई थांती राख्नमै उचित ठाने र दुनिया हल्लिएको हेर्ने चक्करमा आंफै हल्लिन थाले । बांकी हल्लिन छाडे पछि भोलि तपाइहरुसंगको भेटमा !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 31, 2009
न्यायलयको नियन्त्रण कि अधिनयाकवादतर्फको यात्रा ?
भरखरै संविधानसभा भएको दलहरू बीचको सहमतिले भने अनुसार नेपालको आगामी संवैधानिक व्यवस्थाले न्यायलयका न्यायधीशहरूको नियुक्ति व्यवस्थापिका र कार्यपालिकाले गर्नेछ । यो सहमति भावी नेपालमा लोकतान्त्रिक पद्दतिमा हुनु पर्ने शक्ति पृथक्कीकरणको सिद्धान्तको पूर्ण बिरूद्ध छ । जब राज्यका तीनवटा अंगहरू – व्यवस्थापिका , कार्यपालिका र न्यापालिकालाई स्वतन्त्र रूपमा कार्य गर्न नदिएर एउटा वा दुईटाको मातहतमा अर्कोलाई राख्न खोजिन्छ, त्यहाँ लोकतान्त्रिकताको मर्मले धोका खाँदैछ भनेर विश्वस्त भए हुन्छ । यो , अधिनायकवादको सूत्रपात गर्ने पहिलो कडी हो । दोस्रो विश्वयुद्धताका हिटलरको नाजीवादी मन्त्रिमण्डलमा संचारमन्त्री ( प्रोपोगाण्डा) रहेका डाक्टर जोसेफ गोएबल्सले ( Dr. Joseph Goebbels) भन्ने गर्थे , “ Justice must not become the mistress of the state, but must be the servant of the state policy” । सुन्दामा राम्रो हो कि जस्तो सुनिने यही नीतिको बाटो भएर , नेपालका भ्रष्ट र अपठित नेताहरूले , आफ्ना लागि अवरोधक बन्न सक्ने न्यायलय र अदालतलाई यसरी आफ्नो मातहतमा ल्याउन लगाएर , तानाशाही अधिनायकवादको बाटोमा मुलुकलाई धकेल्न जानेर वा नजानेर सहयोग गरेका छन्।
भनिन्छ, अदालत पनि भ्रष्ट भयो । तर के नेताहरूको पाखण्ड, गवाँरपन र भ्रष्टाचार मुनि अदालत वा न्यालयको स्वतन्त्रता बनिरहन सक्ला ? अनि, सोच, विचार, क्षमता र योग्यताले पंगू रहेका हाम्रा राजनैतिक दलका बाहुबली र बन्दूके नेताहरूको अघोरी इच्छाहरूका मातहतमा हाम्रा नागरिक अधिकार र स्वतन्त्रताप्रतिका जुझारू भावनाहरूले शरण पाइरहन सक्लान् ? क्षमता , प्रतिवद्दता र इमान्दारिताका कसिमा पूर्ण अयोग्य तर लडभीड, भ्रष्टाचार, घुसखोरी र आफ्नाहरूलाई पोस्न मात्र जानेका यस्ता पाखण्डी नेताहरूको अभिभावकत्वमा मुलुकका सम्पूर्ण संरचना र अभिभावकत्व सुम्पेर हामी सुरक्षित रहेन सक्ने स्थिति देशमा छ ? यस्तोमा , मुलुकमा एकदलिय तानाशाही शासन पद्दति लादेर , व्यक्ति र नागरिकमाथि अमानवीय व्यवाहर गर्न खोज्ने भोलिका सम्भावनाहरू बाट हामीलाई संरक्षण दिने निकाय कुन हुने ?
अहिले नेपालमा निश्चित राजनैतिक शक्तिहरू , आफ्नो दलको एकाधिकारवादी लक्ष्यमा अदालतको स्वतन्त्र अस्तित्व बाधक हुनसक्छ भनेर यसलाई समयमै नियन्त्रणमा लिनुपर्छ भन्ने अभिष्ट लिएर योजना बनाउँदै काम गरिरहेका देखिन्छन् भने अरू शक्तिहरू यो कुराको गम्भीरतलाई बुझ्नै नसकेर यिनै कुटिलहरूको स्याल भाकामा होहो मिलाएर , नेताहरूको सर्वोच्चता स्थापित भएमा आँफूहरू जस्तो करतूतबाट पनि मुक्त हुन पाइने सोचमा मख्ख परेर स्वतन्त्र न्यालयको घाँटी मिचेर यसलाई निमिट्यान्न पार्न आतुर देखिन्छन् । घाँटीमा आएको गलगाँडको उपचार घाँटी मिचेर हुँदैन । विद्यमान न्यायलयका विकृतिहरूलाई हटाएर स्वतन्त्र न्यायलयको गरिमालाई स्थापित गर्न सकेमा मात्र न्यायलयले व्यक्तिको हकअधिकारमा संरक्षक भूमिका निभाउन सक्छ , नत्रभने आज विषयको गम्भीरता र मर्मलाई नबुझी लहैलहैमा गरिने निर्णयहरूले भोलि डरलाग्दो एकाधिकारवादी तानाशाही पद्दतिको सूत्रपात गर्दा , व्यक्ति र जीवन निरिह बन्न सक्ने कुरामा हामी सचेत भएनौँ भने , दु:खका बेला हाम्रो रक्षा गर्न कोही आउने छैन ।
देशको कानून र न्यायलयलाई राज्यतन्त्रको नीति बनाउने गोयबल्स निति पछ्याएर , अदालतलाई आज जुन नियन्त्रणमा लिन खोजिएको छ, विश्व इतिहास सांक्षी त्यो निरंकुशताको हतियार बनेर व्यक्तिको स्वतन्त्रतामा मात्र जाइलागेको छ । अत: ‘ न्यायं रक्षति रक्षितं’ ( गीतामा धर्मोरक्षति रक्षितं भनिएको छ अर्थ=धर्मको रक्षा गर धर्मले तिम्रो रक्षा गर्नेछ ) भने जस्तो कानून र न्यालयको रक्षा हामीले गरेनौँ भने परेको बेला हाम्रो रक्षा पनि हुने छैन ।
-एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 30, 2009
नेपालीहरूको अर्को बेइज्जतिपूर्ण समाचार !
CNB officers arrest 8 men, seize 2kg of heroin
ByCheryl Lim, Channel NewsAsia | Posted: 30 August 2009 2133 hrs
SINGAPORE: Eight men were arrested early Sunday morning while attempting to smuggle drugs from Singapore to Australia. Central Narcotics Bureau (CNB) officers discovered about 2 kilogrammes of Heroin No.4 in the shoes of three South Korean men at Changi Airport Terminal 3.
Five Nepalese men, aged between 22 and 41, were also arrested in connection with the case.
The three South Korean drug couriers, aged between 40 and 52, had flown into Singapore on Saturday and had checked into a hotel in Bugis before meeting a Nepalese drug coordinator. The drug bust was a joint operation between CNB and the Police Intelligence Department.
All eight men are unemployed and will be charged with exporting a controlled drug. If convicted, all may face the death penalty.
http://www.channelnewsasia.com/stories/singaporelocalnews/view/1001734/1/.html
( साभार: च्यानल न्यूज एशिया , सिंगापुर )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - २८ (Nepali Gau Khane Katha)
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
अघि-अघि रतुवा, पछि-पछि कलुवा, के हो?
यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 29, 2009
ल जा, …अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !
साहस छ भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर ।
केही दिन देखी देशमा घटिरहेका घटनाहरु र झन् झन जीर्ण हुँदै गएको कानून व्यबस्था देखेर अचानक मनमा यो दुई लाईन जन्म्यो ।
कुरा सुरु गर्नलाई भन्दा पनि कहाँबाट र कतीवटा समस्याबाट सुरु गर्ने भन्ने बिषय अब प्रमुख भएको छ । दिनदिनै हुने गरेका झडप-बन्द, तोडफोड अनि नयाँ, नयाँ आन्दोलन र ‘जागरण’को समाचार बिद्युतिय माध्यमबाट आउनेक्रम पछिल्लो समयमा झनै बढेको महशुस हुन थालेको छ मलाई ।
देशको संबिधान वा कानूनले जतीसुकै सार्वभौम सम्पन वा अधिकार सम्पन भने पनि, एकचोटी कुनै झण्डा, चुनाव चिन्ह वा कुनै आश्वासन देखाउने नेतालाई भोट हालेपछी ४ बर्ष (कहिलेकाही त्यो भन्दा बढी पनि) को लागि कर्तव्यमुक्त हुने र केही गर्न नै चाहे वा खोजे पनि सामान्य हालतमा गर्न नसक्ने व्यक्ति नै अहिलेको अबस्थामा नेपाली नागरिकक हो ।
एकजना नागरिक, जो आफ्नै देशमा आफ्नै खर्चमा एक ठाउँबाट अर्को ठाउँमा जान चाहेको बेलमा जान सक्दैन, आफूले चाहेको पेशा वा व्यापार गरेर खान पाउँदैन र चौतर्फि हींसा र शोषणबाट पिडीत भएर “भोली त केही होला नि वा यस्तो अबस्था कत्ति दिन चल्ला र? ” भनेर बस्न बाध्य छ त्यो कसरी अधिकार सम्पन्न हुनसक्छ? । पटक-पटक सरकार र व्यबस्था नै परिवर्तन हुँदा पनि आफ्नो पौरख र पेशा गरी खान नपाउने जनता कसरी सर्बभौम सम्पन्न हुन सक्छन ?।
प्रश्नै मात्र गर्न थाले यहाँ यस्ता प्रश्नको अनगिन्ती सूची बन्नेछन, तर जबाफ छैन। साँच्चै चार पर्षमा एक पटक भोट हालेर अनि बिश्राम पाएका जनताले चारबर्षको बीचमा आफ्नो अधिकरा खोज्न कहाँ जाने त ? ।
उ बोल्न सक्छ, लेख्न सक्छ, २-४ जनालाई आफ्नो समस्या र सरोकारको बिषयमा जानकारी दिन, अनुनय बिनय गर्न सक्छ । तर हाम्रो देशमा साधारण नागरिकको पहुँच त्यो भन्दा बढी कहिल्यै थिएन र छैन पनि । आफ्नो ईच्छा, आकांक्षा पुरा नभएकोमा मात्रै हैन आफ्नो सामान्य नागरिक अधिकार र पेशा गरी खान पाउने अख्तियारी समेत खोसीएपछि सायद एकजना साधारण नागरिकले गर्न सक्ने भनेको के हो त?। कि त पहिला नै अराजक भैसकेको देशलाई अझ अराजक बनाउन तोड-फोड र बन्द- विरोधमा सामेल हुनु, कि त ‘भोलि त केही होला नि…’ भनेर पून अनन्त पर्खाईमा बस्नु ।
म सानै हुँदा मेरो घर नजिक एउटा अलिक सुस्त मस्तिष्कको व्यक्ति बस्थ्यो, एक पटक कुनै कामकोलागि वडा कार्यालयमा गएको बेला उसको काम हुन नसकेपछि उसले वडा अध्यक्षलाई भनेको थीयो “....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !”
मैले देखेको पनि सामान्य हालतमा हामी सबैको अधिकार र सार्वभौम त्यत्तीमै सिमीत छ ।
नेतृत्व तह वा उपल्लो तप्काबाटै शुद्धिकरण वा सुधार नथालीने हो भने हामीकहाँ झन् झन् नयाँ नयाँ आन्दोलन र नयाँ नयाँ समस्या मात्रै थपिने छन । अनि हाम्रो हालत पनि दुनियाँ हल्लाउने हैन २-४ पेग तन्काएर दुनियाँ हल्लेको हेर्ने बाहेक केहि हुने छैन । अन्तमा हामी पनि सायद आफ्नो परम उच्च नागरिक अधिकारको प्रयोग यसरी नै गर्ने छौं “....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !” ।
के हामी सार्वभौम हुनुको अर्थ यत्ति नै हो त ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दिब्य ज्योती
मातृत्व अनुनय टेवा ब्यग्रताले धरे
सहिष्नुता प्राचुर्य थियो विद्यमानमा
जिवनको दृढ संङ्कल्प बनेछ खहरे
अविचाल को उत्साह कसैमा नहुदा
चैतन्य रहित सबै बुद्दि भ्रष्टमा झरे
आत्मघाती अभिप्राय जिबनको प्रत्ययमा
उत्ताउलो स्वैच्छाचारी रिपु सँग डरे
तृप्त गर्ने आशा नै लछ्य हिन हुदा
आफ्नो जिवनको अन्त्येष्टि आफैले गरे
अन्जान बिबश
एक्लो लापत्ता
दाङ् तुल्सिपुर
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
संसारका सबैभन्दा विद्वान ट्याक्सी चालक र रमाईला ब्लगर !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 27, 2009
नेपाल एकदिन फर्कन्छु
बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।
उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--
नेपाल एकदिन फर्कन्छु (?!)
नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!
नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!
नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!
नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!
नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!
( बिर्खेमाइला)
केही पहिला दौंतरीमा प्रकाशीत बिर्खेकै जस्तो अकरमानसको काहानी "आफ्नै कुरा - बसाइ सराईं" पनि उत्तिकै मार्मिक छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 26, 2009
गाउँखाने कथा - २७ (Nepali Gau Khane Katha)
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
इल्सिङ मिल्सिङ, काली गाईका तीन सिगं, के हो?
यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 25, 2009
बन्धुहरु लाज लाग्यो !
समाचारको अंश:
“अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ। आगामी असोज २७ देखि २९ सम्म काठमाडौंमा हुने चौथो अन्र्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनले सरकारसँग २५ लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ। यसअघि २००३, २००५ र २००७ मा तीनैवटा अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्दा सरकारसँग क्रमशः १०, १५ र २० लाख रूपैयाँ लिएको थियो। एनआरएनले प्रत्येक दुई-दुई वर्षमा गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ।“
आफ्नो भलाईको लागि विदेशिने अनि उतैको नागरिकता लिने र कुनै पहिचान नभएपछि इज्जतको भोक मेटाउन नेपाल र नेपालीकै भर्याङ रोज्ने अनि पैसाको लागि पनि विश्वकै एउटा दरिद्र मुलुकको भर पर्नु पर्ने ? नेपालीमूलका नेपालीलाई नेपालको माया छ भने जहिले पनि जहां पनि जसरी पनि आफ्नो देशको लागि सहयोग गर्न सक्छन । टाइ र कोट लगाएर „आप्रवासीहरुको“ भेला गर्दैमा देशको काचुली फेरिने भए नेपाल मात्र हैन अमेरिका, बेलायत र जापानीहरुले पनि गैर आवासियहरुको संस्था खोल्थे होलान ।
धेरैलाई चेतना भएकै कुरो हो एन आर एन चलाउने एउटा बलियो हिस्सा नेपालको खुकुलो कानुन र देशका स्रोतहरुमाथि आफ्नो पकड जमाउन चाहन्छ । त्यसरी नेपाल बन्दैन “आप्रवासी बन्धुहरु” ! बरु सक्नुहुन्छ भने आ-आफ्नो स्तरबाट सा सानो सहयोग आफ्नो गाउं ठाउंलाई दिए हुन्छ । देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन । नत्र नोक्सानको लागि एन आर एनका नाइकेहरु पनि नेपालमा लगानी गर्न जादैनन । विदेशमा समेत यस्ता कार्यक्रमहरुलाई सरकारले पैसा दिन्छ भनेर एकजना बुज्रुकले भन्नु भएछ । कहि पनि शुध्द बिचार लिएर समाज सेवा गर्न तम्सेका व्यक्तिहरुले चिया देखि गाडि भाडासम्मको पैसा आंफै ब्यहोर्छन ।
६०० जना सहभागीलाई १ करोड चाहिन्छ रे ! ए बाबा , ३०० रु प्रति व्यक्ति भन्दा सस्तोमा लन्च सहित पांच तारे होटलहरुले हल उपलब्ध गराउंछन भने वर्षौंमा एक पटक नेपाल जानेहरुले ४ दिनको लागि १००० रु खर्च गर्न सक्दैनन ? दशैंको मौका पारेर फ्रिमा देश दर्शन गर्ने र एउटा गरिब देशको सरकारको पैसामा “छुट्टी मनाउने” आप्रवासीहरुको देशप्रतिको माया बुझिनसक्नुको छैन र !
यहि नेर एउटा प्रसंग निकालीहालौं सन २००७ को यस्तै सम्मेलनमा रुसबाट सयौंको संख्यामा नेपालिहरु वा नेपालीमूलकाहरुले निशुल्क नेपाल दर्शन गर्न पाएका थिए , आखिरमा अहिले थाहा भो पैसा राष्ट्रकै ढुकुटीबाट जांदोरैछ ।
धन्य छ बन्धुहरु तपाईहरुको नेपाल प्रेम !
समाचार लिंक :
http://www.nagariknews.com/news-highlights/139-highlights/4321-2009-08-25-02-52-02.html
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 23, 2009
तिमीलाई मनका कुरा भन्न मन लग्यो
आऊ प्रिये समिपैमा ,बस्न मन लग्यो
चुलबुले जोबन तिम्रो, कैले सम्म साच्छौ
इसाराले बोलाउछौ ,आउन मन लग्यो
लजाएर रंग चढाई,नसालु भै हेर्छौ
त्येहीबेला तिम्रो रुप,चोर्न मन लग्यो
फर्की फर्की हेर्छौ आफै,नजर झुकाउछौ
त्येसैले त दोबाटोमा, कुर्न मन लग्यो
बतासले केस उडे,ओठ टोकी हिड्छौ
अंगालोमा बाधिएर,चुम्न मन लग्यो
यसरीनै कैलेसम्म,लुकिछिपी गर्छौ
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 22, 2009
कहिले यस्तो पनि हुन्छ।
म र मेरो पार्टनर आफ्नै गफमा ब्यस्त थियौं। अर्को मान्छे कति नम्वरको तलामा ओर्लिए कुनि, याद गरिएन। तीन नम्बरको बत्ती बले पछि ढोका खुल्यो। हामी निस्कियौं र साथीको बुवाको कोठामा गयौं। होटलका कर्मचारीहरुले रुम सर्भिस गरे। खानपिनपछि साथी हामीलाई होटलको लबी सम्म छोड्न जान्छु भनेर अघि लागे, हामी उस्को पछि लाग्यौं। एकछिन फ्याङ फ्याङ करिडरमा हिंडेपछि हामी सिधै लबीमा पो पुग्यौं। ए बास्सै। अघि लिफ्ट चढेर आएको, अहिले कसरी एक्कैचोटी लबीमा पुगियो, हामी चकित भयौं। भरेङबाट ओर्लिएको पनि होईन। अलि अलि दारु पनि लागेको थियो। सबै दारु एकै चोटी उत्रियो।
यसो बुझेको त हामी होटल प्रबेश गर्दा सिधै तेस्रो तलामा रहेको लबीमा पुगिने रहेछ। लिफ्टमा हामीसंग रहेको मानिसले अर्को बटन थिचेकोले पहिला लिफ्ट उसको फ्लोरमा पुग्यो। हामीले तीन नम्बरको बटन थिचेकोले लिफ्ट त्यसपछि फर्किएर लबी भएको तेस्रो तलामा आयो। अर्को मान्छे लिफ्टमा नआएको भए, हामीले तीन नं को बटन थिचेकोले लिफ्ट पक्कै चल्ने थिएन र लिफ्ट चलेन भनेर भरेङ खोजिन्थ्यो होला। हामी मरीमरी हाँस्दै फर्कियौं।
तपाँईहरुसंग पनि यस्तो अनुभव छ भने बाँड्नु होला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तीजको मंगलमय शुभकामना !
उपलक्ष्यमा तपाईँहरूको सुख, समृद्दि, आरोग्यता एवं दीर्घ जीवनका लागि भगवान
पशुपतीनाथले सहस्र आशीर्वाद र अनवरत कृपादृष्टि प्रदान गरिरहून् भन्ने हार्दिक मंगलमय शुभकामना !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 20, 2009
के नेपाली ब्लगरहरुको ‘छाता संयन्त्र’ आवश्यक छ ?
केही समय अगाडी दौँतरीको यही साईबर-बैठकमा प्रथम नेपाल ब्लगर भेलाको आयोजना भयो । केही कमजोरी, अलिकता हल्ला र सामान्य विचार बिमर्शका बीच सम्पन्न सो भेलालाई जतीसुकै न्यून आकंलन गरेपनि, एकै छाता मुनि विभिन्न महादेश र देशमा रहेका नेपालीहरुको जमघट गराएर बल्गरहरुलाई एकताबद्द गर्न भने सो भेला सफल भएकै मान्नुपर्छ ।
सो भेलामा ब्लगरहरुको साझा चासोको बारेमा केही सकारात्मक कुराहरु उठेका थिए। यहाँनेर यो पनि भनिहालौं कि कुनै पनि बिषयगत वा बुँदागत कुरामा भने त्यस्तै भेलाबाट कुनै गहनतम ‘निर्क्योल’ मा पुग्न भने साधारण अबस्थामा सम्भव नभएको कुरा पनि त्यतिबेला नै उठेको हो । भेला आवश्यक छ, तर भेलाबाटै कुनै कुरा पारित हुनु वा अनलाईन च्याट बक्सका सिमीत हरफहरुमा आफ्ना जटिल बिचार सबै पोख्न सायदै सम्भव होला ।
ब्लगरहरुको सामुहिक प्रयास र सकृयतामा ब्लगरहरुको सामुहिक हित बाहेक, देशको लागि समेत केही गर्न सकिने कुरा पनि भेलामा उठेको हो । तर बल्गरहरुलाई एक-आपसमा जोडने संयन्त्रले के कस्तो काम गर्ने भन्दा पनि यो संयन्त्रकै प्रारुपको वा ढाँचाको बारेमा सामान्य बहस आवश्यक छ जस्तो लाग्छ ।
अत: आज पून दौँतरीकै आगँनमा, म चासोमाथि पनि सबैभन्दा बढी चासो भएको र ब्लगरहरुको साझा “छाता” बनाउने कि नबनाउने भन्ने बारेमा आफ्नो बिचार पोख्दैछु । ( हुन त यहाँ उल्लेख गर्नु जरुरी नहोला, तर पनि यो नितान्त मेरो मात्रै व्यक्तिगत बिचार हो र ‘यसमा सहमत वा असहमत हुन सबैलाई समान अधिकार र स्वतन्त्रता छ’ भने भनी राखौं है । दौँतरीमा टाँसीएकोले अरु बाहिरका साथिहरुलाई यो दौँतरीको साझा अडान वा बिचार हो भन्नेमा भ्रम नपरोस)
यस बारेमा ब्लगर मित्र बसन्त गौतमले पनि राम्रो विश्लेषणत्मक टाँसो उहाँको ब्लगमा टाँसीसक्नु भएको छ । त्यसमा वहाँले नेपाली ब्लगरहरुको साझा छाताका विकल्प सहित कुरा राख्नु भएको छ भने म चाही सिधै ईमेल समुहको हिमायती भएकोले ब्लगरहरुको ‘छाता’ (माफ गर्नुस!, यहाँ ‘संघ’, ‘संगठन’ आदि शब्द प्रयोग गर्दा त्यसको राजनैतिक रंगको अनावश्यक चर्चा हुनसक्ने र आफू राजनीतिबाट टाडै रहेकोले ब्लगरहरुको सामुहिक संयन्त्रलाई मैले ‘छाता’ मात्रै लेख्दैछु ) ईमेल समुह नै सबैभन्दा उपयुक्त हुने कुरा लेख्दैछु ।
सर्ब प्रथम नेपाली ब्लगरहरुको संख्या ब्लग दर्ता गराएको हिसबमा हेर्ने हो भने हजारौं भए पनि नियमित लेख्नेहरुको संख्या भने करिव २०० को हाराहारीमा रहेको छ । यस बारेमा सामान्य चर्चा यहाँ गरीसकिएकोले यहाँ बढि समय नलिऔं ।
जे होस, नेपाली ब्लगहरुको आंकडा हेर्दा, ठुलो संख्यामा नेपाली ब्लगहरु विदेशमा बस्ने नेपालीहरु द्वारा सञ्चालीत छन । यस्तो अबस्थामा, कुनै पनि बिषयमा वहस, भेला वा सम्मेलन आदि गर्नु पर्यो भने यिनै अनलाईन वा मित्थ्यालोकका विकल्पको भर पर्नु बाहेक हाललाई अर्को उपाए छैन । हैन, विदेशमा बस्ने ब्लगरहरुलाई नसमेटने र भौतिक रुपमै उपस्थीत हुनसक्ने प्राणीहरु मात्रै लिएर हिँडने हो भने कुरा भिन्दै हो, नत्र नेपाली ब्लगरको दायरालाई नेपाल भीत्रै वा अझ काठमाण्डौ वा कुनै सहर विशेषको सिमारेखा भित्र मात्रै संकुचन नगर्ने हो भने ब्लगरहरुको छाता मित्थ्यालोकमा मात्रै बन्न सक्छ ।
अहिलेको समयमा आएर र प्रबिधिको उच्चतम उपयोग गरेर (कमसेकम हामी ब्लगरहरु भने प्रबिधिको उच्चतम उपयोग गर्नेमा नै पर्छौं) पनि, कुनै समुह वा साझा संयन्त्रलाई सक्रिय गराउन भौतिकतलमै कार्यालय कोठा र पदबाहक प्रबन्धक अनि कार्यकारी समिति बनाउनु पर्छ भन्ने कुरा मलाई आवश्यक लाग्दैन । दौँतरीको भेलाले पनि कमसेकम सो कुरा पुष्टी गरीसकेको छ ।
कुरा अलिक सीधै राख्छु (बरु खप्की खान परे पनि खाउँला) । मैले देखेको, कुनै संस्था वा समुह दर्ता गराएर मागी खाने भाँडो बनाउने उदेश्य छैन भने ब्लगरहरुको छाताको उद्देश्यलाई जम्मा दुईवटामा संक्षिप्त गर्न सकिन्छ ।
१) ब्लगरहरु बीच आपसी सहयोग बिकास गरी नेपाली ब्लग जगतको उत्थान गर्ने ।
२) नियमित वा आवश्यक परेको खण्डमा कुनै सामाजिक कार्य वा देश बिकासमा आफ्नो स्थानबाट योगदान गर्ने ।
हालको समयमा यि कुनै पनि कार्य गर्न, हामीले सोच्न सक्नेभन्दा बढी विकल्पहरु उपलब्ध भैसकेका छन । यस बारेमा केही कुरा बसन्तजीकै पोष्टमा पनि उल्लेख भएको छ ।
आज, जापानका हाईस्कुलमा पढने बिद्यार्थिले बचाएका खाजा खर्चबाट नेपालको कुनै सुदूर ईलाकामा स्कूल चलेका छन भने, एकजना बेलायतकी कलाकार वा अर्को कुन देशको पर्वतारोहीको सहयोगमा अन्य कुनै सामजिक कार्यले हाम्रो देशको बिकट ईलाकामा मूर्तरुप पाईरहेको छ । यो सामान्य उदाहरण मात्रै हो र खोजी पसेमा यस्तै धेरै कार्यहरुको सूचना मिल्न सक्नेछ । मुख्य कुरा भावना र मन हो, त्यो छ भने भौगोलीक दूरी वा समय सिमा केही पनि बाधक हुँदैन ।
दौँतरी भेला पछि नेपाली ब्लगरहरुको ईमेल समुहमा उलेख्य बृद्धि भएको छ । म यसलाई एकदमै सकारात्मक रुपमा हेर्छु र यसले यही मित्थ्यलोक बाटै धेरै कुरा गर्न सक्छ भन्नेमा मेरो विश्वासमा झनै बृद्धि भएको छ ।
संघ, संस्था दर्ता गर्ने, कार्यकारी वा संचालकहरुको मनोनयन गर्ने अनि, वाद- विवाद र बिरोधसंघै गुट-उपगुट र बिरोधि गुटमा बिभाजित नभै ‘नेपाली ब्लगर’ मात्रै रहेर केही गर्ने हो भने मेरो बिचारमा हालको ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हो ।
हो, यसलाई अझ सहज बनाउने वा ईमेलबाट मात्र सम्भब नभएमा केही कार्यको लागी “अनलाईन फोरम” वा आपसी सहयोगको लागि छुट्टै ब्लग पनि बनाउन सकिन्छ । तर मेरो बिचार पून एक पटक दोहर्याउँछु: संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई संलग्न गराउने हो र नयाँ-पुराना ब्लगर वा ठूला-सानाको भेद नहुने गरी सवैलाई समानस्तरमा सकृय गराउने हो भने ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हुने छ । बाँकी, असहमत हुनेको बिचारमा पनि मेरो उच्च सम्मान रहने नै छ ।
जय ब्लग! ह्याप्पी ब्लगीङ !!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest