April 4, 2008

दुइ कन्टेनर

"बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। "
माओबादीको बिकाससंगै नेपाली शब्दकोशको पनि राम्रै बिकास भो। कती त प्रयोगै नहुने शब्द मुखैमा झुन्डिन पुगे भने कति नया शब्दको बिकास भयो। लौ भन्नुस त छापामार कहिल्यै प्रयोग भएको थियो होला? चक्रपथ सुनेको देखेकै हो, प्रचण्डपथ होला त शब्दकोशमा?
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।


छापामार

-पुरुषोत्तम सुबेदी

क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन


April 3, 2008

खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म:

माओवादी कार्यकर्ताले सुतीरहेको बेलामा कांग्रेस कुटे , दलहरूबीच विभिन्न ठाउँमा झडप, उम्मेदवारमाथि आक्रमण, काभ्रेमा जनमोर्चाको प्रतिशोध, माओवादीद्वारा नेमकिपाका कार्यकर्ता कुटिए, दलका कार्यकर्ताहरूबीच हिंसा जारी ........

बिगतका केहि हप्ता देखी पत्रिकामा करिब करिब यस्तै समाचारहरुको भरमार छ , अनि पत्रीका पढ्दा लाग्छ हामी कुनै सभ्य समाजको स्वस्थ राजनैतीक प्रतिस्पर्धामा हैन कुनै आदीम ढुंगे युगको "सरदार" वा "मुखीया" बन्ने होडबाजिको मुकाबला र जसको शक्ती उसैको भक्ति भन्ने युक्तिमा विश्‍वास गर्छौं ।

तेस्रो विश्‍वमा हुने निर्वाचान, चुनाव आदिमा एक-अर्कालाई 'तथानाम' भन्ने अनी आफ्नो मार्ग चित्र देखाउने भन्दा प्रतिपक्षको खोईरो खन्ने काम करिव करिव सामान्य जस्तै बनेको छ, तर यसरी एक अर्कामा जाई लाग्ने, कुटने, पिटने र ज्यानै जाने आक्रमण गरेर बिपक्षीलाई परास्त गर्न खोज्ने काम सायद ढुंगे युगमा पनि कमै हुँदो हो ।

सुन्न र भन्न पनि लाज लाग्ने कुरो, देशको भविश्‍य किटान गर्न अग्रसर दलका स्थानिय नेता र कार्यकर्ताको यो व्यबहारले भोलीको नेपालो भविश्य वा संबिधान कुन खालको बन्ला भन्ने बारेमा गहिरिएर सोचने हो भने कहाली लाग्ने अबस्था छ । वरिपरि, कार्यकर्ता र 'सुरक्षा घेरा' सहित चुनाव प्रचारमा हिडेका उम्मेदवारलाई त ज्यान जोगाउन मुश्‍कील हुने यो अबस्थामा सामान्य मतदाताले कसरी भयरहित भएर भोट हाल्ने हुन?

यसै भीचमा फेरी १२ बुँदे, १७ बुँदे के हो कुनी फेरि अर्को यौटा 'झै-झगडा' नगर्ने सम्झ्यौता पनि भएछ .....तर यता झगडा नगर्ने कुरा हुदां हुदैं अर्को तिर ५-७ जनाको हड्डी पनि भाँच्चीसकेको रहेछ। अनि यस्तै कुरै कुरो र लहडको बिचमा भित्ते राष्ट्रपतिले आफ्ना कार्यकर्तालाई कमसेकम १ हप्ताको लागी गान्धी बनिदिन आग्रह गरेछन ।

सोचेँ एकजना कमजोर शरिरका दुब्ला पातला गान्धिको बिचारले पुरै भारतको ईतिहास अर्कै भयो भने हामीकहा त हजारौंको संख्यामा 'गान्धी' हुने भए .....अब भने देशमा केहि हुन्छ । तर मेरो आशा धेरै बेर टिक्न पाएन ..... आज बिहान 'अनलाईन' मा नेपाल एफ एम मा वाई सी एलका महा सचीव दिलिप प्रजापतिसंगको कुराकानी सुन्दै थीए। एउटा प्रश्‍नको जबाफमा उनले आफूहरु गान्धी बने पनि कसैले लात्ता हान्न आयो भने त्यसको लात्ता भाँचिदिने बताउँदै थिए । मैले सुनेको थीए गान्धि भन्ने गर्थे "कसैले दायाँ गालामा थप्पड हाने वाँया गाला पनि दिनु" । तर यहा त गान्धिको पनि क्रान्तिकारी अवतार रहेछ ।

अंहिशाका पुजारी गान्धि र यो खुट्टा भाँचिदिने गान्धि बिच म कुनै तालमेल देख्दिन न त मलाई भित्ते राष्ट्रपतिको उर्दी कार्यकर्ता सम्म लागु हुनेमा नै विश्‍वास छ । यसरी नेताले कसैलाई सुनाउन मात्रै बोल्ने र कार्यकर्ताले सिधै लात्ता भाँचिदिने कुरो गर्ने हो भने भोलीको नया नेपालमा "लात्ता भाँचिदिने गान्धि", 'बन्दुक समात्ने बुद्ध' वा 'खुकुरी भिर्ने' शान्तिदूत जे पनि हुनसक्छन अनि त्यसपछि नेपालको हालत के हुन्छ त्यस बारेमा न त भित्ते राष्ट्रपति न त यि क्रान्तिकारी गान्धि कसैलाई केहि थाहा हुने छैन । गान्धिबाद यौटा तपश्‍या हो जसलाई १ हप्ता लिने र त्यसपछि छोडने कुरा नै गलत छ भने गान्धि बादी हुदै खुट्टा पनि भाँच्दै हिडने कुरा त भेजिटेरिएन चिकेन म:म: जस्तै हो ।



April 2, 2008

पोखिएका खुशी

पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर
अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका बिदुरहरु
जती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी


April 1, 2008

चुनावको चर्चा र मेरो भोट

- चना -


होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ९ दिन पछाडि त संविधान सभाको चुनाव - ९ दिन भन्या के हो र ? त्यसो त हाम्रो यो दौंतरी समुहमा केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरोमा झण्डै सबैको एकमत जस्तो थियो । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा हामी बीच प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव हामी मध्य कसैले पनि चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ ।

(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए ।


(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन ।


(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।


(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन ।

(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन ।

जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

पूर्वनिर्धारित मितिमा चुनाव भैहालर पनि भोट हाल्ने मामिलामा हामी दौंतरीमध्येका शायद एक दुइजना बाहेक सपैजसो सहभागि हुन नसकिने स्थिति छ । हाम्रो लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम हुने जमात हौ । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका थोरै समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ दौतरीका रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

काठमाँडौ
१ - प्रकाशमान सिंह (काँ)
२ - माधव नेपाल (ए)
३ - मनु हुमागाइ (मा)
४ - सुप्रभा घिमिरे (काँ)
५ - नरहरी आचार्य (काँ)
६ - हितमान शाक्य (मा)
७ - राजेन्द्र श्रेष्ठ (ए)
८ - नविन्द्रराज जोशी (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ (ए)
१० - सानु श्रेष्ठ (ए)

ललितपुर
१ - उदय शमशेर राणा (काँ)
२ - सिद्दिलाल सिंह (ए)
३ - रघु पन्त (ए)

भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री (ए)

(नोट: छनोट केको आधारमा गरेको भनेर नसोध्नु होला )




March 31, 2008

आसन्न निर्बाचन् र अड्कल को बजार।

आसन्न निर्बाचन् र अड्कल को बजार।

बजारहरु हल्ला ले गुलजार छन। चुन पसल देखी सुन पसल सम्म, साडी पसल देखी गाडी पसल सम्म आसन्न संबिधान सभाको निर्वाचन नै प्रमुख बिषय भैराखेको छ। सुखद यस माने मा मान्नु पर्छ कि धेरै ले चासो राखेका छन, देश को भबिष्य बारेमा। दु:खद यस मानेमा मान्नु पर्छ कि यो चुनाव हुन्छ कि हुंदैन भन्ने कुरोमा नै कुरोको चुरो अड्केको छ। चुनाव भएन भने हुन सक्ने बिध्वंश कहाली लाग्दो जती छ त्यती नि चुनाव हुंदा सम्म हुने ध्वंसको छ। चुनाव हुन्छ र हुनु पर्दछ। चुनाव हुन नदिनेहरुको असली स्वरुप अझै देखिएको छैन। २४० बर्ष देखी बंशजको आधारमा सम्पूर्ण शक्तिको केन्द्र बनेका ज्ञानेन्द्र र तिनका सन्तानअहरुले यती सजिलै राजासत्ता त्याग्ला भन्ने कुरोमा विश्वाश गर्ने ठाउँ काम छ।

जसरी हुन्छ चुनाव हुन न दिने सोच कै एउटो पाटो तराइ आन्दोलन थियो। जाती र समुदायको पीडा जस्तो संबेदनशिल बिषयमा आगो लगाएर चुनाव भाड्न खोजेको हो भन्ने कुरो त संझौता हुन लागेको बेला चुनाव सार्ने प्रस्ताव उपेन्द्र यादव समुहले ल्याउनु ले स्पष्ट हुन्छ। ती उपेन्द्र यादब गत बर्ष मात्रै भारतको गोरखपुरमा भएको विश्व हिन्दू परिषदअको सम्मेलनको मन्चबाटै राजातन्त्र जोगाउने संकल्प गरेका ब्यक्ती हुन। मधेसी समुदायको मसिहा बन्ने दिवास्वप्न बोकेका यादबको बिगतको राजनऐतिक ईतिहास र चुनाव मा भाग लिएर पनि चुनाव हुन दिन्न भनेर लागेको जङली हरुको पार्टी को कृयाकलाप को तारतम्यताले बिगतमा राजा बिरेन्द्र सहकार्य गरेको भन्ने कुरा को नचाहेर पनि पुष्टि हुने हुन्छ।


आफु जसरी भए नि चुनाव जित्नै पर्ने बन्दूके मानसिकता जसरी गरे नि चुनाव नजित्ने देखिए पछीको बर्बराहट अचेल दिनहुं सुन्न पढ्न पाईन्छ। के त्यसो भए जंगलीहरु जंगल नजाओन भनेर भोट दिनु पर्‍यो त ? हिजो तिनको हातबाट पती मारिएका बिधवाहरुले तिनैलाई भोट दिनु पर्‍यो त? हात खुट्टा भांचिएका हेडमास्टरहरुले तिनैलाई लाल सलाम गर्नु पर्‍यो त? दुई छाक खान धौ धौ भएका गरीबको भकारी अनी गोठ रित्याउने असत्तिहरुलाई भोट दिनु पर्‍यो त ? अहं , जनताले भोट दिने छैन तिनलाई। बूथ क्यापचर् गर्न सकिएला केहीइ ठाउमा सबै ठाउमा सकिन्न। १ लाख राष्ट्रिय अन्तरराष्ट्रिय पर्एबेक्षकको आँखा छल्न सकिन्न, तिनलाई राम्रो संग थाहा छ र अस्ती मात्रा भित्ते राष्ट्रपतिले बिदेशी परिबेक्षकहरु चुनाव हराउन आएका रे। बुद्धी न भए बरु केही हुन्न शुद्धी पनि हराए भने भित्ते राष्ट्रपती जस्तो हुन्छ।


ब्यक्तिगत बिचारमा यो चुनाव मा प्रमुख दलको रुपमा नेपाली काँग्रेस र नेकपा एमाले कै हालिमुहाली हुने छ। राजा बाचाउनेहरुको अंश 5 प्रतिशतमा सीमित हुने छ। जंगली पार्टिको हबिगत मधेसी पार्टिको भन्दा नि दयनिय हुनेछ भने अन्य बाम दलको पनि उल्लेख्य सहभागिता हुने छैन। फेरी अर्को कुरा, संबिधान, संबिधान सभासदहरुले लेख्ने होइनन। एक जना मित्र गोबिन्दे ले संबिधान लेख्ला भनेर चिन्तित हुनु भएको देखें। संबिधान केही संबिधान सम्बन्धी कानूनबेत्ताहरुको समूह ले लेख्ने हुन र संबिधान सभाले दफावार छलफल गरी अन्तिम रुप दिने हुन। यस उसले यस्तो संबिधान उस्तो संबिधान यसले के लेख्ला उसले के लेख्ला भन्दा नि कुन चाँही बिचार ले प्राथमिकअता पाउछ भन्ने महत्वपूर्ण कुरो हुने हुन्छ। अस्तु!


March 30, 2008

गजल - याथार्थ

गजल
पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जती होसियार भए पनि सुझाबुझ लुटी गयो

जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.

हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो

हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो
मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो


गीत - आशा

- हस्त गौतम मृदुल

एकक्षिण् बिछोड हुँदैमा, माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा, आ मरयो भन्ने नमान।

जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।

अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।



March 29, 2008

कती हास्ने?

हाम्रा पान्डा जि बेला बेलमा टि-टाइममा हसाउने खुराक ल्याउने गर्नुहुन्छ। म कु टाइममा आएर के गर्न खोजेको भन्नुभयो होला? त्यस्तो हसाउने खुराक केही लिएर नआएको भए पनि हास्ने खालको खबर लिएर आएको छु।
जनतालाइ बेला बेलामा स्विजरल्यान्ड देखी अमेरिकाको गफ दिन त सबै नेता माहिर छन। पंचायत आफै मात्र पार्टी अरु पार्टी हुनै नपाउने भए पनि बिकासको गफ त दिन्थ्यो है। गफै भए पनि पन्चायतको जस्तो बिकासको गफ अहिले सुन्न पाइन्न । सायद नेता हरु आफ्नै भुंडी बिकासमा लागेकोले होला जनतालाइ बिकासको गफ दिन नपाएका।
पन्चायतकालमा नेपाललाइ बिश्वको मापदण्डमा पुराउने भनेर खुबै ढोल पिटाए। जती ढोल पिटे पनि केही भएन त्यस पछि लाजै पचाएर अब चाही एसियाको मापदण्डमा नेपाललाइ पुराउने भन्न थाले। २०४६ सालमा सपनासंगै पन्चायत मसानघाटमा पुग्यो। त्यस पछि २०४७ मा भएको चुनाबमा घोषमा पत्रको बाडी नै आयो। पुर्व पस्चिम रेल मार्ग देखी कोशीमा पानी जहाज, खुब गफ चुटे नेताहरुले। चुनाब पछि त के कुरा,एमाले निस्किहाल्यो बिरोधमा, कांग्रेस आफै ३६ र ७८ भनेर क्रिकेट खेल्न थाले। गिरिजा पनि के काम,सबैलाइ नक आउट गर्दै बिचैमा चुनाब गरे। अनि सरु भयो पेन्डुलम सांसद। सांसदको पोइल गए जस्तो चारै तिर पोइल गएर संभव भए सम्मको सरकार बनाए। यसरी कमेडी शो मा देखिने सबै कुरा नेताले साच्चै कै गरेर देखाइदिए। हिजो सम्म फाटेको चप्पल लगाउने हरु पजेर चढ्दा पनि पैत्रिक सम्पती भन्नलाज नै छैन। अरु त के पुरुष सांसदले सुत्केरी खर्च सम्म लिएर हसाउनु हसाए।
हासो को श्रिंखलाको त के कुरा? हालै समाचारमा आयो, एउटा पार्टीले हास्य कलाकार हरिवंश आचार्यलाइ संबिधान सभामा उठ्न आग्रह गरेछ। नेता को चरित्र देख्दा देख्दा वाक्क एक जनाले भनि हाले, नेता हरुले देश बिदेशसम्म आफैले हसाउने नपुगेर हरिबंशलाइ पार्टिमा ल्याएर अझै हसाउन खोजेका हुन?


March 27, 2008

पुड्का राष्ट्रपती

अग्लो,होचो,कालो,गोरो यो सबै आफ्नो बस भन्दा बाहिरको कुरो हो। तर हिल लगाएर अग्लो,पाउडर लगाएर गोरो त हुन सकिन्छ तर त्यो एकै छिन मात्र हो। तर अग्लो भएर होचो हुने, त्यो पनि राष्ट्रपती ए होइन होइन भावी राष्ट्रपती जस्तोको दशा देख्दा के लगाउने सल्लाह दिने हो उत्तर नै भेटिएन।
बाउ किसान,जिन्दगी आलिसान करै बेग्लै छ। सिल्लित्त कपाल, छाटेको जुवां हेर्दात फिल्मकै हिरो जस्ता छन। हातको घडी हेर्ने हो भने अरबपती, खरबपती जस्ता छन। बन्दुक बोकेर अघी पछी दौडने मान्छे हेर्दा परबेज मुसरफ जस्ता छन। इतिहांस हेर्ने हो भने शोलेको गब्बर सिंह भन्दा खतरा तर भाषण सुन्यो गोपाल राज मैनालीको झल्को आउंछ..." धाक भन्दा धक्कु ठुलो हिड्न लागे खुट्टो लुलो"।यस्तै हाल छ माओबादीका टाउके कमरेड प्रचण्डको।
बाइ सि एल ले नेपालका भए जतीका सबै भित्तामा भावी राष्ट्रपती कमेरड प्रचण्ड लेखेको देखेर वाक्क भए पछि एमाले ले भित्ते राष्ट्रपतीको संज्ञा दिए पछि आजीत भएका प्रचण्ड अहिले आफ्नो शान घट्दै गएको र कतै जमानत नै जफत हुने होकी भन्ने त्रासमा छन। केही पहिले सम्म हारे पनि शान्ती प्रक्रिया नबिथोल्ने कसम खाएका प्रचण्ड अहिले एकाएक हारे बन्दुक समात्ने जस्ता खालको भाषण ठोक्न पुगेका छन। सबैलाइ जागिर देखी सबै ठाउंमा रेलको भाषण, दन्त्य कथा जस्तो हुन पुगे पछि चर्को ध्वासका धनी खुट्टा कमाएर यसको बिश्वासघात र उसको षडयन्त्र भनेर औलो तेर्साउन पुगेका छन।
आफ्नै पटेन्ट भएको संभिधान सभा प्रजातन्त्रबादी देखी पन्चतन्त्रबादी सबैले आ-आफ्नै पोल्टोमा राखेको देख्दा अनि गोलमेच सम्मेलनको मेच गोलखाडी भएको देख्दा प्रचण्डलाइ पर्नु पिर परेको छ।बन्दुकले रजांइ गरे जस्तो भोटले रजाइ गर्ने छाटकांट नेदेख्दा कतै पुर्व पन्चले पो उछिन्ने हुन कि, अहिलेसाच्चै नै प्रचण्डपथ शनिशंकटमा परेको छ। बाबुराम भट्टराइ जंगलबाट निस्कदा त बानेश्वर नै जाम भएको थियो। प्रचण्ड निस्कदा त कुरै नगरौ, सिडियो देखी बिबिसी रेडियो, सबैको धनुष्टन्कार लाम। तर त्यो सबै सान नम्बरी सुनबाट पित्तल जस्तै फिका हुंदै गएपछी द्वन्दका हिरो बिकास नन्दबाट समेत जिरो हुन पुगेका छन। यसरी केही समया पहिला संविधान भन्दा माथी र सगरमाथा भन्दा अग्ला पुष्प कमल दाहाल आ.का कमरेड प्रचन्ड दिन दिनै पुड्का बन्दै गएका छन।


पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प

- Ajaya Dhakal

नेपाल को पहिलो समाचार च्यानल भन्छ - " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प"
आज www.Nepalnews.com हेर्दै गर्दा त्यहाँ सागरमाथा टिभि को लिंक देखेपछि मलाई पनी नेपाली समाचार च्यानल हेर्न मन लाग्यो। लिंक क्लिक गरे, पेज खुल्यो, हिक्का छाडदै जेनतेन भिडियो पनी चल्यो. पहिलो पटक प्रतक्ष्य सागरमाथा टीवी हेर्दा मन गदगद हुने नै भयो। समाचार भन्ने सैली र प्राय समाचार त्यती मन पर्दों नभए पनी 'यो मन त मेरो नेपाली' हो भन्ने सोच्दै हेरियो। तर News Flash मा लेखिएको " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प " भन्ने देखिएपछि अचम्मै लाग्यो । पहिला त कतै धेरै बंद भएर पूर्व पश्चिम राजमार्ग धादिंग तिरै पो पुरयाएकि जस्तो लाग्यो :) तर गूगल को नक्सा (गूगल म्याप ) हेरे पछि यो त "नेपाल को पहिलो समाचार च्यानल" को नेपाली पारा हो जस्तो लाग्यो। किन भने धादिंग जिल्ला को ५०-६० किलोमीटर सम्म पनी पूर्व पश्चिम राजमार्ग (महेंद्र राजमार्ग )ले छुदैन भन्ने कुरा तिनिहरुलाई थाह नहोला त ? हेर्नुहोस : स्क्रीनशट (साभार : Nepalnews.com )


काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।

चुनाव संबिधान सभाको तर राजनैतीक पार्टीका कार्यकर्ताहरुको भिडन्त हेर्दा लाग्छ यो एउटा संसदीय चुनाव हो। पार्टीहरु आफ्नो बहुमत जुटाउन हरतरहले लागिरहेका छन। भाषाणमा आरोप-प्रत्यारोप त बुझिने कुरो हो तर कार्यकर्ताहरु मारामारीमा लागेका छन। कार्यकर्ता देखी उम्मेद्वार सम्मको ज्यान गुमेको छ। संबिधान सभा भनेको सरकार बनाउने सभा होइन र बहुमत ल्याउन यस्तो बिध्न उध्यम गर्नु पर्छ जस्तो लाग्दैन। बहुमत हुनेले संबिधान बनाउने भए सिधै संसदको चुनाव गरेको भए हुन्थ्यो वा अहिलेकै संसदले बनाएपनी हुन्थ्यो। संबिधान निर्माणको लागि यो चुनाव हुने भएकोले यसमा देशका प्रत्यक तप्का,बर्ग, जात-जाती, बिचार को प्रतिनिधित्व हुनु पर्ने हो र यसो हेर्दा लोकतान्त्रीक पक्षहरु एकजुट भएर जानु पर्ने हो। संबिधान सभाको चुनाव सकेसम्म गैर राजनऐतीक चरित्रको हुन पर्ने हो। पार्टीहरुले उम्मेद्वार उठाउदा समाजका बुद्धिजीवी, कानून ब्यबसायीहरु, शिक्षक, ब्यबसायीहरु, मानवाधिकारवादीहरु आदिलाई उठाउन पर्ने हो। तर तिनै पुराना बासी अनुहारलाई उठाइरहेका छन। यिनिहरुबाट नै हुने भए हिजो पनि यिनीहरुनै त थिए नि? किन देशले यो दुर्गाती ब्यहोर्न पर्‍यो?
संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्‍यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।


इराकबाटै भावी राष्ट्रपतिलाई धन्यबाद ।

सर्वप्रथम त न्ोपालको इतिहासमा नै पहिलो पटक हुनलागेको संविधानसभा निर्वाचनमा आफुलाई सहभागी गराउन नसकेकोमा म नेपाल आमा प्रति क्षमा माग्दछु । म अहिले इराकमा कार्यरत छु र मलाई मात्र नभएर सम्पूर्ण इराकमा रहेको नेपालीहरुलाई दूःख लागेको छ किनकी नेपालको इतिहासमा नै पहिलो पटक हुनलागेका संविधान सभाको मिति मात्र दुई साता बाँकी हुँदा संविधानसभा निर्वाचन नहुने हल्ला चल्न थालेकॊ छ । संविधानसभाको निर्वाचनलाई मुख्य मुद्दा बनाएका दलहरुका उच्छृंखल गतिविधि तथा गैर जिम्मेवारपूर्ण व्यवहारले संविधानसभा निर्वाचन हुनेमा आशंका बढेको हो यस्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न चुनावी प्रचारप्रसारको लागि आयोजित कार्यक्रममा माओवादीको हार नहुने र हारे निर्वाचन अमान्य हुने चेतावनी दिँदै आफूलाई जनयुद्धले राष्ट्रपतिमा स्थापित गराइसकेको दाबी गरेका छन् ।
संविधानसभा हुनमा नै आशंका बढिरहेका बेला प्रचण्डले आफूले हारेको चुनाव अमान्य हुने धम्कीले निर्वाचन हुने कुरामा आशंका जन्माएको छ । अर्कोतर्फ माओवादीका अन्य गतिविधिका कारण पनि निर्वाचन हुन कठिन छ । एक अर्कामाथि आक्रमण नगर्ने कागजी सहमति भए पनि व्यवहारमा माओवादीले लागू नगर्दा कठिन स्थिति सिर्जना भइरहेको छ । माओवादीका कारण प्रतिगामी तत्वले चलखेल गर्ने अवसर प्राप्त गरेको छ । प्रचण्ड र उसका कार्यकर्ताहरु नै चुनावको बाधकको रुपमा रहेको देखिएको छ अहिलेका दिनहरुमा वाईसिएल र छापाचारलाई परिचालन गरेर उम्मेदारहरुलाई बारम्बार आक्रमण गर्न लगाउने यो कहाँको न्याय हो चुनाव प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेद्धार र कार्यकर्ता माथि कि बारम्बार आक्रमण गरिन्छ । कि यो पनि केन्द्रको निर्णय होईन प्रचण्ड जीको मुखमा त यै वाक्यले बास गरेको छ । चुनाव भनेकै खुल्ला प्रतिस्पर्धा हो नि कि यो कुरा प्रचण्डलाई कसैले पनि सुनाएन । नेकपा माओवादीले भने ´ै उनिहरुलाई जनताले विश्वास गरेकै हो भने किन रोल्पामा छापामार मात्र धेरै नै प्रयोग गरियो कि रोल्पा जस्तो माओबादीको राजधानीमा पनि जनताले टेरपु´र लाएन माओवादीको अध्यक्ष प्रचण्ड त जनताले नै नचुनिकन राष्ट्रपति भन्दै हिड्दा अलि कति पनि जनताले के भन्ला भनेर सोचेनन् कि राष्ट्रपति भन्दा भन्दै सोच्न भ्याएनन् । प्रचण्ड जी माओवादी कार्यकर्ताले मात्र प्रचण्ड राष्ट्रपति हो भन्दैमा नेपाली जनताले प्रचण्डलाई राष्ट्रपति मान्दैनन् माओवादीले खूल्ला प्रतिस्पर्धा मार्फत् चुनेको खण्डमा मात्र आफुलाई राष्ट्रपति हो भनेर गर्व गर्नुस् ।
केहि दिन अगाडी माओवादीले हामीले संविधान सभाको निर्वाचन जसरी पनि जित्नै पर्छ नजितेको खण्डमा फेरि अर्काे विद्रोह गर्ने चेतावनी पनि विभिन्न चुनावी सभालाई सम्बोध गर्ने क्रममा व्यक्त गर्नु भएको रहेछ यो कुरा मैले भने विभिन्न संचार माध्यमबाट थाहा पाए तर यसको अर्थ त ६ अरब खर्च गरेर संविधान सभाको निर्वाचन नगरेपनि हुन्छ नि यसको त कुनै अर्थ रहेन किनकी जनताले चुनावमा भाग लिएपछि त त्यसको परिणाम त कसैको हार हुन्छ भने कसैको जित हारेकॊ खण्डमा त्यो निर्वाचनको भने मान्ने ता नै नरहने हो त ।अन्तिममा यि र यस्ता कार्य गर्नु भएकोमा भावी हुनलाग्नु भएका ने क पा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवादका साथै अगि्रम शुभकामना पनि ।
निर्वाचनको समय जति नजिकै छ त्यति नै सर्वसाधारण जनतामा त्रास बढ्दै गएको छ । परिवर्तनका निम्ति मिठो सपना साँचेर राखेका उनीहरु पटक-पटक हुने झडप अपहरण धम्कीजस्ता गतिविधिले आजको दिनसम्म भयरहित वातावरणमा मतदान गर्ने स्थिति सिर्जना हुन सकेको छैन । नेपाली जनतालाई भय रहित बाताबरणमा निर्वाचन गर्ने अवसर बनाई दिन इराकमा रहेका नेपालीको आग्रह छ र सहि नेता चुनिदिनु हुन पनि नेपाली जनतालाई पनि आग्रह गर्दछौ ।



March 26, 2008

मुटुमै खिच्यौ त्यो सिमारेखा,मनकै भो हदबन्दी

कटौती गरी के लेख्यो भाबिले भाग्यमै भो मन्दी


बिधी नपुग्या कि अधुरो भाको थियो प्रेमको पूजा

किन दियौ साँढे सातको दशा खनखनी गन्दी


थमौतिको दौड धूप बेकार भएर लड्यो अब

खारीज भयो मेरो दरखास्त थिएन दरबन्दी


खाता चुक्ता नगरि अर्को जुनिलाई उधारो भन्यौ

पराइको हासो सँग मुटु रेट्दी गर्यौ कुन सन्दी


लथालिङ भई छरिएको मन संगाल्न पनि त

भरोसाको घर भात्कियो आधारको जग खन्दी


March 23, 2008

युगल गीतः- नयाँ रंघ

-हस्त गौतम मृदुल

केटी-मेरो लागी कोही छ की फेरी सिन्दुर लगाइ दिने।
जीवन साथी बनाएर कुन्ठित आशा जगाइ दिने।
केटा-मलाइ माया गर्छौ भने फेरी सिन्दुर लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ नयु सपना सजाइ दिन्छु।

केटी-अटल सौभाग्य खोसीेदा बैशैमा बिधुवा भएँ म।
जीवनको त्यो रंग हराउदा िपंडाले साहै रोएँ म।
केटा-जे हुनु थियो भैगयो बिगतको अब शोक नगर।
उजाड त्यो जीवन भरी नयु रंङ्कै रंङ्कले भर।

केटी-मेरो लागी कोही छौ की फेरी चुरा लगाइ दिने।
जीवनभरी अपनाएर शौभाग्यवती बनाइ दिने।

केटा-मलाइ माया गर्छौ भने फेरी चुरा लगाइ दिन्छु।
दुख-सुख बाढीकन नयाँ आशा जगााइ दिन्छु।

केटी-अभाव र तृणा भित्र कहिले सम्म अल्मुी रहु।
बन्धन र बिधी भित्र कहिले सम्म बल्मुी रहु।
केटा-दुख दिने बिधी तोडी अब पाइला चाल्दा हुन्छ।

केटी-मेरो लागी कोही छौकी फेरी पोते लगाइ दिने।
निरस यो जीवनबाट चिन्ता सवै भगाइ दिने।

केटा-मलाइ माया गर्छाै भने फेरी पोते लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ जीवन भरी सघाइ दिन्छु।



कुकुरलाइ आची

कुकुरलाइ आची शब्द त्यती राम्रो होइन तर यो उखान एक बिद्वानले राष्ट्रिय पत्रिकामा प्रयोग गरेका थिए। हुनत गाली गलौजमा राष्ट्रिय पत्रिका देखी अन्तराष्ट्रिय ब्लगसम्म भरी भराउ हुन्छन। अझै केही पार्टिगत पत्रिका र ब्यक्तीगत ब्लगमा त गाली र तुछ्छ शब्दको लहर नै हुन्छ, दुबैको उदेश्य एउटै हुन्छ,कसरी बिपक्षीलाइ तल गिराउने भलै आफु पनि तु्च्छ हुन किन नपरोस।
मैले उठाउन लागेको कुरो के भने नानी देखी लागेको बानी छुट्ने त रहेनछ भन्नलाइ हो। प्राय पत्र-पत्रिकामा आएको हो वाइ.सि.एल ले के के उपद्रो गर्दै हिड्छन भनेर। तर पनि संबिधान सभाको निर्वाचन हुने छाट काट आएको थियो। तर १-२ दिन भयो चुनाबका उमेदवार नै मारिन थाले पछि फेर संभिधान सभाको चुनाब नहुने हो कि भन्ने आशंका उबज्न थालेको छ। दिन प्रती दिन नेपालमा मानवताको अवमुल्यन भइरहेको अबस्थामा १५-२० उमेदवार मारिए अचम्म नमाने हुन्छ। बिगतमा हेर्ने हो भने पनि माओबादी बिग बिगी भए देखी प्रती दिन ३-४ जना मान्छे मारिदै आएका छन। त्यस हिसावमा १ जना उमेदवार मारिनु कम भएतापनि एक किसिमको निकास निस्कन लागेको नेपालको लागी राम्रो लक्षण भने होइन।पिटापिट र पार्टी समर्थक मारिने क्रम त कम भएको छैन। आरोप प्रत्यारोप श्रिंखला त टुट्ने कुरै भएन।
फेरी चुरो कुरो तिर फर्किदां किन त हाल सालै मरेका संभिधान सभाका उमेदवार हत्या गर्ने माओबादी निकट भएको पुष्टी भएको छ। जो सुकै निटक होस, हत्यारको पहिचान भएपछि कानुन अनुसार कार्बाही हुनुपर्छ। बिना कारण मारिने बिरेन्द्र शाह हुन कि मरणाशन्न पिटिने डा ज्ञानेन्द्र गिरी हुन, या नया नेपाल बनाउने भनेर युनाइटेड सात पार्टीको संबिधान सभाको उमेदवारको हत्या होस, किन माओबादी निकट नै हुने गर्छन? कि मार्ने समुह माओबादी नै भएर जनताको आंखमा छारो हाल्ने माओबादी निकट भनिन्छ? यसो भने त तिनी बिद्वान डाक्टर नेताको शब्द शापटी लिएर तिन कै पार्टीतिर कुकुरले जंगलबाट शहर पसे पनि आची त छोड्दो रहेनछ निभनेर प्रक्षपेण गर्नुपर्ने अब्स्था आएको छ।


छोटे उस्ताद, प्रक्रिती र हिन्दूस्तानी गोही

प्रकृतिक स्वोच्छ सुबास बोकेको एउटा पहाडी आबाज गुन्जियो विश्वभरी छरिएका हिन्दी गीत पारखीलाई मोहनी लगाउन प्रक्रिती बनेर । चिया बगानको मनमोहक सुगन्ध मिसिएको ताजा र मिठो स्वरले धेरैलाई मोहित पारे पनि आज छोटे उस्तादको प्रतिसप्रधा बाट बहिरिएको छ । हुन त जयपुरकी राजाकुमारिले भने झै यो एउटा खेल हो र खेलमा हरजीत हुन्छ ,तर खेलको कायदा कानूनलाई मिचे पछी त्यो झेल हुन्छ अझ रेफ्री नै पक्षपाती भए पछी ओझेल पर्छ जस्तै खेलाडी भए पनि । मनोबैज्ञानीक दबाबमा थिचिए पछी एक अबोध मन कसरी आफ्नो प्रतिभालाई निरधक्क भएर जमाउन सक्छ ,जबकी उन्का प्रतिस्प्रधीलाई निर्णयकले पहिले नै सरताज सर्बोत्तम लेखिएको कागत टाउकोमा लगाएर तथास्तु भन्न आतुर भएको स्पस्ट देखिन्छ । नत्र बिना सुने कसरी फलानोले सरताज सर्बोत्तम पाउछ भन्ने पहिले नै तय गर्न के कुनाल दुर्दर्शी हो त ? तेही गीत लाई प्रितमले एउटा सुन्ने,श्रेयाले र कुनालले अर्को सुन्ने कसरी हुन्छ ? आदेश जस्तो बिसिस्ठ संगीत बिग्यबाट सरताज सर्बोत्तम पाएकी प्रकिती अरुको सुनाइमा केही न केही खोटको भागी हुनु उन्को स्वर हो या नेपाली मुलकी हुनुको करण,यस्मा निस्पक्ष जनताको चासो बढेको हुनु पर्छ।"हमने cleary बताया हे हम किसको चाहते हे,'भनेर पहिले देखी प्रकृतिलाई हटाउन आतुर भएका कुनाल ' उन दोनोके आगे बहुत weak लगा,छोटे उस्ताद I don,t think so " भनेर खुला रुपमा पछी लागेपछी बिचरी प्रक्रिती को के लाग्छ । शायद जो कोहिलाई यो बिझेको हुनु पर्छ । हमेशा दर्शक र जनताको ढुकढुकी बनेकी प्रकृति माथिको यो अन्ध दबाबलाई श्रेयाले दिल मजबुत भएकी,अबोध तथा मेरी राजाकुमारी भनेर चोखिन खोजे पनि अबोध चेहेरामा टल्कियको आसुले पक्कै उन्लाई आत्माग्याली बनाएको हुनु पर्छ। कुनाल जस्ता संगीत नै धर्म ,कर्म मान्यता राख्छु भन्नेले कसरी धर्मको पालन गरे ,जनअदालतले यस्को फैसला गरिदिएको छ जयपुरको ताज प्रकृतिको शिरमा रखिदिएर। गोहिले खाने बेलामा आशु खसाल्छ ,आशु खुशीको हुन्छ जस्को प्रमाण प्रतियोगिताबाट बहिरिए पछी श्रेयाको रानीभएको ,कुनालले सिट्टी मारेको देखे पछी जो कोहि ले अन्दाज लगाउन सक्छ । गोरखाली युद्दको मैदानबाट भागदैन भन्ने शायद उनिहरुलाई महसुस भएको हुनु पर्छ र यो हारमा पनि प्रकृतिको जित भएको छ भन्ने कुरालाई सबैले बुझेको हुनु पर्छ ।अन्तिम दिनको प्रहारको सामना निर्णयक मन्डलीले गर्न सके सकेनन ,तर गोर्खाली प्रहार पक्कै चोटइलो थियो शायद सबैले महसुस गरेको हुनु पर्छ । मोहे सुदबुद ना रही तनमनकी ए तो जाने दुनियाँ सारीबेबेस लाचार फिरु हारी मे दिल हारी बिदाइ हुनलाई प्रकृतिले गाएको यो गीतले भने झै दुनियाँलाई थाहा छ ,यो उनको सुरुवात हो ,सङीतको यात्रामा उनी चम्किलो तारा भएर उदाउने छिन। सबैको शुभकामना ।


विष्मयहरू बीच निर्वाचन पर्व: साता चर्चा - एकलव्य

यो साता धेरै कुरा भए, सँधै जस्तो ।

अस्तिको दिन, भारतीय जनता पार्टीका शीर्षस्थ नेता लालकृष्ण अड्वाणीले एउटा एक हजार पेज लामो पुस्तक भारतीय अणु वैज्ञानिक एवं भुतपूर्व राष्ट्रपति एपिजे अब्दूल कलामका हातबाट विमोचन गराउनु भयो । नेपाली राजनितिमा यसको के चासो भन्ने लाग्ला । तर यो पुस्तक भित्र अड्वाणिले औँल्याएका छन् “ नेपाली माओवादी लोकतन्त्रका लागि खतरापूर्ण छन्,यिनले भारतीय नक्सलवादी शक्तिसंग मिलेर भारतमा पनि राजनैतिक हिंसा र अस्थितरता पैदा गर्न सक्छन् र नेपाली राजनीतलाई कम्युनिष्ट अधिनायकवाद तर्फ बलजफ्ति लैजान सक्छन् । अत: नेपालमा दिगो शान्ति र मुलुकको स्थायित्वका लागि , सबै पक्षलाई समेट्ने संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ” । नेपाली मामिलामा भारतिय चासो कुनै मानेमा नौलो कुरा नभए पनि , भारतले बोल्ने बित्तिकै नेपालमा प्रतिकृया स्वाभाविक नै हुन्छन् र यसपाली पनि नहुने कुरै भएन । भारतीय जनता पार्टीका धुरन्धर नेता अडवाणीको यो पुस्तकको उद्दरण उनको नीजि विचार हो वा यो उनको दलको आधिकारिक धारणा हो यो भन्ने कुराको स्पष्टीकरण नआएको भए पनि हिन्दू राष्ट्रवादको पर्याय मानिने एउटा प्रभावशाली भारतीय राजनैतिक दलको झुकाव नेपालमा विकसित राजनैतिक घटनाक्रमका सन्दर्भमा कतापट्टि वा कुन पक्षमा छ भन्ने कुराको अनुमान गर्न भने यो धारणाको अभिव्यक्तिले सजिलो पारेको मान्न सकिन्छ । लोकतन्त्रमा सबै पक्षलाई स्पेस दिनु पर्छ र त्यहाँ राजा पनि अटाउन पर्छ भन्ने धारणा अतिवादी सोचको उपज नै हो भनेर ठोकूवा गर्नु पर्ने केही कारण नभए पनि , अहिले विकसित हुँदै गरेको नेपाली राजनैतिक घटनाक्रममा , राजालाई स्पेश दिने कुराको वकालत गरेर नै संविधानसभाको निर्वाचनमा उत्रिन सकिने माहौल छ भनेर भने कल्पना गर्न सकिने स्थिति भने देखिन्न । तर पनि, संविधानसभाको ऐतिहासिक निर्वाचनमा राजा राख्नु पर्छ भन्ने सोच नै बोकेका मान्छे भए पनि , तिनले आफ्नो धारणा लिएर जनतामा पुग्न भने पाउन पर्छ, किनभने निर्वाचनमा जनतालाई ‘यो कुरा गर्न वर्जित छ है’ भनेर भन्न त पाइन्न । कुरा के हो भने जसलाई जे राजनेतिक मान्यता उपर विश्वास छ , त्यसका पक्ष वा विपक्षमा जनताको मत के छ त भनी खुट्याउन त निर्वाचन गरिन्छ नि !

एमाले माओवादी जुहारी:


१३,१४ वर्ष अघि रत्नपार्कको भित्तोबाट शुरू भएको एमाले र तत्कालीन संजमोको बाबुराम गुटको घमासान, कामरेड प्रचण्डलाई भित्ते राष्ट्रपति भएको एमाले नेताको टिप्पणी पछि पनि जारी छ । अहिले यो भित्ते प्रकरणको दोस्रो संस्करणमा आइपुग्दा , माओवादी विशेषत: एमालेले निर्वाचनमा आँफूसंग मिलिजुली चुनाब लड्न देखाएको अनिच्छाका कारण रुष्ट छ । माओवादी यसरी एमालेसंग निर्वाचन सिटहरूमा तालमेल र भागबण्डा गरी निर्वाचन लड्नुर्छ भन्ने प्रस्ताव लिएर गएको रहेछ , तर त्यसो गर्दा माओवादीले एमालेलाई आँफू भन्दा सानो हिस्सा ४०% सिट मात्र दिन खोजेको रहेछ र सो कुरा एमालेलाई सह्य नभएको कुरा कामरेड माधव नेपालले सार्वजनिक बताइसकेका छन् । यिनै कुराहरू बीच माओवादी versus एमाले जुहारी जारी छ । जुहारी मात्र नभएर , एक दशक भन्दा लामो भौतिक युद्द लडेका माओवादी पूर्व लडाकाहरू रन्थनिएर विशेषत: एमाले बिरुद्द र छिटपूट रूपमा अरू बिरुद्द पनि आक्रमणमा उत्रिएका छन् । तर जनता भने अवाक परेर हेरिरहेका छन्, मिलिजुली सरकारमा बसेर परिवर्तनका लागि काम गरिरहेका भनिएका राजनैतिक दलहरूका बीच यो द्वन्द किन ?
माओवादी भन्छ “ साँचो कम्युनिष्ट हामी मात्र हो , एमाले त पूँजिवादी भाषमा जाकिइसक्यो । ऊ कांग्रेसको सानो भाइ हो, कम्युनिष्ट त हुँदै होइन । अनि हिजोदेखि जनयुद्द मार्फत हामीले जनतालाई चेतनशिल बनाएका हुनाले सारा गाउँघर र अधिकांस नेपाली परिवर्तनको चाहनाले हाम्रो पक्षमा छन् , त्यसैले चुनाब त हामीले चाहिए अनुरुप नजित्ने कुरै छैन” । अनि एमाले भन्छ “ कांग्रेसले पुल्पुलाएर माओवादीलाई एमालेको शेखी झार्न अन्तरिम संसदमा उसकै संख्यामा सिट दिएको हो , साँचो कम्युनिष्ट हामी हौँ भन्ने कुरा त हामीले चुनाबै पिच्छे देखाइरहेका छौँ । माओवादीहरू भनेको त उग्रवापन्थी भड्काव मात्र हो । यिनका पक्षमा जनता छैनन् बरू जनता यिनको जोरजुलुमको डरले आक्रान्त छन्। हामीले तालमेल पनि गरिन्न, किनभने तालमेल खोज्ने हरूवाहरूले मात्र हो” । यही कडीमा हिजो कामरेड बाबुराम भट्टराईले एमालेलाई हियाउँदै कैलालिको अत्तरियामा यस्तो टिप्पणी गरेछन् :

“Dr. Bhattarai also accused the UML of being ‘a bunch of canny people bought off by NGOs/INGOs and working in the garb of communists.’Addressing the election rally in Attariya of Kailali, Dr. Bhattarai indicated that the Maoists won’t take the election results lying down if they were defeated.” साभार nepalnews.com


अहिलेका परिघटनालाई केलाउँदा, चुनाबी तालमेल नहनुको ज्वरोले माओवादीलाई बेसरी समाएको देखिन्छ । एमाले तालमेलबाट तर्किनुको पछाडि अमेरिकाको हात रहेको कुरादेखि अनेक थरिका आरोपहरू र माथि अंग्रेजी भाषामा उद्दरण गरिएको भनाइहरूले माओवादी कति खार खाएर बसेका छन् भन्ने कुरा देखाउन काफि छ ।
अब प्रश्न उठ्छ , यदि माओवादीले एमालेलाई लगाउने गरेक यी विविध थरिका आरोपहरूमा थोरै पनि सत्यता छ भने त माओवादी जस्तो क्रान्तिकारी राजनैतिक दलको भलोको लागि पनि, एमाले जस्तो अशुद्द र पूँजिवादी विकृतिले गाँजेको ठहरिएको पार्टीसंग सहकार्य र तालमेल नहनु राम्रो कुरा हैन र ? पछिल्लो आम निर्वाचन भएको लगभग एक दशक हुन लागेको स्थितिमा अनि माओवादी पनि शान्तिपूर्ण राजनीतिमा पुन प्रविष्ट भएको अहिलेको घडीमा, सबै दल विशेषका आकार र प्रकारका नक्साहरू पनि जनता र मुलुकले थाहा पाउन पर्‍ने खाँचो अनुभव भएको छ । दलगत प्रतिस्पर्धाले नै कसका पक्षमा एवं कुन राजनीतिक विचार औ दलका पक्षमा कति जनता रहेछन् भन्ने कुरा थाहा पाउन र तदनुरुप देशको राजनैतिक भविष्यको योजना बनाउन सघाउ पुग्छ। तसर्थ पनि सबै वैयक्तिक दल विशेषले, निर्वाचन आ-आफ्ना ढंगले नै लड्नु उचित हुन्छ । यो बहुदलीय लोकतन्त्रको पहिलो खुड्किला पनि हो जहाँ निश्चित विचार र सिद्दान्त अँगाल्ने मानिसहरूले राजनैतिक दल गठन गर्छन र जनता समक्ष अनुमोदनका लागि पुग्छन् । ती विचार र सोचका कारणले अलग भएर नै अलग दलहरू बनेका हुन्छन् अन्यथा ती एकाकार वा एकीकृत हुन्छन् ।एमाले र माओवादीहरूका एक अर्का प्रतिका आक्षेप र दावाहरूले पनि, ती दलहरूले छुट्टाछुट्टै निर्वाचनमा जानै पर्ने कुरा बताउँछन् । पहिला दलहरूले निर्वाचन पूर्ण रूपमा भयरहित माहौलमा सम्पन्न गरेर, कुनै अमुक विचारका पक्षमा कति मतदाता वा जनता रहेछन् भन्ने कुरा थाहा पाएपछि सबैलाई आ-आफ्नो हैसियतको ज्ञान प्राप्त हुनेछ ।
अर्को कुरा, कतिपय बामपन्थमा विस्वास राख्ने शुभेच्छुकहरूले भन्ने गरेको “ नेपालका कम्युनिष्ट नमिलेर, कांग्रेस वा अरूले निर्वाचन जित्छ नेपालमा” भन्ने कुरा पनि बामपन्थी दलहरू प्रतिको सदिच्छाले भन्दा कांग्रेस वा अरू पार्टीले सत्तामा पुग्ने अवसर नपाओस् भन्ने नकारात्मक चिन्तनबाट अनुप्रेरित छ भन्नै पर्छ । यो किनभने, विचार र व्यवहारका कारण नै माओवादी वा एमाले धेरै जसो परिस्थितिमा कांग्रेस वा अरू राजनैतिक पार्टीसंग धेरै नजिक छन् , केवल ‘कम्युनिष्ट’ भन्ने शव्द र केही वामपन्थी शव्दभण्डारको साझा प्रयोग बाहेक ।
तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।
नेपालमा तालमेल, मेलमिलाप र मिलिजुलीपनको खाँचो छ भने सबै पक्षबीच संस्कारका रूपमा जरूरी छ । निर्वाचन त प्रतिस्पर्धा गर्नैका लागि हो , गर्न सक्नु पर्छ खुट्टा नकमाइकन निर्धक्क आफ्नो विचार बोकेर स्पष्टतासाथ । यस कुरामा धेरै रोदन, प्रलाप र माथापच्ची नगरी निर्वाचन लडौँ किनभने राजनीति गर्छु भन्ने व्यक्ति र दलहरूका लागि त यो सबैभन्दा महान अवसर हो !


March 22, 2008

भविश्यको डायरी

दैनिकि वा डायरी भनेको प्राय: घटि सकेको घटनाहरुको टिपोट हो तर आज म पहिलो चोटि, भविष्यमा पछि घटने घटनाको बारेमा पहिल्यै लेख्दैछु । त्यसैले यसलाई शिर्षक दिएको छु "भविश्यको डायरी"
मेरो कल्पनामा अब आउने केहि हप्ताका मेरा दैनिकि वा 'बल्ग' मा करिव यस्ता कुराहरु हुनेछन्, जुन म एडभान्सको रुपमा पहिल्यै पेश गर्दै छु । नेपालको हाल बिद्यमान राजनैतीक तरलता र चुनाव अनी चुनावमा भाग लिएर जिते जित्छौं नजिते कब्जा गर्छौं भन्ने जुन किसिमको गन्जागोल पूर्ण वातावरण छ त्यसैको आधारमा हेर्दा मेरा आगामि केहि दिनका दैनिकि करिव यस्ता होलान:

मिति: २०६४ चैत्र २४ गते

संविधान सभाको मिति नजिकिदैं जाँदा आज अकस्मात यौटा दलले आगामी चुनावमा आफूलाई जसरि पनि हराउने षडयन्त्र रचिएको कुराको आफुहरुलाई गोप्य सूत्रबाट जानकारि भएको सनसनी खेज खुलासा गरेको छ। यो षडयन्त्रमा राजा देखी अन्य दल अनि अमेरिका, जपान, साईप्रस, लगायत हामिहरुले नामै पनि राम्रि नसुनेका बुरुण्डी, सोमालिया, कंगो, रुवाण्डा, बेनिन देखी लिएर युगाण्डा, टोगो र लुवाण्डा समेत लागेको जिकिर गर्दै सो दलले आगामी चुनावको मिति सार्न सरकारलाई ठाडो चुनौति दिएको छ ।

पत्रकार सम्मेलन स्थलमै धेरै जना पत्रकारले यो सनसनी खेज खुलासा सुने पछि आफ्नो हासो रोक्न सकेनन् भने कतिपय विद्वत वर्ग र पर्यव्यक्षकहरु भने यस पछाडी कुनै अज्ञात भयको आशंकाले चिन्तित देखिएका थिए।

मिति: २०६४ चैत्र २५ गते

आज दिनभर जसो राजनैतिक वृत्त तातो रह्‍यो, हालको चुनाव कुनै पनि हालतमा रोकेर चुनावको लागि नया मिति तोक्न दिनभरि जसो शक्ति प्रदर्शन र दबाब मुलक कार्यक्रमहरु जारि रहे। बिभिन्न दलका नेताहरु र छिमेकि मुलुकका राजदूतहरु दिनभर भेटघाट र सम्झाउने-बुझाउने कार्यमा व्यस्त रहे ।

मिति: २०६४ चैत्र २६ गते

हिजो दिनभरको दौड-धुप, सोच विचार र भेट वार्ताले कुनै पनि हल निकाल्न सकेन र आजको माहौल झन अस्तव्यस्त भएको छ । देश भर आज दिनभर तनाव व्याप्त रह्यो । राजनैतीक भेट-घाट झन तिब्र रह्यो भने समस्याको कुनै पनि हल निस्कन सकेको छैन ।

अहिले दिनको पाँच बजेको छ भने विश्‍वस्त सूत्रका अनुशार अहिले बालुवाटारमा देशका दिग्गजहरुको गोप्य बैठक चलि रहेको छ ।

मिति: २०६४ चैत्र २६ गते
अपडेट: रातको ८ बजे

सरकारि मिडियाले हाल हुन लागेको चुनाव कुनै पनि हालतमा नसारिने र तोकिएकै समयमा चुनाव गर्ने दृणता व्यक्त गरेको छ भने असन्तुष्ट समुहले तुरुन्तै त्यसलाई आफ्नो दललाई हराउन गरेको महा षडयन्त्रको संज्ञा दिएर त्यसको कडा रुपमा 'मुकावला' गर्ने र हालको चुनाव अवैधानिक र अमान्य हुने वक्तव्य जारि गरेको छ ।

मिति: २०६४ चैत्र २७ गते
आज दिनभरि देश प्राय: ठप्प रह्यो, कुनै पनि दल वा गुटले बन्दको घोषणा नगरे पनि कुनै अज्ञात भयका कारण आज आवागमन करिव करिव बन्द रह्यो । देशका बिभिन्न ठाँउमा चुनाव बहिस्कार गर्न आह्वान भए भने सुरक्षा मजबुत पारिएकाले कतै कतै छिट पुट घटना र साधारण मुठभेड बाहेक कुनै अप्रिय घटना घटेनन् ।

मिति: २०६४ चैत्र २८ गते

नारा, बिरोध, शक्ति प्रदर्शनको चरम उत्कर्षका बिचमा पनि आज चुनाव जारि रह्यो, आफ्नो दबाबले केहि नलागे पछि चुनाव बहिस्कार गर्ने समुह पनि आफ्नो सम्पूर्ण शक्ति परीचालन गरि चुनावि मैदान मा देखियो, बिरोध र चुनाव मात्रै हैन ठाउँ ठाउँमा बुथ क्याप्चर गर्ने जस्ता कार्यहरु पनि भएको खबर अहिले रातको ९ बज्दा सम्म बिभीन्न स्थानबाट आउदै छन ।

मिति: २०६४ चैत्र २९ गते

आज दिनभरि जसो चुनावको परिणामका अडकल बाजि र हिजोका घटनाका टिका टिप्पणिको खबरहरु फैलिरहे । एकातर्फ चुनाव सार्न माग गर्ने दल आज पनि हिजोको चुनावमा स्वदेशी र बिदेशी तत्वले आफूलाई हराउन धाँधलि गरेको आरोप सहित यो चुनाव रद्द गरिनु पर्ने माग गर्दै थिए भने अर्को तर्फ धेरै स्थानमा बुथ क्याप्चर र मत पेटिका समेत बदली भएको हवाला दिदैं अन्यदलहरु त्यसको निराकरण र दोषीलाई सजाय गर्न मागका साथ व्यस्त रहे ।

मिति: २०६४ चैत्र ३० गते
बिरोध, बाधा र होहल्लाको बिचमा सम्पन्न चुनाव पछि आज देखी मत गणनाका प्रारम्भिक परिणाम हरु आउन थालेका छन ।

अहिले बिहान को ११ बजेको छ र हालसम्मको मत गणनामा चुनाव सार्न माग गर्ने दल निक्कै पछाडि छ, अन्य दलको पनि निक्कै मिस्रित परिणामहरु आईरहेका छन् ।

अपडेट: दिनको १२ बजे

चुनाव सार्न माग गर्ने दलको स्थिति झन नाजुक हुदैं जाँदा सो दलले यो चुनावलाई बिदेशीको ईशारामा भएको र आफुलाई धाँधलि गरेर हराउन गरीएको नाटक मात्रै भएको बताउदै यसलाई नमान्ने घोषणा गरेको छ ।

अपडेट: दिनको २ बजे

अहिले सम्मको गणनामा चुनाव सार्न माग गर्ने दल नराम्ररि पराजित हुने निश्‍चीत देखिएको छ भने सो दलले आज राति १० बजे सम्ममा यो चुनाव रद्द गरेको घोषणा नगरे गम्भिर परिस्थितिको सामना गर्नु पर्ने चेतावनि दिएको छ ।

अपडेट: दिनको ४ बजे
दलका दिग्गज, बिदेशी राजदूत र बुद्दिजिबिहरुको फेरी दौड धुप चलेको छ, दिनभरिनै असन्तुष्ट दललाई पनि राखेर वार्ता गर्ने प्रयास भए पनि हालसम्म सम्भव भएको छैन। भर्खरै यो चुनावको सिट पनि 'बाँडि चुडि लिएमा' चुनाव सार्न माग गर्ने दलले पनि त्यसलाई स्विकार्ने भएको कुराको अपुष्ट समाचार आएको छ र सो को लागि पून बालुवाटारमा वार्ता हुने हल्ला फैलीएको छ।

अपडेट: रातको ८ बजे
चुनाव रद्द गर्ने वा सिट 'बाँडि चुडि लिने' बारेमा मिडियाले कुनै आधिकारिक जानकारि दिएको छैन तर देशको हालको स्थतिको बारेमा वार्ता हालसम्म जारि रहेको कुराको खुलासा भएको छ।

अपडेट: रातको १० बजे

सिट 'बाँडि चुडि लिने' कुराको आधिकारिक रुपमा खण्डन गरिएको छ र चुनाव सदर गरीएको छ । असन्तुष्ट पक्षलाई वार्ताको टेबुलमा आउन अनुरोध गरीएको छ ।

अपडेट: रातको १०:३० बजे
शहरको मुख्य मुख्य चोकमा अहिले राती देखी नै टायर बाल्न थालीएको छ , बाहिर जिन्दाबाद र मुर्दाबादका नारा घन्किन थालिसकेका छन, ब्यालक आउटको आदेश दिदैं हुलहरु गल्ली गल्लीमा प्रवेश गरेको खबर फोनबाट आउदै छ। सडकमा सुरक्षा निकायका सबै अंगलाई प्रयोग गरिएको छ । यसै पनि मेरोमा आज बत्ती निभ्ने दिन, अब केहि छिनमै बत्ती जाँदैछ .....‍‍तर ..... मेरो घरको गल्लीसम्म ब्यालक आउट गर्ने निर्देशन दिदैं एउटा हुल होहल्ला र सिट्ठी बजाउदै आई पुगि सकेको छ अब बत्ती .... .... *#?@?....... *#?@?...




March 21, 2008

हामीले निर्वाचन चाहन्छौँ किनभने हामीले जित्नै पर्छ , नजिते के गरिन्छ देखौला !

कम्युनिष्ट क्रान्तिको सम्पन्नता मार्फत देशमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको एउटा राजनैतिक पार्टिले , कालान्तरमा प्रजातान्त्रिक पद्दतिबाट आफ्नो हिंसात्मक आन्दोलनलाई सेफ ल्याण्डिङ गर्न पर्‍यो भने यसो गर्नु पर्ला भनी राखेको विकल्प नै राजनैतिक मुद्दा निरूपणको नेपाली इतिहासमा विविध राजनैतिक पक्षको मिलन बिन्दु हुन पुगेको छ । अब जनताले संविधानसभाको निर्वाचनमा आफ्ना प्रतिनिधि छनोट गरेर, कुन राजनैतिक दल समूह र पक्षमा कति जनता रैछन् त भन्ने फैसला दिए पछि मात्र , नया परिस्थितिमा आफ्नो वास्तविक हैसियत कति रहेछ भन्ने कुरा सबै घटकहरूले थाहा पाउने कुरामा विश्वस्त हुन सकिन्छ । तर , जनताले निर्वाध रूपमा भय मुक्त हुँदै कुनै पनि विचारका पक्षमा आफ्नो मत प्रदान गर्ने मौका पाए भने मात्र यो कुराको औचित्य प्रमाणित हुने हो । हैनभने , जुन माहौलमा अहिलेको निर्वाचन सम्पन्न हुन जाँदैछ त्यो कुरालाई हेर्दा नेपाली इतिहासको यो सबैभन्दा महत्वपूर्ण घटना कतै सबैभन्दा नाजूक परिस्थितिमा त हुँदै छैन भन्ने आशंका जन्मने ठाउँ भने प्रशस्त छ ।
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?