August 7, 2009

आज ब्लग-गान भेला ( टेक्स्ट सहित)

आज ठ्याक्कै भूतले खाजा खाने समयमा चारैतिर छरिएका ब्लगरहरुलाइ एउटै चौतारीमा समेट्दै एकदिने बिशाल
आम ब्लगर भेला गराइदै छ। यस्को प्रत्यक्ष प्रसारण गर्ने जिम्मा म गोपालीयनले पाएर अरुहरु ले बोक्रा चपाउँदा म भित्रदेखी नै तिनीहरुलाइ कुच्चीगं भनिरहेको छु। तपाइँहरु भ्रममा पर्नुभयो होला, केही समय पहिले नामै नसुनेको औतारी नाम गरेको ब्लगले ब्लगर भेलाको नाममा आफ्ना ठूलाबा सानाबाका छोरा-छोरी,अंकल-आंटी बिचमा कुराकानी गराएर पहिलो ब्लगर भेला नाम दिएको रहेछ। सर्बप्रथम त, त्यो पहिलो भेला हुँदै होइन किनकि ब्लगर नै हामी,हामी नै ब्लगर हौ र हामीहरु त्यहाँ थिदै थिएनौं । दोस्रो कुरा ब्लगको गाना नै नगाई गरिएको त्यो भेला ब्लग-गान भेला हुनै सक्दैन। सबैलाइ सक्दो झुक्काउन ब्लगर फ्युजनलाइ राष्ट्रियगान गाउन लगाएर ब्लग-गान भनेर झुक्काउन खोजेको कुरा सबै समक्ष छर्लंग छ। उक्त भेलामा भारत,चीन या अमेरिकाको हात रहेकोले तपाईँहरू त्यस भ्रममा नपर्नु हुन आग्रह गर्दछौं। बरु आजै हुने ब्लग-गान भेलामा पुराना भेलालाई खारेज गर्दै त्यो भेलाको साथै ती ठूलाबा सानाबाका छोरा छोरी,अंकल,आंटी आदी सबैको भण्डाफोर तिर लागौं।

म तपाईँहरुलाइ यो प्रष्ट पार्न चाहन्छु कि गाना नै नगाएको भेला ब्लग-गान भेला हुनै सक्दैन। त्यो एक हप्ता अघि होस वा एक हप्ता पछि। तसर्थ, आजको भेलामा आलूतामा का साथै ब्लगको गानाको पनि व्यवस्था छ। आज नया,पुराना,बिशेष,अर्धबिशेष सबै खाले ब्लगरहरु भेला भएका छन् । पाहूनामा भने अरूका लेख चोर्ने,सिधै कपिपेष्ट गर्ने,एउटै लेख गिद्दको आची जस्तै चारैतिर छर्नेहरू पर्नुभएको छ। ल, अब आजको भेलाको उद्घघाटन झक्कु दादाले कालो झण्डा देखाएर गर्दै हुनुहुन्छ। कालो झण्डा अस्तीको गैर ब्लगर भेलाको बिरोध स्वरुप छानिएको हो भने हरुवा प्रधान मन्त्री माकुने धोबीहरुको कपडा धुने कार्यक्रमको उद्घघाटनमा गएकाले यो बिशाल भेलामा उनी भन्दा पनि शक्तीशाली झक्कु दादा ल्याइएको हो।

खबर धेरैलाइ गरिए पनि कसैका भात खाने ट्याम परेकाले,कसैको भात पाक्दै गरेकाले,कसैको भर्खर भात बसालेकोले र कोही आउन मन नलागेकोले सहभागिता अलि कम भएको जानकारी गराउन चाहान्छु। अहिले सम्म भेलामा फलानु मानुभावहरु आइसक्नुभएको छु:

- झक्कु दादा
- गोपालियन
- फ्युजन
- दुकलव्य
- शाइबाजी
- रमेश
- बन्दमञ्च
- तिम्रो ब्लग
- काका
- हुरीबतास
- जेपी
- गेष्ट ४२०
- पेष्ट ८२०

अन्य ब्लगरहरु पांग्राजाम,टोल बन्द,बिजुलबन्दमा फंसेकाले उहांहरुलाइ कुर्दा ब्लगको गाना बासी हुनेभएको ले भेलाको क्रम भंग नगराइ एजेण्डा तिर लागौं। आजको एजेण्डामा अघिल्लो साताको गयर भेला खारेज गरिनुपर्ने,ब्लगरलाइ जस्ले भेटेपनि नमस्ते या सलाम टक्राउनुपर्ने,सित्तैमा अरुको ब्लगबाट कपि पेस्ट गर्न पाउनुपर्ने,एउटै कबिता १०० ठाउंमा पोष्ट गर्न पाउनुपर्ने आदी। ल अब परिचय तथा छलफल तिर लागौं:
गोपालियन:नमस्कार तथा स्वागत छ है सबै ब्लगर मित्रहरुलाई।
जेपी: खोइ त गाना? कुर्दा कुर्दै । यो त समाचारमा बिज्ञापन बजाए जस्तै भो नि।
गोपालियन: गाना आउदै छ। पहिला परिचय तिर लागौं। त्यस पनि ब्लगको गाना गाउंला।
गोपालियन: मेरो नाम गोपालियन हो। केही समय देखी ब्लगमा खोक्दै आएको छु। आजको भेलाको जिम्मा..
हुरीबतास: हैन मेरो परिचय दिने पालो आएन,खाली त्यो गोपालियन आफूमात्र बोल्या बोल्यै। बोल्ने मान्छे फेर्नुपर्यो।
गेष्ट ४२०: गेष्टहरुको परिचय कतिबेला आउंछ त? सुरुमै मेरो आपत्ती है। त्यो ब्लगरलाइ देख्ने बित्तीकै नमस्कार टक्राउन हामी सक्दैनौं। एक दुइ लात हो भने ठिकै छ।
बन्दमञ्च: ल यि सबैकुरा बन्द गरेर गाना गाउन तिर लागौं। गाना नगाएर पनि कतै ब्लग-गान सुरु हुन्छ?
गोपालियन: पखौं न मित्रहरु। परिचय कार्यक्रम सकिएकै छैन,पहिला त्यो त सकौं, अनि गाना गाउंला। मेरै परिचय
है, म गोपालियन, २ बर्ष देखी ब्गगिगं गर्दै आएको छु,आजको भेलाको जिम्मा...
हुरीबतास: मैले अघि नै भन्या होइन। यो गोपालियन खाली आफुं मात्र परिचय दिन्छ अरुलाइ परिचय गर्न नै दिंदैन।
काका: हैन सबैलाइ के भाको? सबभन्दा उमेर खाएको म यांहा छु कसैले वास्तै गर्दैन। यो भेलाको सभापती मलाइ दिनुपर्छ है।
काका: हैन किन सबै चुपचाप? यांहा षडयन्त्रहोला जस्तो छ। ल आजको भेलाको सभापतित्तव म आंफैलाइ घोषणा गरें।
रमेश: क्या झन अघि देखी चुप्प लागेर बसे सबैले भाउदेलान भनेर भनेको सभापती त अर्कैले उडाए। अरु केही बांकी छैन? छ भने मलाइ दिउं साथीहरु नत्र भने म भेलाबाट बाहिर लागें।
रमेश is away
तिम्रो ब्लग:पद सदको कुरा म जान्दिन बरु ब्लग-गानको एउटा अफिस स्थापना गर्न कोठा खोज्न तिर लागौं। तपाइहरु गफ गर्दै गर्नुहोस म चाही ब्लग-गानको अफिसको लागी कोठा खोजेर आउंछु।
तिम्रो ब्लग is away

भेलाको टेक्स्ट सहित लाइभ अपडेट छिटै आउंदै छ.....


गाउँखाने कथा - २६ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २६ को सहि उत्तर हो तमाखु। उत्तर मिलाउने एनोमिनस जीलाइ बधाइ। अब गाउं माग्ने पालो पनि तपाइकै।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

फतफते बूढीको तालुमा भुंग्रो, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


August 6, 2009

किन?

प्रबिण थापा

मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?

पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?

नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?

गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?

समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन


August 4, 2009

खाँचो छ आन्दोलनको तर 'जन्तु' हैन जनताको ।

सबै कुरा समाधान हुन्थ्यो यदि नेपालका राजनैतिक दलहरूले मेरो गोरूको बाह्रै टक्का नभन्ने हो भने । तर भएन वा हुन सकेन , हाम्रो नियति यस्तै बनाए राजनीतिका तिकडम खेलमा माहिर खेलाडीहरूले ।

राजनैतिक दलहरूले सहमति गरेकै हुन यस अघि पनि । त्यसैले अब नहुनु वा हुन नसक्न पर्ने केही कुरा थिएन। सहमति गरेर मुलुक हितमा काम गर्ने हो र राजनैतिक दुराग्रह नपाल्ने हो भने मिलन विन्दू नभेटिने कुरा छँदै छैन । केवल मुख्य राजनैतिक दलहरूको एकार्काप्रतिको अविश्वासले गर्दा, देशको समग्र शान्ति र विकासको भविष्य दलदलमा फसेको मात्र हो । हाम्रो जीवन चौपट बनेको मात्र हो ।

मुख्य मुद्दा हो माओवादी र गैरमाओवादी बीचको विश्वासको संकट । यही विश्वासको संकटमा मुलुकको वर्तमान र भविष्य दुवै कैद परेर थुनिएका छन् ।

माओवादीहरू सोच्छन् अरू राजनैतिक दलहरू अकर्मण्य छन् र नया नेपालको सोचबाट नदारद छन् । माओवादीहरूले गर्दा गणतन्त्र र संविधानसभा सम्भव भएको हो र त्यसैले गर्दा माओवादी विजेता हो । निर्वाचनमा ठूलो दल पनि बनेपछि त जनअनुमोदित भैसकेको हुनाले उसको विचार र राजनैतिक सोचले अग्राधिकार पाउनुपर्छ र अरू सबै उसको पछिपछि चल्नु पर्छ । अर्कोतिर उसले , कम्युनिष्ट सोचमा आधारित जनगणतन्त्रको राग अलापिरहन्छ र एउटा कम्युनिष्ट दल नियन्त्रित लोकतन्त्रको खाका प्रस्तुत गर्दै भनिरहन्छ ‘यही बाटोबाट जनताको अधिकारको रक्षा र मुलुकमा चमत्कार सम्भव हुनेछ’ । आफ्नो छापामार र अर्धमिलिसिया दस्तालाई अगाडि सार्दै बेलाबखत उसले जोरजुलुम र गैर लोकतान्त्रिक हर्कत गरिरहन्छ त्यसै कुरालाई लिएर अरूमा डर छ ‘माओवादीहरूको काम बलजफत सत्ता कब्जा गर्ने र यही जोडबलका नाममा आफ्नो पार्टीको शासन कायम गरी त्यसैलाई लोकतन्त्रको जामाले सजाइदिनु हो’ । माओवादी भन्छ, हामी यहाँसम्म आयौँ हामीलाई विश्वास गरेर नया नेपालको हाम्रो सोचमा सबै एकाकार भईदिऊन । तर लोकतन्त्र नै सबैको लक्ष्य हो भने आँफूले गरेको कामको पुरस्कार स्वरूप निश्चित कुराको अग्राधिकारवाला ह्याकुले मिचाइँ प्रवृत्ति छाड्नै पर्छ तर छाड्ने संकेत पनि कसैले देखाएको छैन । यस्तोमा जुध्न खोज्न गोरूले सिँगौरी खेलेर आफ्नो तुजुक देखाउन छाडेको छैन नै ।

अरू सोच्छन: माओवादी केवल उसका छापामार र अर्ध मिलिसियाका कारण मात्र ठूलो दल हुन सकेको हो। पुरानो कम्युनिष्ट सोच र व्यवहार बोकेर बल र हिंसाका भरमा यहाँसम्म आइपुगेको माओवादी शक्ति बाहिर लोकतान्त्रिक र भित्री रूपमा एकदलिय अधिनायकवादी लक्ष्यमा छ । ऊ आँफै बाहेक कुनै राजनैतिक सोच र दलप्रतिका व्यवहारमा इमान्दार छैन र भोलि मेसो मिल्ने बित्तिकै आफ्नो एकदलियता लाद्न चाहन्छ । सबैतिर कब्जा जमाएर उसले सेना र अदालतमाथि आँखा गाडेको छ र उसको त्यो लक्ष्य पूरा हुनासाथ माओवादीको असल नियत बाहिर आउने छ तर त्यति बेलासम्म धेरै ढिलो भैसकेको हुनेछ । माओवादीले पस्केको प्रस्तावित नेपालको शासकीय स्वरूपको खाकाले पनि कतिपय यस्ता तर्क गर्नेहरूका मान्यतामा सहमति देखाएकै छन् ।

अविश्वास रुपी यो खडेरीमा , विश्वास रूपी सुमधुर वर्षाको कुनै आभाष कतै देखिएको छैन । अत: हाम्रो निकट भविष्यमा आशाका पालुवा र विश्वासका कोपिला लाग्ने सम्भावना कतै छैन । नेपाललाई भकुण्डो बनाउँदै केवल बिरोधी कोर्टमा खेल्दै निर्वाध आँफै गोल गरिरहन पाउनु पर्ने अनौठो फुटबल खेल खेलेर स्वस्थ प्रतिस्पर्धाको आनन्द लिन चाहन्छन् नेपाली दलहरू र जनताले ताली पिटेर यो खेलको भरपूर आनन्द लिऊन भन्ने आकांक्षा राख्छन् हाम्रा माओवादी, कांग्रेस र एमाले आदि खेलाडीहरू । यही खेल उनीहरूको परिभाषा भित्रको लोकतन्त्र हो, नागरिक मुक्ति वा सर्वोच्ता हो !

दलहरू आ-आफ्नो सर्वोच्चता खोजिरहँदा , जनताको शान्ति अनि विकासको अभिलाषामा जहिले पनि वज्रपात परेको छ । आज मुलुक छियाछिया परेको घाऊ र मुलुकमा व्याप्त बनेको अराजकता र अनुशासनबिहीनताको बयान गरी साध्य छैन । संसार कहाँ पुगिसक्यो , हामी गास, वास, कपासको रटमा राजनीति गर्नबाट २१ औँ शताब्दिमा पनि मुक्त हुन सकेनौँ । १८ औँ शताब्दिको महामारी हैजा , हाम्रो परिचय बनेर अहिले पनि राप्ति र सेतीमा रोएको देखियो । राजनैति एजेण्डाका ठूला ठूला कुरा गर्नेले मुलुकको हैजा र भोकमरीले ल्याएको अन्तराष्ट्रिय बेइज्जतीलाई मनन गर्ने पो कहिले र कसरी ? सँधैको आन्दोलन र क्रान्तिलको खेतिमा सामेल हामी, आँफैले आँफैलाई महान अनि क्रान्तिकारीको संज्ञा दिन आतुर हामीले बाँकि संसारले हामीलाई सदैव कलह र कोलाहलमा रमाउन मन पराउने झगडालु मुलुक र मुलुकवासीका नामले चिन्दा यसमा चिन्ता लिने पो को ?

के राजनीतिको साँघूरो घेरा भन्दा माथि उठेर , मुलुक कै लागि सोच्न पर्ने बेला भएन र अब? अब, कुनै राजनीतिक रंगमा नरंगिएका विशुद्ध जनता ऊठेर , मुलुकलाई आफ्नो पकडमा लिएर राजनैतिक दल रूपी छद्म दलालहरूको चंगूलबाट मुक्त पर्ने बेला पो आएको हो कि ! हामीलाई राजनीतिले विभाजित गर्‍यो र सँधै लडायो तर पनि हामीले सँधै धोका खाइरह्यौँ । अब , यो राजनीतिको आवरणमा ओढिएर मुलुकको दलाली गर्दै आफ्ना दलका खातेपिते आशेपासेहरूका लागि मुलुकलाई नै भोज र भोजनको वस्तु बनाउन खोज्नेहरू बाट देशलाई मुक्त बनाउनै पर्ने अवस्था आइसकेको छ ।

माओवादी, कांग्रेस वा एमाले रूपी रंगीन झोलयुक्त बाल्टिनमा नचोबलिएका विशुद्ध जनताको आन्दोलन अब अनिवार्य बनिसक्यो । यदि साँच्चै मुलुकलाई गति दिने हो भने अबको आन्दोलन राजनीति मुक्त आन्दोलन हनुपर्छ जहाँ जनता केवल जनता होऊन र आन्दोलन पछिको सत्ता फ्रेञ्च क्रान्तिले ल्याएको जस्तो जनताको हुन सकोस् , वोल्शविक वा अरू जस्तो हैन जहाँ जनताको आन्दोलन गर्ने नाममा पार्टीले यसलाई अपहरण गर्न नसकोस् । राजनीतिमा सँधै असहमति मात्र रहने हो भने राजनीतिमुक्त सहमतिको अनिवार्यता अबको आवश्यकता बनिसक्यो । कुनै नेता र दलको हैन । अनि मात्र नेपालको साँचो मुक्ति सम्भव हुनेछ। यो नेतृत्व नागरिक समाज नामका नेताको पनि हैन , केवल जनताको हुनसकोस् – माओवादी, कांग्रेसी वा एमाले आदि जस्तै दलहरूको डोरीले बाँधिएका 'जन्तु'हरूको हैन विशुद्ध जनताको!