July 11, 2009

विरोधको राजनिती, वेहोस नेता र देश

पहिलो युबक: अस्ती हेरेको केटीको बारेमा तिम्रो परिवारबाट केहि निर्णय भयो? ।

दोश्रो युबक: बुबाले आफ्नो राय अझै दिनु भएको छैन, तर आमा भने बुबाको निर्णयको बिपक्षमा जान तयार हुनुहुन्छ ।

----                                -------                                  -------                                        ------

यो एउटा चुटकिला हो र पहिलो पल्ट यो पढ्दा म मस्त हाँसेको थीएँ । बाबु चाँहीले केटीको बारेमा के निर्णय गर्छन पक्का छैन तर आमाको निर्णय भने ‘फिक्स’ थियो । मतलब बाबुले ‘हुन्छ’ भने हुन्न! र ‘हुन्न’ भने हुन्छ! भन्न आमा तयार थिईन ।

सजिलै सोच्न सकिन्छ, त्यो घर र परिवारको हालत कस्तो होला! । अब यहि रुपकालाई अलिक वृहत रुप दिने हो भने यसले हाम्रो देशको स्थितिको सटिक व्याख्‍या गर्छ । हामीकहाँ पनि देश बनाउने जिम्मा पाएका र लिएका अभिभावकहरुको सोच र मनस्थीति माथिको संबादमा जस्तै छ ।

त्यसो त हालको तरल अबस्था र छिन छीनमा सरकार परिवर्तन भएका र हुन सक्ने सम्भाव्य यथार्थलाई हेर्ने हो भने कुन दल सत्ता पक्ष र कुन दल प्रतिपक्ष भनेर छुट्‍याईहाल्न पनि मुश्किन नै छ । तर एउटा कुरा चाहीँ यहाँ पनि के पक्का छ भने ‘आर्को’ ले गरेको कुराको यहाँ पनि भरमार बिरोध गरीन्छ, चाहे त्यो कुरा राम्रै किन नहोस ।

विश्‍वका प्राय: सबै विकसीत ( ‘विकसीत’ शब्द भन्दा नैतिकता भएका नेता भएको देश अझ सहि होला) देशमा सरकार जतीसुकै परिवर्तन भएपनि राष्ट्रको मुख्य निती, कार्यक्रम र निती नियमहरुलाई निरन्तरता दिईन्छ । तर हामीकहाँ भने प्रतेक दल मात्रै हैन, एउटै दल भित्रका ‘घटक’, ‘उप घटक’ र तीनका नेता-उपनेता सम्म आ-आफ्नै निती र कार्यक्रम लिएर हिडेका हुन्छन ।

कुरा अझ प्रष्ट पार्ने हो भने रचनात्मक कार्य केही गर्नु नगर्नु भन्दा पनि पूर्व सरकार वा विपक्षी दलको कार्यक्रमको ठ्याक्कै उल्टो कार्यक्रम वा कमसेकम विरोध त हुनै पर्छ । अनी यो रोग कुनै एक दल वा नेताको पेवा पनि रहेन, सबै नेता र दलमा यसको संक्रमणमा गम्भिर रुपमा गढेको छ ।

माओवादीले ल्याएको आर्थीक निती(राम्रै भए पनी) को कांग्रेसले बिरोध गर्नै पर्छ, एमालेको निती र कार्यक्रममा (देशको लागी उचित नै भए पनि) माओवादीले भाँजो हाल्नै पर्छ। समष्टीमा आफू बाहेकका कसैले केहि गर्न खोज्यो की त्यसको धज्जी उडाउनै पर्छ । यहाँसम्म की दलहरु सम्बिधानको ढाँचा समेत विपक्षी दलले कस्तो बनाउँछ त्यसको विपरीत प्रकारको खाका तयार गर्ने सुरसारमा बसेका छन । लाग्छ हामीकहाँ सम्बीधान सभा हैन, फुटबलका धेरै टिमहरु छन। यहाँ मिलोमतोको कुनै गुन्जाईस नै छैन। तिमी सात प्रदेशको कुरा गर्छौ भने म ९ भन्छु, तिमी नै ९ को अंक अघि सार्छौ भने मेरो जोड ५ मा हुनेछ । समष्टीमा यहाँ ‘फलानो’ दल र ‘ढिस्काना’ दलको संयुक्त प्रयाश हैन, ‘यो’ दल विरुध्द ‘त्यो’ दलको मुकावला मात्रै हुन्छ ।

एउटा दलले प्रधानमन्त्रीलाई कार्यकारी तोक्ने कुरा उठायो भने आर्कोले राष्ट्रपतिको नाम लिन्छ, तेस्रोले राष्ट्रपतिलाई समर्थन गरे चौथोले अर्कैलाई भोट हाल्छ । गज्जब छ!, के विरोध मात्रै विपक्षीको कर्तव्य हो त?, के आफू बाहेक अरुले जे गरे पनि गलत नै हुन्छ ?, के के विपक्षी दलको राम्रो कुरा मान्दा अर्को दलको अबमूल्यन हुन्छ र ? । हामी किन सहकार्य गर्न सक्दैनौं किन विपक्षी दल विपक्षी नभै समकक्षी हुदैन ? ।

राष्ट्र भन्दा माथि दल र दलभन्दा माथि त्यसका नेता हुनु भनेको देशको दुर्भाग्यको सूचक हो र हामीहरुकहाँ यस्तै स्थिति हावी हुँदै आएको छ । एउटा पुरानो उखान छ ‘भाई फुटे गवाँर लुटे’ । म कामना गर्छु हाम्रा सबै नेतामा हामीले ५ कक्षा पढ्दा ताका पढने यो उखानको मर्म बुझ्ने चेतना फिरोस र हाम्रा दलहरु ‘सत्ता पक्षी’ र ‘प्रतिपक्षी’ नभै समकक्षी बनुन । जय नेपाल !



July 10, 2009

डलर टिप्ने यात्रा -भाग ७

शेखर ढुङेल्
०७-०७-०९
कसैले त्यहाको अध्यागमनमा मेरो बिरुद्ध उजुरी हाली दिएछ । अरु बाहिर बसेका रहेछन ४ जना भित्र पसेर सोधे शेखर भनेको को हो ?। मैले परिचय दिएँ, एकले परिचय पत्र देखाउदै भने तिमी यहाँ गैह्र कानुनी रुपमा काम गर्दैछौ भन्ने खबर पाएर हामी आएको। त्यो सून्ने बित्तिकै म त जमिन मुनी पुगी हाले आँखा बाट तरर आसु झर्‍यो, बोल्ने साहस् पनि आएन। ति अधिकृत निक्कै भलाद्मी रहेछन, उन्ले मलाई नियाली मात्र रहे, केही समय पछी वाक्य फुट्यो । हो होइन थाहा छैन तर आत्माले भन्दा दिमागले छिटो जवाफ दियो ' यो सब मेरो हो । कम्पनी को नाम मात्र कसैको नाममा छ । पी.आर को लोभमा यो सबै भएको हो र प्रमाणको लागि म सित कागज पत्र छ। मलाई नेपाल पठाएर उ यो ब्यापार हडप्न चाहन्छ त्यसैले उस्ले झूठो उजुरी हालेको हो। 'यती भनी नसक्दै फेरी मेरा गला रोकिए आँखा को नुनिलो पानी मुख मा झर्‍यो । उस्ले कम्मर मा बाधेको हथकडी देखेर मा झन नर्भस भए । यत्तिकैमा ति अधिकृतको हात मेरो कुममा आयो म त झन झस्केँ, तर उस्को आँखामा दया भाब देखेँ । उस्ले के कागज् छ देखाउ भन्यो । कारमै सबै कागज थियो उन्लाई दिएँ । बैंक को करोबार , अध्यागमन को प्रोसेस कागज लगायत सबै अध्ययन गरे पछी उन्ले अन्य कामदर लाई सोधे उनिहरु ले पनि वास्तविक मालिक शेखर नै हो कागजी मालिक त आज सम्म देखेको चिनेको छैन भनी दिए, त्यसपछी ति अधिकारिले भने “कानुनमा त हामीले तिमी लाई छोड्न मिल्दैन'  तिम्रो कुरो लाई विश्वाश गरेर म आफ्नो जिम्मेवारि मा छोड्दै छु,  तर अब देखी तिमी यहाँ देखिनु हुन्न कसैलाई जिम्मा देउ वा जबसम्म तिम्रो कागज आउँदैन बन्द गर, फेरी देखे भने म सित पक्रनु को बिकल्प छैन ।”

उस्को शब्दले मलाई झन भाब बिह्वल बनायो। आशु रोकिएको थिएन कसैको दयाको पात्र बन्नु परेकोमा म बिक्षिप्त मात्र भईँन, एकातिर एउटा अधिकार प्राप्त बिदेशीले आफ्नो देश को कानुन बिपरित अपरिचित लाई दया गरी माफ गर्नु, अर्को तिर आफ्नै नेपाली जस्ले मेरो परिश्रम, दु:ख र लगानी देख्दा देख्दै बिना कारण नै नोक्सानी पुर्‍याउनु। यो दुई फरक मानसिकता म बाचुन्जेल बिर्सिन सक्दिन । यो घटनाले एउटा अनुपम अनुभब के पनि भयो भने धर्म, संस्कृती, भाषाले मानब बिचमा कस्तो भावनात्मक सामिप्य लेराउँदो रहेछ । उनी थिए फिजियन । नेपाल फर्कने बेलामा खोज्दै भेट्न गएको थिए धन्यबाद दिन तर उन्ले भेट दिएनन किनकी त्यस्तो भेट कानुन बिपरित हुन्छ त्यो देशमा । एउटा अपरिचित बिदेशीले मलाई एक मिनेटमा चिन्यो मेरो दर्द बुझ्यो अनी निस्वार्थ मानबियताको भावनाले प्रचलित कानुन समेत तोडिदियो, उ मानब थियो वा उस्को भेष मा भगवान ? म सधैं सोच्ने गर्दछु ।

उनीहरु फर्केपछी भएका ग्राहक अनी काम गर्नेलाई सरि भन्दै पठाइ दिएँ। रेस्टुराको ढोका बन्द गरी कारमा गै लामो सुस्केरा हाले। आँखा चिम्लेर मेरा बिगत लाई सम्झदै आफुले आँफै लाई सोध्न थाले मैले कहिले के पाप गरेको थिए र यो अनाहकमा सजाय भोग्नु पर्दैछ ? दिमाग लाई रिप्ले गरेँ, मैले कसैलाई ठगेको ढाटेको धोखा दिएको पनि छैन । आफ्नो सम्पत्ति धितो राखेको पैसाले ब्यापार गरेको छु, ४-५ नेपाली लाई रोजगारी पनि दिएको छु किन जलन भयो कस्लाई ?, अब के गर्ने कसो गर्ने ?, मनमा हजार कुरा खेल्न थाल्यो । त्यो बिदेशी र मेरा नेपाली सम्झेँ । दुई बिचको मानसिक भिन्नता लाई दाँजे अली मन शान्त भए पछी रेस्टुरांको थन्को मन्को लगाइ घरतिर लागेँ न खान मन लाग्यो, न सुत्न सकेँ। घर वा अरु कसैलाई फोन गरेर कुरा गर्न पनि मन लागेन किन कस्ले ? उजुर गर्‍यो भन्ने प्रश्न मात्र मनमा आयो ।

कुन बेला आँखा लाग्यो थाहा नै भएन उज्याल्यो भैसकेछ । सिधै वकिलकोमा सल्लाह गर्न गएँ, उन्ले तत्काल अध्यागमनमा फोन गरेर पत्ता लाग्यो कि अझै दुई महिना लाग्न सक्तछ रे । कागजी मालिक लाई अघिल्लो दिनको घटना सुनाएँ, उन्ले हलुका रुपले लिए अनी सोधे अब के गर्छस ? । म कुनै कानुनी झन्झटमा पर्न चाहन्न, अर्को मान्छे खोज वा वकिल, घर भाडा , कती के तिर्न बाँकी छ तिरेर बन्द गर । नत्र म आँफै अध्यागमनमा गएर मैले कुनै जिम्मेवारि लिन नसक्ने भनी लेखेर दिन्छु । मेरा वकिलले पनि सम्झाए उन्लाई कि अन्तिम अवस्थामा यसरी धोखा दिनु हुन्न, कुनै समस्या परे म छु । तर उनी मानेनन । हे भगवान! अब के गर्ने ? , कता को साँढे सात को चक्रब्युह मा फसेँ म ? । बोरा का बोरा डलर टिप्न आएको त यो के हुँदैछ ? ,उन्को जवाफ पछी फेरी वकिल सित कुरा गरे के गर्ने भनेर । दर्ता कागज पत्र, जिम्मेवारिको नामसारी त गर्न मिल्दछ तर कस्ले लिन्छ ? । त्यत्तिकैमा अगिल्लो दिनमा रेस्टुरामा काममा रहेकी ( पूर्व नेपाल घर भएकी )बहिनीको फोन आयो, के हुँदै छ भनेर सोधिन मैले बेली बिस्तार् लगाए पछी उन्ले भनिन मेरो एक जना फलानो नाम गरेको दयालु र सहयोगि अंकल हूनुहुन्छ म वहाँ सित तपाईं को कुरा राख्दछु शायद सहयोग गर्नु हुन्छ कि । म सित त के जवाफ थियो र ? हुन्छ भनी दिए । वकिलले सल्लाह दिए कि कतै काम गर म खोजी दिन्छु तर गोर्खाली को छोरो न हो मर्न परे पनि झुक्न जान्दैन भने जस्तो त्यही ठाउँ मा कसरी काम गर्नु ? हिङ नभए पनि हिङ बाधेँको टालो छ रे क्या । कुनै उपाय भयो ठिकै भो, नत्र म नेपाल फर्कन्छु भनी वकिल लाई जवाफ दिए ।

ति बहिनीको फेरी फोन आयो उन्को अंकल ले पर्सी अर्थात तीन दिन पछी भेट्ने भनेका छन रे । तर म किन हो आसाबादी भने हुन सकिन । किनकी चिनेको आफन्तले त यो हालत बनाए भने चिन्दै नचिने को मानिस झन के रिस्क लीइदेलान । ब्यापार हरितन्नम भैसकेको थियो । त्यस लाई थप सेफ , काम गर्ने मान्छे राखेर लामो समय धान्न सक्ने अवस्था पनि नभएको ले फर्कनु मा नै बुद्धिमानी हुन्छ भन्ने म पुगेको थिए ।.... बाँकी अर्को भाग मा.... ।
अन्य भाग पढ्न तलको लिंक थिच्नुहोला
भाग -
भाग -
भाग -
भाग -
भाग -
भाग -


July 9, 2009

दौंतरीमा २४ घण्टा चक्काजाम

दौंतरीको सर्भरमा आएको समस्याले गर्दा दौंतरी २४ घण्टा तपाइहरु समक्ष आउन सफल हुनसकेन। त्यसको लागी दौतरीका तर्फबाट क्षमा माग्न चाहन्छौं।

साथै प्राबिधिक समस्या झेल्दा दौंतरीलाइ साथ दिनुभएकोमा र दौतरी इमेलमा शुभेक्षा तथा जिज्ञाशा राख्नु भएकोमा दौतरी टिम निकै आभारी छ।

July 8, 2009

नियमित छ सधैं अनियमितता

शिव प्रकाश

नियमित छ सधैं
अनियमितता
अनियमित छ सधैं
नियमितता,
अनियमितताभित्रै
नियमित चलेको छ
त्यो मेरो देशको
शासन व्यवस्था !

राष्ट्रिय खेलको
नियम हो एउटा
अनियमितता
त्यो मेरो देशको,
प्रिय खेल हो त्यो
दौरा सुरुवाल लाउने
त्यो मेरो देशका
खेलाडीहरुको !

सौभाग्य हो
सधैं अपराजित हुनु
ति हाम्रा खेलाडीहरुको,
दूर्भाग्य हो
सधैं आफैंसँग
आफैं पराजित हुनु
त्यो मेरो देशको !
(अश्रृंगार कविता अभियान‌‌‌ ‌‌‌‌‌‌‌..........)


गाउँखाने कथा - २२ (Nepali Gau Khane Katha)

अपडेट: गाउखाने कथा २२ को उत्तर चन्द्रमा हो। उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद, उत्तर मिलाउने जोतारे धाइबालाइ बधाइ। ल धाइबा जी अब गाउं माग्नुहोला।

सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
इउं त इउं टिप्ने मान्छेलाई सय रूपिया दिऊ
के होला यस्को उत्तर?


मन र समाजको अपराधीकरण अनि राज्यबिहीनता

-एकलव्य



अपहरण आरोपमा पिट्दा २ को मृत्यु
मकर श्रेष्ठ
भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन्

हिजो भक्तपुरमा घटेको एउटा घटनाको बारेमा आजको ( २४ असार २०६६ वा जुलाई ८ २००९ ) कान्तिपुरमा प्रकाशित समाचारको अग्र भाग हो यो । सबै नेपाली छापाहरूको शीर्ष समाचार रहेको यो घटनाले वास्तवमा वर्तमान समयमा हाम्रो नेपालको हैसियत कस्तो छ भन्ने कुराको समग्र प्रतिनिधित्व गरेको छ भन्नुमा अत्युक्ति हुँदैन । राज्यबिहीनता, दण्डबिहीनता र जिम्मेवारीबिहीनताको पराकाष्ठा दर्शाउने यस खाले घटनाहरू अहिले हाम्रो मुलुकमा दिनहूँ घटिरहेका छन् र ती पनि बहुसंख्यामा र बहुस्थानमा । कुनै बेला राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजूलाई कुटी कुटी मारेको बहादुर जिल्ला भक्तपुरमा हिजो फेरि होहल्ला कै भरमा २ जना युवकलाई कुटेरै मारिएछ र मरणासन्न पारिएका अरू २ जना जीवन मृत्यूको दोसाँधमा उपचाररत छन् रे ! अपहरण, हत्या, हिंसा, लूट र भीडले गर्ने न्याय जब हाबी भएर समाजमाथि बर्सिन थाल्छ , अनि ठान्नै पर्छ त्यहाँ राज्य मृत बनिसकेको छ । कुनै जमानाको सुन्दर र शान्त मुलुकका नामले चिनिने मुलक, नेपाल, आज कुन दूर्भाग्यका कारण हो, यो दूर्गति र दूर्नियतिको पर्याय बनिरहेको छ । हिंसा आतंकको रोग एकपल्ट सल्केपछि , कुनै हालतमा सजिलै निभ्दैन भनिन्छ, त्यसैले गर्दा होला नेपालमा रचिएको क्रान्तिकारी रोमाञ्चको गृहयुद्दले रक्तवीजका नया नया अवतार लिँदै मुलुकलाई हिंसाको राप र आतंकको तापमा भस्म पार्दै छ । चौतर्फी असफलताको अँगालोमा हाम्रो झर्ने क्रम जारी छ ।

एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणको भर्खरै प्रकाशित मानवीय सूचकांक र देशहरूको स्थिति सम्बन्धी आँकलनले नेपाललाई असफल देहरूको २५ औँ स्थानमा राखेको छ । दक्षिण एशियामा नेपाल पाकिस्तान भन्दा मात्र माथि छ । पाकिस्तान अल कायदा, तालिबान र कट्टरपन्थी मुसलमानहरूको क्रिडास्थल बन्न जाँदा अनि ती इस्लामिक बिद्रोहीहरूको शाक्तिशाली पनलाई आधार मान्दा पाकिस्तानी सरकार जत्तिकै वा भन्दा बढी प्रभाव उनीहरूको रहेको अनुमानका आधारमा, पाकिस्तान बिग्रँदो मुलुकको सूचिमा यति तल खस्केको हो ।

तर नेपालको स्थिति हिजोका सशस्त्र द्वन्दका दिनहरूमा भन्दा पनि नराम्रो तरिकाले तल झर्दै जानुले हामीलाई पक्कै दु:खद आश्चर्यमा पारेको हुनुपर्छ । आश्चर्यको कुरा एकातिर, तर हामीलाई थाहा छ सर्वसाधारणका लागि हाम्रो मुलुक अहिले बिगतका कुनै समयहरूभन्दा अरू भयाबह बनिसकेको छ । हिजोको बिद्रोही शक्ति माओवादी शान्ति सम्झौतामा आएर संविधानसभाको सबैभन्दा ठूलो दल बनेर कहिले सत्ता र कहिले प्रतिपक्षरूपी संस्थापन पक्षको पाटो बनिसक्दा पनि , नेपाली जनताले चाहेको शान्तिपूर्ण जीवनको चाहना अझै आकाशको फल जस्तो टाढा देखिन्छ ।

कुनै समयमा दावा गर्ने गरिएको कुरा : मुलकमा राजतन्त्र हट्दा र संविधानसभाको चुनाब हुँदा चमत्कार भएर जनताका सारा दु:ख र पीडाहरूको सदैव अन्त्य हुने हो कि झैँ फलाकिएको राग उत्साहबाट झरेर रोदन र घृणामा बदलिएको छ । माओवादी हिंसाले गर्भाधारण बनाएर छोडेका अवैध झड्केला सन्तानहरू विरासतमा हिंसाको जीवन बिरोधी मादकता बोकेर सारा तराई र पहाडसम्म छाएका छन् । भनिन्छ , यस्ता हिंसात्मक झुण्डहरूको संख्या नै सय नाघिसक्यो । पहाडियाका लागि त तराई जीवन जोगाउन धौ धौ हुने खालको भैसक्यो । आज दक्षिण र मुख्य तराईमा बसोवास गरिरहेका लाखौँ पहाडिया मूलका नेपालीहरू माथिल्लो पहाडिया बहुल भूभागमा जबर्जस्ति बसाईँ सरेर ज्यान जोगाउन वाध्य पारिएका छन् । आफ्नो मुलुकमा आन्तरिक शरणार्थी बन्नु पर्ने वाध्यताको यो कथा अझ संगीन बनेर जाँदै छ ।

यी सबै कुरालाई अल्ग्याएर हेर्ने हो भने, नेपाली जनजीवनमा देखिएको हिंसाप्रतिको अभिरूचि र संलग्नताका विशेषताहरू अझ डरलाग्दा छन् । आज पेशेवर अपराधीको थोक नियन्त्रणबाट हिंसा खुद्रा बनेर सामान्य मान्छेहरूमा विस्थापित र वितरित बनेको छ । मान्छेहरू सानो भन्दा सानो कारणले ज्यान लिन पनि पछि नपर्ने गरी हिंस्रक बनेका देखिन्छन् । उदाहरणका लागि, एउटा परिचित पूर्व घरभेटीले कति सजिलै केही रकमको जोहो गर्न एउटा किशोरी केटी ख्यातिलाई यति अमानवीय ढंगले टुक्राटुक्रा पार्न सकेको होला ? लाई लिन सकिन्छ । अनि यस्तो अकल्पनीय घटना घटाउनेहरूका मन र अनुहारमा कतै पश्चाताप देखिएको छैन भन्ने जुन समाचार आइरहेका छन् तिनले के बताउँछन भने त्यस्ता डरलाग्दा अपराध गर्ने सिकारूहरू पनि पेशेवर अपराधी जस्तै आश्वस्त बनेका छन् । यिनको मनमा केही समयपछि जेलबाट निस्कन सकिन्छ र स्वतन्त्र जीवन जीउन सकिन्छ भन्ने आत्मविश्वास छ । यसले राज्यबिहीनता र दण्डबिहीनताका चरित्रहरू उजागर भएका छन् । अर्कोतिर भीड जुटाएर जे जस्तो अपराध गर्न सकेपनि त्यसको दोष कसैले बोक्नु पर्दैन भन्ने भीडतन्त्रात्मक राजनीतिको चरित्र जतासुकै छरिन पुग्दा हिजो भक्तपुरमा भीडले मान्छे मारेको जस्ता घटनाहरू हुन पुगेका छन् । यस्ता घटनाहरूबाट नेपालमा दर्जनौँ मान्छेहरू मारिइसकेका छन् बिगत केही महिना भित्रै पनि । हिंसा र हत्या आज सहज, सुलभ र जसले पनि अपनाउन सक्ने दुस्साहस बनेको छ र यो कुरालाई जनमानस र सर्वसाधारणको दिलोदिमागमा पुर्‍याउने कुरामा योगदान कसको रह्यो होला भन्ने विषय पनि अब आएर गौण भैसकेको छ । अब शुरूवात कस्ले गर्‍यो भनेर कारण खोज्ने भन्दा , सम्भावित घटनाका रोकथामलाई अपनाएर समाधान खोज्नु पर्ने वाध्यता आइसकेको छ । तर, निदान सजिलो छैन।

आज मुलुकमा कसैबाट कोही सुरक्षित नरहेको अनि जतिबेला जे पनि हुनसक्ने असुरक्षाको महामारी व्याप्त बनिसेको छ । संविधान आफ्नो पार्टीको एजेण्डा अनुरूप पार्ने अथवा , नागरिक सर्वोच्चताको रटमा मुलुक ठप्प हुने गरी नेपाल बन्द बनाउँदा पनि अपराधमाथि बन्दको प्रभाव मलजलको रूपमा उल्टो किसिमले उर्वर बनेको जस्तो देखिन्छ ! बन्द , हड्ताल र निषेधले जनता मर्माहत बनिरहँदा पनि अपराध त मौलाएकै छन् । संविधान , सरकार, लोकतन्त्र र चमत्कारका शाब्दिक कोलाहलभित्र मुलुकको नागरिक निरिह बाँच्नलाई लुक्ने र ओत लाग्ने कुनो खोज्दै भाग्दैछ । क्रान्तिकारी राजनीतिक अड्डाहरू भित्र ठुल्ठूला कुराका सम्झौता र मेलमिलापका सूत्रहरूको खोजी हुँदै गर्दा नागरिकको बाँच्न पाउने आधारभूत अधिकारले चर्चा र प्राथामिकता पाउन सकेको छैन । पार्टीका कार्यकर्ता मर्दा देशै बाल्न खोज्नेहरू ‘नो म्यान्स ल्याण्ड’ रूपी सामान्य र स्वतन्त्र नागरिकहरूको जीवन जाने दूर्घटनालाई संक्रमण कालका सामान्य अराजक घटनाका रूपमा पञ्छाउँछन् । मानौँ जनता स्वतन्त्र नागरिक भएर बाँच्नु नै एक अभिशाप हो यो मुलुकमा । सायद ठूला ठूला कुराको बहस हुने तर प्रकारान्तमा सँधै हात लाग्यो शून्य हुने हाम्रो देशमा सदैव नागरिकहरू ‘एक्सपेन्डेबल आइटम’ बन्नुपर्छ !!! यसैले कविले भनेका होलान् : बन्दैन देश दुईचार ...................मरेर नगए ! तर, यहाँ सपूतहरू त नेता हुनलाई बाँच्छन् र दुईचार मात्र हैन सबै मरेर गए पनि देश बन्ने छाँट सुदूर क्षितिजसम्म कतै देखिएको छैन ।


July 7, 2009

यो जिन्दगी

शेखर ढुङेल
०७-०६-२००९
यो जिन्दगी यस्तै हो हेर
कहिले हास्ने कहिले रुवाउने
भाबी को खेल रहेछ यो
फुल र काडा झै
यो जिन्दगी .....
हेर्दा हेर्दै ढल्छ योबन
शिशिर को फुल झै
बेला छदै हासौ खेलौ
गुरास र पंक्षि झै
भोली केहो कहाँ हुन्छौ
थाहा छैन कसै लाई
यो जिन्दगी .......
बग्दा बग्दै सुक्छ खहरे
आशु को थोपा झै
मेरो भन्दा भन्दै टाढिन्छ मानिस
साझ को सुर्य झै
बेला छदै बाडौ माया
हामी ले अरु लाई
यो जिन्दगी .......


July 6, 2009

गजल

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु


ब्लगर सुजनसंग ब्लग बार्ता


ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।

१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।

२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।

३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।

प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्‍ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्‍ने कोसिस गर्छु।

४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।

५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्‍वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।

६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्‍चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।

७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्‍न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!

८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।

९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।

१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।

११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।

समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।

१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्‍ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्‍न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !

१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्‍ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।



हराउदै गएको अस्तित्व

आचार्य प्रभा
(अमेरिका )
जब म पसलमा सजिएको हुन्छु
बिभिन्न रङमा सुसज्जित भएर
मेरा शरीरभरी नानाथरिका बुट्टाहरु कुंदिएका हुन्छन
बत्तुहरु जडिएका हुन्छन म बिभिन्न आकरमा बिभाजित हुन्छु
सुरिलो,होँचो,गोलाकार वा अरु कुनै आकार ...........,
आउँछन ग्राहकहरु अनी पर्छन मक्ख !
मलाई सुम्सुम्याउँछन्,
मेरो तारिफ गर्छन्,
मेरो बनावटमा दँग पर्छन,
अनी.... कल्पना गर्छन्
कोठाको कुनै टेबलमा मलाई सजाएर
त्यो कोठाको सौन्दर्याता बढेको ,
त्यो क्षण,त्यो पल,म सबैको
आकर्षणको बस्तु बन्छु
जस्ले मलाई पैसामा मोलेर लैजान्छन ।
अन्त्यमा.... जब म
चाहनाको अन्तिम लक्ष वा स्थानमा पुग्छु
मेरा घाँटीभरी कोच्याएर
जब बिभिन्न फूलहरु सजिन्छन
रातो,पँहेलो,नीलो वा अरु कुनै ........
सयपत्री,गोदावरी,गुलाफ वा अरु केही ......
तब..... मेरो आकर्षण फूलहरुको सौन्दर्यमा
परिभाषित हुन्छ ,
मेरो अस्तित्व फूलहरुको अगाडी
अस्तित्वहिन हुन्छ ,
अनी म फूलहरुको उपस्थितिमा
पलायन हुन्छु ,
म..... केवल फूलहरुको भरिया मात्र हुन्छु ,
अनी हुन्छु उस्को श्रिङारको रक्षक
तब...... म निस्सार,निस्साहाय,निरीह बन्छु
मेरो अस्तित्व अनी महत्व राख बन्दै जान्छ
अनी...... म सबैको सामिप्यताबाट
ओझेल बन्दै जान्छु ,
आफ्नो हराउँदै गएको अस्तित्वसँग
आँफै बिरानो बन्छु,
बस बिरानो बन्छु ।


July 5, 2009

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 2009

डायस्पोरा नेपाली साहित्यको विकास र विस्तारमा दूइ दशकदेखि लागि परेको अन्तर्राष्टिय नेपाली साहित्य समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आउदो अगष्टमा हुंदै छ।

१५ अगष्टमा न्युर्कमा हुने उक्त सम्मेलनमा कबिता,गजल आद साहित्यक प्रश्तुतीका साथै डायस्पोरामा नेपाली भाषा तथा साहित्यका वारेमा छलफल र विचारविमर्श गरिनेछ। साथै नेपाल तथा अन्य देशमा रहेका मूर्धन्य नेपाली साहित्यकार तथा विचारहरुका विचार तथा कार्यपत्रहरु पनि प्रश्तुत गरिनेछ।

पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको यो भाषा-साहित्य सम्मेलन युवाकवि मोतिराम भट्टको जन्मजयन्तीका अवसर पारेर गर्न लागिएको हो।

यसबारेमा विस्तृत जानकारीका लागि http://conference.inls.org/ मा राखिएको छ। सम्मेलनमा वाचन गरिने रचनाहरु ७ अगष्ट २००९ भित्र यो इमेल ठेगानामा nibhanika@hotmail.com आइसक्नु पर्ने नियम राखिएको छ ।

तिम्रो मेरो साईनो

Dinesh karki
colorado
AMERICA

तिम्रो मेरो साईनो अब, यो जुनीमा यत्तिकै भो।
के भर भयो अर्को जुनी,भेट हाम्रो यत्तिकै भो ।।

एक प्रहर समिप भएउ,सँझेछु जुनीभरी
एकान्त को बसाइ अब, कुइनेटो मा यत्तिकै भो ।।

सम्झना को तरेलि मा, सपना त्यो अल्झिने भो।
जुनेलीको पर्खाइ अब,चोउतारी मा, यत्तिकै भो।।

सुनेको छु तिम्रो सीउदो, भरिने दिन आउँदैछ रे।
घुम्टो भित्र तिम्रो मुहार, हेर्ने रहर यत्तिकै भो ।।



July 4, 2009

दौंतरीमा ब्लगर भेला

दुइढुंगा भित्रको चारकुने तरुलका छाउरा छाउरी ढुंगा बिचमा मात्रै नच्याप्पी संसारै भरी छरपस्ट भएर बसेका छन। शिक्षा र संसारको बिकाससंगै उनीहरु पनि आफ्नो बारेमा,देशको बारेमा र संसारकै बारेमा बोल्न, आफ्ना भावना प्रश्तुत गर्न ब्लगर भएर उदाएका छन। ब्लगरहरु आफ्ना रोजाइ,भोगाइ र आफ्नै समयको कठघरामा समेटीएका बिचारहरु बिध्धुतिय अन्तरजालोमा निस्वार्थ बांड्दै हुनुहुन्छ। यसरी हरेक कुनामा रहनु भएका ब्लगरहरुलाइ दौंतरीमा ब्लग भित्र ब्लग स्तम्भमा बोलाएर परिचय गराउने जमर्को गर्दै आएका छौं। यो त केबल एउटा सानो पाइला मात्र हो्। सानो पाइलाले उचित सरहाना पाए पक्कै पनि त्यसले ठुलो यात्राको सुनिश्चिता प्रदान गर्दछ।

समय मिल्दा बिशेष गरी सप्ताहअन्तमा दौतरी जिमेल च्याट,दौतरी फेसबुक र दौतरी साउट बक्समा समय बिताउने गर्दछु। आज ब्लगर दिलीप आचार्यसंग भेट भयो। कुरै कुरामा उहांले सोध्नु भयो दौतरीमा के नया आउदै छ? उखान टुक्का पछि त्यस्तो केही नया छैन भने। आफुलाइ अलि असजिलो महशुस भयो। केही नया पन दिन पाए त हुन्थ्यो। अनि साउट बक्सको कुरा गर्यों। साउट बक्स धेरै ब्लगरले मन पराएको कुरा पनि उठ्यो। मैले तुरुन्तै भने यही साउट बक्समा महिनाको एक पटक सबै ब्लगर मिलेर गफ गरे कसो होला? उहांले यो कुरा निकै मन पराउनुभयो। मलाइ पनि यसो गर्दा दौंतरी साउट बक्समा संसारका हरेक कुनामा बस्ने ब्लगरहरुले आपसमा कुरा राख्ने गज्जबको ठाउं होला जस्तो लाग्यो। यस प्रकारको ब्लगर भेलाले पक्कै पनि केही नया कुरा सिक्ने सिकाउने अबसर प्रदान गर्नेछ। मिती र समय त एकिन गरेको छैन तर अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती ११ बाट १ ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) राख्दा उचित होला जस्तो लागेको छ।

साउट बक्स तल राखिए जस्तै तर दौतरीको मुख्य पृष्ठमा ब्लगर भेलाको समयमा अली ठुलो हुनेछ जुन पटक पटक आफै रिफ्रेस हुनेछ। अब यो बिचार कस्तो लाग्यो ब्लगर मित्रहरु जानकारी गराउनुहोस है?




राष्ट्रको कान्ति

हस्त गौतम मृदुल

एताउता घुम्न पनि लाग्छ मलाइ डर
आँतमा राख्ने मान्छे भै सकेछन पर

झुठा सपना देखाएर द्धन्दमा फसाए
तहस नहस पारी देश दुनियाँ हसाए

म त झनै बल्झिए सकुनीको जालमा
कसरी जिउनु म यस्तो कुटिल चालमा

कुराकानी गर्न पनी लाग्छ मलाइ डर
शुभचिन्तक भन्ने पनि भैसकेछन पर

कहिलै मुक्ती पाउला आफनो राष्ट भित्र
भताभुंग पारी सके आफनै देशको चित्र

न त मैले सुख पाएँ न त पाए सान्ती
ओझेलमा पार्दै गए यो राष्टको कान्ती

भेटघाट गर्न पनि लाग्छ मलाइ डर
मानवीय सम्वेदना पनी भैसके छ पर


July 3, 2009

कस्तो हुनुपर्छ त राज्यको शासकीय स्वरूप ? (बहसका लागि)

- एकलव्य

नेपालमा नया संविधान बन्दै छ र नया संविधानले देशको शासन व्यवस्था कस्तो हुने हो भनेर तय गर्नेछ र यसकै तपशिलमा राज्य पुनर्संरचना वा संघियता , समावेशीकरण, आदि अनेकौँ परिशिष्टको क्रम तोकिनेछ । एकीकृत माओवादी पार्टीले संशोधित रूपमा राज्यको शासकीय व्यवस्थाको कुरालाई चर्चामा ल्याएको छ । आफ्नो नाम अनुसार नै एउटा कट्टर कम्युनिष्ट शासन प्रणाली अपनाएको राज्यले अपनाउँदै आएको शासन व्यवस्थासंग मिल्दा जुल्दा विशेषतायुक्त राज्य व्यवस्थाको प्रस्तावना गरेर माओवादीले आफ्नो उद्देश्य दर्शाएको छ । हिजो सत्तामा हुँदा उसको प्रस्ताव अलग खालको थियो र आज सत्ता छोड्नु परेर आक्रोशित बन्दा यो अलग देखापरेको छ । फेरि सत्तामा आएर खुशी हुँदै गर्दा उसको विचार फेरिएन भने माओवादीले मोही माग्दा , ढुङ्ग्रो लुकाएको छैन । उसले कम्युनिष्ट पार्टीको विचार अनुसार जनवादी केन्द्रियतामा राज्ययन्त्रका सम्पूर्ण पक्षलाई नियन्त्रणमा लिने खालको, देख्दा लोकतान्त्रिक देखिने तर सारमा कम्युनिष्ट पार्टी नियन्त्रित राज्यतन्त्रको प्रस्तावना गरेको प्रष्ट छ । परम्परागत कम्युनिष्ट शासन रहेका मुलुकहरू रूस , चीन , क्यूवा र कोरियाका धेरै विशेषता बोकेको साथै केही अलग कुराहरू पनि अँगालेको यो संवैधानिक प्रस्तावनासंगै शासकीय व्यवस्था सम्बन्धी बहस अग्रतामा आएको छ ।

‘माओ’ वाद भन्ने विचार एउटा कट्टर कम्युनिष्ट शासकीय संयन्त्रयुक्त राज्यतन्त्रमा विश्वास गर्ने वाद हो । चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ले तत्कालीन चीनमा कम्युनिष्ट क्रान्तिका लागि अबलम्बन गरेका रणनीतिक तथा राजनैतिक विचार र व्यवहारहरूको प्रयोग मार्फत त्यस्तै राज्यव्यवस्था कायम गर्ने सोच राख्ने विचार र दलका रुपमा यसलाई बुझ्नु पर्छ । माओत्सेतुङबाट शुरू भएको कम्युनिष्ट विचार निर्देशित राज्यतन्त्रमा माओको मृत्यूपछि, देङ सियाओ पिङले सुधार गरे पनि यो मूलत: नया आर्थिक मोडेलको स्थापनार्थ थियो । देङलाई थाहा थियो , १ अरब भन्दा विशाल जनसंख्या बोकेको विशाल चीनलाई नियन्त्रणमा राखेर एकोहोरो विकासको बाटोमा हिँडाउन कम्युनिष्ट एकाधिकार र १ करोडको ( २५ देखि ५० लाखको पिएलए नामक सेना, पुलिस , र अन्य गार्डहरू ) संख्यामा रहेका लालसेना ( रेड गार्ड वा पिएलए , नेपालमा माओवादीले पनि यही नाम दिएको छ आफ्नो लाडाकूलाई ) नामको सैन्य नियन्त्रणमा सुरक्षित शान्तिमा मात्र सम्भव छ। फलत: ,विकासका लागि शान्ति र शान्तिकालागि राजनैतिक तानाशाहीको मार्ग मात्र सही ठहर्‌याइयो। स्मरण गर्नु पर्ने कुरा के हो भने , देङ सियाओ पिङको मार्गचित्रमा अघि बढेको वर्तमान चीनले अबलम्बन गरेको राज्यव्यवस्था सम्बन्धी राजनीतिक अभ्यास त्यही कम्युनिष्ट विचारको मातहत पूर्ण नियन्त्रित र निर्देशित छ भने, उसले आर्थिक प्रगति गर्नका लागि पूँजीवादी शैलिलाई अपनाएको छ । अर्को शब्दमा , अहिलेको चीनको राजनीति कम्युनिज्म र अर्थनीति पूँजिवादको सम्मीश्रित रूप हो । यस्तो मोडेलको राजनीतिमा, मुलुकको राजनीतिको एकाधिकार कम्युनिष्ट पार्टीको एकल छत्रछायामा मौलाउँछ । सेना, प्रहरी, अदालत, प्रशासन ,कानून , सरकार र समग्र मुलुक नै कम्युनिष्ट पार्टीको निर्देशनमा काम गर्नु पर्ने यस्तो राजनैतिक प्रणालीलाई पश्चिमा उदारवादी शासनप्रणालीका मुलुकहरूले अक्सर एकाधिकारवादी तानाशाही राज्यतन्त्र भएकाहरू को सूचिमा राख्ने गरेको पाइन्छ ।

यहाँनेर एउटा उदाहरण उल्लेख ग्रनु उपयुक्त लाग्यो । गत महिना चीनिया सेना प्रमुख फू क्वानयुले दिएको एउटा वक्तव्यलाई आधार मान्न सकिन्छ । तियानेनमेन चोकमा २० वर्ष अघि भएको बिद्रोह दमनको वार्षिकी मनाउन हुनसक्ने गडबडीलाई इङ्गित गर्दै सेना चिफले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेर भने “ हाम्रो विशाल सेना , चिनिया कम्युनिष्ट पार्टीकालागि जुनसुकै मूल्य चुकाउन तयार छ” । पश्चिमी उदारवादी राजनैतिक दर्शन र अभ्यास अनुसार, पार्टी वा दलहरू मुलुकका पर्यायवाची हुनै सक्दैनन् । मुलुकको सेनाले कुनै पार्टीका लागि जुसुकै मूल्य चुकाउने वाचा गर्नु त्यहाँ उदेक लाग्दो मानिन्छ। पार्टी त हराएर जान सक्छन्, सरकार पतन हुन सक्छन् र नया विचारले नया निर्माण हुन पनि सक्छन् , तर मुलुकको अस्तित्व पार्टी र सरकारभन्दा भिन्दै विशिष्ट हुने ठानिन्छ । सेना, अदालत, पुलिस, र प्रशासनको वफादारी मुलुक जनताप्रति हुनुपर्छ कुनै दल विशेषप्रति हैन भन्ने विचार यो उदारवादी राज्यतन्त्रका हिमायतीहरूको सामान्य बुझाइ हुने गर्छ ।

नेपाली माओवादीले भने आफ्नो राजनीतिक मोडेल यही चिनीया वा कम्युनिष्ट शैलिको हुनेछ भन्ने कुराको खुलासा हालै आफ्नो दलको विस्तारित केन्द्रीय समितिले जारी गरेका निर्णयहरू मार्फत उजागर गरेकाछन् । यो भन्दा पहिला पनि उनीहरूको प्रस्तावित संविधानको खाकाले त्यताप्रतिको आसक्ति देखाएको भएपनि अलिक अवसरवादी बनेर यता कि उता हुने भन्ने कुरामा द्विविधा नदेखाएको हैन । तर , माओवादीले खोजेको जस्तो राज्यको व्यवस्थापकीय स्वरूपका बारेमा जारी गरिएको यो नया अवधारणा, कम्युनिष्ट राज्यतन्त्रको जनवादी केन्द्रीयताको सिद्दान्त अनुरूप भएको पाइएको छ , जुन विशेष गरी पश्चिमी देशहरुमा अपनाइएको विश्वमान्य लोकतन्त्रका सिद्दान्तसंग धेरै मात्रामा बिमति राख्छ । प्रचारमा आए अनुसार राज्यको शासकीय स्वरूपका बारेमा माओवादीले गरेको प्रस्तावमा निम्नलिखित मुख्य विशेषता हुनेछन् ।

१) देशमा एक जनप्रतिनिधिसभा ( चीनको पिपल्स कंग्रेसको अनुवाद) रहनेछ र यसले एउटा सर्वधिकार प्राप्त राष्ट्रपति मण्डलको ( इरानको गार्जियन काउञ्सिल कि कम्युनिष्ट पार्टीको पोलिट व्यूरो वा त्यस्तै मुलुकको प्रेसिडियम ? ) छनोट गर्नेछ । साथै कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति पनि व्यवस्थापिकाले छनोट गर्नेछ । ( कम्युनिष्ट मुलुकमा बाहेक अन्य मुलुकको कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ । साथै अमेरिका र फ्रान्स जस्ता विकसित पश्चिमा मुलुक बाहेक कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय प्रणाली भएका मुलुकहरू अपवादबाहेक तानाशाही बाटोमा लागेका उदाहरण प्रसस्त भेटिन्छन् । यही व्यवस्था बोकेका क्यूवा र उत्तर कोरियाले त आजीवन राष्ट्रपतिले नपुगेर , भाइ , छोरा र नातीमा राषट्रपतीय प्रणालीलाई हस्तारण गराउँदै नवकम्युनिष्ट राजतन्त्र कायम गरेको पनि देखिएकै छ क्यारे ! )

२) अदालत र सेना सबै व्यवस्थापिका कै मातहतमा हुनेछन् ( शक्ति पृथकीकरको सिद्दान्तलाई पूर्णत हटाइनेछ र कम्युनिष्ट मुलुकको व्यवहार अपनाइनेछ ) ।

३) सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीको बहुदलीयतालाई मात्र स्वीकार गरिनेछ ( मतलब, कम्युनिष्ट पार्टी मातहतको अदालतले आवश्यक ठानेका दललाई सामन्तवाद वा साम्राज्यवादका पक्षपोषक ठानी प्रतिवन्धित गर्नेछ , जस्तो कि कम्युनिष्ट मुलुकको बहुदलियता हुने गर्छ)।

४) जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सरकारमा प्रतिनिधित्व हुनेछ र व्यवस्थापिका विपक्षीबिहीन हुनेछ ।
( यस्तो व्यवस्था अन्त पनि छ जस्तो कि दक्षिण अफ्रिका जहाँ १०% भन्दा बढी मत ल्याउने दलबाट उपराष्ट्रपति र मत प्रतिशत अनुसार अरू दलहरूलाई मन्त्री बनाइने चलन छ । मेलमिलापको राजनितिका लागि यो राम्रो हुन पनि सक्छ तर आँफूले इच्छाएकाले मात्र दल खोजेर राजनीति गर्न पाउने र तिनै दलहरू मात्र दूधको सांक्षी बिरालो जस्तो सरकारमा सर्वसम्मत सहभागितामा रमाउने हो भने यो पनि वर्ग संगठनको निर्दलीय पञ्चायति व्यवस्था जस्तै नेपाली माटो सुहाउँदो व्यवस्थातर्फको यात्रा त हुने हैन ? कि चीनमा जस्तो उही कम्युनिष्ट पार्टीका बिभिन्न भ्रातृसंगठनहरू लाई राजनीतिक दलको रूपमा मान्यता दिएर तिनको प्रतिनिधित्वलाई बहुदलीयताको नाम दिन खोजिएको पो हो कि ! )

तर पनि धेरै नेपालीहरूलाई माओवादीको क्रान्तिकारी रोमाञ्चमा अविश्वास छैन जस्तो देखिन्छ । जस्तो सुकै राजनैतिक पद्दति भए नि केहि फरक नपर्ने सोच राखिएको हो भने यस्तो सोचबाट निस्पन्न हुने भविष्य डरलाग्दो नहोला भन्न सकिन्न ।

राज्यको शासकीय स्वरूप कस्तो हुने वा हुनुपर्ने हो त्यस सम्बन्धी बहस र मन्थन हुनुपर्ने भन्दा एकदमै थोरै भैरहेको जस्तो लागेको छ । यो त्यति हल्का फुल्का विषय पनि हैन र यही कुरामा मुलुकका कम्तिमा पनि आगामी केही दशकहरू र केही पुस्ताको भविष्य र भाग्य कैद बन्नेछ । हाम्रै निकट भविष्य नियन्त्रणमा लिन सक्ने यस्तो गम्भीर विषयमा राजनैतिक दलहरू नै नदारद रहेको यो घडीमा जनताले व्यक्तिगत रूपमा चिन्ता लिएर पनि केही फरक पर्ने हैन । तर विज्ञहरूले यो विषयमा बहस चलाउने जमर्को सम्म नगरेको देख्दा , यस्तो गम्भीर मुद्दाको छिनोफानो पनि लहड कै भरमा हुने हो कि भन्ने छाँट देखिन्छ । हुनत, अहिलेको संविधानसभाको संरचना हेर्दा र त्यहाँ पुगेका मानव आकृतिहरू मध्ये कतिले यस्तो महत्वको कुरा बुझ्ने सामर्थ्य राख्लान् त्यो नै सोचनीय कुरा छ । माओवादीले त आफ्नो राज्य मोडेल प्रस्तुत गरेर , आँफ्नो परिचय र उद्देश्य दर्शाउन हिचकिचाहट देखाएन। अरूको यस मामिलामा गृहकार्य के भैरहेको छ थाहा पाइएको पनि छैन । हामी नेपालीले वि. सं. १९९७ सालको शहीद काण्डदेखि हरेक दश वर्षमा लड्ने गरेका आन्दोलन र क्रान्तिको शृङखलामा यो पछिल्लो कडीको क्रान्ति , आन्दोलन , संविधानसभाको निर्वाचन अनि राजतन्त्रको उन्मूलन पश्चातको परिदृश्यमा खोज्दै गरेको शासकीय स्वरूप कस्तो हो त ? हामी प्रष्ट छौँ ? सही जवाफ कसले खोज्ने ? कस्तो हो त मुलुकलाई चाहिएको शासन व्यवस्था जसले तय गरेको बाटोमा हिँडेर हाम्रा असंख्य आकांक्षाहरू सम्बोधन होलान् ? देश त हामी सबैको हो नि ! त्यसैले आउनूस् हामीलाई कस्तो शासन व्यवस्था चाहिएको हो त्यसमा बहस गरौँ, नत्र बेला घर्किएला !


July 2, 2009

इच्चाहरुसंगै कैदी भएँ

आचार्य प्रभा

इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ
पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।

बोल्न त बोल्छु त र बोलीको औचित्य छैन
मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।

पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं
बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।

आवरण सुन्दर छ,बोली पनि मधुर नै छ
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।

(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )


खल्ति कि प्रवृत्ति ? कि लँगौटी ?


Nepal bans airline staff pockets



Staff at Nepal's main international airport are to be issued with trousers without pockets, in an attempt to wipe out rampant bribe-taking. Officials said there were growing reports of bribe-taking at the airport The country's anti-corruption body said there had been growing complaints about staff at Kathmandu's Tribhuvan airport. A spokesman said trousers without pockets would help the authorities "curb the irregularities".

स्रोत: http://news.bbc.co.uk/2/hi/south_asia/8126110.stm


ओरालो लागेका मृगलाई बाच्छाले पनि लखेट्छ भन्छन् । मुलुक हत्या, अपहरण, फिरौति असुली, दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले घाँटीसम्म डुबिसक्यो । राजनीतिको जोड घटाउमा माहिर हाम्रा देशका भक्षक खेलाडीलाई अरू केही कुराको चासो हुने कुरै भएन ।

देशमा कानून छ , कानूनका मठाधीशहरू कसरी पैसा र प्रभावका बलमा कानूनलाई फूटबल झैँ प्रहार गर्न सकिन्छ , कलाबाजी सिकाउँछन् । देशमा पुलिस छ , कसरी अपराधलाई लुकाउने र अपराधीलाई उम्काउने सूत्रहरूको लिलाम बढाबढ गर्छन् । देशमा जनताको करले पालिएको ठूलो संख्यामा कथित राष्ट्रसेवी कर्मचारी छन् , जसले अड्डा र अफिसमा बल्छि थापेर हात र मुखको जोहो गर्न उपाय खोजी गरिरहेका निरिह जनताको बाटो ढुकेर ढडिया भर्छन् । देशमा राजनीतिक दल छन् , जसले जनतालाई ‘बाँच्ने होस् भने भोट दे’ भनेरै लोकतन्त्रको श्राद्द गर्छन् । देशमा प्रसासन र सरकार छ , जसले त्यहाँ पुग्न पाएको नै जनतालाई झिरले रोपेर तिनको शरीरबाट रगतका थोपा निचोरेर असूल्नु हो भन्ने रावण बुझाइ राख्छ। यस्तो मुलुकको अख्तियार दुरूपयोग नामको नियोगबाट कता न राम्रो गर्नलाई भएको हो कि झैँ गरी एउटा उट्पट्याङ् आदेश आयो “ एयरपोर्टमा हुने भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ति भएका लुगा लगाउन नदिने” ।

कस्तो निम्न बुद्दि ब्रष्टाचार रोक्न बसेको सेतो हात्ति अख्तियारको ? यो कस्तो बुद्दि हो ? कस्तो उपाय फुरेको हो मान्छेका मगजमा, तो पनि यति बिघ्न उच्च तहमा बस्नेहरूको ? भ्रष्टाचार खल्तिले गर्ने हो ? त्यसो हो भने त सर्वाङ्ग नंग्याएर राख्दा राम्रो होला नि !

अख्तियार नामको यो पाखण्डी आयोगका जमातहरूले यस्तो हास्यास्पद निर्णय गर्नु पूर्व , यस्तो समाचार अन्तर्राष्ट्रिय मिडियामा पुग्दा देशको बद्नाम कुन ढंगले होला भनेर सोच्न पनि नसक्नु आँफैमा उदेक लाग्दो छ । कानून , व्यवस्थाको ह्रास र दण्डहीनताको तो कुरै छोडौँ , मुलुकमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भ्रष्टाचारको समाचारलाई खल्तिबिनाको पहिरन मार्फत रोक्न खोजेर अख्क्तियारले, कर्मचारीलाई खल्तिबिहीन बनायो बनाएन थाहा भएन ,तर नेपाललाई पहिरनबिहीन निर्लज्ज भने पार्‍यो नै । हैन यो देशमा सन्तुलित दिमागधारी मान्छे नै बाँकि रहेन्न कि कसो हो ? किन हामिले गर्ने हरेक काम र कुरा हरूका लागि परिहासका कथा बन्न पुग्छन् ?

भ्रष्टाचार र घूषखोरी हाम्रो जीवनको अभिन्न प्राण बनिसक्यो । यसलाई हटाउने हो भने हाम्रो प्रवृत्ति सुध्रिनु पर्ने हो । हैनभने विमानस्थलमा लगौँटी मात्र लगाएका कर्मचारी पठाएरै पनि , स्थति सुध्रिन्छ भन्ने कामना कसैले गरेको छैन। खल्ति नभएका कपडा लगाएर भ्रष्टाचार रोकिन्छ भने मुलुकभर पाकेट र झोलामा प्रतिवन्ध लगाउने कानून बनाउँदा पनि हुन्थ्यो ! तर कस्तो बुद्दि दिमागमा बोकेको जिमराजले यसो गर्दा भ्रष्टाचार हुन्न भन्ने सोचेर यस्तो निर्णय गराएको होला ? यसो गर्दा विमानस्थलमा हुने भ्रष्टाचारको कुरामा एक थोपो सुधार त पक्कै आएन होला तर , यो समाचार अष्ट्रेलियादेखि बेलायत र संसारभरिका मिडियमा , एउटा मजाकिया खबरको रुपमा छरिँदा हाम्रो एक मात्र अन्तर्रष्ट्रिय विमनास्थलको बिजोग कहानी छताछुल्ल भने अख्तियारले बनाएरै छोड्यो । घूसखोरीको कारक खल्तिमा भेट्टाएर, अख्तियारवालाले आफ्नो पंगूपनको परिचय बाहेक केही देखाएनन् बरू वास्तविक समस्यामा कुनै असर नै नहुने यस्तो स्थितिमा, ‘हगाइ भन्दा पदाइ’ ठूलो हुने झै गरी , भ्रष्टाचार कम गराउन यस्तो २ पैसे बुद्दिको उपाय सुझाएर , अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जतीको यो तमाशा गराउने अख्तियारवाला हरूलाई उनीहरूको लाज छोप्न लगौँटी उपहार दिने हो कि !


July 1, 2009

देश बेच्ने पार्टि रित रैछ

सुमन बगाले
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।

लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।

भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।

आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।

सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टि रित रैछ ॥
सुमन बगाले आबुँ खैरेनी तनहुँ


June 30, 2009

साझा, माइसन्सार र दौतरी

Dautari 1000 th. Post

(लौ कोही आउनुभएन, हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )

आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्‍यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।

साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ, शिरीष, शिवप्रकाश, गोतामे लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । लेख प्रकाशित नभएर रिसाएर ब्यथा पोखेको होइन, मित्रजन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर त्यों संसारले राजनीतिको बिल्लाको भरमा उसका पक्ष-पोसकहरुको "पूजा" मात्रै सुन्न थाल्यो र हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । अझ भक्तिभाबमा लेखिएका सामाग्रीहरु प्रतिका हाम्रा कमेंटहरु पनी डिलीट भए । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउन आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।

कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।

राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्‍यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र मैले ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।

माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चंद्रमामा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण र झसका हो भन्दा अनुपयुक्त नहोला । उनले हेपे पनी उनी हाम्रा साख्खे भाई हुन । हामीमा त्यति ममता छ, जून ममता दौतरी मार्फ़त हामी सबैले दर्शाउदै आएका छौ ।

आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेखहरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको बिसर्जनका खातिर । सामाजिक आवाज बुलंद गर्न हजारौ ब्लगरहरू "आफ्नै संसार" लिएर /भएर मुखरित भएका छन ।

पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार । सबैका हातबाट लेखिएका ति भावनाहरू, बेदनाहरु अनि परदेशिका आवाजहरू एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि अबश्य फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।



June 29, 2009

देऊ !

गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देऊ,
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देऊ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
नहुनेहो मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
मात्र टुट्यो, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासीदेऊ
फाटेको हो मनमा धाजा भने, निस्ठुरी बन, मेरो दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ......!!!