February 26, 2010
एउटा नछापिएको कथा
स्कुल पढ्दा त त्यो सिरेलाइ सधै नेपालीमा जित्थें। ब्याकरणकै कुरो गर्ने हो भने लुमेसरले सिद्दार्थ मा.वि कै नं १ भन्थे मलाइ। सिरे,राजु मेरो अगाडी के को दांज्नू? आउन पनि एस.एल.सीमा नेपालीमा ६४ मार्का आएको हो के रे। गणित,बिज्ञानमा त आउंछ, लौ नेपालीमा फस्ट डिभीजन आएको यो जितपूर डांडामा देखाउन?तर पनि त्यो कान्तीपूरले सार्हो हेप्यो! के थाहा त्यो लेख जांचन्नेको नेपालीमा ३२ आएको थियो कि? अनी त के बुझोस मेरो तारी गाइको लेख?मानव र प्रकिर्ती को समिश्रण बिचको मिठो सुबासको गौण कसरी भेउ पाउनू? मेरा शब्दै नबुझेर शब्दकोष पल्टाउने झन्झटले रद्दीकै बास बनाए मेरो प्यरो लेखलाइ।
अघील्लो शुक्रबार हो क्यार गाइले २ वटा बाच्छा पायो भनेर फोटो सितै मुख्य प्रिष्ठमा आएको थियो। गाइले एउटा बाच्छो त संधै पाउंछ। भेंडा,बाख्राले २-२ वटा पाइराख्थे अब गाइले पायो। त्यो गाइको फोटो पहिलै पानामा छाप्नुपर्थ्यो त? मान्छेले ८-८ वटा जन्माउन थालीसके,त्यो गाइ नाथेको के कुरो भो र? कथा त मैले पनि गाइकै लेखेको हो नि। दांज्ने नै हो भने पनि २ वटा बाच्छा जन्माउने गाइ हाम्रो तारी गाइको खुट्टामा पनि सुहाउदैन। तर पनि त्यई गाइको समाचार आयो। समाचारको त के कुरा गर्नु,पोहोर साल मन्त्रीले खोला तर्दा जुत्ता बगाएको पनि समाचारमा आएको थियो। गन्ने नै हो भने घट्टेखोलो तर्दा बर्षेनी ४०-५० जनाको जुत्ता बगाउंछ। बरु जुत्ता बगायो भनेर खोलामा पूल बनाउन त कांहा हो कांहा ति मन्त्री त्यही खोलासंग खुब रिसाएर रे। खोलाको पनि बुद्दी हुन्छ त,अनि त्यसले यो मन्त्री यो भरिया भनेर छुट्टाउने? त्यसले त जे भेट्टाउंछ बगाइहाल्छ नि। के के नै मन्त्री भै खाको।
मन्त्री त के झन प्रधान मन्त्रीले त यस्सो कासे पनि समाचार लेख्छन। यिनीहरुको त के कुरो गरेर सक्नु। लौ सिरे बजियाको लेख आयो राम्रै भो। आखिर त्यो पनि मेरै दामौल हो क्यारे। जांचमा मात्रै किन अप्ठ्ठेरो बडहरको रुखबाट घांस झारेर पनि त्यसलाइ सहयोग गरेकै छु के रे। सिरेकै लेख पल्टाएर पछाडी हेरेको लौ एउटाले अर्कोलाइ पिट्यो,कस्को घरको छानो भत्कियो,बिजूली अफिसको गाडी पल्टियो यस्तै यस्तै पो छ त। यि पत्रिकाले यस्तै नराम्रा कुरा लेखेर पत्रिका बिकाउने गर्छन कि क्या हो? कतै कुनै कुनामा त झुक्कीएर राम्रो कुरा पनि लेख्नु नि? हरेक पानामा दिन दिनै अलछ्छिनको खबर बाहेक केही छाप्ने भएनन यो पत्रिकाले पनि। अनि मेरो लक्षिनी तारी गाइको कथा के खाएर छापून त?
February 24, 2010
गाऊँखाने कथा - ३५ (Nepali Gau Khane Katha)
गाउं खाने कथा ३५ को सही उत्तर हो गंगटो। गाउंखाने कथाको उत्तर मिलाउने बसन्त जी ले गाउं पाउनु भयो। ल बसन्त जी मन पर्ने गाउं माग्नुहोला।
---------------------------------------------------------------------------------------------
सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।
आइकुटी बाइकुटी कुटीकाइं,आंखा टुलटुल मुन्टै नाइं, के हो ?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
पाइन्ट ला’को छु जिन्को मैले
लस् एन्जेलस्
पाइन्ट ला’को छु जिन्’को मैले
दोबाटो ढुक्या’ छु तिन्’को मैले
स्टाइल त दिनै पर्यो ‘नि ब्रो’
दाँतले च्याप्या’ छु सिन्को मैले
क्रेडिट कार्ड छ घोट्नलाई
वास्ता गर्या’ छैन ऋन्’को मैले
घाम जुन नभनि कमाएँ
बचाको छु सातै दिन्’को मैले
हलिउड् सप्पै घुमाई दिन्थे
साथ पाए एकै छिन्’को मैले
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 22, 2010
सेनाको लोकतान्त्रीकरण कि माओवादी हतियारवादको लोकतान्त्रीकरण
माओवादी खेमाबाट अक्सर नेपाली सेनाको लोकतान्त्रीकरणको चर्को रट सुन्ने गरिन्छ । माओवादी कोणका छापा र त्यही ल्याबेल टाँसेका विद्वानहरू समय समयमा सम्पादकीय र स्तम्भहरू सहित माओवादी उद्घोषको यो नारा बोकेर प्रस्तुत हुने गर्छन् । तर अहिलेको अशान्त र सन्त्रासमय नेपालमा , नेपाली जनताको अमनचैनलाई कुनै कुराको सबैभन्दा ठूलो अवरोध र अतिक्रमण छ भने त्यो हो माओवादीको हतियारवादी हूंकार ।
राजतन्त्रको अन्त्य भइसक्यो । साढे २ शताव्दि लामो राजतन्त्र र राजाको बिदाइ हुन हुन्न भनेर नेपाली सेनाले कहीँ कतै भाँजो हालेन । संविधानसभाले त्यो निर्णय लिँदाका बखत वा परिवर्तनका पछिल्ला तीन नेपाली वर्षहरूमा सेनाले आँफूलाई जुन संयमका साथ अलग्गै राखेको छ , त्यो तारिफ योग्य अवश्य छ । कमसेकम , माओवादी बाहेक तटस्थ जनताको नजरियाबाट हेर्दा भने यो यस्तै देखिन्छ । समयक्रममा, सेनालाई लोकतान्त्रीकरण गर्नु पर्ने र लोकतान्त्रिक संस्कार अनुरूप पारेर परिवर्तित सन्दर्भमा आउन सक्ने सम्भावित जटिल पक्षहरूलाई पनि बुझ्ने अनि व्यवहारमा अपनाउन सक्ने पार्न अनवरत प्रशिक्षणको खाँचो अवश्य छ । त्यो खालको प्रशिक्षण सेनालाई मात्र नभएर सारा प्रशासन, सेना, प्रहरी , नागरिक र अझ बढी बिभिन्न राजनैतिक दलका अन्ध कार्यकर्ताहरू लाई जरूरी बनेको छ । किनभने , परिवर्तन र लोकतान्त्रिक संस्कारको खाँचो केवल अरूलाई मात्र दरकार हुन्न , बरू सबैभन्दा ठूलो संस्कारको नमूना आँफैमा देखापार्ने सके अरूले अनुकरण गर्ने सम्भावना बलियो हुन्छ ।
१२ वर्षे हिंस्रक युद्ध लडेर अहिलेको अर्ध शान्तिको राजनीतिमा आएको माओवादीले धेरै हदसम्म उसको जनयुद्ध नेपाली सेना र राजा बिरुद्ध लडेको थिएन । यो कराल अवधिमा माओवादी कोणबाट मारिएका नेपालीहरूको संख्यामा अधिकांशत: कांग्रेस, एमालेका गाउँले कार्यकर्ता, शिक्षक र स्थानिय व्यक्तिहरू थिए जुन कुनै न कुनै किसिमले माओवादीका बिरोधी कित्तामा माओवादी स्वयंले वर्गीकृत गरेको थियो । त्यसपछि, मारिएकामा गाउँले प्रहरी चौकीमा खटिएका पुलिसहरू थिए । वास्तवमा , माओवादीको सेनासंगको जम्काभेट उनीहरूले आँफैले दाङ आक्रमणबाट शुरू गरेका हुन् र सेना र माओवादीको भीडन्त संख्या र प्रकार दुबैले कथित जनयुद्धको अन्तिम वर्षहरूमा मात्र चलिएको हो ।त्यो पनि , राजा बीरेन्द्रको अवशानले गर्दा माओवादि स्वयंले दावा गरेको कार्यगत एकतामा बिघ्न आउनाले मात्र सेनासंग आमनेसामने हुन परेको हो । माओवादीले सेना माथि गरेको सबैभन्दा ठूलो आक्रमण पीलीमा गरिएको थियो र यो युद्ध लड्न नभई बाटो खन्न बसेको सेनाको समूहमाथिको घातक र खूनी आक्रमण थियो । मंगलसेन आक्रमणमा सरकारको सुरक्षा डफ्फामा अधिकांश मारिनेहरू सशस्त्र प्रहरी , जनसेवाका प्रहरी र केही सेनाका जवानहरू थिए । राजा ज्ञानेन्द्रको निरंकूश शासन अवधिमा पनि पछिल्लो समयसम्म , राजाले दलहरूलाई प्रतिवन्धित गरी आँफूसंग कार्यगत एकता गर्लान् भन्ने प्रतिक्षामा माओवादीको प्रचण्ड समूह आशारत रहेको कुरा प्रशस्त बाहिर आइसकेका छन् । ई भए , हामीले बिर्सन खोजेका तर अपरिहार्य अतीतका वास्तविकता ।
अब राजतन्त्र बाँकि रहेन । केवल लोकतन्त्र भनेर कराउने दलहरू मात्र हामी समक्ष बाँकि छन् । लोकतन्त्रलाई सबैले मान्ने भएपछि , लोकतन्त्रको आधारभूत शर्त हुनुपर्छ निर्वाध - जीवन सुरक्षाको अधिकार । जीवन सुरक्षित भए पछि स्वच्छ खाने पानी, खाना, आवास, स्वास्थ्य सुरक्षाको अधिकार र कानूनी उपचारको अधिकारको कुरा निश्चित हुन सक्यो भने मात्र मान्छेले हाम्रो जस्तो तेस्रो विश्वको गरीब मुलुकमा आधारभूत अधिकार पाएको अनुभव गर्न सकिन्छ । तर, माओवादी र माओवादी गर्भबाट विश्रृङ्खलित भएर समयक्रममा जन्मेका सयौँ हिंसात्मक समूहहरू र तिनको हतियार र हिंसाप्रतिको मोहले गर्दा आजको नेपालमा सामान्य नागरिकले जीवन सुरक्षाको आधारभूत अधिकार गुमाउन वाध्य छन् । माओवादी उसको अर्ध सैनिक दस्ता र संरक्षक पूर्ण सैनिक शिविरस्थ छापामार समूह जुन एउटा निरंकुशतावादी राजनैतिक विचारले प्रशिक्षित छ यिनको छत्रछायामा नै अहिलेको नेपालको हिंसा र अराजकताले हुर्कने र मौलाउने मौका पाएको छ । लोकतान्त्रिक आन्दोलन पछि शान्तिकालीन समयमा घटेका केही दूर्दान्त हिंसात्मक घटनाहरू लाहान, गौर र कपिलवस्तु जस्ता हत्याकाण्डदेखि पत्रकार वीरेन्द्र शाह, रामहरि श्रेष्ठ, प्रचण्ड थैव देखि रसुवाका ६० वर्षीय पुण्टे तामाङको हत्यासम्ममा माओवादी हतियारवादको संलग्नता प्रष्टिएको अहिलेको सन्दर्भमा नेपाली लोकतन्त्रको कलिलो मूनामा कसैले एसिड खन्याइरहेको छ भने यो कुन हो भनेर चिन्न गाह्रो छैन ।
लोकतन्त्रमा सबे जनता र दलहरू समान हुन् । कुनै दल विशेषले आफ्नो पार्टी विचारले प्रशिक्षित हिंसात्मक दस्ता राखेर बलियो भएको तुजुक देखाउन पाउने र कुनै अरूले तिनै हतियारधारीका डरले मुलुकको भविष्यका बारेमा अष्पष्ट हुनुपर्ने कुरा लोकतन्त्रको घिलाग्दो नियति हो । अझ ती छापामारहरू जनताको करले बन्ने राजश्व उदरस्थ पार्दै एउटा पार्टी विशेषको अधिनायकवादी राजनीतिक एजेण्डालाई फलिभूत पार्न कसम खाएर कस्सिएका छन् र तिनलाई राष्ट्रिय सेनमा मिसाएर मात्र साँचो राष्ट्रिय सेना बन्न सक्छ भन्ने जिरह राख्छन् भने, सेनाको लोकतान्त्रिकताको यो रट भित्र कुन गिद्धे अभिष्ट लुकेको छ बुझ्न गाह्रो छैन । मार्क्स, लेनीन, स्टालिन, माओ र चे गुवेराको फोटो मुनि रात दिन वर्ग शत्रू सफायाको प्रशिक्षण लिने कुनै निश्चित पार्टीका छापमार हरू सेनामा नमिसिए समग्र शान्ति प्रकृया खत्तम हुने फर्मानका साथ , सेनाको लोकतान्त्रिकरण भएन भने लोकतन्त्र खतरामा पर्छ भन्ने सोचले कुन दिशा र दशामा मुलुक लतार्न खोजेको हो नबुझ्ने नेपाली कमै होलान् ।
अत: लोकतान्त्रिक बनौँ र बनाऔँ भन्ने कुरामा दुई मत छैन भने , आफ्ना व्यवहार र सोचहरू लोकतन्त्रको मान्यताका समर्थन वा बिरुद्ध कहाँनेर छन् भनेर निष्पक्ष समीक्षा गरियोस् । बन्दूकको कुन्दामा आँफ्नो आग्रह लादेर, एकात्मकताको जोरजुलुम र तमाशा मञ्चन गरेर लोकतन्त्र बन्दैन । लोकतन्त्रलाई लोकतान्त्रिक आचरणको उकेरा चाहिन्छ र यसको अवलम्बन् पहिला आँफैले गर्नुपर्छ । परिवर्तित सन्दर्भमा सबैले लोकतान्त्रिक आचरण र प्रशिक्षण अपनाउनै पर्छ र त्यो सबैभन्दा बढी हतियारको र हिंसाको वैशाखी टेकेर ‘म नै लोकतन्त्र हूँ’ भन्ने अहंकारवादीहरूले पहिला गर्नु पर्छ हैन भने इदि अमीन र हिट्लर नै इतिहासका सबैभन्दा लोकतन्त्रवादी महानायक थिए भनेर आफ्नो ढिंडोरा पिट्दा पनि आश्चर्य नमान्दा हुन्छ । त्यसैले, हतियारवादी समूहको भरमा छाती ठोक्न छोडेर विश्वमान्य स्वतन्त्रता, शान्ति र समानतामा आधारित विचार बोकेर जनताकोमा पुग्ने र जनताको आशीर्वाद शीरमा बोकेर लोकतान्त्रिक बन्ने आँट लोकतन्त्रका दावेदारहरूले देखाउन सक्नुपर्छ । हैनभने आफ्नो अधिनायकवादी लक्ष्यका बारेमा नै भए पनि प्रष्ट मुख फोरेको राम्रो ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 19, 2010
बेग्लै छ ब्लगको मज्जा
टिम ब्लगिगंको उदाहरण बनेको छ दौतरी डट ओआरजी। फरक फरक पृष्ठभूमिका ब्लगरले समाज र राजनीतिमा फरक फरक एंगल देखाउँछन्। अनि त्यही टाँसोमा कमेन्ट माथि कमेन्ट गर्छन् ब्लगका पाठक। दुई वर्षअगाडी अमेरिकाबासी मेकानिकल इंजिनियर मदन बरालले सुरु गरेको दौंतरी नेपाली भाषाको ब्लग मध्ये लोकप्रिय पनि छ। विभिन्न मुलुकमा अध्ययन र जागिरका लागि गएकाहरुको साझा प्रयास हो दौंतरी भन्छन् बराल। सबै साथीहरुले बिदाको समयलाई लगाउनु भएको छन् नेपाललियन उपनाममा लेख्ने बराल भन्छन्।
मदनमणि अधिकारी
अन्नपुर्ण फुर्सद
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
February 16, 2010
निर्लज्ज मन्त्री कुजाता
नेपालकी परराष्ट्र मन्त्री सुजाता कोईराला काम गरेर भन्दा गलत वा नराम्रा कामले चर्चाको बजारमा छाएकी हुन्छिन् । ९० वर्ष पुग्न लागेका अन्धो धृतराष्ट्रको बुढो काँधमा निर्लज्ज चढेर उपप्रधान मन्त्रीको पदमा पुगेकी यी नामले सुजाता र कामले कुजाता नै हुन भन्दा फरक पर्दैन । यिनको नाम ठीक बिपरितार्थक नै छ भन्दा हुन्छ । उनको नाममा ‘सु’ उपसर्ग झुण्डिनु तर काममा सदैव ‘कु’ हुनु उनको परिचय प्रमाणित सत्यो । आजीवन बिदेशमा नै रहेकी यी बिदेशी पतिकी ई उभयचर पत्नि अहिले नेपालकी बिदेश मन्त्री भएकी हुनाले अहिले नेपालीलाई बिदेश घुम्न नभइ नहुने राहदानीलाई यिनको गिद्दे नजर र अघोरी भोकले खान खोजेको छ ।
अहिले सुजाता बहुचर्चित मेसिन रिडेबल पासपोर्ट प्रकरणमा चर्चित छन् । उड्ययन सम्बन्धी आधिकारिक अन्तर्राष्ट्रिय संस्थाले आउँदो अप्रिलसम्ममा मेसिन रिडेबल पासपोर्ट भएमात्र बाह्य उडान गर्न पाउने वाध्यकारी फर्मान जारी गरेकाले यो हुनै पर्ने थियो । तर आजीवन कमिसन र पैसाको जोहो गर्न भनेर राजनीति गर्ने र मन्त्री हुने ध्याउन्नमा लागेकी यी निर्लज्ज नारीका लागि , यो पासपोर्ट बनाउने सुनौलो मौका कमीसन सोहर्न पाउने कुम्भ मेला साबित भयो । त्यसैले हरेक हतकण्डा प्रयोग गरेर भए पनि यसबाट आउने ठूलो कमिसन हात पार्न , उनले नेपाली नागरिक बाहिर जानै नपाए नपाऊन केही मतलब छैन तर , पासपोर्ट बनाउने कामको जिम्मा लिने कम्पनीको छनोट र मोलतोलको बार्गेनिङले दिने बिशाल कमिसनको पोको नलिई नछाड्ने अड्डी लिँदा अब नेपालीले खाडी र मलेशियाको श्रमबजारको यात्रा सम्म पनि गर्न नपाउने स्थिति पैदा हुँदैछ । मन्त्री कुजातालाई यी सबै कुराको कुनै टण्टा छैन ।
यस्ता लाज नभएका मन्त्री जो हाक्काहाक्की नेपालीलाई थर्काएर खाने मौकाको ताक कुरेर बस्छन् र सारा नेपालीमाथि आउन सक्ने बिपत्तिमा पनि कानमा तेल हालेर मस्त रहन्छन् , यस्ता दुष्ट पात्र हामीलाई किन चाहिएको छ ? हिजोको संसदिय समितिमा अझ उसैको चर्को डाँको सुन्दा , यो देशको दूर्भाग्य नै रहेछ कि यस्ता मनुष्यलाई मन्त्री मानेर मुलुकवासीले बोकेर चल्नु पर्ने ! नेपालले यस्ता कुजाता टाइपका मन्त्रीबाट कहिले मुक्ति पाउने होला ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest