विश्वास दीप
भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, निदरल्याण्डको हेगमा गत १३ देखि १५ जुन २०२५ का दिन भब्यतापूर्वक सम्पन्न भयो ।
पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भए । कार्यपत्रहरु मध्ये स्वीकारोक्ती सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरु बीच बृहत चर्चा गरे, सहभागीहरुसंग अन्तरक्रिया गरे भने दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन, आधा दर्जन कार्यपत्रहरु प्रस्तुत गरे, सम्मान प्रदान, कृति विमोचन, नयाँ नेतृत्व घोषणा संगै अहिले सम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढि रासीको स्वीकारोक्ति सिद्धि पुरस्कार यस बर्ष बरिष्ठ साहित्यकार बैरागी काँईलालाई प्रदान गर्ने घोषणा गर्यो । काँईलालाई निकट भविश्यमा नेरु ६ लाख रुपैयाको नगद पुरस्कार प्रदान गरिने भएको छ, यस अघि आसमका नेपाली साहित्यकार स्व. लिल बहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।
तेस्रो दिन शान्ति र स्थायित्वको निमित्त स्वीकारोक्ति सिद्धान्त नाराका साथ, स्वीकारोक्तिको रंग हरियो भेष्ट लगाई डेढदर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्रांङ्गणबाट साईकल यात्रा शुरु गरि शहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत, पार्लियामेन्ट लगायतका स्थानमा साईकल रयाली गरिएको थियो । विश्वका विभिन्न १६ मुलुकबाट सहभागिता रहेको सम्मेलनमा अमेरिका, युके, न्यूजिल्याण्ड, अष्टे«लिया, नर्वे, स्लोभानिया, पोल्याण्ड, बेल्जियम, निदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल र फ्रान्स लगायतबाट सहभागिता रहेको थियो ।
विश्वास दीप
नयाँ नेतृत्व २०२५ – २०२७ को निमित्त नयाँ नेतृत्व पनि चयन भए जस अनुसार अध्यक्ष पातले अन्तरे (अमेरिका), वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल (न्यूजिल्याण्ड), महासचिव सुसन माझी (ओहायो), सचिव लक्की रासी (केन्टकी), कोषाध्यक्ष शेखर कोईराला (पेन्सिलभेनिया), सहकोषाध्यक्ष अबि न्यौपाने (ओहायो), कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल (ओहायो), साँस्कृतिक संयोजक सरगम थपलिया (पेन्सिलभेनिया), प्रचार प्रसार प्रमुख भिम गुरूंग (नेब्रास्का), सदस्यहरू क्रमशः खडग गजमेर (नेब्रास्का), देवी राई (आईहोवा), यादु अधिकारी (ओहायो), र छत्र दंगाल (अष्ट्रेलिया) रहेका छन ।