July 9, 2009
दौंतरीमा २४ घण्टा चक्काजाम
साथै प्राबिधिक समस्या झेल्दा दौंतरीलाइ साथ दिनुभएकोमा र दौतरी इमेलमा शुभेक्षा तथा जिज्ञाशा राख्नु भएकोमा दौतरी टिम निकै आभारी छ।
July 8, 2009
नियमित छ सधैं अनियमितता
नियमित छ सधैं
अनियमितता
अनियमित छ सधैं
नियमितता,
अनियमितताभित्रै
नियमित चलेको छ
त्यो मेरो देशको
शासन व्यवस्था !
राष्ट्रिय खेलको
नियम हो एउटा
अनियमितता
त्यो मेरो देशको,
प्रिय खेल हो त्यो
दौरा सुरुवाल लाउने
त्यो मेरो देशका
खेलाडीहरुको !
सौभाग्य हो
सधैं अपराजित हुनु
ति हाम्रा खेलाडीहरुको,
दूर्भाग्य हो
सधैं आफैंसँग
आफैं पराजित हुनु
त्यो मेरो देशको !
(अश्रृंगार कविता अभियान ..........)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - २२ (Nepali Gau Khane Katha)
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
इउं त इउं टिप्ने मान्छेलाई सय रूपिया दिऊ
के होला यस्को उत्तर?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मन र समाजको अपराधीकरण अनि राज्यबिहीनता
अपहरण आरोपमा पिट्दा २ को मृत्यु
मकर श्रेष्ठ
भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन् ।
हिजो भक्तपुरमा घटेको एउटा घटनाको बारेमा आजको ( २४ असार २०६६ वा जुलाई ८ २००९ ) कान्तिपुरमा प्रकाशित समाचारको अग्र भाग हो यो । सबै नेपाली छापाहरूको शीर्ष समाचार रहेको यो घटनाले वास्तवमा वर्तमान समयमा हाम्रो नेपालको हैसियत कस्तो छ भन्ने कुराको समग्र प्रतिनिधित्व गरेको छ भन्नुमा अत्युक्ति हुँदैन । राज्यबिहीनता, दण्डबिहीनता र जिम्मेवारीबिहीनताको पराकाष्ठा दर्शाउने यस खाले घटनाहरू अहिले हाम्रो मुलुकमा दिनहूँ घटिरहेका छन् र ती पनि बहुसंख्यामा र बहुस्थानमा । कुनै बेला राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजूलाई कुटी कुटी मारेको बहादुर जिल्ला भक्तपुरमा हिजो फेरि होहल्ला कै भरमा २ जना युवकलाई कुटेरै मारिएछ र मरणासन्न पारिएका अरू २ जना जीवन मृत्यूको दोसाँधमा उपचाररत छन् रे ! अपहरण, हत्या, हिंसा, लूट र भीडले गर्ने न्याय जब हाबी भएर समाजमाथि बर्सिन थाल्छ , अनि ठान्नै पर्छ त्यहाँ राज्य मृत बनिसकेको छ । कुनै जमानाको सुन्दर र शान्त मुलुकका नामले चिनिने मुलक, नेपाल, आज कुन दूर्भाग्यका कारण हो, यो दूर्गति र दूर्नियतिको पर्याय बनिरहेको छ । हिंसा आतंकको रोग एकपल्ट सल्केपछि , कुनै हालतमा सजिलै निभ्दैन भनिन्छ, त्यसैले गर्दा होला नेपालमा रचिएको क्रान्तिकारी रोमाञ्चको गृहयुद्दले रक्तवीजका नया नया अवतार लिँदै मुलुकलाई हिंसाको राप र आतंकको तापमा भस्म पार्दै छ । चौतर्फी असफलताको अँगालोमा हाम्रो झर्ने क्रम जारी छ ।
एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणको भर्खरै प्रकाशित मानवीय सूचकांक र देशहरूको स्थिति सम्बन्धी आँकलनले नेपाललाई असफल देहरूको २५ औँ स्थानमा राखेको छ । दक्षिण एशियामा नेपाल पाकिस्तान भन्दा मात्र माथि छ । पाकिस्तान अल कायदा, तालिबान र कट्टरपन्थी मुसलमानहरूको क्रिडास्थल बन्न जाँदा अनि ती इस्लामिक बिद्रोहीहरूको शाक्तिशाली पनलाई आधार मान्दा पाकिस्तानी सरकार जत्तिकै वा भन्दा बढी प्रभाव उनीहरूको रहेको अनुमानका आधारमा, पाकिस्तान बिग्रँदो मुलुकको सूचिमा यति तल खस्केको हो ।
तर नेपालको स्थिति हिजोका सशस्त्र द्वन्दका दिनहरूमा भन्दा पनि नराम्रो तरिकाले तल झर्दै जानुले हामीलाई पक्कै दु:खद आश्चर्यमा पारेको हुनुपर्छ । आश्चर्यको कुरा एकातिर, तर हामीलाई थाहा छ सर्वसाधारणका लागि हाम्रो मुलुक अहिले बिगतका कुनै समयहरूभन्दा अरू भयाबह बनिसकेको छ । हिजोको बिद्रोही शक्ति माओवादी शान्ति सम्झौतामा आएर संविधानसभाको सबैभन्दा ठूलो दल बनेर कहिले सत्ता र कहिले प्रतिपक्षरूपी संस्थापन पक्षको पाटो बनिसक्दा पनि , नेपाली जनताले चाहेको शान्तिपूर्ण जीवनको चाहना अझै आकाशको फल जस्तो टाढा देखिन्छ ।
कुनै समयमा दावा गर्ने गरिएको कुरा : मुलकमा राजतन्त्र हट्दा र संविधानसभाको चुनाब हुँदा चमत्कार भएर जनताका सारा दु:ख र पीडाहरूको सदैव अन्त्य हुने हो कि झैँ फलाकिएको राग उत्साहबाट झरेर रोदन र घृणामा बदलिएको छ । माओवादी हिंसाले गर्भाधारण बनाएर छोडेका अवैध झड्केला सन्तानहरू विरासतमा हिंसाको जीवन बिरोधी मादकता बोकेर सारा तराई र पहाडसम्म छाएका छन् । भनिन्छ , यस्ता हिंसात्मक झुण्डहरूको संख्या नै सय नाघिसक्यो । पहाडियाका लागि त तराई जीवन जोगाउन धौ धौ हुने खालको भैसक्यो । आज दक्षिण र मुख्य तराईमा बसोवास गरिरहेका लाखौँ पहाडिया मूलका नेपालीहरू माथिल्लो पहाडिया बहुल भूभागमा जबर्जस्ति बसाईँ सरेर ज्यान जोगाउन वाध्य पारिएका छन् । आफ्नो मुलुकमा आन्तरिक शरणार्थी बन्नु पर्ने वाध्यताको यो कथा अझ संगीन बनेर जाँदै छ ।
यी सबै कुरालाई अल्ग्याएर हेर्ने हो भने, नेपाली जनजीवनमा देखिएको हिंसाप्रतिको अभिरूचि र संलग्नताका विशेषताहरू अझ डरलाग्दा छन् । आज पेशेवर अपराधीको थोक नियन्त्रणबाट हिंसा खुद्रा बनेर सामान्य मान्छेहरूमा विस्थापित र वितरित बनेको छ । मान्छेहरू सानो भन्दा सानो कारणले ज्यान लिन पनि पछि नपर्ने गरी हिंस्रक बनेका देखिन्छन् । उदाहरणका लागि, एउटा परिचित पूर्व घरभेटीले कति सजिलै केही रकमको जोहो गर्न एउटा किशोरी केटी ख्यातिलाई यति अमानवीय ढंगले टुक्राटुक्रा पार्न सकेको होला ? लाई लिन सकिन्छ । अनि यस्तो अकल्पनीय घटना घटाउनेहरूका मन र अनुहारमा कतै पश्चाताप देखिएको छैन भन्ने जुन समाचार आइरहेका छन् तिनले के बताउँछन भने त्यस्ता डरलाग्दा अपराध गर्ने सिकारूहरू पनि पेशेवर अपराधी जस्तै आश्वस्त बनेका छन् । यिनको मनमा केही समयपछि जेलबाट निस्कन सकिन्छ र स्वतन्त्र जीवन जीउन सकिन्छ भन्ने आत्मविश्वास छ । यसले राज्यबिहीनता र दण्डबिहीनताका चरित्रहरू उजागर भएका छन् । अर्कोतिर भीड जुटाएर जे जस्तो अपराध गर्न सकेपनि त्यसको दोष कसैले बोक्नु पर्दैन भन्ने भीडतन्त्रात्मक राजनीतिको चरित्र जतासुकै छरिन पुग्दा हिजो भक्तपुरमा भीडले मान्छे मारेको जस्ता घटनाहरू हुन पुगेका छन् । यस्ता घटनाहरूबाट नेपालमा दर्जनौँ मान्छेहरू मारिइसकेका छन् बिगत केही महिना भित्रै पनि । हिंसा र हत्या आज सहज, सुलभ र जसले पनि अपनाउन सक्ने दुस्साहस बनेको छ र यो कुरालाई जनमानस र सर्वसाधारणको दिलोदिमागमा पुर्याउने कुरामा योगदान कसको रह्यो होला भन्ने विषय पनि अब आएर गौण भैसकेको छ । अब शुरूवात कस्ले गर्यो भनेर कारण खोज्ने भन्दा , सम्भावित घटनाका रोकथामलाई अपनाएर समाधान खोज्नु पर्ने वाध्यता आइसकेको छ । तर, निदान सजिलो छैन।
आज मुलुकमा कसैबाट कोही सुरक्षित नरहेको अनि जतिबेला जे पनि हुनसक्ने असुरक्षाको महामारी व्याप्त बनिसेको छ । संविधान आफ्नो पार्टीको एजेण्डा अनुरूप पार्ने अथवा , नागरिक सर्वोच्चताको रटमा मुलुक ठप्प हुने गरी नेपाल बन्द बनाउँदा पनि अपराधमाथि बन्दको प्रभाव मलजलको रूपमा उल्टो किसिमले उर्वर बनेको जस्तो देखिन्छ ! बन्द , हड्ताल र निषेधले जनता मर्माहत बनिरहँदा पनि अपराध त मौलाएकै छन् । संविधान , सरकार, लोकतन्त्र र चमत्कारका शाब्दिक कोलाहलभित्र मुलुकको नागरिक निरिह बाँच्नलाई लुक्ने र ओत लाग्ने कुनो खोज्दै भाग्दैछ । क्रान्तिकारी राजनीतिक अड्डाहरू भित्र ठुल्ठूला कुराका सम्झौता र मेलमिलापका सूत्रहरूको खोजी हुँदै गर्दा नागरिकको बाँच्न पाउने आधारभूत अधिकारले चर्चा र प्राथामिकता पाउन सकेको छैन । पार्टीका कार्यकर्ता मर्दा देशै बाल्न खोज्नेहरू ‘नो म्यान्स ल्याण्ड’ रूपी सामान्य र स्वतन्त्र नागरिकहरूको जीवन जाने दूर्घटनालाई संक्रमण कालका सामान्य अराजक घटनाका रूपमा पञ्छाउँछन् । मानौँ जनता स्वतन्त्र नागरिक भएर बाँच्नु नै एक अभिशाप हो यो मुलुकमा । सायद ठूला ठूला कुराको बहस हुने तर प्रकारान्तमा सँधै हात लाग्यो शून्य हुने हाम्रो देशमा सदैव नागरिकहरू ‘एक्सपेन्डेबल आइटम’ बन्नुपर्छ !!! यसैले कविले भनेका होलान् : बन्दैन देश दुईचार ...................मरेर नगए ! तर, यहाँ सपूतहरू त नेता हुनलाई बाँच्छन् र दुईचार मात्र हैन सबै मरेर गए पनि देश बन्ने छाँट सुदूर क्षितिजसम्म कतै देखिएको छैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 7, 2009
यो जिन्दगी
०७-०६-२००९
यो जिन्दगी यस्तै हो हेर
कहिले हास्ने कहिले रुवाउने
भाबी को खेल रहेछ यो
फुल र काडा झै
यो जिन्दगी .....
हेर्दा हेर्दै ढल्छ योबन
शिशिर को फुल झै
बेला छदै हासौ खेलौ
गुरास र पंक्षि झै
भोली केहो कहाँ हुन्छौ
थाहा छैन कसै लाई
यो जिन्दगी .......
बग्दा बग्दै सुक्छ खहरे
आशु को थोपा झै
मेरो भन्दा भन्दै टाढिन्छ मानिस
साझ को सुर्य झै
बेला छदै बाडौ माया
हामी ले अरु लाई
यो जिन्दगी .......
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 6, 2009
गजल
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु
नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु
कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु
उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु
कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ब्लगर सुजनसंग ब्लग बार्ता
ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।
१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।
२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।
३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।
प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्ने कोसिस गर्छु।
४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।
५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।
६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।
७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!
८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।
९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।
१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।
११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।
समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।
१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !
१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?
खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हराउदै गएको अस्तित्व
(अमेरिका )
जब म पसलमा सजिएको हुन्छु
बिभिन्न रङमा सुसज्जित भएर
मेरा शरीरभरी नानाथरिका बुट्टाहरु कुंदिएका हुन्छन
बत्तुहरु जडिएका हुन्छन म बिभिन्न आकरमा बिभाजित हुन्छु
सुरिलो,होँचो,गोलाकार वा अरु कुनै आकार ...........,
आउँछन ग्राहकहरु अनी पर्छन मक्ख !
मलाई सुम्सुम्याउँछन्,
मेरो तारिफ गर्छन्,
मेरो बनावटमा दँग पर्छन,
अनी.... कल्पना गर्छन्
कोठाको कुनै टेबलमा मलाई सजाएर
त्यो कोठाको सौन्दर्याता बढेको ,
त्यो क्षण,त्यो पल,म सबैको
आकर्षणको बस्तु बन्छु
जस्ले मलाई पैसामा मोलेर लैजान्छन ।
अन्त्यमा.... जब म
चाहनाको अन्तिम लक्ष वा स्थानमा पुग्छु
मेरा घाँटीभरी कोच्याएर
जब बिभिन्न फूलहरु सजिन्छन
रातो,पँहेलो,नीलो वा अरु कुनै ........
सयपत्री,गोदावरी,गुलाफ वा अरु केही ......
तब..... मेरो आकर्षण फूलहरुको सौन्दर्यमा
परिभाषित हुन्छ ,
मेरो अस्तित्व फूलहरुको अगाडी
अस्तित्वहिन हुन्छ ,
अनी म फूलहरुको उपस्थितिमा
पलायन हुन्छु ,
म..... केवल फूलहरुको भरिया मात्र हुन्छु ,
अनी हुन्छु उस्को श्रिङारको रक्षक
तब...... म निस्सार,निस्साहाय,निरीह बन्छु
मेरो अस्तित्व अनी महत्व राख बन्दै जान्छ
अनी...... म सबैको सामिप्यताबाट
ओझेल बन्दै जान्छु ,
आफ्नो हराउँदै गएको अस्तित्वसँग
आँफै बिरानो बन्छु,
बस बिरानो बन्छु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 5, 2009
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 2009
१५ अगष्टमा न्युर्कमा हुने उक्त सम्मेलनमा कबिता,गजल आद साहित्यक प्रश्तुतीका साथै डायस्पोरामा नेपाली भाषा तथा साहित्यका वारेमा छलफल र विचारविमर्श गरिनेछ। साथै नेपाल तथा अन्य देशमा रहेका मूर्धन्य नेपाली साहित्यकार तथा विचारहरुका विचार तथा कार्यपत्रहरु पनि प्रश्तुत गरिनेछ।
पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको यो भाषा-साहित्य सम्मेलन युवाकवि मोतिराम भट्टको जन्मजयन्तीका अवसर पारेर गर्न लागिएको हो।
यसबारेमा विस्तृत जानकारीका लागि http://conference.inls.org/ मा राखिएको छ। सम्मेलनमा वाचन गरिने रचनाहरु ७ अगष्ट २००९ भित्र यो इमेल ठेगानामा nibhanika@hotmail.com आइसक्नु पर्ने नियम राखिएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तिम्रो मेरो साईनो
colorado
AMERICA
तिम्रो मेरो साईनो अब, यो जुनीमा यत्तिकै भो।
के भर भयो अर्को जुनी,भेट हाम्रो यत्तिकै भो ।।
एक प्रहर समिप भएउ,सँझेछु जुनीभरी
एकान्त को बसाइ अब, कुइनेटो मा यत्तिकै भो ।।
सम्झना को तरेलि मा, सपना त्यो अल्झिने भो।
जुनेलीको पर्खाइ अब,चोउतारी मा, यत्तिकै भो।।
सुनेको छु तिम्रो सीउदो, भरिने दिन आउँदैछ रे।
घुम्टो भित्र तिम्रो मुहार, हेर्ने रहर यत्तिकै भो ।।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 4, 2009
दौंतरीमा ब्लगर भेला
समय मिल्दा बिशेष गरी सप्ताहअन्तमा दौतरी जिमेल च्याट,दौतरी फेसबुक र दौतरी साउट बक्समा समय बिताउने गर्दछु। आज ब्लगर दिलीप आचार्यसंग भेट भयो। कुरै कुरामा उहांले सोध्नु भयो दौतरीमा के नया आउदै छ? उखान टुक्का पछि त्यस्तो केही नया छैन भने। आफुलाइ अलि असजिलो महशुस भयो। केही नया पन दिन पाए त हुन्थ्यो। अनि साउट बक्सको कुरा गर्यों। साउट बक्स धेरै ब्लगरले मन पराएको कुरा पनि उठ्यो। मैले तुरुन्तै भने यही साउट बक्समा महिनाको एक पटक सबै ब्लगर मिलेर गफ गरे कसो होला? उहांले यो कुरा निकै मन पराउनुभयो। मलाइ पनि यसो गर्दा दौंतरी साउट बक्समा संसारका हरेक कुनामा बस्ने ब्लगरहरुले आपसमा कुरा राख्ने गज्जबको ठाउं होला जस्तो लाग्यो। यस प्रकारको ब्लगर भेलाले पक्कै पनि केही नया कुरा सिक्ने सिकाउने अबसर प्रदान गर्नेछ। मिती र समय त एकिन गरेको छैन तर अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती ११ बाट १ ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) राख्दा उचित होला जस्तो लागेको छ।
साउट बक्स तल राखिए जस्तै तर दौतरीको मुख्य पृष्ठमा ब्लगर भेलाको समयमा अली ठुलो हुनेछ जुन पटक पटक आफै रिफ्रेस हुनेछ। अब यो बिचार कस्तो लाग्यो ब्लगर मित्रहरु जानकारी गराउनुहोस है?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
राष्ट्रको कान्ति
एताउता घुम्न पनि लाग्छ मलाइ डर
आँतमा राख्ने मान्छे भै सकेछन पर
झुठा सपना देखाएर द्धन्दमा फसाए
तहस नहस पारी देश दुनियाँ हसाए
म त झनै बल्झिए सकुनीको जालमा
कसरी जिउनु म यस्तो कुटिल चालमा
कुराकानी गर्न पनी लाग्छ मलाइ डर
शुभचिन्तक भन्ने पनि भैसकेछन पर
कहिलै मुक्ती पाउला आफनो राष्ट भित्र
भताभुंग पारी सके आफनै देशको चित्र
न त मैले सुख पाएँ न त पाए सान्ती
ओझेलमा पार्दै गए यो राष्टको कान्ती
भेटघाट गर्न पनि लाग्छ मलाइ डर
मानवीय सम्वेदना पनी भैसके छ पर
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 3, 2009
कस्तो हुनुपर्छ त राज्यको शासकीय स्वरूप ? (बहसका लागि)
नेपालमा नया संविधान बन्दै छ र नया संविधानले देशको शासन व्यवस्था कस्तो हुने हो भनेर तय गर्नेछ र यसकै तपशिलमा राज्य पुनर्संरचना वा संघियता , समावेशीकरण, आदि अनेकौँ परिशिष्टको क्रम तोकिनेछ । एकीकृत माओवादी पार्टीले संशोधित रूपमा राज्यको शासकीय व्यवस्थाको कुरालाई चर्चामा ल्याएको छ । आफ्नो नाम अनुसार नै एउटा कट्टर कम्युनिष्ट शासन प्रणाली अपनाएको राज्यले अपनाउँदै आएको शासन व्यवस्थासंग मिल्दा जुल्दा विशेषतायुक्त राज्य व्यवस्थाको प्रस्तावना गरेर माओवादीले आफ्नो उद्देश्य दर्शाएको छ । हिजो सत्तामा हुँदा उसको प्रस्ताव अलग खालको थियो र आज सत्ता छोड्नु परेर आक्रोशित बन्दा यो अलग देखापरेको छ । फेरि सत्तामा आएर खुशी हुँदै गर्दा उसको विचार फेरिएन भने माओवादीले मोही माग्दा , ढुङ्ग्रो लुकाएको छैन । उसले कम्युनिष्ट पार्टीको विचार अनुसार जनवादी केन्द्रियतामा राज्ययन्त्रका सम्पूर्ण पक्षलाई नियन्त्रणमा लिने खालको, देख्दा लोकतान्त्रिक देखिने तर सारमा कम्युनिष्ट पार्टी नियन्त्रित राज्यतन्त्रको प्रस्तावना गरेको प्रष्ट छ । परम्परागत कम्युनिष्ट शासन रहेका मुलुकहरू रूस , चीन , क्यूवा र कोरियाका धेरै विशेषता बोकेको साथै केही अलग कुराहरू पनि अँगालेको यो संवैधानिक प्रस्तावनासंगै शासकीय व्यवस्था सम्बन्धी बहस अग्रतामा आएको छ ।
‘माओ’ वाद भन्ने विचार एउटा कट्टर कम्युनिष्ट शासकीय संयन्त्रयुक्त राज्यतन्त्रमा विश्वास गर्ने वाद हो । चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ले तत्कालीन चीनमा कम्युनिष्ट क्रान्तिका लागि अबलम्बन गरेका रणनीतिक तथा राजनैतिक विचार र व्यवहारहरूको प्रयोग मार्फत त्यस्तै राज्यव्यवस्था कायम गर्ने सोच राख्ने विचार र दलका रुपमा यसलाई बुझ्नु पर्छ । माओत्सेतुङबाट शुरू भएको कम्युनिष्ट विचार निर्देशित राज्यतन्त्रमा माओको मृत्यूपछि, देङ सियाओ पिङले सुधार गरे पनि यो मूलत: नया आर्थिक मोडेलको स्थापनार्थ थियो । देङलाई थाहा थियो , १ अरब भन्दा विशाल जनसंख्या बोकेको विशाल चीनलाई नियन्त्रणमा राखेर एकोहोरो विकासको बाटोमा हिँडाउन कम्युनिष्ट एकाधिकार र १ करोडको ( २५ देखि ५० लाखको पिएलए नामक सेना, पुलिस , र अन्य गार्डहरू ) संख्यामा रहेका लालसेना ( रेड गार्ड वा पिएलए , नेपालमा माओवादीले पनि यही नाम दिएको छ आफ्नो लाडाकूलाई ) नामको सैन्य नियन्त्रणमा सुरक्षित शान्तिमा मात्र सम्भव छ। फलत: ,विकासका लागि शान्ति र शान्तिकालागि राजनैतिक तानाशाहीको मार्ग मात्र सही ठहर्याइयो। स्मरण गर्नु पर्ने कुरा के हो भने , देङ सियाओ पिङको मार्गचित्रमा अघि बढेको वर्तमान चीनले अबलम्बन गरेको राज्यव्यवस्था सम्बन्धी राजनीतिक अभ्यास त्यही कम्युनिष्ट विचारको मातहत पूर्ण नियन्त्रित र निर्देशित छ भने, उसले आर्थिक प्रगति गर्नका लागि पूँजीवादी शैलिलाई अपनाएको छ । अर्को शब्दमा , अहिलेको चीनको राजनीति कम्युनिज्म र अर्थनीति पूँजिवादको सम्मीश्रित रूप हो । यस्तो मोडेलको राजनीतिमा, मुलुकको राजनीतिको एकाधिकार कम्युनिष्ट पार्टीको एकल छत्रछायामा मौलाउँछ । सेना, प्रहरी, अदालत, प्रशासन ,कानून , सरकार र समग्र मुलुक नै कम्युनिष्ट पार्टीको निर्देशनमा काम गर्नु पर्ने यस्तो राजनैतिक प्रणालीलाई पश्चिमा उदारवादी शासनप्रणालीका मुलुकहरूले अक्सर एकाधिकारवादी तानाशाही राज्यतन्त्र भएकाहरू को सूचिमा राख्ने गरेको पाइन्छ ।
यहाँनेर एउटा उदाहरण उल्लेख ग्रनु उपयुक्त लाग्यो । गत महिना चीनिया सेना प्रमुख फू क्वानयुले दिएको एउटा वक्तव्यलाई आधार मान्न सकिन्छ । तियानेनमेन चोकमा २० वर्ष अघि भएको बिद्रोह दमनको वार्षिकी मनाउन हुनसक्ने गडबडीलाई इङ्गित गर्दै सेना चिफले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेर भने “ हाम्रो विशाल सेना , चिनिया कम्युनिष्ट पार्टीकालागि जुनसुकै मूल्य चुकाउन तयार छ” । पश्चिमी उदारवादी राजनैतिक दर्शन र अभ्यास अनुसार, पार्टी वा दलहरू मुलुकका पर्यायवाची हुनै सक्दैनन् । मुलुकको सेनाले कुनै पार्टीका लागि जुसुकै मूल्य चुकाउने वाचा गर्नु त्यहाँ उदेक लाग्दो मानिन्छ। पार्टी त हराएर जान सक्छन्, सरकार पतन हुन सक्छन् र नया विचारले नया निर्माण हुन पनि सक्छन् , तर मुलुकको अस्तित्व पार्टी र सरकारभन्दा भिन्दै विशिष्ट हुने ठानिन्छ । सेना, अदालत, पुलिस, र प्रशासनको वफादारी मुलुक जनताप्रति हुनुपर्छ कुनै दल विशेषप्रति हैन भन्ने विचार यो उदारवादी राज्यतन्त्रका हिमायतीहरूको सामान्य बुझाइ हुने गर्छ ।
नेपाली माओवादीले भने आफ्नो राजनीतिक मोडेल यही चिनीया वा कम्युनिष्ट शैलिको हुनेछ भन्ने कुराको खुलासा हालै आफ्नो दलको विस्तारित केन्द्रीय समितिले जारी गरेका निर्णयहरू मार्फत उजागर गरेकाछन् । यो भन्दा पहिला पनि उनीहरूको प्रस्तावित संविधानको खाकाले त्यताप्रतिको आसक्ति देखाएको भएपनि अलिक अवसरवादी बनेर यता कि उता हुने भन्ने कुरामा द्विविधा नदेखाएको हैन । तर , माओवादीले खोजेको जस्तो राज्यको व्यवस्थापकीय स्वरूपका बारेमा जारी गरिएको यो नया अवधारणा, कम्युनिष्ट राज्यतन्त्रको जनवादी केन्द्रीयताको सिद्दान्त अनुरूप भएको पाइएको छ , जुन विशेष गरी पश्चिमी देशहरुमा अपनाइएको विश्वमान्य लोकतन्त्रका सिद्दान्तसंग धेरै मात्रामा बिमति राख्छ । प्रचारमा आए अनुसार राज्यको शासकीय स्वरूपका बारेमा माओवादीले गरेको प्रस्तावमा निम्नलिखित मुख्य विशेषता हुनेछन् ।
१) देशमा एक जनप्रतिनिधिसभा ( चीनको पिपल्स कंग्रेसको अनुवाद) रहनेछ र यसले एउटा सर्वधिकार प्राप्त राष्ट्रपति मण्डलको ( इरानको गार्जियन काउञ्सिल कि कम्युनिष्ट पार्टीको पोलिट व्यूरो वा त्यस्तै मुलुकको प्रेसिडियम ? ) छनोट गर्नेछ । साथै कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति पनि व्यवस्थापिकाले छनोट गर्नेछ । ( कम्युनिष्ट मुलुकमा बाहेक अन्य मुलुकको कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ । साथै अमेरिका र फ्रान्स जस्ता विकसित पश्चिमा मुलुक बाहेक कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय प्रणाली भएका मुलुकहरू अपवादबाहेक तानाशाही बाटोमा लागेका उदाहरण प्रसस्त भेटिन्छन् । यही व्यवस्था बोकेका क्यूवा र उत्तर कोरियाले त आजीवन राष्ट्रपतिले नपुगेर , भाइ , छोरा र नातीमा राषट्रपतीय प्रणालीलाई हस्तारण गराउँदै नवकम्युनिष्ट राजतन्त्र कायम गरेको पनि देखिएकै छ क्यारे ! )
२) अदालत र सेना सबै व्यवस्थापिका कै मातहतमा हुनेछन् ( शक्ति पृथकीकरको सिद्दान्तलाई पूर्णत हटाइनेछ र कम्युनिष्ट मुलुकको व्यवहार अपनाइनेछ ) ।
३) सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीको बहुदलीयतालाई मात्र स्वीकार गरिनेछ ( मतलब, कम्युनिष्ट पार्टी मातहतको अदालतले आवश्यक ठानेका दललाई सामन्तवाद वा साम्राज्यवादका पक्षपोषक ठानी प्रतिवन्धित गर्नेछ , जस्तो कि कम्युनिष्ट मुलुकको बहुदलियता हुने गर्छ)।
४) जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सरकारमा प्रतिनिधित्व हुनेछ र व्यवस्थापिका विपक्षीबिहीन हुनेछ ।
( यस्तो व्यवस्था अन्त पनि छ जस्तो कि दक्षिण अफ्रिका जहाँ १०% भन्दा बढी मत ल्याउने दलबाट उपराष्ट्रपति र मत प्रतिशत अनुसार अरू दलहरूलाई मन्त्री बनाइने चलन छ । मेलमिलापको राजनितिका लागि यो राम्रो हुन पनि सक्छ तर आँफूले इच्छाएकाले मात्र दल खोजेर राजनीति गर्न पाउने र तिनै दलहरू मात्र दूधको सांक्षी बिरालो जस्तो सरकारमा सर्वसम्मत सहभागितामा रमाउने हो भने यो पनि वर्ग संगठनको निर्दलीय पञ्चायति व्यवस्था जस्तै नेपाली माटो सुहाउँदो व्यवस्थातर्फको यात्रा त हुने हैन ? कि चीनमा जस्तो उही कम्युनिष्ट पार्टीका बिभिन्न भ्रातृसंगठनहरू लाई राजनीतिक दलको रूपमा मान्यता दिएर तिनको प्रतिनिधित्वलाई बहुदलीयताको नाम दिन खोजिएको पो हो कि ! )
राज्यको शासकीय स्वरूप कस्तो हुने वा हुनुपर्ने हो त्यस सम्बन्धी बहस र मन्थन हुनुपर्ने भन्दा एकदमै थोरै भैरहेको जस्तो लागेको छ । यो त्यति हल्का फुल्का विषय पनि हैन र यही कुरामा मुलुकका कम्तिमा पनि आगामी केही दशकहरू र केही पुस्ताको भविष्य र भाग्य कैद बन्नेछ । हाम्रै निकट भविष्य नियन्त्रणमा लिन सक्ने यस्तो गम्भीर विषयमा राजनैतिक दलहरू नै नदारद रहेको यो घडीमा जनताले व्यक्तिगत रूपमा चिन्ता लिएर पनि केही फरक पर्ने हैन । तर विज्ञहरूले यो विषयमा बहस चलाउने जमर्को सम्म नगरेको देख्दा , यस्तो गम्भीर मुद्दाको छिनोफानो पनि लहड कै भरमा हुने हो कि भन्ने छाँट देखिन्छ । हुनत, अहिलेको संविधानसभाको संरचना हेर्दा र त्यहाँ पुगेका मानव आकृतिहरू मध्ये कतिले यस्तो महत्वको कुरा बुझ्ने सामर्थ्य राख्लान् त्यो नै सोचनीय कुरा छ । माओवादीले त आफ्नो राज्य मोडेल प्रस्तुत गरेर , आँफ्नो परिचय र उद्देश्य दर्शाउन हिचकिचाहट देखाएन। अरूको यस मामिलामा गृहकार्य के भैरहेको छ थाहा पाइएको पनि छैन । हामी नेपालीले वि. सं. १९९७ सालको शहीद काण्डदेखि हरेक दश वर्षमा लड्ने गरेका आन्दोलन र क्रान्तिको शृङखलामा यो पछिल्लो कडीको क्रान्ति , आन्दोलन , संविधानसभाको निर्वाचन अनि राजतन्त्रको उन्मूलन पश्चातको परिदृश्यमा खोज्दै गरेको शासकीय स्वरूप कस्तो हो त ? हामी प्रष्ट छौँ ? सही जवाफ कसले खोज्ने ? कस्तो हो त मुलुकलाई चाहिएको शासन व्यवस्था जसले तय गरेको बाटोमा हिँडेर हाम्रा असंख्य आकांक्षाहरू सम्बोधन होलान् ? देश त हामी सबैको हो नि ! त्यसैले आउनूस् हामीलाई कस्तो शासन व्यवस्था चाहिएको हो त्यसमा बहस गरौँ, नत्र बेला घर्किएला !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 2, 2009
इच्चाहरुसंगै कैदी भएँ
इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ
पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।
बोल्न त बोल्छु त र बोलीको औचित्य छैन
मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।
पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं
बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।
आवरण सुन्दर छ,बोली पनि मधुर नै छ
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।
(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
खल्ति कि प्रवृत्ति ? कि लँगौटी ?
Nepal bans airline staff pockets
Staff at Nepal's main international airport are to be issued with trousers without pockets, in an attempt to wipe out rampant bribe-taking. Officials said there were growing reports of bribe-taking at the airport The country's anti-corruption body said there had been growing complaints about staff at Kathmandu's Tribhuvan airport. A spokesman said trousers without pockets would help the authorities "curb the irregularities".
स्रोत: http://news.bbc.co.uk/2/hi/south_asia/8126110.stm
ओरालो लागेका मृगलाई बाच्छाले पनि लखेट्छ भन्छन् । मुलुक हत्या, अपहरण, फिरौति असुली, दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले घाँटीसम्म डुबिसक्यो । राजनीतिको जोड घटाउमा माहिर हाम्रा देशका भक्षक खेलाडीलाई अरू केही कुराको चासो हुने कुरै भएन ।
देशमा कानून छ , कानूनका मठाधीशहरू कसरी पैसा र प्रभावका बलमा कानूनलाई फूटबल झैँ प्रहार गर्न सकिन्छ , कलाबाजी सिकाउँछन् । देशमा पुलिस छ , कसरी अपराधलाई लुकाउने र अपराधीलाई उम्काउने सूत्रहरूको लिलाम बढाबढ गर्छन् । देशमा जनताको करले पालिएको ठूलो संख्यामा कथित राष्ट्रसेवी कर्मचारी छन् , जसले अड्डा र अफिसमा बल्छि थापेर हात र मुखको जोहो गर्न उपाय खोजी गरिरहेका निरिह जनताको बाटो ढुकेर ढडिया भर्छन् । देशमा राजनीतिक दल छन् , जसले जनतालाई ‘बाँच्ने होस् भने भोट दे’ भनेरै लोकतन्त्रको श्राद्द गर्छन् । देशमा प्रसासन र सरकार छ , जसले त्यहाँ पुग्न पाएको नै जनतालाई झिरले रोपेर तिनको शरीरबाट रगतका थोपा निचोरेर असूल्नु हो भन्ने रावण बुझाइ राख्छ। यस्तो मुलुकको अख्तियार दुरूपयोग नामको नियोगबाट कता न राम्रो गर्नलाई भएको हो कि झैँ गरी एउटा उट्पट्याङ् आदेश आयो “ एयरपोर्टमा हुने भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ति भएका लुगा लगाउन नदिने” ।
कस्तो निम्न बुद्दि ब्रष्टाचार रोक्न बसेको सेतो हात्ति अख्तियारको ? यो कस्तो बुद्दि हो ? कस्तो उपाय फुरेको हो मान्छेका मगजमा, तो पनि यति बिघ्न उच्च तहमा बस्नेहरूको ? भ्रष्टाचार खल्तिले गर्ने हो ? त्यसो हो भने त सर्वाङ्ग नंग्याएर राख्दा राम्रो होला नि !
अख्तियार नामको यो पाखण्डी आयोगका जमातहरूले यस्तो हास्यास्पद निर्णय गर्नु पूर्व , यस्तो समाचार अन्तर्राष्ट्रिय मिडियामा पुग्दा देशको बद्नाम कुन ढंगले होला भनेर सोच्न पनि नसक्नु आँफैमा उदेक लाग्दो छ । कानून , व्यवस्थाको ह्रास र दण्डहीनताको तो कुरै छोडौँ , मुलुकमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भ्रष्टाचारको समाचारलाई खल्तिबिनाको पहिरन मार्फत रोक्न खोजेर अख्क्तियारले, कर्मचारीलाई खल्तिबिहीन बनायो बनाएन थाहा भएन ,तर नेपाललाई पहिरनबिहीन निर्लज्ज भने पार्यो नै । हैन यो देशमा सन्तुलित दिमागधारी मान्छे नै बाँकि रहेन्न कि कसो हो ? किन हामिले गर्ने हरेक काम र कुरा हरूका लागि परिहासका कथा बन्न पुग्छन् ?
भ्रष्टाचार र घूषखोरी हाम्रो जीवनको अभिन्न प्राण बनिसक्यो । यसलाई हटाउने हो भने हाम्रो प्रवृत्ति सुध्रिनु पर्ने हो । हैनभने विमानस्थलमा लगौँटी मात्र लगाएका कर्मचारी पठाएरै पनि , स्थति सुध्रिन्छ भन्ने कामना कसैले गरेको छैन। खल्ति नभएका कपडा लगाएर भ्रष्टाचार रोकिन्छ भने मुलुकभर पाकेट र झोलामा प्रतिवन्ध लगाउने कानून बनाउँदा पनि हुन्थ्यो ! तर कस्तो बुद्दि दिमागमा बोकेको जिमराजले यसो गर्दा भ्रष्टाचार हुन्न भन्ने सोचेर यस्तो निर्णय गराएको होला ? यसो गर्दा विमानस्थलमा हुने भ्रष्टाचारको कुरामा एक थोपो सुधार त पक्कै आएन होला तर , यो समाचार अष्ट्रेलियादेखि बेलायत र संसारभरिका मिडियमा , एउटा मजाकिया खबरको रुपमा छरिँदा हाम्रो एक मात्र अन्तर्रष्ट्रिय विमनास्थलको बिजोग कहानी छताछुल्ल भने अख्तियारले बनाएरै छोड्यो । घूसखोरीको कारक खल्तिमा भेट्टाएर, अख्तियारवालाले आफ्नो पंगूपनको परिचय बाहेक केही देखाएनन् बरू वास्तविक समस्यामा कुनै असर नै नहुने यस्तो स्थितिमा, ‘हगाइ भन्दा पदाइ’ ठूलो हुने झै गरी , भ्रष्टाचार कम गराउन यस्तो २ पैसे बुद्दिको उपाय सुझाएर , अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जतीको यो तमाशा गराउने अख्तियारवाला हरूलाई उनीहरूको लाज छोप्न लगौँटी उपहार दिने हो कि !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 1, 2009
देश बेच्ने पार्टि रित रैछ
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।
भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टि रित रैछ ॥
सुमन बगाले आबुँ खैरेनी तनहुँ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 30, 2009
साझा, माइसन्सार र दौतरी
(लौ कोही आउनुभएन, हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )
आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।
साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ, शिरीष, शिवप्रकाश, गोतामे लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । लेख प्रकाशित नभएर रिसाएर ब्यथा पोखेको होइन, मित्रजन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर त्यों संसारले राजनीतिको बिल्लाको भरमा उसका पक्ष-पोसकहरुको "पूजा" मात्रै सुन्न थाल्यो र हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । अझ भक्तिभाबमा लेखिएका सामाग्रीहरु प्रतिका हाम्रा कमेंटहरु पनी डिलीट भए । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउन आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।
कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।
राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र मैले ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।
माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चंद्रमामा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण र झसका हो भन्दा अनुपयुक्त नहोला । उनले हेपे पनी उनी हाम्रा साख्खे भाई हुन । हामीमा त्यति ममता छ, जून ममता दौतरी मार्फ़त हामी सबैले दर्शाउदै आएका छौ ।
आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेखहरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको बिसर्जनका खातिर । सामाजिक आवाज बुलंद गर्न हजारौ ब्लगरहरू "आफ्नै संसार" लिएर /भएर मुखरित भएका छन ।
पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार । सबैका हातबाट लेखिएका ति भावनाहरू, बेदनाहरु अनि परदेशिका आवाजहरू एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि अबश्य फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 29, 2009
देऊ !
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देऊ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
नहुनेहो मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
मात्र टुट्यो, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासीदेऊ
फाटेको हो मनमा धाजा भने, निस्ठुरी बन, मेरो दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ......!!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हामीमा क्रुरता पुगेन रे
हुल र जमात कै कुरा गर्दा हाल सालै समाचार छापामा छाएको कुरा गर्न मन लाग्यो। नेपालमा म्रित्युदण्ड चाहियो रे। शुरुमा मृत्युदण्डको कुरा साझामा देखें। लाग्यो कुन चाही बियरले मातेर साझामा हौवा फिजाउदै छ। त्यस पछि केही ब्लगहरुमा देखे। लाग्यो हावा त लागेकै रहैछ र पो पात हल्दिंदै छ। तर सोचें कुन नया नेपालका ठेकदार रहेछन मृत्युदण्डको वकालत गर्ने। साच्चै भन्नु पर्दा आजकाल आफुलाइ नया नेपालको गोठालो जस्तो लाग्छ। नया नेपाल मेरो लागी कालो अक्षर भैसी बराबर छ। कांग्रेस एमालेले २०४७ मा संबिधान बनाए। अहिले संबिधान सभाको चुनाव गराएर तिनै पून नया संबिधान बनाउन कस्सिएका छन। धरोधर्म यो किस्ताबन्दी रुपमा संबिधान किन बनाइन्छ मैले बुझेको भए मार्दिउं। तर यो किस्ता बन्दी संबिधान कुनै बेलाका बम्पर योजना जस्तै भएको छ। बम्पर उपाहारको टिकेट बेचेर चिठ्ठा नै नखोली फरार भए जस्तै नेताहरु संबिधान नै नबनाइ हराउलान जस्तो छ। अब यो म्रत्युदण्डको वकालत गर्ने हुलले चाही के गर्ने हो कुन्नी ?
गएको आइतबार एक जना मित्रको बिहेमा जन्ती जाने मौका मिल्यो। बेहुला बेहुली जगिएमा ब्यस्त भए पछि एउटा कुनामा सानो जमात बनाएर हामीलाइ गफमा ब्यस्त तुलायौं। गफ के १० मिनेट अगाडी बढेको थियो, मेरै छेउका मित्र कुर्लिए नेपालमा मृत्युदण्ड चाहिन्छ। भगवानको क्रिपा पनि ठुलै रहेछ। नेपालमा म्रित्युदण्डको मागलाइ हौवा मान्ने म मेरै अगाडी मृत्युदण्ड माग गर्ने नया नेपालका एक मिस्त्रीको दर्शन मिल्यो। तिनी मिस्त्रीलाइ शिर देखी पाउसम्म हेरें। खेरौ छला भएका लिखुरे अनि पेट पूक्क बहिर निक्लेको नेपाली नभए पनि नेपाली नै देखिने ५ फुट ५ इन्चका मर्द खडा थिए। लाग्छ मृत्युदण्ड माग्ने जुलुशबाट टपक्क टिपेर कसैले जन्त पठाए जस्तो।
मेरै सामिप्यमा भएका मित्रको बेकुफ दर्शन सुन्दा मैले सिधै भने,नो नो नो नो नो। तपाइ मान्छे भएर अमान्छे कुरा गर्दै हुनुहुन्छ। कसैको जिबन लिने तपाइसंग केही अधिकार छैन। उनीले मेरो बोली काटे,ख्याती जस्तो एउटा निर्दोष बिध्धार्थीलाइ क्रुरतापूर्बक मार्नेलाइ मृत्युदण्ड चाहिन्छ। प्रजातन्त्रको नं एक देश अमेरिका मै हेरौं न। उनले सिधै आफ्नो बिचारको बलियो दलिन तेर्साय। मेरो छेउको अर्का मित्रे भने ओबामाले २३ वटा गलत मृत्युदण्ड सच्चाएको तपाइला थाहा छ? ति नया नेपालका मिस्त्री चुप लागे। मैले तिनीलाइ सिधै भने उपेन्द्र महतोको बाउ राम आशिस महतोले १५ बर्षकी नानीलाइ हातपात गर्दा प्रहरी प्रशासनले बचाएर लुकाउंदा केही नबोल्ने अनि ख्याती श्रेष्ठलाइ मार्दा मृत्युदण्ड चाहिने? भएको कानुन लागु गर्नुछैन तपाइ कसरी नया कानुन पालनाको ग्यारेन्टी गर्नुहुन्छ? कहीं एउटा मान्छेको लागी नया कानुन बनाउने पनि काइदा हो? तपाइको घरमा खाना छैन चामलको बन्दोबस्त गर्नुहोस मासुखाने सपना त्यागीदिनुहोस,मैले यसरी नै भने।
यिनी नया नेपालका पक्का मिस्त्री रहेछन,उनीले मृत्युदण्डको बलियो आब्श्यक्ता त भनेनन तर अब नेपालमा मृत्युदण्ड चाहिन्छ चाहिन्छ भनेर दो्र्हाए। नया नेपालको एक गोठालो म अबाक भएं। के गर्न,उनको पनि एकै भोट हो मेरो पनि एकै भोट हो। उनीले नया बिचार दिए मैले दिइन। नया नेपालमा सुनुवाइ उनकै बढ्ता हुन्छ किनकी उनकै बोलीमा नयापन छ।
आमजनताले के भन्छन कुन्नी। तर आमजनताको चाहानाको त मतलब कांहा छ र? पार्टीका टाउकेले जे चाह्यो त्यो नै आमजनताको चाहना हुन्छ। हेरौं यो मृत्युदण्डको माग कता पुग्छ?यदी नेपालमा मृत्युदण्डको शुरुवात गरे त्यो केबल आफ्नो बिरोधीको सफाया गर्ने माध्यम बन्नेछ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तिम्रो आगमन
झन् तिम्रो आगमन ले
उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् ।
सुनसान यो साँझमा
कुन गर्भवाट निस्कन्छौ,
तिमी सन्नाटालाई चिर्दै ।
घाम डुब्न लाग्यो हेरन ,सायद
त्यसैको लाली चोरेर आयौ कि
गाढा ओठ टोक्दै ।
झ्याउँकिरीको साम्राज्य छाइसक्यो
नदीको सुस्केरा लिँदै भन्छौ
केही मिठो वात गर न ।
झकमक्क झकमकाए ताराहरु
त्यै चम्किलो तिम्रो भागमा
टिप्ने जिद्दी छाडिद्यौ न ।
कालोरात छिप्पीसकेछ हेरन
अंन्धकारमा हरायौ तिमी
मिठो सपना सँगै ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दौंतरी यात्रा र एक हजारौं पोष्ट
यस पटक केहि कुरा दौंतरीकै बारेमा लेख्न मन लाग्यो ।
२००७ को अक्टोबर महिनाको कुरा हो, साझामा विविध विषयमा छलफल हुँदा-हुँदै, अचानक केहि दौंतरीहरुलाई, यो अरुले लेखेको कुरामा नकारात्मक कमेण्ट गरेर र यसो भएन वा त्यसो भएन भनेर दोष दिनु भन्दा आफैंले पनि सकारात्मक शुरुवात लिएर केहि गरौं भन्ने जोस आयो । हुन पनि हो, गलत कार्यको विरोध गर्नेमै सेलाउने उर्जालाई आफैं सहि कार्यमा खर्चनु भन्दा रचनात्मक कुरा अरु कुनै थिएन र छैन पनि ।
अनी त्यो सकारत्मक शुरुवातकोलागि जोस्याउने र जोस्सीनेमा आफू पनि परेकोले करिव करिव शुरु देखी नै दौंतरीमा जानी-नजानी आफ्नो कलम चलाउँदै आएको छु ।
रमाईलो कुरा के भने, ब्लग शुरु गरेपछि भने साझामा भेटीने साथीहरु को कता हुनुहुन्छ र के कस्तो क्षेत्रमा सामेल हुनुहुन्छ भन्ने एक-आपसमा पनि कसैलाई थाह नभएकोले शुरुका केहि समय सर-सल्लाह र विचार आदान-प्रदान गर्न अलिकता अलमल पनि भयो । त्यत्तिकैमा नेपालियनजीले अक्टोबर ७ मा Welcome शीर्षकको पहिलो टाँसो टाँसेर दौंतरीको शुरुवात गरिदिनु भयो र म लगाएत साझामा वहसमा सामेल हुने सबै साथिहरुलाई दौंतरीमा लेख्न निम्तो पनि पठाउनु भयो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने दौंतरी जन्मेको दोश्रो दिन अर्थात अक्टोबर ८ मा मेरो पहिलो पोष्ट स्वतन्त्रता र स्वछन्दता दौंतरीमा टाँसीएको थियो ।
गएको सप्ताहअन्तमा चाहिने भन्दा बढि फुर्सद भएकोले करिब २ बर्ष पहिला छापिएका शुरुवातका केहि पोष्टहरु पढें, पुराना यादहरु ताजा भए र निक्कै रमाईलो पनि लाग्यो। अचानक मेरो ध्यान पोष्टको संख्यामा गयो, त्यतिबेला दौंतरीमा छापीई सकेका पोष्टको संख्या ९५० भन्दा बढि भैसकेका थिए । हुन त संख्या मात्रै प्रगतीको सूचक हैन, तर यो विचार आदान- प्रदानको श्रृखंला, यो पोष्ट छापीदाँसम्मको हिसाब गर्ने हो भने ९६९ हुनेछ, जुन आशलाग्दो कुरा भने पक्कै पनि हो नै ।
संसारभरी छरिएर रहेका र देशलाई माया गर्ने नेपालीहरुको साझा अभिव्यक्तिको स्थल बनाउने सोचका साथ शुरु गरिएको यो ब्लगले गर्नु पर्ने धेरै बाँकि छ र यसका अगाडि चुनौतीहरु पनि छन। तर कुनै वाद विशेष वा गुटको लागि नलेख्ने र समष्टीमा नेपालीहरुको साझा अभिव्यक्तिको थलो बन्ने हिसाबमा प्रतेक दिन ५०० जना भन्दा बढि आगन्तुको आगमन हुनुलाई पनि मैले भने शुरुवाती शुभ सूचककै रुपमा लिएको छु ।
पोष्ट लेखीने र छापिने औसत दरलाई हेर्ने हो भने आजको करिव तीन हप्ताको अबधिमा दौंतरीले १००० पोष्ट नाघ्ने छ । सो को गन्ती गर्न आजैबाट मैले साईडबारमा एउटा सानो ‘दौंतरी कोसे ढुङगा’ भन्ने सूचकांङ्क राखेको छु, हेर्दै गर्नुहोला । अन्य दौतरी साथीहरु र कमेण्ट मात्रै लेख्ने वा पढ्ने मात्रै साथीहरुलाई पनि आफ्नो बिचार र रचना दौंतरीमा प्रेषीत गर्न म स्वागतका साथ आह्वान गर्छु । शुरुकै पोष्टमा नेपालियनजीले लेख्नु भए जस्तै दौंतरी लेख्ने र पढ्नेको समुह भएकोले कोहि पनि यसमा संलग्न हुन र बिचार राख्न सक्छन ।
दौंतरी १००० पोष्टको संघारमा पुगेको यस घडीमा, यसका सबै सहयात्री साथिहरु र विशेषगरी नेपालियनजीलाई वहाँको अथक परिश्रम र लगनकोलागि म हामी सबैको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
सम्पूर्ण लेखकवर्ग, सल्लाह सुझाव र कमेण्ट मार्फत मार्ग दर्शन गर्नुहुने पाठकहरुलाई पून एक पटक धन्यवाद भन्दै १००० औं पोष्ट ‘आफ्नो पोष्ट’ बनाउने मौका छोप्न समेत समयमै सूचीत गर्दैछु :)। हेर्दै गर्नुहोस, कसको पोष्ट ‘एक हजारौं पोष्ट’ हुन्छ !!!।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अल्बर्ट आइनस्टाइन, नयाँ नेपालका जयस्थिति मल्ल र अनन्त मुर्ख्याईको सिद्धान्त
"Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe."- Albert Einstein
मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ।
जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्ने हो, सोच्न सकिन्न।
एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ ।
अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्।
तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म ।
यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन ।
ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ ।
यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन।
पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ ।
अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 28, 2009
मैले पोखेको आसुँ
(अमेरिका )
मैले पोखेको आसुँ समेटी अन्जुली तिमीले भर्यौ
दोधारको यो जीवन सम्हाल्न अनेकौ प्रयास गर्यौ ........,
किन हत्ते हाल्यौ यो रुखो जीवनमा
बसन्त फुलाउछु भन्दै ,
म पनि खुशीले पागल नै भएछु
तिम्रो साथ पाउने दिन गन्दै ........,
मैले भोगेको पीडा सँगाली,मुटुमा मलाई सजायौ
मरेको यो मन बचाउनलाई,मलाई आफ्नो बनायौ .........,
किन झुट बन्यौ,आफ्नै मनसँग
मलाई साँचो बचन दिइ,
म पनि हर्षले बिभोर नै भएछु
तिम्रो हातको अम्रित पिइ................,
मैले पोखेको .............
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अरुले झै --
अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन
तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन
सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन
रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन
सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भो चाहिएन मलाई....मेरो खुशी खोस्ने कालो श्रावण!!
सफा मेरो मन
सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन
सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!
पुग्यो चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा निरन्तर
मेरो उज्यालो संसारको गला रेट्ने
तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ
हरेक पलमा माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहिन भएकाछन।
कति चोटी असह्य र वेदनाले
पोलेका स्वरहरु कराउन खोजे
किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला अनि
मेरो सृजनाको मिठो आवाज खोस्ने प्रयास गर्यो!
ए कालो बादल!
प्रीतिको नाम मा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्याटंग तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!
तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको छ
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरिरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जिवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
भो! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा सुभेक्षाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई...
मेरो खुशी खोस्ने कालो श्रावन!!
आश्मा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 27, 2009
ॐ शान्ति , शान्ति , शान्ति !!!
तीन पटक शान्तिपाठको अर्थ हो हाम्रो (१)भौतिक वा दैहिक (२) मानसिक वा वैचारिक अनि (३) आत्मिक शरीरका तहहरूमा शान्ति प्राप्तिको कामना । अध्यात्म दावा गर्छ , हामी प्रतेक व्यक्तिको अस्तित्वमा तीन वटा शरीरहरू विद्यमान छन्:
क) पहिलो हो, हाम्रो भौतिक वा दैहिक शरीर जुन रगत, हाड, मासु र कोषहरूले बनेको छ ।
ख)दोस्रो हो: मानसिक शरीर जसले हामीलाई हामी को हौँ भनेर सोच्न सक्ने बनाएको छ । हाम्रो सोच , विचार, भावना र कौतूहलता सबै मानसिक शरीरका कारण सम्भव भएको हो ।
ग) तेस्रो र महत्वपूर्ण शरीर हो आत्मिक शरीर । यो नै हाम्रो वास्तविक अस्तित्व पनि हो । भौतिक र मानसिक शरीरको अस्तित्व केवल आत्मिक शरीरका कारण सम्भव बनेको हो किनभने आत्मारहित हाम्रो देह केवल एउटा मूढो समान महत्वहीन छ ।
तर पनि सही र औचित्यपूर्ण मानव जीवन व्यतित गर्ने कुरा सम्भव पार्न हाम्रो शरीरका यी तीनवटै शरीरमा शान्ति हुनु आवश्यक छ । शान्तिप्रतिको निष्ठा र प्राप्तिले मात्र प्रेम र सद्भाव जस्ता सद्गूणहरूको उपलव्धि सम्भव छ । ईर्ष्या, घृणा, घमण्ड र स्वार्थ जस्ता पाशविक प्रवृत्ति र दूर्गुणहरू मानवीय गुणहरू हैनन् र यिनका कारण हामी हाम्रो व्यक्तित्व र समाजलाई तुच्छ र निकृष्ट बनाइरहेका हुन्छौँ । प्रेम, सत्यता र सच्चाइ वा इमान्दारिता जस्ता मानवीय गुणहरूलाई विस्तारित र व्यापक बनाउन सकेको खण्डमा हाम्रो समाजलाई हामीले शान्ति प्राप्तिको लक्ष्यमा पुर्याउन सक्छौँ ।
वास्तवमा युद्द र हिंसाको कुनै वास्तविक कारण अत्यन्त सुक्ष्म मात्र हुन्छ रे ! जस्तो कि नदीको मुहानमा सानो जरूवा वा मूलको स्रोत भए जस्तो । यिनै साना मुहानहरू समथर फाँटमा पुग्दा विशाल नदीको रूपमा विस्तारित बन्ने हुन । क्षमाशील मानवहरू र मनोमालिन्यता र झगडालाई अगाडि बढाउनचाहन्नन् । यसरी कैयौँ भोलिका सम्भावित डरलाग्दा युद्दहरू बेलैमा पञ्छाउन उनीहरूले भूमिका खेलेका हुन्छन् । तर पनि कुनै न कुनै बहाना खोजेर मान्छे भित्रको दुष्ट्याइँ र अमानुष प्रवृत्तिले हिंसा , युद्द र विनाशको हरदम खोजी पनि साथसाथै गरिरहेको हुन्छ ।
दार्शनिकहरूले हजारौँ वर्षको मानव इतिहासलाई केलाउँदा पाएको मानवीय सोच र व्यवहार सम्बन्धी अध्ययनले के भेट्याएको छ भने, हामीले सिर्जना गर्ने युद्द र हिंसाहरू हाम्रो मानसपटलमा नियमित रूपमा चलायमान रहने अस्थिर र नकारात्मक प्रवृत्तिहरूको विष्फोट मात्र हो । अथवा , मानवीय संयम र विवेकले हाम्रा नकारात्मक आकांक्षाहरू उपर सदैव नियन्त्रण राखिरहन सक्दैन फलत: हामी केही न केही उपद्रो गर्न तम्सिहाल्छौँ । हामीलाई लामो समयसम्म बसिरहेको खण्डमा ऊठ्न मन लाग्छ, उठिरहे बस्न वा हिँड्न मन लाग्ला, वा उफ्रिन वा पल्टिन मन लाग्न सक्छ । हामीलाई लामो समयसम्म एकोहोरो परिस्थिति सुखद नै भएपनि रमाईलो लागिरहन्न , परिवर्तन चाहिन्छ । शान्तिपूर्ण जीवन व्यतित गरेकाकहरू पनि निरन्तर केही न केही कुराको खोजीमा हुन्छन् अनि अभाव र अप्ठ्यारोमा दिन बाँचेकाहरूलाई त स्वाभाविक बेचैनी हुने नै भयो । अनि कमजोड र सापेक्षिक असमर्थहरुलाई त सदैव अरूले पाएको सुख र राम्रो जीवनप्रति ईर्ष्या र वैमनस्यता पनि स्वाभाविक रूपमा मनमा रहिरहन्छ ।
मान्छेले आँफूलाई संयममा राख्न सकेन भने ऊ बढी आत्मकेन्द्रित , स्वार्थी र संकृण विचारको नियन्त्रणमा पुग्न सक्छ किनभने यस खालका नकारात्मक सोचहरू व्यक्तिको स्वाभावका अभिन्न विसेषता नै हुन । व्यक्तिले सोच्छ- केवल उसका विचार मात्र असल र उचित हुन् । यो सोच समष्टिमा पुग्दा समाज, दल, वा मुलुक नै विषाक्त गुणको भागी बन्छ । यो दृष्टिदोष वा भ्रमले व्यक्तिलाई अरूको दृष्टिकोणबाट पनि जीवन र जगतलाई हेरिनुपर्छ भन्ने सोचमा विराम लगाइदिने हुनाले व्यक्ति र समाजहरू आफ्नो कुरामा अरूले असहमति राख्दा सहिष्णु बनेर कुराको अर्को पाटो पनि हुनसक्छ भनेर सोच्न सक्दैनन् । यस्तै सोच वैयक्तिकबाट क्रमश: सामूहिक बन्न जाँदा र यसको फलस्वरूप व्यक्ति वा समूहले आफ्नो जस्तै सोच नराख्ने उपर आफ्नो सोच र व्यवहार लाद्न खोज्दा असहमति, द्वन्द , झगडा र युद्दहरू उत्पन्न हुने गर्छन । तर अपशोष, युद्दहरू कहिलै समाधान बन्न भने सक्दैनन् । हिंसा र युद्दमा एकपटक संलग्न समाज र राज्यहरू आँफूलाई अन्याय परेको छ भन्ने दावाका साथ बदला वा प्रतिशोधको बाटोमा लागिरहने हुनाले , शान्ति र समभावको सुखद समाधानमा उत्निन सकिरहेका छैनन् । शान्तिको अभावमा सभ्यता, समुन्नति र विकास सँधै अधमरो रूपमा थिलथिलो रहिरहन्छ । अनि यो नशाको रूपमा पुस्ता दरपुस्ता हस्तान्तरित हुँदै जाने खतरा यसको डरलाग्दो पक्ष हो ।
शान्ति र समन्वय त्यो आधार हो जसको जगमा सबै समुन्नति र सुखको संसार अडेको हुन्छ । मूलत: यो एउटा भावना नै हो - मष्तिष्कजन्य वा मानसिक, भौतिकता भन्दा पर । वास्तिक शान्ति एकले अर्काको अस्तित्वलाई स्वीकारेर अघि बढ्नुमा छ । विचार र सोचहरू धेरैजसो आँफैमा खोटो हुँदैनन् तर तिनको व्यख्या र अँगाल्दा अपनाइने घमण्डी र असहिष्णु सोचमा र तिनले उत्पन्न गर्ने दूर्गुणहरूमा अशान्ति निहित छ ।
परिवर्तन र संक्रमणको चौबाटोमा खडा हाम्रो देश नेपाललाई शान्ति, प्रगति र समुन्नतिको अत्यन्त खाँचो छ । तर यसो हुन नसक्नुको कारक हामी स्वयंसंग विद्यमान छ । हामीले व्यक्ति , समूह, जात , क्षेत्र, राजनैतिक विचारहरु को विविधता बीचबाट पनि अधिकतम राम्रा सोचहरुको मुनाहरूलाई हुर्काउन सक्नु पर्ने हो । पृथक विचार र व्यवहारमा पनि सर्वमान्य आदर्श र कर्ममा बिमति हुनु पर्ने कुनै कारण देखिन्न । सच्चा मनले प्रयत्न गरेमा , हाम्रा अप्ठ्याराहरू को समाधान नहुने कुरै छैन । तर हरेकले नराम्रो कुराको दोष अरुमाथि थोपरेर , हिंसा , ध्वंस र परपीडाबाट नया नेपाल बन्छ भन्ने सोच राख्ने हो भने यो क्षतिको कुनै अन्त्य छैन । नराम्रो र राम्रो विचार र दलका कारण हैन त्यो कर्म र त्यसले दिने परिणाममा खोजिने प्रवृत्ति बन्नु पर्छ । बाँकि संसार २१ औँ शताव्दिका उपलव्धि र चुनैतिका समाधान खोजिरहँदा हामी भने बाँकि सभ्य संसारले १७,१८ औँ शताव्दिमा नै टुंग्याएका विषय र मुद्दाहरुको दलदलमा अल्झिएर आक्रोस र उन्मादको रोमाञ्चक क्रान्तिकारितामा नै सँधै रमाइरहेका छौँ । शान्तिको झूटो बहानामा आफ्ना स्वार्थी पेटाराहरू भर्न अनि अशान्ति निर्माण गर्दै आँफै बलेर उज्यालोको झूटो आल्हादमा रमाइरहेकाछौँ । लाग्छ , शान्ति अझै धेरै पर छ । ॐ शान्ति, शान्ति, शान्ति !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हा… हा… हा… हा…
आधा रातमा एकजना जँड्याले घरमा फोन गर्छ:
“…म भर्खर बार बाट निस्केको त मेरो गाडीको ड्यास बोर्ड, स्टेरीङ, गीएर, कल्च, ब्रेक,सबै चोरीएछ, म अब आज घर आउन सक्दीन ।”
दस मिनेट पछी घरको फोनको घण्टी फेरी बज्छ र जँड्याले भन्छ:
‘ए ! म गाडी चलाएर घर आउँदैछु...’ “... म त गाडिको पछाडिको सिटमा पो रहेछु”
--------------- --------------------------- -----------------------
शिक्षक – ल भन तिमीहरु कहिल्यै चुरोट तान्छौ ?
बिद्यार्थीहरु – तान्दैनौं सर ।
शिक्षक – मांस, मदिरा खान्छौ?
बिद्यार्थीहरु – खाँदैनौं सर ।
शिक्षक – केटी जिस्क्याउने काम गर्छौ?
बिद्यार्थीहरु – गर्दैनौं सर ।
शिक्षक – जुवा, तास खेल्छौ ?
बिद्यार्थीहरु – खेल्दैनौं सर ।
शिक्षक – देशको लागि मर्न परे मर्छौ?
बिद्यार्थीहरु – मर्छौं सर....यस्तो जिन्दगी त बाँचेर पनि के गर्ने !
------------------- -------------------- -----------------------
एकजना उपदेशकले मद्यपानको बिरोधमा प्रवचन दिएर अन्तमा सोधे
मानौं, एउटा बाल्टीनमा पानी र अर्कोमा रक्सी राखेर एउटा गधालाई छाड्यो भने गधाले के खान्छ ?
श्रोता – “पानी!”
उपदेशक – “किन यस्तो हुन्छ ?”
श्रोता – “गधा त आखिर गधा नै हो नि !”
----------------- ------------------------- -------------------------
A notice board in pub:
“If you are drinking to forget your past, please pay in advance”
----------------- ----------------------------- ------------------
एकजना चोर, आधा रातमा एउटा मान्छेको घरमा चोर्न गएछ । डिजिटल सेफको मुनी उसले सानो नोट भेटेछ, जसमा लेखिएको थियो ‘यसको पासवर्ड १३४८३ हो’ ।
चोर दंग पर्दै नोटमा लेखिएकै नम्बर दबाउँछ, सो नम्बरका कारण अचानक सेक्युरिटी एलार्म बज्छ र चोर समातिन्छ। अचानक विपरीत स्थितिमा फस्दा चोर अलमल्ल पर्छ र बुदबुदाउँन थाल्छ : ‘…अब कोहि पनि मानिस भरोसा गर्न लाएक रहेनन !’
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 26, 2009
मैन बत्तिको प्रेमकथा
■ अशोक '' खलानको मान्छे''
फ्रान्क्फर्ट , जर्मनी
आँफै सल्किएर खाग भएकी त्यो मैन बत्तिमा
मलाई मेरी प्रियसीको प्रतिछाँया जस्तो लाग्छ
धपक्कै आफु जलेर खाग बन्दा सम्म अरुलाई उज्यालो दिने
त्यस्को पग्लिएको मैन मेरी प्रियसिको आशु लाग्छ
त्यसैले हर युगमा तड्पिने एक प्रेमी मध्य मेरो कथा बेग्लै लाग्छ
मलाई माफ गरिदेउ प्रियसी नलेख्नु थियो मैले तिम्रो कथा
तर आज धेरै बर्ष पछी प्रवाशमा मैन बत्ती बाल्दा
त्यस्को उज्यालो प्रकाशमा तिमी आईदिदा
म लालची बने तिमी सल्किएर दिप्त बनेकी कथा लेख्न
तिम्रो अमर त्याग हर युगको जोडीको भन्दा कम छैन
त्यसैले त तिम्रो सम्झनामा म भोट गएको मदन बन्छु
त्यसैले त तिम्रो प्रखाइमा म जल्दै गरेकी मालती देख्छु
हर युगमा एक अनन्त प्रेमी जन्मन्छन यस धर्तिमा
अनन्त आशु खस्छ त्यो जोडीको प्रेम कथामा
मुटुनै जिरिङ्ग हुने तिनिहरुको बेदनामा
नतमस्तक हुन्छ संसार ति जोडी को तडपमा
हो म तिम्रो तडपको कथा खोज्दै छु
तिमी जलेर खाग बनी अर्कोको बागमा सजिएको पिडा लेख्दै छु
मर्नु भन्दा गाह्रो त्यो बिबस्ताको बाटोहरु
आशु झार्नु भन्दा गाह्रो बाध्यताको हासोहरु
यो जलेकी मैन भन्दा पनि काठोर
अर्काको रातको छटपटी लाग्दो बास हरु
हो म तिम्रो सिरानी को आशु को बेथा खोज्दै छु
तिम्रो हासो भित्र लुकेको पिडा हेर्दै छु
मलाई माफ गरिदेउ मेरी प्रियशी यि मेरा भुल हरु
गल्ती सच्चाउने बाटो होइन गल्ती नदोहोराउने सन्कल्प हो
अबको युगमा मदनलाई एक्लै भोट नजाने आव्हान हो
अबको युगमा मँगले लाई नछुटाउने बाटो हो
मदन भोट जादा मुना उस्की थीई
तर म प्रावसीदा तिमी मेरी थिईनौ
त्यही गल्तिको त प्रयास्चित गर्दैछु
तिमीलाई एक्लै मैले जल्न छाडेको भन्दै छु
तिमी बिना कहाँ खुशी खोज्न सक्थे र म
तिमी बिना उज्यालो बन्थे र म
तिमी बिना कसरी पो पूर्ण हुन्थे र म
तिमी चादनी थियौ मेरो उज्यालोको
म त यात्री मात्र हुँ,तिमी पथ प्रदर्शक थियौ
म त तिम्रो पछी पछी हिडने डुलुवा थिए
तिमी मैन थियौ म त तिमीलाई जलाउने सलाई थिए
यही त विवशता थियो मेरो पहिले म जले
सँगै जल्न सकेनौ यही बाध्यता थियो
त्यसैले म डडिसक्दा तिमी रोहिरहेउ
धेरै बर्ष पछी आज मैन बत्ती सल्काउदा आँफै तिमी ले बुझायौ
.....
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - २१ (Nepali Gau Khane Katha)
गाउ भने सबै भन्दा पहिला उत्तर मिलाउने मनोजजी ले पाउनुभयो। अब गाउ माग्ने पालो बसन्तजी को।
----------------------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउं खाने कथा लिएर हाजिर भएको छु।
नली जत्रो डांठ नाङ्लाजत्रा पात;
सागरमा छैन, धर्तीमा छैन के हो त्यसको जात?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
के हामी भ्यागुता नै हौ ?, भेडा नै हौ ?
हामी नेपालीहरुको खुट्टा तान्ने प्रबृतीको एउटा सानो कथा नै बनेको छ कि भ्यागुता को उपमा , धेरै लाई थाहा पनि भएको त्यो कथा साच्चीकै चोटिलो सत्य साबित भएको छ । हाम्रो खोटो नियतले प्रत्यक ब्यक्ती प्रभाबित भएको छ । तर उधाहरण बनेर सच्चिएको कोही छैन ।
कथा को सस्मरण 'अमेरिका ले बिशेष उदेश्यका लागि नेपाल लगायत भारत , बगलादेश बाट भ्यागुता आयात गर्दो रहेछ । अन्य देश बाट टोकरी लाई जालीले टम्म मुख बढी पठाउदा पनि दुई चार जहिले पनि कमी हुने तर नेपाल बाट भने बिना जाली ले बाधि पठाउदा पनि एक भ्यागुता तल माथि नपर्ने । अमेरिकिहरु छक्कै परे रे, ह्वाट्स फनि ..... जब खोजी निती गरेछन पत्ता लागेछ कि ' बङाली , भारतीय भ्यागुताहरु जो टोकरी को तल्लो भागमा परेका हुन्थे, भन्दा रहेछन जा उम्की ज्यान बच्चा भन्दै तल बाट घचेट्दै जाली बाट उम्काइ दिदा रहेछन '' नेपाली भ्यागुता भने ए हामी चाँही मर्ने त भने ज्यान बचाउन भागेर मोज गर्ने ? भाग्लास भनी एक ले अर्का को खुट्टा समातेर अमेरिका पुग्दा रहेछन ''
ल हेर्नुस यो भ्यागुता को किस्सा सत्य हो कि होइन ? , कहिल्यै हामीले अरुको भलो चितायौं ? , यो मेरो हक नलाग्ने चिज मा दावा गर्दिन भन्यौं ?, हामी कहिल्यै सकारात्मक बन्यौ ?, हामी ले कहिल्यै सार्वजनिक जीवन मा आफ्नो गल्ती स्वुकार्यौ ?, हामीले आफ्नो उत्तर दायित्व प्रती सजग भै जिम्मीवारि निभायौ ?, आफु सित सम्बन्ध नभएको कुरामा टाढा बस्ने बानी बसायौ ?, अरुको हक खोस्न हुन्न भन्ने सोच बनायौ ? , अरु लाई अनाहक मा दु:ख दिनु हुन्न भन्ने बिबेक प्रयोग गर्यौ ?, अरु को बिस्वासिलो कसरी बन्ने भन्ने सोच्यौ ? मेरो कारण ले अरु ले दु:ख नपाउन भन्ने व्यबहार गर्यौ ?
दिन प्रती दिन नेपाल मा बढ्दै गएको अकल्पनिय त्रास , हत्या , लुट पाट , हिसा , असान्ती र अब्यबस्था को जिम्मेवार हामी सबै हौ कि नेता मात्र ?, अरु लाई दोष दिन छाडेर आफ्नो उत्तर दायित्व महसुस गर्ने कहिले ?, अरु ले लुटे लुट्नै पर्ने ?, अरु ले काटे काट्नै पर्ने ?, अरु ले बन्द गरे बन्द गर्नै पर्ने ?, कसै ले लडाए उस्लाई लडाउन नै पर्ने ? ,नराम्रो को सिको गर्ने राम्रो को सिको गर्न नै नपर्ने ?, यो भ्यागुता र भेडा को प्रबृति बाट नेपाली समाजले मुक्ती पाउने कहिले ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 25, 2009
दौंतरीमा नया आयाम - दौंतरी उखान टुक्का
अपडेट: मैले करिब एक हप्ता पहिला दौंतरीको नया आयाम बारेमा कुरा राखेको थिए। प्राय साथीहरुले अनुमान लगाइसक्नु भयो। हरेक हप्ता जस्तो गाउं खाने कथाको प्रस्तुती पछी अब हरेक दिन दौंतरीको छेउमा नया उखान देख्न सक्नुहुनेछ। आफैंले संकलन गरेर दौंतरीकै लागी तयार पारिएको यो उखान टुक्का करिब ४-५ बर्ष सम्म हरेक दिन नया उखान टुक्का पाउनुहुनेछ। तपाइहरु कुनै उखानको माने थाहा नभए च्याट बक्समा सोध्नुहोला। म त्यसको उत्तर दिने प्रयास गर्नेछु या अन्य पाठकको सहयोग माग्नेछु।
उखान टुक्काको आगमन पछि तपाइले पनि नया उखान सिक्ने मौका पाउनुहुनेछ भने आफ्ना केटा केटी लाइ पनि सिकाउन सक्नुहुनेछ। यो प्रस्तुतीले हराउदै गएको नेपाली भाषाका उखानलाइ केही हद सम्म भए पनि जोगाउने छ।
हरेक शुक्रबार गाउं खाने कथालाइ निरन्तरता दिंदै अब देखी हरेक शुक्रबार दौंतरीको ब्यानरमा नेपालको झन्डा पनि पाउनुहुनेछ। आशा छ यस्ले हामी सबैलाइ हरेक शुक्रबार नेपाललाइ माया गर्ने बहाना मिल्नेछ।
------------------------------------------------------------------------------
हिजो बाट दौंतरीमा नौलो तथा नितान्त नया हांगा थपिएको छ। केही नया र केही अमूल्य सामग्री दिने सोच अनुरूप नै यो हांगा थपिएको हो। तपाइहरुले याद गर्नुभएको छ त त्यो कुन हांगा हो? के हो त्यो नया चिज?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मायामा के मिसायौ
आफ्नो भाखा बिर्सी फेरी तिम्ले अर्कै गीत गाको हो कि
न अटाउन सक्छु न हटाउन सक्छु कस्तो माया
यस्तो लाग्छ पूर्व जन्मको तिम्रो ऋण खाको हो कि
अनिर्णयको बन्धी भएकोछु,नजिक छेयौ कि टाढा
लोलोपोतो यता मिलाई अन्तै माया लाको हो कि
फुल भनि चुमे काँडा बनी बिझ्यौ भोगाइको कुरा
छल्की खस्छ आसु तिमीबाट उपहार पाको हो कि
सिउदै थिए म जिन्दगी उधार्दै रैछ्यौ तिमी चाँही
शिल्प पुगेन या भनु फेशन पुरानो भाको हो कि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
King of Pop Michael Jackson Died at age of 50
Update: LA times has confirmed that Michael Jackson is dead.
Unconfirmed news has claimed King of Pop Michael Jackson Died of cardiac arrest at the age of 50.
Michael Jackson was rushed to the UCLA Medical Center this afternoon after suffering cardiac arrest, according to multiple reports. The fire department said that it responded "to a medical call at 100 block of Carrolwood," where Jackson lives, and that they took one person to the UCLA Medical Center
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 24, 2009
मर्निङ वाक

'हुजुर, के बढी भयो ?,' सेठले कुरा उठान गर्दै व्यापारिक लबजमा सुझाए-'बढी भयो त बढिया नै भयो नि हैन र हुजुर !' संसारका समस्त ठूला मान्छे 'मर्निङ वाक'मा एकजुट होऔँ भन्ने लयमा सेठले चश्माभित्रका आँखा फनक्क घुमाए ।
'अरे के बताऊँ रतनबाबू, सम्हाल्नै नसक्ने बढी भयो, के गरूँ-के गरूँ ?' कमिजको बटनतिर अलमलिएका औँला हावामा दरफराउँदै सभासदज्यूले कुरो घुमाउनुभयो । कुरा घुमाउने उहाँको प्रिय सोख हो । उमेरमा सभासद्ज्यूले के-के घुमाउनुभएथ्यो, तिनै अभ्यासले पाकेर आज ठूलै हूललाई ठूलै कुरामा घुमाउने दायित्वमा स्थापित हुनुहुन्छ । सभासदज्यूको पिरोलो देखेर झोक्रिनुसाटो उल्टो सेठजीका आँखा हर्षले धपक्क बले । सेठजीले चमत्कारिक उपाय कतै फेला पारेझैँ टपक्क टिपेर सुझाए-'तो कुछ फिकर नकर्नुस् हुजुर, कौन कुरा बढी भयो ओ सब हामीलाई दिइदिनुस् तो टेन्सनै साफ !'
सेठका कुराले सभासदज्यूको मुहारको ध्वाँसो पग्लिएन । उहाँले कमिजमाथि फेरि हत्केला मुसार्नुभयो । सेठजी भने सभासदज्यूसँग बढी भएको चिजबिज पाउने आशले दौडिँदादौडिँदैको चाल रोकेर धोक्रे हाफ प्यान्टमाथि लत्रिएको कुर्ता सम्हाल्दै सामुन्नेमा उभिए ।
'उहू सेठ, के ठट्टा गरेको ?' सभासदज्यूले रुन्चे अनुहारको एउटा फक्लेटामा तत्काल छाएको व्यङ्ग्यको तरङ्ग पोख्दै बल्ल रहस्य खोल्नुभयो-'मेरो पेटको बोसो पो बढी भयो भनेको त !' जिस्क्याउनुभयो-'सेठको त पहिल्यैदेखि कुर्ताभरि निसासिएर बसेको बडेमानको भकारी छँदैछ, उल्टै मेरो बढेको पेट दिऊ ?' यति भनेर उहाँले आफ्नो कमिजको फेर उचालेर सेठतिर देखाउनुभयो । पर्वमा बज्न ठीक्क दमाहा प्रकट भयो ।
'अरे हुजुर, क्या बात कर्नुहुन्छ', बढी चिजबिज पाउने उत्साहले तन्किएका सेठका आँखा माछाविहीन जाल जस्तै सामसुम्म निचोरिए । 'हामीले त सोच्यो- संविधानसभाको चक्करमा छिरेर डेली तलबपानी और वो सुझावउझाव कलेक्सनले कुछ ज्यादा नै मालमत्ता जम्मा भइगएछ, बढी भयो भनेर कस्तरी लालच जगाउनुभयो हे हे हे …', घाँटीका लुँदा हल्लाउँदै सेठजी मुस्कुराए । सोधे-'हुजुर, मेचमा आरामसे पिठिउँ अडेसा लाकर बैठिराख्नुभोहोला, तब थोडी अडेसा लाएकोतरफ पेट जाओस् ? अडेसामा ठोक्किएर धकेलिएपछि पेट त आगे नै आइहाल्छ नि !'
'तब त हेर्नु न, एक वर्षभो संविधानसभामा चुनिएपछि बढेको पेट घटाउन कुद्याकुद्यै छु र पनि फिटिक्कै घट्या छैन ।' सभासदज्यूले खिन्न हुँदै दुःखद उदरकथा कहनुभयो । सोझासीधा जनता भने मर्निङ वाक नगर्दा पनि हावा खुस्किएको बेलुन जस्तै पेट सुकाएर बसिरहेछन्, देशका नेता र सभासदलाई भने यो के-के चर्तिकला गर्नु परिरहेको, सेठको ठूलो टाउकोले केही सोच्न सकेन । सभासदज्यूले शङ्का जनाउनुभयो-'कतै यो दिनदिनै भत्तारसद र महिनैपिच्छेको तलब त नपचेको होइन सेठ ?' उहाँलाई हामी ठूलाहरूले मात्र किन मर्निङ वाकमा पेट घटाउन सास्ती खेप्नुपरेको भन्नेमा झोंक चल्यो ।
'ओ हुजुर, कसके काम कर्नुस् , पेट पुरानै लाइनपर आइहाल्छ, यो मर्निङ वाकको बदला काममै कुदाकुद कर्नुस्', कारखानामा थेत्तर कामदारलाई अह्राएजस्तै सेठजीले साउतीको स्वरमा भने । सभासदज्यूको चिन्तित आवाज सुनियो-'अरू केही होइन, यो अपचको समस्या हो, त्यसैको प्रमाणचिन्ह हो मेरो घनघोर पेट । यसलाई घटाउन मैले अरू मर्निङ वाकमा जोडले कुद्नैपर्छ ।' भन्नासाथै सभासद्ज्यू तुरून्तै वेग मारेर अघिल्तिर हुइँकिनुभयो ।
पछिल्तिर एकलासमा सेठ सभासदज्यू गएतिर कराउँदै थिए-'अरे हुजुर, वो तो ठीक छ, तर के हुन्छ हामी जनताको पेट, यो देशको हालत के हुन्छ ? हुजुर संविधानको के हुन्छ..... के हुन्छ ?'
*तस्बिर: आर्यसिटी.कम
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 23, 2009
बिछोडको पिडा
परेलिमा लुकाउन खोजे आसुको छाल आयो ।।
तिमी जादा, मेरो बस्ती, निर्जन एउटा ठाउँ जस्तो ।
तिमीलाई पछ्याउदै, तिमी तिरै जाउ जस्तो ।।
तिमीलाई भयो कस्तो मलाई आसुँ थाम्न गार्हो ।
नभेटेको भए हुन्थ्यो, छुट्टीन लाई कती सार्हो।।
शायद जिन्दगी यस्तै होला दुई दिने घाम छाया
छाती दु:ख्छ सम्झी सम्झी शायद यही हो माया
इन्दिरा घिमिरे
अमेरिका
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मनको दासी मान्छे
(अमेरिका )
तिमी मलाई महसुश गर्छौ भने
सर्वगुण सम्पन्नताको अपेक्षा नगर ........,
किन कि..... म पनि मान्छे हुँ ,
मान्छेभित्रको मन म सँग पनि छ ,
त्यो मन कहिले घमण्डले
अग्लिन सक्छ ,
अनी... कहिले
बहकिन सक्छ ,
त र...... त्यही मनलाई
हर मान्छेले छात्तिमा
लुकाएर राखेको हुन्छ ,
जसरी मैले पनि राखेकी छु ,
त र... भन्छौ भने
कस्लाई पो त्यो मनको
दासी हुन मन लाग्छ र ?
त र अफसोच !
मनले मान्छेलाई दासी बनाएको हुन्छ ,
कहिले यो आत्तिन्छ ,
अनी... मान्छेलाई तर्साइदिन्छ,
कहिले यो मात्तिन्छ ,
अनी... मान्छेलाई बहकाइ दिन्छ
कहिले यो लाचार बन्छ ,
अनी... मान्छेलाई निरस बनाइदिन्छ,
यही मनको अभिनयमा
मान्छे रुमाललिएको हुन्छ ,
ल... तिमी पनि निर्णय ग र
के तिमी पनि यस्बाट अछुत छौ त ?
त्यसैले.... मेरो सामिप्यताको अर्थमा
तिमी, मेरो मात्र गुणको
साझेदारी बन्ने कोसिश नगर ।
म पनि मान्छे हुँ
मान्छे भित्रको अवगुण म भित्र पनि छ
त्यसैले.... मलाई महसुश गर्छौ भने
यी सारा तीता सत्यहरुलाई
हाँसेर स्वीकार ग र
अनी मलाई महसुश गर्ने कोसिश ग र ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
खडेरी लागेको मन र असार
- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग - ४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )
हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।
प्रिय सखा डल्ली,
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई ।
संपर्क बिनाका थुप्रै वसन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन, न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे, सँगै तिम्रो पनि अस्पष्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउँछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।
प्रिय डल्ली, छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ?
पानी पर्यो सालघारी करायो
वर्खा लाग्यो भेटघाटै हरायो ।
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।
मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?
मेरी प्रिय सखा, हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।
खोला पारी म मायाँ लाउँदिन
वर्खा लाग्यो आइरहन पाउँदिन ।
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल
मिठै मा खाउँला राम्रै मा लाउँला हजुरको जीउ छउन्जेल ।
कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा क्रीषी प्रधान देशको लागि कती जर्जर होल कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।
प्रिय डल्ली, असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।
प्रिय बालसखा , प्रक्रीतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो ग्रीहस्ती, चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटक हरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् ।
तिम्रो बाल सखा
जीवन संघर्षको मैदानबाट ।
रिमिमाझिमी पानी है पर्यो असारे मासैमा
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest