July 24, 2009

गाउँखाने कथा - २५ (Nepali Gau Khane Katha)

सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

मलाई काटे दुख्छ,तंलाई काटे दख्तैन।

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


जित जनताको ! (हार उपराष्ट्रपतिको)

धेरै समयपछि नेपालबाट एउटा सकारात्मक समाचार आएको छ। पहिला लुकीछिपी हुने अनि बिस्तारै पेशागत भएर राजनीतिमा प्रवेश गरेको छाडा, हेपाहा र ‘गुण्डा गर्दी’ प्रबृतिमा केहि नभए पनि आजबाट अंकुश लागेको छ ।

भर्खरै नेपालको खबर के छ भनी ईण्टरनेट खोलेको थीएँ । दैनिकीमा आएको एउटा समाचारले केहि हदसम्म भएपनि कानूनी राजको जड अझै बाँकी रहेको र न्याय जिउँदै भएको सूचना दियो ।

हो, कुरा तिनै व्यक्तिको हो, जो हाल दुर्भाग्यवस हाम्रो देशका उपराष्ट्रपति छन् । नेपाली भाषाको मानमर्दन गर्ने र नेपाली जनताको आस्थामा ठाडै प्रहार गर्ने ति उपराष्ट्रपतिलाई आज नेपालको सर्बोच्च अदालतले उनले हिन्दी भाषामा लिएको सपथलाई संविधान विपरित भएको ठहर गर्दै उनलाई पदमा बहाल रहिरहनको लागी नेपाली भाषामा सपथ लिनु पर्ने निर्णय गरेको गरेको छ ।

तात्कालिन समयमा उनले हिन्दिमा सपथ लिंदा पनि यसको चौतर्फी बिरोध भएकै हो, पत्र-पत्रिका, सडक देखी नेपाली ब्लग संसारमा पनि यसको चर्को बिरोध देखिएको थीयो । दौँतरीकै कुरा गर्ने हो भने पनि हामीले सो हेपाहा र विदेशि ईशारामा नाच्ने प्रबृतिको यहाँ, यहाँयहाँ बिरोध जनाएका थीयौं ।

समाचार अनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीस मीनबहादुर रायामाझी र न्यायाधीस बलराम केसीको संयुक्त इजलासले नेपालको अन्तरिम संविधानमा राष्ट्र भाषा नेपाली हुनेछ भन्ने उल्लेख भएको र सपथको ढाँचा नेपाली भाषामा नै रहेकाले उनले हिन्दी भाषामा लिएको सपथलाई संविधान विपरित ठहर गरेको हो ।

नेपालकै अदालतमा दसकौं बिताएर ‘मेवा’ कमाएका झालाई यो संवैधानिक मर्यादा र सामान्य शिष्टाचार थाहा नभएको पक्कै होईन । तात्कालीन तरल स्थितिमा अन्य कुनै औचित्य विना, छिमेकका ‘माईबाप’ खुसी पार्न मात्रै आफ्नो मातृभाषा समेत नभएको विदेशि भाषामा उनले सपथ लिएको कुरा कसैमा छिपेको छैन ।

एकजना सामान्य नेपालीको नाताले हामीले त्यतिबेला पनि यस कार्यको बिरोध गरेका थीयौं भने आज सम्मानीत सर्वोच्च अदालतले यो निर्णय लिंदा म आफैलाई समेत गौरवान्वित भएको महसुस भैरहेको छ ।

संसारभरि हामि जहा बसे पनि हामी सबै नेपाली हौं र नेपाली भाषा प्रति हामिलाई गर्व छ । कसैलाई हिन्दी वा अरु कुनै भाषा प्रति अगाध मोह छ भने तिनले आ-आफनो घरमा बसेर सो भाषाको प्रयोग गरुन मलाई आपत्ती छैन, तर मेरो देश नेपालको उच्चतम पदमा आशीन हुन ईच्छा राख्‍नेले आफ्नो देशको कानून र भाषाको खिल्ली उडाउने गरी आफ्नो मातृ भाषा समेत नभएको विदेशि भाषामा सपथ खाने हिम्मत अब कहिल्यै नगरुन ।

आज अढाई करोड नेपालीको स्वाभिमानमा आँच पुर्‍याएर नेपाली मर्ममा प्रहार गर्नेको हार भएको छ भने यो सर्बोच्चको यो निर्णयले बाँकी सबै नपालीको जित भएको छ ।

तात्कालीन स्थीतिमा यस गैह्र कानूनी कार्यको बिरोध गर्ने र बिरोधमा साथ दिने सबैमा हाम्रो हार्दिक आभार र देशको सर्बोच्च न्यायीक निकायमा कृतज्ञता !!

साथै यो सार्वजनिक सरोकारको बिषयलाई लिएर, शपथ संविधानको प्रतिकूल भएकोले सो बदर गरिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्ता बालकृष्ण न्यौपानेले पनि साधुवादका पात्र छन ।

जय नेपाल !



July 23, 2009

Crawfish खाने हो ?

धेरै भयो दौंतिरिमा केही लेख्न नपाएको, लेख्न खोजेको केही फुरेन, त्यसैले मेरो आफ्नो ब्लगमा पहिले नै टांसेको एउटा सामाग्री राखेर टार्दै छु :)

यहाँहरु मध्य कति जनालाई Crawfish को बारेमा जानकारी छ ?, छैन भने, यो एक प्रकारको किरा हो जसलाई अमेरिकाको दक्षिण तिर एक पपुलर delicacy को रुपमा लिइन्छ । विस्तृत जानकारी को लागि यो लिन्कमा हेर्नु होला

यो पोस्टमा भने मैले म Louisiana मा छंदा मेरो अपार्टमेन्ट कम्लेक्समा गरिएको एउटा crawfish पार्टीमा मैले खिचेका केही तस्विरहरु राख्दै छु।
Crawfish को पनि खेती गरिन्छ, साधारणतय सिमसार तिर माछा पालन गरे झैं यसलाई पनि हुर्काएर यसरी बोरामा बेचिन्छ ।


 
                     बोरामा तयार जिंउदै Crawfish                              Crawfishपकाउन यस्तो बोइलर को प्रयोग गरिन्छ ।   

 
         बोरालाई बोइलर तिर लगिंदै ।                            Crawfish लाई जिंउदै तातो पानीमा खनाउंदै ।   

 
Cajun मसला हालेको पानी मा उमाल्दै ।                                                       पाक्दै छ है ।    

 
Delicacy पस्कंदै ।                                                        लौ एक प्लेट Crawfish ।  
 
 

मिठो भयो जस्तै छ है ।

जस्तो देखिए पनि खांदा भने मिठो नै हुन्छ है, मलाई त खुब मन पर्‍यो :D



July 22, 2009

कमेन्टको उन्नत खेती !

शिव प्रकाश

वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ ।

वैजन्ती मप्रति ज्यादै कृतज्ञता र सन्निकटता देखाउँछे । थाह छैन, किन हो ? उसले एकदिन फोन गरेर भनी - 'म पनि एक्लै छु घुम्न आउनुस् न ।' आशय के हो- मैले कुन अर्थमा बुझ्छु, अरुले कुन अर्थमा बुझ्छन्, उसले कुन अर्थमा भनेकी हो ? त्यो आफ्नो ठाउँमा छ !

मैले 'हेरौं' मात्र भने । उसले अलि अप्ठ्यो मान्दै कुरालाई अर्कोतिर मोडी ! उ आफू पनि साहित्य सृजनाकर्मी हो र मेरो एउटा पाठक पनि ।

'एक दशक अगाडि जाने हो भने तपाइँ त नेपालमा स्थापित भै सकेको लेखक हो । बीचमा ग्याप हुनु भो फेरी अहिले इन्टरनेटले तपाइँलाई लेखनमा फर्कायो ।',उ भन्दैछे, म सुनिरहेछु ।

'हुन त तपाइँ समकालीन लेखनमा सकि्रय हुनुहुन्छ । तपाइँका कविताहरु वास्तविक छँटाका छन् कथाहरुले यौन, मनोविज्ञान र समाज तीनै कुरा अँगालेका छन् तर पनि यी श्रृजनाहरु डायनोसर हुन बेर छैन !'

मैले भने- 'कुरा बुझिन ।'

'मेरो मतलब तपाइँका कथा, कवितामा त्यति धेरै "कमेन्ट" छैनन् नि ! कस्ता कस्ता झूरका कति "कमेन्ट" आउँछन् !'

मैले भने- 'मतलब बुझिन !' थपेँ- 'कमेन्टसँग डायनोसरको के सम्वन्ध छ ?'

उसले भनि- 'कमेन्ट नै भएन भने त्यो रचना आफैंमा डायनोसर ठानिदैन र !'

मैले भने- 'यो मनोवैज्ञानिक आत्मरतित असरमात्र हो । मान्छेले मेरा कथा, कविता पढ्दैन् होला, मन पराउँदैनन् होला र त कमेन्ट लेख्दैनन् ! तर म सृजना लेखिरहन्छु ।'

उसले भनि- 'थोरैले मात्र पढेर र बुझेर कमेन्ट लेख्छन् । सबैले पढ्दा पनि पढ्दैनन् । पढ्ने-नपढ्ने, बुझ्ने-नबुझ्ने तपसीलका कुरा हुन् । तर कमेन्टका लागि कमेन्ट लेख्ने र "पपुल्यरिटी" बढाउने हो क्या ! शिर्षकै नहेरी ठोकीदिने - वाह ! क्या राम्रो रहेछ "कीप इट अप इत्यादी …" । अनि तिन्ले पनि आफ्नो मा त्यसैगरी खुइँखुइँती धस्काई दिन्छन् । अरुले हेर्दा ओहो ! कस्तो राम्रो होला कति धेरै "कमेन्ट" !’

मैले भने- "कमेन्टू" को यो उन्नत खेती गर्ने रहस्य मलाई थाह छैन !

बोस्टन, अमेरिका ।


July 21, 2009

गाउँखाने कथा - २४ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २४को सही उत्तर हो भुइंचालो। गाउं खाने कथा २४मा सहभागीहुने सबैलाइ धन्यबाद तथा यस्को उत्तर मिलाउने धाइबाजीलाइ धेरै धेरै बधाइ। धाइबाजी गाउं माग्नुहोला।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

नाउं के हो काहां छ बास, कताबाट आई पार्छ सत्यानाश?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


July 20, 2009

मन लाछ

प्रबिण थापा
आज मलाई बसन्त झै फुल्न मन लाछ
मङसिरको सेरा फाँट झै झुल्न मन लाछ

बोल्दा सधै हाँसिरहने उनको बानीसँग
रमाउदै मलाई पनि घुल्न मन लाछ

सबैको मनदेखि आत्मा सम्म छाउने
त्यो निर्दोषीपनसँग खुल्न मन लाछ

पल-पलको स्मरणलाई साक्षी बनाउदै
भमरा भई फूलमाथि डुल्न मन लाछ

दुई दिने जिन्दगी उमङ्ग लिई साथमा
जीवनभरी उनकै प्रितमा भुल्न मन लाछ


यताउताबाट

होश गर्नुस है तपाइलाई पनि बिजुलिको झट्का (Shock therapy) लगाउनु पर्ला !

तपाई दिनमा कति घण्टा इन्टरनेटमा बस्नुहुन्छ ? नेटमा के गर्नुहुन्छ ? इन्टरनेट चलाउन पाउनुभएन भने के गर्नुहुन्छ ?

चीनमा अनलाइन जन्की (इन्टरनेट एडिक्टेड) हरुलाई अस्पतालमा बिजुलीको झट्का दिएर उपचार गरिदो रहेछ । छोराछोरीहरुको इन्टरनेट एडिक्शन देखेर बाबु आमाले नै त्यस्तो अस्पतालमा उनीहरुलाई लिएर जाने गर्दा रहेछन । टिनएजरहरु “अनलाइन जन्की” बन्ने समस्या चिनमा व्याप्त भइसकेकोले अनेकथरीका पुनर्स्थापना विधीहरु प्रचलित रहेछन ।

चीनिया psychologist हरुका अनुसार दिनमा ६ घण्टा भन्दा बढी इन्टरनेटमा बस्ने (पढ्नका लागि नभएर गेम र मनोरंजनका लागि) र इन्टरनेटमा बस्न नपाए झिजिने, रिसाउने र बोल्न नचाहने आदि इन्टरनेट एडिक्शनका लक्षणहरुमा पर्दछन ।
http://www.msnbc.msn.com/id/31905111/ns/tech_and_science-tech_and_gadgets/

कारमाथि स्पोर्ट विमान अवतरण

गएको हप्ता बर्लिनमा एउटा स्पोर्ट विमान अचानक आपतकालिन ल्याण्डिङ गर्न लाग्दा अनियन्त्रित भएर बाटोमा गुडिरहेको एउटा कार माथि आएर ठोकियो । पाइलट, कारमा रहेका पति, पत्नि र छोरी घाइते भए । यी घटना देखेर नजिकै साइकलमा हिडिरहेका अर्का व्यक्ति तर्सेर वेहोश भए ।

बि एम डब्ल्यु क्विन गिगोलो माफिया

बि एम डब्ल्यु कि मालिकनी (सुसान क्लेट्टन) जो जर्मनीकी सबै भन्दा धनी महिला र विश्व कि ३५औं धनी महिलामा पर्छिन अझै पनि माफियाहरुको जालबाट उम्किसकेकी छैनन । उनीसंग शारिरिक सम्बन्ध राखेर त्यसको गोप्य भिडियो सार्वजनिक गर्ने धम्की दिदैं आएको र झण्डै १० मिलियन युरो भन्दा बढी रकम लिइसकेपछि पनि फेरि झण्डै ४८० मिलियन डलरको माग गरेको एउटा स्विस गिगोलोलाई अदालतले जेल चलान गरिसकेको छ तर त्यसको मास्टरमाइन्ड एकजना इटालियन वृद्ध माफिया अझै फरार छ । अहिले फेरि अन्य व्यक्तिहरुले त्यो भिडियो आंफुसंग रहेको बताउंदै सार्वजनिक गर्ने चेतावनी दिएर ८ लाख युरोको माग गरेपछि पुलिसले ट्रयाक गरी ती ब्लैकमेलरहरुलाई समाउन सफल भएको छ तर भगौडा माफियाले अझै छोड्ला जस्तो छैन । मिडीयामा चिनिन नचाहने र लो प्रोफाइलमा बस्ने सुसानले कुनै बेला आफ्नो बाबुको बि एम डब्ल्यु कम्पनिमा ट्रेनी कामदारको रुपमा काम गरेकि थिइन र त्यही कम्पनिमा काम गर्ने इन्जिनियरसंग (जसलाई उनी मालिकको छोरी हुन भन्ने थाहा थिएन रे) उनको विवाह भएको थियो र अहिले उनिहरुका ३ जना सन्तान छन ।

अनौठा चोरहरु

. हाई-हिल जुत्ता चोर
जर्मनीको कोलोन र बोन शहरहरुमा हिल लगाएर बाटोमा हिडिरहेका महिलाहरुको जुत्ता चोरेर आफ्नो घरमा धुनी जगाउने एउटा चोरलाई पुलिसले केहि दिन अघी पक्रेको छ । २७ वर्षीय निज चोरले बाटोमा हिडिरहेका महिलाहरुलाइ लुकेर पछाडिबाट लडाउने र उनिहरुको जुत्ता चोर्ने गर्थ्यो ।

कारमा “शिकार”को खोजीमा रहेका उनलाई पुलिस चेकिङको क्रममा पक्राउ गरिएको थियो ।
. अन्डरवेयर चोर
जर्मनीमै फ्रयांकफ्रट नजीक एकजना ५६ वर्षका व्यक्ति विचित्र चोरीको मामलामा पक्राउ परेका छन । एउटा स्पोर्ट हलबाट ३ थान पुरुषका अन्डरवेयर चोर्ने क्रममा पक्राउ परेर भाग्न सफल त्यस चोरको घर पत्ता लगाएर सर्च गर्दा उसको घरबाट १००० थान पुरुष अण्डरवेयर र १०० थान ट्रयाकसुट ट्राउजर धोएर सफासंग पट्याएर राखिएको अवस्थामा फेला परेका थिए ।
आधारभुत आवश्यकताका सबै कुरा पुग्दैमा सबै मान्छे "मान्छे“ बन्दैनन् भन्ने कुरा यी घटनाले देखाउंछ ।

फ्ल्याट रेट
इन्टरनेट र टेलिफोन फ्ल्याटरेट पछि बर्लिनमा रक्सी फ्ल्याट रेटमा खान पाइने रेस्टुरेण्ट खुलेको थियो । तर गत मार्च देखि आर्थिक मन्दीको कारणले “ p... क्लब” नाम गरेको वेश्यालयले बर्लिनबाट शुरु गरेर जर्मनीका प्रमुख शहरहरुमा अनौठो फ्ल्याट रेट अफर दिएको थियो । यो अफरमा ७० युरोमा अफ पिक आवरमा (बिहान १० देखि दिउसो ४ बजेसम्म) अनलिमिटेड खाना, ड्रिंक्स र लेडी उपलब्ध हुने बिज्ञापन थियो । व्यापक विरोधका कारण स्टुटगार्ट, हाइडेलबर्ग आदि शहरहरुमा यसलाई प्रतिबन्ध लगाइने भएको छ ।

http://estergoldberg.typepad.com/views_from_a_broad/2009/03/a-brothel-in-berlin-is-offering-a-flatrate-of-90-for-all-you-can-eat-drink-and-violate.html (साइटमा प्रयोग भएका केहि शब्दहरु पाच्य नहुन सक्छन )

ड्राइभ गर्दा हर्ट एट्ट्याक !

जर्मनीको एउटा सानो शहरमा हिजो एकजना वृद्ध मर्सिडिज चालकले सडकमा मेला मनाइरहेका स्थानियहरुमाथि गाडि चलाउंदा २ जनाको तत्काल मृत्य हुनुका साथै ४० जना घाइते भएका छन । मेलाको लागि बन्द गरिएको सडकमा ब्यारिएर नाघेर मेला मनाइरहेकाहरु लाई कुल्चदै सो गाडि अगाडि बढेको थियो र पुलिस भ्यानमा ठोक्किन पुगेको थियो । समाचारमा जनाइए अनुसार उनलाई हर्ट एट्ट्याक भएको थियो रे ।


थाहा छ ? सगरमाथा नेपालमा नपर्ने रहेछ नि !


(वायां तर्फको फोटो गुगल अर्थबाट लिएको हो भने दायांतर्फको फोटो गुगल म्यापबाट लिइएको हो । वायांतर्फको फोटोमा पहेंलो रंगको रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथाको चुचुरो चीनतर्फ पारेको छ । दायांतर्फको फोटोमा सेतो रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथा नेपालतर्फ देखाएको छ । आशा गरौं हाम्रो सगरमाथा नेपालमै छ र रहनेछ । - ZH)

नेपालमा हर्दम बहस चल्ने गरेको छ : सीमा मिचियो अतिक्रमण भयो । बोर्डरका खम्बाहरू सार्ने भारतीय सीमा सुरक्षाबल र भूसर्वेक्षणका नोकरशाहहरूले भारतको सीमालाई नेपालको अन्तर्गर्भमा घुसाउँदै बेलाबखत नेपालमा राष्ट्रवादको सडकनाटक मञ्चनमा सघाउँदै आएका छन् । केही समयको तमासा पछि भलै ती कुरा बिर्सिएकै किन नहोस् । तर मैले अहिले चर्चा गर्न खोजेको विषय भने नेपालको उत्तरी सीमा मिचिएको कुरा हो । त्यसभन्दा ठूलो चिन्ताको कुरो के रह्यो भने , हामीले नेपालको गौरव ठान्ने गरेको विश्वको सबैभन्दा अग्लो हिमाली शीखर सगरमाथा पूरै चीनमा पर्छ भनी गरिएको चीनिया दावाको कुरा हो ।

जर्ज एभरेष्टले भू सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शीखर यही हो भनी पत्ता लगाउञ्जेल यो हिमाल पूरा नेपालमा पर्थ्यो । स्थानीय भाषामा चोमोलोङ्मा भनी चिनिने यो संसारको शीर रूपी टाकुरालाई पछि नेपाली इतिहासकार बाबुराम आचार्यले हामीले अहिले बोल्ने गरेको 'सगरमाथा' नाम दिए । लामो समय नेपालको पूरै स्वामित्वमा रहेको यो सर्वोच्च टाकुरा धर्म गुरू दलाई
लामाको तिब्बतमाथि चीनिया कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा रहेको रेड आर्मीको अतिक्रमण संगै विवादास्पद बनाइयो । तिब्बत अधीनस्थ पारेपछि पूरै सगरमाथा आफ्नो हो भन्ने दावा चिनले गरिरह्यो । तर पछि प्रधानमन्त्री वि पी कोईरालाका पालामा वि.सं. २०१६ सालमा नेपाल र चीनले सहमति गरी सगरमाथा सीमामा स्थित शीखर रहेको र यसको दक्षिणी मोहडा नेपाल र उत्तरी मोहडा चीनको हुने गरी सहमति भएको भन्ने कुरा मैले कुनै इतिहासको पुस्तकमा पढेको सम्झना छ । अहिले पर्यन्त पर्वतारोहीहरूलाई सगरमाथा चढ्न दिइने अनुमतिमा उत्तरतिर चीनले र दक्षिण मोहडामा नेपालको जिम्मा हुने गरेको छ । तर बेलाबखत सगरमाथा चढ्न चाहने बिदेशीहरूलाई नेपालले दिने अनुमतिमा चीनले निश्चित आग्रह नराखेको भने हैन । पछिल्लो समयमा तिब्बतमा ओलम्पिक टर्च लैजाने बेलामा , नेपालतिरको मोहडाबाट सगरमाथाआरोहण गर्न पनि चीनीया आग्रहमा नेपालले केही समय प्रतिबन्ध लगाइकै थियो ।

तर विश्वप्रसिद्द गूगल अर्थको पछिल्लो भर्सनको भुउपग्रहीय तस्वीर तथा तल उद्धरण गरिएको उत्तिकै प्रसिद्ध विकिपेडियाको वाक्यांश सारले स्पष्ट रूपमा सगरमाथा माथि नेपाली स्वामित्व नरहेको प्रष्ट पारेको छ । स्मरण रहोस् गूगलले चीनमा सरकारको पूर्ण अनुमतिमा मात्र काम गर्ने गरी कार्यरत रहनुपर्छ । गूगल अर्थले नेपालपट्टि पर्ने सगरमाथा आधार शिविर र खुम्बु ग्लेसियरको केही भाग बाहेक दक्षिणी मोहडाको सम्पूर्ण पहाडसहित सगरमाथाको ९०% भागलाई स्पष्ट रूपमा चीनको सीमा भित्र पारेको छ । कुनै जमानासम्म संसारकै लुप्त मुलुक मानिने तिब्बतको बाटो भएर सगरमाथा चढ्ने पर्वतारोही नहुनाले नेपाली बाटोको प्रचलित रूटका कारण मात्र नेपालतर्फबाट सगरमाथा आरोहीलाई सजिलोको लागि बाटो छोडिदिएर नेपालका लागि अलिकति पर्वतारोहण रोयल्टीको जोहो जुटाइदिन चीनले दया देखाएको अर्थ लाग्छ यो नक्शा हेरेपछि ।

यो कुरा पनि साँचो हो कि चीनिया पाठ्यपुस्तकहरूमा माउण्ट एभरेष्ट पूरै चीनको हो भनेर नै पढाइन्छ । यो कुरालाई सहन सकिन्छ होला किनभने हामीले यो हाम्रो हो भनेर पढेका हुन्छौँ । तर यो कुराको मतलब त चाइनिज नबुझ्ने नेपालीलाई हुने कुरा पनि भएन होला !

तल उद्धृत विकिपेडियाको अनुच्छेदले भने सगरमाथालाई नेपालको सगरमाथा अञ्चल र चीनको तिब्बत बीचको नो म्यान्स ल्याणडतिर पर्ने गरी लेखेको रहेछ । गूगलले सीमा सम्बन्धी कुरामा चीनको अनुमति नपाई म्यापिङ र सीमाङ्कनको कुरा प्रकाशित गर्‍यो होला भन्ने मान्न पनि सकिन्न । कुनै बेला सिंगै रहेको हाम्रो सगरमाथा कालान्तरमा आधा हुँदै पूरै उता गइसकेको हो भने त अब हामीसंग गर्व गर्न पर्ने कुरा नै के रह्यो र ? शक्तिसम्पन्न राष्ट्रले दयामायाले छोडिदिए त ठिकै हो , तर भूउपग्रहीय मापनमा नै उता परेको लेखोट र अरू पनि कृत्रिम अभिलेख सहित चीनियाहरूले भोलि सम्पूर्ण सगरमाथाको स्वामित्वको दावा गरेछन् भने पनि हामीसंग के जवाफ हुने होला र, त्वं शरणं बाहेक ? फेरि हाम्रो विश्वास पनि गजबको छ नि भारतले दु:ख दिँदा हामी सोच्छौँ त्लेयो भारतले नदिए चीनले पेट्रोल र मट्टितेलको धारो हाम्रा घरघरमा ल्याइदिन्छ रे भनेर । वास्तवमा हिमालपारिका ५० औँ हजार हेक्टर हिमाली भूभाग र हिजोका नेपाली चौँरी चरनहरू आज उत्तरी भेगका पशुपालक किसानबाट छिनिँदा पनि हाम्रो राष्ट्रवाद अन्तै एकोरिहेको जस्तो छ । आक्कल झुक्लमा चिनिया सीमा यता उता गर्नु पर्ने नेपालीले चीनिया सुरक्षाबलबाट खेप्नु परेका दुर्दसाका कहानीका लागि यो सन्दर्भ अनुकुल पनि नहोला । दुई देशको बीचको तरूल बढेर ठूलो हुने कता हो कता यहाँ त ढुंगा बढेर तरूल चेप्टिने क्रम बढेको छ र चट्टानको अजस्र थिचाइमा तरूलको अस्तित्व कता हो कता हुने भैसकेको छ ।

नेपाली राष्ट्रवादको कुरामा दक्षिण , पश्चिम , र पूर्वी सीमा मिचिएका क्रन्दनमा हाम्रो अस्मिता र परिचय बोकेको हिमाल र अझ त्यसको गौरव पताका सगरमाथा अर्कै मुलुकमा परेको कुरामा हाम्रो राष्ट्रवादी व्याख्या कस्तो रूपमा आउने हो मलाई थाहा छैन । तर राष्ट्रका प्वाँख यसरी जटायूका सदृश ठुट्टिँदै जाँदा , हामी कतै अतीतको गौरवमा मात्र रमाउने अस्थिकंकाल रूपी नेपाललाई रुँगेर बस्न वाध्य निरिह नेपालीको रूपमा घटुवा हुँदै त छैनौँ ?


एकपटक गूगल अर्थमा सगरमाथा खोजेर हेर्नूस् त । नेपालमा नै रहेछ भने खुशी सहित खबर गर्नुहोला है त ।

विकिपिडियाको यो अग्रलेख पढ्नुहोस् :

http://en.wikipedia.org/wiki/Mt_everest

Mount Everest – also called Sagarmāthā (Nepali: सगरमाथा), Chomolungma or Qomolangma (Tibetan: ཇོ་མོ་གླང་མ) or Zhumulangma (Chinese: 珠穆朗玛峰 Zhūmùlǎngmǎ Fēng) – is the highest mountain on Earth, as measured by the height above sea level of its summit, 8,848 metres (29,029 ft). The mountain, which is part of the Himalaya range in Asia, is located on the border between Sagarmatha Zone, Nepal, and Tibet, China.





July 19, 2009

दौतरी को चौतारी मा गोर्खाली गफ

शेखर ढुंगेल

१- एकजना नेता पत्रकारहरु देखी वाक्क दीक्क भएर टाउको समाती राखेको बेलामा उन्ले धुरन्धर विद्वान भनी नियुक्ती गरेका पि. ए. ले सोधे होइन ए नेता ज्यु यो कोलमिस्ट कि कोलबिस्ट (COLUMIST) भन्या को हुन ? । नेताले झर्किदै भनेछन: को हुनु ?, त्यै जहाँ पायो त्यही जहिले पायो त्यही डर लाज नमानी कलम बाट बिस्ट्याउदै हिंड्ने हरु नी !!!

२- दुई मित्रहरु मान्छेहरुको भाग्यका बारेमा चर्चा गर्दै रहेछन । यसै बीचमा एकले सुस्केरा हाल्दै भने छन: खै आफु लाई त भगवानले न कला दिए, न गला दिए, दिए त दुई बाङ्या गोडा निक्कै दु:ख पाइयो जिन्दगी को लाइफमा !!!

३- केही उमेर ढल्दै गएका साथीहरु चौतारीमा बसेर कसैका फुलेका कपाल, कसैका खुइलिएका तालुको बारेमा चर्चा गर्दै ब्यस्त थिए । त्यतिकैमा अर्का त्यस्तै तालु खुइले साथी टुप्लुक्क देखापरे।  एकले थपे: उ आयो अर्को तालु !। त्यो सुनेर आगन्तुक मित्रले झोक्किदै भने: ए तालु को रौं गएर के भो ?, कान र नाक मा उम्रेको देख्दैनस ? !!!

४- ४-५ जना युबतीहरु छुट्टीको दिन पधेँरामा लुगा धुँदै गफगाफ मार्दै थिए । त्यतिकैमा एउटीले सोधिन: होइन ए मोरी हो केटा केटा मात्र जम्मा भएका बेला कस्ता कस्ता गफ गर्दा होलान हगी ? । अर्कीले जवाफ फर्काइन: तिनीहरु पनि हामी जस्तै त हुन नी !। सोध्नेले जिब्रो टोक्दै भनीछन छ्या कस्ता छिल्या मोराहरु !!!


एउटा बुद्ध चाहियो

एउटा बुद्ध चाहियो भन्छ मलाई मेरो माटो
बोलाम कसो गरि जताततै बन्द भाछ बाटो

पसिनाको थोपाले लेख भन्छ ईतिहास फेरि
कसरी लेख्नु बारुद छ कलममा मसीको साटो

जपतपको आरध्य जगमा गौतम " बुद्ध "बने
हाँस्छ अचेल सिस्नो सित तेही तपोभूमिको पाटो

सदभाबको लाली गुराँस फुल्यो भन्थे पाखामा
के फुल्थ्यो अझै लथपथिएको रैछ रगतको टाटो

एउटा सबालले घोची रहन्छ अस्मिता माथि
बहादुर बादुर भयौ अब हामी बाठो कि लाटो


July 18, 2009

ठूला मान्छेको नातेदार

* जोतारे धाइबा
नस-नातो भन्ने कुरा बलियो जोर्नीतिरै जोल्टिएको राम्रो । तब पो समग्र कुरामा निरोग प्राप्‍त हुन्छ । यस्तै गूढ पक्ष हाम्रो सामाजिक सम्बन्धमा पनि रहेको छ । उस्तै परे 'सिन्की अचार मुलाको, नातागोता ठूलाको' भनेर एकोहोरिने बेला आइसकेको छ । गोरु बेचेको साइनोसमेत खनीखोस्री गरी भजाएर आफ्नो मझेरी सम्याउन नछोडिने आजको जमानामा कसैको नातेदार हुन पाउनुजस्तो अहोभाग्य अरु के होला ?

आफू कसैको नातेदार हुनु र त्यो पनि लरतरो पाराको, यो त पटक्कै सुहाउने कुरा होइन । सोझै भन्दा घाटाको कारोबार । नाता-सम्बन्धमै फलिफापको कारोबार भएन भने त जिन्दगीको हिसाबै गोलमाल हुन्छ । नातेदार हुनु त ठूला मान्छेको । रगतकै गाढा नातालाई पनि जोडबलले तानतुन गरी पत्तो लगाएको ठूला मान्छेसँगको नाताले कोसौँ पछाडि छाडिदिन्छ । जुग-जमाना कहाँ पुगिसक्यो, आसेपासे वल्लो र पल्लो घरको पिँढीतिरै 'ए काकी, ए बडाबा' भनेर सीमित हुँदै अलमलिने बेला अब छैन । जति सक्यो, ठूला मान्छेको नातेदार बन्ने अभियानमा जुट्नु छ । यसको लागि टोल र बस्तीको धुरी नाघेर ठूलै छलाङ मार्नु किन नपरोस् ! ठूलो जालमा ठूलै सिकार भन्ने त उखानै छ ।

ठूलो मान्छेको नातेदार भएपछि बारीमा फलेको मुला पनि चाँदीको ठेकीमा स्याउलाको बिर्को भएर देखा पर्छ । भोज र मोजको त छेलोखेलो वर्ष नै हुन्छ । चतुरता झिकेर यता-उता महामानवहरूसँग चोचोमोचो गाँस्न सकिएन भने चाहिँ हेलाहोचो सहेरै जुनी झिरिप्प हुन बेर लाग्दैन । 'बडा घरको बडै चाला' भन्ने देउसी गीतको भाका बाह्रै मास दैनिक जीवनयापनमा नभट्याए त केही पार चल्ने छाँट देखिन्न ।

जब भइन्छ ठूला मान्छेको नातागोता तब मिल्छ इज्जतको लोटा भन्ने भाव राष्‍ट्रिय स्तरमा सारै जनप्रिय मन्त्र हुनपुगेको छ । नहोस् पनि कसरी, ठूलाहरूको स्याहार र सङ्गतिबिना चुलाचौकाको दस लन्ठाले आहार नपाउने भएपछि निहुरमुन्टी न त बन्नैपर्‍यो । यसरी नस-नाता र निहुरमुन्टी न मा प्रगाढ परिवार आयोजनको कार्यव्यार रहेछ भन्ने प्रस्टै देखिन्छ । जति कोरी निहुरमुन्टी न को कुल्ली-डन्डा जोत्यो, उति मात्रामा बुरुबुरु नातागोताको उब्जाउ । फेरि अरूखाले खेतीमा बाली रोपेपछि अपेक्षा गरेअनुरूप प्रतिफल ननिस्किने खतरा रहन्छ, नातावादको खेतीमा भने पोल्टो भरिने पक्का ग्यारेन्टी हुन्छ । ती ठूला ख्वामित्‌ले 'तथास्तु' भने झैँ आशीर्वादको पोको थमाइहाल्छन् । ठूला मान्छेको नातेदार हुनुको यस्तो मज्जा अन्यत्र कहाँ पो पाइएला ?

कहाँ कुन पद खाली छ, त्यसमा जाने कि त्यो भन्दा अलि सानदार कुर्सीमा जाने, ठूला मान्छेको छत्रछायामा रहन थालेपछि छानीरोजी चिट्ठा मिल्छ । मामा ससूराकी बुहारी होस् कि मीत ज्वाइँको साक्खै सालो होस् केही फरक पर्दैन । जति घुमाउरो नाता भयो, उति नै घुम्ने मेचमा जम्ने भाग्यको दैलो खुल्छ । अब चाहिँ प्रगतिशील जोगी आए, नातागोताको टीके खेल नचल्ला भन्नुपर्दैन, कानै चिरेर तिनले पनि नातेदारको बत्तीसकुने यार्लिङ झुन्ड्याएर देखाइहाल्छन् । कविशिरोमणि लेखनाथजीले भने झैँ 'फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?' नातेदार भएपछि पूजा-आजाको प्रसाद खान नपाइने कहाँ छ र ?


July 16, 2009

दौँतरीमा जालझेल

दौंतरीलाइ हेरविचार गर्ने समय प्राय बिहान र साँझ मात्र मिल्छ। अरु बेला दौंतरीमा गडबड भए अन्य एडमिन मित्रहरुको भर पर्छु। हुन त वहाँहरुले पनि सँधै आँखा लगाइराखेको हुनुहुन्छ। तर पनि समयले सबै व्यस्त भैराख्दा के कस्तो समस्या आइपर्छ पत्तो हुँदैन। अस्ती गूगलले आफ्नो ब्लगिङ्को बाटो परिवर्तन गर्दा १ दिन जस्तो यता उता गर्दै ठिक्क भयो। सबै सामग्री गूगलमा रहेको हुँदा अजिंगर जत्रो गूगलको अगाडि हामी भुसुना जस्तै हुन्छौं। हाम्रो समस्या गूगल समक्ष राखे पनि सुनुवाइ नहुन पनि सक्छ र भए पनि हप्तौँ लाग्छ। यस्तै छ गूगलसंगको ब्लगिङ्।

आझ बिहान दौँतरी इमेल हेर्दा भने निकै खतरायुक्त इमेल भेटियो। साइबरको जालोमा जाली पत्र त असंख्य नै आउँछन। कतै त लाग्यो यो खतरायुक्त इमेल जाली पत्रै हो कि भनेर। तर, पत्र आएको ठेगाना र पत्रमा राखेको लिंक जिनियुन नै भेटियो। पत्रले भन्छ दौँतरी ब्लग स्पाम ब्लगको लिस्टमा रहेको छ। तुरुन्त रेस्पोन्स नगरे २० दिन पछि ब्लग रोकिने छ। गरेको त केही होइन कसरी स्पाममा पुग्यो, म त छक्क परेँ। हुन त पत्रमा कहिलेकाँही झुक्किएर पनि यस्तो हुनसक्छ भनिएको थियो। कसैले रीस वा ईर्ष्याले जालझेल गरेर दौंतरीलाइ स्पाममा दर्ता गराइदिका पनि हुनसक्छन भनेर पनि कसै कसैले भनेको पाएँ। तर पनि हतार गरेर दिइएको लिंकमा दौंतरी स्पाम होइन भनेर दर्ता गराएँ।

दौंतरीको कुनाकानी मिलाउनमा ठरकी दादा निकै सक्रिय हुनुहुन्छ। वहाँलाइ पनि यस्तो समस्या आएको जानकारी गराएँ। त्यस पछि अफिस तिर लागेँ। दिनमा त दौँतरी चियाउन पनि हम्मे हम्मे पर्छ। काममा इन्टरनेट ट्रयाक हुने हुँदा इन्टरनेट चलाउन निकै समस्या आउँछ। बेलुका दौँतरी इमेल खोलेको ठरकीजीलाई पनि यस्तै पत्र आएको रहेछ। वहाँले तुरुन्तै दौंतरी स्पाम नभएको कुरा ब्लगरमा जानकारी गराइसक्नु भएको रहेछ। त्यस पछि एकलव्यजीलाई पनि त्यस्तै पत्र आएको रहेछ। उहाँलाइ पनि यो सबै भएको जानकारी गराएँ। एडमिनहरुलाइ मात्र यस्तो पत्र आएको हो कि दौँतरी लेखकलाई पनि यस्तो पत्र आएको हो त्यो भने पत्तो लागेन। त्यसैले यसबारे सबैलाई जानकारी दिन यो ब्लग लेखेर नै टाँसेको हुँ।

दौंतरीकै एडमिन / लेखक या अन्य ब्लगहरुले पनि यस्तो अनुभव गर्नुभएको भए बाँड्नुहोला ।

तपाईँहरूका सल्लाह निकै अमूल्य हुन्छन। लेख पढेपछि आफ्नो विचार बाँड्न नभुल्नुहोला। तपाईँ पनि लेख्नुहुन्छ भने दौँतरी (dautari@gmail.com)इमेलमा लेखहरु पठाउनुहोला । राम्रा लेख र रचनाका हामी सधैँ भोका छौँ । बरु लेख युनिकोडमा पठाउनुहोला र सकेसम्म शुद्धतामा ध्यान दिनुहोला । राम्रा र स्तरीय लेख भए पनि एउटै लेख बिभिन्न साइटमा पठाउँदा दौंतरीमा राख्न हामीलाइ अप्ठ्यारो हुनेकुरा पनि तपाईँहरु समक्ष बाँड्न चाहन्छु।


भानु तिम्रो सम्झनामा

शेखर ढुङेल्

भानु तिम्रो नाम मा
धेरै गोस्ठी र सभा भए
भानु तिम्रो नाम मा
धेरै ले दौरा सुरुवाल टल्काए
भानु तिम्रो नाम मा
धेरै ले बिभुषण , तक्मा थापे
भानु तिम्रो नाम मा
धेरै ले भाग्य चम्काए
भानु तिम्रो नाम मा
धेरै मन्च सजियो
भानु तिम्रो नाम मा
धेरै ले नगद पुरस्कार थापे
तर
जब तिम्रो तोडिएको
सालीक देख्दछु
आँखा रसाउछ
जब तिम्रो खन्डहर
घर देख्द्छु
मुटु चिरिन्छ
जब मलाई गिज्याइ रहेको
तिम्रो बस्ती देख्दछु
आँफै लाई धिकार्दछु
धिकार्दछु आधुनिक
प्रचार प्रेमी
नेपाली साहित्यकार हरु लाई
जस्ले तिम्रो नाम बेच्दै छन
तिमी लाई नगद बनाउदै छन
तिमी जस्तै निरिह छु
एक्लो छु कसैले सुन्दैनन
आफ्नै नाम र घर बनाउन
ब्यस्त छन सबै यहाँ
कस्ले हेर्ने तिम्रो
रम्घा को झुपडी ?
मात्र भाबपूर्ण श्रदान्जली
को औपचारिकता यस पाली पनि


संविधान, भींमसेनपूजा, माओवादी र महायज्ञ

Mao-Yagnya हिजोको नागरिकन्यूज डट कमको वेब संस्करणले माओवादीले हालै सम्पन्न गरेको विचित्र महायज्ञको समाचार छापेको छ ( हेर्नूस: http://nagariknews.com/news-highlights/139-highlights/2910-2009-07-15-05-19-11.html) । ‘धर्म अफिम हो’ भन्ने सिद्धान्त बोकेको कट्टर कम्युनिष्ट पार्टी स्वयंको आयोजनामा सम्पन्न भएको श्रीमद्भागवत महायज्ञको कुरा सुन्दा जति अचम्म लाग्न सक्छ त्यो भन्दा कैयौँ गूणा बढी, यो महायज्ञमा भएको दान दिने शैलिका बारेमा पढ्दा लाग्छ । हिजो जनताबाट ‘स्वेच्छिक’ चन्दा लिने अनौठा प्रविधिहरूको सफल परीक्षण गरी पारंगत बनेका माओवादीहरूले धर्म र दानको परिभाषालाई नै ‘चमत्कारी छलाङ’ प्रदान गरेको कुरा यो समाचार पढ्ने जो कोहीलाई बुझ्न गाह्रो पर्दैन । दान दिने पार्टी भक्त दाताहरूले जहाँ जसको जे जस्तो हालतमा भएको सम्पत्ति वा धनलाई यज्ञस्थलमा आएर ‘ लौ मैले यति बोलेँ’ भन्ने शैलिमा दान दिन मिलेको यो समाचार पढ्दा मलाई यो कतै गाउँ खाने कथाको पहेली जितेपछि ‘यति र यो गाउँ लैजा’ भन्ने खेल पो हो कि भन्ने भ्रम परिरहेछ। धार्मिक महायज्ञको यो नमूना प्रपञ्चबाट धर्म, दान, परोपकार, न्याय कानून र सभ्यताका अरू पनि पक्षहरूको उठान कहाँ र कति भयो , यो सम्बन्धित हरूले नै केलाऊन तर यही एउटा प्रकरणलाई हाम्रो नेपालमा बेलाबखत मञ्चन भैरहने विचित्रताहरूको शृङ्खला मध्येको एउटा प्रतिनिधि झलक भने ठान्न सकिन्छ ।

यो महायज्ञको अर्को अनौठो विशेषता के रहेछ भने कुनै बेला माओवादीद्वारा नै मारिएका भनिएका पण्डित नारायण प्रसाद पोखरेलका सहोदर छोरा दिनबन्धु पोखरेल नै यहाँ मूल पण्डित भएर मण्डपासीन भएका रहेछन् र एउटै यज्ञमा ५०औँ करोड रकम र जायजेथा उनले उठाइदिएका रहेछन् । एउटा यज्ञमा ५० औँ करोड उठ्नुको महानतालाई हेर्ने भने नेपाल जस्तो दानी दाताको बाहुल्यता भएको मुलुक संसारमा कमै होलान जस्तो लाग्छ । बालाजूमा टाट पल्टिन लागेको कुनै प्राइभेट अस्पताल चार्टर्ड एकाउण्टेण्ट नारायण बजाजबाट माओवादीले ३३ करोडमा किनेको थियो र पछि यसको नाम जनमैत्री अस्पताल राखिएको थियो । यही अस्पतालका लागि यो यज्ञ गरिएको रहेछ । यहाँ स्मरणीय के छ भने , ७,८ महिना अघि माओवादी सरकारका पालामा यो अस्पताललाई आर्थिक लगानी गर्न हुने विश्वस्त आधार नदेखेर बैँकहरू तयार नहुँदा, माओवादी सरकारले राष्ट्र बैँक मार्फत दवाब दिँदै नेपाली बैँकहरूको एउटा कन्सोर्टियम खडा गरी ३५ करोड रुपैयाँको बलजफ्ति ऋण प्रवाह स्वीकृति गराएर अस्पताल किनिएको थियो ।

आजको कान्तिपुरमा प्रकाशित अर्को समाचार छ “ संविधान निर्माणका लागि भिमसेन पूजा” (हेर्नूस: phalano_july16 http://ekantipur.com/kolnepalinews.php?&nid=204479) । महाभारत अनुसार भीमसेन बाहुबली र गदा युद्धका कुशल लडाकू थिए । तर्क र विचारले भन्दा मल्ल युद्ध र गदा रूपी फलामको मुङ्ग्रो चलाउन माहिर यी भीमसेनको पूजा गरेर नया संविधानको निर्माणमा कस्तो शिघ्रता आउने हो भक्तजनहरूले नै जानून । तर, भक्तजनहरूको यो पूजा र आराधनाको समाचार सुनेर म एउटा निष्कर्षमा भने पुगेको छु । त्यो के भने, भीमसेनका पूजक यी भक्तजनहरू अब नेपालको संविधान समयमा बन्नका लागि भगवान कै हस्तक्षेप जरूरी छ भन्ने निचोडमा पुगेछन् क्यार! अथवा, अब एकापसमा मिल्दै नमिल्ने दलहरूलाई एक ठाउँमा आउन र नया संविधानका लागि काम गर्ने बनाउन भीमसेन जस्ता बहादुर दैवी पात्र आएर तिनीहरूको टुप्पी समातेर एक ठाउँमा तान्नै पर्ने निस्कर्षमा पनि ती खोटाङका भीमसेन पूजक भक्तजनहरू पुगेका हुनसक्छन् ।

मैले दुई घटनाका आधारमा एउट ब्रम्हज्ञान पाएको छु । नया नेपालमा क्रान्तिकारीहरूको सोच र व्यवहारमा हुने असंगति, बिसंगति र विडम्बनाका बारेमा नराम्रो भन्न नपाइने हुँदा यसको सकारात्मक पक्ष खोज्नु जरूरी छ । यसो त नेपाली कम्युनिष्टहरूको धार्मिक रूझानका बारेमा भारतीय विद्वान कुलदिप नायरले पनि धेरै लामा लेख लेखिसकेका छन् । नेपालमा जति नै ठूलो कम्युनिष्ट क्रान्तिको कुरा गरिए पनि, हाम्रो रगत र चरित्रमा कम्युनिष्टहरूको त्यो धर्म बिरोधी राजनीतिक सोच भने घुसेको छैन कि जस्तो छ । यो कुरा स्वदेशी र बिदेशीले बेलाबखत चर्चा गर्ने गरेका छन् । यत्रो रक्तरंजित क्रान्ति पछिको यो बिन्दुमा आइपुगेर, जनगणतन्त्र स्थापना गर्नै लागेको यो मौकामा , माओवादीले ‘श्रीमद्भागवत महायज्ञ’ लगाएको छ । यो पुण्यको महारथ कति होला भोलि फल लागेपछि देख्न पाइएला । कतै हाम्रो यो महान क्रान्तिकारी पार्टीले विविध राजनैतिक प्रयोगहरूको अनन्त श्रृंखलाका क्रममा , धनी, बुर्जूवा र सामन्तीहरूलाई बढी भएको सम्पत्ति ‘स्वेच्छिक दान’ गर्न लगाएर समाजमा रहेको असमानता र गरीब धनी बीचको असन्तुलनलाई धार्मिक ढंगले समाधान दिन खोजिरहेको त छैन ? कामरेड प्रचण्डले बारम्बार भन्ने गर्नु भएको चमत्कारको राजनीति { धर्म, अर्थ (काम र मोक्ष बाहेक) र राजनीतिको फ्यूजन} यस्तै खालको त हैन ? जहाँ श्रीमद्भागवतले समाजवाद र भीमसेन पूजाले संविधान स्थापनार्थ भगवद् सामर्थ्य हासिल गर्छ ! भगवान भरोसा चलेको मुलुकका लागि यो भन्दा ठूला क्रान्तिकारी विम्वहरू के नै होलान र ?


July 15, 2009

कल्पनाको सम्झना मायालुलाई

रवि कुमार गौतम
हाल बलादईराक

हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।

शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।

बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।

शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥

उहि अभागी

रवि कुमार गौतम



July 14, 2009

बिचार ,सिद्दान्त र कर्तब्यसँग ब्यवहारिकता मेल नखान पनि सक्छ

आचार्य प्रभा
(अमेरिका )

बिचार, सिद्दान्त र कर्तब्यसंग ब्यवहारिकता मेल नखान पनि सक्छ । भन्छन नि मान्छेहरु गफै गफमा मेरो बिचार ऊच छ सोच राम्रो छ । म भेदभाव गर्दिन, मेरो नजरमा सबै समान छन, तर कहीं न कहीं मान्छेको बिचार, सिद्दान्त, कर्तब्य र सोचमा फरक पर्न जान्छ । कहीं कतै यो हुन परिस्थिती र समयको खेल पनि हुन्छ र कहिले कही यस्ता कुरा मान्छेको मानसिकतामा पनि भर पर्छ ।

हुन त मान्छे सबै कुरामा दक्ष र पोख्त त हुन सक्दैन उस्मा केही न केही कमीकमजोरी अवश्य हुन्छ नै । मान्छेले चाहेर पनि कहिल्यै ईश्‍वर हुन सक्दैन । ईश्‍वर पनि त हामीले मानेर मात्र पूजनशिल भएको हो । पुराना धर्म ग्रन्थहरुमा देखाइएकै छ नि उनिहरुको कमी कमजोरी, रङलीला आदी । मेरो भन्नुको आशय यही हो कि मान्छ्ले ऊच बिचार र सोचको कर्तब्यपथलाई अङिकार गर्ने हो भने मान्छे, मान्छेबिच यस्तो बैमनष्यता, लुछाचुँडी, हानाथाप किन हुन्थ्यो ?

तर मलाई लाग्छ ऊच बिचार, सहि सोचलाई मान्छेले सदुपयोग गर्न पनि उस्लाई मान्छे, समाजकै प्रेरणाको आवश्यकता पर्दछ । जस्तै भनौ न कोही मान्छे सबैसँग राम्रो ब्यवहार गर्छु भन्छ, म सहि बाटो रोजेर हिंड्छु भन्छ समाजमा केही योगदान गरेर बाँच्न चाहन्छ भने उस्को एक्लो प्रयासले कहिल्यै त्यो सम्भव हुन्न, उस्लाई प्रोत्साहन, हौशला र उत्शाह त चाहिन्छ नै । यदी उस्को ऊच बिचार र सोचमा बाधा, अड्चन आइदियो भने उस्ले कसरी उस्को ऊच बिचार र सोचलाई कर्तब्यमा ढालेर ब्यवहारिकतामा उतार्न सक्छ ? यी त भए कसैको पनि ऊच बिचार को सदुपयोग समाजबाट नै हुन्छ भन्ने उदाहरण । तर मेरो मुख्य आशय के हो भने, कसैले ऊच बिचार राख्छ भने त्यस्को सदुपयोग ऊ भित्रको ब्यक्तिगत आचरणमा पनि भर पर्छ । भनौं न, कोही एक युवक म समाज सेवा गर्छु भन्छ अर्थात म कसैलाई पनि सहि नजर बाट मद्घत गर्छु भन्छ, तर समाजले उस्लाई त्यो ओहोदामा पुर्‍याए पनि उस्को ब्यक्तिगत आचरण नै सहि छैन वा उस्मा निहित स्वार्थ मात्र छ भने उस्को सहि सोच, उच बिचार कसरी कर्तब्यपथमा लागेर ब्यवहारिकतामा ढल्न सक्छ र ? यसर्थ सही बिचार र सिद्दान्तलाई सहि ढंगले कर्तब्यपथमा उतार्नलाई मान्छेको ब्यक्तिगत स्वार्थ र उस्को ब्यक्तिगत चरित्र नै सहि हुनु पर्छ ।

जस्तो एउटा नेताले सबै जनतालाई मक्ख बनाउछ, आफु आफ्नो ओहदामा पुग्नलाई तर जब ऊ आफ्नो स्वार्थको लिस्नो उक्लन्छ अनी उस्का मीठा मीठा बचन,बाणी र सहि सोच, सही बिचार र सहि सिद्दान्तका कुराहरु ऊबाट बहिष्कृत हुन थाल्दछन । यस्को अर्थ हो कि यस्तो हुनु चाँही उस्को निहित स्वार्थ हो । त्यसैले बिचार, सिद्दान्त र कर्तब्यलाई ब्यवहारिकतामा उतार्न आफ्नो ब्यक्तिगत आचरण सहि र ऊच हुन पहिलो आवश्यकता पर्दछ र दोश्रो समाज, अन्य सबैको सहयोगको आवश्यकता पर्दछ । अनी मात्र सहि बिचार, सही सिद्दान्तले कर्तब्यपथमा हिँड्ने मौका पाउदछ । मेरो आशय यही हो कि कुनै बेला सहि र ऊच बिचार ब्यवहारिकतामा लागु हुन आँफैभित्रको मानवियता सबल र सहि हुन पर्छ अनी त्यस्लाई ब्यवहारिक्तामा उतार्न सकिन्छ त र सोच एकातिर, ब्यवहारिकता अर्को तिर भएमा त्यस्तो सोचले समाज, देश जहाकही प्रश्रय पाउदैन । त्यो त उस्को ढोङी र अनर्थको भाषण मात्र ठहर्न सक्छ । यसर्थ सहि सोच, सही बिचार, सही सिद्दान्तको अनुयायी बने पनि त्यस्लाई ब्यवहारमा पनि ढाल्ने कोशीश गरौं, नत्र फोस्रो नाराको आव्हान गरेर किन सबैलाई आफ्नो गलत पहिचान दिएर समाजमा कलंकीत बन्ने ? कि त यस्तो कुनै फोस्रो गफ नै नगर्ने जस्ले आफुलाई समाजमा हास्यको पात्र मात्र बनाउछ । नत्र आफुबाट हुने सम्म र आफ्नो औकातले थेग्ने सम्म सहि बिचार, सही सोँच र सहि सिद्दान्तको भारी बोक्ने जस्ले आफुलाई पत्यारिलो बनाओस र समाज,आफन्त,देशले पनि आफुबाट केही आशा गरोस् वा आफुले पनि गर्न सकियोस, न कि बकमफुस्रे गफले आफुलाई स्तरहिन बनाएर सबैको सामु झुटको खेती गर्ने उपनाम आफ्नो शिरमा नलागोस यसर्थ हुन सक्ने र गर्न सक्ने पुर्याउन सक्ने सोँच बिचार र सिद्द्न्तको सबैले खेती गरौ बेअर्थको सोँच र बिचार लाई पालेर समाजमा आफु स्तरहिन नबनौ ।



गाउँखाने कथा - २३ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २३मा सहभागीहुने सबैलाइ धन्यबाद तथा यस्को उत्तर मिलाउने सुजन जीलाइ धेरै धेरै बधाइ। सुजन जी गाउं माग्नुहोला।
------------------------------------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

त्यो घरकी एक्ली बूढी, कु्म्लो छाडी रुख चढी।

यो गाउंखाने कथाको उत्तर पत्ता लगाउनुहोस?


बिगठन र आरम्भ मान्यताहरुको

- मधु माधुर्य, दोलखा
(हाल: मस्को, रसिया)

बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो -
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !

मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो -
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो

जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा -
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्

कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ -
एउटा स्वप्न - आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्

अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु

अब अर्को स्वप्न - आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु....
सपना पनि नहोस यस्तो त !!!

चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी "दास" हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै

मान्छेको भीडबाट
निस्कीरहको छु

एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !

आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्

उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै

अल्फा र ओमेगाहरु शान्त होउन् !


July 13, 2009

फेरी अर्को पासो भित्र

प्रबिण थापा

प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती

गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती

छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती

सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती

चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती


तिमी मुस्काइ रहु

तिमी मुस्काइ रहु बनेर जून ख्याती
सकेनन देख्न दुश्मनले तिम्रो प्रगती .......

चिरआत्माको गर्छौँ हामी सबैले कामना
तिमी प्रती छ हामी सबैको सद्भभावना .........,

चम्किलो तारा कहिल्यै निभ्दैन नभमा
तिमी अजर,अमर रहनेछौ सब माझमा ...........,

छुटयो सास देहबाट त के भो अब
तिमी जग्मगाइरहेछौ यो धर्तिमा जब ............,

गर्‍यो जस्ले तिमीसँग घ्रीणित घात,
भोग्नेछ उसैले आजन्म त्यस्को पाप ........,

तिमी अमर रहु बनेर शहिद ख्याती
यही जन्ममा मिल्नेछ फेरी प्राप्ती .......,