December 25, 2008

अतीत सम्झदा

हिजो आज दौंतरीमा अतित तथा आफ्नो दैनीकी लेखन निकै चलेको छ। हप्तामा एउटा भने पनि केही लेखुं भनेर लागेको नेपालमा डिजेल पावर हावसको अध्यन गर्दा गर्दै ड्राफ्ट पोस्ट अझै पुरा हुन सकेन। दौंतरीलाइ सजाउदा सजाउदै तथा लेखहरु पोस्ट गर्दा गर्दै बिदामा केही लेखु भन्यो दिमागमा केही फुरेन। हुन त दौंतरीमा रहेका फुलबुट्टा मेरो दिमागका उपज मात्र होइनन्। बिभिन्न सरसल्लाह दिनुहुने मित्र बाहेक महेश जि, म्याभरिक र ठरकी दादाले दौंतरीका फुलबुट्टा भर्नमा निकै काम खर्चिनु भएको छ। दौंतरी लेखकमा रहुनु भएका मित्र तथा फुटकर रुपमा लेख्ने मित्रहरुको सुचि त झन लामो छ।

लामो समय पछि आज खेमनाथ जि को लेख आउदा दौंतरीका पुराना दिन सम्झन मन लाग्यो। यसरी नया पुराना साथीहरु सक्रिय रहे पुराना दिन सम्झदा पनि निकै भावुक भइदोरहेछ। नेपाल र नेपालीको भाषा तथा संचारमा बिदेशमा रहेर सेबक बनी काम गर्नु पनि निकै आनन्द आउदो रहेछ। आशा छ सबै बिचार राख्ने मित्रहरु दौंतरीमा अटेर यो यात्रा नटुटाइ क्षितजसम्म पुग्ने छौं।

मेरो वेलकम पोस्टबाट सुरु भएको दौंतरी आज करिब ५०० पोस्टमा पुगिसकेछ। यस बिचमा थुप्रै खाले लेखहरु प्रकाशित भए राम्रा नराम्रा प्रतीक्रिया दिने मित्रहरु धन्यबादका पात्र हुनुहुन्छ। यो क्रमलाइ जारी नै राख्नुहोला। लेख्न मिले लेख्नुहोला नभए ब्लग पढेर कमेन्ट बक्समा आफ्ना बिचार भए पनि लेख्नुहोला। दौंतरी सामुहिक ब्लग रहेको हुंदा यांहा प्रशस्त ब्लगरको उपस्थीती हुन्छ। तर पनि दौंतरीको आसमान बाट अर्को आसमान सेतु जोड्न ब्लग भित्र ब्लग स्तम्भ ल्याएका छौं जहां अन्य ब्लगर साथीहरुको भलाकुसारी दौंतरीमा प्रस्तुत गर्ने छौं।

यस स्तम्भमा गत साता दिपक जडित हुनुहुन्थ्यो भने यस पटक सपना संसार रहुनु भएको छ।

साथीहरु माझ संचारको महत्ब र दुरुपयोगको बारेमा गफकै क्रममा सामुहिक ब्लगको मान्यता राख्दै दौंतरी खोल्ने प्रेरणा मिलेको थियो। साधारण ब्लगस्पटको ब्यानरबाट सुरु भएको दौंतरी अहिले थुप्रै अलंकार सहित तयार छ। कम्पियुटर सज्जा देखी लेख लेख्ने प्रेसित गर्ने तथा पढ्ने मित्रहरुले दौंतरीलाइ यांहा सम्म पुर्‍याउनु  भएको छ। ब्यबसायिकता भन्दा पनि उत्कृष्टता तिर उन्मुख दौंतरीमा समुहका सदस्यका तर्फबाट उत्तम रचना तथा लगाबले दौंतरी सधै अब्बल रहिरहनुका साथै सामुहिक अमुल्य सम्पती रहन गयो। हामी अझै धेरै माथी पुग्नु छ तर हामी जांहा पुग्ने छौं, जस्तो अबस्थामा रहने छौं, दौंतरीको मुलमन्त्रलाइ कहिले भुल्नुहुदैन। हामीले सिधा तथा स्पष्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ । दौंतरीमा प्रकाशित सामाग्रीलाइ प्रतिक्रिया दिए लेख्नेलाइ पनि हौसला बढ्ने छ तथा लेखको अर्को पक्ष पाठकबाट दर्शिने छ। तपाइहरु पनि दौंतरीमा फाट्ट फुट्ट रुपमा लेख लेख्ने भए या दौंतरी लेखक भएर रेगुलर लेख लेख्नको निम्ती [email protected] मा लेख या इमेल पठाएर जनताको ब्लग दौंतरीलाइ अझ बलियो र लोकप्रिय बनाउं।

- नेपालियन
मिनीसोटा, संयुक्त राज्य अमेरीका



नेपाली समाज यूएईको चुनावमा देखिएका केही दृश्यहरु

गत डिसेम्वर १२, २००८ का दिन दुबईको एभरेष्ट ईन्टरनेश्नल होटेलमा बिहानै देखी नेपालीहरुको चहल पहल थियो । होटल बाहिर झुम्म झुम्म नेपालीहरु देखिन्थे । विगत १९९० साल देखि यूएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाजको आज चुनाव हुँदै थियो ।

लामो समयदेखी यहाँ रहदै आउनु भएका र उच्च पदमा कार्यरत बुद्धिजिवी नेपालीहरुको उपस्थिति रहेको थियो । यूएईको अबुधावी सारजाह अलेन र अन्य प्रान्तबाट नेपालीहरु उक्त चुनावमा भाग लिन आएका थिए । साच्चैनै त्यहाँको माहोल अति रमाईलो थियो । उक्त होटलमा नेपालीहरुले प्रत्येक हप्ता कार्यक्रमहरु गरीरहन्छन् तर उक्त दिनको कार्यक्रम बेग्लै थियो । साच्चै नेपालकै चुनावको झल्को दिन्थ्यो । प्रवासमा कार्यरत भएको करिव ६ बर्षको अवधिमा पहिलो पटक चुनावमा उपस्थित भएको थिए । यूएईमा स्थापना भएका विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु र उक्त संस्थाले नेपाली समाजका उम्मेदवारहरुलाई भोट हाल्नको लागि चुनेका पार्षदहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । पार्षदहरुले परिचयपत्र झुण्डाएको देख्दा नेपालकै याद दिलाउथ्यो । करिव मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएता पनि दिनको १ बजेसम्म पार्षदहरु हलभित्र छिरेका थिएनन् । नेपालीहरु एक आपसमा प्रवासमा पनि भोट खसाल्न पाईने भयो भनेर हर्षित देखिन्थे । सबैले आफुले मन पराएका उम्मेदवारहरुलाई जिताउने कुराहरु गरेको सुनिन्थ्यो ।

चुनावी हलभीत्र म पनि छिर्न खोजे मसँग चुनावी परिचय पत्र थिएन तर मलाई भित्र छिर्न दिईएन । यूएई छिरेदेखी म नेपाली समाजका विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै आएको थिए र विभिन्न कार्यक्रमका समाचारहरु पनि संकलन गर्दै आएको थिए । उक्त दिन पनि म चुनावको चहलपहलको समाचार टिपोट गर्न उपस्थित भएको थिए तर चिन्दै नचिनिएको ब्यक्ति जस्तो भए एक क्षण, कारण मसँग पार्षदको परिचय पत्र थिएन ।

चुनावी कार्यक्रम दिनको २ बजे देखि सुरु भयो । हलमा म पनि सोस्र फोस्र लगाएर छिर्ने मौका पाए । भित्र सबै पार्षदहरु उपस्थित भईसकेका थिएनन् । बिस्तारै पार्षदहरुको उपस्थित हुँदै गयो । उक्त चुनावी कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधित्वको रुपमा तृतिय सचिव जितेन्द्र लाभको उपस्थिती रहेको थियो ।

अध्यक्ष पदमा ३ जना समाजसेवीहरुको उम्मेदवारी परेको थियो । पूर्व नेपाली समाजका अध्यक्ष तथा समाजसेवी कृष्ण ढकाल, निवर्तमान नेपाली समाजका उपाध्यक्ष तथा समाजसेवी राजेन्द्र देवकोटा जनजाती महासँघका अध्यक्ष तथा समाजसेवी यम प्रसाद तमु । तिन जनाको बिचमा चुनावनै हुने भएको भए पार्षदहरुले एक पटक सोच्नै पर्दथ्र्यो कस्लाई भोट दिने भनेर तिनै जना ब्यक्ति नेपाली समाजलाई आवश्यक पर्ने ब्यक्ति थिए । तर अहिले सबै प्रवासी नेपालीहरुले नेपाली समाजमा नयाँ अनुहार चाहेका थिए र समझदारीमा कृष्ण ढकाल र राजेन्द्र देवकोटाले यम प्रसाद तमुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए यो अति सह्रानिय कार्य हो । यदि चुनाव भएको भए पछि एक दुई भोटको अन्तरालमा विजयी हुँदा नकारात्मक हल्ला फिजिन्थ्यो ।

उपाध्यक्षको लागि दुई जनाको आवश्यकता थियो उक्त पदमा ३ जनाको उम्मेदवारी परेको थियो । नेपाली समाजका पूर्व महासचिव तथा निवर्तमान सदस्य लक्ष्मण सापकोटा नेपाल पत्रकार महासँघ यूएईका उपसभापति मान बहादुर थापा तथा आसिफ अलि सिद्धिकी अन्त्यमा नेपाल पत्रकार महासँघका उपाध्यक्ष मान बहादुर थापाले अन्य दुई जनालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । महासचिव पदमा भने ३ जनाको भिडन्त हुने निश्चित भईसकेको थियो । नेपाल दुबई जनकल्याण राहतकोषका अध्यक्ष तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका सदस्य धर्मेन्द्र यादव नेपाल पत्रकार महासँघका सदस्य तथा लुम्बिनी वेलफयर सोसाईटीका नारायण अधिकारी तथा जनप्रगतिशिल माच यूएईका उक्तम अधिकारी तिन जनाको अन्तिम समय सम्म पनि समझदारी भएको थिएन ।

विभिन्न बुद्धिजिवी तथा समाजसेवी नेपालीहरुले अन्तिम समय सम्म पनि समझदारी गराउने प्रयास गरिएको थियो । तिनै जना नेपाली समाजमा आउन आतुर देखिन्थे । अन्त्यमा नारायण अधिकारीलाई महासचिव उक्तम अधिकारीलाई सचिव र धर्मेन्द्र यादवलाई प्रवक्ता उक्त हलबाटनै घोषणा गर्ने भनि समझदारी भएपछि मात्र चुनाव हुनवाट रोकियो ।

अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन भएको घोषणा गरिसकेपछि महासचिव पदको घोषणा गर्न निर्वाचन समन्वय समितिलाई निकै कसरत गर्नु पर्यो । निर्वाचन समन्वय समिति लगायत अन्य बुद्धिजिवी तथा समाजसेवी नेपालीहरु सकेसम्म समझदारीमा जाने पक्षमा थिए भने उपस्थित पार्षदहरु भने भोट हाल्न आतुर देखिन्थे । निर्वाचन समन्वय समितिका प्रवक्ता डि।आर। गुरुङ्गले मत पत्र सम्बन्धि मतदाताहरुलाई जानकारी दिदै थिए भने बाहिर ३ जना बिच समझदारी हुँदै थियो । बिचैमा महासचिव पदका दावेदार धर्मेन्द्र यादवले उम्मेदवार फिर्ता लिए पछि अब दुईजनाबिच मात्र चुनाव हुने देखिन्थ्यो । अन्तिम समय सम्म पनि समझदारी भएको देखिन्थेन । तिनै जनाको समझदारी भएतापनि उक्त हलबाटनै घोषणा हुनुपर्नेमा ढिप्पी थिए भने निर्वाचन समन्वय समितिको आचारसंहितामा प्रष्ट खुलाईएको थियो निर्वाचन समन्वय समितिले ५ वटा पदमा मात्र निर्वाचन गर्ने र बाँकी रहेको पदमा अध्यक्षको रोहवरमा पहिलो बैठकमा चयन गर्ने भनेर तर त्यही हलबाट घोषणा गर्ने भनेर ढिप्पी गरेपछि सचिव र प्रवक्ताको पनि त्यहिहलबाट घोषणा गरियो ।

एकैक्षणमा हलमा चुनावी परिणाम आउन थाल्यो । नेपाली दूतावासका प्रतिनिधी तृतिय सचिव जितेन्द्र लाभले विजयी नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई अविर लगाई स्वागत गर्नु भएको थियो ।

चुनावी कार्यक्रम सकिसकेपछिको माहोल झनै हेर्न लायकको थियो । नवनिर्वाचित अध्यक्ष यम प्रसाद तमूलाई उहाँका शुभचिन्तकहरुले फूलमाला र अविरले स्वागत गर्दाको क्षण नेपालकै चुनावी मैदानमा चुनाव लडेर विजयी भएको क्षण जस्तो देखिन्थ्यो । प्रवासमा त्यो दृश्य अति हेर्न लायकको थियो ।

कोषाध्यक्षको पदमा निवर्तमान कोषाध्यक्ष रविन्द्र पौडेलको मात्र उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित भएका थिए । लक्ष्मण सापकोटा र रविनद्र पौडेल बाहेक अन्य महत्वपूर्ण पदमा सबै नयाँ अनुहार आएका छन् । नयाँ जोस र जाँगर लिएर नेपाली समाजमा आएका नयाँ पदाधिकारीहरुको काँधमा करिव २ लाख प्रवासी नेपालीहरुको भार पर्ने छ । २ बर्षको लागि चुनिएको उक्त कार्यसमितिले नेपालीहरुको समस्याहरुदेखि लिएर अन्य धेरै कार्यहरु गर्नुपर्ने देखिन्छ । यूएईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरु र सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई एउटै छातामुनी ल्याउनुपर्ने देखिन्छ ।

अब भावी नेपाली समाजले कस्तो कार्य गर्दछ त्यो त हेर्ननै बाँकी छ ।



December 24, 2008

मेरो आफ्नै कथा ब्यथा

गत हप्ताको कुरा हो डिउटीबाट फर्के लगत्तै वाथरुममा हात धुन गएँ, तर पानी थिएन । विगत साढे २ बर्ष देखी म लगायत अन्य नेपाली साथीहरु यूएईको अबुधावी स्थित पासपोर्ट रोडमा बस्दै आई रहेका छौ । अन्य भवनहरु भन्दा केही पुरानो थियो हाम्रो भवन । निम्न आयश्रोत भएका ब्यक्तिहरु बढी बस्ने उक्त भवनको हामी १४ औं तलामा बस्ने गर्छौ ।

पानी नआउनुको कारण बुझ्दै जाँदा हामी नजीकैको भवनमा रहेको खानेपानीको ट्याङ्कीमा हामी बसेको भवनको फोहोर पानी तल जमिनबाट रसाएर मिसिएको रहेछ र उक्त भवनका मानीसहरुले सम्वन्धित निकायमा उजुरी दिएका रहेछन् र उक्त उजुरीको आधारमा बलेदिया नेपालको नगर प्रहरी ले हामी बसेको भवनको पानीको मुहान काटी दिएको रहेछन् । हामीबसेको भवनमा करिब १२ सय जति मानीस छन् ति सबैलाई समस्या हामीलाई जस्तै भयो । अब के गर्ने कोठामा अन्य बस्तु नभए पनि पानी त नभई नहुने ।

अबुधावीमा भनेको बेलामा कोठा पाउन पनि अति मुस्कील पर्ने । दुई दिन सम्म केही थाहा पत्तो भएन पानी आउने नआउने भन्ने ।
डिसेम्वर १३ साँझ अफिसबाट फर्केर आउँदा लिफ्टको ढोका नजिकै दुईवटा अरबीमा लेखिएको सूचना टाँसीएको रहेछ । आफु त अरबी फुटेको अक्षर पनि नजान्ने नजिकै बसेका अरबीलाई के भएको हो भनेर सोध्दा यो भवन खतराको अवस्थामा छ जसरी हुन्छ छिटो खाली गर्नकोलागि सूचना टाँसेको छ भनेर भन्यो । अब भएन फसाद्, भवनमा पानी पनि आउने कुनै ठेगान छैन । उक्त भवन नेश्नल बैंक अफ अबुधावीको स्वाधिनमा रहेछ । सबै जना मिलेर कोर्टमा जाने कुरा पनि गर्न थाले । कोठामा हामी करीव ७ जना नेपालीहरु बस्दथ्यौ । अब पानी कहाँबाट ल्याउने सधै किनेर पनि साध्य भएन । खानेपानी ल्याउने गरेको ठुला पानीको बोत्तलहरु नजिकैको सुपरमार्केटका ट्लीहरुमा राखेर पानी खोज्न निस्कियौं । नजिकै मुस्लिमहरुको पाठ गर्ने ठाउँ मस्जिद थियो मस्जिदमा सधै पानी भईनै रहन्थ्यो हामी पनि भित्र पस्यौं पानी लिन । भित्र लामो लाईन थियो हामी बसेका भवनका सबै मानीसहरु हामी जसरीनै पानी लिन गएका रहेछन् । मुस्लिमहरुले पाठ गर्नु भन्दा पहिला हात खुट्टा धुने ठाउँमा हामी पानी थाप्न थाल्यौ । यसरी बिहान बेलुका पानी ल्याएर जिवीको टार्न थाल्यौ ।

केही दिन खाना बाहिर होटलमा खायौ तर कोठामा आफैले पकाएको जस्तो नहुने त्यसैले पानी बोकेर भए पनि खाना पकाएर खान थाल्यौ । पानी आज आउला भोली आउला भन्दा भन्दै हप्तौ वित्यो तर पानी आएन । अब कोठा जसरी पनि छोड्नु पर्दछ भनेर आफुसँग सम्पर्कमा भएका नेपालीहरुसँग रुमको बारेमा सोध्यौ पनि तर कतैबाट पनि सकारात्मक उत्तर आएन । आज हप्तौ दिन वितीसक्यो अफिसबाट बिदा हुदासाथ ट्लीमा बोत्तल राखेर पानी लिन गईहाल्नु पर्ने । कस्तो आपत विदेशमा अझै भन्नुपर्दा विकशित देशमा पनि हप्तौ दिन सम्म पानी आउँदा कसैले पनि केही ध्यान नदिनु । यदि नेपालमा हुन्थ्यो भने हड्ताल हुन्थ्यो होला तर यहाँ केही थाहा छैन कहिलेसम्म पानी बिना हामी बस्ने हो यूएईको अबुधावीमा रुम खोज्दा नपाउने कि त परिवार हुनुपर्ने अरे । अब के गर्ने पानीको पर्खाईमा बस्दा बस्दै हप्तौ वित्यो । यदी क्रनै साथीहरुसँग कोठाको बारेमा जानकारी भएमा हाम्रो समस्या बुझेर सहयोग गरिदिए राम्रो हुने थियो ।



घडी रोकिएको पुर्व संकेत

- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी
 
रात झनै मध्यरातमा परिवर्तन हुँदैछ
बिहानि को आशामा सडकमा रगत बगाउनेहरु
अझै जँगल भित्र गायब हुँदै छन
यो औशीको लामो रात्री प्रहर
सम्झु त तुवाँलोले ढाकेको दिन
उज्ज्यालो निसाम्मै छैन सिर्फ उज्ज्यालोको स्तुतिमा
दिन झन रात जस्तै बन्दै छ
आशा को प्रती र किन गरीराखेका छौ
जनताका छोरा हरुलाई जनताले तर्साउन थाले पछी
जनताका छोराहरुले नै जनतालाई भ्रममा राखेपछी
विश्वासको प्रती ? किन बनायौ ?
अझै नेपाली आँखा पुत्र बियोगले बर्सिन्छ भने
दिन दहाडै डकैत अपहरण हत्या बडदैछ भने

जव जब जनताका छोराहरु सार्वभौम सत्ताका डिँगा मार्छन्
तब तब सार्वभौम जनता दिनदहाडै गेडिने गर्छन्
डिँगा मार्ने गेडने , गेडिने सबै सबै जनता
दु:ख झेल्ने आफ्ना गुमाउने , अधिकार बिहिन पनि जनता
कँहा फिराद पत्र लिएर जाने अव
------- चोर भन्ने ठाउँ छैन अव
हाम्रो फिराद पत्र बुझाउने ठाउँ छैन अव
त्यो ठाउँमा त डुकुलन्ट्ठु जनताका छोराहरु छन
जनता मार्दै डकैत गर्दै खाने हरु छन
दिन दहाडै अनेक उपनाम दिई लुटने हरु छन
रात मध्य रात को प्रहर बड्दो छ घडी रोकिएको छ
अव यस्तो लाग्छ कहिले उज्ज्यालो हुँदैन
पुन तियानमियान चोकको नियती नभोगी ।।

घडी रोकिएको छ जनदुहाइ सुन्ने श्रीपेच संग्राहलयमा छ
घडी रोकिएको छ सुशासन गर्ने राजदण्ड जनताको हात मा छ
अव राजदण्डले होइन बन्दुक को नाल ले शासन गर्दै छ
त्राश बढदो छ दिन निसासी लाग्दो कठोर
रात काल्रात्रीमा मडारिदै बज्रदै छ
अनेक झुण्डहरु को समुहले कानुनी राज्यको खिल्ली उडाउदै छ
जतातत्तै नरसिनोले नवइदियामिनको घोषणा गर्दै छ
साच्चै नै सान्ति क्षेत्रलाई नरबधशाला मा तब्दिल गर्ने हरु
सत्तसिन भै सकेका छन
घडी रोकीइ सकेको छ
नयाँ नेपालको नामले।


अतितको पानाबाट

पुराना अंशहरु पढ्न यहाँ क्लिक गर्नु होला।

आज क्रिश्मसको पूर्व संध्याको दिन। अफिसमा काम् पनि त्यति छैन। धेरै गोरा साथीहरु छुट्टीमा घरै बसे। सोचें, मेरो यो कथालाई आज टुंग्याइदिऊं। हिन्दी टेलीस्रींखलाहरुजस्तो तन्काइरहन मन् छैन। मेरो कथा प्रस्तुतीलाई मन् पराएर प्रतिक्रिया लेख्ने साथीहरुलाई धेरै धन्यवाद्।

तपाई अब कलेज पढ्न टाढा जानुहुनेछ। नया ठाऊँ, नया परिवेश् हुनेछ। उच्च् शिक्षा हासिल् गर्ने, उज्ज्वल् भबिष्य बनाउने धूनमा तपाई धेरै पर पुग्नुहुनेछ। मलाई शंका छ, म तपाईलाई पछ्छ्याईरहन कहाँ सकुंली। म पढाइमा कमजोर र खासै कुनै लक्ष्य र गन्तब्य पनि नभएकी,के तपाईले मलाई आफू योग्य सम्झिरहनु होला? शहरको रमझम, नया संसार्, हुन सक्छ तपाइको नया संबन्ध पनि बन्ला र तपाई पुराना कुराहरु भुल्दै जानु होला। के तपाईको माया मलाई उत्तिकै रहला?यस्तै यस्तै कुराहरु लेख्न थालिन् तिनले। हुन त मैले प्रेम् प्रस्ताव पठाउंदा धेरै परको कुरा सोचेर पठाएको थिइन तर प्रेम पत्रहरुमा मैले धेरै बाचाहरु खाइसकेको थिएँ। म मेरो बाचाहरु कहां सजिलै तोड्न सक्थें र। जुनसुकै परिस्थिति, परिबेश्, बाधा अड्चनहरुमा पनि तिमीलाई कहिले भुल्न सक्दिन भनेर पत्रहरु लेखिरहें।

कलेजको फर्म भर्न कहिले काठमांडौ, कहिले चितवन, कहिले हेटौंडा जानु परिरहेको थियो। पत्र अलि नियमित लेख्न सकिरहेको थिइन। यस बिचमा उनको एउटा पत्र आयो; हजारौं वोल्टको झट्का दिनेगरी। के लेखिएको थियो भने-अब म आफ्नै गाँउ फर्किदै छु। मेरो बिहेको कुरा पनि चलिरहेको छ। यदि तपाईको माया सांचो हो भने मलाई पनि तपाईसंगै लिएर जानुहोस्। तपाई जहां जानुहुन्छ, म त्यहि जान तयार छु। उनको पत्रले मेरो बिचार् सुन्य भयो। केहि पनि सोच्न सकिन। चक्कर लाग्ला जस्तो भयो। आकाशतिर हेरें। आकाशपनि फन्फनी घुमिरहेको थियो । मैले आफ्नो प्रेम बचाउने भए उसलाई संगै लिएर जानु पर्ने भयो अर्थात बिहे गर्नु पर्ने भयो। होइन भने उनलाई बिर्सनुपर्ने भयो। छोरा मान्छेले प्रेम प्रस्ताव राख्दा सायद बिहेको कुरा सोचेर राख्दैन र बिहेको कुरा आउने बित्तिकै उसलाई आफुमुनिको जमीन भास्सिन लागेको प्रतीत हुन्छ। मलाई त्यस्तै भयो। मेरो अगाडी सिंगो भविष्य थियो, उच्च् शिक्षा हासिल् गर्ने, ठूलो ठाऊँमा पुग्ने आकांक्षा थियो। र अहिले नै बिहे गर्ने कुरो त सोच्न पनि सक्दिन थिएँ। मेरो परिवार, मेरा गुरुहरु सबैको आशामाथि तुषारापात गर्न सक्दिनथिंए। तर मेरो प्रेम्? जूनी-जूनीभर साथ दिने बाचाहरु? ती सबै झूठा हुने भए? यी प्रश्नहरुको उत्तर् म आँफैसंग थिएन।

म काठमांडौ पढ्न जाने निश्चित भैसकेको थियो। मैले एउटा पत्र लेखेँ। म अब काठमांडौ जाने भएँ। तिमी अहिले आफ्नै गाँऊ जाऊ। मलाई तिम्रो ठेगाना दिईराख। म काठमांडौमा ब्यबस्था मिलाइसकेपछि तिमीलाई लिन आउनेछु। म आफैलाई विश्वास् थिएन, के म उनलाई लिन जाउंला त? उनलाई केही सान्त्वना, केही भरोसा दिन त पर्ने नै थियो। अरु कुरा सोचिन। मनमा त्यही आयो, त्यही लेखें। म काठमांडौ हिंड्नु भन्दा केही दिन अघि छोटो भेट भयो। मुखले केही बोलिएन। आंखाहरु आंफै बोलिरहेका थिए। सायद उनलाई पनि विश्वास् थिएन्, म उनलाई लिन फर्कने कुरामा। उनका आंखामा बिदाइ झल्कन्थ्यो। निराशा देखिन्थ्यो। म भने आफ्ना भावनाहरु लुकाउन खोजिरहेको थिएँ। हामीले एक् अर्कालाई मौन बिदाइ गर्यौ।

म काठमाण्डौं आएँ। बिज्ञानको पढाइ, ब्यस्त भएँ। उनलाई लिन फर्किने कुरो झूठो साबित भयो। उनले दिएको ठेगानामा एउटा पत्र पठाएं। माफ गर। मैले सोचे जस्तो हुन सकेन। तिमीलाई लिन आउन सकिन। मेरो अहिले नै बिहे गरिहाल्ने स्थिति छैन। तिमीले पनि आफ्नो बिहे रोक्ने कोशिश् गर। तिमीले मेरो प्रतिक्षा गरेमा म तिम्रै हुँ। आदि आदि। पत्रको कुनै जवाफ आएन। पछि मलाई उनकै कक्षामा पढ्ने मेरो साथीबाट थाहा भयो। आफ्नो दुलाहासंग सानीमाको घरमा आएकी थिईन् रे। मेरो प्रेमको अवसान् भैसकेछ। मैले उनलाई आफ्नो बनाउन सकिन। तिनी अर्कैको भैसकेछिन्। मेरो प्रेमको कोपिला फक्रन नपाउदै ओइलाएछ। गल्ती मेरो हो कि उनको थाहा छैन।

त्यसपछि समय धेरै बितिसकेको छ। नदीमा पानी धेरै बगिसकेको छ। मेरो पनि आफ्नै संसार् बसिसक्यो। तर उनी मेरो यादमा अझै छिन्। पछि कामको सिलसिलामा पोखरा जांदा थाहा भयो, खैरेनीटार् बाटैमा पर्दोरहेछ। प्रत्येकचोटी खैरेनीटार पुग्न लाग्दा मेरो आंखाहरु चनाखो हुन्थे। तिनी कतै देखिन्छिन् कि भनेर झ्यालबाट हेर्थें। आफ्नो गाऊँ जांदा पनि उनको सानीमाको घरको बाटो हिंड्छु, कतै तिनी देखिईहाल्छिन् कि भनेर। अहिले त गांऊ पनि चिन्न नसकिने भैसकेको छ। पुराना घरहरु भत्किएर नया बनेका छन् र उनको सानीमाको घर चिन्न पनि सक्दिन। कसैलाई सोध्ने कुरा पनि भएन।अहिले त म आफ्नो देश छोडेर धेरै पर आइपुगेको छु र उनीसंग भेट्ने संभावना लगभग् शून्य जस्तै छ। तर पनि उनी मेरो संझनामा आईरहन्छिन्। बर्षातको मौसममा बेस्सरी झरी पर्दा, शिशिरमा रुखहरुबाट पातहरु निख्रिदा अनि हिउंदमा झम्झम् हिउं पर्दा उनको यादमा मन् एकतमास् भैदिन्छ।



एक छिन हासौंन - ८

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
हो ---मैले अगाडिको अंकमा कुकुरको इमान्दारिताको बारेमा मैले देखेका कुरा लेख्छु भन्दैथिए। हुन त यो साधारण कुरा हो। सबैलाई थाहा भएकै हो ता पनि मलाई भने अनौठो लागेर नै मैले मेरो अनुभुती पोख्ने आज्ञा माग्दैछु। आज भन्दा केहीसमय अगाडि मैले काम गरेको रेस्टुराँमा केही कस्टमरहरु अन्धा पनि थिए। शायद उनिहरु कुनै कम्पनीमा काम गर्दथे। त्यसैले पनि उनिहरु बेलुकाको खाना खान ग्रुप भएर हप्तामा दुई पटक सम्म पनि त्यो रेस्टुराँमा आउने गर्दथे। उनिहरुलाई त्यहासम्म खै कस्ले ड्राइव गरेर ल्याउने गर्दथे त्यो त मलाई थाहा भएन, अनी मेरो फुर्सद पनि भएन कि उनिहरुलाई कस्ले त्यहासम्म छाड्दथे भनेर हेर्ने। तर भित्र रेस्टुरेन्ट सम्म उनिहरुलाई ल्याउने चाँही एउटा गजबको कुकुर थियो र ठीक्क टेबल सम्म ल्याइ दिएर उनिहरु नबसिन्जेल्सम्म त्यो कुकुर उभिरहन्थ्यो र उनिहरु बसिसकेपछी ऊ थपक्क टेबलमुनी छिरेर उनिहरुले खाइ नसकुन्जेल बसिरहन्थ्यो जब उनिहरुले खाइसके भनेर जाने पछी थपक्क टेबल बाट निस्कन्थ्यो। कस्तो अजिब !। पशुको पनि त्यस्तो बुद्धी त्यो कुकुरको त्यस्तो इमान्दारिता र बुद्धी देख्दा मलाई पूरानो आफ्नो घट्नाको याद आउँदथ्यो।

एकदिन म र मेरी छोरी खसिको मासु किनेर घरतर्फ फर्कदैथियौ। छोरीले प्लास्टिकको झोलामा मासु हल्लाउदै बोकेकी थिइ/हामी गफको शुरमा हिडिरहेकाथियौ कताबाट यौटा कुकुर हान्निएर आएर छोरीले बोकेको मासुको झोला उछिट्टियाएर लग्यो। हामी त अक्क न बक्क पर्यौ। के गर्ने ?खोस्न जाउ भने उल्टै त्यही कुकुरले टोक्ने हो कि ?। मन नै अमिलो भयो। त्यो बेलाको महङी भनौ नै खसिको मासु खान लाई दशै नै पर्खिनु पर्थ्यो। मफतमा २०० रु खेर गयो भन्दै हामी चुक चुक गर्दै घर फर्कियौ। अब सोचौ न कुकुर पनि हाम्रो देशका त कस्तो चलाख अनी लुचा। मान्छेको नै गन्ती नगरने। अब त्यही कुकुरले यहाँ अन्धोहरुको साहारा भएर कसरी उनिहरुको बैशाखी बनेर भरोसा दिएको त! । त्यही भएर पनि छोरा छोरीलाई भन्दा आगर गरेको हो कि ?अब हाम्रो देशमा हो भने मान्छेलाई त राम्रो अनुशासन छैन कहाबाट कुकुरलाई अनुशासित बनाउने ?त्यसरी नै खोसेर,लुटेर खाने बानी परिसक्यो वा मजबुरी नै भैसक्यो। कुकुरको त कुरै छाडौ। ल त पाठक साथीहरु समयले मलाई सजाय दिन आंटी सक्यो। अमेरिका को जीवन आफ्नो भनेर पनि धर पाइन्न त्यसैले अर्को अंकमा भेट्ने बाचा गर्दै।
क्रमश: