September 8, 2008

मुर्छित शहर

अटमस्स बस्ती
तिरीमिरी बत्ती
प्रभुको अनूकम्पामा
ठांटिएर
अनी झांटिएर
चकमक्क रोशनी छाड्दै
मैनबत्तीमा सुस्ताएछ शहर।

सिरेठोमा ओठ काप्दै
हिमालमा आखा खाप्दै
नक्शा बिनाको गाउं
दिशा बिनाको ठांउ
चूक खनिएको रातमा
रुखो प्रेमिको साथमा
माया गास्न
लागेछ गाउंलाई रहर।

पुर्णे अन्धकार हुंदा
शहर तिन मुर्छा परेछ
त्सैले पो
फिस्टे खित्का छोडी हांसेछ
सिठोमा तंग्रेको गाउं
जूनसंग साउती गर्दै
सिउडीको फुल सिउरेर
जागेछ हर प्रहर।

(शहरमा लोडसेडीगंबाट अत्तालिने प्रती समर्पित)


गित - यांहा कोही भेटिएन

हस्त गौतम मृदुल

केटा -> कयौं दियोको बली चढाएं
केटी -> अन्धकार अझै मेटिएन।

केटा -> देशलाइ नया गति दिने
केटी -> यहां कोही भेटिएन॥

केटा -> नौंलो त्यो बिहानीलाइ
केटी -> तुंवालोले ढाकी नै दियो।

केटा -> अब त केही होला भन्दा
केटी -> मुनै दखमा जाकी दियो।

केटा -> कैयौं आशाको बली चढाएं
केटी -> अन्योल अझै मेटिएन।

केटा -> देशको नया भाग्य कोर्ने
केटी -> यहा कोही भेटिएन॥

केटा -> शहिदका सप्ना कुल्चिएर
केटी -> छाती माथी टेकी दिए।

केटा -> स्वतन्त्रताको उज्यालोलाइ
केटी -> हत्केलाले छेकी दिए॥

केटा -> कयौ सुखको बली चढाएं
केटी -> निरंकुस्ता नै मेटिएन।

केटा -> देशमा नया आयाम थप्ने
केटी -> यहा कोही भेटिएन।


प्रबाशीको पत्र प्रियसि लाई

पुरुशोत्तम सुबेदी
बेल्जियम

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।

सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।

नासो पठाइ दिएको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्रीय सुमित्रा मा ।।

देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भएको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।

केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।

गार्हो छ फर्काउन गैरी खेत -पच् हुने भयो औंठी तिलहरी ।
टोलाउछु एकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।

ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।

बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।

घर नै सुन्य गाउँ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।

साथी बिर्सें गाऊ बिर्सें -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।

आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिकहरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।

गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँ भनी ।।

कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।


तिम्रो भेद


- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी


जीवन त भौतिक पदार्थले बनेको छ
आध्यात्मिक चेतनाको बिकास किन नगर्ने
धर्म अफिमको नशा होइन भने
गीताको सारमा सरल जीवन किन नबिताउने

पांच तत्व भौतिक पदार्थको सुक्ष्म ज्ञान किन नलिने
सयौ एटम छन शरीर भित्र योगले तिनलाई बशमा किन नपार्ने
मान्छे लाखौं जुनी पछी मात्र भइन्छ भने
माछे को कर्तब्य धर्ती को सेवा किन अब नगर्ने

मुटु को धड्कन भन्दा तेज छ तिम्रो बिचार शक्ती
त्यस्लाई सतकाममा किन नलगाउने
धर्ती का सबै मान्छे बराबर हुन भने
इश्वरका यि कृपा लाई किन छुटाउने

आउ एउटै माला मा उनिई मोहलाई अब छाडिदिउ
बैराग्य नयाँ जीवन को सुत्राधार अब यसैलाई अँगालौ
शिव सत्य विश्वास र विस्वआत्मा को स्तुती गरी
प्रेम ले अविश्वास को जरा काटी सत्यको बाटो अब किन नहिंड्ने

हत्या हिँसा लुट झुट छाडि अब हरी भजौ
जीवनको सुन्दर मुल्य सत्कर्म गरी हरी रिझाउ
आफ्नै दिल भित्र उनी बस्दछन दिल मा नै उनलाई खोजौ
मन भित्र छ मुक्ती को बाटो मन को मैलो धोई मन सफा राखौ

मिथ्या जगतको भेद नै मान्छे को त्यो भेद तोडन
ॐ को साब्दिक अर्थमा लुकेको सम्वन्ध खोज्न
शिवको साब्दिक अर्थमा लुकेको अमरत्व खोज्न
यही जीवन को अनन्त भेद स्विकार्दै निर्वाण खोज्न

अस्तु




September 7, 2008

गजल - राप हो कि ताप

राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे

राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे

आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे

September 5, 2008

कामरेड प्रचण्डको बिबिसी अन्तर्वार्ता : यसको निहितार्थ

जनताको रगतले भिजेका आफ्ना हातहरू ओभानो पनि बन्न पाएका थिएनन् , माओवादीहरू सत्तासीन बन्ने परिस्थिति जुट्यो । फलत कामरेड पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न पुग्नुभयो । वहाँले यो अकस्मात प्राप्त बोझ उठाउनु पर्दा स्वाभाविक असहजपन महशूस गरेको हुनुपर्छ , त्यसैले शपथ ग्रहण गर्दाका दिनमा पत्रकारहरूको जिज्ञासामा भन्नु भएको थियो ' म अति एक्साइटेड भएको छु, र मसंग अहिले बोल्ने शव्द पनि छैनन्' । तर पदारोहणको २ हप्ता बितिसक्दा, कामरेड दाहालको 'एक्साइटमेण्ट' सब्साइड भइसकेको भान भएको छ । यो किनभने , गएको हप्ता प्रधानमन्त्री दाहालले बिबिसी नेपाली सेवाका रविन्द्र मिश्रलाई एउटा लामो अन्तर्वार्ता दिनुभयो । यसो त अन्तर्वार्तामा कामरेड दाहालको भावुक व्यक्तित्वको धरातलमा बनेको जिम्मेवारीपन झल्किन्थ्यो भने , वहाँको 'एक्साइटमेण्ट' मा ' क्यारिड अवे' हुने कम्यनिष्ट धङधङी बोकेको उद्देश्य पनि छताछुल्ल बन्यो यो वार्ता मार्फत ।


कामरेड दाहाल-भट्टराईको माओवादी पार्टी भित्रको प्रभावसाली सिण्डिकेटले पछिल्ला दिनहरूमा रट लगाउने गरेको चामत्कारिक आर्थिक विकासको नेपाली-मोडेलको पुनर्खुलासा कामरेड दाहालले आफ्नो लफ्पाजि भरिएको वार्ताका दौरान पनि दोहोर्‌याउनु भयो । तर सदैव जस्तो, यो चामत्कारिक विकास रूपी कल्पनाको घैँटो फुटाल्ने आख्यान बाहेक यस्तो विकासको प्रामाणिक आधार, यसका लागि लगानीकर्ताहरूको खोजी, वातावरणको निर्माणदेखि अरू आवश्यक पर्ने यावत जरूरतहरूको तथ्य र आँकडागत उदाहरण पनि कतै दिन किचकिच गर्नु भएन । यस्तो लाग्छ, माओवादी मोडेलको यो भ्यागुतो जस्तो उफ्रने विकास , नेपालमा एकाएक माओवादी नेताहरुको मुखराविन्दबाट प्रकट हुने बित्तिकै छलाङ मार्दै अवतरण हुन पुग्ने हो । यो विकासे नेपालको कथा बिगत केही महिनादेखि नेपालमा सुनिँदै आएपनि, माओवादीका कुनै पनि नेताले , यो कसरी कारगर हुन पुग्ने हो भन्ने कुरामा माथापच्ची गर्न आवश्यक नै ठानेका छैनन् , कामरेड दाहालको पछिल्लो बिबिसी अन्तर्लापले पनि यसको निरन्तरता बाहेक नया कुरा केही दिएन । विकास र माओवादीले भन्ने गरेको 'चमत्कार' का लागि सोच र भावुकताको भन्दा ,व्यवहारिक योजना र प्रतिवद्दता अनि तिनको क्रियान्वयनको खावचो टड्कारो रहनेछ । हिजो द्वन्दका दिनहरूमा, नेपालमा खोलिएका बहुराष्ट्रिय र विदेशी कम्पनिहरूको अस्तित्व समाप्त पार्न अनि बनेका पूर्वाधारहरूको विध्वंश गर्न खर्चेको माओवादी ऊर्जा र माओवादीले अङ्गिकार गरेको राजनैतिक सिद्दान्तले बोकेको निजि पूँजी र पूँजीको परिचालन , बजारमुखी उदरवादी अर्थनीति बिरोधी एजेण्डा नै यो चमत्त्कारिक विकासको मार्गमा नम्बर १ अवरोधक हो ।

कामरेड प्रचण्डको यो अन्तर्वार्तामा देखिएको अर्को बिसंगत पक्ष भनेको उनको राजनैतिक मुद्दा सम्बन्धी स्वीकारोक्ति हो । विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा खुलेर वितृष्णा जाहेर गर्न नसके पनि आफ्नो पार्टीको आशक्ति र अनुरक्ति एकाधिकारवादी कम्युनिष्ट शासन पद्दति नै हो भन्ने कुरा उनले प्रष्ट बताएका छन् , यो वार्तामा । तर वर्तमान लोकतान्त्रिक संसारको भाका र लयलाई समातेर उनीह बिगतमा आफ्नो पार्टी र अरू कम्युनिष्टहरूले भन्ने गरेको हिंसात्मक रूपले सत्ता कब्जा गर्ने कुरालाई नपक्रेर , लोकतान्त्रिक पद्दतिबाट कम्युनिष्ट राज्य व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने चलाख तर्क प्रस्तुत गर्छन । यसका लागि उनको जिरह छ आगामी चुनाबमा उनको पार्टीले दुई तिहाइ मत ल्याउने छ र अन्त्यमा उनको लक्ष्य ९०% जनमत हासिल गर्ने हुनेछ । यसरी जनमत प्राप्त भएपछि जनवादी गणतन्त्र स्वत: अनुमोदित हुनेछ भन्ने प्रम दाहालको तर्क छ । सर्सर्ति हे्र्दा यो कुरामा बिमति राख्न पर्ने कुरा देखिन्न । ९०% बन्दा बढी जनताले चाहे भने त मुलुकमा जे कुरा लागू गर्दा पनि लोकतान्त्रिक पद्द्ति सम्मत भएको मान्न सकिन्छ । तर , के आधुनिक विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकहरूमा दलगत प्रतिस्पर्धाको वातावरणमा एउटा दलले ९०% जनमत ल्याउन सम्भव छ ? के कतै यो भएको छ ? संसारका समुन्नत देशहरू र आदर्श लोकतान्त्रिक मानिएका मुलुकमा पनि यति विघ्न जनमत कुनै एउटा दल विशेष वा उसका नीति नियमका पक्षमा एकोहोरिएको छ भन्ने उदाहरण पाइँदैन । यस्तो विघ्न मत कसैले ल्याएको थियो भने केवल फलिपिन्सका पुर्व तानाशाह मार्कोस, बांग्लादेसका तानाशाह हुसेन एर्शाद र रोमानियाका निकोलाइ चाउचेस्कूले मात्र ल्याउन सकेको उदाहरण आधुनिक विश्वमा हामीले देखेका हौँ । सेना , मिलिसिया र बलको भरमा ९९% सम्म जन- मत हासिल गर्ने यी तानाशाहहरूको नियति तिनको त्यो अगाध जनअनुमोदनको भरमा पनि टिकेन , हामीले देखेका हौँ । यस्तो जनमत हासिल केवल देखावटी नौटमकी निर्वाचनहरूमा समा, दाम, दण्ड, भेदहरूको समष्टि शक्ति प्रयोग गरी प्राप्त भएको मात्र देखिन्छ । तर आधुनिक लोकतन्त्रहरूमा बहुमतले शासन दिने र अल्पमतको पनि समावेशी सशक्तिकरणमा विश्वास गरिने हुनाले साथै आवधिक जननिर्वाचनको माध्यमबाट मुलुकको शासन प्रशासन सञ्चालन गरिने हुनाले अनावश्यक प्रचण्ड बहुमतको दरकार नै त्यहाँ ठानिन्न । फेरि जनताको विचार पनि समय समयमा अनि नेता तथा दलहरूको कार्यव्यवहार अनुसार परिवर्तनीय हुने भएकाले एक पटक बहुमत प्राप्त हँदैमा सँधैका लागि अकाट्य हुनेछ भन्नु पनि मुर्खता हो ।

यदि कामरेड प्रचण्डको भनाइ र निहितार्थ बुझ्ने हो भने , अहिले हासिल राज्यको शासन र प्रशासनको भरपुर उपयोग गर्दै माओवादी दलको नियन्त्रणमा रहेको जनवादी गणतन्त्रतर्फ नेपाललाई बलात् लैजाने कुरामा वहाँको पार्टी र नेताहरूमा बिमति छैन, यो छ भने केवल हाम्रो बुझाइमा ।