February 24, 2024

सामाजिक अभियन्ता ढुङ्गेल सम्मानित !

 लेखक, कवि, गीतकार एवम् सामाजिक अभियन्ता शेखर ढुङ्गेललाई सम्मान गरिएको छ । यही फागुन ५ गते शनिबार ऐतिहासिक शहर भक्तपुरमा आयोजित एक कार्यक्रमबीच ढुङ्गेललाई सम्मानित तुल्याइएको हो ।

अभियन्ता ढुङ्गेल जन्मे/हुर्केको तथा पढे/बढेको जिल्ला भक्तपुरमा स्थापित सृजना अभियान समाज भक्तपुरले विदेशमा रहेर पनि साहित्यका विविध विधा एवम् सामाजिक सेवामा पुऱ्याएको योगदानबापत उनलाई सम्मान गरेको हो ।

संस्थाका सचिव एवम् प्राज्ञ ध्रुव मधिकर्मीले उक्त विशेष कार्यक्रममा स्वागत मन्तब्य राख्दै शेखर ढुङ्गेलले लेख, कविता, कथामार्फत समाज परिवर्तनको लागि देशलाई पुऱ्याउनुभएको योगदानको लागि सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । यस्तै, चर्चित गीतकार सुवासचन्द्र ढुङ्गेलले आफ्नो शुभ कामना मन्तब्यमा शेखर स्कुल/कलेजदेखि नै सामाजिक विकृति-विसंगति र भ्रष्टाचारविरुद्ध विद्रोहीरूपमा रहेको भन्दै शेखरका बाल्यकालदेखिको स्वभावबारे प्रकाश पार्नुभयो ।

डा. तारा निरौलाले आफ्नो शुभकामना मन्तव्य राख्दै शेखरलाई लामो समयदेखि चिनेको र उनले दुःखी-पीडितलाई गरेको सहयोग एवम् देशप्रति चिन्तित रही पुऱ्याएका अनेकौँ सहयोगबारे आफू जानकार रहेको उल्लेख गर्नुभयो । डा. निरौला लामो समय अमेरिकाको विश्वविद्यालयमा अध्यापन कार्यमा संलग्न व्यक्तित्व हुनुहुन्छ ।

कार्यक्रममा चर्चित समालोचक युवराज मैनाली एवम् वरिष्ठ साहित्यकार महेश प्रसाईंले पनि ढुङ्गेलले साहित्य र समाज परिवर्तनको लागि पुऱ्याउनुभएको योगदानको चर्चा एवम् प्रशंसा गर्नुभएको थियो । सम्मान कार्यक्रममा साहित्यकार दुर्गाकिरण तिवारी, गीतकार राजेशमान केसीलगायतका साहित्यकारहरूको उपस्थिति थियो ।

सृजना अभियान समाजका अध्यक्ष एवम् साहित्यकार धनमान श्रेष्ठले ढुङ्गेललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो भने केहि वर्ष पहिले श्रष्टा शेखर र आफू सँगै सम्मानित भएको उहाँले स्मरण गर्नुभयो । गायक/गीतकार विनोदराज ढुंगेलले संचालन गर्नुभएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व शेखर ढुङ्गेलले आफूले कक्षा ८ देखि १० सम्म अध्ययन गर्दा यस ऐतिहासिक दरबारक्षेत्रमा प्रत्येक दिन हिँडेकोदेखि अनेकौँ प्रसङ्ग स्मरण गर्दै आज ४६ वर्षपछि यही शहरमा आफूलाई खोजेर सम्मानित गरिएकोमा भावविभोर भएको भन्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए ।

सम्मानित व्यक्तित्व शेखर ढुङ्गेलका तीन वटा गीति एल्बम, दुई वटा कथा संग्रह, दुई वटा नियात्रा संग्रह, गीति पुस्तक प्रकाशित छन् भने लामो समयदेखि समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ । देशमा मौलाएको विकृति-विसंगति सुधारको लागि उहाँले ‘परिवर्तनका लागि विवेकशिलता’ नामक पुस्तक लेखेर समाजका लागि अमुल्य योगदान गर्नुको साथै लामो समयदेखि देशमा आइपर्ने प्राकृतिक प्रकोपदेखि व्यक्तिगत पीडामा (शिक्षा र स्वास्थ्यमा) परेकालाई आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ ।

Shekhar Dhungel was a regular writer in Dautar

News Source: https://www.ghatanarabichar.com/297074?fbclid=IwAR3VcMtsbgpWP9wD_lRsYcL0REYu8X7rXHN22evHNNTbFTyOee2Ir9ygcQ8



1 Comments:

Staphit said...

Congratulations Shekhar Ji.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !