August 14, 2010

यो गतिरोध सरकार निर्माणको गणित मात्र हैन ।

-एकलव्य

माधव नेपालको राजीनामा पछि , अर्को सरकार बन्न नसकेको अहिलेको अन्यौलपूर्ण परिस्थितिलाई लिएर धेरै बुज्रुगहरूले आ-आफ्ना तर स्वाभाविक टिप्णीपणीहरू गरिरहेकै छन् । विकल्पमा सरकार बन्न नसकेकोको वर्तमानलाई हेरेर राजनीति गर्नेहरूलाई गाली गर्नु स्वाभाविक पनि हुनसक्छ , तर अहिलेको सरकार बन्न नसकिरहेको स्थिति भने अरू बेलाको भन्दा फरक र गम्भीर प्रकृतिको छ भन्ने कुरा पनि बुझिनु पर्छ । यो सरकार बिघटन, गठन प्रकृया र समीकरणहरू बन्न खोज्ने , भत्किने वा भत्काइने जुन सिलसिला चलेको छ , यो नेपालको राजनीतिक पद्धति भोलिका दिनहरूमा
  कुन बाटोमा अगाडि बढ्ने भन्ने गहन मुद्दासंग बढी सरोकार राख्ने विषय हो न कि तात्कालिक रूपमा सरकार बनाउने वा गिराउने चलखेल मात्र । यसैले सामान्य किसिमले ‘ जाबो सरकार पनि बनाउन सहमति गर्न नसक्ने हुतिहारा नेताहरू ‘ भनेर गरिने सामान्य उपबुज्रुक टिप्पणीहरूले , नेपाली राजनीतिको सबैभन्दा गहन चूरोलाई बुझ्न नसकेको देखिन्छ ।


अहिले नेपाली राजनीति एउटा गम्भीर चौबाटोमा खडा छ । हिंसात्मक राजनीतिको बाटोबाट आएको नेकपा माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल भैसकेको हुनाले उसको बुझाइमा हिजो उसले गरेका काम र उसको विचारलाई जनताले अनुमोदन गरिदिइसके भन्ने ठम्याइमा छ । तसर्थ, ऊ आँफूले अँगालेको कम्युनिष्ट एकाधिकारवादी विचारधारात्मक राजनीतिमा आधारित पद्धतिलाई राज्यको शाषकीय स्वरूप बनाउन लागि परेको छ । यो सोचमा , उसले आँफूले अपनाएका अहिलेका योजनाहरूलाई , एउटा भीषण भावी कार्यक्रमका लागि गरिएका रणनीतिहरू मात्र ठान्छ । कम्युनिष्ट पार्टी मातहतको बहुदलियतालाई ‘जनवादी गणतन्त्र’ को जलप लगाएर , आफ्ना जोदाहा कार्यकर्ता मार्फत लागू गराउँदै , कथित जनवादको एकण्टक राज्यव्यवस्थामा देशलाई रूपान्तरण गर्ने एक सूत्रीय एजेण्डामा लागेको माओवादीले आफ्नो त्यो एकलवादी लक्ष्यमा पुग्न ‘बहुलवाद’ लाई सम्पूर्ण इन्कार मात्र गरेको छैन कि बरू यो समूहले आवश्यक पर्दा कथित राष्ट्रवादको दुहाइ दिँदै हिजोका दरवारियाहरूलाई समेत यस बाटोमा आफ्ना विश्वासी सहयात्री पाउने विश्‍वासले काम थालेको छ । यो कुराको खोजी माओवादीले काग्रेसंग सहमत हुनै नसक्ने, डाक्टर बाबुरामलाई बरू भारतपरस्त बनेको अभियोगमा बलीवेदीमा चढाउने तर राज बहादुर सिंह , कमल थापा र पूर्व राजा ज्ञानेन्द्रसंग राष्ट्रवादी मोर्चा बनाउने चाहना र अभियान मार्फत अगाडि बढाइसकेको देखिन्छ ।


--------------------------------------------------------------------------------

अर्कोतिर परम्परागत संसदिय लोकतान्त्रिकलाई नै आफ्नो जीवनमरण ठान्ने नेपाली कांग्रेस भने आवश्यक परे केही सुधारसहित संसदियतालाई नै आगामी संविधानले अकाट्य स्थापित गर्नु पर्छ भन्ने मान्यतामा अडिग छ । मुलुकको पुनर्संरचनामा माओवादीको ‘ जातिवाद’ आधार वा मधेशवादी ‘उपराष्ट्रवाद’ को आधार होस् वा माओवादी एजेण्डाका बहुलवादबिहीन नियन्त्रित बहुदलियता, कार्यपालिका मातहतको न्यायलय र यस्तै अनेकौँ विषयमा , माओवादी एजेण्डामा सहमत हुन सक्ने स्थितिमा कांग्रेस छैन । वर्तमान कम्युनिष्ट भाष्य अनुसार परम्परागत वा यथास्थितिवादी शक्तिको रूपमा आरोप लगाइएको नेपाली कांग्रेस सम्भावित ‘कम्युनिष्ट निरंकुशतावाद’ को बाटोमा जानबाट मुलुकलाई जुनसुकै मूल्यमा रोक्नु पर्छ भन्ने कुरामा प्रष्ट छ, भलै जस्तो सुकै हर्जाना यसकालागि चुकाउनुपरोस् । यसो गर्दा कांग्रेस नेपाली क्रान्तिकारिताको ‘रोमाण्टिक’ रंगमा देखिन सकेको छैन ।

उता नेकपा एमाले भने बडो गज्जबको दुविधामा फँसेको छ – आफ्ना दुई राजनैतिक धार र व्यक्तित्व टकरावका दन्तवझान सहित । नामले कम्युनिष्ट पार्टी भएका हुनाले ‘माओवादी’ निकटको नातामा हुनुपर्ने र अर्कोतिर लामो समयसम्म संसदीय लोकतन्त्रको अभ्यासमा अभ्यस्त भैसकेको हुनाले र बाह्य समूदायको नजरमा पत्याइनु पनि पर्ने चाहले नेकपा एमाले ‘माओवादी’ र ‘कांग्रेस’ ले प्रतिनिधित्व गरेका दुई ध्रुवहरूका गुरूत्वाकर्षणतर्फ क्रमश: तानिन पुग्दा , विभाजन हुनै लागेको ‘अमिवा’ जस्तो विचित्राकृति हुन पुगेको छ ।

उता, भारतीय राजनीतिक योजनाकारहरूको ‘आशीर्वाद’ का एकल वारिश ठानिएका नेपाली लोभी-पापी अभियन्ताहरू निरन्तर ‘राकेश सूद’ , ‘श्यामशरण’ र ‘केभी राजन’ प्रभृत्तिको सहारामा ‘मोर्चावन्दीमा’ बाँधिएर सत्तानिर्माणको साँचो कतातिर हस्तान्तरण गर्ने निर्देशन पर्खिरहेका छन् । स्पष्ट छ, ‘एक मधेश’, ‘हिन्दी भाषा’ र अनेक ‘गैर मधेशीय’ मुद्दाहरूले पूर्ण यो ‘ दक्षिणभागे मोर्चा’ , भविष्यमा सदैव बन्न लागेका सहमतिमा अवरोधक बनेर प्रस्तुत हुनेछ किनभने यसको निर्माण ‘पहाडिया’ नेतृत्वको सहमतिलाई भत्काउन नै डिजाइन गरिएको हो । पूर्च मेचिदेखि पश्चिम महाकालीसम्मको भारतीय सीमाका जिल्लाहरूको एक प्रदेश खोज्ने यो 'मोर्चा' कुनै कुराको समाधान नभएर स्वयंमा एक समस्या नै हो, आफ्नै र बाहिरियाका लागि पनि ।

समस्या छन् तर समाधान नै नभएको पनि हैन । माओवादी राजनीति भोलिका दिनमा कति निरंकुशतावादी वा एकदलियातावादी हुने योजनामा छ भन्ने कुरामा प्रष्ट हुन सकेमा उसले नेपाली राजनीतिका अरू दुई मुख्य घटकहरू : ‘कांग्रेस’ र ‘एमाले’ लाई विश्वासमा लिन सक्नु पर्ने हो र तिनीहरूसंग सहमतिमा आउन गाह्रो नहुन पर्ने हो । तर यो कुरा हुन विचार र व्यवहारमा एकतन्त्रियता लाद्ने ‘जनवादी गणतन्त्र’ को रटबाट सम्भव छैन । अहिले पनि 'बहुलवाद कुनै मानेमा स्वीकार गरिन्न' र 'हामी बहुदलियता त मान्छौँ तर हामील भनेको जस्तो मात्र ' भनेर मोहन वैद्य र अरू नेताहरूले बेलाबखत गर्ने उद्घोषहरू सम्भावित दलिय सहमतिमा दरार ल्याउन प्रक्षेपण गरिएको देखिन्छ । एकदलियता वा नियन्त्रित 'जनतन्त्र' मुलकले पञ्चायत र राजतन्त्र मार्फत भोगिसकेको हुँदा , त्यही वा अझ दूर्दान्त प्रकारको राजनैतिक नक्शामा सहमति बन्न दिनु पनि आवश्यक छैन ।

मधेशीहरूको राजनीति नेपाली मधेशका वास्तविक मुद्दामा आधारित रहूञ्जेल मुख्य तीन पार्टी र मधिशे मोर्चाकै बीचमा समस्या तेर्सिइरहनु पर्ने कारण पनि केही छैन । अर्को कुरा राष्ट्रवादी मुद्दा सत्ता वा सरकार प्राप्तिकै बेलामा उरालिरहनु पनि उदेक लाग्दो राजनीति हो । साँचो , व्यवहारिक र प्रयोजनपरक राष्ट्रवाद डाक्टर बाबुराम भट्टराईले भनेको जस्तो आन्तरिक रूपमा ‘राष्ट्रवाद’ बलियो हुँदा मात्र बलियो हुन्छ , एउटा मुलु बिरूद्ध अर्कोलाई भीडाउन खोजेर वा नारा लगाएर हैन । नेपालको इतिहासले दिएको शिक्षा, विश्वराजनीतिको सामान्य अध्ययन र हाम्रो मुलुकको विशिष्ट भू- राजनीतिले हामीले गर्ने राष्ट्रवादी तमाशा मुलुक कै लागि महंगो पर्ने गरेको कुरा अहिलेसम्म अनुभव गराइसकेको हुनुपर्ने हो ।

सारांशमा भन्नु पर्दा नेपाली राजनीतिको वर्तमान गतिरोध , अलिक दूरगामी प्रकृतिको हो केवल सरकार निर्माण गर्न सक्नु वा नसक्नुको गणित हैन । हिजो एउटा हिंसात्मक युद्धमा लागेको राजनीतिक शक्तिलाई मूलधारको राजनीतिमा ल्याइएको कुरालाई आ-आफ्नो निजात्मक व्यख्यामा थाति राख्दै जाँदा र तत्काल निरूपण गर्दै नबढ्दा समस्याहरू चुलिँदै गएर आज प्रकट भएका हुन र अझै हुनेछन् । यो गाँठो फुकाउने एउटै र कठिन उपाय छ – परस्परमा विश्वास पैदा गर्ने वातावरणको निर्माण र राजनैतिक इमान्दारिता को पारस्परिक प्रत्याभूति , तर कसले र कसरी ?

यसो भएन भने यी गतिरोधको समाधान पनि छैन । तर आशा मार्नु पनि हुन्न किनकि however bizarre it may seem the only good thing about the Nepali peace process is that it is still holding on !

9 Comments:

Basanta said...

स्पष्ट र निर्भिक विश्लेषण!

sanu jange said...

एकलव्य ji ko satik bisleshan lai swaagat cha. ke garnu hamro rajnaitik soch jyadai kamsal khal ko cha afu huda matrai thik natra galat dekhne parampara ta chadai cha ahile ta kaslai kasari prayog garda aafu shakti ma pugincha bhanne matrai chinta cha. yesko dosh maobadi le sabaile bhanda dherai linu parcha, baki aru dal ko hissa ma thorai matrai parcha...
tehi hisab le sudhar ka lagi pani dherai lachilo maobadi nai hunuparcha ani aru dalharu... "girijababu le bhaneko male mandale mashale eutai hun" satik tippani rahecha aja balla pramanit hundai cha.

म नेपालि साहित्यलाई माया गर्छु। said...

नेपाली राजनिति केलाएर बुझ्ने मौका पाएँ। यो बिश्लेषण मलाई मन पर्यो।

ठरकि दादा said...

बाहिर बाट हेर्नेहरू प्राय: हाम्रो देशको समस्या देखेर असामञ्जस्यमा पर्छन् । समस्या ठूलो हो भनौँ भने यो कुनै समस्या नै हैन । एक- आपसमा नमिली हुँदैँन र कुनै न कुनै विन्दुमा गएर मिल्नै पर्छ ।

समस्या हैन भनौँ भने विश्वासको खाडल यति गहिरो छ कि त्यसलाई भर्न निकै गृहकार्यको जरुरत छ ।

तर परस्परमा आफैँ विश्वास पैदा नगरेर यही विश्वास पैदा गराउन महागुरुको शरणमा जाने यत्ति नराम्रो परम्परा बनेको छ कि सधैं दाजुभाइको मन-मनमुटावमा छिमेकी हावी हुने गर्छ ।

छिमेकी लाई छिमेकमै रहन दिएर घर-सल्लाह आफैँ गरे मात्रै कुरा मिल्ला नत्र त लेखकले भन्नु भएजस्तै यो यो गतिरोधको गणितमा के के जोडिने, घटने हो र कहाँ गएर अन्त हुन्छ भन्न गाह्रै छ ।

Zero Hour (शुन्य समय) said...

"राष्ट्रवादी मुद्दा सत्ता वा सरकार प्राप्तिकै बेलामा उरालिरहने" कुरा जहिले पनि धरातलीय यथार्थ बनिरहेको छ । देशको राजनीति देश भित्रका ले सम्हाल्न सकेनन अझ भविष्यमा हेर्दै जानुस यो प्रवृति झन झन जटिल हुदै जानेछ । अहिले त नेताहरुको मात्र आंखा भारततिर सोझिएको छ, भोलि गएर कार्यकर्ताहरु पनि उतैतिरको आदेश कुर्न थाल्नेछन । विचार, दिमाग र आत्मा गन्हाएकाहरुको सर्वे सर्वा चल्ने देशमा अरु के आश गर्ने ?

Nepalean said...

जीरो आवरजी लामो समय पछी आउनु भयो नि? स्वागत छ है, आउदै गर्नुहोला।

अहिलेको समस्या भनेको बिश्वासको खाडल त हो। यस भन्दा पनि म नेपालमा गरिने राजनितीको केन्द्रबिन्दुलाई बढी दोष दिन्छु। यांहा जनताको सेवा गर्न सत्तामा जाने होइन की सत्तामा गए पछी डाडु पनियो आफ्नै पेट फुट्ने गरी चलाउन पाउनका निम्ती नै सत्तामा जाने होडबाजी गरिन्छ। मन्त्री भए पछी आफ्नो ७ पुस्तालाई धन कुम्लाउने,आफ्ना नातागोता कार्यकर्तालाई ठाउं ठाउंमा भर्ती गर्ने,राजा त गैहाले मन्त्री या सत्ता पक्षीय भएर धाक रबाफ लागाउदै छोटे राजा बन्नु । यै बन्नको लागी सरकारमा जान होडबाजी हुंदै छ। कुरो नमिलेको पनि यसैमा हो। भोली मिलेर सत्तामा गए देशै हल्लाउने मन्त्रालय आफ्नो भागमा पर्छ कि पर्दैन यसैमा सबैलाई शंका छ।

माओबादी सत्तामा गए सिंहदरबार देखी सडकसम्म सरकारी शक्ती देखी वाइसिएल सम्म सबै लगाएर देश आफ्नो पोल्टोमा पार्न चाहान्छ। यो देखेर मधेसबादी,एमाले,कांग्रेस सबै डरले कामीरहेका छन। झिना मसिना पार्टी मन्त्रीको लोभमा परेर माओबादीलाइ सयोग गरे पनि ठुला पार्टी माओबादी उसको मातहतमा नआउनु मुख्य कारण यही हो।
कांग्रेस २-२ पटक सरकार चलाउन चुकेकोले संसदको दोस्रो ठुलो पार्टी अब मेरै अबसर भनेर आफ्नो साख जोगाउन भए पनि लागेको छ। दोस्रो ठुलो पार्टी भए पनि भोट संख्या न्युन तथा अन्य पार्टीलाई चित्त बुझाउन नसक्दा उनीहरुको खिचडी बिरबलकै जस्तो भएको छ। एमालेलाई भने माओबादीले नपूशंक नै बनाइदियो। झलनाथ खनाललाई नक्कली चक्लेट दिएर भुलाउन खोजेको झलनाथ गुट त अझै नि त्यही चकलेटको स्वादमा रुमलिइ रहेका छन वलीको झुण्ड भने खनालको झुन्डसंग जुध्दा जुध्दै सकिएका छन। भन्थे एउटा लांखुट्टेले मान्छेलाई हिजडा बनाउंछ,माओबादीको नक्कली लालीपपले एमालेलाई हिजडा नै बनाइदियो। कामचलाउ सरकारमा आफ्नो पार्टीको मान्छेलाई प्रधानमन्त्री पदमा राखेर देशको जिम्मेबारीबाट कति सम्म तटस्थ बस्ने हो एमाले हेर्न बांकी नै छ।

संबिधान बनाउन चुनिएका यि सभासदलाई सरकार बनाउन प्रयोग गरेर नेपालमा जुन राजनैतिक बदमासी गरिंदैछ,यो नेपालमा मात्र होइन विश्वकै राजनैतिक इतिहांसमा सबैले पढ्नेछन। सबै मिलेर खुरु खुर संभिधान लेख्ने,संबिधान बनाउने बखत सबै पार्टी मिलेर आउने चुनावसम्म सरकार बनाए कुरै सकिने थियो। यांहा त संबिधान सभाको शक्ती आमनिर्वाचनमा ल्याएको बहुमत सरह ठेलमठेल गरेर समय बर्वाद गरिंदै छ।

Luna said...

ठरकी दा को प्रतिक्रिया संग सहमत .

Anonymous said...

sarkaar banauna chakka jam. aba k garau prabhoo?

पुष्प said...

घुमाइफिराइ जनयुद्वबाट १२ बूँदे समझदारीमार्फत् शान्तिप्रक्रियामा आएको माओवादीलाई मात्र 'नागरिक पार्टी' बनाउने धून ! अनमिनको निगरानीमा रहेको बन्दुक र जनसेनामै आँखा ! यो हलो अड्‌कार गोरु चुट्ने चाला कहिले बन्द गर्ने हुन् ती 'स्वदेशी पार्टी र नेता'मा परिणत हुनुपर्नेहरूले ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !