December 16, 2009

नौलौ पानाको शुरवात !!


ए रीति भन्नेहरू

यो समाज भन्नेहरू

परंपरा मान्नेहरू

के दिन सक्छौ मेरा सपनालाई
जो गर्भमै तुहिन पुगे?
के दिन सक्छौ ती भ्रूणहरूलाई

जो सुन्दर संसारको लागि

गर्भाधान हुन आतुर थिए?

साँच्चै!
म तिनको हत्या गर्न चाहन्नँ
म मतियार हुन चाहन्नँ

कसैको उत्तेजना र रहरको चपेटामा

आफूलाई समाहित गर्न चाहन्नँ।


म राजी खुशीले

संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?

त्यो आँखाको आँसु
जसले गाजलै पखालेको थियो
म त्यस्को रंगबाट भविष्य श्रृजित गर्न चाहन्छु
आडम्बर र विश्वासघातले भरिपूर्ण
अमानुषिक प्रहारहरूप्रति चुनौति दिन चाहन्छु

के दिन सक्छौ मेरा ती अतितलाई?
जो मेरो भविश्यको मार्गदर्शक थिए

फिर्ता गर्न सक्छौ ती मेरा पदछापहरू?

जो नयाँ गन्तब्यमा प्रेरित थिए
हैन भने,
मेरो खुशीको हरेक पाटामा प्रश्नचिन्ह किन?
मेरो सफलताका मोडमा कर्तब्यको आहाल किन?
अड्चन किन?!!
के फिर्ता गर्न सक्छौ ती सबै अवसरहरू?


तिमी फेरी भन्छौ होला,

संस्कारले बाँध्छ
अब मलाई जवाफ चाहिएकोछ,
संस्कार बनाउने को?!
के नारी मात्रै परंपरा हो?
के नारी मात्रै संस्कार हो?!!


भयो, पुग्यो मलाई,
अब चुडाउन चाहन्छु म त्यस्ता परंपरा
जो मेरा हत्कडी हुन्
ऊखाल्न चाहन्छु ती चलनचल्तीहरू

जसले नेल भई मलाई बाँधेको छ
धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!

च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि
यो समयको माग हो
यो इतिहासको लागि नौलो पानाको शुरुवात हो !!


6 Comments:

Baldev Bhatta"bihani" said...

सायद मैले रमा गौतम जी को यहि नै पहिलो कविता हो पढेको तर ग्लानि हुन्छ यति ढिलो भएछु मोतिहरु खोज्नमा, एउटा युग हुंकार जस्ता लाग्ने आवाजहरु सन्तुलित शब्दमा यसरि बहन्छ्न जसरि समथर फाँटमा भागरथी, सामाजिक दायित्व निभाउने गरि लेख्ने कलम तथा जुग बदल्न कोरिने आवाजको नया बोधगम्यता छ लेखाइ मा! बधाई छ रमा जी!

Ashesh said...

रमा दिदिको तारिफ गरिरहनै पर्दैन । यो कविता सवैभन्दा धेरै मनपर्यो मलाई । वास्तवमा यि अक्षरहरूमात्र हैनन्, यि त साहस हुन् शक्ति हुन् अनि खवरदारी हुन् । पढ्दा पढ्दै नशाको रगत तताउने सामर्थ्य छ यो भावनामा । कवितालाई मेरो सलाम!!!

प्रबिण थापा said...

रमा जी को कबिता मैले पनि कमै मात्र पढेको छु तर जुन कबिता पढेको छु ती कबिताका शब्द शब्दबाट म केही न केही उर्जा पाएको अनुभुती गर्छु।
हो साँच्चै यो कबिता परम्परका नाममा हाम्रो समाजले नारी माथि गर्ने गरेको दमन,शोषण बिरुद्द एउटा सशक्त आवाज हो, यस्ता आवाजहरु मार्फत समाज परिवर्तनको कार्यदिशमा लागि पर्ने रमा जी हरुलाई मेरो पनि सलाम।

आश्मा said...

:)

राजेश बुढाथोकी 'नताम्स' said...

संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?

वाह कविता निकै राम्रो लाग्यो । मन छोयो मेरो ।

नेपालियन said...

आश्मा जी को कबिता लामो समय पछी पढ्न पाइयो दौंतरीमा। शब्द निकै जोडदार लागे। कबिताले निकै ठुलो परिबर्तन चाहेको छ। कतै ज्वालीमूखी नै फुट्ला जस्तो भाव, तारीफ योग्य छ।

अब अर्को पक्ष - कतै कबितामा लिंगभेदको दर्हो उपस्थीती त छैन? समय यस्तो चिज हो यो फर्काउन मिल्दैन यो त नारीलाइ मात्र होइन पूरुषलाइ पनि लागु हुन्छ। समयको बहाव संगै दुबै लिंगलाइ परिबर्तन गराउंछ तर कुन कति परिबर्तन हुन्छ भन्ने कुरा हेराइमा भर पर्छ। फेरी यि दुइ लिंग एकै गरेर परिबर्तन पनि हुंदैनन न त रहन सहन र जिबनमा रमाउने तरिका नै मिल्दछ। यो कुरा मनन गर्ने हो भने आशुले गाजल मात्र होइन खुशी पनि पखाल्दछ अर्थात गाजल नलाइएन आंखा पनि आशुबाट पिडित हुन सक्छन।

अन्तयमा, परिबर्तन जरुरी छ, परिबर्तनसंग डराउनु क्षणिक मात्रै हो तर आफ्नो कला संस्क्रितकै घांटी रेटेर परिबर्तन गर्नु भन एक मूर्ख बिचार मात्रै हो। संस्क्रिती जुनै लिंगबाट पनि संरक्षित गराउन जरुरी छ भने अगाडी बढ्ने पाहिलालाइ बाध्ने सांग्लाहरु छन भने तिनलाइ सहि तरिकाले टुटाउनु पर्छ।

यो त कबिताको बुझाइ भन्दा पनि राजनैतिक लेखको बिश्लेषण जस्तो भयो तर मेरो बिचार कबिताकै भाव प्रती केन्द्रित छ है?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !