December 19, 2008

कथा - डायरीका पानाहरु

कृष्ण प्रसाई

१३ अप्रील, १९८९

४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच दिनअघि मात्र मालसामान सहित गौरीशंकर हिमाल अरोहणको लागि वेदिङ्ग भन्ने सेर्पा गाउँबाट प्रस्थान गरेथ्यो । दिनहुँ बढ्दै गइरहेको भौगोलिक उचाइमा फेरिने सासले सधैँ प्रेरणा र उत्सुकता भर्ने गर्दा रहेछ । हिमाली यात्रामा भौतिक साधनको कठिनाई पर्ने हुनाले जीवन साध्न पनि कठिन हुँदो रहेछ भन्ने अनुभव म दिन प्रतिदिन सँगाल्दै आइरहेको छु । मानिसले संसारमा धेरै अचम्मका कुराहरु भोग्नुपर्दा रहेछ । जताततै हिउँको साम्राज्य पाल्ने सेतो संसार जीवनमा यसरी पहिलोपल्ट देख्दा मलाई स्वर्गको अनुभूति भैरहेको छ । झन् घाम ओर्लि सकेपछिको दृश्य त वर्णन गरेर साध्य नभएको स्वर्णिम र अद्धितीय हुँदो रहेछ । सुनको बिहान कसरी छेउकै पाथिभरा हिमालमा खस्ने गर्छ अहो ! त्यहाबाट देखिने पाँचवटा थुम्का भएका चुचै चुचा हिमालहरु कसरी आकाशै छेडुँला झैँ गरेर उभिएका छन् । साच्चै स्वर्ग मेरै छेउ उभिएको भान मलाई परिरहने गर्छ ।

अहिले मलाई घरको सम्झनाले क्याप्प घाँटी समाइरहेछ । निकेचिता अहिले के गर्दै होली उसले चिठ्ठी नलेखेको पनि महिना दिनभन्दा ज्यादा भैसक्यो । कति निष्ठुरी बन्न सकेकी ऊ ! आजभोलि अफिस त जाँदै होली । हिँड्ने बेलामा उसले अपहत्ते गरेर मलाई ठयाम्मै छोड्न मानेकी थिइन । सायोनारा भनेर एयरपोर्टबाट छुटिसकेपछि पनि मलाई उसले धेरै बेरसम्म हेरेकी थिई । हामी चढेको विमान तोक्यो नगरको स्वच्छ आकाश छेडेर पश्चिमतिर हुइँकिएपछि पुनः मैले मेरो जन्म भूमिलाई वायुयानको सानो सिसे झ्यालबाट हेरेको थिएँ । मलाई यस्तो लागेथ्यो अब त अन्तै कतैको संसारमा आफूलाई मृत्युसँगको लडाईमा होम्न हुइँक्याउँदैछु । मनभित्र असाध्यै कहाली छुटेर आएथ्यो । सहयात्री ओमकाइको गफमा आफूलाई भुलाउन खोज्दा पनि मनको औडाहा रोकिएन मन मडारिन छोडेर र जर्जर ज्यान बाउँठिन छोडेन । हवाइ अड्डा सम्म आएर आमाले पनि अत्यन्तै माया गरेर गालामा म्वाइँ खाँदै सफलताको कामना गर्नुभएको थियो । यस्तो मौका बहुत कम आमाका ज्यादै थोरै छोराहरुलाई मिल्ने गर्छ । सफल आरोहणपछि निकेचितालाई बुहारी बनाएर आमाको मन उज्यालो पार्ने उद्देश्यले नै मैले उनीसँग चार महिनाअघि नै इन्गेजमेन्ट गरिसकेको छु ।
घरबाट यता लाग्नुअघि हामी सबै सदस्यलाई आफ्ना-आफ्नै आफन्तहरुले एक प्रकारले सधैका लागि बिदा दिएझैँ गरी कुराहरु गरेका थिए । त्यति बेला मेरो मन असाध्य चिसो भएथ्यो । हुन पनि हामी माथि भनिएझैँ मृत्युसँगको यात्रामा निस्केका जस्तै थियौँ । हिमालको कठोर आरोहणलाई मृत्युसँगको युद्ध नभनेर के भन्ने त?।


१५ अपि्रल १९८४

जेसुकै होस् मैले आफ्नो कठोर यात्रा भोगेर यस ठाउँसम्म आइपुगेको छु । हिरोतासानले त हिजै बेसक्याम्म फर्किउँ भनेथ्यो । मैले कसै गरी मानिनँ । ५२०० मीटर अग्लाइको एडभान्स वेसक्याम्पबाटै असफल भएर ऊ तल फर्कियो । केही क्षणअघि म अल्पाइन स्टाइल कैम्प ६८०० मीटर अग्लो पहाडमा आइपुगेको छु । एडभान्स बेसक्याम्पबाट १६०० मीटर माथिल्लो यो चुचुरोमा आइपुग्दा म दुई पटकसम्म लडिसकेँ । सुजुकीसानले मलाई बडो ज्यानको जोखिम उठाएर उठाउनमा सहयोग गर्‍यो । बिचरा सारै सोझो मान्छे छ ऊ पनि ! मैले नै उसलाई पर्वत चढ्ने उसको सुषुप्त जिज्ञासामा साहस हालेर उसको मन उकासेको थिएँ ।

पर्वत चढ्ने काम सोच्दा र सुन्दा मात्र सजिलो र सस्तो लाग्दो रहेछ । तर होइन रहेछ यथार्थ ज्यादै कठोर र कटु हुँदो रहेछ । लेन्स क्यामेराले हेर्दा नजीकै देखिने चुचुराहरु पनि उक्लिँदै जाँदा अरु माथि माथि सरेझैँ लाग्दो रहेछ । मित्रताको महत्व त अझ विकसित रुपमा मैले यही हिमालय यात्रामा मात्र सोच्न सकेँ । मातृवत् ममता र हार्दिकताले ठाउँ छोड्ने वित्तिकै जीवन कसरी अपूर्ण हुन्छ त्यो हिमाल चढेर पीटन रोप सिटी र कैँचीको सहयोग लिएर अटुट रुपमा माथि उक्लनेलाई मात्र थाहा हुन्छ । एकले अर्कोलाई तान्ने एकले अर्कोलाई उकास्ने र दुवैले दुवैलाई अटुट अनन्त र अविस्मरणीय सहयोगको विकसित स्थान नै हिमालय हुँदो रहेछ । महानता भएन भने मानवता भएन भने र ममता भएन भने मान्छे नै मृत्युको मुखमा परिदो रहेछ भन्ने वाक्य पहाडले जहिले पनि बोल्न सक्ने रहेछ । हिमालले जहिँतहीँ बक्दो रहेछ ।

१६ अपि्रल १९८४

केही क्षणअघि सुजुकीसानले र मैले तात्तातो कफी पियौँ । त्यसपछि शरीरलाई तातो प्रदान गर्ने चक्कीहरु सेवन गर्यौ। हाम्रो विदेशी रक्सीलाई हिमालको चिसोले हंश नै कोपरिदिदो रहेछ । त्यसले कुनै न्यानोपनाको स्वाद नै शरीरलाई चखाएन । चक्कीहरुको सेवन बरु प्रभावकारी लाग्दो रहेछ हिमालमा । यहाँसम्म आइपुग्दा हामीले धेरै पटक तलतिर हाम्रो शक्तिशाली दुर्बीनले हेर्दा हाम्रा दलका झैँ लाग्ने र अन्दाज मात्र गर्न सकिने एक जोडी छाँयाहरु कहिले पीटन भसाउँदै र कहिले रोप समाउँदै गरेका देखिन्थे । यस्तो लाग्थ्यो उनीहरु बडो सुस्तरी कछुवाचालले हामी भएतिर उक्लिरहेका छन् । हिजोभन्दा आजको यात्रा अझ कठिन थियो । हिमपातले गर्दा यात्रालाई अझ कठिन पार् यो । निकेचिताका बुबाले सत्तरी वर्षको उमेरमा हाम्रो सर्वाेच्च शिखर फुजीसान चढेर सफलता पाएको अहिले दन्त्यकथा झैँ लागिसकेको छ । कठोरताको पराकाष्ट टेकेको कुरा त हुनेवाला ससुराले पनि भनेकै हुन् । फुजीसानभन्दा धेरै अग्लो यो हिमाल यात्राको लागि प्रस्थान गर्दा घर फर्किन सक्छु कि सक्दिन भनेर मैले धेरै पटक गाढा तरीकाले मेरो स्थानीयतालाई हेरिसकेको थिएँ । जीवनमा थोरै पटक मात्र मैले त्यसरी कुनै वस्तुमा आँखा फ्याँक्ने गरेको छु । मृत्यु र जीवनको दोसाँधमा आफ्नो हंश लिएर बास बस्दा हिजो हाम्रै छेउ कसरी हिउँले भरिएको ढिस्को खसेथ्यो ! हिजोको कुरा सम्झँदा सम्म पनि मन सिरिङ्ग हुन्छ । त्यति बेला सधैँ आफूलाई नास्तिक हुँ भनेर तर्क दिने सुजुकीसानले पनि ईश्वरको नाउँ जप्दा मलाई समेत अचम्म र डर दुवै एकै पटक लागेथ्यो । अज्ञानताभन्दा ठूलो ज्ञान अरु केही हुँदो रहेनछ । मैले यही सिकेँ । नजान्नु नबुझ्नु र थाहा नपाउनु आनन्दको पर्यायवाची नाम रहेछ । दिमाग दिन प्रतिदिन अनुभवहरुको भण्डार भैरहेको छ ।


१७ अपि्रल १९८४

आजभोलि मेरो सोचाइ एकदमै अनौठो हुन लागेको छ । सायद वातावरण परिवर्तन भएर यसो हुन सक्छ । हुन पनि मैले यस्तो कठोरताको अनुभव बोकेर जोखिमको सामना अब बोक्नुपर्ने पनि छैन होला । उँभो हेर्दा जतिसुकै भिरालो र अपुठ्यारो लागोस् तर मैले हिउँका सन्ततिहरुसँग घोलिने मौका पाएर समस्त कठोरतालाई नै दिन-दिनै पचाउँदैछु । भनौँ चिसोको साम्राज्य र सेता हिमालयहरु मेरो डायरीका दैनिकी अंशहरु बनिसकेका छन् । हो पहाड जति स्वच्छ सफा र सेतो छ त्यति नै संत्रासपूर्ण भयावह र कहालीलाग्दो पनि छ । प्रत्येक दिनका कमेरा प्रत्येक पाइलाहरु यस भूमिका लागि नौला र नटेकेका छन् । सिरेटो र स्याँठहरुसँग जुझ्न सक्ने मन कम साहसिलो छैन । साहसको कुरा गर्दा मलाई अहिले ती भरियाहरुको याद आइरहेछ । आँट हिम्मत र जोसको खोलो बगाएर पेशालाई नै साहसमा अनुवाद गर्ने ती शेर्पा भरियाहरु कम महान छैनन् । नजिकको देउता हेला भएझै तिनीहरुलाई यी हिमशिखरहरुको महत्वसँग कुनै सरोकार नै छैन । अति नै निर्दोष र निश्चल छन् तिनीहरु । सरदार भनाउँदा शेर्पा केही चलाख देखिए पनि उनको पापरहित मनको चिनारी मातेको बेलामा थाहा पाउन सकिन्छ । यस्तो लाग्छ पहाडी जातिलाई प्रकृतिले नै आफ्नो समस्त स्वभाविक गुण छरेर अरु मान्छे भन्दा बढी प्राकृतिक बनाएको हुन्छ । पहाडको चिसो जलवायुले नै उनीहरुलाई इमान्दारिताको निष्कपटताको र निष्कलंकताको जुहार पहिराइदिन्छ ।

त्यसमा पनि हाम्रा सरकारी लिजेन्ट अधिकृत झन् मजाका मान्छे छन् । सम्भाव्यतः उनलाई पनि पहाडले नै निकालेको हुनुपर्छ । त्यस्ता अधिकृत बहुत कम पर्वतारोहीले मात्र आफ्नो यात्रामा पाउन सक्छन् भन्ने मलाई लाग्छ । बेसक्याम्पमा उनलाई छोडिराखेर हामी पर्वतारोही दलका सबै सदस्यहरु उँभो लाग्दा उनी हामीले दिएको अतिशक्तिशाली दूरवीनले धेरै टाढासम्म हामीलाई हेरिरहेका थिए । हाम्रो यात्रामा उनी समेत अत्यन्तै चिन्तित देखिएर सफलताको कामना गरेका थिए ।

हाम्रो सफलताको कामना गर्दै शेर्पा सरदारले शकुनको प्रतिक भनेर सुनपातीको कलिलो हाँगो र धुपीको पात दिएको थियो । आगोमा मासु नपोल्ने शेर्पा सम्प्रदायका सबै सदस्यहरु काटमारको काममा झन् सतर्क हुँदारहेछन् । यसो गर्न अधर्म ठान्ने उनीहरु रुख विरुवा समेत काट्यो भने पाप सम्झिँदा रहेछन् । सुनपातीको कलिलो हाँगो हामीलाई दिने बित्तिकै भाँच्चिएको देखेर ठूलो अपशकून हुन्छ कि भनेर डराएको सरदार शेर्पाले जिब्रो निकालेर अँध्यारो अनुहार लगाएको थियो । तर हामीहरु कसैलाई यस्ता घटनाले छोएर मन बिगारेको मैले देखिनँ ।

जेहोस् आफ्ना् सम्पूर्ण साहस बटुलेर म यति माथि सास फेर्न सफल भैरहेको छु । अहिले म आफूलाई नितान्त एक्लो पाइरहेको छु । एकनासले तेसर्िएर रहेका यी हिमका मरुभूमिहरुले कसरी निष्ठुरी सिरेटो बगाइरहेका छन् । यस्तो लाग्छ यी ठिही लाग्ने पिण्डहरुले मान्छेलाई सास्ती सिवाय केही बाँड्न सकेका छैनन् । दुःख भोग्न र अफ्ठ्याराहरुसँग खेल्ने शोख भएका मानव अस्थिराजरहरु मात्र यस्ता निर्दयी पर्खालहरुमा पाइला राख्न रुचाउँछन् । अथवा सुखहरुले मात्तिएका भौतिक व्यसनीहरु मात्र दुःखको अनुभव लिन यस्ता उचाइलाई ताक्छन् ।


१९ अपि्रल १९८४ साँझ

प्रीय! निकेचिता आज त तिम्रो जन्मदिन हो । भौगोलिक दूरीले हामी कति टाढा र कति अल्गाइ होचाइमा छौँ । आजको जस्तै पोहोर त्यही जन्मदिन होइन जसलाई हामीले कसरी आफ्नै अँगालोमा थामेर न्यानो स्याम्पेयन र ह्वीस्कीको साँझमा बाँधेथ्यौँ । तिम्रो जन्मदिनले चखाएको केकको स्वाद अझैसम्म पनि मेरो जिब्रामा रुमलिइरहेको छ । आज म तिनै न्याना र गुलिया स्वादहरुको सम्झना गरेर यो हिउँको साम्राज्यबाट तिमीलाई सम्झँदैछु । तिमीलाई यो हिउँको गाउँमा बसेर भावनाको घर पठाइरहेँछु ।

आज बिहान त झन् तिम्रो सम्झनाले हुनसम्म मर्माहत भएँ । बिछोडपछि प्रतीक्षाको मर्म थाम्न तिमीलाइ पनि सारै गाह्रो परेको होला । मायाको महत्व मिलनमा भन्दा ज्यादा प्रतीक्षामा हुन्छ भनेर हिँड्ने बेलामा तिमीले भनेको कुरा बिहानैभरि सम्झेँ । झझल्काले यति सारो समायो जुन भनेर साध्य छैन । बिहानैदेखि तिम्रा हाउभाउहरु मलाई गिज्याउन आइरहेछन् । तिम्रो कसम खाएर भन्न सक्छु मेरा प्वाँखहरु हुन्थे भने आजै उडेर तिमीसामु आउने थिएँ । माया कस्तो हुँदो रहेछ भन्ने कुरा मैले यहीँ आएर महसुस गरेँ । मायाको समवेदना नाप्ने यन्त्रको आविष्कार यदि भएको भए यसको उच्चतम उदाहरण म तिमीलाई देखाइदिने थिएँ ।
बाइसौँ वसन्तलाई बिदा दिनुअघि तिमीले फुकेर निभाएका बत्तीहरु आज मैले हेर्न नपाएकोमा म अहिले दुःखी भएको छु । आज दिनभर यो उचाइमा हावा चल्यो । यहाँ हुँइँकिने हावाले साना साना हिउँका डल्लाहरुलाई नै उडाउने गर्दोरहेछ । दिनभर पालमा बसेर बिताउनुपर् यो । केही क्षणअघि मैले हाम्रो ओसाके पिएँ । यस्तो लाग्यो मैले तिमीसहित तिम्रो जन्मदिनलाई नै पिएँ । हो ओसाके निकै पिएछु क्यार त्यसैले अझै मात लागिरहेको छ । हुन त रक्सी पिउनु एक किसिमले आदत होइन अनिवार्य भैसकेको छ । नपिएर पनि गुज्रान चल्दैन यस ठाउँमा । जाडोलाई आफ्नो शरीर पिउन दिनुभन्दा लखेटेर भगाउनु नै निको सम्झिने गरिन्छ यहाँ ।
हो, आज सारै सुख्खा र खल्लो भएर दिन बित्यो । मनभित्र पीडाका पीरामीड चुलिएको छ । मैले यस पल्ट केही दिन सकिनँ तिमीलाई । तिमीलाई मन पर्ने मेरा आँखाहरु आँखीभौँहरु र मेरा हातका औँलाहरु तिमीबाट छुट्टिएर मसँगै आएका छन् जसलाई म तिमीसामु पठाउन सकिरहेको छैन । न त पोहोरको भन्दा एउटा म्वाइँ ज्यादा खाएर तिमीलाई तेइसौँ वर्षमा प्रवेश गराउन नै सकेँ । यसमा सहस्र क्षमा गर निकेचिता । त्यता आएपछि मेरा डायरीका अंशहरु सबै तिमीलाई नै सुम्पने छु ।

अन्त्यमा तिम्रो जन्मदिनमा तिम्रो स्वास्थ्य र दीर्घायुको कामना गर्दछु
- तिम्रै साकाइ
----------------------------------------
माथि उद्धृत डायरीका अंशहरु मैले फेरि आज पनि पढेँ । यसअघि दुई वर्षपूर्व मैले यिनै शब्दहरुले भरिएको फोटोकपी एकउटा डायरीबाट गराएर हेरेको थिएँ । २३१४५ फीट अग्लो गौरीशंकर हिमाल आरोहण गर्न गएको जापानी दलको सकि्रय सदस्य साकाईसानलाई दुई दिन सम्म के खोजतलास पछि २२०० फीट अग्लाई भएको हिउँको पहाडी कापमा उसको शव भेट्टाएर उक्त दलकै दुई सदस्य सुजुकीसान र टोकासीसानले रुँदै ल्याएर सरकारी लिजेन्ट अधिकृतको नाताले बेसक्याम्प स्थित मलाई सुम्पेका थिए । हिउँको पहाडबाट अचानक चिप्लिएर तल खस्ता उसको टाउको र छातीलाई असाधारण चोट लागेका कुरा हेलिप्याडबाट अस्पतालमा झिकाएपछि डाक्टरी रिपोर्टबाट पत्ता लागेको थियो ।

मृत्युपछि पनि हिमालय झैँ स्वच्छ र चम्किलो अनुहार बोकेको साकाईसानको लाशलाई जापान चलान गरिएको भोलिपल्ट हामीले निकेचिताको पत्र पाएका थियौँ । उनका पत्रबीचका अंशहरुलाई फेरि पनि दोहोर्‍याउने साहस ममा नभएकोले क्षमा गर्नुहोस् । चिठ्ठीको अन्त्यमा भने यति लेखिएको थियो।



1 Comments:

rasheed said...



نقل عفش من الدمام الى الرياض نقل عفش من الدمام الى الرياض
ارخص نقل عفش بمكة ارخص نقل عفش بمكة
نقل عفش من جدة الى الاردن نقل عفش من جدة الى الاردن
نقل عفش

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !