August 31, 2008

लोकतान्त्रिक नेपालको भविष्य: चिन्ता र चिन्तन

४ महिना अघि सम्पन्न संविधानसभाको निर्वाचन र परिणाम र सोही आधारमा भर्खरै गठित नेपाल सरकारको वामपन्थी वर्चस्वको स्वरूपले , नेपाललाई नेपालको इतिहासमै पहिलो पटक कम्युनिष्टहरूको जनवादी गणतन्त्रात्मक राजीतिक पद्दति शासित मुलुकमा रूपान्तरित हुने मोडमा खडा गरिदिएको छ । नेपाली राजनीतिमा बिगत अढाइ दशकदेखि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा नियन्त्रण कायम गरिरहेको राजतन्त्रको विधिवत अन्त्य संगै, राजतन्त्र र परम्परागत शक्तिप्रति वफादार रहेको मानिएको नेपाली सेनाको मनोबल धराशायी बनेको छ र ऊ नया क्रान्तिकारी सरकारको राजनीतिक तजबीज र उद्देश्य निर्देशित कार्यक्रमको मूक प्रतिक्षामा निरिह उभिएको प्रतित हुँदैछ । परम्परागत दक्षिणपन्थी शक्ति मनसून पूर्व नै कोशीको नदीको भेल-कटानमा बगेको जस्तो देखिन्छ भने क्रान्तिकारीहरूलाई मूलधारको राजनीतिमा ल्याएको भुलभुलैयामा मख्ख राजनीतिक मध्यधारको प्रतिनिधिपात्र नेपाली कांग्रेस माओवादी उपयोगितावादको चाल नचिनेर चुसिएको उखु जस्तो किनारमा थुप्रिएको छ । उसको भूमिका संविधानसभाको निर्वाचन सम्पन्न गराएर खारेजीमा परी निवृत्त बन्न वाध्य भएको कर्मचारीको जस्तो देखिएको छ ।

आधुनिक नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस नामको दलको सबैभन्दा ठूलो योगदान छ भन्नुमा अत्युक्ति छैन । राणाहरू बिरुद्द क्रान्तिको परिचालन र नेतृत्व गरेका कारणले। तीन दशक भन्दा लामो राजाको प्रत्यक्ष शासनको निगरानीमा हुर्काइएको पञ्चायत नामको राजकीय व्यवस्था बिरुद्द कहिले सशस्त्र र अहिंसात्मक लडाई लडेर नेपाली कांग्रेसले बहुलवादी उदारवादी लोकतन्त्रका पक्षमा प्रतिनिधिमूलक ढंगले खबरदारी गरिरह्यो भने त्यही खबरदारी गर्ने कामको पारिश्रमिक पनि पञ्चायतको अवसाननसंगै सत्तासीन बनेर लिन सफल भयो । तर अपसोस , तानासाही बिरुद्दको लडाईँहरूमा नेतृत्व दिन र विश्वमान्य बहुमतीय उदारवादी प्रजातन्त्रका पक्षमा निशंकोच अडिग भएर समर्पित रहन सक्ने विशिष्ट गुणका वावजूद नेपाली कांग्रेसले आँफू भित्रको आन्तरिक प्रजातन्त्रलाई मजबूत बनाउने काममा र आँफू सत्तासीन भएका बखत मुलुकलाई सुशासन दिने वा जनताका आकांक्षाहरू समवोधन गर्ने काममा भने आँफूलाई सदैव अत्यन्त दूर्बल मात्र कायम राख्यो । साथै, मुलुक र मुलुकवासी जनता सदैव यथास्थितिवादी हुन्छन् अनि आफ्नो प्रजातान्त्रिक पद्दतिप्रतिको समर्पण भावका कारण मात्र सँधै सत्ताको सुखमा ढलीमली गर्ने भाग्यशाली बन्न सकिन्छ भन्ने कमजोड राजनीतिक गणित पनि कालान्तरमा कांग्रेसको भाग्यमा प्रत्यूत्पादक बन्न पुग्यो, जुन उसलाई पत्तै भएन ।

इतिहास विजेताहरूको घोडा हो । ६ दशक अगाडि राणा बिरुद्द क्रान्ति छेडेर नेपाली कांग्रेसले आँफूलाई नेपाली राजनीतिको सर्वाधिक प्रभावशाली शक्तिको रूपमा प्रक्षेपण गरेको थियो । तर राजनीतिक व्यक्ति वा समूह जो कसैले पनि आँफूलाई समयको गतिमा प्रवाहित गर्न चाहेनन् वा सकेनन् भने , त्यो अग्रस्थान कुनै अर्को शक्तिलाई नचाहेर पनि छाड्नु पर्छ । राणाशासन बिरुद्दको आन्दोलन पछिको राजनीतिक अस्थिरताको दशक र त्यसपछि सम्पन्न आम चुनावमा नेपाली कांग्रेसको भीषण विजयलाई आफ्नो राजनैतिक महत्वाकांक्षामा वाधक ठानेका राजा महेन्द्रले "नेपालमा कम्युनिष्ट शासन उत्तरतिर बाट बस चढेर आउन सक्दैन" भन्ने उक्तिका साथ 'कांग्रेसी शक्तिलाई क्षय पार्न कम्युनिष्ट बढाऊ' भन्ने सोचका साथ अघि बढाए । तर , 'पुनर्मुषिको भव:' ( फेरि मुसो भएस् ) भन्ने कथाको मुसोले बाघ बनेपछि आँफूलाई बाघ बनाइदिने ऋषीको नै पहिलो शिकार गर्न खोजे जस्तो, कुनै बेला दरबारको नर्सरीमा हुर्केको नेपाली ' कम्युनिज्म' ले दुई पुस्ता पछि गएर राजतन्त्र नै हजम गरिदिने बिडम्बनाकारी परिदृस्य खडा गरिदियो । चरम गरीबी, पछौटेपन, जातिवाद , भारत बिरोधको राष्ट्रवाद र भावुकताको नारामा रम्ने हामी नेपालीहरू आज कहीँ कम्युनिष्टहरूले लगाएका ' सबै विकृतिहरू हटाइदिन्छौँ ' भन्ने चमत्कारी नारामा रमेर अनि कहीँ कथित लोकतान्त्रिक ठानिएका कांग्रेस जस्ता दलहरूको अकर्मण्यता र असक्षमताका कारण, जनवादी गणतन्त्रको संघारमा पुर्याइएका छौँ ।

भनिन्छ राजा त नागार्जुनमा बसाइँ सरेर जनता बने । तर, अब अवसानको नियति भोग्ने पालो को र कसको हुने हो धेरै अनिश्चितता छ नेपालमा । नेपाली जनताले नेपाली कम्युनिष्टहरूलाई बहुमत दिएर एउटा परीक्षण गरेका छन् र मुलुकमा चमत्कार नै ल्याउँछौँ भन्ने क्रान्तिकारी कम्युनिष्टहरूको नेतृत्वमा कम्युनिष्ट बहुमतको सरकार गठन हुन पुगेको छ । यस्तोमा लोकतन्त्रको नेपाली मोडेललाई उकेरा दिइरहन अनि कम्युनिष्ट जन- गणतन्त्रको तानाशाही बाटोमा जानबाट मुलुकलाई रोक्न कांग्रेस वा यस्तै बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको उपस्थिति भने नेपालका लागि अरू टड्कारो रूपमा जरूरी छ, पहिला भन्दा पनि अझ बढी । उदारवादी बहुलवादी प्रतिस्पर्धाको विश्वमान्य मान्यतालाई अंगिकार गर्दै, आर्थिक र सामाजिक परिवर्तनका पद्दतीय चमत्कारहरू गर्नबाट नया नेपालमा कसैले रोकिनु हुन्न , तर "हाम्रो लक्ष्य त जनगणतन्त्र हो , अहिलेको संविधानसभालाइ त केवल रणनीतिक उपयोग मात्र गरिएको हो " भन्ने जस्ता खुल्लम-खुल्ला अभिव्यक्ति स्वयं शीर्षस्थहरूले दिइरहँदा " अहिलेको संसारमा कसैले यसो गर्न सक्छ? " भनेर उसको उद्देस्यपुर्ण घोषणालाई कमजोर ठानेर बुझ्न खोज्ने हाम्रो बुझाइ कुन बढी पाखण्डी थियो भन्ने कुरा केवल इतिहासले आँकलन गर्ला ।

तर पनि दोस्रो विश्वयुद्द यताका तानशाह बिरुद्द गरिएका वा छेडिएका ९५% भन्दा बढी पपुलर क्रान्तिहरूको नियति अर्को झन क्रूर तानाशाही पद्दतिको जग राख्नका लागि बन्न पुगेको थियो भन्ने सत्यलाई देख्ने हो भने , हामीले त्यो बाँकि ५% भित्र पुग्न सो्च्नै पर्छ ।



4 Comments:

अशोक " खलानको मान्छे " said...

इतिहास विजेताहरूको घोडा हो राजनीतिक व्यक्ति वा समूह जो कसैले पनि आँफूलाई समयको गतिमा प्रवाहित गर्न चाहेनन् वा सकेनन् भने , त्यो अग्रस्थान कुनै अर्को शक्तिलाई नचाहेर पनि छाड्नु पर्छ
दोस्रो विश्वयुद्द यताका तानशाह बिरुद्द गरिएका वा छेडिएका ९५% भन्दा बढी पपुलर क्रान्तिहरूको नियति अर्को झन क्रूर तानाशाही पद्दतिको जग राख्नका लागि बन्न पुगेको थियो भन्ने सत्यलाई देख्ने हो भने , हामीले त्यो बाँकि ५% भित्र पुग्न सो्च्नै पर्छ । साते मन का कुरा होइन । यथार्थ बिस्लेसन गर्नु भयो। सादु बा द छ । अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी

आकार said...

हामीले चिन्ता लिएर अनि हाम्रो चिन्ता ले केही थेग्ने होइनरहेछ । ब्लगमा भनिएका कुराहरु चिन्तन अनि मनन गर्न योग्य छन् ।
हामीलाई चिन्ता छ देशको तर सत्तामा पुगेकालाई छैन । यहाँ त जति नै भनेपनि, अनि फुर्ति लाएपनि नेता भनेका सत्ता मा टाँसिने जुका हुन् । जुका जसले रगत चुस्छ अनि आफ्नो जीवन चलाउँछ ।
सत्ता को खेलमा अहिले देशमा ३ उपप्रधानमन्त्रि भएसके जबकी उपप्रधानमन्त्रि को कुनै आवश्यकता नै छ । भाषण ठूला-ठूला दिँदैमा केही हुँदैन, काम गरेर देखाउनुपर्यो । नेपाललाई स्विजरल्यान्ड बनाउँछु भनेर फलाक्दैमा केही हुँदैन, गरेर देखाउनुपर्यो अनि यो सत्ता मा कुर्सीको तानातान बाट माथि उठ्नुपर्यो, जनताको समस्या बुझ्नु पर्यो । लामो समयदेखि जनताले पेट्रोल, डिजल, मट्टितेल र ग्यास पाइरहेका छैनन्, यो कुरा उनीहरुलाई मतलब छैन ।
जय होस्, क्रान्तिकारी को, अनि उनीहरु को कुर्सी को ॥

Biplab said...

True analysis.
Maoists are at the peak of victory. They have forgotten by how much but they are still celebrating.
King and his group, they are even worst than a defeated war man. If someone loses the war, amnesty is given. But the present situation is telling that not only they are defeated, they don't have any protection too.
NC, I don't know how to describe, I just like to know how is krishna situala doing? Is he doing ok? He is not a politician who is not able to recoize a counter part how is preparing to stab.
I don't want to describe more. Ashok and AAkar already have described everything is a record because we are traveling to the worst side.

ठरकी दादा said...

हुन त तपाईले "लोकतान्त्रिक नेपालको भविष्य: चिन्ता र चिन्तन" भन्ने शिर्षक दिएर हाल चिन्तन भन्दा चिन्ता अगाडि रहेको कुरा दर्शाई सक्नु भएको छ ।

बाँकि आकार जि ले भने जस्तै म पनि सोच्छु आम नागरिकको हिसाबले जत्ती चिन्ता हामिलाई छ त्यत्ती चिन्ता हाम्रा नेताहरुलाई भैदिएको भए देश पक्कै उभो लाग्थ्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !