August 2, 2008

माओवादीलाई सरकार: नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाउको अनुहार

कुनै बेला गिरिजा कोईरालाले ठाउँ नछाडिदिएकाले , सरकार गठन गर्न नपाएको रोदन रूने माओवादीले गिरिजा कोईरालाले राजिनामा पत्र कता बुझाएर मुक्त हुन पर्ने हो सम्झिन उचित ठानेन । क्रान्तिकारी पार्टी भएकाले उग्र कुरा गर्नु र सनसनी पैदा गर्दै चर्चित बन्नु उसका स्वाभाविक स्टण्ट भइ नै रहे । यही बीचमा , संविधानसभा निर्वाचन जित्ने शैलिका कारण अरू भन्दा आँफू बढी नै बाठो भएको ठान्ने माओवादीले , सभाको सबैभन्दा ठूलो दल भएको नाताले अरू दलहरूको नाडी छाम्ने र उपयोग गर्ने अनि रछानमा मिल्काउने दूर्नियत प्रयोग गर्न खोज्दा , ऊ आँफै ' बाठोले खाएको तीन बल्ड्याङ' को गतिमा अछूत जस्तो बन्न पुगेको पत्तो पाएन । कम्युनिष्ट रूपी सगोत्री एमालेलाई अन्तिम अवस्थामा जसरी माओवादीले आँफै धोका दियो अनि सो समीकरण बिगार्नुको दोष उल्टो एमालेको टाउकोमा फाल्न खोज्यो, यो कुराले कतै माओवादीको वास्तविक उद्देश्य उजागर भएको त हैन भन्ने आशंका जन्माएको छ ।

पछिल्ला दिनहरूमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलहरूको भेला ठाउँठाउँमा आयोजना गर्दै सरकार गठनको पहल गर्दै गरेको देखाउन खोजे पनि , यो अति राम्रो जस्तो देखिने अव्यवहारिक बाटोको अख्तियारी गर्दै माओवादीले वास्तविक काममा आलटाल मात्र प्रदर्शन गरिरहेको छ भन्न गाह्रो छैन । यथार्थमा यो सर्वदलीय भेलाको कलाबाजीमा नरुम्मलिएर माओवादीले अरू दलहरूले उससंग सहकार्य गर्न देखाएको अप्ठ्यारो के हो भन्ने कुरालाई आत्म मूल्यांकनसहित सच्चाउन पहल गर्नु पर्ने हो । माओवादीको सैन्य दम्भ र अहंकार अनि उसको क्रान्तिकारी नशामा बिगतका सम्झौताहरूलाई लोकतान्त्रिक मान्यताका कसीमा पालना गर्न नखोज्नु अनि यही बलमिचाहा शैलिकै भरमा अरूलाई पेल्दै आफ्नो एजेण्डा लागू गर्न सकिन्छ भन्ने माओवादी सोच र उसको यो सोचलाई अंकूश नलगाई हुन्न भन्ने अरू दलहरूको धारणाको बीचमा , अहिलेको अनिर्णयको स्थिति झुण्डिरहेको देखिन्छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय चासोहरूले यो स्थितिको बीचमा खेल्न खोज्नु पनि बुझ्न सकिने कुरा हो ।

हिंसाको बलमा आँफू सफल शक्तिको रुपमा स्थापित भएको ठान्ने दल अनि धेरैजसो लोकतान्त्रिक विश्व शक्तिहरूले मन नपराएको उग्र कम्युनिष्ट पार्टी माओवादीहरू सत्तासीन बन्न आउँने कुरा नेपालका धेरै मित्र मुलकहरूलाई त्यति सुखद लागेको देखिएको छैन ।सम्भव भएसम्म त्यस्तो नहोस् भन्ने कामना कतै न कतै बन्यो भने पनि आश्चर्य हुँदैन । फेरि अल्पमतको सीमित सामर्थ्यको घोडामा चढेर अरूलाई चाबुक चलाएर आफ्नालागि एकलौटी भविष्यको राजनीति कायम गर्ने एजेण्डा लिएर क्रान्तिकारी विरासतसहित राजनीतिमा प्रविष्ट माओवादीले, अहिलेको सीमितताहरू पक्कै बुझेको हुनुपर्छ । यस्तोमा आफ्नो नेतृत्वको सरकार बनेर पनि धेरै कुरा गर्न नसकिने अहिलेको, परिस्थितिको दशा र दिशा बुझेको माओवादीले जानाजानी सरकार गठन गर्न नचाहेको देखिन्छ भने ऊ आँफू जिम्मेवारी बोक्ने कामबाट पञ्छिएको दोष पनि आँफूमाथि नलागोस् भन्ने कुरामा चनाखो देखिन चाहन्छ । राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेद्वारको पराजय पछि, कुनै बेला अरूलाई हरूवाको आरोप लगाउने माओवादीले आफ्नै भाषा बिर्सिएर माओवादीको नेतृत्वमा सरकार बनाउने भए अरूले आफ्ना तीन शर्त अरू दलहरूले पूरा गरिदिनु पर्ने अत्तो अगाडि सार्नु यस्तै उदेक लाग्दो परिघटना थियो ।

अहिले पेट्रोलियम र अन्य उपभोग्य वस्तुहरूको मूल्यवृद्दि कसैले चाहेर नियन्त्रण हुने स्थिति छैन । माओवादीले आँफैले उक्साएका, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक समस्याहरूलाई समाधान दिन पर्ने ठाउँमा ऊ आँफै बस्दा उसको जिम्मेवारी कस्तो हुने सबैले पर्खेर हेरेका छन् । वाइसिएल र छापामारका मुद्दा आफ्नै सरकार बन्दा निरूपण हुने कुरामा ढुक्क बनेका आफ्नाहरूको आकांक्षा पूरा गर्नु गाह्रो कुरा छँदैछ । परम्परागत सेना भित्र खेल्न खोज्ने माओवादीको चाहना र योजना अनि त्यसले सामना गर्नु पर्ने अवरोध र अन्य दलहरूसंग रहेको बहुमतको साँचोले पार्ने अप्ठ्यारो लाई राम्ररी चिनेको माओवादी यो सबैभन्दा संवेदनशिल मुद्दा कै कारण माओवादीलाई सरकारमा गएर असफल र किंकर्त्व्य बन्नु भन्दा बाहिरै बसेर तमाशा गर्नु रोचक लागेको पनि हुन सक्छ । जुन कुरामा ऊ पोख्त छँदैछ ।

अत: ऊ चाहन्छ आफ्नो लागि काम गर्न अनुकूल नहुने सरकार सम्हालेर अपजशको भागिदार बन्नु भन्दा, कांग्रेस, एमाले फोरम आदिको दुष्चक्र अनि अपवित्र गठबन्धनलाई गाली गर्दै वाइसिएल र छापामार गतिविधिले अप्रत्यक्ष सरकार चलाइरहन पाउनु उसका लागि बढी आकर्षक लागेको पनि हुन सक्छ।

यति भन्दा भन्दै पनि बुझ्न सकिने कुरा हो, सत्ता वा सरकारमा प्रमुख भएर जान पाउनुको टेम्पटेसन अलग्गै छ । तर पनि केहि समय सत्ताको शिरानीमा पुगेर नालायकमा रूपान्तर बन्दै क्रान्तिकारिताको धार भुत्त्याउँदै भविष्यको गर्भमा बिलीन हुनु ठिक कि, कल्पनाकै सही, भोलिका लागि अहंकार र उग्रताको रक्षा गर्ने भन्ने द्विविधामा माओवादी नराम्ररी फँसेको प्रतीत हुन्छ पछिल्लो निर्वाचनको सफलताले दिलाएको सबैभन्दा ठूलो दलको स्थान कतै माओवादीका लागि " नखाऊँ भने दिनभरिको शिकार , खाऊँ भने कान्छा बाबुको अनुहार " भएको त हैन ?



3 Comments:

Panda said...

जनताका आकांक्ष्याहरु असिमित छन , स्रोत र् साधन न्युन छ । त्यसैले अबको सरकारमा गएर निर्माणका कामहरु गर्न बन्दुक र बम पड्काएर बिनाश गर्न जस्तो सजिलो र "ग्ल्यामरस" छैन । बाम देव गौतमले भने जस्तै अब को दुई वर्षमा माओवादी लाई एमाले बनाइदिन्छम भन्ने धम्की माओवादी सरकारमा गए पछी समय र अवस्थाले नै स्वत: निम्त्याउन नसक्ला भन्न सकिन्न ।

त्यसैले जङली च्याउ खान डराए जस्तै माओवादी सरकार को साचो लिन डराइ रहेको छ । अब यो जङली च्याउले खानेलाई विनाश गर्छ या पोषण दिन्छ भविष्यले देखाउला । तर हाम्रो चाहना देश भात्कनु भत्किसक्यो अब जती जे भये पनि मिलेर बनाउ भन्नु हो । हेरौ अब यो च्याउ खाने र खान नपाएर वा डराएर नखाने हरुले के गर्ने हुन !

ठरकी दादा said...

विश्लेषण एकदमै सहि लाग्यो ।
अहिले पक्कै पनि माओबादिको लागी यो सरकार पाण्डा जिको शब्द सापटि लिंदा "जङली च्याउ" भएको छ।

आफैले देखेको र जनतालाई बाँढेको दिवा स्वप्न यो सरकारबाट कुनै पनि हालतमा पुरा नहुने कटु यथार्थ अब त शायद माओबदिले बुझीसकेको हुनुपर्छ ।

त्यसैले सरकार चलाएर "निकम्मा" साबित हुनुभन्दा बरु बाहिरै बसी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न सके यिनलाई चीरकालको लागी फाईदा होला । ( तर माओबादी र रचनात्मक भूमिका खोई शब्द नै पनि बेमेल देखीन्छ )

nepalean said...

पछिल्लो निर्वाचनको सफलताले दिलाएको सबैभन्दा ठूलो दलको स्थान कतै माओवादीका लागि " नखाऊँ भने दिनभरिको शिकार , खाऊँ भने कान्छा बाबुको अनुहार " भएको पनि हो। तर अर्को शब्दमा भन्नु पर्दा "उफ्रने चरीको बाटोमा गुंड" भन्ने कुरो माओबादीमा चरिआर्थ हुन आउछ। सुरुमै कांग्रेस या एमाले संग मिलेको भए फुस्सा हात हुने नै थएन तर अब न यता न उता भएको छ। उता आफैले खनेको खाल्डो यती बिकाराल भएको छ कि सरकार बनाए उ त्यसैमा खस्ने पो हो कि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !