November 23, 2007

एमालेको सदाको दोग्लेपन ; उसको दूर्भाग्य

-एकलव्य
केही समय अघि यही ब्लगमा एकजना साथिले लेख्नु भो, ‘एमालेले माओवादीलाई संसदमा साथ दिएर पुन: जंगल फर्कनबाट रोक्यो,अत: एमालेले रेस्पोन्सिबल भूमिका खेल्यो ‘ । तर मेरो विचारमा एमाले फेरि जिम्मेवार हुनबाट चिप्लियो ।

२०४६ मा काङ-बाम मिलेर नेपालमा बहुदल ल्याएपनि बामदलको सबैभन्दा ठूलो शक्ति मालेमा युद्दउन्माद नै बढी थियो । त्यसैले व्यापक जनमत आफ्ना पक्षमा हुँदा हुँदै केही पछि नेकपा मार्क्सवादीसंग जोडिएर बनेको एमालेले उग्रपन्थग्रस्त द्वैधचरित्र बोकेका राजनीतिक स्टण्टका क्रियाकलापहरु मार्फत राजनीतिमा अघि बढ्नुलाई आफ्नो राजनीतिक दर्शनको अभीष्ट ठान्न थाल्यो । यसको शुरुआत आँफै बसेर लेखेको संविधानलाई उसले ‘ आलोचनात्मक समर्थन’ गर्ने घोषणा गरेको एमालेले त्यसपछिका कुनै पनि समयमा संविधानका कुन कुन बुँदामा आलोचना थियो जनतालाई बताउन उचित नठानी चूपचाप रह्यो न त ती आलोचनात्मक धारा हटाउने कुरमा कुनै पहल नै आवश्यक ठान्यो । संसदमा ६९ सिट ल्याएर ठूलो प्रतिपक्षी दल बनेको जिम्मेवारीलाई एमालेका भिजनरी नेता मदनभण्डारीले यसरी निभाउन उचित ठान्नु भयो कि , आफ्ना समर्थक कर्मचारीहरूलाई आन्दोलित पारेर एक महिनाभित्र बहुमत प्राप्त गिरिजा प्रसादको सरकारलाई ढलाइ छाड्छु भन्ने कसमका साथ मुहिम छेड्नु भो । कर्तव्य वा भवितव्य जुन कारणले भए पनि घटेको मदन- आश्रित मृत्यू काण्डलाई देशव्यापी आन्दोलनको दावानलमा रूपान्तर गरेर एमालेले आफ्नो क्रान्ति र आन्दोलप्रियता साबित गरे पनि त्यसपछि आँफूले सरकार गठन गर्ने मौका पाएर सरकारमा बसेका बेला पनि त्यही मुद्दामा कानमा तेल हालेर बस्दै आफ्ना उग्र क्रियाकलापहरूको औचित्य केवल हिन्दी मुहावरा ‘टायँ टायँ फिस’ थिए भन्नेमै साबित गरिदियो । ऊ एकातिर जिम्मेवार प्रतिपक्ष बन्न पर्ने र अर्कोतिर क्रन्तिकारी रहनै पर्ने जरूरत महशूश गर्दै सदैव दोधारमा बाँच्दै नै रह्यो , र मुलुकले यसबाट केवल घाटा मात्रै सहन पर्‍यो।
पछिल्ला समयमा एमालेकोको यो द्वैध चरित्र कायम नै रहिरह्यो । जब राजाले देउबाको सरकार बर्खास्त गरेर सत्ता आफ्नो हातमा लिए, अब राजाले हामीलाई पालो दिन्छन भन्ने ठहर गर्दै ऊ आफ्ना महासचिवका लागि प्रधानमन्त्रीको कुर्चि माग्न नारायणहिटीको दक्षिण ढोकामा लाम लाग्न पुग्यो । अचम्म छ , जंगलमा रहेका माओवादीहरू पनि यति बेला राजाले आँफैलाई पालो दिन 'कू' गरेका हुन भन्दै जंगलको कुन कुनामा राजाका विश्वासिला दूत कुन बेला स्वर्णाक्षरले लेखिएको निमन्त्रणापत्र लिएर हाजिर हुने हुन भनि व्यग्र आँखा बिछाइरहेको थियो रे , कतै कामरेड प्रचण्डले नै यो कुरा स्वीकारेका छन् । किन गणतन्त्रका सच्चा बाहक आँफूमात्र हौँ भन्ठान्ने कम्युनिष्टहरू यति बिघ्न दक्षिणपन्थको भाट बन्न रुचाउँछन जब परिस्थितिमा आँफ्नोलागि लाभ देख्छन उनीहरू ?
एमालेले आँफूलाई सँधै नै उदारवादी लोकतन्त्र र कम्युनिष्ट पार्टी बनिरहने रहरको मझधारमा राखेर राजनीति गर्ने बाठो काग बन्न खोज्दा ऊस्ले अलि दूर्भाग्यको दाना आँफूलाई नसीब गराएको छ भन्ने कुरामा द्विविधा हुनु पर्दैन । एकताका , अमेरिकी राजदूतले बल्खू दरबारमा भेट गर्न जाँदा , मार्क्स, एंगेल्स , माओ, लेनिन र स्टालिन पाँच पाण्डवका फोटोहरू हत्तपत्त हटाएर कोठा उज्यालो पार्न मन पराउने एमालेले फेरि आफ्ना कार्यकर्ताहरूमा क्रान्तिको संचार गर्न पर्दा माओवादी भन्दा पनि ठूळो दाइ कम्युनिष्ट हामी नै हौँ भन्ने भाव पनि साथसाथै बोकेर चल्नु पर्ने वाध्यतामा जीउन रुचि राखि रह्यो । अहिलेको राजनीतमा आईपुग्दा , नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाबुको अनुहारको स्थितिमा माओवादीको साँठगाँठमा आँफूलाई फँसाएर एमालेले , माओवादीको बच्काना मागमा अन्तरिम संविधानलाई घरको न घाटको बनाउन आफ्नो बलीयो काँधको अर्थी दिएको छ । ऊ कुनै कुरामा प्रष्ट छैन भन्ने कुरा फेरि देखिएको छ । ऊ अरू कम्युनिष्ट पार्टीको चरित्र जस्तै अपजस लिन डराइहाल्छ , ढाँट्छ र कुरीकुरी हुने गल्ति गर्न पुग्छ । तर पनि एमालेले मुलुकलाई अधोगति गराउने ठूला खालका गल्ति गरेको छ भन्ने आरोप लगाउनु ज्यादति हुन्छ । उसले मुलुको प्रजातन्त्रोत्तर राजनितिमा ढलीमली गरी दुरावस्थामा धकेल्ने काङग्रेसीहरुको तुलनामा धरै कम गल्ति गरेको छ , तर एमालेको ढुलमुले चरित्रले उसलाई काङ्ग्रेसको विकल्प हुनबाट रोकिरह्यो।

अब उग्र कम्युनिष्टको दर्शन बोकेर शान्तिपूर्ण राजनीतिमा जोखाना हेर्न माओवादी सामेल भैसकेको अवस्थामा , दुईबटा उत्तिकै प्रभावसाली कम्युनिष्ट पार्टीहरू देशको राजनितिमा रहनु उचित हुन्न । २०४६ पछिको डेढ दशकमा एमालेले आँफूलाई साम्यवादी काँचुलीबाट निकालेर उदारवादी समाजवादी ( लिबरल सोशलिष्ट ) पार्टीमा रूपान्तर गरेर विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा उभिएको दलको रूपमा सप्रमाण देखाउन सकेका भए , देशको राजनीतिको नेतृत्वमा अद्यपि एमाले नामले चिनिने पार्टीका नेताहरू बिराजमान भैसकेका हुन्थे र विदेशी शुभेच्छुकहरू र मुलुकवासीले समेत काङ्ग्रेसी अकर्मण्यताका विकल्पमा अर्को बलीयो प्रतिपक्षमाथि भरोसा गर्न सिकिसकेका हुन्थे । नेपालको वर्तमान राजनितिमा अद्यावधि कायम रहेको अस्थिरताको मुख्य कारक काङ्ग्रेसको भिजन बिहीन र अकर्मण्य राजनिति त हुँदै हो तर त्यसको विकल्पमा एउटा सच्चा लोकतान्त्रिक दलको अस्तित्व नहुनु पनि उत्तिकै खट्केको कुरा हो । किनभने स्वदेशी वा बिदेशी लोकतन्त्रवादीहरूले कम्युनिष्ट नाम बोकेको पार्टीलाई लोकतान्त्रिक विकल्पको रूपमा स्वीकार गरिहाल्न मन पराँदैनन् । एमालेसंग जनाधार छ र यो जनाधारलाई उससंग इच्छाशक्ति भएको भए गएको १५-१७ वर्षमा नेपालि लोकतन्त्रका फलदायी बनाउन पर्योग गर्न सक्थ्यो, तर उसको ढुलमुले चरित्रले उसलाई कम्युनिष्ट धङधङीबाट मुक्त हुन दिएन , यसरी न त ऊ पूरा कम्युनिष्ट रहन सक्यो न त लोकतान्त्रिक राजनीतिको भरोसा लाग्दो विकल्प नै । तर अब खाँटी कम्युनिष्ट हौँ भनेर माओवादीले राजनीतिक मझेरीको एउटा कुनामा बलीयो कब्जा जमाइसकेको वर्तमान हालतमा भने एमालेलाई परिचय र अस्तित्वको संकट पैदा भैसकेको छ या त काङग्रेसी चरित्रको मध्यपन्थी पुँजीवादी पार्टी बनेर समाजवादी फूर्को झुण्डाएर बाँचिरहने कि माओवादीमा बिलय भएर जनवादी नेपालको मार्गचित्रमा रमाउने । यही मझधारमा बहँदा बहँदै एमालेले ,माओवादीले संविदानसभाको चुनाव रोक्न राजनैतिक स्टण्टका रूपमा प्रयोग गरी कथित संसदमा राखेका गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली घोषणा गर्नुपर्छ भन्ने मागमा एकाकार हुने मौका पाएको छ । यसो गर्दा माओवादीलाइ त कुनै जिम्मेवारी थिएन उसलाई संसदीय पद्दतिको बिजोग देखाउन थियो , गर्यो , तर एमाले फेरि आँफैले बनाएको अन्तरिम संविधान र माग गरिरहेको संविधनासभा चुनावको शिघ्रताका विपक्षमा माओवादीसंग उभिन पुग्ने बिजोग मोडमा भने उभियो । हेरौँ नेपालीको राजनीतिको यो कन्तबिजोगको गन्तव्य कहाँ पुगेर रकिने हो ।

6 Comments:

ठरकी दादा said...

राजनीतिमा आफ्नो यौटा स्पष्ट बिचार छैन भने मात्रै कहिले यता कहिले उता ढल्केर बस्नु पर्छ, एमाले जस्तो ठुलो र पुरानो दलको लागी यो यौटा लाजमर्दो कुरा हो ।

देशको स्थिति यो हालमा आईपुग्दा र राजनैतीक वृतमा यत्रो परिवर्तन भैसक्दा पनि एमाले अझै स्पष्ट हुन नसक्नु भनेको "अवसर बाद" को लोभ र नेत्रृत्व तहको अकर्मण्यता नै हो ।

यही स्थिति जारि रहेमा एमालेको पतन निश्चित छ, एमाले देशकै यौटा पुरानो र ठुलो दल भएको नाताले को दलको पतन भएमा देशको लागि पनि दुर्भाग्य नै हुनेछ ।

आशा गरौं एमालेले यस्तो दोधारे नितिको अन्त गरेर यौटा निश्चित बाटो अबलम्बन गर्ने छ । हैन भने हिन्दीको ऊखान "दो नाव मे पैर रखना……… फटके मरजाना" बाहेक केहि होला जस्तो लाग्दैन ।

rahulvai said...

एकलब्य जी को बिष्लेशण सटिक छ। रातो चस्मा न लागाईकन घट्ना क्रमलाई एके एक गरी केलाउने हो भने यही पुष्टी हुन्छ। मैले यो भन्दा पहिले नै लेखेको थिएं" लाल रंगको कमाल " मा। एमाले माओबादी संग सती जान सक्छ। गए पनि । बाम एकताको नाम मा। आफैले गरेको शान्ति संझौता र संबिधान ( अन्तरिम संबिधान) बिरुद्ध कसरी जान सक्छन् , बाम एकताको नाम मा, त्यो देखाई दिएको छ।
पूर्ण सामनुपातिकको हिमायत गर्नु अनि आफुहरु जनता माझ परिचित भन्नु बिरोधाभास होइन त? माओबादीलए त जनतासामु मलाई भोट देउ भन्ने हिम्मत गरेनन्, एमालेले त आफुलाई काँग्रेस भन्दा जनाधार भएको पार्टी मान्दछ। किन डराउने? कहीं सारा बामलाई एकै ठाममा ल्याउने "रिम" को महाआदेश त होइन?
सोचनिय छ।

brilliantman71 said...

एमालेले खेलेको भूमिकालाई दोगलेपनको नाम दिनु भनेको जडतालाई प्रश्रय दिनुमात्र हो। तपाईं जेलाई दोगले पन वा अडान नभएको भन्नु हुन्छ, त्यो एमालेको लचिलोपन, सदासयता र सुझबुझ हो। एमाले को दोगलेपनको शिर्षकमा ब्लग लेख्नु भएको छ, तर एमालेले दोगले नबनेर कस्तो अडान लिनु पर्थ्यो भन्ने कुरो चांहि खुलेर भन्न सक्नु भएको छैन। अडान लिएर बस्ने काम त कांग्रेसले गरेकै छन्, माओबादीपनि अडानमै कायम् छन् नि। यी दुईको अडानको लडाइमा देश र जनताको भविष्य अन्योलको स्थितिमा छ। एमाले ले त यी दुई ठूला अडानवालाहरुको बिच मध्यस्तता गरेको न हो?


शान्तीका खातिर, सहमती हुन्छ भने सबैले आफ्नो अडान छोड्नु पर्छ, एमाले मात्र किन?

नेपाली कांग्रेस जो सत्ताको बागडोर समातेर मस्त निद्रामा छ, जसले सहमतीको लागि पहल् गर्नु पर्ने हो, उ गैर जिम्मेवार बनेर बस्यो र र जो पार्टी सहमती र समझदारीको लागि घरि कांग्रेसलाई मनाउन खोज्छ, घरि माओबादीलाई मनाउन खोज्छ, उ चाहि दोगले? वाह!

२०४६ साल पछिको राजनैतिक् स्थितिको समिक्षा गर्न सकिन्छ, कांग्रेसको भूमिका, एमालेको भूमिका, अन्य पार्टीको भूमिका, सबै कहि न कहि चुकेका छन्।
त्यसपस्चात नदीमा धेरै पानी बगिसकेको छ र ती पुरानाकुराहरु अहिले खोतल्नु कुनै सान्दर्भिकता हुंदैन। अहिलेको मुख्य समस्या भनेको माओबादी युद्धले निम्त्याएको समस्या हो र यसको निराकरण गर्नु नै प्रमुख कुरो हो, जसको लागि एमालेले गरेको पहल् प्रसंनिय छ।

म जहिले पनि सुन्छु, माधव नेपालले प्रधानमन्त्री हुन दरबारमा निवेदन हाल्यो भनेर, वास्तवमा त्यो एमालेको अवमुल्यन गर्ने एउटा आधारहीन हौवा मात्र हो। गिरिजाबाबुले राजिनामा दिएर शेर बहादुर प्रधानमन्त्री भै अपदस्त भैसकेको अवस्था थियो र गिरिजाबाबुले समेत अब बन्ने सरकारको नेत्रित्व माधवजीले गर्ने भनिसक्नु भएको थियो। संसदीय प्रजातंत्रमा आफूलाई बहुमतको समर्थन रहेको पुष्टी सहित राष्ट्राध्यक्ष समक्ष सरकार बनाउन दाबी गर्ने त प्रचलन नै हो। जब राजाले बहुमतको समर्थन सहित सरकार बनाउन दाबि पेश गर्नु भने पछि आन्दोलनरत दलहरुको तर्फबाट माधव नेपालले दाबि पेश गरेका हुन, कुनै बिन्तीपत्र हालेको होइन। तर राजाले इमान्दारीता देखाएनन् र पो।धोका राजाले दिने, दोष माधवले पाउने? माधव नेपालले राजा समक्ष प्रम दाबी गर्नुलाई खिसिट्यूरी गर्ने साथीहरुलाई सोध्न मन् लागेको छ, अहिलेका प्रम गिप्रलाई कसले नियुक्ती गरेका हुन्? अरुलाई थाहै नदिई सपथग्रहण गर्न लुसुक्क दरबार छिरेका हुन कि होइनन्? अहिलेसम्म दरबारलाई कसले काखी च्यापेर हिंडेको छ?

राजनीतिमा जरुर खेल हुन्छ र पार्टीहरुले सत्तामा जान खोज्नु अन्यथा होइन र एमालेले मात्र सत्ताको लोभ नगर्नू, जोगी भएर बस्नु भन्ने छ?
वास्तवमा गिरिजाबाबूले मुखले अब बन्ने प्रम माधवजी भनेर भन्नू भएपनि वंहाको भित्री आकंक्षा आफै नै प्रम बन्ने थियो र त्यसको भित्री तयारी भैसकेको थियो। यो कुराको सुइंको एमालेले पायो र प्रतिगमन आधा सच्चियो भनेर एमालेले पनि सत्ताको खेल खेल्यो। गिरिजाबाबूलाई आफू बाहेक अर्को प्रधानमन्त्री बनेको कहिले मन् पर्छ र, त्यही पनि शेर बहादुर? आफूले प्रम नपाएपछि उंहाको आन्दोलन जारी राख्ने कथित "अडान" रहिरह्यो। अहिलेलाई यत्ति नै।

एकलव्यको डायरी ( Eklavya's diary) said...

हैन , लेखको आसय एमालेलाई इनफेरियर वा कुनै अर्कोलाई सुपेरियर साबित गर्न खोजेको पनि हैन ।
एमाले कम्युनिष्ट नामको धङधङी फालेर सोसल डेमोक्र्याट बनेको भए र उसले कहिलेकाहीँ राजनितिमा हुनगर्ने वा हुनसक्ने अप्रिय कुरालाई पनि बोल्डली लिन सक्ने भएर ढुलमुले चरित्र नबोकिदिएको भए, कांग्रेसी अकर्मण्यताबाट मुलुकलाई त्राण दिने पार्टी उही हुन हकदार थियो नि बन्न खोजेको हो । तर गैरजिम्मेवार माओवादीको गल्तिहरूको साक्षी बनेर उसले देशको राजनीतिमा अर्को ढुलमुल चरित्र उजागर गरेको छ , यो कुरामा धेरैजसो एमाले नेताहरू पनि विस्वस्त छन् र त्यही खालका अभिव्यक्तिहरू सार्वजनिक छापामा देखा परेको देखिएको छ हालैका दिनहरूमा पनि ।

brilliantman71 said...

एकलब्यजी, एमाले अब परम्परागत साम्यबादी रहेन, किन साम्यबादी खोल ओडेर बसेको होला भन्नुहुन्छ भने धेरै हदसम्म म पनि सहमत छु। कम्युनिष्ट नामको छाप लागेकोले यथास्थितिबादी भारतीय पार्टीहरु र पश्चीमा राष्ट्रहरुको विश्वास जित्न नसकेको पनि सांचो हो। तर के गर्ने, पार्टी राजनीतिमा केही खेल जरुर हुन्छ, आखिर जस्तो सुकै बिचार र सिद्धान्त र इमान्दारीता भएपनी भोट त चहियो नि। जनतामा अझै साम्यवाद प्रती जे सुकै कारणले होस, एउटा आकर्षण रहिरहेको छ।
यहाँसम्म कि नेपाली कांग्रेस समेत केही बर्ष अघि सम्म, सच्चा मार्क्सबादी र समाजबादी त हामी पो हो भन्ने गर्थे। राम शरण महतले खुल्ला अर्थतंत्र र नीजिकरण भन्दै सरकारी स्वामित्वका उध्योगहरु कौडीको मोलमा बेच्न थालेपछि उनीहरुको समाजबादी स्वरुप त देखिईहालियो। भूमीसुधार संबन्धी नीति कार्यक्रम ल्याउन खोज्दा जगन्नाथ अचार्यले मन्त्रीपदबाटै राजीनामा गर्न पर्यो र शेर बहादुरले जग्गाको हदबन्दी ५ बिगाहा गर्न खोज्दा नेकाको नेत्रित्वमा रहेका सामन्तीहरुले लागु गर्नै दिएनन्।यता तिर अहिले नजाऔं। रह्यो एमालेले गत अधिबेशनमा किन माओबादीसंग मत मत साट्यो भन्ने कुरो। माओबादीको कुरो छोडिदिउं, अधमहरुसंग केही लाग्दैन। प्रथम त माओबादीहरुलाई बिशेष अधिवेशन माग गर्नु पर्ने अवस्था आउन दिन हुनेथिएन। त्यो भन्दा पहिलेनै स्थिति सल्ट्याउनु पर्ने थियो। तर जस्ता प्रस्तावहरु आउदै थिए, ति संबिधासंग मेल नखाने कुरो थियो र यसमा कानूनी उपचार खोजेको भए पनि हुन्थ्यो। त्यो पनि गरिएन। एमालेले माओबादी प्रस्ताव फिर्ता गरोस भनेर अनेक प्रयास गर्यो, उनीहरुले किन मान्थे र। नेपाली कांग्रेस त पहिले नै आफ्नो केन्द्रीय कमिटीबाट प्रस्तावको बिपक्षमा भोट हाल्ने निर्णय गरेर निस्चिन्त बसिराखेको थियो। जब भोटिंग हुने नै भयो (जुन् नहुन पर्ने थियो), तब एमाले समक्ष एउटा संकट खडा भयो। समानुपातीक निर्वाचन प्रणाली भन्ने मुद्धा लाई पहिला कांग्रेस र माओबादीहरु मिलेर थिच्दा नोट ओफ् डिसेन्ट आफैले लेखेको हो, के अहिले त्यसैको बिपक्षमा मत हाल्न मिल्छ? झन् दोगले भईदैन? त्यतिखेर पनि अडान नभएको भनिएकै थियो। माओबादीहरु के निहुं पाउं कनिका बुकाउं भनेर खोचे थापिरहेकै छन्, झन उनीहरुलाई फकाउन, फुल्याउन तिर नलागेर तिमीहरु जे सुकै गर, मर भनेर छोडि दिने त?

कि भने माओबादीलाई सेना प्रयोग गरेर नामोनिशान मेटाइदिउं न त, सकिन्छ? त्यो प्रयास पनि भएकै हो नि। म त भन्छु, देशमा शान्ती आउंछ भने, माओबादीलाई बिना निर्वाचन केही सीट सुरक्षीत गरेर भए पनि अघि बढन पर्छ। उनीहरुको अहिलेको बखेडाको एउटा कारण चुनावमा पछि परिएला भन्ने पनि त हो।

चना said...

एमाले लाइ जताततै अप्ठेरो छ । अरुले जस्तै अडानमा बसीरहन नसक्ने त होइन होला, तर अडानमा बसेर \'मेरो गोरुको बाह्रै टक्का\' गर्दा सहमतिमा पुग्न सकिन्न भन्ने हिसाबले प्राय अडान छोड्छ । हद भए \'नोट अफ डिसेन्ट\' सम्म लेख्छन अनि छोड्छन । अडान नै लियो भने पनि यो कम्निष्टहरु भन्दै गाली खान्छन, लचकदार भयो भने दोहोरो चरित्र देखायो भनीहाल्छन । यस्तो आरोप एमालेबिरोधि खेमाबाट आइरहन्छ त्यो ठुलो कुरा होइन तर एमाले पंक्तिबाट उसले किन अडान फेर्यो भन्ने विश्लेषण आउनु पर्ने हो त्यो आउन्न । लचकदार नहुँदा कस्तो समस्या पर्यो, हुँदाखेरी कस्तो फाइदा दिलायो जस्ता कुराहरुमा बिस्तृत समिक्षाहरु प्रस्तुत हुन्न उही पार्टीका पत्रकार र नेताहरुले \'बृहत सहमतिको लागि\' भनेर बोल्छन सक्कियो । यसबाट एमाले पिपलपाते जस्तो पनि देखिन गयो भने सबैभन्दा धेरै घाटा एमालेलाइ नै भएको छ । अडान फेरेको फेरेइ गर्दा अचेल कुनै कुरामा एमालेले फरक मत राख्यो वा अडान नै राख्यो भने नि कत्तिखेर फेरी कुरा बदल्ने हुन भन्ने जस्तो क्या, बिश्वास गर्नै गाह्रो । उखानै बन्ने बेला भैसक्यो - एमालेको अडान लौरो न हतियार ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !