January 21, 2009

गजल : धेरै भयो

प्रबिण थापा
धादिङ

धेरै भयो मायालुको,चिठी आएन
मनको सुख दु:ख साट्ने,मिती आएन

फर्की चाडै आउछु भन्थे,अगालोमा बाध्न
वाध्यताले फेरी भेट्ने,स्थिती आएन

बद्लेक छन पलभरमा,धेरै कुरा यहाँ
तिम्रो माया बदल्ने,निती आएन

देखेको छु भिडहरु, प्रेमको नाटक गर्ने
ममा भने किन यस्तो, रिती आएन

अन्तै डेरा खोजेर,बसाइ स-यौ कि त?
मेरो दिलमा बास बस्न,अतिथी आएन


January 20, 2009

स्वागत छ नव बिहानिलाई

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ।
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले
बगाउने प्रयास गरौं।
बिगत,बिगत भयो
नव आगमनको पललाई सिगार्न
मनको फूलबारिमा जाहिजुही फूलाउँ
बिषादिका खोटहरुलाई
मिठासरूपी मुस्कानका छिटाहरुले
स्वागत गरौं ।
पूराना समयका तीता बचन र पीडालाई
नव बर्षको सम्बेदनशिल भावनाले छोपीदिउ
समग्रमा ---नव बर्षलाई स्वागत गरौ
तीता सम्झनाका प्रहरहरुलाई
नव बिहानिमा अनुवाद गरौ।



नेपाल, नेता र मार्टिन लुथर

गोकुल ढकालgokul_bivas
उमा सिंहको हत्या अनी ईन्द्र लोहनिको असामयिक निधनले आँखाहरु ओभाउन नपाउदै काठमाण्डौको फोहोरले सबैको नाकमा ढुसी लाग्न थालेको छ । नेताहरु त पजेरोमा हुइकिन्छन, साहु महाजनहरु कारमा सवार त राजा महाराजाहरु दरवारमा । फोहोर गन्हाउने त सडकमा लडेका बेसहरा खाते बालकहरु र जिबिकोपार्जनको लागि रात दिन खट्ने हाम्रा दाजुभाइ-दिदी बहिनिहरुलाई न हो । राजा महाराजाका नाम फेर्न मात्रै ब्यस्त छन, हामीले चुनेर पठाएका "गणतान्त्रिक राजाहरु" । गोर्खाली बिरताको ईतिहास मेट्न शायदै कस्सैले सक्ला तर एकिकरणका मालिकको नाम फेरियो ।

गणतन्त्रको कसम खाएर छातीमा हात राखी भन्नु सक्छौ हामी कि पृथ्वीनारायणको नेपालमा कुनै योगदान थिएन ? यसरी परिबर्तन हुँदै छ नेपाल, नयाँ नेपालको बाटोतिर । प्रचन्डलाई दुई लाख मुल्य पर्ने पलङ फेर्न मन लाग्यो । एकाएक त्यो फेरियो । आज त्रिभुबन विश्वबिद्धालय बन्द छ । त्यसको चापी फेरिएन न त पुस्तकालयमा कुनै पुस्तक फेरियो । महाजनहरुका इच्छा केहीबेरमै परिवर्तन हुन्छ तर काठमाडौंलिहरुले सित्तैमा पाइने स्वच्छ सास पेर्ने सपना कहिले फेरिए होला ?, कर नतिर्ने ब्यापारीहरुका बिज्ञापनका होर्डिङ बोर्डहरु दिनदिनै फेरिन्छन तर सरकार तिनिहरुसँग कर खिचेर फोहोर थन्काउने भाडोहरु किन किन्न सक्दैन ? . हामीले तिरेका करबाट सुनहरु भित्रिन्छन, नेताहरुको लागि । हाम्रा भुँडीमा माड लाग्दैनन नेताहरुलाई बनारसबाट निर्यात गरिएको रसबरी खानु पर्छ । यसरी नेपाली जनताका चाहहरु दिनानुदिन तुशारापात हुँदैछन त नेताका नातेदार्हरुलाई सधैं दशै । महाकाली प्वाल परेको छ त्यसैले देशले लोड्सेडिङमा दिन गुजार्नु परेको छ । मेलम्ची पनि भारततिरै फर्किएर बगेको छ त्यसैले काठमाडौं प्यासमै रमाउनु परेको छ । सगरमाथाको उचाइ घटेको छ अनी बुद्द भारतमै जन्मेका छन त्यसैले हाम्रा ईतिहासअहरु धुजा धुजा भएका छन । नेपालको खाता पाता साउथ ब्लकको दराजमा थन्किएको छ । त्यही हिसाब किताब पल्टाउदै भारतीयहरुले दिने निर्देशनले देशका नेताहरु चलेका छन भने बिकासको आशामा रहेका हाम्रा मनहरुमा हुस्सु लागेर गलेको छ ।

राणाहरुले चुस्न मात्र थालेका थिए आमालाई । पन्चेहरुले आन्द्रा-आन्द्रा लुछे । त्यसपछिका शाहहरुले फोक्सो सम्म लुछ्न सके भने बर्तमानका श्रीहरुले मुटु पनि लुछेर भ्याइसके । अब त बाँकी के नै पो छ र लुछ्नलाई ? हाम्रा हजुरबाहरुले तीन तीन चोटि प्रतिनिधि बनाएर पठाए, आमालाई लुछ्न बाट जोगाउन । तिनिहरु पनि त्यस्तै रहेछन । बानी लागेकाहरुलाई कसरी छुटाउन सकिदो रहेछ र ? फेरी महासङ्राम पछीको खेलबाट हामीहरुले नयाँ जबानहरु पठायौ - आमाको घर, संसदमा । कतिका त हामीले जमानत पनि जफत गर्यौ । तर तिनका बाउ र मामाहरुले तिनलाई लुछ्ने नियुक्ती दिलाए । तिनै जमानत जफतिहरुकै बोलवाला छ अहिले नेपालमा ।

क्सैको जिन्दगीको कुनै ठेगान छैन, न त कसैको भरोसा । सत्ताको लागि दाजु काटिएको मुलुकमा कसको भरोसा ?, भत्ताको लागी श्रीमतिहरु बेचिने मुलुकमा कसको विश्वाश ?, निती कहिल्यै प्रधान भएन मुलुकमा । नेताका बोलिहरु संबिधानका धाराहरु ठहरिए । कसैले राम्रो कुरो बोलेको नपच्ने, भोलिपल्टै देश कब्जा गर्ने धम्की सुनिन पाइने । राज्यको लागि सुरक्षा दिने सेनाको टकरावको लागि अरु पनि सेना ?, सबै जातिका आफ्ना आफ्ना सेना ? जहाँ कसैको सुरक्षा छैन त्यहा सेनै सेना । अचम्म छ, खेतमा पानी लगाउन गएको भाई फर्केने कुनै भरोसा छैन । साल काट्न बन गएकी बहिनी बलत्कार हुने घटना सामान्य भैसके । तर नेपालमा जसले राजनीति गरे, उनिहरु मात्रै सुरक्षीत छन । तिनका भाई क्याप्टेन, बहिनी हाकिम, श्रीमती सभासद, सालो महाप्रबन्धक अनी साली राजदुत । कपुरी क नजान्ने साँहिलाहरु निती निर्माता । जङल ताकाका सहयोगिहरु सबै रेडियो नेपाल र टेलिभिजनका कर्मचारी । यसरी नै चलाएका छन, श्रीहरुले नयाँ नेपाल । हामीहरु तथास्तु भन्दा अरु केही भन्न सक्ने वाला छैनौ । फेरी भोली गिडिएला भन्ने डर ।

आज जनवरी १९ । मार्टिन लुथरलाई सम्झने दिन । यतिबेला विश्व नतमतस्क छ, समानताको लडेको उनको लडाईं सम्झदै । पि. एच.
डि. को प्रमाण पत्रलाई दराजमा थन्काएर सत्यको राजनीति गरे उनले । उनको बारेमा स्वस्थानी जस्ता धेरै पवित्र लेखानहरु पढ्न सक्छौ हामीले, किनकी दुई हरफमा उनका बलिदानहरु यहाँ उल्लेख गरेर सकिदैन । हामी मात्र यती भन्न सक्छौ कि जनताको मुक्तिको लडाईं लडे उनले । रेलमा काली केटीलाई गोराले गरेको दुर्व्यबहार देखेर मुक्तिको बिगुल फुके उनले । तर तीन करोड हामी नेपाली बेचिएको नाटक टुलुटुलु हेरिरहेका छन, मुक्ती भनाउदो लडाईं लडेको धमास लगाउने - हाम्रा प्रचन्डहरु । कसैको गोलिले जिन्दगी हावामा उडाएपनी मार्टीन लुथरको मुक्तिको लडाईंको सास फेर्छन अमेरिकिहरु । सत्य, समानता र निस्वार्थ उनका निती थिए, उनी लडे सफल भए । उनी मारिए, मरे तर पनि बाचेका छन । यि नेताहरुले हामीलाई लोप्राएपनी हाम्रा सन्ततिहरुले मुक्तिको स्वच्छ सास फेर्न सकुन । काठमाडौं नगनाओस । जय डा. लुथर ! जय मुक्ती !! जय नेपाल !!!



नेताजीको शब्दकोष !

नगएको हप्ता नेपालको कुनै अज्ञात स्थानमा देसका सबै दलहरुका उच्चस्तरीय नेताहरुको गोप्य रुपमा यौटा सामुहिक भेला भएको जानकारी प्राप्त भयो। संचारजगत र पत्रकारहरुलाई समेत थाहा नदिई गरीएको सो भेलाको खवर, भेला समाप्त हुनलाग्दा मात्रै पाए पनि आफ्ना बेरोजगार जासुसहरुलाई यो ठरकी दादाले तुरुन्तै सभास्थलमा जाँचबुझ गर्न पठाएको थियो । एउटा दलभित्र नै एक-अर्कासंग मिल्न नसकेर भना-भन र लाता-लात हुने हाम्रा नेताहरुको यो बुझीनस्कनुको एकताबद्द भेलाले पहिला त आश्‍चर्यचकित नै बनायो । पछि आफ्ना जासुसहरुको रिपोर्ट आउनथाले पछि भने सब खुलस्त भए।

सभा सक्केर निस्कदैं गर्दा सबै सहभागीको हातमा यौटा डायरी वा किताबजस्तो रहमयश्य दस्ताबेज देखीन्थ्यो रे । ति दस्ताबेज बोक्ने मध्य एकजनाले भने आफुले लेखपढ गर्न पनि नजानेको बताउँदै नाम उल्लेख नगरि बामदेवले बन्द नगरेको मदिरालयमा एक रातको खर्च गरिदिने भए सो दस्ताबेज दिने शर्त राखेछन । मेरा जासुसले तुरुन्तै त्यो शर्त विना शर्त स्विकार गरी सो दस्ताबेज हात पारे। बास्तबमा त्यो दस्ताबेज डायरी वा किताब केहि नभई यौटा सामुहिक सम्झ्यौता पत्र रहेछ । प्रस्तुत छ सो दस्ताबेज, जस्ताको त्यस्तै:

विषय प्रबेष:
हामि राजनैतीक दल र नेताहरुले समय समयमा वक्तव्य, टिका टिप्पणी गर्दा प्रयोग हुने शब्द र भाषा सिधा सिधा र खरो हुने गरेको सबैलालाई बिधितै छ। त्यसमा पनि सन्चारकर्मी र पत्रकारहरुले बोल्यो कि टिपि हाल्ने र भन्यो कि छापि हाल्ने गर्दा आजकल हामिलाई ‘व्यक्तिगत भनाई थियो’ वा ‘मैले त्यसो भनेकै हैन’ भनेर पनि धर नपाउने भएकोले हामिले बोल्ने शब्द र वाक्यको गोप्य र कुट अर्थ हामिहरुले मात्रै बुझ्ने गरि राख्नु जरुरी भैसकेको छ । त्यसैले अब देखी हामिहरु सबैले सार्बजनिक वक्तव्य दिंदा र टिका-टीप्पणि गर्दा निम्न बमोजिमको शब्द र वाक्यांसलाई निम्न अर्थमा लिने निर्णय गरेका छौं :

शब्द् / वाक्यांश

अर्थ

विपक्षी दलसंग हाम्रो सम्बन्ध सुमधुर छ।

बाद-बिबाद भए पनि हातै हालाहालको स्थिति भने छैन।

सानातिना समस्याको बारेमा वार्ता जारी छ । बिबाद टुप्पोमा पुगीसक्यो र कुनै पनि बेलामा घम्साघम्सी हुन सक्ने छ।
सौहार्दपुर्ण वातावरणमा वार्ता भयो ।

वार्तामा बसेका व्यक्तिहरु बिच तथानाम मात्रै भयो हात चलेन।

वार्तामा केहि झीना मसिना कुरा मात्रै अडकेको छ ।

अब कुराकानी अगाडी नबढने टुंगो लागीसक्यो ।

हामिलाई सरकारमा जान कुनै लालच छैन । भित्र भित्रै भरमग्दुर प्रयत्न जारी छ ।
यो सरकार एकदम मजबूत छ ।

कुर्सीको खुट्टा हल्लन थालिसक्यो ।

सरकार कुनै हालतमा गिर्दैन ।

विपक्षीसंग लेन देनको कुराकानी हुँदैछ ।

सरकार कमजोर पार्ने खेल हुँदैंछ ।

अब विदेशी महामहिमले पनि संकेत गरि सके ।

हामि सरकारमा नबसे पनि जनसेवा गर्न सक्छौं ।

हाई कमाण्डले आदेश दिई सक्यो कुनै पनि बेलामा सरकार गिर्न सक्छ

हामी कुनै पनि हालतमा आदर्शसंग सम्झ्यौता गर्दैनौं । भाऊ अझै मिलेको छैन।
यो सरकार नालायक छ ।

हामिले भन्दा राम्रो काम गर्‍यो भने त बर्बाद हुन्छ !

हाम्रो दल यो सरकारमा जाँदैन ।

सकेसम्म घुर्क्याएरै मुख्य मुख्य मन्त्रालय लिन्छौं

हामी सरकार गिराउने खेलमा लाग्दैनौं । तयारी पुरा छ, केवल ईश्‍युको खोजी हुँदैछ ।
यो सरकार आफैं ढल्छ ।

जत्ति तर्साए पनि छाड्दैन बा !

म प्रजातन्त्रकोलागी लडीरहेन छु ।

कुर्शी नपाएसम्म चुप लाग्दिन ।

फलानो योजनामा घोटाला भएको प्रमाण हामिसंग छ ।

छिट्टै हाम्रो पनि भाग देउ नत्र ……।

शान्ति स्थिति सुदृण छ ।

भोली के हुन्छ ठेगान छैन।

अस्ति भएको हिंसात्मक घटनामा हाम्रो संलग्नता छैन जसले जे भने पनि ढाँट्या ढाँट्यै गर्छौं ।
यो अपराधको न्यायिक जाँचबुझ हुन्छ । अपराधिलाई बोर्डर काट्न त दिनुस ।
हाम्रो दलमा कुनै पनि आन्तरीक समस्या छैन । पार्टी फुटन तयार छ ।
हामी आफ्नो आस्थामा दृड छौं । हाम्रो कुनै पनि अडान छैन ।
देशमा हामी मात्रै अग्रगामी छौं । साँच्चै यो “अग्रगामी” भनेको के हो हँ ?

हुन त अझै अरुपनि निकै शब्द-अर्थहरु थीए रे तर नशामा उन्मत्त भएका ति नेताले आर्को शनिवार नगरकोटमा लगेर जाँड पार्टि दिएपछि मात्रै बाँकी कागजात दिन्छु भनेर धोका दिएकाले आजलाई यत्ती । बाँकि शब्दार्थ नेपालबाट कागजात प्राप्त हुनासाथ तुरन्तै अपडेट गरिनेछ ।

नोट: मेरो जस्तै खुफीया सोर्स अरु साथिहरुसंग पनि छ र बाँकी शब्दहरु तपाईहरुलाई थाहा छ भने यहि मुनि थप्दै जाँदा पनि हुन्छ ।



January 19, 2009

नेपाली नागरीक भारतिय मन्त्री !!!

नेपाली नागरीक भारतिय मन्त्री? कुरा उल्टो होइन सुल्टो नै हो। अहिले राम चन्द्र झा भारतीय नागरीक भएर नेपाली मन्त्री भएको कुराले नेपाली राजनिती तातेको बेला उता भारतमा नेपाली नागरिकता बोकेर भारतीय मन्त्री बनेको कुरा एका एक बजारमा आएको छ। कुरो त्यती पुरानो त होइन तर यो फेरी नया बनेर आएको छ जुन बखत राम चन्द्र झा को नागरिकता काण्ड मच्चिएको छ।

भारतिय जनता पार्टीले सिक्किमका मुख्य मन्त्री पवन चाम्लिगंले नेपाली र भारतिय दुबै नागरिकता लिएका छन भनेर आजै निर्बाचन आयोगमा चाम्लिगंको मुख्य मन्त्री पद खोसिनु पर्छ भनेर निबेदन दिएको छ। भा.ज.पाले उनि बिदेशी नागरिक भएकाले संबैधानीक पदमा बस्न नमिल्ने जिकीर गरेको छ। निबेदनमा भनिएको छ यो निर्बाचन आयोग, गृह मन्त्रलाय तथा पराराष्ट्र मन्त्रालयको दायरामा पर्ने हुंदा उनीहरुले यस्को सत्य तथ्य कुरा पत्ता लगाउनुपर्ने भनिएको छ। भा.ज.पाले चाम्लिंगको नेपाली नागरकिताको फोटोकपी पनि पत्रकार समक्ष पेश गरेको दाबी गरेको छ।

पवन चाम्लिगंले भने यो सरासर झुट भएको र उनलाइ फसाउन रचिएको भयकंर जाल हो भनेका छन। चाम्लिंग थप्छन नेपाली मुलका भारतीयले राज्य संचालन गरेकोमा रिसले झुटको खेती भएको छ। उनी भन्छन यो नेपाली मुलका सम्पुर्ण नागरिकको बेइजत गर्ने काम हो।

सिलगुडी लगायत भारतका बिभिन्न ठाउंमा भने चाम्लींगको पुत्ला जलाइएको छ। सिक्किममा भा.ज.पका सदस्यलाइ कसैले नछुन पनि भा.ज.पाले चेतावनी दिएको छ। भा.ज.पाले मु्द्दै दायर गरेको भए त पक्कै पनि केही दिनमा यस्को सत्य तथ्य बाहिर आउने नै छ। हेरौं भारतिया नगरिक भनिएका नेपालका मन्त्री राम चन्द्र झा र नेपाली नागरिक भनिएका भारतीय मुख्य मन्त्री को भाग्य कता तेर्सीने हो।



दौंतरी साहित्य लय प्रभा भाग १

दौंतृरी साहित्य संगालो लय प्रभा कबिता, गजल आदीको साहित्यिक संगालो हो। यसमा बिभिन्न साहित्यकारका रचनाहरु प्रकाशित गर्ने जमर्को गर्दछौं। यस पटक बिजय श्रेष्ठले लेख्नु भएको उमा शाहको श्रदान्जली कबिता र इन्द्र लोहनीको लागी शेखर ढुंगेलजी ले लेख्नु भएको गित र बिजय श्रेष्ठले लेख्नु भएको श्रदान्जली कबिता छन।
अधुरो होला

शेखर ढुंगेल
अमेरीका

अधुरो होला गीत यो मेरो
परिभाषा गर्न जीवनको
हाँस्दा हाँस्दै रुनु पर्ने
खेल रैछ यो दुइ दिनको ।

हरेक रात आइ सपना धेरै
पल मै बिलाई गो
एकै झोका समयको खेलमा
बदलिने यो जीवनको कथा हो ।

लाखौं रहर मनका
शित झैं सुकेका बिहानी भो
आशा र भरोसा,
भुमरीको खेलमा रोएको व्यथा हो ।।

ईन्द्र जीलाई सम्झदा

बिजयकुमार श्रेष्ठ,
धादिङ्ग कटुन्जे (हाल ईराक)

सबैको आँखाको नानी थिए कसैलाई बिजाउनु भएन
सत्य र न्यायको बारेमा कहिले पनि गलत बाटो रोज्नु भएन ।
डर र कायरतालाई कहिले पनि साथमा लिनु भएन
आफना बत्तित्व कलाको प्रदर्शन गर्न कहि कतै झुक्नु भएन ।
साहसीको पाईला अगाडि बढाएर जनताको सेवा गर्न चुक्नु भएन
आफनो दिव्य दृष्टिमा कसैलाई अन्यायको कसिमा पर्न दिनु भएन ।
अरुको सेवा गर्नु नै ठुलो कत्तव्य हो भन्ने उक्तिलाई कहिले छाड्नु भएन
उहाँले सानो कोहो ठुलो कोहो कहिले नाप्नु र सोच्ने बानि राख्नु भएन ।
मेरो भनेर कहिले भन्नु भएन सधैभरि हाम्रो भनेर अगाडि बढ्न पछि हट्नु भएन
समाज सेवा कानूनी ज्ञान देखि पत्रकारीताको माध्यमबाट सेवा दिन चुक्नु भएन ।
दैवको लिलाले गर्दा आज हामीलाई छाडि जानु भयो हाम्रो सामु रहनु भएन
उहाँले छाडि जानु भएता पनि हामीले उहाँको देनलाई कहिले भुल्नु भएन ॥

शाहासि ति हातहरु

बिजयकुमार श्रेष्ठ,
धादिङ्ग कटुन्जे (हाल ईराक)

प्रगति शिल हातहरुलाई अगाडि बढाई रहेका थियौ निडर बनेर
कस्लाई के थाहा थियो र अपराधिको नजर लागेको थियो भनेर
कलमको रफतारमा रमाउथ्यौ भयङकर पिडालाई समेत सहेर
कम्मर कसेर लागेका थियो अपराधिलाई सजाय दिन्छु भनेर ॥
आफनु बाचा पुरा गर्न पाएनौ अपराधिको निसानीको शिकार भएर
खोई कहाँ छ कानून र मानव अधिकार कहाँ बसेका छन् ती हेरेर
न्याय दिन्छौ अधिकार दिलाइ दिन्छु भन्नेहरु बसेका छन् कुर्सिमा धुमेर
आफुले भोगेका ति दुख सबै बिसर्िदिए पजेरो र आधुनिक कुर्सिमा बसेर ॥
देशको चौथो अंङ्ग मानिने पत्रकार जगतको फलाहार गर्छ हतियार देखाएर
सत्य तथ्यलाई छर्लङ्ग बनाई दिदा धम्कि र त्रास देखाउछ हतियार तेसा्रएर
परिवर्तनको चिनारी यहि नै दिएको होला नयाँ नेपाल समृद्धि नेपाल भनेर
नसोच्नु हतियारको जित भयो भनेर कलमको गति राकिदैन त्रास देखाएर ॥
घिन लाग्छ मलाई बैचारिक बौद्धिकतालाई भन्दा हतियार ठुला ठान्नेलाई देखेर
कहिले नसोच्नु आतुसबाजीको गर्जनले कलमको बौद्धिकतालाई तल पार्छ भनेर
अठोट लिनेछौ सजाय दिलाउने छौ भनेर अमर बनाउने छौ तिम्रा कृतिहरु फजाएर
नचाहदा नचाहदै पनि अलबिदा गर्नु पर् यो तिमीलाइ आसुका समुन्द्र बगाएर ॥