July 31, 2011

गजल

तिमी आयौ र त हावा पनि मगमगायो
के भो के भो दिल मेरो त्यसै सकसकायो ।

पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले,
कुन्नि किन होला सारा शरीर थरथरायो ।

दूरी घट्यो श्वास बढ्यो मुटु तेज-तेज चल्यो,
डर- त्रास यति भो कि खुट्टै लगलगायो ।

के गरुँ कसो गरुँ छटपटी धेरै भयो,
मन बेकाबु थियो धैर्य ' नि डगमगायो ।

तिमी हाँस्यौ बल्ल सहज भयो मौसम,
कुइरोले ढाकेको मन बल्ल जगमगायो ।


7 Comments:

waka said...

सधै गजलमा दु:ख मात्र हुन्छ भन्ने गुनासो
लाई केही राहत दिन्छ कि यस गजलले

Nepalean said...

tyo ta ho waka ji. nikai romantic rayecha. gajal ma trajety matra hoin romantic pani hunch bhanne dhekaucha.
Mala ta tragedy wala bhanda romantic gaajal po maan paryo.

Jotare Dhaiba said...

रोमान्टिक भावको गजल मन पर्‍यो वाका जी ।
तर सधैं गजलमा दु:ख मात्र हुन्छ भन्ने कुरा सत्य होइन । गजल सुरुवातकालमा हँसमुख खालकै थियो । लेख्दै जाँदा विश्व, समाजको आम छटपटी समेट्न थालियो, व्यक्तिका दैनिक जीवनका हैरानी र व्याकुलतालाई कारुणिक भाव उतार्न थालियो र त्यो मार्मिक अभिवयक्तिमा पाठकले आफ्नो भावनात्मक समभाव राखेर चित्त पनि बुझाउन थाल्यो । फलस्वरूप गजलमा दु:खको छाप बसेको हुनुपर्छ । सायद करुणाले सबैलाई तान्न र प्रभाव दिन तुलनात्मक रूपमा सहज हुन्छ ।

अनि यो गजलमा सबै पक्ष राम्रो छ, काफियामा चाहिं 'सकसकायो' दोहोरियो है ।

Luna said...

आहा कति मिठो माया गर्नु हुदो रैछ !
अलि अलि इर्श्या भा जस्तो पो भयो है --- होईन होईन भन्देको मात्रै हो --

Anonymous said...

गजल सुन्दर छ,धाइबा जी! ले भने जस्तै काफिया 'सकसकायो' दोहोरिएको छ यसको ठाउँमा 'सरसरायो' राख्दा पनि भाबमा कुनै खलबली आउदैन की। मेरो आफ्नो बिचार मात्र है वाका जी!
पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले,
कुन्नि किन होला सारा शरीर सरसरायो। - prabin thapa

Nepalean said...

dautari ma gajal ka wastad haru hunuhunthyo jasto lagthyo, aja chha prove nai bhayo. Gajal ka guruharu le kafiya ma sallah dinu bhayo, sarsarayo pani suhaune rayecha.
Gajal ma kafiya dohorina nahune ho? Euta sano prasna matra hai.

waka said...

धन्यवाद !धाइबा जि ,
खासमा मैले थरथरायो लेखेको थिए ,कसरी दोहोरिएछ ,थाह नै भएन ।
प्रबिण जि को बिचार पनि स्वागत योग्य छ । लुना जि, मन न हो
कहिले काही बहकिन्छ र त यसरी गजल निस्कन्छ ।
गजलमा कफिया प्राय दोहोराउने गरिदैन नेपालीएन जि तर कतै कतै
अर्को अर्थ दिने भएमा दोहोरिएको पनि पाईन्छ ।
गजल मन पराइ दिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु ।
गजल सच्याएको छु ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !