August 1, 2010

गफगाफ सँगको रमाइलो गफगाफ

Gufgaf.com

दौँतरीको नियमित स्तम्भ ब्लग भित्र ब्लगमा हामीले विभिन्न नेपाली ब्लगका ब्लगरहरुसँगका कुराकानी राख्दै आएका छौँ । दौँतरी आफैँमा धेरैजना ब्लगरहरुको संयुक्त प्रयास भएकोले समष्टिमा भन्दा नेपाली ब्लगको विकास वा उत्थान नै दौँतरीको पनि विकास र उत्थान हो ।

यसरी नेपाली ब्लगरहरुलाई अझ नजिक ल्याउने र एक-अर्कामा परिचित गराउने क्रममा यस पटक हामीले गफगाफ डट कम लाई निम्त्याएका छौँ । गफगाफका नियमित पाठकहरुलाई सायद थाहा होला, गफगाफ डट कम एउटा सामुहिक ब्लग भए पनि एउटै परिवारका सदस्यद्वारा सञ्चालित छ । यस्तै र अरु रमाइला जानकारी सहितको गफगाफका लागि लागौँ सिधै प्रश्न उत्तरतर्फ:

पहिला त गफगाफ डट कम र यसका सक्षम र कर्मठ सर्जकहरुको परिचयबाटै सुरु गरौं न ?

गफगाफ डट कम मन लागेको कुरा लेख्ने थलो हो । यै क्षेत्र, यै विषय, यै पृष्ठभूमिका बारेमा लेख्नुपर्छ भन्ने बन्देज गरेका छैनौँ । मन लागेका कुरालाई सुन्दर शब्दमा उतार्न सकिन्छ भने त्यो गफगाफ डट कमको सामाग्री बन्छ भन्ने हाम्रो धारणा हो । गफगाफ डट कम मुलत: एक जनाबाट शुरू भएर पछि अरू दुईजना पनि गाँसिएपछि अहिलेको यो रूपसम्म आइपुगेको हो । प्रवेश पौडेल (काठमाण्डौ विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरीङ् पढ्दै), अशेष पौडेल (क्याथफोर्ड कलेजमा बिबिए पढ्दै) अनि सक्षम घिमिरे (हाल अमेरिकामा )को संयुक्त प्रयास नै अहिलेको गफगाफ डट कम हो । हामी अशेष र प्रवेश शब्दको काम गर्छौँ, सक्षमले प्राविधिक कुराहरू मिलाउँछ । कहिलेकाहिँ बुवा अनिल पौडेल अनि सानीमा नम्रता गुरागाईँले पनि सघाउनुहुन्छ ।

एकजना ईन्जिनियरीङ्गको विद्यार्थी, अर्को कमर्शको । दुईजना नेपालमा एकजना विदेशमा । पठन-पाठनको व्यस्तताबीच कसरी ब्लगतर्फ आकर्षण बढ्यो ?

ब्लगको शुरूवात प्रवेश पौडेलले २००८ को जुनमा गरेको हो । त्यतिबेला म (प्रवेश) काठमाण्डौ विश्वविद्यालयको होस्टेलमा बस्थेँ । पारिवारिक पृष्ठभुमि साहित्यिक र सिर्जनशील भएकैले अलिअलि लेख्ने बानी थियो । तर प्राविधिक ज्ञान नभएकाले लेखेका कुरालाई के गर्ने भन्ने जानकारी थिएन ।

होस्टेलमै बस्दा कामविशेषले एकदिन अनिल घिमिरे ‘आकार’(आकारपोष्ट डट कम)को मा पुगेँ । उसको ब्लग छ अरे भन्ने सुनेको थिएँ अनि हेरेको पनि थिएँ । त्यसो गर्नलाई पैसा लाग्दैन अरे भनेर पनि सुनाए साथीहरूले । अनि ‘आकार’कै सम्पुर्ण सहयोगले गफगाफ डट कमको जन्म भएको हो । अशेषले करिब १ वर्ष पछाडिदेखि ब्लगमा लेख्न थालेको हो अनि सक्षमलाई मैले यसो गर्दे न, उसो गर्दे न भनेर सहयोग माग्दामाग्दै उसले डोमेन खरिद गरिदिएर शुरूको गफगाफ डट ब्लगस्पट डट कमलाई ‘गफगाफ डट कम’मा ल्याइदियो प्राविधिक रूपले । पारिवारिक पृष्ठभूमिले गर्दा हामी अलिअलि लेख्ने गर्थ्यौँ, लेखेका कुरालाई पाठकसम्म पुर्‍याउने माध्यम भेटेपछि यसप्रति रूचि त जागिहाल्यो नि ।

आजकल नेपालमा जेमा पनि 'पहिलो'को लेवल लगाउने चलन छ ।तपाईहरु पनि दाजुभाई र परिवारै मिलेर लेख्नुपहुँदो रहेछ, तपाईको ब्लगलाई "नेपालको पहिलो पारिवारीक ब्लग" भन्दा कस्तो होला ?

साँच्चै हो है ? हामीले त यतातिर सोचेकै थिएनौँ । खोजि त कसैले गरेको छैन, यसो भेटेका, देखेका ब्लगमध्ये यहि पो हो कि ? हा हा हा.......

साहित्य, राजनिती सवैतिर कलम चलाउनु हुँदो रहेछ । कुन विधामा लेख्दा बढी सन्तुष्टी मिल्छ ?

साहित्यको कुनै क्षेत्र हुँदैन । लेख्ने सवालमा त राजनीति पनि साहित्यकै एउटा पाटो हो । त्यहि भएर साहित्यमा नै सबैकुरा समेटिएको हुन्छ जस्तो लाग्छ । राजनीति,समाज सबै साहित्यमै अटाएको हुनाले लेखकीय रूपले सोच्दा राजनीतिलाई साहित्यको एउटा पाटो भन्दै उपयुक्त हुन्छ होला । सिर्जना भनेको सर्जकको सन्तान हो भन्छन्, जस्तै रूप लिएर आएपनि सन्तुष्टि हुन्छ ।

नेपाली ब्लगको हालको स्थिति कस्तो लाग्छ र कुन दिशातर्फ अग्रसर रहेको देख्नु्हुन्छ ?

मलाई त एकदमै सुधारिएको स्थिति लाग्छ । वास्तवमा लेख्न एकदमै गाह्रो कुरा हो । फेरि हामी त लेखक,समालोचक केहि पनि होइनौँ । विभिन्न पेशा गर्दै आएकाले लेख्नु भनेको हाम्रो रहर मात्रै हो, कर्तव्य होइन । त्यस्तो अवस्थामा पनि धेरै सिर्जनशील साथीहरू जम्मा हुनुभएको छ नेपाली ब्लग क्षेत्रमा । आफ्नो पेट पाल्दै, परिवारलाई समय दिँदै, जागीर खाँदै भएपनि छोटोछोटै समयमा ब्लगहरू उत्कृष्ट रचनाले अपडेट भइरहन्छन् । अनि नयाँ नयाँ साथीहरू पनि ब्लगतर्फ आकर्षित भइरहनुभएको छ । साजसज्जा पनि अझै हेरिरहुँजस्तो बनाउँदै जानुभा’को छ सबैले । प्राविधिक पाटोबाट पनि नेपाली ब्लगको स्तर उकासिइरहेको छ । नेपाली ब्लगको सञ्जाल एकदमै ठूलो र प्रभावकारी हुने दिशातर्फ अगाडि बढिरहेको छ ।

ब्लग छाडेर देशतर्फ लागौं । देशको भविश्यको वारेमा कस्तो कल्पना गर्नुहुन्छ ?

जस्तो जे भएपनि देश चलिरन्छ जस्तो लाग्छ । राजनैतिक दलहरूले समयमै संविधान बनाउने सके भने राम्रैसँग चल्ला, बनाउन सकेनन् भने नयाँ शक्तिको उदय होला विश्वमा अहिले थाईल्याण्ड, म्यानमारमा भएजस्तो । सामान्य रूपले सोच्दा यस्तै होला । कल्पनै गर्दा त संविधान बनोस्, अहिलेसम्मको उपलब्धि संस्थागत होस् र रविन्द्रनाथ टैगोर को कविता छ नि एउटा कुनै भावनात्मक पर्खालविनाको विश्व हेर्न चाहन्छु भन्ने, त्यस्तै होस् जस्तो लाग्छ ।

प्राविधिक, अर्थसाश्त्री वा राजनितीज्ञ कस्ले चलायो भने देश राम्ररी चल्ला जस्तो लाग्छ ?

प्राविधिक, अर्थसाश्त्री वा राजनीतिज्ञ सबै शिक्षा आर्जन गरेर हुने हो । शिक्षाले ज्ञान दिन्छ तर बुद्धि दिँदैन अरे । शिक्षित त अवश्य नै चाहिन्छ । प्राविधिकले चलाउँदा अलि प्रविधितिर बढी ध्यान देला, अर्थशास्त्रीले चलाउँदा अलिकति बिजनेसतिर ध्यान बढि देला । राजनीतिज्ञको चैँ गुणैले यसो मान्छे मिलाउन, अनि सन्तुलन मिलाउन जानेको हुन्छ । त्यहि भएर मुख्य मान्छे चैँ ज्ञान र बुद्धि दुवै भा’को राजनीतिज्ञ नै भएर अर्थमन्त्री अर्थको विद्यार्थी नभई अर्थशास्त्री अनि ईन्टरनेटमा भिडियो च्याट गर्न पाउँदा समाचारमै छाप्न चाहनेजस्ता व्यक्तिलाई विज्ञानमन्त्री बनाउने परम्परा तोड्दै प्राविधिकलाई विज्ञानमन्त्री बनायो भने देश राम्ररी चल्ला । अरू मन्त्रालयमा पनि आफ्नो क्षेत्रको विशेषज्ञ नै राख्नुपर्छ । नेपालमा त मान्छे तोक्ने अनि मन्त्रालय बाँड्ने परिपाटी छ ।

एउटा टर्वाईन, जेनेटर वा पेनस्टक पाइप बनाएर पावरहाउस चलाउँदा सन्तुष्टी मिल्ला कि मन्त्रि वा प्रधानमन्त्रिको कुर्सीमा बस्दा ?

प्रश्नले पावरहाउस चैँ चलाउँने कुरो गरेको छ अनि मन्त्रि, प्रधानमन्त्रिले भने कुर्सीमा मात्रै बस्ने भनेको छ । अब कुर्सीमा मात्रै बस्दा त सन्तुष्टि पक्कै हुँदैन । प्रधानमन्त्रीको कुर्सीमा बसेर अनि देश पनि पावरहाउस जस्तै राम्ररी चलाउन सकियो भने त त्यहि सन्तुष्टि मिल्छ । किनभने, आफ्नै हातले बनाउँदा मात्रै हुन्छ भन्ने हुँदैन । मैरै सीपले एउटा पावरहाउस बनाएर चलाउँदा निश्चित क्षेत्रलाई त्यसले फाइदा त अवश्य नै पुर्यारउँछ तर प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यस्ता पावरहाउस अझै बनाउने वातावरण बनाउन सकियो भने त देशैलाई फाइदा पुर्या उँछ नि । अवश्य

नै आफ्नो देश र आफ्ना नेपाली दाजुभाइ सबैलाई फाइदा पुग्ने काम गर्न सकियो भने नै बढि सन्तुष्टि मिल्छ, हैन र?

केही मानिस आर्थिक र शैक्षिक स्थिति कुनै निश्चीत सिमारेखामा पुगेपछि मात्रै देशमा प्रजातन्त्र सफल हुन्छ भन्छन् भने कोही प्रजातन्त्र पछि मात्रै शिक्षा र आर्थीक क्षेत्रमा सुधार आउने कुरा । कुन चाही कुरा सही होला ?

विश्व इतिहास हेरेर आँकलन गर्ने भन्दा पनि आफ्नो भोगाइलाई हेर्नुपर्छ । प्रजातन्त्र त के गणतन्त्रै आइसक्यो देशमा तरपनि वर्षमा लक्ष्य गरेका जति दिन पढाइ हुँदैन बन्द हड्तालले । देशमा आयातको डङ्गुर छ, निर्यात सुकेर विलाउने बेला भइसक्यो । १२ पढेपछि कहाँ पढ्न जाने भन्ने अन्यौलले विद्यार्थीलाई सधैँ सताइ रहन्छ । त्रिविविको चारवर्षे पढाइ ६ वर्ष लाग्छ पढिसक्न, काविवि सर्वसाधारणको पहुँचमा छैन, अन्य विश्वविद्यालयले पनि समयमा लक्ष्यअनुरूपको पढाइ गर्न सकेका छैनन् । उद्योग बन्द, हड्ताल र लोडसेडिङ्ले अत्यन्तै दयनीय अवस्थामा पुगिसके । उद्योगपतिहरूको दिनदहाडै हत्या हुन्छ । भनेपछि आर्थिक र शैक्षिक क्षेत्रमा खासै ठूलो फड्को मार्न सकेको छैन देशले प्रजातन्त्रमा । त्यहि भएर मानिसको आर्थिक र शैक्षिक स्थिति कुनै निश्चित सीमारेखामा पुगेपछि मात्रै देशमा प्रजातन्त्र सफल हुँदो रहेछ भन्ने अनुभव अहिलेको देशको वर्तमान अवस्थाले गराउँदैछ । यध्यपि हाम्रै छिमेकि राष्ट्र श्रीलंकामा भने राजनैतिक स्थिति डामाडोल भएको अवस्थामा पनि आर्थिक क्षेत्रले राम्रै फड्को मारेको उदाहरण छ हामीसँग । त्यसैले यो यसै हो भनेर भन्न सकिने स्थिति छैन ।

गृहकार्य, assessment वा प्रोजेक्ट थाँती राखेर ब्लगमा भिडेको पनि अनुभव छन कि ?

त्यस्ता धेरै छन् । जहिले पनि ब्लगमा एउटा नयाँ कुरा हालौँजस्तो लाग्छ । अलि नियमित भइराखुँजस्तो लाग्छ । अनि हाम्रो पढाइमा गृहकार्य,assessment,project भइरहन्छन् नियमितजसो । प्राय: थाँती राखेरै भिडिन्छ ब्लगमा । तर यसो गर्नु साह्रै राम्रो चैँ हैन है!!!

तपाईको बल्गका तिनवटा सबैभन्दा राम्रा वा मन पराईएका पोष्टहरु कुन कुन हुन ?

राम्रा त सबै नै लाग्छ आफ्ना । सबैभन्दा मनपराइएका चैँ बुवा अनिल पौडेलले लेख्नुभएको ‘पितृलाई पुस्तकको पिण्ड’, अशेषले लेखेको ‘म बुवा भएँ छोरीको’ र प्रवेशले लेखेको ‘गजल’।

नेपाली ब्लगमा विज्ञापन राखेर केही कमाउन सकिन्छ जस्तो लाग्छ?

ब्लगबाट नाम कमाउन सकिन्छ, आफूले लेखेका कुरा पढेर यो भयो, यो भएन भनेर छुट्याइदिनुहुने, प्रोत्साहन गरिदिने साथीहरू कमाउन सकिन्छ तर पैसै कमाउन चैँ अलि गाह्रो लाग्यो । प्रविधिका बारेमा बनाइएका ब्लगहरूले चैँ कमाउन सक्दा रहेछन् । तर हाम्रोजस्तो साहित्य,सिर्जनाको ब्लगले कमाउनु भनेको लगभग असम्भव नै देख्यौँ हामीले । तर कोहि यस्तै किसिमको व्लग चलाएरै पैसा कमाउछु भन्नुहुन्छ भने हामीले पनि एकपल्ट सम्पर्क गर्न पाऊँ । पैसा कमाउने मन त छ नि हौ , के गर्नु एड राखेको कसैले क्लिक नै गर्दैनन् । अनलाईन भेटिएका साथीलाई कति गुहारेर सक्नु मेरो साइटको एड क्लिक गरिदे भनेर !

नेपालको सन्दर्भमा कुनै ब्लग र अर्को कुनै पत्रिकामा एउटै विषयमा दुईथरी खवर छापिएको अबस्थामा कसलाई बढी विश्वास गर्नुहुन्छ ?

कस्तो ब्लगर र कस्तो पत्रिका ! दुवैमा निर्भर गर्छ ।

नेपालमा पत्रकारीता वा साहित्य लेखन गरेर नै बाँच्न मुश्किल हुन्छ भन्छन, यस्तोमा ब्लगको भविश्य कस्तो देख्नुरहुन्छ ?

अब ब्लगबाटै बाँच्न चैँ निकै नै कठिन छ । लगभग असम्भवै जस्तो अहिलेको अवस्थामा । पछि कस्तो होला त्यो त भन्न सकिन्न । तर, अहिले हामीले ब्लगलाई जसरी सिर्जना पस्किएर सामुहिक छलफल गर्ने माध्यमको रूपमा विकास गरेका छौँ त्यसरी नै सोचिराख्यौँ भने ब्लगको भविश्य राम्रो छ सधैँभरिलाई ।

आफ्नो र दौँतरी बाहेकका ५ वटा राम्रा नेपाली ब्लगको नाम लिन पर्दा कुन कुन ब्लगलाई सम्झनुहुन्छ ?

मैले ‘ब्लग’ भन्ने थाहा पाको नै आकारपोष्ट डट कम बाट हो । त्यहि भएर पहिला आकारको ब्लग (www.aakarpost.com), दिलीप आचार्य दाइको ब्लग (www.dacharya.blogspot.com), वसन्त गौतम दाइको ब्लग (www.basantagautam.com), अमित पोखरेल दाइको ब्लग (www.ametya.blogspot.com), र रूपेश श्रेष्ठ दाइको (www.blogstreet.wordpress.com) ।

नेपाली ब्लगरले भोगेका मुख्य समस्या के के हुन जस्तो लाग्छ ?

नेपाली ब्लगरले भोगेको मुख्य समस्या भनेको पाठक हो । हाम्रो ब्लगहरू एउटा सीमित दायरामा मात्र बाँधिएको छ । जस्तो एउटा सर्कलमा एउटाले अर्काको पढ्ने कमेन्ट गर्ने, अर्काले अर्काको त्यस्तै । तर ब्लगरबाहेकका पाठकले त्यति ब्लग पढ्ने गरेको पाइँदैन । धेरै मानिसलाई जानकारी गराउन नै सकिँदैन ब्लगरले । विज्ञापन गरौँ भने आर्थिक पाटो कमजोर । नगरी ब्लग चलाउनेबाहेकले थाहै पाउँदैनन् ब्लग छ भनेर । शायद, सबैले हेरिराख्ने खालको सामाग्री नियमित दिन सकेनौँ पनि कि हामीले !

दौँतरीको कमी कमजोरी औंल्याईदिनुस न, अनि दौँतरीलाई के गर्दा अझै राम्रो बनाउन सकिएला ?

आवरण साजसज्जाले एकचोटि आउने मान्छेलाई लोभ्याउँछ तर हामीजस्तो पटकपटक छिरिरहने मानिसलाई लेख, रचना नै आकर्षणको मुख्य विन्दु हो । छिटोछिटो ब्लग अपडेट गर्नका लागि केहि अलि पढ्न मजा नआइहाल्ने किसिमका सामाग्री पनि राख्ने गर्नुहुन्छ कहिलेकाहिँ । त्यसलाई अलिकति न्युनीकरण गर्न पाए अलि राम्रो होलाजस्तो लाग्छ ।

हाम्रो प्रश्नमा नसमेटिएका र तपाईहरुलाई भन्न मन लागेका केही कुरा छन कि?

अहिले सबैभन्दा खड्किएको कुरा भनेको ब्लगरहरूको संयुक्त अभ्यास हो । त्यसलाई अनलाइन ब्लगर भेला गरेर कहि हदसम्म दौँतरीले न्युनीकरण त गरेको छ तर, ब्लगरको आधिकारिक एउटा संयुक्त अभ्यासको थलो बनाउन पाए राम्रो हुन्थ्यो । ऊर्जा आउँथ्यो साथै ब्लग पनि हुन्छ है भनेर प्रचारप्रसार हुन्थ्यो । नयाँ आउने ब्लगरहरूलाई पनि सजिलो हुन्थ्यो । गफगाफका गफलाई प्रस्तुत गरिदिनुभएकोमा दौँतरीलाई धेरै धेरै धन्यवाद !

गफगाफ डट कम यहाँ छ ।



9 Comments:

Aakar said...

Wonderful Reading. All da best Gufgaf team. And one thing is dat gufguf presents each guf in interesting way, 'm loving those all guffs.
:)

The Blogger said...

Interesting family team. Good luck to the gufgaf group!

दूर्जेय चेतना said...

म सधै पढ्छु तर मलाई थाह थिएन सबै एकाघरका नै हुन भन्ने। यो थाह पाएर निकै खुसी लाग्यो। गफगाफ आकारजीले भने जस्तै निकै रोचक गफगाफहरुको संगालो पक्कै हो। निरन्तरताको लागि शुभकामना

Basant Giri said...

लौ गफ गाफ अझै फल्दै फुल्दै जावोस्।

Dilip Acharya said...

सायद सुरुमा नाम 'उजेलीको गफ' थियो क्यार,त्यसपछि रोचक गफगाफका लागि हुँदै गफगाफ डट कम भयो । म वहाँहरुको ब्लग 'उजेलीको गफ' हुँदा देखि नै सो ब्लग पच्छ्याउँदै आइरहेको छु ।

गफगाफ डट कमका सामग्रीहरु जत्ती रोचक हुन्छन्, कुराकानी पनि उत्तिकै रमाइलो लाग्यो ।

गफगाफ डट कमको उत्तरोत्तर सफलताको कामना गर्दछु ।

Nepalean said...

दौंतरीमा गफगाफका मित्रहरुको गफगाफ ल्याउनु भएकोमा ठरकी दादालाई धन्यबाद। गफगाफ तथा उजेलीको ब्लग समय मिलाएर हेर्ने गरेको थिएं तर उहांहरुको ब्लगको काहानी भने बल्ल थाहा भयो। ब्लगर मित्रहरुको ब्लगको कथा
पढ्दा निकै रमाइलो हुन्छ। यसरी ब्लग तथा ब्लगहरु एक आपसमा गांसिदा नेपाली ब्लगिंग अझ मजबुत बन्न पूग्नेछ।

हामी क्यामपसमा पढ्दा डटकमको निकै बिकास भएको थियो। त्यसैबाट एउटाले अर्को ब्यक्तीगत साइटको देखासिकी गर्थे। अहिले ब्लग फस्टाएको रहेछ। आशा छ ति बेलाका साइट क्यामपस सकिपछी हराए झै यि ब्लगहरु नहराउन।

नेपाली ब्लगहरुले सामाग्री भन्दा बिज्ञापनमा ध्यान नदिंदा नै राम्रो होला। यस्ले ब्लगमा अझ गुण थप्न मद्दत पुर्याउंदछ। नेपाली भाषामा छापिने ब्लगको कमाई शुन्य बराबर नै हुन्छ। साथै नेपाली ब्लगहरुले सारै भद्दा देखीने झिलीमिली सामाग्री राखेर ब्लगलाइ कुरुप नबनाए हुन्थ्यो जस्तो लाग्दछ। ब्लग आहा हुने साजसज्जाले होइन त्यसमा राखिने सामाग्रीले हो।

दौंतरीको सामाग्रीमा निखारपन ल्याउन दिएको सुझाब मनन योग्य लाग्यो। यस बिषयमा पहिल्यै महशुस भएको थियो तर यस्मा लाग्न समय लाग्ने रहेछ। आगामी दिनमा सुधार्दै लगौंला।

अन्तिममा राखिएको ब्लगरहरुको संयुक्त अभ्यासले एउटा कुरा झलस्स सम्झायो। हाम्रो ब्लगर भेला अगष्ट १ मा हुनुपर्ने त म नेपाल यात्रामा लागेको हुंदा भुसुक्क भूलेछु। अब यस्लाई अगष्ट ७ मा सम्पन्न गरौंला। यसबारेमा गफगाफ गर्दै गरौं है?

NKM said...

Thank you for bringing the "Gufgaf" team.

Happy Blogging!

ametya said...

आकारले के.यु. का ब्लगरहरुको लागि lead role play गरेको थाहा पाउदा खुसि लाग्यो ...गफगाफको रोमान्चक गफगाफ अझै पुलंकित हुदै जाओस ...शुभकामना !!!

पहिले उजेलीको गफगाफ हुदाँ मैले यो कुनै महिला मित्र को ब्लग होला भनि ठानेको थिए ....तर यहाँ त पुरुष मित्रहरुको बटालियन नै रहेछ ....जुन पछि थाहा भयो ...त्यो सम्झेर अहिले पनि हासो उठ्छ !!!!

Anonymous said...

मैले उजेलीलाई नै सर्वप्रथम चिनेको हुँ । त्यतिखेर म इन्टरनेट भर्खर सिक्दै थिएँ । मैले आफैँले अनुसान्धान गरेर ब्लग बनाएको हुँ । त्यसबेला मलाई फ्रिमा पनि ब्लग बनाइन्छ भन्ने थाहै थिएन पछि त्यत्तिकै टहलिँदै गर्दा इटहरीमा प्रवेशदाईलाई भेटेको थिएँ उहाँले मलाई ब्लग जगत्का बारेमा थप प्रशिक्षण दिनुभएको थियो । उहाँको त्यहि प्रेरणाा र देखाएको बाटोहरु हिँड्ने प्रयास गर्दछु । प्रवेशलाई म हृदयदेखी नै हार्दिक धन्यवाद दिन्छु । पोष्टबाट अझ प्रशिक्षित हुने मौका पाइयो धन्यवाद दौत्तरीलाई यो जोरजामका लागि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !