July 10, 2010

अन्धविश्वास माथिको विश्वास ।

“Superstition is a credulous belief or notion, not based on reason or knowledge.”

अन्धविश्वास के हो ? भनेर विकिपेडिया हेर्ने हो भने सुरुमै यही वाक्य भेटिने छ । तर कुनै कारण वा ज्ञानमा आधारित नभएपनि यो अन्धविश्वासको जालो भने संसारभर नै फैलिएको छ।

बेलावखत अविकसित देश, गाँउघरका बासिन्दा वा कम शिक्षितवर्गलाई यसको ‘अनुयाई’ भनिने गरे पनि विश्वका अत्यन्तै विकसित देश, अन्तन्तै साक्षर वा विद्वत वर्ग वा प्रसीद्धि पाएका व्यक्ति विशेषहरु समेत कुनै न कुनै रुपमा केही न केही अन्धविश्वासको पकडमा आएको कुरा सुनिएको छ र सायद सुनिई रहने नै छ ।

कतै सानो अनुपातमा त कतै ठूलो अनुपातमा हुने मात्रै हो, तर खोजी गर्दै हिँडेमा धर्मभिरु राजाले खुर्सानीको धुप हालेर सत्ता जोगाउन खोजेको देखि धर्मै नमान्ने आधुनिक कम्युनिष्टहरु समेत भैंसी दोहन र यज्ञ यज्ञादी गरेर आ-आफ्नो परिचय दिएको हामीले देखेको धेरै भएको छैन ।

भौगोलिक आधारमा हेर्ने हो भने पनि लमजुङ देखि लण्डन सम्म, सींगापुर देखि जनकपुरसम्म सबैतिर यसको जड मज्जाले विस्तार भएको छ। भन्नलाइ गाउँले, निरक्षर वा साधारण मानिसहरु बढी अन्धविश्वासी हुने भनिए पनि प्राय: सहरमा बस्ने, विद्वान र विश्वकै चर्चित नेताहरू झनै यस मामिलामा बढी संलग्न रहेको समेत पाइएको छ । नेपालका जोगी र सन्यासीका पछिलाग्ने र हातमा नानाथरि औठीं धारण गरेर हिँड्ने आत्मविश्वासहिन नेताहरु मात्रै हैन्, हिटलर देखि रोनाल्ड रेगन जस्ता नेताहरु समेत आ-आफ्ना ज्योतिषहरुसंग सल्लाह गरेर मात्रै कुनै काम गर्थे भन्ने कुरा धेरै अगाडि नै प्रकाशीत भैसकेका छन् ।

नेपोलियन बोनापर्टको कालो बिरालोको भय, अनि crayfish वा कुखुराको सेवनले विजय प्राप्त हुने अनौठो अन्धविश्वास मात्रै हैन, शुक्रबारको दिन कुनै पनि यात्रा नगर्ने राष्ट्रपति रुजबेल्टसम्म यो अप्रमाणित वा असिद्ध विश्वासको पछाडि अडिग भएको कुराहरु पनि कम रोचक छैनन् । हरेक कुरामा आफ्ना शाही ज्योतिषको सल्लाह लिने थाईल्याण्डका राजप्रासाद देखि विदेश भ्रमण पूर्व गरिने कर्मकाण्डका कारण चर्चामा रहेका ईण्डोनेशियाका पूर्व राष्ट्रपति सुहार्तो सम्मका कथाहरु पढेपछि यो कुनै धर्म विशेषसंग मात्रै सम्बन्धित नरहेको कुरा खुलस्त हुन्छ ।

रोमका पुराना वादशाहहरु मात्रै हैन बर्माका हालैका जनरलहरु समेत सत्ता टिकाउन, शक्तिमा रहिरहन र दुश्मनबाट सुरक्षित रहन। अनौठा अनौठा अनुष्ठान देखि लिएर राजधानि सार्ने, राजधानिको नाम फेर्ने आदि काममा लागेको कुरा इतिहास र वर्तमान दुबैले प्रष्ट्याएका छन् । विश्वशान्तिका लागि नोबेल पुरस्कार प्राप्त गर्ने दलाईलामाका अनुयाई मात्रै हैन मानवताकै विनाशमा पहिलो नाम आउने हिटलर पनि यस कुरामा भने गज्बको संयोगले जोडिन्छन् ।

समष्टिमा भन्दा देश काल र समय वा धर्मको कुनै सम्बन्ध छैन, अन्धविश्वास सँग । घरबाट बाहिर निस्कँदा रित्तो गाग्री देखे साईत बिग्रने विश्वास गर्ने साधारण नेपाली मात्रै हैनन् । ठूला ठूला भवन बनाउँदा समेत १२ तल्ला पछि १३ तल्ला नराखी एकै चोटि १४ तल्ला लेख्ने युरोप वा अमेरिकावासीहरु पनि एक-अर्काको अन्धविश्वासमा आफू हाँसे पनि आफैँ पनि कुनै न कुनै रुपमा कुनै अप्रमाणित र अतर्क्य कुरालाई मान्ने गर्छन् ।

भर्खरैको कुरा गर्ने हो भने पनि जर्मन अक्टोपस देखि सिंगापुरे सुगाको विश्वकपको भविष्यवाणीले ईन्टरनेटका पेजहरु अझै भरिएका छन् । गज्जब छ मानव चेतना र आफूलाई सबै प्राणीहरुमा उत्कृष्ट ठान्ने मानिसको यो असामान्य सोचको ! ।

धेरैलाई थाहा नहुन सक्छ। तर विश्वका सर्वाधिक धनाड्य र चर्चित व्यक्तित्व बिल गेट्सले समेत यो परम्परा कायम राखेका छन् । माईक्रोसफ्टले आफ्ना अफिस सिस्टममा एउटा छुट्टै भर्सन नम्बर राख्ने गरेको छ र सो यद्दपि कायम नै छ । तर आफ्नो अफिस २००३ को भर्सन नम्बर ११, अफिस २००७ को भर्सन १२ भएपछि हालै रिलिज भएको अफिस २०१० को भर्सन १३ हुनु पर्नेमा सो नम्बर अलछ्छिना भएकोले हाल रिलिज भएको अफिस २०१० लाई भर्सन १४ बनाइएको छ ।

अब त मान्नुहुन्छ ? । नौमती गाउँको गरिब बिरेले छोरा पाउन कुखुरा काट्नु र न्युयोर्क सहरका सफ्टवेयर ईम्पेररले १३ हटाउनु दुबैमा केही समानता छ भनेर ।

आजै मात्रै फेसबुकमा कतै ओशो रजनिशको एउटा वाक्यांश पढेको थिएँ "Except man, nobody lies” भनेर । मलाई लाग्छ अन्धविश्वाश पनि त्यस्तै कुरा हो । जुन जाती, धर्म, भूगोल, लिङ्ग वा धनि-गरिब हुनुसंग कुनै सम्बन्ध राख्दैन । परिमाणका मात्रा कम होलान, विश्वास गर्ने विधा वा घट्नाक्रम फरक होलान। तर समष्टिमा समस्त मानवजाती नै कुनै न कुनै रुपमा अन्धविश्वासमा लिप्त छ ।

अन्धविश्वासका धार फरक होलान, तर धार्मिक, सामाजिक, राजनैतिक र यहाँसम्म कि वैज्ञानिक अन्धविश्वासका पनि अस्तित्व छन् यो संसारमा । मान्नुहुन्न ? । २०१२ को पोलार सिफ्ट र शुन्यवाट ब्रम्हाण्ड पैदा हुने ‘बिग व्याङ थ्योरी’ पनि अहिलेको लागी वैज्ञानिक अन्धविश्वास मात्रै हुन । त्यतिमात्रै हैन भारतिय वास्तु पश्चिममा पुगेपछि हाल, नचलेका साइट र ब्लगहरु ‘ब्लगबास्तु’ परिवर्तन गरेर आफ्नो साइटलाई सक्रिय र प्रसिध्द बनाउने होडमा समेत लागेका छन् । अरुलाई मात्रै के भन्ने मलाई पनि एउटा अन्धविश्वास छ... अब यो भन्दा धेरै लामो लेखेमा यही पोस्ट पनि आजै पुरा हुँदैन। र मेरो पोस्ट जसरी भए’नि आजै पोस्ट गर्दा मात्रै शुभ हुने कुरा अंक ज्योतिषले देखाउँदै छ । त्यसैले आजलाई यत्ती !

सबैको सप्ताहन्त सुखमय रहोस् !

जर्मन अक्टोपस र सींगापुरे सुगाले सबैको भलो गरोस !!



3 Comments:

Shiva Prakash said...

"र मेरो पोस्ट जसरी भए’नि आजै पोस्ट गर्दा मात्रै शुभ हुने कुरा अंक ज्योतिषले देखाउँदै छ ।"
यो चाहिँ ज्योतिष ममः हो कि क्या हो ? जे होस पढेर रमाइलो लाग्यो ।
http://www.youtube.com/watch?v=8iP4nw8dbCw

sanu jange said...

kura sat pratisat satya ho, malai yo lekh ma purna biswaas cha. nahos po kina hitler dekhi prachanda samma,rujbelt dekhi sher bahadur samma, bill get dekhi hamra chimeki pasale dai samma sabai yo saga jodiyakai chan.koi hat ma dharma pustak liyara hidchan-koi nidhar ma rato tika lagayara hidchan-koi 5wota aaula ma 6wota aauthi lagara hidchan.rat birat shakti puja garne ko jamat ta kati cha kati....

tai pani yo nirantar chali nai raheko cha ani chali nai rahane cha ananta samma.

Nepalean said...

Yo lekh padchu padchu bhanda balla padera bhayiyo. Mathi ko lekh sorai ansa sahi chha. Hitler dhekhi dalai lama sabai le kata na katai andabiswas lai angali rahyeka chhan. yesma gau ko bire ya kale kina achuto hunthe ra.

Udaharan kai roopma, Barrack Obama chunab ma hinda khalti ma ganesh ko murti bokera hidthe. Sansar ko saktisali manche ko ta halat yesto chha aru ko k kurai bho ra.

Malai pani jyotish le tuesday dherai nakhoknu bhaneko chha, mero comment yeti nai.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !