November 22, 2009

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ

- निर्मलमणि अधिकारी "आयोदधौम्य"


विज्ञान अविरल प्रवाहमान् धारा हो । यो क्रमबद्ध ज्ञान-संचयको श्रृंखला हो । हामीले बुझ्नुपर्ने कुरा के छभने औपचारिक प्रयोगशाला ल्याबोरेटरी मा बसेरमात्र वैज्ञानिक अनुसन्धान गरिने होइन; यो त हामी प्रत्येकको दैनिकी पनि हो । जस्तोकि प्रसिद्ध भारतीय वैज्ञानिक रघुनाथ अनन्त माशेलकर भन्नुहुन्छ- व्यावहारिक अनुभव पहिले हुन्छ र त्यसलाई व्याख्या गर्नेवाला वैज्ञानिक सिद्धान्त त्यसपछि बनिन्छन् । प्रायः प्रविधि पहिले आउँछ र विज्ञान तत्पश्चात् । हामीलाई पांग्रा बनाउन पहिल्यै आउँथ्यो र त्यसपछिमात्र गति विज्ञानको विकास भएको हो । वाष्प-ईन्जिजन पहिले बनेका थिए र थर्मोडाइनामिक्स त्यसपछिमात्र । शताब्दीयौं वा सहस्राब्दीयौं देखिनै मान्छेले प्राकृतिक जीवनको प्रयोगशालामा अनेकौं परीक्षण (Test), प्रयोग (Experiment), एवम् पर्यवेक्षण (Observation) गर्दै
  आइरहेको छ र आफ्नो ज्ञानको परिधि निरन्तर विस्तार गरिरहेछ । अचेल त्यही परम्परागत ज्ञान प्रणालीलाई समानान्तर वा स्वदेशी वा सभ्यतागत भनेर नामाकरण गरिएको पाइन्छ । सभ्यतागत विज्ञानलाईपनि महत्व दिनुपर्छ भन्ने आवाजहरु मुखरित हुँदैछन । तथापि सामान्यतया परम्परागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने जस्तो गलत धारणा अझैसम्मपनि हट्न नसकेको स्थिति छ ।

विज्ञान तथ्य (Fact) मा आधारित हुन्छ । यो वस्तुनिष्ठ (Objective) हुन्छ र यसलाई सत्यापन (Verification) गर्न सकिन्छ । परीक्षण प्रयोग एवम् पर्यवेक्षण गर्न सकिने हुनाले वैज्ञानिक ज्ञानलाई विश्वसनीय मानिन्छ । विज्ञानका यी गुणहरु आधुनिक वैज्ञानिक पद्धतिमा जति सहजै दृष्टिगोचर हुन्छन् यता परम्परागत पद्धतिमा समयक्रममा केही अवैज्ञानिकता घुसेको पनि हुनसक्छ । कतिपय अवस्थामा त परम्परागत पद्धतिमा रहेका वैज्ञानिकतालाई अवैज्ञानिकताले पुरै दबाइसकेकोपनि हुन्छ । त्यो अवैज्ञानिकताको पत्रलाई खुर्केर वैज्ञानिकतालाई उजागर गर्नुपर्नेमा प्रायः परम्परागत पद्धतिलाई अन्धविश्वास वा रुढीवाद मानेर अस्वीकार गर्ने प्रवृत्तिले सभ्यतागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने गलत धारणालाईनै मलजल गरिरहेको छ ।

प्रसिद्ध वैज्ञानिक चिन्तक टी.एच. हक्सलीले सन् १८८१ मा भनेको कुरा अहिले झन् मननीय छ- आफ्ना पूर्वजहरुको उपहास गर्न सजिलै छ तर हाम्रालागि लाभकारी कुरोचाहिँ यो पत्तो पाउनुमा छकि हाम्रा पूर्वज -जो हामीभन्दा कम समझदार पक्कै थिएनन्- ले आजका दिनमा हामीलाई बेतुकका र निरर्थक प्रतीत हुने विचारहरु किन अवलम्बन गरेका हुँदाहुन् ! प्रसिद्ध भारतीय वैज्ञानिक माशेलकरले भनेझैंनै भूतकालको त्यो पद्धतिलाई आधुनिक विज्ञानको उपयोग गरी बुझ्ने प्रयत्न गर्नु बुद्धिमानीपूर्ण कार्य हुनेछ । प्राचीन विचार एवम् परिकल्पना र आधुनिक वैज्ञानिक खोजहरु बीचमा रहेको अर्थपूर्ण सह-सम्बन्ध पत्तो पाउनुपनि आजको वैज्ञानिक कर्मको एक प्रमुख प्राथमिकतामै पर्नु पर्दछ ।

आधुनिक विज्ञान र सभ्यतागत विज्ञान बीचमा अप्राकृतिक छेकबार खडा गरेर स्थानीय समुदायलाई उसको मूलबाट असम्बद्ध गराइदिने र यसैको परिणामस्वरुप आयातित प्रविधिमा हदैसम्म निर्भर हुन बाध्य तुल्याइदिने प्रकृया कथित भूमण्डलीकरण ग्लोबलाइजेसन सँगै अझ बढेको छ । स्थानीय समुदाय सभ्यतागत विज्ञान-प्रविधिबाट विमुख हुँदैगर्दा पूँजीवादी बजारका खेलाडीहरुचाहिँ पेटेन्ट दर्ता गराई स्थानीय सभ्यतागत ज्ञानलाई बलात् कब्जा गरिरहेका छन् । एक अमेरिकी कम्पनीले हलेदो हल्दीको पेटेन्टलाई यसरीनै हडपेपछि भारतले लडेको पेटेन्ट-लडाइँ भारतमा जसलाई हल्दी घाटीको दोस्रो लडाइँ पनि भन्ने गरिन्छ यहाँनेर स्मरणीय छ । भारतले प्राचीन संस्कृत साहित्य सहित सबै प्रमाणहरु पेश गरेपछि अमेरिकी पेटेन्ट कम्पनी बलियो प्रमाणका सामुन्ने पराजित भएको थियो । सो मुद्दामा हाम्रो देश नेपालकोपनि प्रत्यक्ष सरोकार हुनुपथ्र्यो किनकि हलेदो्/बेसारको प्रयोग हाम्रोपनि सभ्यतागत पद्धति हो । तर नेपालमा सरकार चलाएर बसेका तथा कर्मचारीतन्त्रमा रहेकाहरुसँग यस्तो सुद्धि-बुद्धि भइदिएको भए त हाम्रो देशको यो बेहाल किन हुँदो हो र ! धन्न भारतकै भएपनि बेलैमा होश खुल्यो र आधुनिक विश्व इतिहासमै शायद पहिलोपल्ट तेस्रो विश्वुको एक राष्ट्रले अमेरिकासँग सभ्यतागत विज्ञानको अधिकार प्राप्तिकालागि लडाइँ गरी विजय हासिल गरिछाड्यो । एवम्रितले नीम र बासमतीका पेटेन्ट सम्बन्धी संघर्षहरु पनि यहीँनेर स्मरणीय छन् ।

वल्र्ड इन्टेलेक्चुएल प्रोपर्टी अर्गनाइजेसन विश्व बौद्धिक सम्पदा संघले पारम्परिक ज्ञानको प्रयोग तथा स्थानीय बौद्धिक सम्पदा र प्रविधिलाई मान्यता दिनुपर्छ भन्ने स्वीकार गरिसकेको आजको अवस्थामा हाम्रो नेपालजस्तो शताब्दीयौं वा सहस्राब्दीयौं प्राचीन परम्परा भएको देशले पछि पर्नुपर्ने कुनै कारण छैन । आज भारत लगायत कतिपय राष्ट्रहरु तुलनात्मक रुपमा पहिलेभन्दा निक्कै सजग भएका छन्- आफ्नो सभ्यतागत प्रविधिलाई अमेरिकी वा युरोपेली लगायतका अन्यपनि कम्पनीहरुले पेटेन्टको जालमा पार्ने सम्बन्धमा । भारत सरकारले ट्रेडिसनल नलेज डिजीटल लाइब्रेरी सृजित गर्नेतर्फ कार्य शुरु गरेको बताइएको छ जसका कारण प्राचीन संस्कृत ग्रन्थका श्लोकमा निहीत ज्ञान र वाशिंगटनमा पेटेन्ट-परीक्षकको कम्प्युटर स्क्रीनको बीचमा रहेको पर्खाल भत्काउन मद्दत मिल्ने आशा उनीहरुले लिएका छन् । तर हाम्रो देश नि यहाँ कसलाई छ त यस्तो चिन्ता ?


तनहुँ छाङ्ग गा.वि.स.-४ पिपलटार
हाल काठमाडौं

6 Comments:

Dhruba Panthi said...

लेख राम्रो लाग्यो, गम्भीर विषय उठाउनुभएको रहेछ। 'पेटेन्ट' प्रणालीको चंगुलमा परेर हाम्रो सभ्यतागत विज्ञान हामीबाटै कसरी खोसिँदैछ भन्ने बारेमा बेलैमा सजग हुनुपर्ने देखिन्छ। तर दु:खको कुरा यस्ता 'झिनामसिना' कुरामा सोँच्ने फुर्सत हामीकहाँ कसलाई छ र?

Unknown said...

केही बर्ष अगाडि बासमति चामलको पेटेण्टको लागि पनि भारतले लड्नु परेको खबर पढेको थिएँ । यो लेख पढेपछि फेरि एक पटक हाम्रा आफ्ना नीधिअरु कसरी अर्काका नाममा जाँदैछन भनेर गम्भिर बनायो ।

खासै मानिसहरुले ध्यान नदिएका तर एकदमै गहन बिषयमा यो लेख पढन पाउँदा खुशी लाग्यो । निर्मल सर र दौँतरी दुबैमा हार्दिक आभार ।

नेपालियन said...

यस्तै छ दुनिया। नेपाल,भारतमा कपि राइट को कुनै कानुन या पालना छैन। पश्चिम देशमा कपि राइट र पेटेन्टको बाढीले पूर्बिय पूराना बिकास पनि पश्चिममा आएर पेटेन्ट हुन पूगे। जस्ले जांहा पेटेन्ट गरे पनि त्यो भन्दा पहिला बिकास भइसकेको या अरुको कपि गरेको प्रमाण दिन सके त्यो पेटेन्ट स्वत खारेज हुन्छ, यसमा आत्तीहाल्नु पर्ने अबस्था छैन।

मलाइ पेटन्ट भन्दा पनि अर्को चित्त नबुझेको कुरा के भने हरेक रिसर्च सामाग्री पैसा तिरेर किन्नुपर्छ। बिचरा नेपाल जस्ता गिरब देशका बिध्धार्थीले ३ पन्ने आर्टीकल लाइ २० डलर तिर कसरी पढ्न सक्छन? केही पहिले दौंतरीमा पनि कुरा भएको थियो, आजकाल त साइन्टिफिक जर्नलमा लेख छपाउन पनि पैसा तिर्नुपर्छ रे।

अन्तमा नया सामाग्री ल्याउनु भएकोमा निर्मल सरलाइ धन्यबाद।

Prajwol said...

मलाई संधै हाम्रो धर्म र संस्क्रिती बिज्ञान को इन्जिनले नै चलेको छ जस्तो लाग्छ, यो लेखले भने झैं व्यवहारमा पहिले देखी नै भए नि बैज्ञानीक manuscript को रुपमा प्रकाशित भाई सकेको हुंदैन । मलाई हाम्रो धर्म प्रतिको सबै भन्दा ठुलो गुनासो नै हामीलाई विधी सिकाइन्छ, त्यस पछाडि तात्विक कारण हैन । त्यसैले त समय संग बिरालो बांधेर श्राद्ध गर्ने धेरै बढेको हो ।

तर नेपालीयन जि को कुरो सुने पछी अलि हलुको भने भयो, प्रमाण जुटाउन सके patent खरेज गर्न पनि मिल्ने रहेछ । तर सजग हुनु पर्ने बेला भने आइसकेको छ । सबै भन्दा गार्हो पक्ष भने बिदेशी corporate शक्ती संग हाम्रो सरकार जुध्नु पर्न जानेछ, बिदेशी corporate शक्ती संग बिदेशी सरकार त झुक्छन, हामीलाई अली हम्मे नै पर्न जानेछ :(

नेपालियन said...

अरुले नै पहिले डकुमेन्ट गरेको कुरा कसैले प्याटेन्ट गरेर त्यसलाइ बिफल पार्न सकिन्छ। तर अप्ठ्यारो कुरा के भने कर्परोटहरुं संग यती पैसा र कडा वकिल हुन्छ, त्यो कार्य निकै कठीन हुन पुग्छ। तर असम्भव भने छैन।

यो बासमाती चामलको पेट्न्ट भने केही थाहा भएन। एक पटक अमेरीकामा बासमतीलाइ खै के गर्ने भन्ने हल्ला त सुनेको थिए तर त्यसलाइ पेटन्ट नै राख्ने कुरा भन्ने थाहा थिएन।

HAWA said...

मलाई लाग्छ एस्ता प्राबिधिक र पेपर वर्क गर्नु पर्ने कुराहरु मा प्रसासकहरु बढी जिम्मेवार छन.. अस्थिर राजनीती भएको ले राज्नीती गर्ने हरु आँफै अस्तित्व जोगाउने खेल मा हुन्छन.. तर स्थाई सरकार का कर्मचारी हरु जो लोक सेवा पास गर्ने बित्तिकै हेरम हाम्लाई कस्ले छुदो र छ वा बिशेषग्य हौ भन्ने दम्भ गर्छन्..तिनले सबै दोश राजनिती लाई मात्र दिएर उम्कन मिल्छ होला ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !