September 1, 2009

दुनियाँ हल्लाउन खोज्दा

केहि दिन अघि पढेको ठरकिजीको दुई लाइनले गजबसंग मनमा प्रभाव पारेको थियो । अनि एकलव्यजीले टांसेको स्कोलार ट्याक्सी ड्राइभर डा. काइको ब्लगले (http://www.dautari.org/2009/08/blog-post_29.html) पनि मथिंगल खल्बल्याइरहेको थियो । यसै मेसोमा आज आफ्नो काम गर्ने अड्डामा पनि सानो तिनो बोतल सकाउने कार्यक्रम थियो र बोतलसंगै ठरकिजीको दुइ लाइन सम्झे :

साहस भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर

बोतलहरु सकिए तर मेरो दुनिया हल्लाउने र हल्लिएको हेर्ने प्रयास यसरी सकियो :

दुनियाँ हल्लाउन सके,
दुनियाँ हल्लिएको नै देखें,

दुई तीन बोतल सिध्याएपछि अरुलाई हल्लाउने त कुरै छाडौं,
फगत आंफै हल्लिन थालें ।

संभवत नेपाली या भारतियहरुले जस्तै चाइनिजहरुले कम्पलेन (वा शिकायत) गर्ने गर्दैनन र पृष्ठभुमीका धेरै कुराहरु बाहिर आउने गर्दैनन । त्यसैले किन र कसरी डा. काइ मिङले आफ्नो कामबाट हात धुनु पर्यो भन्ने कुराहरु धेरैलाई थाहा हुन सक्दैन ।

संगै काम गर्ने २-३ जना चिनिया मित्रहरुसंग बोतल शुरु भए पछि यस विषयमा कुरा भयो । उनिहरुलाई यसबारेमा धेरै थाहा रहेछ , किनकि उनको विषयमा चिनिया ब्लग र समाचारहरुमा समेत प्रशस्त चर्चा रहेछ ।

सिंगापुरको मोलेकुलर बायोलोजी सम्वन्धी संस्थाहरुमा केहि वर्षदेखि पश्चिमा (अंग्रेजी मातृभाषा भएकाहरु) लाई धमाधम जागिर दिइएको रहेछ । अंग्रेजी मातृभाषा भएकाहरुको लेख र प्रकाशनको रेकर्ड अरुको भन्दा कैयौं गुणा बढि छ यो धेरैले मानि आएको र जग जाहेर कुरो हो । किनकि तपाईको लेखन शैली भड्काउ अर्थात “ग्ल्यामरस” छैन भने अचेल साइन्टिफिक जर्नलहरुले समेत तपाइका लेखहरु पहिलो पटकमै रिजेक्ट गरिदिन्छन । मेरो आफ्नै फिल्डमा पनि देखेको कुरा हो नेचर र साइन्सहरु समेत “इम्प्याक्ट राख्ने लेखको” बहानामा भारतीय न्युज च्यानल "आजतक" र "एनडिटीभी"को स्तरमा ओर्लन्छन भने “अनुसन्धान” भन्ने विषय पनि “ग्ल्यामर” को दुनियासंग दाज्न मिल्ने भइसकेको छ । हैन भने नेचर र साइन्सका प्रकाशनहरुमा किन अमेरिकि र बेलायतिहरुको वर्चस्व हुन्छ ?

साइन्स र नेचरले छापेका प्रोपागाण्डा आर्टिकलहरुको थुप्रो मैले पनि उदाहरणको रुपमा देखाउन सक्छु ।

हो चिनिया मित्रले प्रा. डा. काइ मिङको विषयमा त्यहि भने । उनी एउटा सफल वैज्ञानिक रहेछन र उनको सिंगापुरको हिसाबले वार्षिक औसत रुपमा वैज्ञानिक अनुसन्धानका लेखहरु प्रकाशित हुंदारहेछन । तर पश्चिमी “बोस”हरुको प्रवेश पछि पहिले देखि काम गर्दै आएकाहरुको जागिर खोसिने क्रम शुरु भएछ । त्यसै क्रममा प्रा. डा. काइभन्दा अगाडि पनि धेरै जनाको जागिर खोसिइसकेको रहेछ त्यसैले उनिहरु चिन वा अन्य देशतर्फ लागेका रहेछन । तर डा. काइका बच्चाहरु सिंगापुरको स्कुलमै पढ्ने भएका कारण उनी सिंगापुर छोड्न नसक्ने वाध्यात्मक परिस्थितिमा रहेछन । त्यसैले अन्तिम बिकल्पका रुपमा ट्याक्सी चलाउन लागेका रहेछन ।

अहिले सिंगापुरका अन्य रिसर्च संस्थाहरुमा पनि त्यहि हाल देख्न सकिन्छ । यसलाई “कन्सपिरेसी थ्योरीका” रुपमा लिनुस वा “प्रतिस्पर्धा”मा फेल भएको हिसाबले लिनुस वा सिंगापुर सरकारको “फितलो भिजन”का रुपमा लिनुस तर विज्ञान यहां असफल भएको छ । दर्जनौं अनुसन्धानका लेखहरुले अरुलाई बाटो देखाउने वैज्ञानिक आज आंफै बाटो बिराएर बांच्ने बाटो खोज्दैछ , के यो बिडम्वना हैन ?

बेलायतमा कुनैबेला एनएचएसका मेनेजर भएर बसेका एक जना नेपाली भलाद्मी दाइ हुनुहुन्छ, उहांले ५५ वर्षको उमेरमा अथाह बायो डाटा र एप्पलिकेसन फाल्दै “निर्वाणा”को जीवन बिताइरहेको पनि नजीकबाट देखेको छु । मैले देखेको र बुझेको कुरा धेरै देशका आप्रवासीहरुको लागि पश्चिमा देशहरुमा उनिहरुको छालाको रंग र मातृभाषाको एक्सेन्टले एउटा हैन धेरै पुस्तासम्म पक्कै पनि पीडा दिइरहनेछ ।

एकजना विद्वानको भनाइ थियो :

"In a lot of the research institutes now, performance is assessed a huge part by how much intellectual property churned out, as well as how much industry dollars brought in." यो भनाइलाई वैज्ञानिक साम्राज्यबादको रुपमा लिनुस या व्यापार तर नियत छर्लङ छ ।

सिंगापुर मात्रै हैन मलेशियादेखि मध्य एशियाका स्कुल युनिभर्सिटिहरु पनि अंग्रेजी भाषाका आयातित “गुरु”हरुका लागि सुम्पिएका छन । हुन नेपाली पनि विर्सेर पुरानै युगतिर फर्किन थालेको नेपाली समाजमा यस्ता कुराले अर्थ नराख्लान तर दुनियाँको अगाडि आफ्नो पनि अस्तित्व भनेर केहि गर्न खोज्ने नेपाल या चिन या अन्य एशिया देखि अफ्रिकासम्मका मान्छेहरुका लागि अंग्रेजी भाषाको दासत्व आफ्नै भूमीमा समेत लोप्पा ख्वाउन पछि पर्दैन भन्ने कुरा हेर्न डा. काईकै उदाहरण काफी नेपालीहरु नाक, रौं र आंफैले नजान्ने “मातृभाषा”को विवादमा रुमल्लिएको बेला "मेरो सहानुभुति र प्रोफेशनल भातृत्व" नेपाल भन्दा धेरै टाढासम्म फैलिएर डा. काइ मिङसंगै रहनेछ ।

यो विषयमा धेरै कुरा लेख्न मन थियो तर कति शब्द वा भावहरु अपाच्य हुन सक्लान भनेर आफ्नो कलमलाई थांती राख्नमै उचित ठाने र दुनिया हल्लिएको हेर्ने चक्करमा आंफै हल्लिन थाले । बांकी हल्लिन छाडे पछि भोलि तपाइहरुसंगको भेटमा !


6 Comments:

नयां लाउरे said...

डा. काईले जब अफर पाईसके भन्ने सुनेको थिय। कतिको साचो हो थाहा भयन। हुनत उनले अरु केहि महिना अझै ट्याक्सी चलाउने लेखेका छन उनको ब्लगमा। उनले जागीर गुमाउनुको प्रिष्ठभुमीको बारेमा तेती जानकारी लिएको त छैन। दौतरीमा उनको बारेमा छापिएपछिनै मलाई पनि थाहा भएको को। जे जसरी उनले जागीर गुमाउनु परे पनि त्यो ज्यादै नराम्रो भयो। सिङापुरकै लागी पनि। एक किसिमको बेइजेत। मान्छेहरु अ मेरिकाबाट सितिमिति फर्किन मन गर्दैनन्। उनिजस्तो उच्च स्तरको शिक्षा र उपलब्धी हासिल गरेको मान्छे आफ्नो देशमा फर्किनु नै ठुलो कुरा हो। उनि फर्किए र काम पनि गरे। तर अहिले economic recession होस वा सेतो छालाको करामत होस, ले गर्दा बैज्ञानिकहरुले ट्याक्सी चालाएर जिबिको पार्जन गर्नु पर्दा लाजको अनुभुति हुने रैछ। हुनत आफ्नै देशको स्थिती हेर्यो भने झन कहाली लाग्ने अवस्था छ।

डा. काईले आफ्नो सीप अनुसारको काम पाउन। जय होस।

नेपालियन said...

बिचारको ब्लग भित्र ब्लत त यो पो भयो। एकलव्यजीले निकै मार्मिक प्रस्तुती गर्नुभएको थियो। त्यसै ब्लगबाट जिरो आवरजीले रियालिटी ब्लग लेख्नुभयो। यसरी नौलो तरिकाबाट थप जानकारी दिनुभएकोमा जिरो आवरजीलाइ धन्यबाद।
अब डा. काइ सायद रियालिटी हिरो भए क्यार। उनले जागिर नपाउने त कुरै भएन। संभवत उनले पून जागिर पाउनसक्छन, त्यो पनि पूरानै ठाउंमा।
नया लाउरे नया नभएर पुरानै लाउरे हुनकी जस्तो पो लाग्छ। पाण्डा बाट जिरो आवर बनेजस्तै बसन्तजी बाट नया लाउरे भएको हो कि? ल है मैले त पोल खोलें।
इकोनोमिक रिसेसन कै कुरा गर्दा नमेभम्बर-डिसेम्बरताका ४ जना पूरुषले जागिर गमाउंदा १ जना महिलाले मात्र जागिर गुमाएका थिए। जागिरमा जातीभेद मात्र हैन लिंगभेद पनि हुंदोरहेछ।

हावा De Wind said...

मैले पनि डा काइ को बारेमा दौतरी बाटै था पाएको हो हिजो उनको ब्लग भिजिट गरेको नयाँ पोस्ट र छ

हरेक काम मा कुनै न कुनै बिबाद हुने गर्दछ तर मलाई पनि लाग्दैन कि डा. काइ ले कामै नपाएर ट्याक्सी चलाएका हुन

सम्भवत यो उनले बिरोध को एउटा सैली रोजेको हुन सक्छ

एकलव्य ( Eklavya) said...

जीरो आवरजी,

तपाईँको पोष्टसंग म धेरै हदसम्म सहमत छु र तपाईँको लेखनी र यसले उठाएको विचार एकदमै तारिफयोग्य छ । केही कुरा म थप्न पनि चाहन्छु ।

दक्षिण पूर्वी एशियाली मुलुक मध्ये सबैभन्दा विकसित सिंगापुरको आधार ब्रिटिशकालीन औपनिवेसिकताको संसारबाट माथि उठेको हो । आफ्नो औपनिवेशिकताको इतिहासमा विशेषत: मलेशिया र सिंगापुरमा कुनै कटुता पाइँदैन, जतिको अन्यत्र पाइने गर्छ । बरू औपनिवेशिकतालाई आफ्नो इतिहासको सकारात्मक आधार मान्ने गरेको पाइन्छ ती देशहरूमा । सायद, 'अन्त्य भला तो जगत भला' भन्ने उखानलाई मानेर होला , जब वर्तमान बस्न र खान उपयुक्त बनेको छ भने , हिजोलाई वा अरूलाई दोष लगाएर अतितका मैला कपडा सार्वजनिक ठाउँमा पखाल्न हुन्न भन्ने मान्यता यहाँ स्तापित हुनसक्छ । मलेसियाको त कुरा अलग नै भयो किनभने , यहाँ बहुसंख्यक रहेका भूमिपुत्र भनिने ६०% मले मुसलमान जातिको लागि नै राज्यले सबै कुरा आरक्षण गरिदिएको छ । अल्पसंख्यक चिनिया र भारतीयहरू आफ्नै सामर्थ्यले व्यापार, औद्योगिक र आर्थिक गतिविधिमा लागेर आँफूलाई माथि उठाएका छन् , राज्ययन्त्रको संरक्षण बिना नै ।

तर सिंगापुर भने अलिक एकदलीय शैलिको मेरिटोक्रेटिक राज्यप्रणालीमा अघि बढेको देखिन्छ। सानो टापु राज्य हुनाले तथा वरिपरिका मुलुकहरू यस प्रति त्यति सहिष्णु र सद्भावनायुक्त नहुनाले पनि , यसले पश्चिमा शक्ति राष्ट्रहरुसंगको सम्बन्धलाई प्राथामिकतामा राकेर चलेको छ । मुलुकभित्र भने अति कम उमेरदेखि नै केटाकेटीलाई उनीहरूको क्षमताको पहिचान गरेर त्यही वातावरणमा हुर्काउँदै पढाउँदै ,भोलिको राजनीतिका खंबाहरूको रूपमा रूपान्तरण गर्ने र राजनिति, सेवा , प्रशासन , सेना र अदालतका उच्च तहमा स्थापित गराउनुमा यहाँको पद्दतिले काम गरेको देखिन्छ । आफ्नो औपनिवेशिक विरासतप्रति अति बढी सकारात्मक, ब्रिटिश , अमेरिकी, युरोपेली र हालमा आएर चीन भारत र अष्ट्रेलियासंग विशेष सम्बन्धका आधारमा त्यहाँका उच्चतम क्षमताका व्यक्तिहरूलाई अधिकतम सुविधासहित यहाँ काममा लगाएर भएपनि अगाडि बड्न रुचाउनु यहाँका प्रवृत्ति बनेका देखिन्छन् । गोरो छालाले ले ने हामीलाई केही कुराहरू सिकाउनुपर्छ र सिकाउन सक्छन् भन्ने मान्यता रहेको जस्तो देख्न यहाँ कुनै मेहनती आँखा चाहिन्नन् । कहाँसम्म भने , विश्वमा ने सुविधा, पढाइ र हरेक कुरामा उच्चतम स्थान बनाउन सफल यहाँका २ वटा विश्वविद्यालयबाट एिएचडी गरेका विद्वानहरूले नै ति विश्वविद्यालयमा प्राध्यापन गर्न पाउनन्न भन्ने अघोषित नियम नै छ । औपनिवेशिकतालाई पनि एउटा ब्राण्ड एडबाण्टेजको रुपमा हेर्ने भएर होला , यहाँ प्राध्यापन गर्नेहरू हार्वर्ड, प्रिन्सटन, येल, एमआइटि, केमब्रिज, अक्सफोर्ड आदि आदिबाट नै हुनुपर्छ भन्ने मान्यता रहेको पाइन्छ ।

तर पछिल्लो समयमा चीन र र अरू एशियाली मुलुकहरूको उदयसंगै , आँफूलाई उदियमान शक्तिको तुजुकसंग जोडेर हेर्ने क्रममा व्यक्तित्व, क्षमता, इगो, छालाको रंग, र सांस्कृतिक र जातीय टकरावका तरंगहरू यहाँ पनि देखिन थालेका छन् । तर पनि डाक्टर चाइको बारेमा जुन कुरा थाहा पाइएको छ त्यो भने , पछिल्लो समयमा उनले आफ्नो स्तरबाट देखाउन पर्ने खोज र अनुसन्धानका विषयसंग जोडिएको बताइन्छ । मुलुकको जनसांख्यिक मेकअपमा ८०% चाइनिज रहेको यो मुलुकमा , रोजगारी , अनुसन्धान वा अन्य कुनै पनि तवरले मुलुकलाई फाइदा दिलाउन सक्ने क्षमतावान व्यक्तित्वलाई , यति सजिलै निकाल्ने चलन त यो मुलुकमा भैसकेको छैन ,गोरा, चिनिया वा भारतीयहरू बीचको टकरावका बावजुद । अत: यो नितान्त जातीय वा छालाको रंगमात्र हैन । तर पनि यी र यस्ता समस्या छँदै छैनन् भन्ने पनि हैन । डाक्टर चाइको ब्लगमा पनि उनी केही मात्रामा युरोपिनहरूलाई व्यंग्य गरिएको रुपमा भेटिन्छन् र कसरी सिंगापुरले यिनीहरूलाई सेता देउता मानेको छ भन्ने हिण्ट दिइरहेका हुन्छन् । थाहा भए अनुसार, पछिल्लो तीन वर्षमा ए स्टार वैज्ञानिक डाक्टर चाइको अनुसन्धानको लगाव सन्तोषजनक थिएन, उनलाई लगातार दुई वर्ष यो कुराको बारेमा सम्झाइएको थियो र तेस्रो वर्ष बिभिन्न तहको रिपोर्टका आधारमा पुनर्नियुक्ति दिइएन । तर , उनी यत्रो क्षमताका बावजूद यसरी किन विरक्त बनेर आफ्नो क्षमताको सदुपयोग गर्ने अभिप्रेरित बन्न सकेन्न यो पनि खोजीको विषय हुनसक्छ । तर , १६ वर्ष ए स्टार वैज्ञानिकको जागिर खाएर, केही महिनामा ट्याक्सी चालक बन्न पर्ने काम बने उनले चर्चामा नै आउन गरेाक हुन, अरु जागिर नपाएर हैन । ट्याक्सी चालक बन्नु उनको आवेशपूर्ण प्रतिकृया हो, उनले चाहेका भए उनलाई यहिँका विस्वविद्यालय वा अरू अनुसन्धान संस्थाहरूले नलिने कुरै हुन्थेन । उनकै ब्लगका कमेण्टमा पनि कतिपयले उनलाई यो कुरा दर्शाएर सम्पर्क राक्न पनि अर्हाएका छन् । आर्थिक मन्दीका बावजूद , उनको क्षमतालाई कहिँ पनि एकोमोडेट गर्न नसकिने होइन।

एकलव्य ( Eklavya) said...

साथै redundant हुँदैमा डाक्टर चाइ ट्याक्सी चालक बन्न नै किन गए भन्ने कुरामा उनको आँफूमाथि गरिएको कार्वाही ( जागिरबाट हटाउने) प्रतिको आक्रोश मुख्य कारक हो । एकाध वर्ष आरामसंग बसेर केटाकेटी पडाउन नसक्ने पनि उनी थिएनन् र उनले यहीँका वा अन्यत्रका उच्च अनुसन्धान,वा शैक्षिक संस्था वा विश्वविद्यालयहरूमा रोजगारी पाउन सक्थे । तर पनि कडा कानून र डिफेमेसन ल भएको मुलुकमा, सायद उनले आफ्नो आक्रोशलाई अभिव्यक्त गर्ने यहि तरिका सबैभन्दा बलियो पाए । जहाँ कसैलाई गाली नगरी वा मुड्की नउठाई धेरै कुरा बन्न सकियोस् । जुन प्रभावशाली पनि रह्यो । ढिलोचाँडो उनका कुरा बाहिर पनि आउलान् नै ।

Zero Hour (शुन्य समय) said...

एकलव्यजी धन्यवाद विस्तृत जानाकारीको लागि ।
तर डा चाइको काम एउटा त विरोधको शैली पनि होला । अर्को कुरा स्कुल र सामान्य कलेजले उनलाई जागिर दिन पनि गार्है होला। एक त उनको उमेर दोस्रो उनको शिक्षा र अनुभवको कारण नै उनले स्कुलहरुमा स्थायी रुपले काम गर्लान भन्ने पत्याउन स्कुल व्यवस्थापनले गार्हो मान्ला , अनि इगो पनि आफ्नै ठाउंमा होला।
जे होस उनले जागीर पाउलान तर त्यहि संस्थामा फेरि मुख्य पदमा पाउन गार्है होला । झण्डै २० वर्ष त्यो फिल्डमा काम गरेको मान्छेले संधै ट्याक्सी चलाउलान भनेर पत्याउन पनि गार्हो छ र उनले अन्य काम वा धन्दा गर्न पनि सक्लान ।

तर आयातित "बोसहरु" प्रतिको विरोधको उनको शैली भने बेजोड नै रह्यो । एकजना कमेन्टकर्ताले भने जस्तै Politics in Academia ले यि सबै घटनाहरु निम्त्याएका हुन ।

अनि हावाजीले ले दर्हो सल्लाह दिनभारैछ "i suggest you not to change your profession again bro.... seriously ;)" , चढ्ने विचार छ कि केहो चाइको ट्याक्सी !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !