June 22, 2009

हात खुट्टा भाँच्नै पर्ने , हड्डी फुटाल्नै पर्ने क्रान्ति !

माओवादी हिंसा कालमा अक्सर सुनिने शब्दहरु थिए 'कारवाही' र 'सफाया'। माओवादी इतरका राजनीतिक दल वा व्यक्तिहरूलाई सरकारी सुराकीको नाममा कारवाही गर्नु माओवादीको जनक्रान्ति थियो । कारवाहिको तरिका उनले आँफै तयार पारेका हुन्थे । कसैलाई तास खुवाउँथे, कसैलाई कपाल मुडेर भाटा र लौराले कुटेर भाटे र लौरे कारवाही गर्थे। मैले थाहा पाए अनुसार उनीहरूले गर्ने क्रान्ति अक्सर बिभत्स हत्या र मारमुङग्रीमा देखिने गर्थ्यो ।

श्याङ्जा र पाल्पा जिल्लाको सीमावर्ती गाउँ चापाकोटमा माओवादीको एमाले कांग्रेससंग झगडा परेछ । अपशोस, भीडन्तमा एकजना माओवादी पनि मारिन पुगे। लखेटालखेटमा भीरबाट खसेर उनको मृ्त्यू भएको रहेछ । केही दिन पछि माओवादीले प्रतिकारमा गाउँमा धावा बोल्यो र एक को बदला दुईजना स्थानीय नेताको अपहरण गर्‍यो । ई व्यक्ति मैले व्यक्तिगत रूपमा चिनेका एमालेका स्थानीय नेता र शिक्षक गुप्त वि क थिए । आज पर्यन्त गुप्तजीको अत्तोपत्तो छैन तर दोस्रा व्यक्ति नेत्र भण्डारीलाई माओवादीले जीउँदै उनको शरीरको छाला उधारेर काली गण्डकीको बालुवामा तड्पाइ तड्पाइ मारेको कुरा, उनका आफन्त र चापाकोट रत्नपुर यताउतिका गाउँमा अझै सुन्न पाइन्छ । स्थानीय व्यक्तिहरू भन्छन् भण्डारीजीको टाउकोको छालासहितको रौँ र कपडाका केही टुक्रा तथा लगाएको घडी र शरीरको अन्य भागको छाला खुला बगरमा यसरी फालिएको थियो कि मानौँ माओवादीले जनाउ दिन चाहन्थे कि उनीहरूको बिरोधमा लाग्नेहरू को हविगत के हुने रहेछ ! । मैले पाल्पा रामपुरका एकजना साथी एमाले नेताबाट त्रिभूवन क्याम्पस् पाल्पाको प्राङ्गणमा यो कुरा सुन्दा मेरा रौँ सिरिङ्ग भएका थिए र म भाउन्निएको थिएँ, यो सोचेर कि एउटा नेपालीले अर्को नेपालीलाई यो अमानवीय तरिका अपनाएर व्यवहार गर्नु पर्ने नौबत किन आइपरेको होला !

माओवादी बिरुद्द सेना र सरकारी फौजले पनि अत्याचार गरेको थियो होला । तर यहाँ गरिएको चर्चा निहत्था नागरिकहरू जो आफ्नो काम, व्यवसाय र विचारको जिवन जीउँदै थिए तिनिहरूको मात्र हो । क्रान्तिकारीले त मर्ने र मार्ने कसम खाएर युद्दमा लागेका थिए होला तर सामान्य जनताका लागि त जीवनको जोहो गर्नु पर्ने कुराले महत्व राख्थ्यो ।

त्यसपछि, केही समयको अन्तरालमा मैले भैरहवाका एकजना स्थानीय व्यापरीलाई भनेजति चन्दा नदिएको हुनाले, सरकारको पक्षमा सुराकी गरिएको आरोपमा गरिएको कारवाही देख्ने दूर्भाग्य खेपेको थिएँ । म काम विशेषले एकजना आफन्तकहाँ गएकै बेलामा यो घटना देख्न पुगेँ । मधिशे मूलका यि व्यापारीसंग ५० लाख माग गरिएकोमा , मोलमोलाउ १० लाखमा झरे पनि उनी अझै घटाउन सकिन्छ भन्नेमा विश्वस्त रहेछन् र माओवादीका भूमिगत नेताले भेट्न बोलाएको स्थानमा भे्टन गएछन् । तर, दूर्भाग्य कुनै चेतावनी बिना माओवादीहरूले उनलाई ढुङ्गाको मचानमा रखेर उनका दुवैवटा खुट्टा फलामका घनले हानेर पहिला ठनक ठनक भाँचेछन् र बोलि उपचारपछि जोडिन पनि नसकोस् भनी थिलोथिलो पारेछन् । मेरा नातेदारका नजिकका मित्र रहेका उनलाई घटनाको ८ वर्षपछि गएको डिसेम्बरमा मैले भेटेँ । आजीवन अपाङ्ग शरीर बोकेर उनले आफ्नो पीडा बताइरहँदा, मेले यो कथित क्रान्तिको दूर्नियतपूर्ण पाटो देखेँ ।

रक्तरंजित क्रान्तिको चर्को युद्द लडेकाहरूका लागि व्यक्तिको जीवन हरण र शारीरिक कारवाही केही पनि हैन होला तर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि हिजोका छापमारहरूको यो हाडफोरा क्रान्ति जारी छ । मैले व्यक्तिगत रुपमा चिनेका श्याङ्जा जिल्ला कांग्रेसका सचिव शिव गिरीका सहोदर भाइ बलराम गिरीलाई अस्ति लगभग तीस जनाको वाइसिएल समूहले मरणासन्न हुने गरी कुटेर अब मर्यो फालिदिए हुन्छ भनी फालिसकिएपछि गाउँलेले उद्दार गरी उपचार गर्न पठाएपछि अस्पतालमा खिचिएको उनको फोटो नेपाली वेब मिडियामा पनि देखाइएको छ । थाहा पाए अनुसार बलराम गिरीका हात र खुट्टाका अनेक ठाउँमा हड्डि भाँचेर अनि फुटाएर उसलाई आजीवन अपाङ्गताको ओछ्यानमा सुत्न बाध्य पार्ने गरी चमत्कारी नेपालका योजनाकारहरूले फेरि एउटा मिनी क्रान्ति सम्पन्न गरेका छन् । ऊ एउटा शिक्षक हो र उसको एउटा राजनैतिक विचार थियो होला नै, तर नेपाली क्रान्तिरूपी यो हण्टिङ गेमका यी शिकारीहरूका लागि, राष्ट्रपतिको कदम सच्याउन कुनै इतर विचार बोक्नेका हातखुट्टा ठुन्क्याउने क्रान्ति मात्र जायज छ । आखिर, नेपाल यो मध्ययूगीन पाशविकताको वर्वर्तामा सडिरहनु पर्ने दिन कहिलेसम्म रहने होलान् ।



7 Comments:

Basanta said...

साह्रै दर्दनाक घटनाहरु सुनाउनुभयो! माओवादीहरुसंग न्यूनतम मानवीय संवेदना पनि बाँकी छैन जस्तो छ। अल-काईदा र अन्सर-अल-सुन्नालाई माथ गर्छन् उनीहरु! मान्छे यति निर्दयी र हिँस्रक पनि हुन सक्दो रहेछ!

Luna said...

मान्छे हरु यो हद सम्म क्रुर हुन सक्छ !
यस्ता घोर अपराधीक क्रुरता को सबै पक्ष ले घोर निन्दा गर्नु पर्छ ।

Biplab said...

I just want to say maoist are idiot.

Anonymous said...

जंगलिहरु लाई मानवियताको के ज्ञान ?
जंगल बाट जन्मेको बिचार जंगल बाट नै
अन्त्य हुने पक्का पक्की छ ।

Anonymous said...

भारतले आतंककारी सुचिमा राखेर अब राम्रै औषधी गर्दै छ भारतीय माओवादीहरुलाई । नेपालमा पनि त्यस्तै हुने छ । हतियार प्रमाणिकरणको नाममा अमेरिकाले माओवादीको १३ हजार सोझा जनता र झंडै ८ हजार सक्कली माओवादीको फोटो खिचेर राखेको छ । अन्त्यमा तिनिहरु लाई नै फिता लगाउन सुरु हुने छ । यो डांका पार्टिको पछी लागेर अरुलाई त मारे मारे आफु पनि सिद्धिने भय बिचरा । हेर्दाइ जानु होला अझ २ बर्ष पछी माओवादीको गांउ तिर बिउ भेट्नै गाह्रो हुने छ ।

Anonymous said...

नेपाल मा के गर्नु पर्ला त ?
माओवादीलाई आतंकवादी संगठन घोषणा गर्दै औपचारिक रुपमा प्रतिबन्ध
भारतीय केन्द्रीय सरकारले विद्रोही माओवादीलाई आतंकवादी संगठनको घोषणा गर्दै औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । माओवादीलाई राजनीतिक शक्तिका रुपमा लिँदै उनीहरुविरुद्ध राजनीतिक प्रतिरोध नै गर्नुपर्ने भनी प्रतिबन्धको विरोध गर्ने बामपन्थी दलहरुको समर्थनबिनै कांग्रेसको नेतृत्वमा सरकार बनेको एक महिनापछि यस्तो निर्णय भएको हो । माओवादीलाई गैर कानुनी गतिविधि रोकथाम कानुनअनुसार आतंककारी सूचीमा सूचीकृत गरी प्रतिबन्ध लगाइएको हो । भारतीय कम्युनिष्ट पार्टी माओवादी भारतको प्रमुख माओवादी संगठन हो । भारतका ३४ वटा संगठनलाई आतंकवादी संगठन सूचीमा राखिएको छ । यो निर्णयले हि‌सात्मक गतिविधिमा सकि्रय नभएका माओवादी पार्टीका सदस्यलाई पनि अधिकारीले पक्राउ गर्न सक्छन् । विद्रोहीबिरुद्धको संघर्ष अहिलेसम्म राज्य प्रहरीले मात्रै गर्दै आएको थियो । अहिलेको घोषणाले भारतको पूर्वी मध्य तथा दक्षिणी क्षेत्रमा फैलिदै गएको माओवादी विद्रोहीविरुद्धको संघर्षका लागि सेना बोलाइनसक्ने संकेत दिएको छ । प्रधानमन्त्री मनमोहन सिंहले माओवादीहरुलाई भारत स्वतन्त्रपछिको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती रुपमा ब्याख्या गर्दै आएका छन् ।

भारतमा प्रभाव विस्तार गर्दै आएको माओवादीले कोलकाताबाट १ सय ७० किलोमिटर दक्षिणमा पर्ने लालगढ नगरलाई एक साताअघि मुक्त क्षेत्र घोषणा गरेका थिए । यसै विषयलाई लिएर सुरक्षाकर्मी र लडाकुबीच लालगढ क्षेत्रमा संघर्ष हुँदै आएको छ । माओवादीले लालगढमा सुरक्षाकर्मी कारबाहीको विरोधमा सोमबार र मंगलबार पाँच राज्यमा दुईदिने बन्द आह्वान गरेका छन् ।

Panda said...

स्याङजाकै अर्को घटनाका पिडीतलाई भेटेको थिएं केहि वर्ष पहिले । घरायसी रिसइवीको कारण माओबादीको कमाण्डर भनाउदो ठिटाले आफ्ना बटालियनका अरु "कामरेडहरु" उठाएर लिएर आएर एकजना गाऊंले वृद्धको दुवै खुट्टा कामै नलाग्ने गरी थिलो थिलो पारिदिएका थिए उनको घुंडा भन्दा मुनीको भाग मैले भेट्दासम्म चलेको थिएन ।

त्यसैले माओबादीको क्रान्तिले देश बनाउंछ भन्ने सपना कसैले देख्छ भने मेरो सुझाव छ कामरेडहरु वा कामरेडवादीहरुले फेरी क ख रा पढ्न १ क्लास देखि प्राइमरी स्कुलमा भर्ना हुंदा हुन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !