June 3, 2009

एउटा जीर्णकाय धृतराष्ट्रको मनोलाप

महाराजगञ्ज , राति ११ बजे जेठ २०, २०६६

म नै क्रान्ति र इतिहास दुबै हुँ । को छ म जति देशका लागि लडेको यो देशमा जीवित अब ? राणा, त्रिभूवन, महेन्द्र, वीरेन्द्र , ज्ञानेन्द्र , प्रचण्डेनद्र ( ए यो पछिल्लो त राजा हैन क्यारे !) सबैका बिरूद्द लडियो । हुनत , त्यो लडाईँको व्याज शुद्द असूल गर्ने गरी प्रधानमन्त्री पनि खाइएकै हो । आँफू बिरुद्द टकराउने सबैलाई थान्को पनि लगाइएकै हो । गणेशमान, किसुनजी कसैलाई पो बाँकि राखियो र ? जिन्दगीमा के गरिएन ? हुलाकी भइयो, मजदूर नेतादेखि क्रान्ति नायक सम्म भइयो , जहाज अपहरण गरियो । सान्दाजूले केही गर्न र हुन सक्दैनस् भने पनि वहाँको शेषपछि म के भइन ? कुनै दाजूहरूले हुनै नसकेको सबै भएँ । अब जाने बेलामा केही शान्ति कायम गर्नुपर्छ र मुलुकलाई गणतन्त्रमा लगेर प्रथम राष्ट्रपति हुनुपर्छ भनेर पछिल्लो समयमा के गरिएन ? देख्नै नसकिने उग्रे कम्निष्टसंग दिल्ली धाएर हातेमालो गर्दै राष्ट्रपति बन्ने प्रपञ्चमा लागियो । तर जिन्दगीमा एउटै विस्मात छ , यो प्रचण्डे दाहालले हुन्छ हुन्छ भन्दै थाङ्नामा सुतायो । राजा हटाउने कुरामा ज्यान गए लागिन्नथ्यो, राष्ट्रपति हुने कुरामा वचन नदिया भए । यसरी ‘तपाईँ बाहेक कसलाई बानइन्छ र’ भन्दै लगेर अन्तिम समयमा धोका नदिएका भए , मुलकको राजनैतिक इतिहासका सबै रेकर्ड लिएर मर्न पाइन्थ्यो । तर यो कुरा लेखेको रैनछ, क्यारे ! यो धोकाको पाठ प्रचणडलाई पढाउँला भन्ने सोचेको थिएँ तर नसकेर हैरान भएका बेलामा कहाँको कटुवाल हटाउने भनेर मच्चिएर आँफै थच्चियो मोरो । धन्न , सेनाको मामिलामा भारतले गर्नु गर्‍यो, नत्र मेरो जोडबलले केही हुन सकेको कहाँ थियो र ? मैले त सुजातालाई सक्छेस् भने जा गएर त्यही प्रचण्डसंग मिलेर मन्त्री खा सम्म भन्दियाथेँ । गर्न पनि के के गरी तर कुरा मिलाउन सकिन । मात्र उफ्रिन जानेकि छे, केही कुरामा गरी खाने ढंग कहाँ छ र त्यसको ?

फेरि , मन्त्री नभै हुन्न भनेर मच्चिएकी छ । कसैले मन पराउने पनि हैनन् । साह्रै उत्ताउली कसैलाई मान्छे राख्नै नसक्ने खालकी महाघमण्डी र मैमत्त छ । शुसील , सशांक, शेखर आफ्नै परिवारका कसैले देखिसहन्नन् । सुजातालाई मन्त्री बनाएर पठाउने हो भने पार्टी छोड्छु भनेर धम्क्याउँछ शुशिलले पनि । सशांक र शेखर त बोलेका पनि छैनन् । पार्टीका मान्छेको के कुरा गर्नु , धन्न मुखै फोरेर केही भनेका सम्म छैनन् । शेरबहादुरले केही बोलेको छैन । ऊ भने यही मौकामा आरजूलाई पनि पठाउन सकिन्छ भनेर ताक हेरेर बसेको छ । त्यो सुशिलेलाई अघि अघि कति पटक मन्त्री खा भनेर भनेँ । अहँ , पटक्कै आँट गरेन । कहिले चुनाब हार्यो। । चुनाब हारेर के हुन्छ , आइज भनेर सुर्‍याएँ । अहँ मानेन , पार्टीको काम गर्छु भन्यो । आफ्ना मान्छेको लिष्ट लिएर आउँछ । फलाना फलाना बनाउन पर्छ भनेर, आफ्नो ह्याउ भने छैन । यस्ता लूतेले गर्छन् ? सुजाताले भने सँधै मन्त्री बनाइदे भनेर जिद्दी गरि राख्छे । यसलाई फेरि कसैले पताउने नै हैनन् । एक पटक बिदेश गइछे , ३ लाखको चस्मा र ५ लाखको थैली ( ह्याण्डब्याग ) किनी भनेर सारा पत्रिकाले खेदो खने । घुम्ने र खर्च गर्ने बानी भएकाले त्यो उपेन्द्रे मन्त्री हुँदा घुमेको देखेर मलाई परराष्ट्र् मन्त्रि नै चाहिन्छ भनेर उफ्रेर बस्न खान छैन । जे देख्यो त्यही चाहने ५२ वर्षकि बच्चा जस्ति ! पार्टीले मलाई नै सरकारमा जाने मन्त्रिको सूचि बनाउने जिम्मा दिएको थाहा पाएपछि त झन ढुक्क भैसकी । अब झन गाह्रो । अरू कुराले त हैन आफ्नै केटाहरूको कारणले । त्यो सुशिल, शेखर र शशांकसंग मात्र डर लागिरा’छ । पार्टीले त के नै लछार्ने हो र ? ती हूतिहाराको के खैरियत ?

एउटी छोरी मात्रै त हो मेरो भन्नु । जिन्दगीमा मैले लिन पर्ने कुरा सबै लिएँ । अब बाँच्ने दिन पनि धेरै छैनन् मेरो शेष पछि यसलाई कसले पत्याएर माया गर्लान र मन्त्री बन्न देलान् ? आफ्नै भाइखलकले त देखिसहन्नन् । मेरो शेष हुँदा नै यसको जिद्दी धोको पूरा गर्न सकिन भने , मेरो आत्मालाई यसले शान्ति प्राप्त हुन पनि दिन्न होला । महा घमण्डी छ , जे पनि गर्न सक्छे । मेरो लागि पो के मोह बाँकि छ र अब ? अब मैले पाउने केही छैन । कांग्रेस, भविष्य , पद्दति सबै कुरा आफ्नो शेषपछि जस्तो भएपनि के फरक पर्छ र ? आफ्नो सन्ततिले नै सम्झिन चाहिन भने , यत्रो व्यक्तिगत इतिहासको के अर्थ रहन्छ ? मुलुकको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको नेताको एउटा सन्तानको चेहरामा खुशी नपोती मर्न पर्‍यो भने के अर्थ रह्यो यो सबै कुराको ? जता गए नि जाओस् पार्टी र यसका नेताहरू जे गरे पनि गरून् । आखिर गणेशमानजीले प्रकाशमानलाई , महेन्द्रनारायणजीले बिमलेन्द्रलाई आफ्नो उत्तराधिकारीको रूपमा अघि बढाएकै हुन् । अरू पार्टीमा झन लोग्ने स्वास्नी छोराछोरीको लहरै सरकारको मन्त्री र संविधानसभामा छाएका छन् । बाबुरामाका बूढाबुढी नै थिए । ऊ, झलनाथले पनि साढू भाइ सुरेन्द्रलाई पठाएछन् अर्थ मन्त्री बनाउन । मलाई मात्र परिवार च्याप्यो भन्ने ? मैले त झन त्याग गरेको छु । अहिले चाहेको भए प्रधानमन्त्रि फेरि खान पा'थेँ । सूदले तपाईँ नै बन्नुस् भन्दा , म यो लफडामा पर्न चाहन्न बरू माधवजीलाई बनाइदिउँ ,दुइटा कम्युनिष्ट लडाएर हेर्न मज्जा हुन्छ भन्ने सल्लाह दिएर पठाएँ । हुनपनि अहिले काम गर्न साह्रै गाह्रो छ । सुजाता पनि मान्छे बाठी छ , परराष्ट्र मात्र खान्छु भनेकि छ । यसो गर्दा सरकारको असफलताको जसको भारी पनि बोक्न नपर्ने बिदेश चहार्न र र रहर पूरा गर्न पाइने , ठिकै छ । जसले जे सोचे पनि सोचून् , जो रिसाए पनि रिसाऊन् वा खुसाउन् केही मत्लब छैन ।

भन्दिन्छु त्यो सुशिलेलाई धेरै आह्रिस नगर बहिनीको भनेर । मेरो शेषपछि पनि तैँले उसैलाई माया गर्ने गर्नू , बेलामा साथ दिन्छे, ती शेखर र शशांकले भन्दा बढी सुशिलदालाई मान्छु भनेकी छ भनेर भन्दिन्छु । रहर गरेकी छ त खान देओन अरूको पनि पालो आउला नि भनेर सम्झाउन पर्ला । यस्तो यदुवंशी चालाले कसैको भलो हुन्न , अहिले रिस नगर उसको धोको पूरा हुन देओ भनेसि मान्लान कि ! शेखर र शशांक दुईजना डाक्टर हुन, जे गरेर पनि खान सक्छन् अनि पार्टीमा पनि तिनलाई विश्वास गर्नेहरूको ठूलो लबी छ । खुबी भएर पार्टी सखापै भएका बेलामा पनि चुनाब जितेर आउने सकेका पनि हुन् । केटाहरू विद्वान छन् , अरूले पत्याउँछन् अनि मैले माया नगरे पनि आफ्नो ठाउँ आँफै बनाउन सक्लान् तिन्ले तर मेरो जीवनमा नै मैले मेरी जिद्दी छोरीलाई उसले मागेको दिन सकिन भने , म मात्र एउटी छोरीको पिता भएको के औचित्य ? हुनपनि मैले कांग्रेसको नेता हुनुको काम पूरा गरिसकेँ धेरै पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष बनेर अब मैले सुजाताको बाबु हुनुको कर्तव्य मात्र पूरा गर्नु छ । अब मैले निर्णय गरेँ । मैले बोलिपछि बोलेँ । नेपाली कांग्रेस माधवजीको नेतृत्वको सरकारमा जानेछ । अरूले बिरोध गरे पनि सुजाताको नेतृत्वमा जानेछ र ऊ एक्लै भएपनि जानेछ । बरू भन्दिन्छु,कसैलाई उप प्रधानमन्त्रि दिनु पर्दैन , सुजातालाई बिदेशमन्त्रि दिए हुन्छ । मान्छे कचकचे स्वाभावकी छ , समस्या पैदा गर्ली बरू उपेन्द्र यादवकै जस्तो बाहिरतिर घुमिरहने मेसो मिलाइदिए झण्झट मुक्त होइन्छ भनेर माधवजीलाई सल्लाह दिन पर्‍यो । ( यति सोचेर, यी जीर्णकाय धृतराष्ट्र माधव नेपाललाई फोन गर्न फोनतिर हात बढाउँछन् ) ।



5 Comments:

पुष्प said...

ओहो ! दौंतरीले अचम्मै गरेछ ।

samyak said...

मनोवाद र मनोलाप दुवै उत्कृष्ट छन् । तर सुजाता बाहेक अरू कांग्रेसी मन्त्रीको नामावाली छ्या भन्ने खालको लागेन ।

बिप्लब said...

पुष्पलाइ के अचम्म लाग्यो त्यस्तो?

प्रबिण थापा said...

एकलब्य जि धन्यवाद!यो कमरेडको मनोबाद र एउटा जीर्णकाय धृतराष्ट्रको मनोलाप दुबै उत्कृठ लागे मलाई त ।

ठरकि दादा said...

कामरेडको मनोवाद जस्तै यी जीर्णकाय धृतराष्ट्रको मनोलाप पनि चित्त बुझ्ने छ ।

यहाँ दूर्योधन पुरुषको सट्टा महिला भएको मात्रै हो, बाँकि कुरामा यीनको यो छोरीको रुपमा सत्तारोहण गर्ने मोह अन्धा धृतराष्ट्रको सोच भन्दा अझै घृणीत छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !