January 9, 2009

राजनीति, पशुपती र जात्रा

गोकुल ढकाल, बोस्टन
जनवरी ०६, २००९

सतिले सरापेको देशमा आज कती संकट छ, भाँचिएका तारबारहरु, भत्किएका पुलहरु अनी टुटे-फुटेका टावरहरु जोडीने कुरो त कहाँ हो कहाँ झनै अनेक समुहको नाममा फेरी तोडिने क्रमहरु जारी छ भन्ने कुरो त सर्बबिदितै छ । हाम्रा बा-आमाका कुटो कोदालोहरु फेरिएनन् । राजनीति गर्नेका घरहरुमा नोकर चाकर फेरिए । हाम्रा भाई भतिजाहरु तिनिहरुका ताली पड्काउने कार्यकर्ता भए । ति राजनीति गर्नेहरुका बन्दुक खेलाउने खेताला भए । मेजर साहेबका घर बनाउने ज्यामी भए । अनी आज तिनैका नोकर चाकर भएर गुजारा चलाई रहेका छन, हाम्रा भाई भतिजाहरु । चेलिबेटिहरु ति राजनीति गर्नेहरुका गुप्तचर थिए, नेताहरुलाई क्रान्तिमा सघाए र आज मुम्बईको कोठी उपहार पाए । नेताका आफन्तहरु पजेरो चढे, मन्त्राणी भए, सभासद् भएका छन । महँगो स्कुलको बिद्यार्थी र ठुलो प्रोजेक्टको निर्देशक भएका छन । तिनका आफन्तहरुले नै जता ततै नियुक्ती पाए तर मेरा बा आमा ले के पाए ? एक सय पचास लिटर मुल्यको मटितेल, छुन नसकिने अनी सडेको चामल, सोह्र घण्टा लोड्सेडिङ अनी सधैं चक्काजामहरु ।

कती कुरा गर्ने बिसमताका ? नभएका बिकासका, भत्किएका तिनै पुलहरुका । अब त मनै भाच्चिएको छ, कुनै सरकारको योजनाले पनि नजोडीने गरी भचिएको छ नेपाली जनताको मन । ००७ सालमा एक हजार सहिद भएका थिए होलान, ०१७ सालमा त्यसको दोब्बर मरे होलान । ०४६ सालमा कती मरे सबैलाई थाहा छ, त्यसपछी मरे लगभग १५ हजार । "नया" सरकार आएपछी मरिसके रे अन्दाजी २५० निर्दोश । अझै अपहरण गरी घाटि रेटिएका सात बर्षका सुमनहरुका लेखा जोखा त कता हो कता ! मोबाईल सेटको पैसाको निहुमा छप्किएका १९ बर्शे भाईहरुको कथा र चन्दा नदिएको निहुमा अनेक समुहको नाममा तातो गोली खाने र गिडिनेहरुको कथा यहाँ उल्लेख गरेर के साध्य लाग्ला र ? शान्ती, बिकास र सु-ब्यबस्थाको प्राप्तिको लागि जो गिडिए पनि आज देशले केही पाएन । भोलीको त कुरै छाडीदिउ । जलस्रोतको सबैभन्दा धनी देशमा बिजुली कुनै चराको नाम भएको छ । सगरमाथा मात्रै पग्लिएर बगेको पानीले सारा नेपाली पुग्छ, तर पिउने पानी कन्दमुल भएको छ । बुद्ध जन्मेको देश, इराक, सुडान र हैटी भन्दा अली शान्त भनेर चिनिएको छ । १० हजार गोर्खालिले १ लाख सेनालाई खुकुरी भरमा युद्ध जितेको कथा नेपालीले होइन, बेलायतिले जितेको ईतिहास भएको छ । खै कता गयो ? हाम्रो स्वाभिमान, बिरता अनी ईतिहास ? सतिले होइन हामीलाई शहिदले पनि धिक्कार्ने छ ।

बुद्ध त भारतमा जन्मिएको हो भन्ने भैसके हाम्रा नेताहरु !!! तिनिहरुले महाकाली नबेचेको भए पुग्दैनथ्यो बिजुली ? तिनका छोराहरुको हातमा हिजो बन्दुक र आज ल्यापटप । हिजो पोखरामा जहाज उडाउनेहरु आउने बर्ष बाबुआमालाई खेतमा हलो जोत्दै गरेको बिलौना पढ्न पाइने छ । लाग्छ, बिमान बनाउने ति हरुमा अहिले बल्पेन पनि छ कि छैन । अनी हेर्दा हेर्दै पशुपती मन्दिर जलेको देखिरहेछ, यो आँखा । धिक्कार होस् । गर्न त के नै सकिन्छ र तिनै जलेका नाङे पशुपती बाबाको नाम लिनु बाहेक ? हिजो हामी नैबेद्ध लिएर जान्थ्यौ भने आज खुकुरी र भला लिएर पूजारी काट्न गएका छन भाईहरु । जनताको भेटी खाएर मोटाएको पूजारीलाई कस्ले छुन सक्छ ? खुकुरी खाने त तिनै ढकाल, राइ, घिमिरे, श्रेष्ठ अनी भण्डारीहरु न हुन । हिजो अरब र खरब पारी आ-आफ्नो महल ठडाउने "राजनैतीक पूजारी" हरु भकाभक चोख्खिएका छन, तिनिहरु प्रती तेर्सिनु पर्ने हात पशुपती तिर लागेको छ, खोइ किन हो ! अब छिट्टै स्वयम्भु तिर कसैले आगो झोसेको देखिने छ, सुनिने छ । राम्रो कुरो केही बाँकी हुनेछैनन अब हाम्रो नेपालमा । भारतको सल्लाहमा शासन, चाइनाको सल्लाहमा रासन अनी अमेरिकाको सल्लाहमा नेपाल बेचिएको कथा पढ्न पाइनेछ । दुई चार अक्षर पढेका हामीले त्यसभन्दा बढी अरु के आश गर्नु ? अब छिट्टै पशुपतिमा अर्को माघे जात्रा लाग्ला, अनी बिकेन्द्रिकरण भने जस्तै त्यो जात्रा स्वयम्भु, गोरखकाली अनी शोभाभगवती हुँदै मुक्तिनाथ तिर लाग्ने छन । जात्रा हेर्न आउने भारती, चाइनिज र अमेरिकन भक्तालुहरुले जात्रामा नाङ्लो र डोको किनेसरी हामीलाई किन्ने छन । सुपथ मुल्यको लागि बार्गेनिङ गर्दै जात्राको मालिकसँग नेपालको भाई घटीघटाऊ हुनेछ र अन्तमा दुबैको सहमती पस्चात नेपाल बेचिने छ अनी हामी सारा नेपालीको सपना साकार हुने छ । पशुपतिले हामीलाई कल्याण गर्ने कुरो त छदैछ । अस्तु



5 Comments:

Luna said...

गोकुल जि !
तितो यथार्त लेख्नु भो ।
" हाम्रा बा - आमाका कुटो कोदालोहरु फेरिएनन । राजनीति गर्ने का घर हरुमा नोकर चाकर फेरिए ----"
हिर्दय छोयो लेख ले । निरन्तर लेखिरहनु होस् सम साम यिक तिक्तता लाई उदाङो पर्दै शुभ कामना ।

Prabin Thapa said...

गोकुल जी,
तपाईंका शब्द शब्दले हिर्दय छोयो, आफु नेपाली भएकोले एकपटक नराम्रोसँग मन दुखेर आयो अनी यो वास्तविकता सँग डर पनि लाग्यो। समसामायिक यथार्थलाई प्रस्तुत गर्नु भएकोले साह्रै खुशी लाग्यो। निरन्तरता को शुभकामना ।

गोकुल बिबश said...

लुनाजी, प्रबिणजी, मुरी मुरी धन्यवाद सुझाब्को लागि । तपाईंहरुको प्रेरणाले फेरी केही अबश्य लेखुला । तर मलाई यहाँ एउटा कुरो कोट्टाउन मन लाग्यो । कुरो के भने ; माथिको लेख मैले १० दिन अगाडि यसो कोरेको थिए अनी लएको थियो आफ्नै ब्लगमा मात्रै राखु । तर यसो सोचे होइन दौतरिमा पठाउछु । तर किन हो किन मैले माइ संसारमा पथाएको थिए, ८ दिन अगाडि । एउटा सफल ब्यापारिले किराना पसलेलाई हेपे जसरी भनुम या किन हो सफल ब्लगर उमेशजिले ठाउँ दिनु भएन । शायद अनुपयुक्त लाग्यो होला - उहालाई । खैर केही छैन । भनिन्छ नि, जब मान्छेले मान्छेलाई नै स्थान दिदैनन नि तब मान्छेले मान्छे हुने स्थान खोज्छ । फलस्वरुप, कम्प्युटरमा पोख्त नभए'नी आज आँफैले ब्लगको बाटो रोजेको छु, हेर्दै जाउ पछी के हुनेछ।
त्यसपछी मैले बल्ल दौतरिमा पठाएँ । स्थान दिनुभएकोमा दौतरी प्रती आभारी छु ।

Panda said...

गोकुलजी, "जब मान्छेले मान्छेलाई नै स्थान दिदैन नि तब शायद मान्छेले मान्छे हुने स्थान खोज्छ" भने जस्तै त्यसैले होला हामी पनि "मान्छे" बन्न परदेशिएका छौं !

वास्तवमा नि हाम्रो देशको राजनीतिबाट "नीति" बढारिनुमा भाषण भट्टयाउन सक्नेलाई "नेता" मान्ने र जसले भट्टयाउन सक्छ उसैलाइ भोट दिने परिपाटि पनि कम जिम्मेवार छैन । अलिकति विकास हुन लागेका र भइसकेका मुलुकतिर "बोल्ने" लाई भन्दा "गर्ने" लाई विश्वास गरिन्छ । हाम्रो तिर भाषण गर्न जानेन भने नेता भइदैन, काम गर्ने मान्छेले नेतृत्व गर्न पाउने हैन बरु "कमारो" भएर बस्नु पर्छ । अरु देशमा केहि कुरा नया गर्न सक्ने मान्छे र आविश्कार गर्न सक्ने मान्छे अगाडि बढे, हाम्रो देशमा बर्बराउन जान्ने वा बोल्न जान्ने मात्र अगाडी बढे । हाम्रा गाउं छिमेकका, घरका मान्छेलाई "बर्बराउने" हरुको छाया बाट र "भ्रम" बाट मुक्त राख्न सके मात्रै पनि हाम्रो देश केहि बन्थ्यो कि !

त्यसैले गिरिजा देखि कामरेड क्रमभंगसम्म सबैले केहि फरक अनुभुति दिन सकेनन ।

Luna said...

" जब मान्छेले मान्छेलाई नै स्थान दिदैन नि तब मान्छेले मान्छे हुने स्थान खोज्छ ---" गोकुल जि ! तपाईंको यो हिर्दय दु खाइ मा इख छ । भन्छन नि " सर्प मा बिख र मान्छेमा इख " नभए त्यसको औचित्य हुँदैन रे !
प्रगती गर्नुहोस् शुभ कामना ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !