December 21, 2008

पूर्वराजा ज्ञानेन्द्र र हामी

शेखर ढुंगेल
क्यालिफोर्निया

नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा निर्णय गरी फुर्सदमा पछुताउने अनि जता पात हल्लियो त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।

यो पंक्तिकार यस्तै प्रवृत्तिको शिकार भई १२ वर्ष अगाडि निक्कै लज्जित अनुभव गर्न पुगेको थियो । भएको के थियो भने १९९५-९६ तिर जापानको टोकियोमा एकजना नेपाली व्दारा जापानी नागरिकको बिभत्स हत्या भनी पत्रपत्रिका टीभीमा समाचार प्रचारमा आएको थियो । गैह्रकानुनी रुपमा बसेका नेपालीहरुको बीचमा एक स्वरले अभियुक्तको बिरोधमा कुरा काट्दै थिए अपराधीले नेपालीको बदनाम गरायो । उसलाई खोज्ने क्रममा सबै नेपालीले दुःख पाउने भए आदि आदि । यसै आशयको कुरो मैले जापानिज मित्र सामु राखें उनले भने- तिमीहरु त्यसो नभन घटना घट्यो पत्रिकाले लेख्यो त्यो असत्य पनि त हुनसक्छ । प्रहरीको अनुसन्धान र अदालतको निर्णय नआउन्जेल कुनै धारणा बनाउनु बुध्दिमानी हुन्न ।

यही प्रसङ्गमा पूर्व राजा श्री ५ ज्ञानेन्द्रले शान्तिपूर्वक बहिर्गमन रोजेपछि उनकै आफन्त, उनका भजन मण्डली बनी सडकबाट करोडपति बनेकाहरु नै पूर्वराजालाई लान्छना आरोपका विषबमन गर्न थालेका छन् । उनी शक्तिमा हुँदा हुण्डी खाने, भजन गाउने दर्शन पाउन चप्पल छाडेर दौडने, उनको नाम बेचेर ठगी खानेहरु आज उनलाई बदनाम गर्न अग्रपंक्तिमा देखिएका छन् । असफलताको दोष एक्लो पूर्वराजा ज्ञानेन्द्रको काँधमा थोपर्ने दुस्साहस तिनै व्यक्तिहरु गरिरहेका छन् । जुन कटु यथार्थ पचाउन गाह्रो विषय बनेको छ ।
पूर्वराजाको असफलता सँगसँगै उनको नाममा लुटेर खानेहरु कोही विदेश भागे त कोही पानीमाथि ओभानो बन्न उनकै गल्ती देख्न थालेका छन् । १९ हजार निर्दोष नागरिकको हत्याका योजनाकारलाई आफ्ना भाग्यबिधाता देख्न थालेका छन् । स्वार्थी मानसिकताका यस्ता व्यक्तिहरु आफुलाई समय चिन्नसक्ने र आफ्ना पूर्व अन्नदाता राजालाई समय चिन्न नसक्ने भनी आरोप लगाउन हिच्किचाउँदैनन् ।

यस्तै बतासे लांछनाको भारी बोकी बसेका पूर्वराजा ज्ञानेन्द्रको कदमको पृष्ठभूमितर्फ फर्केर हेरौं । सानाठूला, गरीव-धनी कसैको ज्यानको सुरक्षा थिएन । सरकार शान्तिसुरक्षा दिन असफल थियो । सरकार चारैतिरबाट असफलताको चक्रव्यूहमा फसेको थियो । जताततै आतंकको साम्राज्य फैलिएको थियो । त्यति नै बेला सरकार प्रमुख तत्कालीन प्रम शेरवहादुर देउवालाई हटाउने सिफारिस गर्न पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार जानु भयो । वहाँकै सल्लाहमा पूर्व राजा ज्ञानेन्द्रबाट देउवालाई हटाउने काम भएको हो । तत्कालीन संविधानतः संसद सदस्यहरुको बैधानिकता समाप्त भैसकेको थियो । त्यसैले दलहरुको समर्थन लिई सरकारको नेतृत्व गर्न आव्हान गर्दा दलहरुले सरकार प्रमुखको नाम सिफारिस गर्न नसकी दुईहप्तासम्म देश सरकारबिहीन हुनपुग्यो । यो दलहरुकै जिम्मेवारी थियो । अन्तमाः बाध्य भएर कदम चाल्नुको बिकल्प थिएन । पूर्व प्रम चन्दको राजनीमापछि परिस्थिति संकटपूर्ण बन्यो ।

प्रतिगामी नन्दीभृङ्गीहरुको चंगूलमा परी पूर्व राजा ज्ञानेन्द्र कस्सिए । तत्कालीन अवस्थाको मुख्य शत्रु राजाबाहेक अरुसित कुरा नगर्ने भन्ने माओवादीको रणनीतिले पनि उनलाई उक्सायो । साँच्चिकै वार्तामा आई समस्या समाधानमा साथ देलान् माओवादीले देशको शान्तिसुरक्षा जनताको सुखदुःखमा साथ दिई जस पाउने उनको लालच अनि विश्वासमा तुषारापात भयो- जसरी कोइराला गलत पात्रहरुका कारण असफल भए त्यसै गरी पूर्व राजा श्री ५ ज्ञानेन्द्र पनि असफल भएका हुन् ।

तर पूर्व राजा ज्ञानेन्द्रलई जे जति आरोप-लांछनाको भारी बोकाए पनि वास्तवमा त्यो सबै मिथ्या रहेछ भन्ने साबित गरेर देखाई दियो समयले । मानिसहरु भन्दथे यी साह्रै घमण्डी छन् जिद्दी छन् यिनले सजिलै सत्ता किन छाड्लान् माओवादीले सत्ता पाउन जनयुध्द र रक्तपात मच्चाउनु पर्‍यो। गिरिजाले सत्ता टिकाउन रुकुम रोल्पाका सैयौं घरभित्र सैयौं निर्दोष नागरिकलाई जिउँदै जलाए तर तत्कालीन सेनाका परमाधिपति भएका राजाले १९ दिने जनआन्दोलनकै भरमा सत्ता छाडिदिए सुम्पिदिए । के प्रचण्ड र गिरिजाले त्यसरी त्याग गर्न सके ?।

पूर्व राजाले आफैव्दारा पुर्नस्थापित गरिएको संसदले जबर्जस्ती गणतन्त्रमा जाने भनी गरेको निर्णयमा एक शव्द बोलेनन् । आफुप्रति भइरहेको एकतर्फी अन्यायलाई चुपचाप सहेर बसे । कतै कुनै गुनासो गरेनन् । नेपालीहरुको एकता शान्ति र स्थायित्वको कामना गरिरहेका छन् अद्यापि । जनताको आदेश शिरोपर गर्दै मर्नै परे पनि नेपाली भएरै यही भूमिमा मर्ने प्रण गरेर एक सच्चा देशभक्त इमान्दार नागरिकको स्थान लिन सफल भएका छन् पूर्वराजा । समयलाई चिन्ने उनी बाहेक अर्को व्यक्ति को देखियो आज।

संविधानसभा निर्वाचन अगाडि नै टिके सांसदहरुले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने असंवैधानिक निर्णय गरिसकेको थियो । तर पनि पूर्वराजा ज्ञानेन्द्रले कुनै त्यस्तो हरकत गरेनन् जसले संविधानसभा निर्वाचन बिथोलियोस् । उल्टो उनले सबैको धारणा बिपरित यस्तो महान प्रजातान्त्रिक अभ्यासमा शान्तिपूर्वक सहभागी बनी संविधानसभाको निर्वाचन सफल पार्न जनतालाई आह्वान गरे ।

नेपालका अरु नेताहरुले नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रले बुझेको एउटै सत्य के देखियो भने हाम्रो देशको राजनीति नेपालीको हातमा रहेन उनको सबैभन्दा ठूलो चिन्ता नै सार्वभौम नेपालको अधिकार अस्तित्वमाथि कसैले धावा बोल्न नपाओस् नेपालको स्वतन्त्र बर्चस्व समाप्त नहोस् नेपाली बिभक्त नहुन् राष्ट्रिय एकता र अस्मिताको रक्षा होस् भन्ने देखिन्छ । बास्तवमा यी कुराको परिपूर्ति बिना न त हाम्रो देश रहन्छ न त प्रजातन्त्र नै ।

इमान्दारिताका साथ भन्ने हो भने हज्जारौं गलत नियतका नन्दीभृङ्गीहरुका उक्साहट बिलौना यातनाकाबीचबाट सरक्क माथि उठी जसरी पूर्वराजाबाट दरवार त्यागेर जंगलतिर उकालो लाग्ने काम भयो उनलाई आधुनिक बुध्द भन्दा फरक पर्दैन । जसरी तत्कालीन राजकुमार शिध्दार्थ शाक्य विश्व मानवजातिको शान्तिको खोजीमा राजकाज त्यागी तपस्यामा लीन भएका थिए त्यसैगरी जनतामा अशान्ति अराजकता अस्थिरताको बीउ म भन्ने भ्रम नपरोस् मेरो बिना देशमा सुखशान्ति छाउँछ भने म बाधक बन्दिन भनी हाँसी हाँसी कुनै गुनासो नपोखी दरवार त्याग्ने पूर्व राजा ज्ञानेन्द्रलाई नेपालको आधुनिक बुध्द भन्दा फरक पर्दैन । तर पूर्वाग्रहीहरुमा यति उदारता कहाँ पाउनु।

बास्तवमा उनले समय नचिनेको बुध्दि नपुर् याएको भए जे पनि हुनसक्थ्यो । शैनिक विद्रोह रक्तपात शैनिक शासन माओवादी जनगणतन्त्र वा विदेशी हस्तक्षेप जे पनि । तर पूर्वराजाकै बुध्दिमत्तापूर्ण सुझबुझमा नेपाली जनताले आज प्रजातान्त्रिक अभ्यासको अभिलाषा पुरा गर्ने मौका पाएका छन् । नेपालको २४० वर्षे इतिहास एवं नेपाली संस्कृतिको एउटा पाटो बनिसकेको राजसंस्था यति सजिलै र शान्तिपूर्वक हट्ने कसैले सोचेका थिएनन् । पूर्व राजाले एक्लै गरेको यो बुध्दिमानी कामले नेपाली जनतामात्रै होइन नेपाल र नेपालीको भलो चाहने सबै राजाप्रति कृतज्ञ भएका छन् । समय र जनमतको कदर गर्ने नेपाली राजाहरुको परम्परामा यो अर्को कडी परिनिर्माण थियो पूर्वराजाको शान्तिपूर्ण तरिकाले राजकाज परित्याग ।

आफु अमुक राजावादी भनाउनेहरु कथित बरिष्ठ पत्रकारहरु पूर्व राजाले हाम्रो सल्लाह बुझें बुझें मात्र भने तर सुनेनन् भनी राजालाई धारेहात लगाई हिडेको सन्दर्भमा पूर्व राजाले धेरै अगाडिको सम्भाव्य परिस्थिति बुझिसकेका रहेछन् भन्ने कुरो हाल आएर प्रमाणित भएको छ । सबैको एउटै भनाई थियो : राजा प्रजातान्त्रिक शक्ति अर्थात् तत्कालीन दलसित मिलेर जानुपथ्र्यो । तर पूर्व राजालाई थाहा थियो: दलहरु कै कारण प्रजातन्त्र राष्ट्रियता र राजसंस्था दाउमा गइसकेको थियो । उनीहरुबाट हत्यािहंसाको अन्त गराई शान्तिसुव्यवस्था कायम हुनसक्ने थिएन । आफ्नो नामको जुवा अरुलाई खेल्न दिनुभन्दा स्वयम् किन नखेल्ने हार्नु जित्नु त आज या भोली पक्कै छ उनलाई स्पष्ट थियो कि दलहरुले उनको रक्षा गर्न सक्दैनन् । उनीहरुको मार्फत राजसंस्था सिकंदा धेरै ढिला र अपि्रय स्थिति आउनेमा शंका थिएन ।

गद्दीहीन बनी शान्तिपूर्वक अध्ययनमा तल्लीन पूर्व राजाले देश र जनताको हित बाहेक केही सोचेका रहेनछन् । उनलाई लगाइएको महत्वकांक्षी भन्ने आरोप पनि मिथ्या साबित भएको छ आज । पूर्व अधिराजकुमार हुँदा कम बोल्ने र कमै जनसम्पर्कमा हुँदा बुध्दिमानी छन् रे भन्ने सुनिन्थ्यो । दरवार काण्डपछि असहज परिस्थितिमा राजा बन्न पुगेका पूर्व राजा ज्ञानेन्द्र लांछना र आरोपका थुप्रै पीडादायी भारी बोक्न बिबश भए । उनीमा साँच्चिकै त्यस्तो महत्वाकांक्षा र गलत नियत थियो भने बोकीसकेको त्यत्रो राजकाजको भारी सजिलै बिसाएर किन हिंड्थै सहजै अनुमान गर्नसकिन्छ कि पीडित पूर्व राजाले जीवनमा ठूलै उतारचढावको अनुभवबाट खारिएरै होला अन्तिम समयमा जुन साहसिक स्वयम् धैर्यतापूर्वक निर्णय गरी एक्लै अगाडि बढी दल र जनताको लागि राजनीतिक मार्ग खुला गरिदिए त्यसको लागि पूर्व राजा ज्ञानेन्द्रको हामी नेपालीले प्रशंसा एवम् आभार व्यक्त गर्न कन्जुस्याईं गर्नु हुन्न । संभवतः विवेक र उदारता भनेको यही हुनेछ ।



4 Comments:

lokendra chand said...

shekhar ji,

I like very much your article, very nice..thanks

ठरकी दादा said...

राजसंस्थाले पनि नेपालको लागी केहि गरेको त होईन तर अहिलेको स्थिति हेर्ने हो भने यी गफाडी र हुत्तीहारा नेता भन्दा ज्ञानेन्द्र धेरै उदार र सहज व्यक्ति रहेछन भन्ने चाहि मलाइ पनि लागेको छ।

Luna said...

"आत्मा लि लामी भो "
-------------
आत्मा लीलामी भो --
नखोज --
मन कहाँ छ --
शब्द गुलामी भो --
नखोज
छाती कहाँ छ --
आत्मै देखी खुलेर
कोही बोल्न सक्तैन --
छातीमा हात राखी
कोही भन्न् सक्तैन --
समय को बाधले
न बगाए सम्म --
यो बाध छेकिदैन --
°

Panda said...

शेखरजी, फलानो भन्दा त फलानो राम्रो थियो नि भनेर भन्नु पर्ने स्थिति आउनु भनेको राजनितिक बिडम्वना हो, पक्कै पनि यसका लागि हवलदार देखि बैदार अनि क्रमभंगीहरु सबैको दोष छ ।

तर अझै पनि देशको बारेमा कुरा गर्दा स्पष्टसंग कुनै कुरा पनि ठोकुवा गर्न डर लाग्छ । को भन्दा को ठिक भन्ने भन्दा पनि देशमा को भन्दा को कम भन्ने परिपाटी बसिसकेको छ त्यति चाहि भन्न सकिन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !