December 17, 2008

सहमति !

शिव प्रकाश

सहमति !
सहमतिका लागि
सहमतिबाट सहमति शुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।
सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो !
सहमति !
सरकार बनाउन चाहिन्छ
सरकार चलाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।
सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
वेश्या-वेश्याबीच हुन्छ
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।
सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।
चलेको छ -
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पूर्ण सहमतिमा !

(हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका)




3 Comments:

Anonymous said...

स बाट सत्यम
स बाट सुन्दरम
स बाट शिवम
तपाईंको कबिता सत्यम शिवम सुन्दरम ।

Anonymous said...

स बाट सत्यम
स बाट शिवम
स बाट सुन्दरम
तपाईंको कबिता सत्यम शिवम सुन्दरम ।

Shiva Prakash said...

ल माने ललना
ल माने लक्षणा
ल माने लुना
र,
ध माने धन्‍यवाद

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !