November 9, 2008

नया नेपालका केहि परिदृश्य

केहि दिन अगाडि अचानक नेपाल फिर्ने तालमेल मिल्यो र छोटो समयकोलागी 'नया' बनेको नेपाल हेर्न र भोग्न पाईयो ।

पत्र-पत्रिकामा नया नेपाल र नेपाललाई नया बनाउनेको निक्कै चर्चा-परिचर्चा हेर्ने र पढने मौका पाए पनि नया नेपालको प्रतक्ष अनुभूति भने यस पटक मात्रै भएको हो । आज त्यहि नया नेपालको केहि परिदृश्यहरु बाँढने जमर्को गर्दे छु ।

दृश्य नं १

मेरो जहाज काठमाण्डौको हवाई मैदानमा उत्रीयो र म निक्कै जोस उत्साहका साथ बाहिर निक्लने उपक्रम गर्न थाल्दै थिएं । जहाजबाट उत्रेर मानिसहरु पासपोर्टमा छाप लगाउने ठाउँमा पुग्दा समेत अध्यागमनका कर्मचारीहरु त्यहा पुगी सकेका थिएनन् । जसो तसो एक छिन कुरेर त्यहाको मेसो सक्काएर अगाडी बढें ।

आफ्नो सामानहरु जम्मा गरीसकेपछि चारैतिर हेरें, तर त्यहा न कतै खालि ट्रली देखिन्थे,  न त सोधपूछ गर्ने कुनै मानिस ! । पछि बिस्तारै अगी बढदै जाँदा थाहा भयो कसैलाई आफ्नो सामान राख्न ट्रली चाहिने भए ऊ आफै त्यहाबाट बाहिर निस्केर बहिरबाट खोजेर ट्रली घिसारेर ल्याउनु पर्ने रहेछ ।

स्मरण रहोस यसरि यात्री 'ट्रली खोज्न' बाहिर निस्कदाँ उस्ले बिमानस्थलको भन्सार, सुरक्षा जाँच सबै पार गरेर निस्कनु पर्छ । तर त्यहा न कसैले तपाई बाहिर निस्कदा के के लिएर निस्केको छ हेर्छ, न कसैले पछि फेरि भित्र छिर्दा कुनै सबाल जबाफ वा जाँच बुझ नै गर्छ ।

आफ्नो सामान राख्न ट्रली खोज्न निस्केर बाहिर ट्रलि खोज्दा मेरो मनमा कुनै समयमा चार्ल्स सोभराजले भनेको कुरा याद आयो :"नेपालको भन्सारबाट सियो त के भैसीं पनि सजिलै छिराउन सकिन्छ रे!"

दृश्य नं २

कामको सिलसिलामा राजधानिको सडकमा हिंडदै थिएं, सडकमा सुरक्षाकर्मिहरुको प्रचुर उपस्थिति देखें, अघिल्लो १-२ दिन त यस्तो देखिएको थिएन … मैले यसो सडकतिर नजर दौडाएं । बाटोमा गाडिहरु पनि देखीएनन् । कतै आज नेपाल बन्द त होईन … मलाई थाहा भएन कि के हो … बाटो हिडंदा हिडंदै कतै गएर फसिने त होईन भन्ने डर लागेर मैले सडक छेउका एकजना सुरक्षा कर्मिलाई सोधें "हैन बाटो किन खालि छ आज?" " ए! सबारी छ नि त आज" सुरक्षा कर्मचारिको जबाफले म झसंग भए। "राजतन्त्र अन्त भएको यत्ति समय सम्म पनि के को सबारि र!" मैले नबुझेर सोधें "कहा ज्ञानेन्द्रको हुनु नि, प्रधान मन्त्रिको सबारि हुदैंछ" । यसपाला भने मेरो ज्ञान खुल्यो, गणतन्त्रमा पनि सर्वहाराका नेताको स्थान भने रैतिको भन्दा निक्कै माथि हुने रहेछ ।

दृश्य नं ३

लक्ष्मी पूजाको दिन, धेरै पछि घरमा झिलिमिलि गरेर तिहार मनाउने सौभाग्य प्राप्त भएको थियो। अचानक झ्याप्प बत्ती गयो, अन्धकारमय तिहारमा मैन बत्ती र चार्ज गर्न पनि समय नमिल्ने (हरेक दिन २-३ पटक बत्ती निभ्ने हुँदा ईमरजेन्सि लाईट र मोबाईल फोन चार्ज गर्न पनि समयको निक्कै हिसाब किताब गरेर गर्नु पर्ने रहेछ) 'ईमर्जेन्सी लाईट' बालेर हामि तिहार मनाउने तरखर गर्न थाल्यौं ।

अन्धकारमय तिहार भए पनि साथि-भाईलाई शुभकामना दिनु पर्‍यो भने र म एक-दुई जना साथिलाई फोन गर्न थालें । प्राय सबै जना लोडसेडिङले दिक्क भएको कुरा सुनाउँदै थिए । तर एकजना साथिकहा फोन गरेपछि फेरि मलाई नया नेपालको आर्को प्रमाण मिल्यो ।

"मेरो मा त अन्धकार छ, तर दिपावलीको शुभकामना है" मैले भने, "हा हा, आजकल भने हामिकहा आनन्द छ … राति बत्ति जाँदैन" उताबाट साथीको आबाज आयो। "हैन सीगैं नेपाल अन्धकार हुन्छ तिमिकहाँ मात्रै किन र, 'ईन्भर्टर' राख्यौ की के हो?" मैले सोधें । " कहाको 'ईन्भर्टर' राख्नु नि, मेरो घर बालुवाटार भनेर बिर्सीयौ ! … " उसले उताबाट जानकारि दियो " राजाका पालामा नारायण हिटिमा बत्ति ननीभेको जस्तै अहिले बालुवाटारमा बत्ती निभ्दैन के" । कुरै कुरामा उसले बतायो, एकचोटि पटाका मार्का बम पड्के पछि हाम्रा उपराष्ट्रपति र उनका छिमेकमा पनि आजकल नया नेपालको प्रतापले बत्ति जान छाडेको छ रे । म सोच्न थाले हुन पनि बत्ति त रैतिका घरमा पो निभाउनु पर्छ सवा लाखको पलङ हुने घरमा पनि कहि बत्ति निभाउनु हुन्छ त!?

दृश्य नं ४

फर्कने बेलामा बिहान ७:४० को फ्लाईट थियो, अन्तराष्ट्रिय उडानमा घटिमा पनि २ घण्टा पहिला रिपोर्टिङ गर्नु पर्ने भएकाले म करिव ५:३० बजे नै बिमानस्थल पुगेको थिए । तर त्यहा ६ नबजेसम्म 'प्रस्थान' को मूल ढोका पनि खुलेको थिएन । एरपोर्ट भीत्रको सेवा र सुबिधाको बारेमा सायद कसैलाई केहि भन्नु पर्दैन होला, सामान हाल्ने ट्रलि त आफै बाहिर गएर खोजेर लानु पर्ने ठाँउमा अरु कुराको आश गर्नु बेक्कार पनि हुनेछ । तर जे होस, जहाज चढने हरेक यात्रीले बिमानस्थल शुल्क भने अनिवार्य बुझाउनु नै पर्छ । सायद त्यो रकम नया नेपालको निर्माणमा जान्छ कि? । जय होस !



2 Comments:

Panda said...

दृश्य नं १ र ४ को कुरा गर्दा अर्थपत्नि श्री ३ हिसिला यमि याद आउनु भो । उहाहरु भुमिगत जीवन त्याग्ने वित्तिकै अनगिन्ति पटक विदेश यात्रा गर्ने व्यक्ति मध्यमा पर्नु हुन्छ र विदेश भ्रमणको एउटा प्रमुख कारण थियो रे विदेशको विकास र आधुनिकताको बारेमा देखेर र सिकेर "नया नेपाल" निर्माणमा सो सिकाइ र देखाइलाइ लागु गर्ने । अब उनै शक्तिशाली श्री ३ को मन्त्रालयमा यस्तो हुन्छ भने के भन्नु ।

म नेपाल जादाको कुरा गर्दा ट्रलि बोकेर भन्सारका कर्मचारी र पियनहरु आफै यता उता दौडिरहेका थिए । अनि मैले तपाइलाई ट्रली चाहिदैन भने मलाइ दिनुस न भनेको त "यसो दशैंमा चिया खर्च दिनुस न " भन्छ । अनि मैले उनको प्रस्ताव स्विकार गरिन तर उनले आफ्नो "ट्रली सेवा" दुबइ तिरबाट आएका एक यात्रुलाइ प्रदान गरे र म बाहिर गएर एउटा गुडाउन नसकिने तर घिसार्नु पर्ने ट्रली तानेर ल्याए ।

अर्को कुरा एअरपोर्ट ट्याक्स लिएर पनि एअरपोर्ट नसुधार्ने प्रवृति नया नेपालमा पनि कायमै रहेछ । शायद एअरपोर्टलाई नया नेपाल अन्तर्गत ल्याउन बांकी नै छ होला । सबै ठाउंलाइ भटाभट नाम परिवर्तन गर्दै नया नया बनाइदै गरेको बेलामा हाम्रो एअरपोर्टको नाम परिवर्तन गर्नै बांकी छ, तव न हुन्छ नया नेपाल!

Nepalean said...

Tharki Dada, your are lucky. You always time to go to Nepal.
Your nepal description is funny and real. I had the same experience with the cart. No cart and I had 3 bags. At that time, people were occupying carts though their baggages were not coming soon.
Mention not about the status of Janabadi Neta. Preety soon, they will like madhav nepal,govinda raj etc.
Lets pray they will utilize our tax.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !