September 19, 2008

सनक शिरोमणि मातृकाको राजीनामा नम्बर -३

साढे तीन वर्ष अघि सम्पन्न अप्रिल क्रान्तिदेखि माओवादी सत्तामा सहभागी रहँदै आएको छ र यो माओवादी सहभागिताको अभिन्न पात्र रहँदै आएका छन् नेपाली राजनीतिका धूरन्धर सनकासुर मातृका यादव । उनी सहभागी भएको गिरिजा मन्त्रीमण्डलबाट उनले राजीनामा गरे-१, अनि माओवादी पार्टी स्वयं गिरिजा मन्त्रीमण्डलबाट निर्वाचन सार्ने प्रकरणको स्टण्ट खेल्न हिउँदे छुट्टिमा गयो दलबलको राजीनामा सहित-२, र अहिले आफ्नै पार्टीका प्रचण्ड मन्त्रीमण्डलबाट राजीनामा दिएर मातृकाले सायद नेपाली राजनीतिमा सबैभन्दा बढी स्वेच्छिक राजीनामा दिने खिताबदारी मन्त्री भैसकेको हुनुपर्छ ।


हुनत मन्त्री भैसकेपछि, जनयुद्द लडिरहेकै शैलिमा उत्रेर कसैको घर जग्गा कब्जा गर्न बन्दूकधारी दस्ता लिएर जाइ लाग्न नजानुपर्ने हो , तर यही शैलिको विजय स्वरूप माओवादी र मातृका सत्तारूढ हुन पुगेका हुन भन्ने कुरा बुझेको कसैले पनि , मातृकाजीको प्रवृत्ति देखावटी हो भनेर नठान्दा जाती हुन्छ । किनभने उनले जे गरिरहेका छन् त्यो त उनको दलको नीति र व्यवहारको निरन्तरता हो र उनका दलबाट सत्तामा पुगेका अरूले सभ्य र लोकतान्त्रिक देखिने प्रपञ्चमा मातृकापथबाट आँफूलाई बिचलित राखेका मात्र हुन् ।माओवादी पार्टीले जुन भीषण र दूर्दान्त युद्द नेपाली भूमिमा लड्यो र प्रकारान्तमा त्यसैको  आस वा त्रासको कारण निर्वाचनमा आर्जेको आफ्नो सफलताको जरिया यही शैलिलाई उसले सरकारमा बस्दा पनि अपनाउन खोज्नुलाई अन्यथा मान्ने आधार पनि रहेन । तर पनि आफ्नो क्रान्तिकालीन शैलि र व्यवहारभन्दा नितान्त फरक सरकारको जिम्मेवारीमा रहेर आँफूले उठाएका मुद्दाहरू आँफैले कार्यान्वयन गर्ने ठाउँमा पुग्दा, विचार र व्यवहार  दुवै कुरामा जिम्मेवारीको भारी थपिने कुरा नबुझ्नुलाई भने केवल बहलट्ठीपन मान्नु बाहेक कुनै विकल्प रहन्न ।

मातृका र अरू क्रान्तिकारीहरूले पनि बुझ्नु पर्ने कुरा के हो भने उनीहरू अहिले जंगलको जंगली युद्द लडिरहेका छैनन् जहाँ राती आराम गरिरहेका सरकारी सुरक्षाकर्मीहरू माथि घात लगाएर आक्रमण गर्दै अकल्पनीय शैलिको प्रयोगले जीवन ‍हरण गर्नूलाई पनि विरोचित रूपमा उचित ठान्न सकियोस् । सनक शिरोमणि मातृका र उनको डफ्फाले आफ्ना जनयुद्द्कारी अण्टसण्ट कामहरूलाई अब व्यवहारिक कानूनी राज्यको दायराभित्र ल्याएर अनुपालन गर्नु गराउनुमा आफ्नो पराक्रम देख्नुपर्छ । भूमिसुधार मन्त्रीले आफ्नो क्षेत्राधिकारको कुरा उठाएर कसैको घरजग्गा कब्जा गर्न जानु कुनै आदिम राज्यमा उचित मानिन्थ्यो होला तर आधुनिक राज्यका मन्त्रीले पहिला भूमि सम्बन्धी कानूनको व्यवस्था गर्नु पर्‍यो , कानूनले अनुचित ठान्यो भने त्यो कानूनको पालना गर्ने गराउने संयन्त्रलाई मजबूत बनाएर त्यसको कार्यान्वयनलाई दह्रो पार्न सक्नु पर्‍यो ।मन्त्री लाठा र बन्दूक बोकेर जुध्न हिँड्न थाल्दा मातृकालई लाग्ला उनको उचाइ बढेको छ तर नेपाल, नेपाली र नेपाली राजनेताहरू यस्तो कर्तूतले परिहासको पात्रमा घटुवा हुन्छन् भन्ने कुरामा हेक्का राख्नु पर्छ । मातृका यादवले बेलाबखत गर्ने हर्कत र कर्तूतले गर्दा अहिले नेपालमा कसैले उपद्रो गर्यो कि 'लौ त यो त मातृका भएछ' भन्ने हाँसो ठट्टाको विषय हुन थालिसक्यो ।

कामरेड प्रचन्ड बडो उत्साहपूर्वक नया नेपालको कुरा गर्दै हुनुहुन्छ तर वहाँका एकजना  सखाले गत हप्ताभरी नेपाली मिडियामा तस्वीरसहित नकारात्मक रूपमा छाएर गोत्र हँसाए । अन्तत : राजीनामा गरेर मातृकाले ठिकै गरे तर माओवादीले त्यो स्वीकृत नगरेर ' तँ पिटे झैँ गर , म रोए झैँ गर्छु' जस्तो पनि गर्न सक्छ । मातृकाको राजीनामा स्वीकृति होला नहोला , तर यो चम्बलको डाँका प्रवृत्तिले छुट्टी पाए मात्र नया नेपालको सोच सम्ममा सहमत हुन जनतलाई अनुकूल हुन्थ्यो ।


5 Comments:

ठरकि दादा said...

शुरुमा त तपाईको पोष्ट हेरेर म झूक्कीएं पनि, कसरि तपाइले भाग १ र २ नलेखि एक्कै चोटी सनक शिरोमणि मातृकाको राजीनामा भाग-३ लेख्नु भयो भनेर।

वास्तबमा यो माओबादिकको् यौटा 'प्रि प्लानड' चाल हो । आफ्नो 'सत्तामा नि जाने, लुटेर नि खाने' नीति कायम राख्दै जनाताको नाडि छाम्ने अभिप्रायले यो 'अप्रेशन कब्जा' गरीएको थियो । र स्थिति अलि अनुकूल नदेखे पछि 'पिटेझैँ र रोएझैँ' गरको मात्रे हो ।

हुन त 'सरदार' ले अहिले सम्म राजिनामा स्विकृत गरेका छैनन तर यो नाटकको पट्टाक्षेप भने स्विकृत गरेरै हुन्छ (भलै २-३ महिना पछि फेरी अर्को कुनै मन्त्रालय दिएर फिर्ता बोलाईएला)

Anonymous said...

MATRIKA IS DOING GOOD. WTEVA HE HAS DONE IS APPROPRIATE.....I CANT BELIEVE PPL STILL HAVING FEUDAL MIND..PLZZZZZZZZZZ

पीजी said...

एनोनिमसजी, मात्रिका यादव इमानदार मान्छे होलान म मान्न सक्छु, तर उनले जे गरे त्यो राम्रो हो भन्ने मान्न सक्दिन । तपाइलाई थाहै होला हल्ला पिटाउनलाइ गरिने राजनीति उद्दण्ड जुन सामान्यतया सरकारका विपक्षमा बस्नेहरुले गर्ने गर्छन त्यो सरकारमा बस्नेले गर्न मिल्दैन । हामी आंफै विधीको शासन कायम हुनुपर्छ भन्छौं तर एउटा मन्त्रीले एस एल आर बोकेका जत्था लिएर कुनै २ बिघे तथाकथित "जमिन्दार" को जग्गा उठिवास गराउदै हिड्दा राम्रो मान्ने ?

के क्याबिनेट स्तरको मान्छेले नियम कानुन बनाएर सोही अनुसार काम गर्न जान्दैन वा सक्दैन ? के त्यो मन्त्रीलाई आफ्नो कार्यधिकार थाहा छैन ? के त्यो मन्त्री विधी सम्मत सरकारको एउटा अंश होइन ? के बन्दुक को भरमा जबरजस्ति कसैको ३ तले घर र ५-६ वटा वस्तुभाउ छ भन्दैमा त्यो पनि नहुनेले हुल हुज्जत गर्दै खोस्न जान पाइन्छ । के कसैको खुबी छ भने काम गरेर सम्पति जोड्न पाउने अधिकार "नयां नेपाल" मा हुने छैन?

मात्रिका यादव मानसिक रुपले स्वस्थ छैनन् सबैलाइ थाहा भएको कुरा हो, प्रचण्डको विश्वासपात्र भएकै कारण क्षेत्रियताका कारणले मन्त्री पद पाएका मात्रिकालाई उनले जुन हरकत गर्छन त्यो काम गर्न सरकारमा बसिरहनु जरुरत छैन, बाहिर बसेर गर्दा बरु सुहाउला ।

nepalean said...

सनक सिरोमणी - ३, म पनि झुक्किए कसरी ३ मा पुग्यो भनेर तर गांठी कुरो ३ पटक राजिनामा दिने महामहिम मात्रिका को कुरो बल्ल खुल्यो।
नाटकको पट्टाक्षेप भने ठरकीले भन जस्तै स्विकृत भएर नै गयो।
म पान्डा जि कै लाइनमा छु। बल हुने ले लुट्न ल्याएको नेपाल होइन। हुन न धेरै कार्य अहिले बल हुने ले नै लट्टि पट्टी पारेका छन, त्यो देखेकै कुरो हो तर जस्को शक्ती उस्को भक्ती अब हिन्दी फिल्लमा पनि टिक्न छोड्यो, फ्युडलको नाममा यस्तो हरकत धेरै टिक्दैन।

पीजी said...

"जस्को शक्ती उस्को भक्ती अब हिन्दी फिल्लमा पनि टिक्न छोड्यो"

Good example....मोग्याम्बो खुश हुवा ........!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !