September 25, 2008

नियात्रा - सामुहिक रुपमा नाङ्गै नुहाउँदा

-कृष्ण प्रसाई
समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं । टोकियो भएर सेन्डाइ हुदै ओमोरी पुग्नु थियो आजको यात्रा । नभन्दै बस छुटिसकेपछि टोकियो उत्तरतिर पर्ने बिभिन्न ससाना शहरहरु हुँदै सेन्डाईलाई पनि नाघेर हामी ओमोरी पुग्यौं । ओमोरीबाट होक्काइडो टापुस्थित प्रसिद्ध शहर सापोरो पुग्न पानी जहाजबाट उत्रिएर फेरि बसमा यात्रा गर्नुपर्ने रहेछ । यो ट्राभल एजेन्सीको अग्रिम जानकारी थियो । बेलुका ७ बजेको समय थियो हाम्रो ओमारीबाट पानी जहाज चढ्ने । निर्धारित समयभन्दा हामी दुई घण्टा अघिनै ओमारी पुगिसकेका थियौ । ओमारी जापानको उत्तरी भागमा अवस्थित ठुला पानीजहाजहरुको वन्दरगाहा रहेछ त्यहाँबाट जापानका अन्य ठाँउमा पनि पानीजहाजहरु छुट्दा रहेछन् । पानीजहाजहरुको वग्रेल्ती संख्या हेर्दा यो कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिरू भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

म जीवनमै पहिलो पल्ट त्यति ठूलो वडेमानको पानीजहाज चढिरहेको थिए । झण्डै एक हजारको हाराहरीमा रहेका यात्रु र झण्डै दुई सयको संख्यामा रहेका कारहरु पानीजहाजभित्र चढ्दै थिए । मान्छे चढ्नका लागि ठूलो हजाइजहाज कै जस्तो सिंढी र गाडीहरुका लागि जहाजको तल्लो भागमा रहेको प्रवेश मार्ग रहेछ । यात्रु र गाडीहरु सवै जहाज भित्र समाहित गर्न झण्डै एक घण्टाको समय लाग्यो । पानीजहाजभित्र चढिसकेपछि पनि जहाज भित्रै अझ उक्लिनुपर्ने तीन-चार तला थिए । जम्मा जम्मी वाइस घण्टाको प्रशान्त महासागर माथिकॊ यात्रा थियो यो । जहाजको सवै भन्दा तल्लो भागमा गाडीहरु राखिएका थिए । एक हप्ताको छुट्टि मनाउन सापोरो सहर र होक्काइडो पुग्ने जो सुकैले निजी सवारी साधन आफुसगै पानीजहाजमा हालेर यात्रा गर्दारहेछन, ताकी जहाजबाट उत्रिसकेपछि पनि हप्ता भरको यात्रा गर्दा आफ्नै गाडी होस् । त्यसोभयो भने भाडाका गाडी खोजिरहनु पर्ने झन्झट पनि नहुने र मन चाहे ठाँउमा पारिवारिक यात्रा गर्न सजिलो हुने रहेछ । गाडीहरु राखिएको भन्दा माथिल्लो तला धेरै महंगा तारे होटलको सुविधा दिएर वनाएका व्यवस्थित कोठाहरु रहेछन् । त्यो तलामै मान्छेका इच्छा अनुसार सुविधाका लागि वनाइएका पुस्तकालय योगा कोठा अरु शारिरीक व्यायमका हल साना तिना फेन्सी पसल लगायतकाहरु थिए । त्यो भन्दा माथि सामुहिक यात्रीका लागि वनाइएका सार्वजनिक सुत्ने कोठाहरु थिए । अरु भन्दा ती कोठाहरु धेरै ठूला र एउटै कोठामा लहरै ओछ्रयाइएका फोमका विछ्यौनाहरु थिए । लगभग एक सय जनाजति एउटै कोठामा सुत्न मिल्ने ठूला कोठाहरु रहेछन् । त्यति ठूलो कोठामा लहरै विछ्याइएका विछ्यौनाहरु मध्ये एउटाको हकदार म पनि थिए । जस्लाइ मैले पैसा तिरेर वाइस घण्टाकालागि आफ्नो वनाएको थिए । महिला पुरुष सवै थिए त्यो कोठामा । कुनै भेदभाव थिएन त्यहाँ । सवै कोठामा त्यस्तै थियो तर महिलाको एकातिरको भाग र पुरुषको अर्कोतिरको भागमा आ-आफैले ओछ्यान छान्ने चलन रहेछ । तर ट्वाइलेट र नुहाउने ठाँउ लगायत साउना चै महिला र पुरुषको अलग अलग थियो । यो तलाको प्रायः सवै भागमा सुत्ने कोठाहरु नुहाउने कोठाहरुनै थिए । खानपिन र रेष्टुरेण्टका लागि भने सवैभन्दा माथिको र सारै फराकिलो ठाँउ छुट्टयाइएको रहेछ । रेष्टुरेण्ट भन्दा माथिल्लो पाँचौं तलामा भने समुद्रको दृश्य हेर्नका लागि र सिगरेट आदि पिउनका लागि छुट्टाइएको थियो ।

हाम्रो यात्रा पाँच दिनको लागि तय गरिएको थियो । सापोरो र होक्कइडोका लागि । पाँच दिन मध्ये दुई दिन त आउने जाने गरि पानीजहाज मै विताउनु पर्ने थियो । समुद्र बाहेक जमिनको यात्रा भने तीन दिनको मात्र थियो । पाँच दिनको प्याकेज टुरको पैसा दिएका थियौ हामीले । पानीजहाजभित्र पसिसकेपछि मलाई सवै तलाको परिवेस र स्थितिले कौतुहल बनाएको थियो । एक घण्टा त मैले तलमाथि गरेरै विताएँ । मानिसका लागि चाहिने सवै वस्तु थिए जहाजमा । खेल्ने सामाग्री देखी पिउने नाच्ने गाउने रमाउने सवै सुविधा बिद्यमान थिए त्यहाँ । जहाजभित्रको यस्तो निरिक्षण भ्रमण सर्वथा नौलो भएकाले मेरा सहयात्री साथीहरुले पनि छाडा छाडिदिएका थिए मलाई । म भने प्रत्येक कुरालाई नियालिरहेको थिए ।

जहाजको सवैभन्दा माथिल्लो तलाबाट मैले सारा संसारलाई हेरेँ । पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर समुदै्रसमुद्र देखिने साँच्चै नै समुद्रको संसार थियो त्यो । म त्यही समुद्रको संसारमा त्यति ठूलो वडेमानको पानीजहाजबाट झण्डै एक हजार यात्रुको घर संसार वोकेर सामुहिक यात्रा गरिरहेको थिए । एक हजार यात्रुमा नेपालको वटुवा सायद म मात्र हुँदो हुँ । मैले देखेसम्मका सवै यात्रु जापानिज नै थिए त्यहाँ । वाहिर अन्य मुलुकको अनुहार वोकेका कसैलाई देखिन मैले त्यहाँ । प्रायः सवै जापानकै आन्तरिक पर्यटक थिए र आफ्नै गाडी नहुनेहरु सायद प्याकेज टुर गर्दै थिए हाम्रा सहयात्री भएर । जापानमा गरिने प्राय सवै आन्तरिक र वाह्य भ्रमणहरु प्याकेज टुर मै सवैले गर्नेगर्दछन् । आफै गरिने भ्रमण झन्झटिलो र वढी खर्चिलो हुने हुँदा अधिकांश पर्यटकहरुको रोजाइनै प्याकेज टुर हुने गर्दछ जापानमा ।

प्याकेज टुरमा हिंडेको सामुहिक टोलीलाई सजिलै चिन्न सकिन्छ जापानमा । सम्वन्धित ट्राभल एजेन्सीको चिनारी स्वरुप टोपी गन्जी वा झण्डाको लोगोमा समेटिएर यात्रा भराइन्छ जापानमा । त्यसो गर्दा विभिन्न समुहभित्र पनि आफ्नो भ्रमण दलको यात्रीलाई सजिलै चिन्न सकियोस भनेर यस्तो भ्रमण संकेत दिइएको हुन सक्छ । किनभने प्रत्येक पटकको मेरो जापान भ्रमणमा आन्तरिक पर्यटकहरु यस्ता संकेतहरुमा टा्रभल कम्पनीहरुका वसमा र पर्यटकीय ठाँउहरुमा प्रसस्तै मात्रामा भेटिएका थिए ।

संसारभरमै यात्राका लागि जापानीहरु प्रसिद्ध छन् । भनिन्छ जापानमै वसिरहने कुनै जापानी भन्दा अन्य मुलुक विशेषगरी गरिव मुलुकमा यात्रा गर्ने जापानीहरुको मासिक खर्च निकै कम हुने गर्दछ । यसो हुनाको कारण जापानमा हुने संसारकै उच्च महंगाइ प्रमुख रहेको छ । जापानमा एक महिना धान्ने पैसाले अन्य एसियाली मध्यम र विकासशील देशहरुमा तीन महिना धानिन्छ । त्यसैले पनि जापानमा पर्यटन व्यावसाय ज्यादै फस्टाएको छ ।

म पानीजहाजको पाँचौ तला माथि चढेर चारैतिरको समुद्रमा धेरैवेर एकाकार भएँ । चारैतिर समुद्र भएकाले अनौठो लागिरहेको थियो । प्रशान्त महासागरको उत्तरी भागमा वहेको चिसो हावाले वाहिर त टिक्नै नसक्ने बनायो मलाई । केहिक्षण पछि आफ्नो ओछ्यान भएको कोठातिर लागे म । मेरा अरु साथीहरु ओछ्यानमा आराम गरिरहेका थिए । किताव हेरेर वसिरहेकी फुमीकोसानलाई (सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउछ) मैले आँखाको इसाराले रेष्टुरेण्टतिर जाँउ भन्ने इसारा गरेँ । आवाज निकालेर वोल्दा अरुलाई वाधा नहोस भनेर नै मैले फुमीको दिदीलाई त्यसो गरेको थिएँ । मेरो इसारा बुझ्ने बित्तिकै हामी लागिहाल्यौ माथिको रेष्टुरेण्टमा । हामी रेष्टुरेण्टबाट तल ओर्लिएर आ-आफ्नो ओछ्यानमा सुत्दा रातीको १२ वजिसकेको थियो ।

विहान उठिसकेपछि यताको यात्रामा हिड्नु अधि साकाइसानले सिकाएको जापानी सस्कृति र जीवन शैलीलाई फेरि एकपटक संझे । साकाइसानले सिकाए ‘पुरुष साउनामा नुहाउन जाँदा निर्वस्त्र भएर समुहिक रुपमा नुहाउनु पर्ने जापानको चलन र परम्परा धान्न मलाई मानसिक रुपमा धौ धौ पर्ला जस्तो थियो । तरै पनि नुहाउनु पर्ने अनिवार्य बाध्यता पनि म सँगसगै थियो । जे त होला नी भनेर भएभरको हिम्मत कसेर म पनि नौ वजेतिर पुरुष साउनामा भित्र पसेको त वाफरे वाफ ! संसारै नाङ्गो देखें भित्र मैले । त्यतिधेरै पुरुषहरु सामुहिक रुपमा त्यसरी नाङ्गिएर नुहाइरहेका र बाफ लिइरहेका देखेर म त तीन छक्क परे । जापानीहरुको चलनमा यसरी निर्वस्त्र भएर नुहाउनु सामान्य थियो र त्यो एउटा संस्कृतिभित्र पर्दथ्यो । तर मेरो परिवेश फरक थियो । संस्कृति फरक थियो । त्यति धेरै मान्छेका अगाडि नाङ्गिनु भनेको एक किसिमको महाभारत थियो मलाई । अधि वाहिर पलाएको हिम्मत पनि पानी-पानी भयो मेरो । समुहको अगाडि नाङ्गिने कुरा चानचुने साहासको कुरा थिएन । यद्यपी यसरी नाङ्गिनु भनेको जापान कोरिया र चीनमा एक किसिमले समान्य मानिन्थ्यो र निर्वस्त्र भएर नुहाउन साउनामा जाने दैनिकी जस्तै हुन्छ जापान कोरिया र चीनमा ।

भित्रको वातावरणले मनमा अझ संकोच थपियो । कस्तो दशा ! नुहाउन भित्र पसिकेसपछि निर्वस्त्र नहुनु भनेको पनि नुहाइरहनेहरुको सस्कृतिमाथिको अपमान थियो । समुहमा आफुमात्र विदेशी देखिरहेको थिए त्यहाँ मैले । त्यो समुहबाट भाग्नु भनेको अझ ठूलो गल्ती हुन जान्थ्यो । त्यसैले प्रसान्त महासागरमा हिंडिरहेको जहाजभित्रको साउनामा मन मिचेर पहिलो पटक सार्वजनिक रुपमा नाङ्गिए म । एक्लै रुपमा नाङ्गिनु र सामुहिरुपमा नाङ्गिनुमा आकास पातालको फरक हुन्छ । निर्वस्त्र भएपछि दिमागले एकपल्ट त कामै गरेन । म टोलाएको अरुहरुले पनि देखेजस्तो लाग्यो त्यसैले आफु सम्हालिदै गएँ र साउना भित्रकै सानो मन्द तातोपानीको कुवामा हतपत्त पसेँ । म जस्तै जनेन्द्रीयको आकार र अवस्था ओडेर विभिन्न सानो र ठूलो आकारका कुवामा नुहाई रहेका मनुस्यहरुको त्यहाँ कमी थिएन । तर मैले कसैको अनुहारतिर आफ्नो नजर पार्नसकिन । नपारेरै नुहाउन थालेँ । त्यतिबेला भने मैले आफु सानो छँदा गाउको हडिया खोलामा बर्खे भेल आएको बेला आफ्ना बाल दौतरीहरुसंग कसैको पर्वाह नगरी सामुहिक रुपमा नाङ्गै नुहाएको सम्झे । कुवाहरु भएकै छेउमै पसिना फुटाउने तातो कोठा पनि थियो । म त्यहाँ पनि गएर सरिरैभरि पसिना छुटाएर फेरि कुवामै फर्किए । तातो कोठाभित्र पनि नाँङ्गा मनुस्यहरुको कमी थिएन । पच्चीस भन्दा वढी ठाँउमा भने एक्लै वसेर नुहाउन सकिने पानीका छहारा र सावर जडित स्थानहरु थिए । तर जति थिए सवै सार्वजनिक थिए । सवैले सवैलाई देख्न सक्ने अवस्थाका थिए ।

आफ्नो छोप्नु पर्ने अङ्ग पनि डराएर होला दौराको एक पटक मात्र सिलाएको इजार जस्तो भएको थियो । बडो सकस परिरहेको थियो शरिरका सवै भागलाई समुहिक युद्ध गर्न त्यो समय । म जस्तै शरीरका सबै भाग भिजेको परालझै भएका थिए शरम र संकोचले ।
यसरी मैले पहिलो पटक सामुहिक रुपमा निर्वस्त्र नुहाएपछि कसैको मुखमा एकै पटक सम्म नहेरी आफ्नो नुहाउने कर्म विदेशी महासागर माथि हीँडिरहेको जहाजमा सकेको थिएँ । मैले नुहाउने काम सकेको देखेर मेरा पुरुष र महिला जापानी साथीहरुले एकपटक मुखामुख गरे ।

उनीहरुको मुखामुख गराईलाई मैले बुझिहाले तर बुझपचाउदै सामान्य जस्तै लिए मानौ मलाई नुहाउदा केही सकस भएको थिएन । म जापानी संस्कृतिसंग रत्तिएको देखेर उनीहरु खुसीहुनु स्वभाविक थियो तर मैले नाङ्गिनु अघि खेपेको मानसिक तनाव र संकोचको ब्याख्या उनीहरुलाई कसरी गर्न सक्थेँ र किनभने म उनीहरुको हाँसोको पात्र पनि त हुन चाहान्नथेँ ।

नुहाउने घरभित्र एक्लै नाङ्गिनुलाई पनि पूर्वीय दर्शनभित्रको हिन्दुधर्मले समेत नकारेको छ । इसाई धर्ममा पनि यसलाई स्वीकारिएको छैन । तेसैले भनिन्छ ननहरु एक्लै नुहाउदा पनि ईश्वरले नांङ्गिएको देख्नसक्ने ठानेर आफ्ना अंङ्गहरु पेटानीले छेकेर वा ढाकेर नुहाउछन् तर अचम्मको सोचनीय कुरा के छ भने त्यत्रो पर्खाल नाघेर नांङ्गिएको देख्नसक्ने सर्वशक्तिमान त्यो सत्ताले जाबो सुतीको पेटानी छेड्न नसक्ला त?।

‘काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

सापोरो छेउको बन्दरगाहमा ओमारी वन्दरगाहबाट हिडेको ठ्याक्कै २२ घण्टा पछि हाम्रो पानीजहाजले पुर्‍यायो। वन्दगाह आउनु पूर्व इन्धन संरक्षण गरिएका कैयौं ठूलाठूला तेलका ट्याङ्गकरहरु देखिए । सायद त्यस्ता उज्वलनशिल वस्तुहरु समुद्रभित्र भण्डारन गरिएर राख्दा कुनै भवितब्य वा दुर्धटना भैहाल्यो भने पनि कम क्षती खेप्नुपर्छ भनेर त्यसरी राखिएको होला । यो मैले अंदाज मात्र गरेको थिएँ । हामी संग ठूलाठूला समुद्र नभए पनि ठूला नदीहरुको छेउछाउ वा विचमा यस्ता प्रज्वलनशील बस्तुलाई भण्डारण गर्दा राम्रो हुने रहेछ जस्तो लाग्यो मलाई पनि ।

पानीजहाजबाट उत्रिसकेपछि आफ्ना गाडी हुनेहरु गाडीको प्रतिक्षामा थिए भने प्याकेज टुरमा निस्किएका हाम्रा टोलीहरुका लागि भने छेउमै ट्राभल कम्पनीकै सुविधासम्पन्न वस तैनाथ थियो । हाम्रा दलका सहभागी सवैले रातो रङ्गको घाम छेक्ने टोपी लगाएका थिए । हेर्दाहेर्दै केहीक्षण पछि झमक्क साँझ पस्यो सापोरोमा । होक्काइडो प्रान्तको सवै भन्दा ठूलो सहर भएकोले त्यसको सान नै फरक रहेछ । इटालीयन र वेलायती मोडलका पुराना घरहरु पनि प्रसस्त देखिए सापोरोमा । हामी त्यहाँ पुग्दा जात्रा चलिरहेको थियो शहरभरि । जापानको उत्तरी भागमा भएकाले टोकियो भन्दा जाडो रहेछ सापोरोमा । आलु र तरबुजा प्रसस्त पाइदारहेछन् त्यहाँ । सम्पूर्ण जापानभरि यहीबाट वितरण हुँदो रहेछ चिसो माटाको आलु । वजार घुमाउदै झण्डै एक घण्टा पछि हाम्रो वसले पहाडी इलाकाको जंगलभित्र रहेको एउटा होटलमा बास बस्न पुर् यायो । हजारौं मान्छेहरु एकैपटक खान र वस्न मिल्ने होटल रहेछ त्यो । अति सुन्दर ठाउँमा वनाइएको होटल प्राकृतिक हिसावले वडो मनमोहक थियो । वेलुका डिनरका लागि मात्र एकपटकमा हजारौं मान्छेले एकैपटक खान सक्ने होटल रहेछ त्यो । सयौंको संख्यामा परिकारहरु थिए खानेकुराका । वेलुकाको खाना खाएर हामी आ-आफ्नो कोठामा सुत्न गयौं । रमाइलो के रहेछ भने राति सुत्दा लगाउने गाउन भने प्राचीन जापानीहरुले सुत्दा प्रयोग गर्ने शैलीको पहिरन रहेछ जस्लाई लगाएर के ढल्केको थिएँ म त भुसुक्क भएँछु ।

भोलिपल्ट बिहानै दृश्य अवलोकनका लागि पर्यटक बसबाट बाहिरमात्र के निस्केको थिए पाटननै पाटन जस्ता लाग्ने स-साना थुम्काथुम्कीहरु बीच हामी गुडिरहेका थियौं । समतल भने कुनै ठाँउ थिएन तर थुम्काथुम्की बीचपनि यसरी फूलहरु फुलेका देखिन्थे मानौ सवै देखिए जति फूलकै संसार हो । यस्ता फूलका संसारहरु होक्काइडो प्रान्तभरि प्रसस्तै रहेछन् । यसलाई ‘राविन्द्रा’ भन्दा रहेछन् जापानीहरुले । दिउँसो फूलै-फूलको संसार घुमियो । त्यतिधेरै फूलका संसार पहिलो पल्टनै देखिरहेथें म । दिउँसोको खाना खाएपछि भने बुद्धधर्मका पुरातात्विक महत्व वोकेको एउटा ठूलै संग्राहलय हेरियो र साँझतिर हिजो वसेकै होटलमा बास बसियो ।

सापोरो यात्राको अन्तिम दिन भने हामीलाई विहानको खाजा खाइसके पछि सिधै झरना र गुफा देखाउने पूर्व निर्धारित कार्यक्रम रहेछ । मुख्य सडकमा गाडी रोकेर जंगलको बाटो भएर केहीवेर िहंडेपछि झरना र गुफा पनि आयो । हामी जस्तै हजारौ पर्यटकको भीड लागेको त्यो झरना र गुफा के-के न होला भन्ने ठानेको थिएँ तर केही न केही कामको सानो न सानो छाँगो जस्तो मात्र थियो । त्यस्ता छुगा त बर्खामा नारायणघाट मुग्लिन खण्डमा देखिने सामान्य छुगा जस्ता थिए । गुफा पनि हाम्रो देशमा पहाडका भारी बोकेर हिड्ने भरियाले यसो खाना पकाउन र आराम गर्न खोजेको ठाँउ जस्तो मात्र थियो । गन्नै हो भने त्यस्ता गुफा मेरो देशमा दशौं हजार छन् । त्यहाँ देखिएका जस्ता झरना हजारौ छन् । हिजैदेखि बहुप्रचारित गुफा र झरना हेरे पछि झल्झली मैले मेरो देशमा हेरिदिने मान्छे समेत नभएर त्यसै त्यसै मानव आँखाहरुलाई पर्खेर वसिरहेका पर्यटक विहिन हजारौं गुफा कन्दरा र छहराहरुलाई संझे ‘लाटो देशमा गाँडो तन्देरी’ भने झै केही नभेटे पछि पर्यटको मन बहलाउन कृतिम तरिकाले बनाएरै भएपनि प्रचार प्रसार गरेर पर्यटक लोभ्याइने गरिदो रहेछ विदेशमा । यस्ता हेरी त हाम्रो देश त प्राकृतिक सम्पदामा स्वर्ग नै छ । देश चलाउने मान्छे अदुरदर्शी हुँदा मात्र तिनीहरुले महत्व नपाएका रहेछन् जस्तो लाग्यो मलाई । सापोरोका सवै गुफा कन्दरा र छहराहरु सम्झिएर दिक्क पो लाग्न थाल्यो त्यताका ठाँउ हेर्न ।

केहीदिन अघि मात्र पनि पुराना सम्पदा हेर्ने लालसा बोकेर टोकियो संग्राहलय पुगेको म नेपालमा अहिले सम्म प्रयोगमा आइरहने हलो जुवा कोदालो र दमाहा जस्ता बस्तुहरु हेरेर फर्किएको थिएँ । जापानीहरुले आफ्नो इतिहास भनेर सजाइएका ती सामानहरु मेरो देशका हजारौं गाँउमा अहिले पनि छ्यासछ्यास्ति भेटिन्छन् । यस्तो लाग्यो मेरो गाँउका प्रत्येक घरनै बिदेशका लागि सानातिना सम्पदा बोकेका संग्राहलय रहेछन् । मेरो देशले सम्पदैसम्पदाको इतिहास बोकेर दुनियाँ सामु प्राचीनतम् संग्राहलाय आफैमा उभ्याएको रहेछ ।

मलाई खुसी लागिरहेथ्यो आफू र आफ्नो देश सम्झेर । सोच्दा सोच्दै हाम्रो बस त हामीले दुई दिन अघि छाडेको सापोरो वन्दरगाहमा पो आइपुगेछ । सापोरोबाट पनि सातै बजे साँझ छुट्ने पानीजहाजमा जानुपर्ने हाम्रो यात्राको तय पहिलेनै भइसकेको थियो । त्यसैले हामी पनि पहिला जसरी नै पस्यौं पानीजहाजको पेटभित्र ।

साँझ छिप्पिसकेपछि सवै भन्दा माथिको तलामा गएर मैले भएभरको समुद्र हेरेँ । समुद्रको अध्यारो रातबाट देखिने पानीका तरङ्गहरु हेरेँ । चिसो हावाले जति हिर्काए पनि मैेले समुद्रको आश्वादन गरिनैरहेँ । चिसोको डरले पाँच तला माथि कोही ननिस्किएकाले एक्लो मनको तरंग संगै अन्दाज मात्र गर्न सकिने सामुदि्रक तरङ्गहरु भित्र फेरि पनि रमाइरहेँ । यस्तो समुद्रको यात्रा पछिल्ला दिनमा हुने नहुने सोचाइबीच अल्झिएको मेरो मनले अघाउन्जेल सम्म समुद्रको संसारलाई पिइरहेँ । पिइनैरहेँ ।

घाम उदायो विहानै प्रसान्त महासागरमा । आफ्नो ओछ्यान छोडेर अरु नयाँ ओछ्यानमा हत्तपत्त निंन्द्रै लाग्दैन मलाई । रातिपनि धेरैपटक व्युँझिएर नजिकैको महासागरलाई छेवैको झ्यालबाट हेरेको थिए मैले । विहान म उठ्दा समुद्र लमतन्न सुतिरहेको थियो । यस्तो लाग्दै थियो आजको सुर्यले पुरै मानवता लिएर उदाएको छ । समुद्रलाई भने कुनै हतारो छैन उठ्नलाई । सदियौं देखि उ यसरिनै सुतेको छ चीर निद्रामा ।



11 Comments:

Anonymous said...

यात्रा निकै रोचक लाग्यो । थोरै भय पनि आनन्दको अनुभुती भयो

ठरकी दादा said...

यात्रा विवरण अलिक लामो भए पनि रोचक भने पक्कै छ ।

आकार said...

लौ, कति रमाइलो है !!
ईच्छा त थियो मेरो पनि तर खै, के गर्नु.....

Biplab said...

It is nice and interesting.
AAkar, mero pani ikchha thiyo, katai pura hola??

एकलव्यको डायरी ( Eklavya's diary) said...

दौतरीमा नियात्राको मीठो अनुभव पढ्न पाइयो । धेरै धेरै धन्यवाद , प्रसाईँजी ।

- एकलव्य

Nepali Blog Awards said...

Namaste,

You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

Thanks

Panda said...

धेरै देशहरुमा प्याकेज वा अर्गनाइज्ड टुरहरु आफै गरिने भ्रमण भन्दा झन्झटिलो र वढी खर्चिलो नै हुन्छन (अनलाइन बुकिङका बजेट एअरहरु प्रयोग गरी मौकामा चौका हान्न पाइने अवसरलाइ अपवाद मान्ने हो भने)। तर हाम्रो देश वा छिमेकि भारत वा तेस्रो विश्वका देशहरुमा प्याकेज टुर झन महंगो पर्छन यसबाट कसैले सिकेर नेपालमा पनि व्यवस्थित प्याकेज टुर संचालन गरे नहुने भन्ने छैन ।

नेपालमा पर्यटकहरु धेरै आउंछन, कम आएको कारण हामीसंग डराएर हो । किनकि शायद विदेशीहरुले हामीलाइ मान्छेको दर्जामा राखिसकेका छैनन्, विकासको मात्र हैन सभ्यताको मामिलामा पनि हामी धेरै पछाडि छौं ।

तपाइंलाई जस्तै मलाइ पनि जब जब इटाली, इस्तानबुल, स्विट्जरल्याण्डका या यस्तै युरोपिय धर्तीमा यात्रारत हुन्छु तब तब मेरो मन मा यस्तै कुरा खेल्छ के छ यी ठाउंहरुमा नेपाल भन्दा सुन्दर देखिने कुरा ?

शारिरिक श्रृंगारको भरमा आफुलाई सुन्दरी देखाउन तम्सेका यी विकासे भुभाग भन्दा त निर्वस्त्र हाम्रा डांडा र सम्पदा हरु नै राम्रा छन ।

जे होस समुद्री यात्रा हामी जस्ता समुद्रको हावा बाट बन्चित देशका मात्रै नभएर सबैलाइ नै एक पटक गरु गरु लाग्ने यात्रा हो, यात्रा बर्णनको लागि धन्यबाद !

Panda said...

धेरै देशहरुमा प्याकेज वा अर्गनाइज्ड टुरहरु भन्दा आफै गरिने भ्रमण झन्झटिलो र वढी खर्चिलो नै हुन्छन (अनलाइन बुकिङका बजेट एअरहरु प्रयोग गरी मौकामा चौका हान्न पाइने अवसरलाइ अपवाद मान्ने हो भने)। भन्न खोजेको हो अघिल्लो पोष्टमा कट पेस्टले गर्दा उल्टो अर्थ लागेछ !

राजेश्वोर ढकाल said...

लेख लामो भये पनि रोचक रहेछ thanks प्रसाईँजी

nepalean said...

लामो भएर होला, पढ्न अलि टाइम लाग्यो तर निकै राम्र लाग्यो।
यस्तै यस्तै पढ्न पाइयोस कृष्ण जि।

dong dong23 said...

pandora bracelet
nike blazer sneakers
pandora charms outlet
air jordan shoes
nfl jerseys
nike huarache women
fred perry polo shirts
coach outlet
coach factory online
mont blanc mountain pen
2017.5.18chenlixiang

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !