October 11, 2007

गण्डक नहरमा भारतीयको अवरोध

गण्डक नहरमा भारतीयको अवरोध

रामकुमार श्रेष्ठ/नयाँ पत्रिका नवलपरासी, २८ जेठ
नारायणी डुबानपीडितहरूले गरिरहेको आन्दोलनमाथि कुनै सुनवाइ नभएको बेला भारतीय नागरिक उल्टै विरोधमा उत्रेका छन् । भारतीय कृषकहरूले सोमबारदेखि उत्तरप्रदेशसूग सीमा जोडिएको बहुआर नाकामा अवरोध सुरु गरेका छन् । भारतीयको अवरोधले बहुआरमा बजार गर्न जाने नेपालीलाई समस्या परेको छ । नेपालले पानी नदिएको भन्दै उनीहरू 'नाकाबन्दी' गर्न कस्सिएका हुन् । प्रदर्शनकारीले नेपाल भित्रिने सामानमा रोक लगाउन थालेका छन् । भारतीय जनताले गरेको नाकाबन्दीलाई भारतका स्थानीय पत्रपत्रिकाले प्राथमिकताका साथ मंगलबार प्रकाशित गरेका छन् । नेपाललाई पानी दिन दबाबका लागि भारतीय नागरिक आन्दोलनमा उत्रिएको नारायणी नदीपीडित संघर्ष समितिका प्रवक्ता प्रेमचन्द गुप्ता बताउँछन् । गण्डक नहरमा ठोकर मर्मतलगायत माग राख्दै नेपालका डुबानपीडितहरू केही दिनदेखि धर्नामा छन् । आन्दोलनरत डुबानपीडित नेपाली कृषकले नेपाल-भारत सीमा क्षेत्रको त्रिवेणी नाकामा दिनहुजसो एक घन्टा नाकाबन्दी गर्दै आएका छन् । नारायणी नदीका डुबानपीडितहरूले पश्चिमी गण्डक नहरबाट भारततर्फ पानी लान दिएका छैनन् । भारतले पानी नपाए नेपाललाई डिजल नदिने भन्दै भारतका विभिन्न पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् । भारतीय एक पत्रिका अमर उजालाले नेपालमा बाँध बनाउने नाममा भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै यसले दुई देशको सम्बन्धमा चिसो पैदा भइरहेको भनी लेखेको छ । यता नेपाली नागरिकले आफ्नो मागको सुनुवाइ नभएको भन्दै नेपालका जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भारतको बिहार सरकारको जल संसाधनमन्त्री र उत्तरप्रदेश सरकारको जलस्रोतमन्त्रीका पुतला दहन गरेका छन् ।नवलपरासीका १३ गाविसका डुबानपीडितहरूले आन्दोलनलाई वार कि पार नगराएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । स्थानीय बासिन्दा जयप्रकाश पाठक भन्छन्, 'बाढीले जमिन बगायो, हामी सुकुम्बासी भयौं, दैलोअगाडिबाट नहर बग्छ हामी टुलुटुलु हेरेर बस्नुपरेको छ, त्यसैले हाम्रो माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्नेछौं ।'डुबानपीडितहरूले ए ग्याप बाँध र बी ग्याप बाँध जोड्नुपर्ने, ए ग्याप, बी ग्यापका ठोकरहरू मर्मत गर्नुपर्ने र ठोकर ९, १२, १३ जीर्ण भइसकेकाले नयाँ निर्माण गर्नुपर्ने माग राख्दै गत जेठ ११ गतेबाट मुख्य पश्चिम नहरमा धर्नासमेत दिइरहेका छन् । उनीहरूले नारायणी नदीले वर्षादेखि गर्दै आएको डुबानलाई नियन्त्रण गर्न आफ्नो त्रिवेणी बजारदेखि गजेन्द्रमोक्ष धामसम्म तटबन्द निर्माण गर्नुपर्ने, त्रिवेणीदेखि गण्डक ब्यारेजसम्मको बाँध ए ग्याप र लिंक बाँधको उचाइ दुई मिटर बढाउनुपर्ने माग राखेका छन् । नवलपरासी जिल्लामा गण्डक बाँधका कारण नर्सही, कुडिया, पकलिहवा, गुठी प्रसौनी गुठी सुर्यापुराका त्रिवेणी सुस्तालगायतका १३ बढी गाविसका करिब १० हजार बिघाभन्दा बढी कृषिभूमि डुबानमा पर्दै आएको छ ।