October 11, 2007

माओवादी : नेपाली राजनीतिको ऐँजेरू

‎एकलव्यबाट
माओवादी : नेपाली राजनीतिको ऐँजेरू

दायित्व केही लिनै नपर्ने , मन लाग्दो नारा लिएर सडकमा उत्र अनि पाए टायर नपाए सग्लै बस, गाडी, कार सबै आगोमा बालेर घण्टाकर्णको जात्रा मनाऊ , यही हो नेपाली लोकतन्त्र !
सडक ठप्प पार , कसैले इमर्जेन्सी पारेर यता उता हिँड्दो छ भने पक्रेर निर्घात कुट , साधनलाई पोलेर क्रान्ति सम्पन्न गर , लोकतन्त्रको जय भैहाल्यो !
मान्छेलाई धम्की दिएर नदिए मार्छु वा 'तेरो खैरियत छैन' भन्दै चन्दा माग वा उठिवास लगाऊ, अनि कसैले थाहा पाए भने भन्देऊ हामीले स्वेच्छिक प्राकारले बाहेक चन्दा मागेकै छैनम् , धरोधर्म, गाइखाने माग्या भए ( यसैपनि सबै कुरा खाइएकै छ , लुटेर थुतेर वा जे गरेर भए पनि ) । मान्छेहरू त्यत्तिकै स्वेच्छिक चन्दा दिन लाम लागेर उछारबाटो पाइया छैन, के को माग्ने फुर्सद हुनु नि !
यस्तो पनि कुनै संसारमा हुन्छ गाँठे ? संसदमा तिनै, सडकमा तिनै , सरकारमा तिनै हड्ताल जोरजुलुम अनि जनसरकार , जनअदालतमा तिनै ! ए बाबा , यस्तो लोकतन्त्रको ढाँचा कहाँको वृक्षमा फल्न सक्छ ? अनि फलाकै पिछ्छे भन्न थाल्छन् " जनता, जनता" मानौ जनता नामको जन्तुको ठेक्का पट्टाको एकाधिकार यही ठेकेदारलाई हासिल छ , सीमा पारिबाट ट्रकमा लादेर ल्याइने बुढा भैँसीको थोक व्यापार जस्तो !
कस्तो मुलुक जहाँ जस्ले जनता नामको शक्तिबाट अनुमोदित हुने चेष्टा ने कहिलै गरेर , सँधै भाग्दै रह्यो र भाग्दै छ , जनतालाई र जनताको लाई खायो , डस्यो र फेरि डस्यो ( दरबार देखि बर्बरहरूसम्म !) , त्यही डसाहा शक्तिले जनताको रट लगाएको लगायै छ।
ओखरपाङ्ग्रेले भन्याथ्यो " राजावादीलाई चुनावमा जानै दिन्नम" । ए बाबा चुनावमा जाने नै हो भने शरीरनै रत्नपार्कको नाराले रंगिएको भित्तो बनाएर हिँड्ने लक्ष्मण खड्कादेखि नानीमैया दाहाल सम्म जसले जे एजेण्डा बोकेर भए नि जान पाइन्न भने त्यो के लोकतन्त्र भयो त ? हैनभने , दक्षिणी सीमा र सीमापारिबाट अलिक थान बन्दूके भाडामा ल्याएर लोकतन्त्रको एउटा दोकान खोले भैहाल्यो नि ! बन्दूके र दिमाग मआझिएकाहरूले नै सबै कुराको खटनपटनको जिम्मामा लिने भएपछि । मान्छे तोकेर "यिनीहरू मात्र" चुनाव लड्न पाउने भन्ने नया काइदाको लोकतन्त्रको 'म्याग्नाकार्टा' लेखे भयो नि खोजेको त्यही हो भने ! है भने यो मुलुक कसैका बाउको एकलौटी पेवा हैन र हुन पनि सक्दैन, राजनीतिको जुनसुकै प्रयोग गर्छु भन्नेहरूले परीक्षित हुन पाउनै पर्छ ।
'हगे हग, मुते काट्छु" भन्ने मानसिकता बोकेका पाखण्डी हिंस्रक लठैतहरूले लोकतन्त्रको ठेकेदारी गर्ने अनि सबैले यिनले त मारिहाल्छन बन्ने डरले कायल बनेर त्यो मान्न पर्ने भएसि, यत्राको यो मुलुकको भविष्य बन्छ! कहीँ पेशा र भावनामा नै बुचरको निर्दयिता सँगालेर अघि बढ्नेले मुलुकमा मूल्य, मान्यता र थितिबिति मिलाउन दिन्छ ?
हाम्रो मुलुकको दुर्भाग्य मान्न पर्छ , २१ औँ शताब्दिको यो प्रविधिको चकाचौँधमा पनि हाम्रा मुलुकमा संसारकै अफाप विचार र राजनीतिको यति बिघ्न क्रेज बाँकि छ । कार्ल मार्क्सको कम्युनिज्मले मान्छेलाई लड्ने आक्रोश दिए पनि यो विचारका पछिल्ला कालिगरहरूले त आफ्नो सामर्थ्य केवल पूँजिवादको विरोध गर्दै जनता मच्चाउन र आँफू चरम पूँजिवादी विलाशितामा रमाउँदै मुलुकलाई रसातलमा पुर्‍याउन नै त लगाए । देश गरीबीको रसातलमा पुगे, टुक्रा टुक्रा भए र अनि त्यही निन्दनीय पूँजिवादी वैशाखीमा खूट्टा टेक्ने भएर उठ्न सकेका त हुन नि चाहे त्यो रसिया का १५ टुक्रा हुन , बाल्कन मुलुक हुन वा अरू । पश्चिमी पूँजिवादको बजारवादी शैलि अपनाएर सत्तामा अकण्टक कम्युनिष्टहरूको नियन्त्रणले विशाल जनसंख्यालाई नियन्त्रण गरेर मात्र त अहिलेको चीन चीन हुन सकेको हो । नत्र जनवादी गणतन्त्रका मोडेल भनाउँदा उत्तर कोरिया र क्यूबालाई हेर्‍यो भने बाबु पछि छोरा वा दाइ पछि भाइको गणतनत्रवादको हरिविजोग जगजाहेर छँदैछ क्यारे ! खानका लागि अन्न नहने तर अरू छिमेकी मुलुकका जनता अपहरण गरेर सरकार समेतलाई तिनेका भरमा ब्लयाकमेलिङ गरी " दाना जुटाउने" उत्तर कोरियन मोडेलको युटोपियन जनवादको कट्टु झरेको कथा संसारलाई थाहा नै छ क्यारे !
तैपनि नेपाल नामको यो बुद्दको मुलुकमा यो हिंस्रक अनि ज्यादतिमा फस्टिने भिड किन मौलाइ रा'छ ? नबुझिने पहेली बनेको छ । मुलुक त यो हरितन्नम पनि छैन , मान्छे परिश्रमी छन अनि राजनीतिक सुझबुझ पनि त्यति निम्छरो त हैन यहाँ ! छिमेकी मुलुक चिन र भारतका भित्री वस्तिमा रहेको अनि ठूला शहरहरूको दारूण गरीबी पनि नेपालमा छैन है भन्छन जान्ने बुझ्नेहरू । तर किन , लोकतन्त्रवादको अनुहारमा कम्युनिष्टनामी बिफरको भद्दा दागहरूले हाम्रो मुलुकको भाग्य यति कुरूप रूपमा खाएको छ ? किन मान्छेको उन्मुक्त विवेक , विचार , जीवन स्वतन्त्र रूपमा उद्घाटित हुनबाट सहसा उकुसमुकुस रोकिएको छ ?
मलाई त लाग्छ , संसारका सबै जसो मुलुकहरूका इतिहासमा कुनै न कुनै बेला दूर्दिन आएकै थिए, तर हाम्रो पालो असाध्यै गलत समयमा आयो । संसार डिजिटल, साइबर भन्दा पर अनतरिक्ष युगमा प्रवेश गर्‍यो , तर हामी १८४८ को पुस्तक पढेर १९१७ लेख्न खोजिरहेका छौँ । यसरि , समयको रथलाई उल्टो दिशामा घुमाउन कस्सिने मुर्खको अधोगति नभए कस्को हुने त ?

4 Comments:

gorkhkali_thitto said...

It seems everyone is against maoist. Then why are they second largest party in the government. Something is going wrong. Probably we need an assembly with voted members not just a bunch of loosers from jungle with 303!

nepalean said...

अब यि सित्तैमा खान पल्केका माओबादी काम गरेर खलान त ? यिनीहरुलाइ बोल्न बाहेक केही गर्न आउदैन। भालुकै कम्पट भए यिनीहरु त । माधब नेपालले अस्ती भनेका थिए, माओबादीलाइ जे दिए पनि पुग्दैन । ल भोली नै गणतन्त्र घोषणा गरे पनि यिनीहरुको चाला उस्तै हो क्यारे ।

Anonymous said...

yo aijeru bhaneko k ho? I have only heard aiselu, a kind of berry found in the jungle.

brilliantman71 said...

मार्क्स र एङेल्सबाट साम्यबादी बिचार को प्रतिपादन जुन बेला भयो, यसको जरुर महत्व थियो त्यतिबेला। यसले शोषित पीडितहरुलाई आफ्नो अधिकारको लागि लड्न सिकायो। सामन्तबादको जरो हल्लियो र पूंजीबादीहरुलाई रुपान्तर हुन वाध्य बनायो। तर साम्यबादीहरु आफू भने जडको रुपमा रही रहे र सिद्धिए। चिन भने बदलिदो स्थितिलाई आत्मसात गर्दै टिक्ने प्रयास गर्दैछ।
पूंजीबादीहरुले जती पनि सामाजिक आर्थिक सुधार गरे, त्यो साम्यवादबाट प्रभावित थिएन भन्न सकिन्न। मानिसलाई गांस,बास, कपास, शिक्षा, रोजगार, स्वास्थ्यसेवा चाहिन्छ, त्यो मूख्य कुरो हो, बाद भन्ने कुरो मुख्य होइन।साम्यबादीले सिद्धान्तमा फलाकेको कुरा पूंजीबादले मलाई ब्यबहारमा नै दिन्छ भने मलाई किन साम्यवादको पछी कुद्न पर्‍यो र?
पास्चत्य मूलुकमा साम्यबादीहरु को अवसान पूंजीबादीहरुको आर्थिक सुधारको कारणले भएको हो। तर हाम्रो देशमा त्यस्तो कहाँ भएको छ र? पूंजीबादी अर्थतंत्रको वकालत गर्ने पार्टीहरुले सामान्तीहरुको संरक्षण गरेको छ। भ्रस्टाचारीको पार्टीहरुमा हालीमुहाली छ। मैले जसको हलो जोतेको छु, त्यो मान्छे कांग्रेस, रा.प्र.पा वा एमालेमा छ भने म जरूर माओबादीतिर लाग्छु होला।
कोही बुझेर लागेका छन, कोही लहै लहैमा। मेरो गाउंमा एुटा केटो थियो, सेनामा भर्ना हुन खुब कोशीस गर्‍यो, सधैं फेल। प्रहरीमा भर्ना हुन खोज्यो सफल भएन। माओबादीमा त फेल हुने कुरै भएन, उ माओबादीमा पस्यो। अब तपाईं दोष कसलाई दिनुहुन्छ?यसरी माओबादीहरु झांगिदै गए।
पंचायती शासनमा त सुख भएन, भएन, प्रजातंत्र मा पनि जनताको अवस्था उस्तै छ।तर नेताहरुको स्थिति भने कायपलट भएको छ। भूमीगत अवस्थामा धनी कमरेडहरुको लुगा मागेर लगाउनेहरुको अहिले राजधानीमा भव्य भवन छ, सवारी साधन छ।
सामान्य शिक्षकबाट राजनीतिमा छिरी मन्त्री भएकाहरु अहिले धनाढ्या भएका छन। भ्रस्टाचारको आरोपमा मुद्धा लागेपनि बिशेष अदालतबाट सफाई पाएका छन। अनि किन माओबादी बढ्दैनन्?

प्रजातंत्र वा लोकतंत्रको ठेक्का-पट्टा हामीले पाएका हौं भनेर दाबी गर्ने पार्टीहरु सुध्रिन पर्यो, भ्रस्टचारीहरुलाई नेत्रित्वबाट हटाउन पर्यो, प्रजातंत्रको वास्तविक फल जनता माझ पुर्याउन पर्यो, अनि माओबादीहरु आफै हराउने छन जसरी सुर्योदयको साथ्-साथै अन्धकार हराएर जान्छ। हामीले उज्यालोलाई आफैले छोपेर राखेका छौं तर अन्धकार बढेकोमा पीर पनि गरिरहेका छौं।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !