October 20, 2007

आफ्नै कथा

ठरकी धेरै पछी घर जाने तरखरमा थीयो । धेरै पछि घर गए पछी एक दुई हप्ता पनि नबसी के आउनु भनी ऊ के लाने के नलाने भन्दै सामानको लिष्ट बनाउन थाल्यो ।

उसले एकचोटी चारैतीर हेर्‍यो, उसलाई आफ्नो कोठामा भएको सबै कुरा आवश्‍यक लाग्यो अनी दुई कोठा सामानलाई कसरी दुई वटा सुटकेशमा अटाउने भनेर सोच्न थाल्यो । उसको नजर फेरी आफ्नो टेबुलमा राखेको "ईकोनमी क्लासको" ठिकट तर्फ पुग्यो। एयरपोर्ट र एयरलाईन्स का कर्मचारीलाई जे जसो भने पनि दुई वटा टीकट बाट उसले कुनै पनि हालतमा ४५ किलो भन्दा बढी सामान लान पाउने स्थीति थिएन ।

जा! बरु यो किताब कापी चाही केहि लान्न, त्यसै त घर जान लागेको त्यसमाथी पनि दशैको बेलामा यत्रा बिधि किताब कापी लगेर के गर्ने ? उसले आफ्नो किताब कापिलाई "प्याकिङ लिष्ट" बाट हटायो ।

तर खै त ? सामान त अझै निक्कै छ नी त ! यो २-४ किताब कापी हटाएर केहि भएन । अबको पालो उस्को नजर आफ्नो बुढीको लुगा फाटामा गयो " हैन तीमी घर गए पछी नफर्कने हो कि के हो किन सबै लुगा फाटा लिएर जादैँ छौ ?"

" कहाँ सबै हाल्नु ….. चाड बाडमा जान लागेको १,२ जोर लुगा त हाल्नै पर्‍यो नि बरु हजुर कै त्यो दुई दुई जोर सुट किन लान लागेको हो …. यसै त यता उता हिडदां मैलिन्छ त्यसमाथि पनि दशैंको टिका लाग्यो भने फेरि "ड्राई क्लिन" गराउनु पर्छ " बुढीले उल्टै आफै माथी आक्रमण गरे पछि ठरकी उल्टो सुटकेशबाट आफ्नै सुट निकाल्न बाध्य भयो, त्यसो त बिबादकै क्रममा ठरकिले पनि बुढिको दुई जोर सारी र यौटा स्वेटर पनि निकाल्यो।

त्यसो त ठरकिले ब्यागमा हाल्न तयार गरेको सामानमा बुढिको अरु पनि निक्कै अनावश्यक चीजहरु देखेको थियो तर फेरी त्यो "ईस्यू" उठाउँदा पून: आफ्नो सर्ट पाईन्ट पनि निकाल्नु पर्ने संभाव्य खतराले ठरकी चुप बस्यो ।

घरको बिबाद साम्य पारेर, दुई कोठा सामानलाई दुई सुटकेशमा 'कम्प्रेस" गर्न नसके पनि एयरलाईनसलाई बढी सरचार्ज नतिरी तोकिएको तौल भित्रै आफ्नो आधारभूत सामानलाई संकुचन गर्न ठरकी सफल मात्रै के भएको थीयो उसको कोठाको तारवाला र खल्तीको बेतारको दूरभाष एकै चोटी बज्न थाले । कुनै अनिशचित शंकाका साथ ठरकीले तारवाला लाई मतलव नगरी बेतारको साधन उठायो "हेलो !"

"…..ठरकी बाबु ! तपाई नेपाल जादैँ हुनुहुन्छ रे ?" उताबाट प्रश्‍न सोधे भन्दा "कन्फर्मेशन" माग्ने शैलीको आवाज आयो, ठरकी ले "हो" "होईन" केहि भन्न पाएकै थिएन "….हेर्नुस न मेरो यौटा सानो सामान थ्यो…" उताबाट अनुरोधात्मक आदेश आयो " ….दशैंको बेलामा लगिदिनु भए….." ठरकीको शंका सहि निक्लियो आफ्नै सामानको अदिकतम कटौति गरेर अति मितव्ययी यात्राको तरखरमा लागेको ठरकिले पनि "हुन्छ" वा "हुदैन" नभनि "हेरौंला नी !" भन्दै पहिलो कलबाट छुटकारा पायो ।

"हैन तिमिले हामी नेपाल जान लागेको कुरा सबैलाई भन्न भ्याई सक्यौकी के हो ? " अबको पालो आफ्नो बुढि माथी शंका जताउँदै ठरकीले प्रश्‍न गर्‍यो । "मैले किन भन्दै हिडंथेँ बरु तिमिलेनै आफ्ना नानाथरीका ब्लगबाट बिज्ञापन गर्‍यौ होला नी!...." बुढिले पनि आफ्नो स्पष्टिकरण संगै प्रत्यारोप गरीन"

एक पछि अर्को गर्दै "शुभकामना" को बहानामा DHL, UPS र अन्य कुरिएरको निशुल्क बिकल्पको रुपमा आफूलाई प्रयोग गर्न खोज्नेहरुको अनगिन्ती फोन आउन थालेपछि मात्रै ठरकीलाई यो कुराको ज्ञान भयो कि यो बिरानो भनिने देशमा पनि उसलाई चिन्ने र उसका नजिकका धेरै मानिस रहेछन ।

श्रीमतीको लागी मेकअप किट र स्याम्पु देखी बुढी आमाको ढाडको रोगको लागि मेडिकेटेड बेल्ट सम्म र सालीको लागी फेन्सी ड्रेस अनि कुनै नवजात शिशुकोलागी ईलोकट्रोनीक सेन्सरयुक्त डाईपर सम्मको अनुरोध र आदेस आए पछी ठरकी कींकर्तव्यबिमुढ भयो । सहयोग नै गरौं भने पनि कसलाई "ल" भन्ने कसलाई "नाई" भन्ने ।

एक मनले त सोच्यो आ ! होस आर्को सालाँ जाउँला नेपाल, तर गृह मन्त्रीको अगाडि केही चलेन ठरकीको। "हैन नजानु नै थियो त किन घराँ सबैलाई आउँछु भनेको त ?, याँ आफ्नो पनि जाने भन्ने मन भैसक्यो ….फेरि यसपाला नगए यस्तो सबैको अनूकूल कहिले आउँछ"

"अब के गर्ने त हेर ! औषधी लगिदे भन्नेको औषधी पनि के नलगिदिनु, औषधी लगिदिएपछि "बेल्ट" पनि लानै पर्‍यो, बेल्ट लगेपछि लुगा र लुगा लगेपछि स्याम्पू । "हैन बुढा ! लान्न भन्न मिल्दैन र भन्या….बुढीले कडक जबाफ दिई ।…… पोहर साल पनि जाने भन्दा भन्दै कुरा मिलेन, आर्को साल मेरो छुट्टी मिल्दैन …."

यता बुढा बुढीको गन्थन जारी थियो भने उता टेबुल माथिको तारवाला र खल्ती भीत्रको बेतार आ-आफ्नै धुनमा बजेका बजै थिए । "ठरकी दादा!" , "ठरकी भाई!!" "ठरकी बाबु!!—यत्ती मात्रै है" फोनबाट अझै भिन्न भिन्न भाकामा भीन्न भीन्न चिजको हल्कारा बनाउने प्रयाश जारी थियो।

"…. परार साल जान ठिक्क पर्दा सुतक लागेको खबर आएर जाने प्रोग्राम क्यान्सील गरियो…" बुढि भने अझै फतफताउँदैं थीई ।

बुढीको अन्तिंम वाक्यले ठरकीको मुहारमा चमक थप्यो, भर्खर सम्म "हेरौलां", "खबर गरौला नी" भन्दै आएको ठरकीलाई बुद्धत्व प्राप्त भएझै भयो । "आई लभ यू बुढी !" ठरकी ले बुढिलाई टाडै बाट प्रेम दर्शायो । भर्खर सम्म हकार्दै आएको बुढो एक्कासी खुशी भई रोमान्टिक भएको देखी बुढी पनि छक्क परी।

"ट्रिङ ट्रिङ ट्रिङ " टेबुल माथीको फोनले पून ठरकीलाई बोलायो "ठरकी दाई! तपाई दशै ताका नेपाल जउनु हुदैंछ रे हो …..?" उताबाट यौटा परिचित आबाजले समर्थनको ऊत्तर खोज्दै थियो " हेर्नुस न मेरो बुबाकोलागी यौटा …."

"जाने भनेको त हो के गर्ने …." ठरकीले बिचैमा कुरा टुङ्यायो "….. के गर्ने हिजो मात्रै घरबाट सुतक परेकोले यसपाला टिका नहुने खबर आयो …… अब टिका लगाउन नमिले पछि के को लागी जाने भनेर मैले त टिकट क्यान्सील गरें …..'
"ओहो …!" " ल ….त…." उताबाट "के?", "कस्को?" "कहिले?" भन्ने सामान्य औपचारीकता समेत पुरा नगरी फोन काटीयो ।

ठरकीले एकचोटी आफ्नो बुढी तर्फ नजर दौडायो… बुढीको अनुहारमा आश्‍चर्य र हर्ष मिस्रित अनौठो भाव देखीयो । " आई लभ यू टु ठरकी" बुढीले लजाउँदै ठरकीलाई अंगलो हाली ठरकी ठुलो बोझ बिसाएर बसेको जस्तै हल्का महशुस गर्न थाल्यो।


3 Comments:

nepalean said...

ल ठरकी घर जान लागेको ? मेरो पनि एउटा टिभी लगिदेउन, ह्वा हजुरबाले टिभी हेर्न सारै मन गरेका छन। म नि अर्को साल नेपाल जाने, ठरकी कै ताल हुने भो। दशै भए पो शुतक, अब मंग्सिर पुषमा के को सुतक ? केही आइडिया छैन ठरकी?

Anonymous said...

Practical Problem. I have faced this a lot of times. nai bhanna sakinna, jahile pani overweight! Some people really dont understand others problem.

चना said...

सामान पठाउने र सामान लैजानेहरुको पीडा र कहानि थरिथरिका छन । ठरकिको सुतक आइडियाले काम अरो, तो सुन्न रमैलो लायो, तर दशैजस्तो बेलाँ नि सूतक लाओ भन्न पर्याभे मलै चै मनाँ नरमैलो लाउथो जसो लायो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !