December 24, 2009

गजल

पुष माघ तेस्तै भयो जेठ भए पनि तापिरहेछु
बारादान अभिसाप जान्दिन चुपचाप थापीरहेछु

अधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायो
उज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछु

फुकेका पेटका तर्किक निष्कर्ष कहिले निस्कन्छ
सुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछु

बाद प्रतिबाद घात प्रतिघात खेल्न सिकिदै छ
जिते पनि हारे पनि आँसु जित्ने खेल् अलापिरहेछु

मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायद
नचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु

December 22, 2009

नागरिक सर्वोच्चताका ३ दिन

हुन त नेपालमा जहिले पनि नागरिक सर्वोच्चता छ । जसले जसलाई कुटे पनि हुन्छ । सरकार, प्रशासन, नियम, कानुन आदि कार्यकर्ता देखि नेतासम्मका खेलौना हुन। सक्नेले जिल्लाको सिडिओ पिटे पनि हुन्छ, नसक्नेले चाहीं आंफै पिटाई खानु पर्छ । वास्तविक प्रजातन्त्र पनि यहि न हो, जसले भोट धेरै ल्याउंछ उसैले हाली मुहाली गर्छ ।

अस्ति देखि नेपाल बन्द थियो । सरकारमा हुदा अहिलेका बन्द आयोजकहरु आंफै बन्द नगर्ने संकल्प ल्याउने
प्रस्तावका पक्षपोषक थिए । नागरिक सर्वोच्चताको वकालत गरेको ढोंग रच्ने माओवादी नामको पार्टीले नागरिक सर्वोच्चताको लागि नै बन्द गरेको रे ।


December 21, 2009

परिष्कृत लेख लेख्‍ने ‘सिकारु’ !

Surya Sikaru दौँतरीको नियमीत स्तम्भ ब्लगभित्र ब्लगमा हामीले नयाँ तथा पुराना नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्दै आएको यहाँहरुमा बिधितै छ । त्यसै क्रममा आज हामीले निम्त्याएका छौं परिष्कृत रचना लेख्‍ने तर नाम ‘सिकारु’ राख्‍नु हुने नेपाली ब्लग जगतमा परिचित अर्का मित्र सुर्य न्यौपानेज्यूलाई । ल लागौं त उनै सुर्य “सिकारु” संगको कुराकानीमा :

ब्लग तर्फ आकर्षण कसरी बढ्यो र कहिले देखी ब्लगीङ सुरु गर्नु भयो ?

साथी भाईहरुको रचना पढेर जागेका उत्प्रेरणा र तपाइँहरुजस्ता पृथक ब्लगरहरुको मार्गदर्शन गर्ने बाटोलाई समाएर मनमा जागेका भावना र तरंगहरुलाई बिसाउने चौतारीको रुपमा यसलाई पाएँ। शुरु-शुरुमा त ब्लग लेख्ने कुनै औपचारिक योजना थिएन कसैको बिचार र बन्धन बाट बिचलित नभै आफ्नै स्वतन्त्र बिचारमा विचरण गर्न पाइने र धेरै कुरा सिक्न पनि पाइने हुनाले करिब एक बर्ष पहिले मैले ब्लग लेख्न शुरु गरेको हुँ ।

तपाईका गजल र अन्य रचना पढ्दा त निकै परिष्कृत लाग्छन, तर यो 'सिकारु' नाम चाही किन र कसरी जुर्‍यो ?

रमाइलो प्रश्न ! सर्वप्रथम धन्यबाद दौँतरीलाई ! मेरा रचना र भावना प्रति नजर राखीदिनुभएकोमा । सिकारु उपनामको लहरो काँहा र कसरि उत्पन्न भयो भन्ने कुरा मैले मेरो केहि अघिको बार्षिक उत्सवको पोस्ट सिकारु बर्षदिनमा गोरेटो र ब्लगरहरु मा पनि प्रस्तुत गरेको छु तैपनि छोटकरीमा जवाफ दिनु पर्दा अतितको पराजयलाई हतियार बनाएर बर्तमानलाई सरल र सवल ढंगले परिचालन गर्न अनि बिगतको अनभिज्ञतामा जन्मेको मानसिक पीडालाई राहत प्रदान गर्दै बर्तमानमा रमाउन सिकारुको श्री गणेश भयो । अर्को शब्दमा आफ्नो पक्षधरता र अनुकुलतामा बिचार प्रवाह गर्ने हरुले सत्य र सहि मार्गमा लाग्न प्रेरित गर्ने कुरालाई मनोगत चिन्तन बनाई सधै सानो र अबोध भएर साहित्यिक सर्जकहरुको माया बटुल्न सिकारु जन्मिएको हो ।

ब्लग लेखनबाट भएको तिता मिठा अनुभव के कस्ता छन ?

मैले ब्लग लेखनबाट सबैमाझ धेरै कुराहरुको मिठा अनुभव प्राप्त गरेको छु । सामान्य देखि लिएर पृथक साहित्यप्रेमीहरुसंग भलाकुसारी गर्ने अवसर पनि प्राप्त भएको छ । लाग्छ, म पनि अब नेपाली ब्लगरको बृहत संजालभित्र बाँचिरहेको छु । तिक्तता भने खासै केहि छैन बेलाबखत केहि मित्रहरुले आफ्नै साथीभाइका लेख-रचना हरुलाई बिना सूचना अनुकरण गर्दा भने (मेरो त भेटेको छैन ) अलि नरमाइलो लाग्छ ।

"विद्युतिय साईनो" कस्तो चल्दै छ ?

हा.. हा.. हा.. हा.. विद्युतिय साइनो त चलेकै छ बिस्तारै, तर पहिले जस्तो द्रुत गतिमा भने हिँडेको छैन । किनकी साइनो की पात्र दुर्घटनाको शिकार भएकी छन्। अब छिटै पुनर्मिलन सहितको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा छु पढन नछुटाउनु होला । हाम्रो पनि पनि विद्युतकै साइनो हो यो पनि सदा सदा बाँचिरहोस।

नेपाली ब्लग जगतको अबस्था कस्तो छ जस्तो लाग्छ?

नेपाली ब्लग जगतको सन्दर्भमा आजभोली एउटा आशालाग्दो बर्तमानमा सुनौलो भबिष्य देखेको छु मैले । ब्लगको संख्यात्मक वृद्धि भन्दा गुणात्मक पक्षमा ध्यान दिनु अत्यावस्यक छ । यसको जगेर्नामा दौतरीले बेला-बेलामा सामुहिक भेला गरेर ब्लग उठानमा परिवर्तन गर्ने जमर्को गरेको पनि छ । आशा गरौ, भबिष्य सृजनशील हुदै बर्तमान साक्षात्कर्मको भावनाद्वारा पाठक हरुमा रसमय आनन्द फैलाउदै आदर्शको यथेष्ट आकर्षण बढाउदै लैजाओस नेपाली ब्लगलाई ।

मन पर्ने विधा कुन हो र नयाँ पाठकले तपाईको ब्लग पढन खोजेमा कुन चाही पोस्टबाट पढ्न सुरु गर्न सल्लाह दिनु हुन्छ ?

खासगरी विधाको बारेमा कुरा गर्दा, बाल्य अवस्थामा त कविता नै बढी लेखिन्थ्यो । यसका अलावा निबन्ध, लघुकथा र दैनिकी पनि लेख्ने गर्थे । यीबाट धेरै पटक पुरस्कृत पनि भएको छु । आजकालको माहौलले गर्दा पनि होला गजल तर्फ पनि आकर्षण बढेको छ ।
लाग्न त आफ्नो सबै पोस्टको लागी आफ्नो उत्तिकै मेहनत परेको हुन्छ तैपनि नयाँ पाठकले मेरो ब्लग पढन खोजे गजल बाटै शुरु गर्ने सल्लाह दिदै सम्पूर्ण ब्लग एकपटक हेरिदिनुस भन्न चाहन्छु किनकी पाठकको सानो सुझावले मलाई निर्णायक बनाउन सक्छ।

 धेरै नेपालीहरु विदेशबाट ब्लगीङ गर्छन, विदेशनु र ब्लगीङ बीच केही सम्बन्ध देख्‍नुहुन्छ ?

हुँदा सस्तो र नहुँदा कस्तो भने जस्तै हो यो कुरा पनि । मानिसमा बढी मात्रामा माया मोह तब जाग्दो रहेछ जब उ मातृभूमि छोडेर विदेशको बन्धनित लक्ष्मण रेखाभित्र गुम्सन्छ । तिनै पीडा र ब्याथा बाट उत्पन्न भावना हरुलाई छताछुल्ल पारेर पोख्न सजिलो माध्यम बनेको छ ब्लग अहिले । अर्को कुरा बिदेशमा नेपाली खोज खबर को पहुँच पनि न्यून भएकोले होला बिदेशमा ब्लग लोकप्रिय हुन् पुगेको (मेरो बिचारमा )

आफ्नो र दौँतरी बाहेकका पाँचवटा उत्कृष्ट नेपाली ब्लगको नाम लिनु पर्दा कुन कुन ब्लगलाई सम्झनु हुन्छ?

हुन त नेपाली ब्लगरहरु प्रा:य (निरन्तरता पाइरहेका ब्लगरहरु )सबै राम्रो नै लाग्छ । सीमित साथीहरुको नाम लिदा अन्याय हुन्छ की ? । तैपनि जवाफमा भन्नु पर्दा कयाफे मंगलम, बिचार र अभिव्यक्ति, बसन्त गौतम को ब्लग, भोजपुरे ब्लगसाहित्य संसार मा प्राय: छिरिरहन्छु ।

तपाई रचनाहरु बसेर लेख्‍न थाल्नुहुन्छ कि फुरे पछि लेख्‍न बस्नुहुन्छ ?

रचना फुराउनको लागि निश्चित बेला त चाहिन्छ नै ! त्सैले मैले बिशेष गरि फूर्सदको बेला नै बसेर लेख्न सुरु गर्छु ताकी अरु काममा बाधा नपरोस ।

के विदेशिए पछि नेपालको बढि माया लाग्ने कुरा सहि हो ?

सहि हो मैले भोगेको भोगाइलाई हेर्दा ।

नेपाली ब्लगरहरुले भोगीरहेका मुख्य समस्या के हो? र यसको उत्थानको लागि के गर्न सकिएला?

सर्व प्रथम त एकता नै सबै भन्दा ठुलो कुरा हो जसलाई दौँतरीले मनन गरेर एक सूत्रमा बाँध्ने प्रयास पनि गरेको छ । जसमा दौँतरीलाई आभार प्रकट गर्न चाहन्छु । समस्याको कुरा गर्दा परिपक्व सामुहिक संयन्त्रमा नव आगमनलाई प्रोत्साहन गर्दै, प्रविधिलाई अझै सवाल बनाई सबैमाझ पुरयाउन आवश्यक छ । बिना सुचना कसैको प्रस्तुतिलाई नक्कल गर्ने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नु अर्को मुख्य कुरा हो ।

ब्लगले समाज वा देशलाई केही दिन सक्ला जस्तो लाग्छ

मेरो बिचारमा ब्लगले समाज वा देशलाई धेरै कुरा दिन सक्छ । कतिपय साथीहरुका ब्लग पढदा सामाजिक रुपान्तरणलाई नयाँ दिशा दिन सक्ने पृथक लेखहरु पनि छन । सामुहिक एक्यबद्धतालाई उजागर गर्दै नकारात्मक प्रवृतिमा खबरदारी र सकारात्मक प्रवृतिलाई उत्साहित गर्दै जाने हो भने पक्कै ब्लगरले समाज र देशमा सशक्त भूमिका खेल्न सक्छ ।

ब्लग र पत्रिकामा एउटै घटनाको बारेमा दुईथरी समाचार आए कुनचाही लाई विश्वास गर्नु हुन्छ?, किन?

त्यो त आफू -आफूमा भर पर्ने कुरा नै हो । मलाई पत्रिकाको जोहो गर्नु भन्दा ब्लगमै हेर्न रमाइलो लाग्छ किनकी बानि नै भै सक्यो ब्लग पढने ।

दौँतरीलाई सुधार गर्न के गर्नु पर्ला ? के कस्ता खुराकहरुको दौँतरीमा अभाव देख्‍नुहुन्छ?

दौँतरीको बारेमा खासै सुधार गर्नु पर्ने नयाँ कुरा मैले देखेक छैन । मलाई लाग्छ छोटो समयमा दौतरीले ठुलो सामुहिक संयन्त्र बनाउन सफल भएको छ । सम्पूर्ण बिधाहरुको पक्षमा शसक्त भएर उभिनु नै यसको सवल पक्ष हो । समय संगै बगेर नयाँ सोच र नयाँ खोजमा अनन्त सम्म बाँचिरहोस दौतरी मेरो शुभकामना !

हामीले छुटाएको तर तपाईले भन्न चाहनु भएको केहि कुरा छन कि ?

मेरो कुरा यो छ की दौँतरीलई सफल बनाउन लागि पर्नुहुने सम्पूर्ण सदस्य हरु प्रति सफलताको शुभकामना ब्लग तथा बक्तिगत जीवनप्रति पनि । ब्लगर भेला संगै समेटिएका प्रत्येक ब्लगका बुझाई र लेखाईहरु को क्रियाकलापलाई ठिक ढंगले समन्वित गर्दै अगाडी बढेमा पक्कै पनि ब्लग जगतलाई निर्द्दिष्ट लक्षमा पुरयाउन दौतरीले नयाँ र पुराना पिंढीका लागि अर्थपूर्ण अवसर ,साहस र उत्प्रेरणा प्रदान गर्दै, अन्धबिस्वासका खोटा बिचारहरुलाई विस्थापित गरि युगानुकुल नयाँ बिचारमा विचरण गर्न प्रतिबिम्बित गर्नेछ । यो यात्राले हामी सबैको गरिमालाई माथि पुरयाई समयमै नव प्रतिभा,सर्जक, अन्वेषक तथा बौद्धिक व्यक्तित्वहरुको अनुभव र दैनान्दिनीलाई लिपिबद्ध गर्न यथेष्ट सहयोग गर्नेछ ।

साथै ब्लग भित्र ब्लगमा सहभागी हुने अवसर दिनुभएकोमा तपाइहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबैलाई दौँतरीमा सहभागी हुन आग्रह पनि गर्न चाहन्छु ।

सुर्य जीको ब्लग: सिकारुको गोरेटोमा



December 19, 2009

हामी जुधेर नासिने कि मिलेर सबल हुने?

अहिले देश नागरिक सर्बोच्चता चाहने र “नचाहने” दुई कित्तामा बिभक्त छ। माओबादीको नजरमा राष्ट्रपतिबाट सेनापति प्रकरणमा नागरिक सर्बोच्चताको हरण भयो। गैरमाओबादीहरुको नजरमा राष्ट्रपतिबाट नागरिक सर्बोच्चताको संरक्षण भएकोछ। अलग अलग रंगको चस्मा लगाएर हेर्दा अलग अलग देखिने नै भयो। संबैधानिक रुपमा हेर्दा कार्यकारी अधिकार नभएको राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिश लत्याउन नहुने हो। त्यसो भनेर फेरि सेनापति हटाउने प्रधानमन्त्रीको निर्णय पनि परिपक्व भने पक्कै थिएन। सत्ता साझेदार दलहरुले सेनापति हटाउने निर्णयमा औपचारिकरुपमै असहमति ब्यक्त गरेपछि र मुख्य साझेदार एमालेका मन्त्रीहरुले राजीनामा नै बुझाई सकेपछि माओबादी एक्लै अघि बढ्न नहुने हो। यो श्थितिमा प्रधानमन्त्रीले सेनापति हटाउने नैतिक आधार भने गुमाइसकेका थिए। तर सहमतिबाट चल्ने कुरोलाई गौण मान्ने हो भने प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीलाई त्यस्तो निर्णय गर्ने अधिकार जरुर हुन्छ।

यहाँ मुख्य कुरा, के जायज के नाजायज, के संबैधानिक र के असंबैधानिक भन्दा पनि एक अर्काप्रतिको अबिश्वासको कारणले समस्या भईरहेकोछ। एक अर्का प्रतिको इमान्दारिताको कमीले देश बरबादीतिर गईरहेकोछ। माओबादीहरुले आफ्ना वास्तविक लडाकु सेनालाई वाईसीयल संरचनामा परिवर्तन गरी बाहिर राखेर नया रिक्रुटहरुलाई शिविरमा राखेको भन्ने आरोप छ। हतियार पनि जम्मा तीन हजार चानचुन देखाएको छ। दश बर्षे युद्धमा सरकारी सेनालाई हायल कायल पार्ने माओबादीसेनासंग जम्मा तीन हजार मात्र हतियार थियो भन्ने कुरो अविश्वसनियनै हो। शक्तिखोर टेपले झन माओबादीहरुको नियतलाई शंकाको घेरामा पुर्याएकोछ।

अर्को तर्फ नया भर्ती नखोल्न सरकारले दिएको आदेशलाई सेनाले लत्याउनु, सेनापति कटुवाल ठाउ कुठाउ भाषण गर्दे हिँड्नु, रक्षामन्त्री राम बहादुर थापालाई नै ब्यारेक निरिक्षण गर्ने नदिनु जस्ता कुराहरुले माओबादीहरु कटुवालसँग असन्तुष्ट हुनु बुझ्ने कुरा हो। शान्ति सम्झौतामा दुबै पक्षले नया सेना भर्ती नगर्ने भन्ने कुरा उल्लेख हुँदा हुँदै “ नया होइन, पुरानो खाली भएको पदमात्र पूर्ती गर्न लागेको” भन्ने आफुखुशी ब्याख्या गरी सेना भर्ना खोल्नु पनि बेइमानी नै हो। देशमा कुनै युद्ध हुन लागेको थिएन; सरकारसंग बिमती राख्दे भर्ना खोल्नु पर्ने कुनै हत्तारो थिएन। ती दुई चार सय सेनाको भर्ती नखोल्दा के नै बिग्रिहाल्थ्यो र? माओबादीहरुले पनि आफ्नो सेनालाई बैकल्पिक रोजगार, अद्यौगिक सुरक्षा बल वा अन्य यस्तै बिकल्पतिर लानु भन्दा एकमुष्ट नेपाली सेनामा समायोजन गर्ने खोज्नाले पनि शंका त उब्जाइहाल्छ। एउटा राजनैतिक बिचारधाराद्वारा प्रशिक्षित दिक्षीत ब्यक्तिहरु राष्ट्रिय सेनामा सामुहिकरुपमा प्रवेश गराउँदा भोली तराइका कोब्रा, टाईगर, भाइरस किलर्स सबैले त्यहि माग राख्न सक्छन्। माओबादीले त्यो मान्न सक्छन्? मधेशीवादी दलहरुले पनि सेनामा समुहगत प्रबेश खोजिरहेकाछन्। यदि माओबादी राष्ट्रिय राजनीतिको मुलधारमा आउने हो, लोकतान्त्रिक हुने हो र आफ्नो अधिनायकबाद लाद्ने ऊद्धेश्य होईन भने किन चाहियो आफ्नो सेनाको समुहगत प्रवेश यहां दुबैको नियत स्पष्ट छैन। एकले अर्कालाई कसरी हुन्छ, सिध्याउने भन्ने भित्रि मनसायले काम गरिरहेकोछ। माओबादी नागरिक सर्बोच्चताको नाममा आफ्नो पार्टीको सर्बोच्चता कायम गर्न चाहन्छन् भने माओबादी इत्तर पार्टीहरु त्यो रोक्न चाहन्छन्।

नागरिक सर्बोच्चता भन्ने तर प्रधानमन्त्री पद किस्तिमा लिएर प्रचण्ड कहिले उपेन्द्र यादवकोमा पुग्छन् त कहिले झलनाथकोमा। कहिले रामचन्द्रको त कहिले सुजाताकोमा। के माधव नेपाललाई हटाउनु नै नागरिक सर्बोच्चता हो त? रामवरण यादवलाई हटाएर गिरिजाप्रसादलाई राष्ट्रपति बनाउदा पनि नागरिक सर्बोच्चता हुन्छ त? माधव नेपालको सरकार हटाएपछि आफ्नो नेत्तृत्वमा सरकार बनाउन माओबादीसंग बहुमत छ त? त्यस्को लागि फेरि काँग्रेस वा एमालेको समर्थन त चाहियो नै होइन र? तर अहिले माओबादीहरु रामवरण वा माधव नेपालको राजीनामाबाट ओर्लिएर सेनापति प्रकरणमा राष्ट्रपतिबाट गल्ती भएको कुरा राष्ट्रपतिलाई स्वीकार गर्न लगाउन वा कुनै तरिकाबाट उनीहरुको मागलाई सम्बोधन गरिएको वाक्यांश सहमतीमा पार्न कोशीस गरिरहेकाछन् जसलाइ एमाले र कांग्रेसले प्रतीष्ठाको वा त्यो भन्दा पनि अभिमानको बिषय बनाईरेकाछन्। सहमतीका हरेक खेस्राहरु “भाषा नमिले”का कारणले अस्विकृत भईरहेकाछन् र देश झन झन गम्भीर संकटतिर बढिरहेको छ। भाषणहरुमा “तीन दलहरु बिच सहमतीको कुनै बिकल्प छैन “ भन्छन् तर त्यो सहमती भनेको आफुले भनेको अर्काले माने मात्र हुन्छ, नत्र हुँदैन।

जातीयताको आधारमा देशमा गणराज्यहरु निर्माण भइरहेकाछन्। मन्त्रीका गाडीहरु फुटिरहेका छन्। यी पार्टीका वर्गीय संगठनहरु जिल्ला जिल्लामा लडिरहेकाछन्। एकले अर्काको रगत बगाइरहेकाछन् र एकले अर्काको आक्रमणको बिरोधमा बन्द आह्वान गरेर सर्बसाधारणहरुलाई दु:ख पनि दिइरहेकाछन्। पसल, सवारी साधन, विद्यालय, कलकारखाना बन्द गरेर मानिसहरुको मानव अधिकार, स्वतन्त्रतामा दखल पुर्याएर यी शर्महीनहरु आफ्नो कार्यक्रम “अदभुत” सफल भएको गर्व गर्छन्। देशबाट रोजगार, शिक्षाको नाममा युवा शक्ति पलाएन भइरहेकोछ। पूंजी पलाएन भइरहेकोछ। शान्ती सुरक्षाको श्थिति भयावह भइरहेकोछ। बिदेशी हस्तक्षेप बढ्दोछ। यो कुराको हेक्का न सरकार पक्षलाई छ, न माओबादीहरुलाई। देश एउटा असफल राष्ट्र हुन लागिरहेकोछ। तर यी नेताहरु आ-आफ्ना अभिमानमा देशलाई बन्धक बनाइरहेका छन्। शाब्दीक जालमा देशलाई अल्झाईरहेकाछन्। प्रधानमन्त्री लज्जाहिन भएर मेरो सरकारलाई भारत र चीन दुबैको समर्थन छ भनेर भन्दैछन्। यसरी बिदेशीको समर्थनमा फुरुंग हुन सुहाउने कुरो हो? देशमा युद्ध चर्किदै जाने हो भने भोली यहाँ त्यही चिनीया र भारतीय ट्यांकहरु नेपालमा गुड्न थाल्नेछन्। देश सिक्किम वा तिब्बत नै बन्न पुग्नेछ। देश नै गुमे पछि न माओबादी वा न कांग्रेस वा एमाले रहनेछन्।

माओबादीहरु सहि हुन या गलत तर देशको एउटा वास्तबिकताको पाटो त हुन्। कि उनीहरुलाई निमिट्यान्न पार्न सक्न पर्यो। गिरिजा, शेर बहादुर, ज्ञानेन्द्रहरुले प्रयास गरेकै हुन् तर सकेनन्। माधव कुमार नेपाल आफैले सिलिगुढी देखि पटना धाएर माओबादीहरुलाई राजनीतिको मूलधारमा ल्याउन प्रयास गरेको हुँ भन्छन्। गिरिजा बाबु मैले नै माओबादीलाई राजनीतिको मुलधारमा ल्याँए भन्नु हुन्छ भने अहिले किन हलो अड्किरहेको छ? किन शब्द चयनमा सहमती हुन सकिरहेको छैन? राष्ट्रपतिको प्रतिष्ठा ठूलो कि देशको अस्तित्वको? आ-आफ्नो पद र अभिमानसंग टाँसिएर देशलाई बर्बादीको दिशातिर उन्मुख गर्नु भन्दा माओबादीहरुसंग अधिकतम सौदावाजी गरेर, माओबादी सेनाको उचित ब्यबश्थापन(समायोजन होईन), राज्य संरचना, संबिधान निर्माण आदि कुरामा प्रजातन्त्रका मुलभुत कुराहरुमा उनीहरुको प्रतिबद्धता लिएर प्रधानमन्त्री वा राष्ट्रपति दुबैले राजीनामा दिंदा श्थिति साम्य हुन्छ भने त्यो पनि गर्नु पर्छ। माओबादीहरुले पनि जनगणतन्त्र, साम्यवाद जस्ता बिश्वबाट असफल सिद्ध भइसकेका प्रणालीलाई नेपालमा लागु गर्ने सपना छोडिदिए हुन्छ। अहिलेको यूग प्रजातन्त्रको युग हो। यूरोपेली, अमेरीकी, पूर्वी एशियाली राष्ट्रहरुले कसरी आर्थिक उन्नती गरे, त्यो अध्यन गर्नू, सिक्नू र नेपालमा लागू गर्नू। आफू भ्रष्ट नहुनू, भ्रष्टाचारलाई प्रश्रय नदिनू। कानूनी राज्यलाई ब्यबहारमा लागू गर्नू। दण्डहिनता निर्मुल गर्नू। देशको उत्पादकत्व कसरी बढ्छ; अधिकतम रोजगारी कसरी सिर्जना हुन्छ; शिक्षा, श्वास्थ्य जस्ता कुरामा सबैको पहुंच कसरी हुन्छ ; त्यो कुरा खोज्नू र लागू गर्नू। अनि किन चाहिन्छ, नानाथरीको वाद र बिचारधारा? स्विटजरल्याण्ड, नर्वे, अमेरिका जानु भएकै छ। त्यँहा माओको सिद्दान्तले प्रगति भएको पक्कै होइन, प्रचण्डज्यू।


December 16, 2009

नौलौ पानाको शुरवात !!


ए रीति भन्नेहरू

यो समाज भन्नेहरू

परंपरा मान्नेहरू

के दिन सक्छौ मेरा सपनालाई
जो गर्भमै तुहिन पुगे?
के दिन सक्छौ ती भ्रूणहरूलाई

जो सुन्दर संसारको लागि

गर्भाधान हुन आतुर थिए?

साँच्चै!
म तिनको हत्या गर्न चाहन्नँ
म मतियार हुन चाहन्नँ

कसैको उत्तेजना र रहरको चपेटामा

आफूलाई समाहित गर्न चाहन्नँ।


म राजी खुशीले

संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?

त्यो आँखाको आँसु
जसले गाजलै पखालेको थियो
म त्यस्को रंगबाट भविष्य श्रृजित गर्न चाहन्छु
आडम्बर र विश्वासघातले भरिपूर्ण
अमानुषिक प्रहारहरूप्रति चुनौति दिन चाहन्छु

के दिन सक्छौ मेरा ती अतितलाई?
जो मेरो भविश्यको मार्गदर्शक थिए

फिर्ता गर्न सक्छौ ती मेरा पदछापहरू?

जो नयाँ गन्तब्यमा प्रेरित थिए
हैन भने,
मेरो खुशीको हरेक पाटामा प्रश्नचिन्ह किन?
मेरो सफलताका मोडमा कर्तब्यको आहाल किन?
अड्चन किन?!!
के फिर्ता गर्न सक्छौ ती सबै अवसरहरू?


तिमी फेरी भन्छौ होला,

संस्कारले बाँध्छ
अब मलाई जवाफ चाहिएकोछ,
संस्कार बनाउने को?!
के नारी मात्रै परंपरा हो?
के नारी मात्रै संस्कार हो?!!


भयो, पुग्यो मलाई,
अब चुडाउन चाहन्छु म त्यस्ता परंपरा
जो मेरा हत्कडी हुन्
ऊखाल्न चाहन्छु ती चलनचल्तीहरू

जसले नेल भई मलाई बाँधेको छ
धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!

च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि
यो समयको माग हो
यो इतिहासको लागि नौलो पानाको शुरुवात हो !!


December 15, 2009

अनेसास यूएई च्याप्टरका अध्यक्ष बालचन्द्र पोख्रेलको बिदाई

गत हप्ता अनेसास यूएई च्याप्टरका संस्थापक अध्यक्ष बालचन्द्र पोख्रेललाई दुबईको नेपाली रेष्टुरेण्टमा एक समारोहका बिच अनेसास यूएई च्याप्टरले दोसल्ला ओडाई बिदाई गर्यो ।
कार्यरत कम्पनीले यूएईबाट अर्को देशमा सरुवा गरेको कारण उनी यूएई छोडी जान लागेका हुन् । नेपाल पत्रकार महासँघ सम्पर्क शाखा यूएई तथा विश्व पत्रकार साजालका संयोजक मोहम्मद जाकिर हुसैनको प्रमुख आथित्य तथा अनेसास यूएई च्याप्टरका का।वा अध्यक्ष पर्शुराम खरालको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रम संस्थाका महासचिव प्रकाश भट्राईले साचालन गरेका थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधी पत्रकार साहित्यकार तथा अन्य प्रवासी नेपालीहरुको उपस्थिति रहेको उक्त विदाई कार्यक्रममा एनआरएनए एन सि सिका प्रवक्ता तथा पत्रकार लोकनाथ सुवेदीले यूएईमा रहेका साहित्यिक संस्थाहरुलाई एक हुन अनुरोध गर्दै वालचन्द्र पोख्रेलको कार्यकालमा यूएईमा भएका साहित्यिक गतिविधीहरुको प्रशंसा गरेका थिए । संस्थागत रुपमा मात्र नभएर हामी ब्यक्तिगतमा पनि नजिकका साथीहरु थियौ । हामी एकै ठाउँमा नभए पनि विभिन्न ठाउँबाट विभिन्न तरिकाले नजिक हुन सक्छौ । संस्था स्थापना गर्न मात्र नभएर यसलाई अगाडी बढाउन संस्थाको प्रमुखको अति आवश्यक रहने छ । उहाँ यहाँबाट जुनसुकै ठाउँमा गए पनि यहाँको प्रगति होस् र यहाँ भन्दा पनि अझै प्रगतिहोस भनेका थिए । नेपाली समाज यूएईका महासचिव नारायण अधिकारीले विदाई आफैमा दुखद भएता पनि उहाँ यसबाट अर्को देशमा जाँदै हुनुहुन्छ दुवईमा उहाँले सस्था तथा सामाजिक कार्यमा जसरी लाग्नु भएको थियो अर्को देशमा पनि यसरीनै लाग्नको लागि अनुरोघ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसेनले आज हामी बालचन्द्र पोख्रेललाई विदाई गर्दै छौ । आज उहाँकै अगाडी उहाँले गरेका कार्यको प्रशंसा गर्न पाएका छौ । मैले बालचन्द्र पोख्रेलको ३ वटा कार्यको प्रशंसा गर्दै छु । पहिलो त यूएईमा पहिलो अन्तराष्टिृय स्तरको संस्था अनेसासको स्थापना काममा उहाँको पहल यॊ योगदान कसैले भुल्न सक्दैन । अर्को कुरा यूएईमा नेपाली पत्रकारितालाई समाचार मूलक पत्रकारिताको सूरुवात पहिलो पटक पि्रन्ट पाक्षिक पत्रिका देउरली पत्रिका निकालेर। अर्को कुरा अनलाईन पत्रिका नेपाल दुवई डट् कमको थालनी केही दिनकै फरकमा आएका दुई वटा अनलाईन पत्रिकामा नेपाल दुवई डट् कम अगाडी आएको थियो । सायद यो ३ कुरा यूएईमा बालचनद्र पोख्रेलले मात्र गरेका थिए । यस्तो ब्यक्तित्वोलाई यूएईबाट विदाई गर्दा दुख लागेको छ । कुनै पनि साथीहरुबाट कुनै गुनासाहरु भएमा यहीनै भुलेर जान भन्दै आगामी दिनहरुमा यि तिन कुराहरुमात्र नभएर अरु कुराहरु पनि यूएईलाई दिन अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथि जाकिर हुसैनले दोसल्ला तथा अनेसासका सल्लाहकार खेमनाथ पौडेलले फुलको माला पहिराई विदाई सम्मान गरिएको थियो भने अनेसास यूएई च्याप्टरले संस्थालाई अहिले सम्म पुराएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरेको थियो ।
विदाई कार्यक्रमको अन्त्यमा विदा हुँदै जान लागेका अनेसासका संस्थापक सभापति बालचन्द्र पोख्रेलले साथीहरुलाई छोडेर जान मन त नलागेको तर पनि स्वदेश फर्कनै पर्ने भएको बताए । आफुले यति करिव ४ बर्षको अवधिमा यति धेरै कार्य गरेको जस्तो अनुभव नभएको तर मलाई यतिका साथीहरुले यसरी सम्मान गरी माला लगाई दिदा यो माला यही राखी बसौ कि जस्तो भएको बताए । मैले यहाँबाट जाँदा तपाईहरु सबैको मायाँ छातीभीत्र लिएर जाँदैछु । जहाँ गए पनि जहाँ रहे पनि यो संस्था तथा तपाईहरु मेरो नजिक हुनुहुने छ । यो संस्था यो अवस्थामा ल्याउन म एक्लैको मात्र देन छैन । बुद्धिजीवी सल्लाहकार साथीहरु यस संस्थामा स्थापना काल देखीनै कार्यरत पदाधिकारीहरु यहाँ रहेका साहित्यिक ब्यक्तिहरु तथा केन्द्रका पदाधिकारीहरुको साथलेनै यो संस्था यहाँ सम्म पुगेको बताए । स्थापना कालदेखी अहिले सम्म यस साहित्यिक संस्थाले आयोजना गरेको कार्यक्रममा यहाँ स्थापना भएका संघसंस्थाहरुको सहयोग र प्रतिनिधीहरुको उपस्थिति रहि रहयो । अहिले सम्म यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रम लगायत विभिन्न विधाका साहित्यिक पुस्तकहरु प्रकाशन गर्न सफल भयो यो निरन्तर रहिरहोस भन्ने अनुरोघ गर्दै आफु यस देश छोडेर देश विदेशको जुनसुकै कुनामा गएता पनि जुनसुकै माध्ययमबाट पनि म यो संस्थालाई निरन्तर सहयोग गर्ने छु । यहाँ रहेका साथीहरुले आफु एक्लो भएको महसुस नगर्न अनुरोध गछु । पोख्रेलले यूएईमा रहदा साथीहरुसँग घुलमेल हुँदा तिता मिठा केही भएका होलान् तितालाई भुलेर मिठालाई मात्र सम्झन उपस्थित साथीहरुलाई भने ।
अनेसास यूएई च्याप्टरका कावा सभापति पर्शुराम खरालले विदाई सम्मानको अन्त्यमा अनेसास यूएई च्याप्टरले संस्थाको अभिभावक साथी निस्वार्थी एक योद्धालाई यहाँबाट हामीले विदाई गर्नु परेको छ । विदेशमा रहेर पनि पोख्रेलले नेपाली भाषा कला साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा पुराउनु भएको योगदान अति प्रशंसनिय छ । जहा रहेपनि उहाँबाट सल्लाह सुझाव पाउने आशामा हामी छौ । संस्थालाई जन्माउनु ठुलो कुरा होईन तर हुर्काउन बढाउन अती गाह्रो हुन्छ । यस सस्थालाई यहाँ सम्म ल्याउन उहाँले जुन ठुलो दुख भोग्नु भयो सायद हामीले त्यो दुख भोक्न त पर्दैन होला तर पनि हामीले यस अवस्थामा चुनौतिपूर्णनै लिनु पर्ने हुन्छ । उहाँले संस्थालाई दिनु भएको योगदान सदैव रहिरहने छ । संस्थालाई देखाउनु भएको बाटोमा हामी लाग्ने प्रतिवद्धता गर्दछौ उहाँको कार्यकालमा बाँकी रहेका कार्यहरु अवस्य हामीले पुरा गर्ने छौ भन्दै कार्यक्रम समाप्त गरिएको घोषणा गरिएका थिए ।