July 22, 2009

कमेन्टको उन्नत खेती !

शिव प्रकाश

वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ ।

वैजन्ती मप्रति ज्यादै कृतज्ञता र सन्निकटता देखाउँछे । थाह छैन, किन हो ? उसले एकदिन फोन गरेर भनी - 'म पनि एक्लै छु घुम्न आउनुस् न ।' आशय के हो- मैले कुन अर्थमा बुझ्छु, अरुले कुन अर्थमा बुझ्छन्, उसले कुन अर्थमा भनेकी हो ? त्यो आफ्नो ठाउँमा छ !

मैले 'हेरौं' मात्र भने । उसले अलि अप्ठ्यो मान्दै कुरालाई अर्कोतिर मोडी ! उ आफू पनि साहित्य सृजनाकर्मी हो र मेरो एउटा पाठक पनि ।

'एक दशक अगाडि जाने हो भने तपाइँ त नेपालमा स्थापित भै सकेको लेखक हो । बीचमा ग्याप हुनु भो फेरी अहिले इन्टरनेटले तपाइँलाई लेखनमा फर्कायो ।',उ भन्दैछे, म सुनिरहेछु ।

'हुन त तपाइँ समकालीन लेखनमा सकि्रय हुनुहुन्छ । तपाइँका कविताहरु वास्तविक छँटाका छन् कथाहरुले यौन, मनोविज्ञान र समाज तीनै कुरा अँगालेका छन् तर पनि यी श्रृजनाहरु डायनोसर हुन बेर छैन !'

मैले भने- 'कुरा बुझिन ।'

'मेरो मतलब तपाइँका कथा, कवितामा त्यति धेरै "कमेन्ट" छैनन् नि ! कस्ता कस्ता झूरका कति "कमेन्ट" आउँछन् !'

मैले भने- 'मतलब बुझिन !' थपेँ- 'कमेन्टसँग डायनोसरको के सम्वन्ध छ ?'

उसले भनि- 'कमेन्ट नै भएन भने त्यो रचना आफैंमा डायनोसर ठानिदैन र !'

मैले भने- 'यो मनोवैज्ञानिक आत्मरतित असरमात्र हो । मान्छेले मेरा कथा, कविता पढ्दैन् होला, मन पराउँदैनन् होला र त कमेन्ट लेख्दैनन् ! तर म सृजना लेखिरहन्छु ।'

उसले भनि- 'थोरैले मात्र पढेर र बुझेर कमेन्ट लेख्छन् । सबैले पढ्दा पनि पढ्दैनन् । पढ्ने-नपढ्ने, बुझ्ने-नबुझ्ने तपसीलका कुरा हुन् । तर कमेन्टका लागि कमेन्ट लेख्ने र "पपुल्यरिटी" बढाउने हो क्या ! शिर्षकै नहेरी ठोकीदिने - वाह ! क्या राम्रो रहेछ "कीप इट अप इत्यादी …" । अनि तिन्ले पनि आफ्नो मा त्यसैगरी खुइँखुइँती धस्काई दिन्छन् । अरुले हेर्दा ओहो ! कस्तो राम्रो होला कति धेरै "कमेन्ट" !’

मैले भने- "कमेन्टू" को यो उन्नत खेती गर्ने रहस्य मलाई थाह छैन !

बोस्टन, अमेरिका ।


15 Comments:

Zero Hour (जिरो आवर) said...

मलाई पनि मनमा लगेको कुरा हो यो । कमेन्ट नआउंदैमा मान्छेहरुले लेख पढेनन् भन्ने सोचाई कतिमा हुन सक्छ जुन बिल्कुलै गलत हो । कमेन्टको लागि लेख्ने लेखक र थपडि र तालीका लागि भाषण गर्ने नेतामा के नै फरक रह्यो र !

तातो बहसहरु वा बिचार आदान प्रदानका विषयहरुमा कमेन्टहरु पनि सहभागिताका सशक्त माध्यम हुन । तर साहित्य र कविताहरुमा "वाह, वाह ...." र "keep it up..." र केहि शुद्दा शुद्दी र विषयका प्रसंग बाहेक अन्य बहसका विषयहरु नहुन सक्छन र कतिपय सन्दर्भमा कमेन्टको तात्पर्य "ए, मैले पनि पढें है" भन्ने जनाउ दिने पनि हो ।

सहभागिता र कमेन्टहरु शिर्षक नहेरी कमेन्टका लागि कमेन्ट मात्र नभएर रचनात्मक र विचारात्मक भयो भने थोरै उत्कृष्ट कमेन्टले पनि वजन र अर्थ राख्छ । त्यसो भन्दैमा कमेन्ट हुनै हुदैन भन्ने हैन तपाइले भने जस्तै शिर्षक हेरेर कमेन्ट गर्ने धैर्य गर्यो भने राम्रो !

तर कतिपय अवस्थामा कमेन्ट लेख्नु पनि लेख लेख्ने जत्तिकै गार्हो कुरा हो ।

तर दौंतरीमा त त्यस्तो समस्या छैन है अहिलेसम्म !

Prajwol said...

निष्चय पनि कमेन्ट भनेको लेखकलाई हौसाउने एउटा ससक्त स्रोत हो, चाहे त्यो सकारात्मक होस या नकरात्मक । मेरो साहित्यमा त्यति दखल छैन, त्यसैले हत्पती साहित्यमा आंखा जांदैन । अरु कोही होलान जस्को साहित्य बाहेक अरु केही मा आंखा जांदैन । तर कमेन्ट को लागि रचना सिर्जना गर्नु भनेको मलाई बिल्कुल गलत लाग्छ, नत्र रचना र नेतागिरी मा के नै फरक भयो र ? Just my few cents :)

ठरकि दादा said...

मेरो आफ्नो अनुभव राख्‍ने हो भने कमेण्ट, लेखन कला वा लेखोटको गुणस्तर छुट्याउने मानक हो जस्तो मलाई लाग्दैन ।

कमेण्टले नै कुनै लेखलाई 'राम्रो' वा 'नराम्रो' भएको प्रमाणीत गर्ने हो भने कागजी-छापामा लेखीएका लेख त जत्ती अब्बल दर्जाका भए पनि "खत्तम' प्रमाणीत होलान नि:)

माथी जिरो आवरजी र प्रज्वलजीले एकदमै वास्तविक यथार्थको चित्रण गरीसक्नु भएको छ । कमेण्ट लेख्‍नु कहिलेकाही 'नैतिक जिम्मेबारी' समेत बन्ने गरेको कुरा एकजना साथीले हिजों मात्रै मसंग गर्दा म मस्त हाँसेको थिएँ।

कहीले जिम्मेबारी पुरा गर्न त कहीले मन नपरेको लेख्‍नेलाई तथानाम भन्न समेत प्रयोग हुने कमेण्टको म कुनै अर्थ देख्दिन । हो, कमेण्टले धेरैहदसम्म लेख्‍ने र पढने बीच कुनै तातो बिषयको बारेमा बिचार आदान प्रदान गर्न निक्कै मद्दत गर्छ तर यही लेखमा प्रयुक्त वाक्यांश उधृत गर्ने हो भने पनि "...कस्ता कस्ता झूरका कति "कमेन्ट" आउँछन् !' भन्ने वाक्यले नैतिक जिम्मेबरीका कारण आउने वा कहीलेकाही 'स्व-सृजीत'आउने कमेण्टको हल्कापनलाई देखाउँछ ।

दौँतरीकै कुरा गर्ने हो भने पनि यसमा कमेण्टको बर्षात कमै हुन्छन, (त्यसो त कसैलाई नैतिक जिम्मेबारी पनि छैन र तथानामलाई छुट पनि दिईदैंन:)। तर दिनमा लगभग ५०० जनाले यो ब्लग हेर्ने गरेको देखीन्छ । अब त्यो पढीने संख्यालाई कसरी मुल्यांकन गर्ने ? ।

अन्तमा कमेण्ट पनि तरुल र मह जस्तै हो खेती गरेर आएको भन्दा आफैं प्रकृतिमा उत्पन्न हुने (वन तरुल र जंगली मह)को एक डोज नै काफी हुन्छ :)

प्रबिण थापा said...

साच्चै कमेन्टले सिर्जनालाइ रसिलो बनाउन सहयोग गर्छ, सर्जकलाइ हौसला बढाउछ चाहे त्यो सकारात्मक होस वा नकारात्मक तर कति लेखहरु पढेर पनि कमेन्ट नलेख्ने मेरो पनि बानी छ र कमेन्ट नलेखिदैमा सर्जकका रचनाहरु मन पराइएनन भन्नु गलत बुझाई हो भन्ने लाग्छ।
Zero Hour जि ले भने जस्तै कतिपय अबस्थामा लेख लेख्न जति नै गार्हो हुन्छ कमेन्ट लेख्न पनि त्यसैले पनि कति पाठकहरुले लेख मन पराएर पनि कमेन्ट नलेख्ने गर्छन, फेरि धेरै अस्वभाबिक कमेन्टको थुप्रो भन्दा त बरु गहकिलो एउटै कमेन्टले सिर्जनालाइ उच्च स्तरमा पुर्याउछ जस्तो लाग्छ।

बास्तबिक कुरो त कुनै पनि सिर्जना कमेन्टको लागि लेखिदैन, यदि कमेन्टको लागि भनेर कसैले केहि लेख्छ भने त्यो सिर्जना होइन भन्छु म त।

बिप्लब said...

कमेन्टको नामै कमेन्ट गर्ने प्रबिर्तीसंग म पनि सहमत छैन।
अब लेख केही न केही हुन्छ तै पनि कमेन्ट वा क्या लेख्नुभयो । यस्तै यस्तै। मानौं जुन लेखमा पनि उनिहरुको कमेन्ट त्यही हुन्छ।
त्यस्तो कमेन्टले खोइ कस्को शोभा बढाउने हो कुन्नी, मैले त बुझेको छैन है ।
अन्तमा शिब प्रकाशको लेख लाइ मेरो सर्हाना छ है?

नेपालियन said...

कथा बिहान झुल्कियो। आफू मेलैमा। अब पढ्ने र कमेन्ट लेख्ने चाही सांझ मात्र जुर्छ। एक से एक हस्तीहरुले माथी कमेन्ट गरिसक्नु भएको रहेछ अब त मेरो कमेन्ट उही संख्या बढाउन या मैले पढें है भनेर जनाउ दिने खालको मात्र हुनजान्छ होला।

कमेन्टलाइ म अर्को भाषामा भन्छु है - प्रतिक्रिया। रेडियो र पत्रिकमा प्रतिक्रीया पठाउदा लेखको रस त कता पूगीसक्छ। ब्लगको रमाइलो नै त्यही हो, मन्चमा आफ्नो भावना दिने तर तुरुन्तै त्यसको रसस्वादनको अबस्था बुझ्ने। रस त रसै हो, रक्सी,पानी,जुस जे पनि रस नै हो तर त्यसका असर पनि फरक फरक हुन्छन। त्यही हो कमेन्ट। पढेर बुझेर लेखै अनुरुप कमेन्ट गर्नु निकै गार्हो काम हो र त्यो एक मानेमा लेख जत्तीकै महत्व राख्छ। बर्खा यामको धमिलो पानि जस्तै ह्वार्र आयो कमेन्ट पोख्यो लापत्ता भयो भने त्यसले कमेनट्को संख्या बढाउने भन्दा अरु केही फरक पार्छ जस्तो लाग्दैन। मन पराउने तरिका हजार हुन्छन मान्छे पनि हजारै हुन्छन त्यसको लेखाजोखा कसरी गर्नु?

दौंतरीका कमेन्टको कुरा गर्ने हो भने म मात्र होइन यांहा धेरैले खुलेर भन्नभएको छ दौंतरीको लेख मात्र पढ्न होइन कमेन्ट पढ्न पनि आउंछु। हो दौंतरीका लेखकका साथै पाठक पन वजनदार बिचार प्रस्तुत गर्नुहुन्छ, म त मुख्तकण्डले प्रशंसा गर्छु। पहिला पहिला लेखको बाढी आउथ्यो, राम्रा नराम्रा सबै राखिन्थ्यो तर पाठक सहभागित निकै कम हुन्थ्यो। आजकाल कम लेख आउछन र छानेर राख्ने गरिन्छ, प्रतिक्रया पनि शसक्त आउछन। मलाइ त लाग्छ बनको महमा सबै झुम्मिन्छन र रसको मज्जा सबैले लिन्छन। मौरी पनि दंग,मह खाने पनि दंग।

हरेक कमेन्टलाइ एकै रुपमा लिइनु हुन्न, नत्र त दौंतरीका वजनदार कमेन्टलाइ अन्याय हुनजान्छ जस्तो लाग्छ है मलाइ।

Jotare Dhaiba said...

लेखमाथि विचारोत्तेजक कमेन्टहरू त माथि नै बहिसकेछन् । थप यसमा मेरो पनि मन्तव्य राखूँ लाग्यो ।

धेरै ब्लगहरूका लेखरचनामा कमेन्ट खेतीकै रूपमा देखिन्छ- एक, नैतिक जिम्मेवारी पूरा गर्दै औपचारिकता प्रकट गर्न, दुई, गाली वर्षा गर्न । यी दुई निक्कर खेती नै हुन्, कमेन्ट होइनन् । पहिलो कोटिको कमेन्ट लेखरचना र विचार-बहसमा स्वजन र साथीभाइबीच आत्मीयतावश पनि नियमित रूपमा लेखिन सक्छ, लेख्‍नैपर्ने विशेष कुरा र कारण केही नभए पनि ।

तर खासमा कमेन्ट विचार आदान-प्रदान र कुनैपनि लेख-सामग्रीमा आफ्नो राय-विचार-सुझाव प्रकट गर्ने माध्यम हो । यसले बहसको थालनी गरेर उक्त सामग्रीलाई थप सहज रूपले बुझिन-बुझाउन मद्दत पुर्‍याउँछ । खालि खाली ठाउँ भर्नकै लागि लेखिने कमेन्ट फोनको 'हाइ-हेल्लो' फतफतकै श्रेणीमा रहला । जसरी कमेन्ट आउनुलाई लेखसामग्री पढिएको रूपमा ग्यारेन्टी गर्न सकिन्न, उसैगरी कमेन्ट नगरिनुलाई पनि नपढिएको रूपमा व्याख्या गर्न सकिन्न । यसैले प्रस्टै छ, कमेन्टको सङ्ख्यात्मक भीडभाड र शून्यतालाई लेखरचनाको गुणवत्तासँग जोडेर हेर्नै मिल्दैन । तर कमेन्टको फोस्रो फूर्तिको पछि कुद्‌ने जमात नभएको होइन । विचित्र छ कमेन्टको कथा । र कमेन्ट पाउनका लागि लेख लेखिन्छ भन्ने कुरा त फजुलकै गफ हो । तर के कुरा हो भने, लेखसामग्री लेखिनुको अर्थ त्यसलाई अरूसम्मन् विचार-भावना प्रसार गर्न भने पक्कै हो नै, आफ्नै लागि त कसले लेखेर प्रकाशन गर्दो हो र ! आत्मरतिमा रमाउनैलाई कसैले 'घोटिएर-घोरिएर' नलेख्लान् ।

म त भन्छु, कमेन्ट लेख्‍न सानोतिनो हुतीले भ्याउँदैन । यो त मूल लेखकले सामग्री तयार पार्नुभन्दा चुनौतीपूर्ण कुरा हो । बेफ्वाँकमा गैरजिम्मेवारपूर्ण तरिकाले गफ छाँटे भने बेग्लै कुरा हो, अन्यथा सन्तुलित भएर समीक्षात्मक शैली अपनाएर विवेचना, खण्डन, सुझाव, समर्थन व्यक्त गर्नु चानचुने काम होइन । अरूको सार्वजनिक विचारमा राय जनाउन संवेदनशीलतालाई पनि छाड्न मिल्दैन, यद्यपि भनिन्छ- प्रकाशन भएपछि भावना-विचार सामूहिक सम्पत्ति हुन् । तर कमेन्ट गर्ने अधिकारसँगै एउटा टिप्पणीकार र पाठकको जिम्मेवार पाटो पनि सँगै गाँसिएको हुन्छ । र बिर्सनै नहुने कुरा- कमेन्टले एउटा लेखकलाई हावाको महलमा पुर्‍याएर बिगार्छ पनि, रचनात्मक आलोचनाको मद्दतले सपार्छ पनि ।

पुष्प said...

शिवजी,

पाठक भनेका सबै तपाईंजस्ता अब्बल दर्जाका लेखक हुन्नन्, यो कुरा किन बिर्सनुहुन्छ ? सबै पाठकहरू एकैनाशका हुन्नन्, दलगत स्वार्थदेखि लिएर व्यक्तिवादी र राष्ट्रवादी चरित्रले ओतप्रोत भएकाहरू पनि पाठक हुन्छन् भन्ने कुरालाई बिर्सनुहुन्न ? यसैकारण त कतिपय राम्रो कुरा कसैका दृष्टिमा नराम्रो र नराम्रो कुरा कसैका दृष्टिमा राम्रो पनि हुन्छ । भन्नुको अर्थ अन्य कुरालाई यथावत राख्ने हो भने राम्रो वा नराम्रो भन्ने यो संसारमा छैन; राम्रो वा नराम्रो त दृष्टिकोणमा भरपर्ने कुरा हो । अनि दृष्टिकोण भन्ने कुरा बुझाइको कुरा हो । विभिन्न मन्थन र गन्थनबाट एउटा स्पष्ट दृष्टिकोण आउन सक्छ । यसबाट कसैको अमूक कुराप्रतिको दृष्टिकोणमा समेत 'यू' टर्न ल्याउनसक्छ । कुनै अमुख कुरालाई सबैले राम्रो वा नराम्रो भन्नु को के अर्थ ? अनि त्यस्ता प्रतिक्रियाहरूको पनि के अर्थ ?

अर्को कुरा, पाठकलाई त शिक्षकका हेरिनुहुन्न, विद्यार्थीका रूपमा पनि हेर्नुपर्छ । अनि स्वतन्त्र अस्तित्व बोकेको भएकै कारण मनमा उठेको कुरा पोख्ने हो ब्लगमा, यसको सुन्दरता पनि यही हो । हुन त मलाई तपाईं र तपाईं जस्ता लेखकहरूको विगतको बारेमा त्यति ज्ञान त छैन, तर तपाईंका शुरुवाती लेख रचनाहरू पढ्नुहुन आग्रह भने छ । यसले तपाईंको दृष्टिमा 'तुच्छ' लाग्ने प्रतिक्रियाहरूको मोल आँकलन गर्न सक्नुहुनेछ ।

chyangba1 said...

coment nai garnu parchha bhanne chhaina yadi lekh uchchastirya chha bhane, coment aayo bhanera naraamro raamro banauna ra uchchastariya lekhalaii coment aayena bhanera naraamro bhanna mildaina.

एकलव्य ( Eklavya) said...

शिवजी,
नमस्ते,

हुनत भनिन्छ साहित्य स्वान्त सुखाय हेतू लेखिन्छ , तर पनि साहित्यिक सिर्जनालाई जनमानसका अगाडि लग्नुको उद्देश्य भने सार्वजिक गरिएको कृतिमाथि पाठक वा स्रोताहरुको प्रशंसाको अपेक्षा गर्नु हो । यही अपेक्षाको नियम अनलाइन ब्लग र वेबपेजहरूमा सार्वजनिक गरिएका साहित्यिक कृतिहरूको बारेमा लागू नहुने कुरा पनि भएन । तर , अनलाइन भोटिङ र वाहवाही वा सकारात्मक वा नकारात्मक कमेण्टहरू नै कुनै रचना वा कृतिको स्तरियता मापनको अकाट्य मापदण्ड हो भन्ने कुरा सही हैन भन्ने तपाईँ हामी सबैलाई थाहा छ । त्यसैले तपाईँको कथाकी पात्र जसले माथि उल्लिखित तर्क राखिन उनी सही र गलत दुवै हुन् ।

कमेण्टको भरमा साहित्यिक कृतिको मूल्यांकन हुन सक्दैन , तर पनि कोही न कोही विज्ञ मानिएका कमेण्ट कर्ताहरू नै प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा पनि निर्णायक बन्ने हुन् । अत: मेरो विचारमा डायनोसरको मेटाफोर लिएर उत्रिएकी बैजयन्तीले एउटा कविलाई असमञ्जसमा अवस्य पार्न सक्छिन यदि हाम्रो कथा भित्रका कवि एउटा सिकारू वा नवअभ्यासी हुन भने तर माथि भनिए जस्तो स्थापित भैसकेका कविको छवि र कृतित्वमा यो कुराले खासै असर नपर्ला । किनभने हामीले जानिराखेकै कुरा हो , कतिपय हाम्रा कविहरूको गुरूतालाई त हामीले यिनिहरू स्थापित कवि हुन भनेर पढाइएका भरमा नै बोकिरहेका पनि छौँ । इण्टरनेटले धेरैलाई कवि बनेर सार्वजनिक बन्न सघाएको छ , तर कविता भित्रको गहूँ र चोकर छुट्टिन वा छुट्टाउन यहाँ पनि गाह्रो छैन । कुनै अभ्यासी कविले आँफूमा काव्यात्मकता छ भन्ने आत्मविश्वासका साथ रचनाभ्यासमा लाग्छ भने , उसले लागिरहनुपर्छ , महाभारतको कथामा स्वाभ्यासी साधनामा तल्लीन एकलव्य जस्तो । मिल्टनदेखि भानुभक्त सम्मले जीवीत अवधिमा वाहवाही र कमेण्ट पाएर हैन संसारको आँखामा लुप्त हराएर कृतित्व साधनामा अहोरात्र खटेर आज हामीले दिने सम्मान आर्जन गर्न सकेका हुन् ।

सुर्य/सिकारु said...

साथीहरुको कुरामा सहमति जनाउन चाहन्छु । सिर्जना र रचना कसैको कमेन्टको अपेक्षा र प्रतिक्षामा बसेर हुने होइन तर मूल्याङ्कन र अनुभवको कुरामा आफ्नो सिर्जनामा सिर्जिएका भाव र लेखान्तहरुको गहिराइलाई आफूले कुनरुपमा प्रस्तुत गरिएको छ भन्ने कुरालाई मनन गर्न रचना पढेर दिएका अर्थपुर्ण कमेन्ट र जानकारीहरुले कमजोरीलाई सच्याउन सहयोग गर्छ भन्ने कुरामा म बिस्वास राख्छु र सुधार्ने मौका पनि पाइएको छ् ।

शिव जी को ब्लगमा म पनि धेरै पटक छिरिसकेको छु । कहिलेकाही लेखिन्छ पनि तर धेरै पढछु मात्रै । पोस्ट नपढी कमेन्ट लेख्ने बानीबाट अलि टाढै बस्न रुचाउछु म पनि ।
चासोको बिषयलाई उठाउनु भएकोमा शिव लगायत दौतरीलाई धन्यबाद ।

Luna said...

शिव प्रकाश जि को यो लेख को मर्म लाई यहाँ प्रतिकृया दिनु हुने सम्पूर्ण साथीहरुले न्याय गर्नु भएको छ आफ्नो अत्यन्तै गहकिला बिचार प्रस्तुत गर्नु भएर । जती लेख गहकिलो लाग्यो उत्ती नै यहाँ साथीहरुको प्रतिकृया पनि गहकिलो लाग्यो ।
ठर कि दा !
मैले जङली मौरिको मह खाए है :) -------

खुल्लामन्च said...

शिवप्रकाश दाजुको लेखको लागि धन्यवाद । "कमेन्ट" को आशामा लेखकहरु शायदै लेख लेख्लान ! तर लेखिइसकेको बस्तुलाई हेर्ने नजरहरु कस्ता परे भन्ने "आश" चाँही पक्कै लाग्दो रहेछ । भलै, कमेन्टका कनिका धेरै परेको बिस्कुन चर्चित हो भन्ने मनसिकता चाँही सत्य होइन ।

नेपालियन said...

कमेन्टकै कथामा धेरै कमेन्टहरु आए। सायद धेरैले यथार्थबादी कमेन्ट पस्किए। म पनि यथार्थतमा नै भुलें।

तर जब एकलब्य जी को कमेन्ट पढे, कुरो को चुरो वाहांले भेट्नुभयो जस्तो लाग्यो। मैले पहिला पनि भने रस त रसै हो तर केको रस भन्नेमा मात्र फरक पर्छ। तर एकलव्यजीले भने जस्तो डायनोसरको मेटाफोर लिएर उत्रिएकी बैजयन्तीले एउटा कविलाई असमञ्जसमा अवस्य पार्न सक्छिन यदि हाम्रो कथा भित्रका कवि एउटा सिकारू वा नवअभ्यासी हुन भने तर माथि भनिए जस्तो स्थापित भैसकेका कविको छवि र कृतित्वमा यो कुराले खासै असर नपर्ला । सारै चित्त पो बुझ्यो मलाइ। यस्ले आफुलाइ साहित्यमा नित्तान्त नवअभ्यासी जस्तो लाग्यो। चकमकको झिल्का सुर्यको उज्यालोभन्दा चहक देखिएला तर त्यसले सुर्यको उर्जा शक्तीलाइ कहिल्यै भेट्न सक्दैन।

हावा De Wind said...

ल शिव जी ले पनि कमेन्ट को खेती गरिछडनु भएछ...हेहेहे

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !