त्रिभुवन विश्व विद्यालय मध्यम वर्गीय र सो भन्दा तल्लो स्तरका विद्यार्थिहरुलाई शैक्षिक प्रमाणपत्र मात्र बाड्ने थलो मात्र नभएर विदेशी विश्व विद्यालय र अनुसन्धान संस्थाहरुले पत्याउन योग्य जनशक्ति पनि बनाउन सकेको तथ्यका भुक्तभोगी कोरिया, जापान देखि युरोप, अमेरिकाका संस्थाहरुमा काम गर्ने वा अध्ययन गर्ने हामीहरु नै साक्षी छौं । वार्षिक बिसौं लाख खर्चेर योग्य बनेका समृद्द देशका नागरिकहरुसंग त्रिभुवन विश्वविद्यालयले हामीलाई मासिक चार पांच सय रुपिया कोठा भाडा र पचास-साठी रुपियां शुल्क तिरेको भरमा नै प्रतिस्पर्धा गर्न योग्य बनाएको हामिले बिर्सन सक्दैनौं । नया समय र आधुनिक युग संगै समय सापेक्ष रुपमा प्रतिस्पर्धी बन्दै जाओस भन्ने हाम्रो कामना पुरा हुन नसके पनि कम से कम प्राज्ञिक थलोमा प्राज्ञिक वातावरण कायम होस र दुख गरेर देशका कुना काप्चाबाट आएका भावी जेहन्दार प्रतिभाहरुले स्वच्छ वातावरणमा शिक्षा हासिल गर्न पाउने वातावरण बनोस भन्नका लागि हामी जस्ता विदेशका विश्व विद्यालय र अनुसन्धान संस्थाहरुमा पाइला टेकेका देशलाई माया गर्नेहरुले केही पाइला चाल्नै पर्छ ।
फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन । विदेश बसाइको ५-६ वर्षमा पनि युरोप अमेरिकाका कुनै विश्व विद्यालयहरुमा बाल्टीमा रंग बोकेर प्राध्यापकहरुलाई कालो मोसो लगाउंदै हिडेको हामी कसैले पनि देखेका वा सुनेका छैनौं । बरु ल्यापटप र मल्टीमिडिया डिभाइसहरु बोकेर प्रिजेन्टेशन र डाटा अपलोड वा डाउनलोड गरेका चाहीं देखेका छौं । बन्दुक बोकेर रोल्पाबाट सिंहदरवार छिर्नेहरुको विषयमा चासो नभए पनि र कसैलाई स्पष्टिकरण दिन नपरे पनि विद्यार्थिको ट्याग लगाएर विश्व विद्यालयमा छिर्नेहरुले ल्यापटप र कापी-कलमको साटो कालोमोसोको बाल्टी बोकेर प्राध्यापकहरुलाई लगाउंदै हिडेको सुन्ने जो कोहिले पनि भने थाहा पाए भने हामीलाई प्रश्न गर्नेछन हामीले विश्व विद्यालयमा के सिक्यौं भनेर । अझ जवाफ दिनु पर्ने होला हाम्रो प्राथमिकता कालोमोसोको बाल्टिन हो या शिक्षा भनेर । हामी आंफै पनि सोच्न बाध्य हुनेछौं हाम्रा जुनियरहरु हाम्रा पुराना ल्यापटप भन्दा विकसित यन्त्रहरु भिरेर हाम्रो पुस्ता भन्दा१० गुणा अगाडि जाला या बाल्टीन र कालोमोसो मै रमाउला !
के यस्तो बेलामा हाम्रो कुनै दायित्व छैन ? के हामीले आफुले विदेशमा सिकेको र देखेको कुरो आफ्नो घर जत्तिकै महत्वपुर्ण र प्यारो त्रिवीमा पनि बुझाउन जरुरी छैन ? पक्कै पनि छ त्यसैले कालोमोसोको बाल्टीन बोकेर विश्वविद्यालय जान रुचाउने “शिक्षित युवा“हरुकालागि थप केहि बाल्टीनहरु आवश्यकता परेको हुन सक्छ , त्यसैले उनीहरुलाई बाल्टिन उपहार दिउं र उनिहरुले पाएको “शिक्षा“ प्रति व्यंग गरौं ताकि उनिहरुमा सोच्ने शक्ति छ भने आंफ्नो कर्तव्यवोध गरुन र अन्य जेहन्दार विद्यार्थिहरुले पनि यो महसुस गरुन र उनिहरुको भविष्य माथि खेलवाड गर्ने “जंगली“ खेलाडिहरुलाई बाल्टिन सहित शैक्षिक संस्थाबाट लखेटुन । अनि बाल्टीको बाहिर एउटा ल्यापटपको फोटो पनि टासेर दिने मेरो प्रस्ताव छ ताकि त्यो तस्विरले उनिहरुलाई घच्घच्याइरहोस बोक्नु पर्ने बाल्टिन हो या ल्यापटप भनेर ।
यसको लागि कम से कम १० वटा प्लास्टिकका बाल्टि मेरो तर्फबाट प्रदान गर्ने बाचा गर्दछु र अरु साथिहरुबाट पनि हाम्रा त्रिविका दिग्गज युवा पुस्ताको ज्ञानको ढोका खोल्ने ल्यापटपको फोटो टासिएको बाल्टी जम्मा गर्ने कार्य स्वतस्फुर्त रुपमा गर्न अनुरोध गर्दछु । र सबैबाट त्रिवीमा मौलाउन लागेको गलत प्रवृतिको विरोधका लागि आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्दछु । अरु के के गर्ने र कसरी गर्ने भन्ने जिम्मा यहांहरुकै ।
पुनश्च : यो कुनै राजनितिक र बैचारिक आग्रहबाट निर्देशित कदम नभएर विश्व विद्यालय भनेको के हो भन्ने कुरा बुझेका र देखेका व्यक्तिहरुबाट नबुझेका र नदेखेकाहरुको लागि बुझाउन चालिएको कदम हो । यसमा अध्यक्ष, उपाध्यक्ष वा कमिटिहरु बनाएर नेता बन्ने नेपाली परंपरा पनि नजोडियोस भन्ने अनुरोध पनि छ ।