March 17, 2009

उत्साही संकल्प

-हस्त गौतम मृदुल

निरासाले कुन्ठित ती आत्माहरुमा
आशाको दियो बाल्न सकुँ म।
चूँडालेर निरंकूस ती बन्धनहरु
उन्नतीको पाइला चाल्न सुँक म॥

सुखसान्ती र समृद्धिको लागी
बिधिको शासन थाल्न सकुँ म॥
अन्याय अत्याचार असान्तीलाइ
यो धर्तिबाटै फाल्न सकुँ म।

क्षेत बिक्षेत भएका मनहरुमा
सुखको मलम लाउन सकुँ म॥
आंच आऊन नदिएर कहिलै
शान्तीको गित गाउन सकुँ म।

राष्ट्रलाइ चूस्ने ती जूकाहरुलाइ
नउक्सने खाडलमा हाल्न सकुँ म।
सूनौला सपना छेक्ने ती पर्खालहरु
हातमा हात मिलाइ ढाल्न सकँ म॥

हतास हतास ती मृदुल मनहरुमा
खूशीको कान्ती छर्न सकँ म।
हरेक नेपालीलाइ बुद्ध बनाएर
शन्तिको ज्योति छर्न सकुँ म॥


March 16, 2009

किन गर्छन हाम्रा सेना प्रहरीहरु जनतासंग रुखो ब्यबहार?


माओबादीयुद्धकालमा सुरक्षाको खतरा देखाएर सरकारले बिमानस्थल प्रवेशलाई अति कडा पारेको थियो। चक्रपथको मुख्यद्वारबाट प्रवेश पाउन या टिकटवाहक यात्रु हुन पर्यो वा बिशेष पास हुन पर्थ्यो। हामी पर्यटन ब्यबसायीहरुलाई भने हाम्रो ट्राभल एजेन्सी वा ट्रेकिंग एजेन्सी एशोसियसन वा होटल एशोसियन मार्फत प्रत्यक कम्पनीका दुई-दुई कर्मचारीहरुलाई पास दिईएको थियो। पासमा वाहकको नाम, पद, फोटो राखिएको हुन्थ्यो। चक्रपथको मुख्यद्वारबाट प्रवेश गरीसकेपछि सेना र प्रहरीहरुबाट चेकिंग शुरु हुन्थ्यो। चेकिंगको लागी कुरेका गाडीहरुको लाईन चक्रपथको पर परसम्म हुन्थ्यो। चेकिंगमा एकरुपता थिएन। तिनीहरुको लहड अनुसार कहिले पास हेर्दै नहेरी हातको ईशाराले जाऊ भनिरहेका हुन्थे भने कहिले गाडीबाटै ओराल्थे। पास र टिकट हुनेवालाहरुलाई जान दिईन्थ्यो र नहुनेहरु ले फर्किन पर्थ्यो। त्यो सुरक्षा ब्यबश्था देखेर मनमनै निकै हाँसो उठ्थ्यो। के माओबादीहरू आक्रमण नै गर्न आउने भए त्यसरी मुख्यद्वारबाट चेकिंगको लागि लाईन लागेर, आफ्नो पालो कुरेर बसेर आउथे? टिकट लिएर आउनेहरु चाँहि गैरमाओबादी हुने भए त्यत्रो बैंक लूटेर र चन्दा उठाएर थुपारेको पैसा छ, उनीहरुसंग, त्यो हजार पन्ध्रसयको टिकट काटेर आउन नसक्ने त होईन नि?

एक दिन एउटा गजबको सनकी प्रहरीको फेला परें म। केही पर्यटक पाहुनाहरुलाई लिन गएको थिंए। पास देखाँए। प्राय: तिनीहरुले पासमा टांसेको फोटो र मान्छेको अनुहार मिल्छ कि मिल्दैन हेर्थे। अनि गाडी भित्र यसो हेर्थे र त्यसपछि हातको ईशाराले जाऊ भन्थे। तर त्यो दिन त्यो प्रहरीको जवानले मेरो नाम सोध्यो। नाम बताँए। मेरो कम्पनीको नाम र मेरो पद पनि सोध्यो र मैले सबै खुरुखुरु बताँए। तर त्यसले मेरो पासको नम्बर पनि सोधेर छक्क पार्यो। मैले मेरो पास नम्बर चाँहि याद गरेको थिईन। मलाई पास नम्बर कण्ठ छैन भनेको त त्यो सिपाही बम्किन पो थाल्यो। मैले मेरो भएभरको अरु परिचय पत्रहरु-सवारीचालक परिचय पत्र, पर्यटक पथप्रदर्शक परिचय पत्र, कर कार्यलयले दिने परिचयपत्र सबै देखाईसके, तैपनि जान दिंदैन। उता बिमान अवतरण भएर पाहुनाहरु निस्कने बेला भैसक्यो, मलाई चाँहि रोकेको रोक्यै गर्यो। “तपाईलाई आफ्नै परिचयपत्रको नम्बर याद छैन, कसरी जान दिने?” भन्छ। मलाई पनि रिस उठ्यो, “तपाईलाई पनि तपाईको नागरिकता नम्बर कण्ठ छ,?” भनेर जंगिंए।

जाने देला भनेको त “बढ्ता बोल्ने होईन” पो भन्छ। त्यस पछि मेरो सवारीचालक भाइले भन्यो “हत्तेरिका सर, यो के गर्नु भा'को, हामी सधैं आउने मान्छे, किन रोक्नु भा’को, पाहुनाहरु निस्किने बेला भैसक्यो, जान दिनूस?” त्यसपछि त्यो सिपाहीले भन्यो, “ल तिमी चाँहि जाऊ, वहाँचाँहि जान मिल्दैन”। यति बेला सम्म गाडीको लाइन बढेर कोही-कोही चालकले हर्न बजाउन शुरु गरिसकेका थिए। यत्तिकैमा सेनाको एउटा हवल्दार के भयो के भयो भन्दै आयो। त्यो प्रहरीले मेरो पास त्यो सेनाको हवल्दारलाई दियो र “यो मान्छेलाई आफ्नो पास नम्बर नै थाहा छैन “ भन्दै सिटी फुक्दै अर्को गाडी चेक गर्न गयो। त्यसपछि सेनाको त्यो हवल्दार अलि बुझकी परेर हो कि वा त्यँहा गाडीको भीढ बढेको कारणले हो कुनि, हामीलाई जान दियो।

केही दिन पछि मेरो एकजना साथीलाई त्यस्त कुनै निहूँ निकालेर रोकेछ र उसले प्रतिवाद गर्न खोज्दा “धेरै बोल्ने होइन, गन (बन्दुक) लोडेड छ” भनेर बेस्सरी तर्साएछ। बाहिर प्रवेशमा त्यस्तो कडाइ छ, र हामी एक शभ्य, वास्तविक पर्यटन ब्यबसायीलाई त्यस्तो दूर्ब्यबहार गरिएकोछ, तर त्यो चेकिंग कटेर गईसके पछि आगमन कक्षबाहिर भने पर्यटकको झोला तानातान गर्न आउने खातेहरु र ट्याक्सीवालाहरु भने बिगबिगी छ। तिनीहरुसंग कुनै बैध पास पनि हुंदैन, तर तिनीहरु भित्र पुगिरहेका हुन्छन् र पर्यटकहरुलाई दु:ख दिईरहेका हुन्छन्।

मैले मुख्य उठाउन खोजेको बिषय चाँहि हाम्रा अधिकांस सेना, प्रहरी र सरकारी कर्मचारीहरुबाट सर्बसाधारणप्रति हुने दूर्ब्यबहारबारे हो। उमेरले आफूभन्दा पाका-बरिष्ठहरुलाई पनि “तँ, तिमी” जस्ता शब्दहरुले सम्बोधन गर्न पनि पछि पर्दैनन्। उस्तै परे एक दुई थप्पड, लात दिन गाह्रो छैन। जनताहरुसंग नम्र भएर बोल्न त जानेकै हुँदैनन्। जहिले पनि अखडिएर, कड्किएर बोलिरहेका हुन्छन्। हाकिम त हाकिम भए, तल्लो तहका सिपाहीले समेत दूर्ब्यबहार, दूर्बचन गरिरहेका हुन्छन्। यिनीहरुले आफ्ना हाकीमहरूलाई चाँहि दरवारिया भाषा प्रयोग गर्छन्। “आइसियोस, खाईसियोस्,” लगाईरहेका हुन्छन्, तर त्यही मान्छे जनतासंग बोल्दा भने अर्कै रुपमा प्रस्तुत हुन्छन्। आखिर किन त्यस्तो ब्यबहार गर्छन् सेना प्रहरीका यी मान्छेहरु? यिनीहरुलाई कस्तो तालिम दिईएको हुन्छ? यिनीहरु किन यति धेरै अभिमानी भएका होलान्? के यिनीहरु जनताकै सन्तानहरु होईनन्?

चेकिंग गर्ने, सोधपूछ गर्ने, खानतलासी गर्ने एउटा निश्चित मापदण्ड, तरिका हुन पर्ने हो नि। मन लाग्यो चेक गर्यो, मन लागेन गरेन। बिमानश्थलमा चेकिंग गर्न बसेको त्यो प्रहरीको मुख्य काम भनेको बिमानश्थलमा प्रवेश गर्न खोज्ने मान्छे वास्तविक हकदार हो कि होईन, त्यो जाँच्नु हो, न कि कसैलाई परिचयपत्र नम्बर याद छकि छैन भनेर जाँचेर बस्ने होईन। कसैले कुनै नियम मिच्यो, गल्ती वा अपराध नै गर्यो भने पनि त्यो ब्यक्ति कानून अनुसार संजायको भागीदार हुन्छ। सोधपुछ, अनुसंधानको क्रममा कुनै दूर्ब्यबहार गरिनु हुन्न। प्रत्यक ब्यक्तिको एउटा आत्मसंम्मान हुन्छ, स्वाभिमान हुन्छ। सेना र प्रहरीले सामान्य जनतासंग गर्ने यस्तै ब्यबहारको कारणले नै गर्दा उनीहरु जनतामा अलोकप्रिय भएकाछन् र माओबादी यूद्धकालमा जनताको भरपुर सहयोग पाउनबाट पनि चुके। हाम्रा सेना र प्रहरीका अधिकृतहरु तालिमको लागि अमेरिका, यूरोप पनि आइरहेका हुन्छन्, यहाँ देखेर पनि जानेको हुन पर्ने हो। यहाँ प्रहरीले जनतालाई “सर” भनेर सम्बोधन गरिरहेका हुन्छन्, तर गर्छन् हाम्रा सेना र प्रहरीहरुले?



विहान पनि वेलुकी पनि



नरेश माङपाहाङ
फोक्‍स्‍टोन वेलायत
हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
विहान पनि वेलुकी पनि किच किच मात्र गर्छौ किन
कसै संग बोल्‍दा पनि आँखा मात्र तर्छौ किन

जूनै कुरा गर्दा पनि दिल दुख्‍छ तिम्रो
रोई रोई आँखा भरी आँसू मात्र भर्छौ किन

तिम्रो ज्‍यान हेर्दा खेरी साह्र माया लाग्‍छ
सकी नसकी ज्‍यानै छोडी लाक्‍पा मात्र पर्छौ किन

सधै सधै अंगालोमा वाँधु भन्‍छु तिमीलाई
कहिले काही ठाक ठूक पर्दा सोफै वाट सर्छौ किन


गिर्जाबाबुलाई भारतले देखाएको हरिया दाँत

हुन त दाँत आँफैमा हरिया हुन्नन्, नमाझेका अनि खिया र खइ थपिँदा मुखै गन्हाउने गरी दाँत हरिया हुने हो । एउटा नेपाली कहावतले भन्छ ' हिस्स बूढी , हरिया दाँत'। कुनै ठूलो कुरा प्राप्तिको आशामा गरिएको प्रयास जब निस्फल खस्छ यसलाई ' हिस्स बूढी , हरिया दाँत' भन्ने चलन नेपालीमा छ ।

गएका साता नेपाली राजनीतिपटका धेरै पात्रहरू अचानक यसरी बिरामी परे कि सबै लस्करै उपचारार्थ भारत गए । माओवादी विद्वान बाबुरामले सुर्य बहादुर थापाका शव्दमा ' सर्पका खुट्टा ' देख्नुभयो र भन्नुभयो ' यसरी षडयन्त्रकारी ढंगले सबै भारत जाने गरी बिरामी हुन पाइन्न। यसरी पूर्व राजा र कांग्रेस , एमालेका अनेक नेताहरू बिभिन्न बहानामा भारत जाँदा , बेबी किङ जन्मन सक्छ, जुन अहिलेको शिशू गणतन्त्रका लागि दूर्भाग्यपूर्ण रूपमा प्रतिगमनकारी कुरा हो । अब जवाहरलाल नेहरू विश्वविद्यालयमा नै पढेर भारतीय विद्वान गुरूहरूबाट दिक्षा ग्रहण गरी डाक्टर साहेब बन्नु भएका धूरन्धर डाक्टर साहेबबाट जुन कुरा प्रकट भयो त्यो कसरी हल्का ठहरिन सक्थ्यो र ? सबैले अड्कल काटे ' अब गिरिजा बाजेले आफ्नी ५० काटेकी बेबी छोरीलाई साथमा लिएर भारत गएर कुन किसिमको फूल फुलाउने हुन।'

तर भारत भ्रमणबाट ठूलो उथलपुथल खोज्ने गिर्जाबाबुको 'बेबी किङ' प्रोजेक्ट धरापमा परेको अड्कल काटिएको छ । भारतीय प्रधानमन्त्री केही हप्ता अघि गरिएको शल्यक्रियाको स्वास्थ्य लाभ ग्रहण गर्दै छन् र बाँकि भारतीय नेताहरू लोकसभा निर्वाचनको महाकुम्भमा यसरी हेलिएका छन् कि उनिहरूलाई केवल हत्केला र कमलका फूलहरू मात्र नजर आएका छन् जुन उनिहरूका निर्वाचन चिन्ह हुन ।

गिरिजाबाबु र बेबीक्विन सुजाताको दिल्ली यात्राले कुन कुन नेताहरू समक्ष नेपाली राजनीतिको रामकहानी फिराद गर्ने मौका पायो त्यति धेरै कुरा बाहिर आइपुगेको छैन। तर प्रारम्भिक अनुमानले भन्छ, वहाँहरूको यो पछिल्लो प्रोजेक्ट अहिलेको परिवेशमा त्यति जम्न पाएन । अत: कामरेड बाबुरामजी गिरिजाबाबुलाई यतिबेला बारतले देखाएको हरियाँ दाँतमा अति प्रफूल्लित हुनुहुन्छ भन्ने लख काट्न त्यति गाह्रो परोइन । किनभने माओवादी वृत्तमा , नेताहरूको भारत भ्रमणबाट अति चिन्तित थियो कोही भने वहाँ नै हुनुहुन्थ्यो ।

अन्तमा , गिरिजाबाबुलाई यही सल्लाह दिन सकिन्छ - पार्टीलाई लोकतान्त्रिक बन्न र बनाउन दिनूस् , जनताको काम गर्न र मन जित्न नया कार्यक्रम र योजनाका साथ पार्टीलाई पुनर्जीवन दिने वातावरण बन्न आँफूले र परिवारले पार्टीलाई पेवा ठान्ने सोचबाट मुक्त हुनुस् , देशलाई हिजोका दिनमा भन्दा पनि बढी एउटा सशक्त उदारवादी लोकतान्त्रिक शक्तिको खाँचो टड्कारो छ । यसो भयो भने जनताले साथ दिनेछन् , त्यतिबेला तपाईँले उदास भएर दिल्लि दौडाहामा हाम फाल्नु पर्ने छैन । अहिलेलाई अधैर्य नबनी माओवादीलाई सत्तामा बसेर काम गर्न दिनूस् तर सशक्त खबरदारीको मोर्चा बनाउनूस् । सक्नूहुन्छ भने आफ्नो अभिभावकत्वमा , पार्टीलाई पूर्णत: नविकरण हुने मौका प्रदान गर्नूस, बिना पूर्वाग्रह, परिवारवादको फेरोभन्दा माथि उठेर !



जनवादी गणतन्त्रका फर्स्ट लेडी र बेबि किङहरू :

लोकतन्त्रलाई लोकको शासन भनिन्छ किनभने अब्राहम लिंकनका शव्दमा ‘जनताले,जनताद्वारा जनताका लागि’ गरिने शासन लोकतन्त्र हो । कहिले काहीँ 'प्रजातन्त्र' पनि भनेर बुझिने अंग्रेजी भाषाको 'डेमोक्रेसी' शव्दलाई आजकल नेपालमा लोकतन्त्र नै भनेर बुझिने गर्छ किनभने 'प्रजा' शब्दले राजासंग बढी सामिप्यता राख्छ । अहिले नेपालमा राजा छैनन् अत: प्रजा पनि छैनन् र हुँदै नभएकाहरूको तन्त्र हुने कुरै भएन । अहिले नेपालमा जनताको लोकतन्त्र नामको राज्य व्यवस्था कायम छ र यो खासमा के हो भन्ने कुराको आकार प्रकार यसले ग्रहण गरिसकेको छैन । तर यसो गौर गरेर हेर्‍यो भने नेपालमा पुरानो राजतन्त्र हटेर गए पनि अनेक प्रकारमा नया र नौला राजतन्त्र, रानीतन्त्र र राजकुमार, राजकुमारीतन्त्रको खेती निकै मौलाएको देखिन्छ । १५ वर्षे हिंसात्मक आन्दोलन गरेर हामिले गनतन्त्र स्थापना गरेका हौँ भन्नेहरूको सपरिवारतन्त्र तर्फ आँखा लगाऔँ त :

१. प्रचण्ड - प्रम , सीता दाहाल - फर्स्ट लेडी, प्रकाश दाहाल- बेबी किङ, रेणु दाहाल- बेबी क्वीन, नारायण दाहाल- गणतान्त्रिक अधिराजकुमार र अरू केही नाम नखुलेका मन्त्री स्तरीय सुविधाभोगी भाइ भारदारहरू १००% ।

२. बाबुराम- मन्त्री, हिसिला - मन्त्री , मानुसी- बेबी क्विन ( राज्य मन्त्री स्तरीय जागिरे) सपरिवार जागिर १००% ।
३. देव गुरूङ- मन्त्री, यशोदा सुवेदि गुरूङ- सभासद र राज्य मन्त्री स्तरीय सुविधा काने समविधानसभा समितिकी अध्यक्षा
४. कृष्ण महरा- मन्त्री, २ छोरा सल्लाहाकार राज्यमन्त्री स्तरीय जागिरे ।
५. राम बहादुर थापा - मन्त्री , पत्नि - सभासद , छोरा -सल्लाहकार
६. हितमान शाक्य र बिमला थापा सभासद
७. झक्कू र पूर्ण कुमारी ( समिति अध्यक्ष )
८. मोहन वैद्य की बेबी क्वीन पशुपति क्याम्पस् चाबहीलमा स्ववीयू भिड्दै हुनुहुन्छ ।

माओवादीको माथिल्लो राजनीतिक पद सम्हालने उच्च वर्गीय यस्ता ६०,७० जना परिवारवादी सेटहरू छन् रे जसले अहिलेको परिवर्तित माहौलमा विविध सरकारी सुविधाहरूको उपभोग गरी क्रान्तिलाई नया उचाइमा उठाएका छन् रे !

यी भए मेरो सम्झनामा भएका नया नेपाली राजा, रानी, राजकुमार र राजकुमारीहरू । माओवादी जस्तो क्रान्तिकारी पार्टीले परिवारवाद र पारिवारिक राजकुमार राजकुमारीहरूको यो किसिमको लावा लस्कर लगाउनुलाई जनवादी गणतन्त्रको शुरूवात हो भन्ने देखाउन चाह्यो भने ,हजारौँ लाखौँ ज्यानको बाजी लगाएर पार्टीको लागि लडाईँ लड्नेहरूको हेसियत के रहने त ? प्रश्न उठ्नु स्वभाविक हैन र ? जवाफ आउन सक्छ, पार्टीले लडाईँ लड्दा सबै परिवार होमिएका थिए त्यसैले लाभ लिन पाउनु उनीहरूको हक बन्छ नि ! हुनसक्छ, तर तल्लो तप्काकाको जनताका लागि क्रान्ति गर्ने हरूले अवसर पनि त तल्लो तप्काका लागि नै छाडिदिएर, परिवारवादको जालो च्यात्न सक्नु पर्दैन र ?



March 15, 2009

गाउँखाने कथा - ७ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउँखाने प्रतियोगीतामा फेरी पनि लुना जीले मिलाएर पुरस्कारको हकदार बन्नुभएको छ। गाउँखाने कथामा थाली माथी भएको बटुकी चियाको कप हो। लुना जी आफ्नो मनलागेको गाउं माग्नुहोला। पहिला दिइसकेका गाउं चाही होइन है फेरी?

थालीमाथि बटुकी, बटुकीमा झोल,
तह लाउन त्यसको कान मोल।

के होला त्यस्तो,उत्तर मिलाउनेलाइ गाउं पुरस्कार।


जीवन

नीर्मन केएम
नंग्खेल- भक्तपुर (हाल हैटी)

जीवन सारे कठीन भो , बाँच्ने आधार पाउनलाई
आकाश पनि साँगुरियो, एकमुठी सास फेर्नलाई

अरुको दुखमा दुखेर, अरुलाई हंसाउनु पर्ने
चोटे चोट सहेर पनि, अरुलाई बचाउनु पर्ने
यो जिन्दगीको कथा येस्तै, आंधिभित्रै रम्नु पर्ने
सबै इच्छा मेटाएर, इशारामै चल्नु पर्ने
जहां मन राख्न खोज्छु, त्यहाँ जाल बुनिंदोरैछ
मीठो बोली भित्रभित्रै, संसारे ड़ुब्दोरैछ
ईश्वर तिम्रो सृष्टी पनि, झूठो नै हुने हो कि
हरेक निर्दोष आत्माहरू, रोएरै मर्ने पो हो कि