September 30, 2008

यसपाली दशैं छैन!

परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले,
खसी काटेर बर्ष दिनको खुशी मनाउन्न काइदाले,
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर,
आँगनै भरी फुलेका,
हास्न भुलेका ,
नाती नातीनी संग खेल्दै,
जीवनको उत्तरार्ध पनि भुल्दै,
काइला रम्दै थिए,
काइला जिम्दै थिए।

साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी,
धेरै दु:खले किनेको खसी,
चन्दा धन्दा गर्नेले,
दण्डा देखाउदै मागे,
काइलाले खुशी फर्काउन मानेन,
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु?
काइला आँफै काटिए ।
यसरी दशैंदशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस

गाम मा दशैं छैन,
यता टिका पनि,
जमरा पनि,
न लागा भन्ने उर्दी जारी हुन बेर छैन,
बिना वर्दी भारी हुन बेर छैन।

मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा,
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।



September 29, 2008

जय दुर्गे !

Durga2 श्रोह्र श्राद्धको समाप्तिसंगै हिन्दू धर्माबलम्बीहरुकालागी एकदमै पवित्र र महत्वको पर्व शुरु हुन्छ। असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा धुमधाम संग मनाईने यो यो कालरात्रीलाई बोलीचालीको भाषामा हामी नवरात्री पनि भन्छौं ।

यस पावन अवसरमा माता नवदुर्गाको आराधना गरिन्छ। यो नौ दिनमा माताको नौ रुप अर्थात:

१‍) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघंटा ४) कुष्मांडा ५) स्कंधमाता ६) कात्यायिनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री को आराधना गरेमा यस लोक र परलोक दुवैमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा घर-घरमा कलश स्थापना गरेर यो आराधनाको शुरुवात गरिन्छ । साथै कलशको वरिपरि वा घरको पूजाकोठा वा पवित्र स्थानमा जौ छरेर जमरा रोपिन्छ । यो पवित्र जमरा दशौं दिन अर्थात विजया दशमिको दिनमा मातको प्रसादको रुपमा टिका संगै शिरमा लगाउँदा माताको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

शास्त्र र पुराणका अनुशार : भगवान रामले दुर्गा सहित शस्त्र पूजा गरी शक्ति संपन्न भई दशमीको दिनमा रावण माथी विजय प्राप्त गर्नु भएको थियो। र त्यसै बेलादेखी नवरात्रीमा शक्ति एवं शस्त्र पूजा को परम्परा कायम भयो ।

त्यस्तै अन्य केहि मान्यताका अनुशार इंद्र भगवानले यहि दशमिका असुरहरु माथी विजय प्राप्त गरेका थीए। महाभारतको युद्ध यसै दिन प्रारंभ भएको गाथा पनि छ भने पांडवहरु आफ्नो गुप्तवास पश्चात यसै दिनमा पांचाल आएका थिए। त्यस्तै अर्जुनले पनि यहि दिनमा द्रौपदीलाई स्वयंवरमा प्राप्त गरेका थिए भन्ने कथन पनि छ ।

प्रसंगहरुलाई जे जस्तो गरी जोडे पनि वा बयान गरे पनि वास्तबमा यो विजयको उत्सव हो र यस उत्सवले असत्य माथि सत्यको जित हुने दर्शाउँछ ।

अन्य समयमा गरीएको आराधना र शाधना भन्दा यो समयमा छिट्टै सिद्धि र सफलता मिल्ने आस्थाका कारण यस समयमा माता दुर्गाको विशेष पूजा-आराधना गरिन्छ।

भिन्न भिन्न लक्ष वा कामना पूर्ण गर्नको लागी माताको भिन्न भिन्नै मन्त्र वा श्लोकले माताको आराधना गरिन्छ। आउनुहोस हामि पनि जानिराखौं के का लागी कसरी माताको आराधना गर्ने:

विपत्ति नाश को लागी: शरणागतदीनार्थपरित्राण परायणे। सर्वस्तयार्तिहरे देवि नारायणि नमोऽस्तुते।।

शत्रु नाशको लागी: सर्वाबाधाप्रशमनं त्रैलोक्यस्या‍‍‍खिलेश्वरी। एवमेव त्वया कार्यमस्मद्‍वैरी विनाशनम्।।

सर्वबाधा निवारणको लागी: सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वित:। मनुष्यों मत्प्रसादेन भविष्यति न संशय।।

भक्ति प्राप्तिको लागी: नतेभ्य: सर्वदा भक्त्या चण्डिके दुरितापहे। रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।।

मोक्ष प्राप्तिको लागी: त्वं वैष्णवो शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमासि माया। सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भुवि मुक्ति हेतु:।।

मंगल प्राप्तिको लागी: सर्वमंगमांगल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुऽते।

जे होस, संगारमा आईसकेको विजया दशमीले संसारभरि छरिएर रहेका सम्पूर्ण नेपालीको भलो गरोस र माता दुर्गाको कृपाले हामी सवैको कल्याण होस ।

म यहि पोष्ट मार्फत सबै ब्लगर मित्रहरु र दौंतरीका शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

"जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नामोस्तुते ।।"

जय दुर्गे !



September 28, 2008

राष्ट्रसंघको ६३ औं महासभामा प्रधानमन्त्रीको सम्वोधन

नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ, अध्यक्ष महोदय! सर्वप्रथम यस महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा तपाइँलाई बधाई दिने अनुमति चाहन्छु र आश्वस्त पार्छु कि मेरो प्रतिनिधि मण्डलको तर्फबाट तपाइँका जिम्मेवारीहरु पूरा गर्न पूर्ण सहयोग रहने कुरामा आश्वस्त गर्न चाहन्छु । म संयुक्त राष्ट्र संघका महासचिवलाई संयुक्त राष्ट्र संघको नेपालको परिस्थितिसम्बन्धी सकारात्मक भूमिका र विस्तृत प्रतिवेदनका लागि धन्यवाद दिन चाहन्छु ।

अध्यक्ष महोदय, संसारको सबैभन्दा नयाँ गणतन्त्रको प्रथम प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघको यस अगस्ट महासभामा सम्बोधन गर्न पाउनु मेरो निम्ति पूर्णरुपमा ऐतिहासिक अवसर हो । यहाँ विश्वभरिका नेताहरुसमक्ष उभिँदा मैले म र मेरो पार्टीले गरेको लामो संघर्ष जुन सत्ताबाट बाहिर पारिएका शताब्दीयौंदेखि दबाइएका बिाचत गरिएका र सीमान्तकृत सर्वसाधारणको मुक्तिको एकमात्र उद्देश्यद्वारा साचालित थियो को बारेमा सोचिरहेको छु । मेरो देशका पहाड र उपत्यकामा रहेका मैदानी भाग र शहरी क्षेत्रमा रात दिन काम गरिरहेका महिला र पुरुष अझै पनि जीवनका सामान्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन् र उनीहरु र उनीहरुको परिवारको लागि एक दिन बराबर अधिकार र अवसरहरुको प्रयोग गर्दै राष्ट्रको सम्मानित नागरिकको रुपमा बाँच्ने दिन आउने छ भन्ने आशा गरिरहेका छन् ।

हामी इतिहासको अत्यन्त महत्वपूर्ण ऐतिहासिक राजनीतिक परिर्वतनको मोडमा उभिएका छौं । र म र मेरो पार्टी सकारात्मक ऐतिहासिक परिवर्तनको नेतृत्वकर्ता भएकोमा गौरवान्वित छौं । आज म सुदूर पश्चिमको दलित केटाको आँखामा पूर्वका दबिएका आदिवासी जनजाति महिला घरविहीन थारु महिला भूमि विहीन मधेशी र पहाडका झुप्राहरुमा बसिरहेका किसानहरुको आँखामा चम्किरहेको आशा देखिरहेको छु । म उनीहरुलाई विश्वास र जिम्मेवारीका साथ दिगो शान्ति र समतामूलक प्रगतियुक्त नयाँ नेपालको यात्रामा लैजान चाहन्छु । त्यसकारण मसँग यस अगस्ट महासभामा नयाँ संघात्मक लोकतान्त्रिक गणतान्त्रिक नेपालका जनता र सरकारको तर्फबाट प्राप्त अभिवादन र सदिच्छाबाट प्राप्त सम्मान र अवसर छ ।

एक दशक लामो सशस्त्र संघर्षपश्चात् नोवेम्वर २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई पछ्याउँदै यसैवर्ष अप्रीलमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । जनताले उत्साहका साथ मेरो पार्टीलाई मतदान गरे र ठूलो आशा र अपेक्षाका साथ मेरो पार्टीलाई संविधानसभाको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित गरे । पहिलो बैठकमा नै संविधानसभाले २४० वर्ष पुरानो राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गर् यो र पुरानो सामन्तवादी राज्य संरचनाबाट एउटा समावेशी र संघात्मक राज्य संरचना निर्माण गर्ने अवसर सिर्जना गर्‍यो। त्यो लामो समयदेखिको नेपाली जनताको चाहनालाई ध्यान दिएर गरिएको कार्य थियो । उनीहरुले परिवर्तन र रुपान्तरणको पक्षमा मतदान गरे जसको निम्ति मेरो पार्टीले वर्षौंदेखि संघर्ष गरेको थियो । ऐतिहासिक राजनीतिक परिवर्तनपछि अब हाम्रो एजेण्डा समानरुपले ऐतिहासिक सामाजिक र आर्थिक परिवर्तन गर्ने रहेको छ ।

आज मैले पुरै गौरवका साथ तपाइँलाई सूचित गर्नैपर्छ- हाम्रो संविधानसभा सबै सीमान्तकृत उपेक्षित जातीय समुदाय आदिवासी जनजाति दलित सुविधाविहीन र पिछडिएका क्षेत्र र समुदायका जनताको प्रतिनिधित्वयुक्त सर्वाधिक समावेशी प्रतिनिधिमूलक अंग हो । यो एक्काइसौं शताब्दीको पहिलो दशकको प्रतिनिधित्व विश्वका लागि ठूलो उदाहरण बन्नसक्छ । सरकार शान्ति सुरक्षाको पुनर्स्थापना गर्न, द्वन्द्व पीडित जनतालाई तत्काल राहत प्रदान गर्न, भ्रष्टाचारको तीब्र बृद्धिविरुद्ध लड्न, अति गरीव वर्गलाई लक्षित गरी आर्थिक राहतको प्याकेज कार्यक्रम लागु गर्न, पूर्वाधार निर्माण र सार्वजनिक निजी साझेदारी बृद्धि गर्न प्रतिवद्ध छ ।

सरकारले नेपाली जनताले लामो समयदेखि पर्खिरहेको नयाँ सामाजिक आर्थिक परिवर्तनको वातावरण तयार गर्न अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी सहकार्य गर्ने वातावरण बनाउनेछ । नेपालको शान्ति प्रकि्रया यसका विशेषताहरुमा मौलिक र वुहदलीय लोकतन्त्र समावेशी सहमतिमूलक संवाद र निर्णयकर्ताको रुपमा जनताको पहिचान स्थापित गराउने कुरामा आधारित छ । यो हाम्रो शान्तितर्फको सिर्जनात्मक सोंचको परिणाम हो र यसले कुनै पनि ठाउँमा शान्ति प्रकि्रयालाई सन्दर्भ सामग्रीको रुपमा सहयोग गर्न सक्छ ।हामी नेपालको शान्ति प्रकि्रयामा संयुक्त राष्ट्र संघको लगातार समर्थन र अझ विशेष गरी अन्मिनद्वारा गरिएको सेना तथा हतियार व्यवस्थापनसम्बन्धी कार्यको प्रशंसा गर्दछौं । संयुक्त राष्ट्र संघीय मिसन अन्मिन ले यसको जिम्मामा रहेका कार्यहरु राम्ररी पूरा गरेको छ । म यसलाई हाम्रा छिमेकी मित्र र दाताहरुलाई उनीहरुले नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संस्थागत विकासको पक्षमा पुर्‍याएको लगातार समर्थनका लागि धन्यवाद दिने अवसरको रुपमा लिन्छु । म उहाँहरुको यो समर्थन नेपाली जनताको उपेक्षाअनुरुप यसका विकास सम्भाव्यताहरु अघि बढाउन समेत कायम हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

अध्यक्ष महोदय, हामी देशभित्रको शान्ति प्रकि्रयामा अगाडि बढिरहँदा विश्वमा खाद्य संकट तेलको मूल्यमा बृद्धि र जलवायु परिवर्तनको खतराजस्ता नयाँ समस्याहरुले हामीलाई निहार्दैछन् । यी चुनौतीहरु हाम्रो सहस्राब्दी लक्ष्य हासिल गर्ने क्रममा समस्याको रुपमा उभिएका छन् । अल्पविकसित मुलुकका समस्या समाधान नगरिकन सहस्राब्दी लक्ष्य प्राप्त गर्न सकिने छैन । सन् २००० मा गरिएका सहस्राब्दी घोषणाका उच्च प्रतिज्ञा र २००२ को विश्व सम्मेलनमा विकासका लागि वित्तीय सहयोगको प्रतिज्ञा गरिएको थियो । ती मध्ये धेरै प्रतिवद्धताहरु अझै पूरा हुन बाँकी छन् र सहस्राब्दी विकास लक्ष्यका प्राप्तिहरु विश्वका गरीव जनतासमक्ष पुर् याउने काम अत्यन्त आवश्यक छ । आज संयुक्त राष्ट्र संघका एजेण्डाहरुले यी विकास चुनौतीहरु र अझ धेरै मुद्दाहरु जस्तो कि धार्मिक अतिवाद र आतंकवाद आणविक हतियार र आमसंहारकारी हतियारको बृद्धि लागु औषध मानव तस्करी र नक्कली मुद्राको कारोबारजस्ता संगठित अपराध देशभित्र र देशहरुको बीचमा द्वन्द्व मानवअधिकारको बढ्दो हनन् जातीय नरसंहार युद्ध अपराध र मानवताविरुद्धको अपराधजस्ता मुद्दाहरुको समाधान गर्नुपर्दछ ।

यो कुरा अझ बढी स्पष्ट छ कि यी विश्वव्यापी समस्याहरुको विश्वव्यापी समाधान चाहिन्छ । यस अवसरमा हामीले एकसाथ संयुक्त राष्ट्र संघका बडापत्रका उद्देश्यमा आधारित भएर एउटा दृष्टिकोण र रणनीति बनाउनु पर्दछ । संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तमा जस्तै एकपक्षीयता होइन वहुपक्षीयता नै यी समस्याहरुको उत्तर हो । नेपालजस्ता अल्पविकसित राष्ट्रहरु तिनीहरुको विकास प्रयासमा विशेष प्रकारका समस्याहरुको सामना गर्दैछन् । हामी गरीवीको दुसाध्य चक्रमा फसेका छौं । विभिन्न ऐतिहासिक कारणहरुले हामीसँग न्यून आर्थिक बृद्धिदर न्यून उत्पादकत्व अविकसित उद्योगहरु र परम्परागत कृषि प्रविधि छ । अवसर र सामाजिक सूचकांकको तल्लो तहको कारणले ती देशहरुमा लगातार द्वन्द्व र संकटहरु देखापरेका छन् । आज देशभित्र र देशहरुको बीचमा समेत धनी र गरीवबीचको बढ्दो अन्तरले आसन्न विनाशलाई संकेत गर्दछ । यो अमानवीय र अन्यायपूर्ण छ कि आजको प्राप्ति सम्पन्नता र प्रगतिको यो युगमा पनि उच्च तहको असमानता कायम छ ।

उत्तिकै महत्वपूर्ण कुरा के छ भने सम्पन्नताको ताप र गरीवीको समुद्र न त दिगो रुपले टिकाऊ छ न त विकसित देशहरुकै हितमा छ किनभने यसले तिक्तता र द्वन्द्वलाई वढावा दिन्छ र दीर्घकालीनरुपमा विकसित देशकै प्रगतिलाई समेत घटाउँछ । यो संयुक्त राष्ट्र संघको आधारभूत भावनाको समेत विरुद्ध छ । अल्पविकसित देशहरुको तीब्र संकटको अवस्था र त्यसको विशिष्ट प्रकृतिको कारणले म जोडदाररुपमा माग गर्छु कि अल्पविकसित राष्ट्रहरुलाई संयुक्त राष्ट्र संघले विशेष र केन्द्रित कार्यक्रमद्वारा अलगरुपमा हेरोस् । यदि न्यायिक र समावेशी विश्व निर्माण गर्ने हो जसको संयुक्त राष्ट्र संघले गर्वका साथ वकालत गर्छ अल्पविकसित राष्ट्रहरुलाई समर्पित समर्थन र सहयोग उपलब्ध गराउनुपर्दछ । हामी केवल अल्पविकसित मात्र छैनौं भूपरिवेष्ठित पनि छौं । हाम्रो विकास चाहनाको पूर्तिका प्रयासमा यो दोहोरो वेफाइदा हो । वास्तवमा विश्वव्यापीकरणका नकारात्मक असर र व्यापारको बढ्दो मूल्यले हामी अझ सीमान्तकृत भएको महसुस गर्दछौं । हामी यी असरहरुलाई कम गर्न विश्वव्यापी सम्झौताहरु अल्पविकसित राष्ट्रहरुको लागि ब्रसेल्स कार्यक्रम र भूपरिवेष्ठित राष्ट्रहरुको लागि अल्माटी कार्यक्रम पूर्णरुपमा लागु होस् भन्ने चाहन्छौं । विशेषरुपमा म हाम्रा विकसित मित्रहरुले अल्पविकसित राष्ट्रहरुको विकासको निम्ति उनीहरुको राष्ट्रिय आयबाट केही प्रतिशत छुट्याउन गरेको प्रतिवद्धता व्यापार सहुलियत ऋण माफी र उनीहरुको क्षमता बृद्धिमा सहयोगजस्ता प्रतिज्ञाहरु पूरा गर्नुपर्ने कुराको आवश्यकतामाथि जोड दिन चाहन्छु ।

हाम्रो सन्दर्भमा म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु कि नेपालले हाम्रो गरीवी न्यूनीकरण र गरीवका लागि शासनको नीतिमा आधारित कार्यक्रमहरु अघि बढाउनेछ ।

हामीले हाम्रा जनतालाई जलवायु परिवर्तनको बढ्दो समस्याबाट बचाउनुपर्ने आवश्यकता छ । उदाहरणको लागि हाम्रो देश नेपालको पनि हिमनदी पग्लने र मौसममा भइरहेको परिवर्तनले जीवन निर्वाह प्रणाली कृषिको दिगोपनामा कमी लगातार बाढी र पहिरोजस्ता जलवायु सम्वन्धित प्रकोपहरु देखा परिरहेका छन् । हिमालय श्रृंखलाले जीवनको निम्ति अत्यावश्यक पानी करोडौं जनतालाई उपलब्ध गराइरहेको छ । विश्वको छानाको रुपमा रहेको सगरमाथा र हिमालय श्रृंखलाको संरक्षण र उचित सदुपयोग गरेर समस्त मानवतालाई नै योगदान दिनुपर्ने आवश्यकता छ । त्यसकारण हिमालय क्षेत्रको महत्वपूर्ण वातावरण बचाउनका निम्ति आवश्यक सम्पूर्ण सहयोग गर्न म विश्व समुदायलाई जोडदार अपिल गर्दछु । हामीले साझा तर भिन्न भूमिका सहितको शासन स्थापना गर्नुपर्छ जहाँ विकसित राष्ट्रहरुले अल्पविकसित र संकटमा परेका राष्ट्रहरुको केही भार वहन गर्नुपर्दछ ।

मौसम परिवर्तनको समस्यालाई सम्बोधन गरेर नेपालको नवीकरणीय र शक्तिको स्वच्छ स्रोतको रुपमा रहेको जलविद्युतको ठूलो सम्भावनाबाट फाइदा उठाउन विश्व समुदाय तयार हुनुपर्दछ । यसका लागि विद्युत आयोजनाहरुमा लगानी निम्त्याउन र प्रोत्साहित गर्न नेपाल तयार छ । शान्ति न्याय लोकतन्त्र र विकासको वातावरण निर्माण गर्न विश्वव्यापी मानवअधिकारको प्रयोग अत्यन्त आवश्यक छ । लोकतान्त्रिक राष्ट्रको रुपमा नेपाल सबै परिस्थितिहरुमा आफ्ना जनताको मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्न प्रतिवद्ध छ । नेपाल मानवअधिकारको संवैधानिक र कानूनी ग्यारेण्टी गर्न र नेपाल पक्ष भइगरेका सबै अन्तर्राष्ट्रिय मानवअधिकारको पालना गर्न कटिवद्ध छ । सरकार दण्डहीनताको वातावरण अन्त्य गर्न कटिवद्ध छ । प्रस्तावित शान्ति तथा मेलमिलाप आयोगले शान्ति र न्यायको बीचमा आवश्यक सन्तुलन कायम गर्नेछ । यदि त्यहाँ न्याय कायम हुन्छ भने त्यसले शान्ति प्रकि्रयाको पनि संरक्षण गर्नेछ ।अध्यक्ष महोदयम प्रशन्न छु कि एशिया र प्यासिफिक क्षेत्र शान्ति एवं निशस्त्रीकरण क्षेत्रीय केन्द्र २० वर्ष पछाडि काठमाडौंबाट साचालित भइरहेको छ ।

यस अगष्ट महासभाले न्यूयोर्कबाट केन्द्रको कार्यालय काठमाडौं सारेकोमा म सबै सदस्यहरु यस क्षेत्रका राष्ट्रहरु महासचिव सचिवालयका अधिकारीहरु सबैलाई धन्यवाद दिन चाहन्छु । सम्वन्धित सबै राष्ट्रहरुको सहयोगले केन्द्रलाई सफल बनाउने कुरामा नेपालको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । वर्षौंदेखि शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ अभिन्नरुपले सहभागी हुने गरेको छ । यसलाई ध्यान दिएर नेपालले यसका शान्ति स्थापकहरुलाई लगातार रुपमा १९५८ देखि नै पठाइरहेको छ । अहिले हामी संयुक्त राष्ट्र संघमा नेपाली शान्ति स्थापकहरुको सहभागिताको पचासौं वार्षिकी मनाइरहेका छौं । यसलाई म विश्वव्यापी शान्ति प्रक्रियामा नेपालका शान्ति स्थापक सैन्यहरुको लगातार सहभागिता रहने प्रतिवद्धता दोहोर् याउने अवसरको रुपमा लिन्छु । नेपाल संयुक्त राष्ट्र संघको शान्ति प्रक्रियामा सेना र प्रहरी उपलब्ध गराउने पाँचौं ठूलो देश हो । हामी प्रशन्न छौं उनीहरुले आफ्नो व्यावसायिक दक्षता र प्रदर्शनको लागि देशभित्र र विदेशमा पनि सम्मान प्राप्त गरेका छन् । हामी यसलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हाम्रो मुख्य योगदानको रुपमा लिन्छौं । हामीले राष्ट्रिय मानवअधिकार आयोगलाई मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्नसक्ने गरी बलियो बनाउने काम जारी राख्नेछौं । यो कुरा स्पष्ट छ कि नेपालमा शान्ति सम्झौतामा हस्ताक्षरपश्चात् मानवअधिकारको अवस्थामा सुधार हुँदै आएको छ ।

अध्यक्ष महोदय, केही समय अगाडि मात्र विश्व व्यापार संगठनमा प्रवेश गरेको अल्पविकसित राष्ट्र हुनुको नाताले दोहा विकास योजनाका एजेण्डाहरुका ठोस प्रगतिमा भइरहेको कमीप्रति नेपाल गम्भीर चासो राख्छ । विश्व व्यापार संगठनको प्रुेमभित्र वहुपक्षीय व्यापार सम्वन्धका अवसर प्रयोग गर्ने काममा अब ढिलाइ गर्नुहुन्न । अल्पविकसित राष्ट्रका सबै व्यापारिक उत्पादनहरुलाई भन्सार र कोटामा सबै मुख्य राष्ट्रहरुले छुट उपलब्ध गराउनुपर्दछ । त्यसको साथै अल्पविकसित राष्ट्रहरुका सामानको उत्पत्ति र आपूर्तिमा उपयुक्त नियमहरु बनाइनुपर्छ । त्यसरी मात्र दोहा बैठकलाई विकास बैठकको रुपमा बदल्न सकिन्छ । अल्पविकसित राष्ट्रहरुलाई विश्व व्यापारसँग एकीकृत नगरिकन कसरी विश्व व्यापारलाई दिगो समानतायुक्त र समावेशी बनाउन सकिन्छ मलाई थाहा छैन । त्यस्तै गरेर अल्पविकसित देशहरुलाई व्यापारको लागि बढी सहयोग र व्यापार सरलीकरणका उपायहरु दिनुपर्छ जसले उनीहरुको व्यापारिक क्षमता बृद्धि गर्न सक्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको क्षेत्रमा देखापरेका ठूला चुनौतीहरु सामना गर्न संयुक्त राष्ट्र संघमा सुधार र लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता छ । र यसले विश्वको वर्तमान यथार्थ प्रतिविम्वित गर्न सक्नुपर्छ । हामीले विश्व संस्थालाई विश्वव्यापी समस्या समाधान गर्न आवश्यक मात्रामा विश्वसनीय वैधानिक सक्षम र प्रभावकारी बनाउनैपर्छ । म यसलाई संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्यप्रति नेपालको उच्च विश्वास र प्रतिवद्धता दोहोर् याउने अवसरको रुपमा लिन्छु ।

नेपाली जनता र सरकारको तर्फबाट म विश्वका समस्याहरु समाधान गर्न सदिच्छा सहयोग र पारस्परिक एकताका आधारमा संलग्न हुने प्रतिवद्धता जनाउँछु जसलाई हामीले नेपालको परराष्ट्र नीतिको अभिन्न अंगको रुपमा लिएका छौं । नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ । जसमा संयुक्त राष्ट्र संघ विश्वास गर्छ । त्यसकारण यहाँको भेलालाई सम्बोधन गरिरहँदा मलाई संयुक्त राष्ट्र संघको सम्पूर्ण उद्देश्य आदर्श र ती आदर्शको बीचको अन्तरसम्बन्ध र हामीले हाम्रो देशमा प्राप्त गर्न खोजेको आर्थिक सामाजिक र राजनीतिक परिवर्तनको सम्बन्धमा विशेष अनुभूति भएको छ । सींगो विश्व परिवारको रुपमा सामूहिक र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै हाम्रा साझा उद्देश्यहरु प्राप्त गर्न सफल हुन सकौं ।

धन्यवाद !।



September 27, 2008

हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता

माओवादी जनयुद्दले  नेपालका गाउँघरमा त्रासदि मच्चाएका बेलाको  कुनै समयमा तेह्रथुमको म्याङ्लुङमा एउटी कलेज पढ्ने केटीले जिन्सको पाइण्ट लगाएको र कपाल काटेर छोटो पारेको आरोपमा ती छात्रालाई, त्यतिबेला जनताको यु्द्द लडेका भनिएका माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले कार्वाही गरेको थियो । बेलाबेलामा हाम्रा क्रान्तिकारी तथा राष्ट्रवादी समूहहरूबाट यो र यस्तै खालका घटना देशव्यापी रूपमा घटाउने र चर्चामा आएर सेलाउने गरकै हुन् त्यतिबेला । यस घटनामा कारवाही स्वरूप ती अभागी वालाको  कपाल पूर्ण मुण्डन गरिएको  थियो र उनको जिन्सको पाइण्टलाई छिया छिया पारेर बेइज्जति गर्दै बजार घुमाइएको घटना समेत त्यतिबेला समाचारको विषय बनेको थियो । .........  तर समयको गति न हो ,क्रान्तिकारिताको यो स्वरूपमा अहिले आएर १८० डिग्रिको परिवर्तन आइसकेको छ , किनभने ब्वाइज कट काटेको कपाल र जिन्सको पाइण्ट लगाएर माओवादीकी एकजना शिर्षस्थ महिला मन्त्री हिसिला यमीले आफ्नो पद तथा गोपनियताको शपथ दुई तीन पटक ग्रहण गरिसक्नु भएको छ। त्यस्तै पम्फा भूसालले पनि गरिन् क्यारे  । त्यसकारण, मन्त्राणी स्वयंले औपचारिक अनुमोदन गरिदिएको त्यो पहिरन र आवरण अब विवादको वस्तु नरहेको हुनसक्छ ।


तर नया नेपालमा नेपाल सुन्दरी ( मिस नेपाल ) प्रतियोगिता  हुन दिने कि नदिने कुरा सर्वथा विवादमा रहिआएको छ र हुन नदिने भन्ने पक्षका हर्ताकर्ता माओवादीहरू सत्तामा पुगेपछि भने मिस नेपालका आयोजकहरूको जागिर र जाँगर दुवै झन निरिह बन्न पुगेको छ । सुनिएको छ हिडन ट्रेजर नेपाल भन्ने संस्थाले आयोजना गर्ने मिस नेपाल प्रतियोगिता हालैका मितिमा आइपुग्दा  हुनबाट छैटौँ पटक रोकिएको छ । यो प्रतियोगिता हुन दिने र नदिने पक्षका आ-आफ्ना तर्कहरू पक्कै छन् । यसको विरोधमा न्वारानदेखिको बल खर्चिनेहरूका अनुसार यस्तो प्रतियोगिताले महिलाहरूको मानमर्दन गर्छ र महिला अस्मिताको बिरूद्द उनीहरूको बजारीकरण गर्दै अवमूल्यन गर्छ । अनि सञ्चालकहरूले प्रतियोगिताको नाममा सुन्दरी कन्याहरूलाई गर्नु नगर्नु गरेर लाभ लिन पनि सक्छन् र यसले समग्र नारी अस्तित्वको बजारमा लिलामी गर्छ । अत: महिला अस्मिता बिरूद्द गरिने यस्तो पूँजिवादी कर्तूतबाट जोगाउन , मिस नेपाल जस्ता प्रतियोगिता सञ्चालन रोक्नुपर्छ ।

उता सुन्दरी प्रतियोगिता हुनुपर्छ भन्नेहरूको पनि त्यति बडेमानको माग केही छैन । संसारभरि लगभग ( उत्तर कोरिया र मुसलमान मुलुकको भने थाहा भएन ) जतासुकै हुने र गरिने यस्तो प्रतियोगिता नेपालमा मात्र रोक लगाएर केही राम्रो हुने हैन भन्ने उनीहरूको भनाइमा असहमत हुनुपर्ने कुरा पनि केही छैन । यसका पक्षधरहरूका अनुसार सुन्दरता नारीहरूको पहिलो सम्पत्ति हो , र बाह्य र आन्तरिक सुन्दरताको प्रष्फुटन र प्रतिष्पर्धामा भाग लिने अवसरबाट बञ्चित गर्ने कुनै पनि कार्य अलोकतान्त्रिक त हुँदै हो , यसले महिलाको न्यूनतम् मानव अधिकार माथि पनि धावा बोल्छ भन्ने कुरा पनि साँचो नै ठहर्छ । अरू प्रतिस्पर्धाहरू जस्तै उमेर पुगेका सुन्दरीहरू तँ भन्दा म के कम राम्री छु ? भन्ने खालको प्रतिस्पर्धामा लड्न चाहन्छन् भने , सरकारको टाउको दुख्नु पर्ने कुनै कारण हुनुपर्ने केही देखिन्न ।

समग्र देश हिंसाग्रस्त छ , मुलुकभरि अव्यवस्था अनि राज्य र दण्डविहीनताको जगजगी मच्चिएको छ  । मान्छेको बाँच्न पाउने अधिकार , निर्भय रहेर आफ्नो दु:खसुख गरी परिवारसंग रहन पाउने अधिकार, आधारभुत सेवा ,सुविधा र वस्तु हासिल गर्न पाउने अधिकार, शिक्षा , स्वास्थ्यका अधिकार कुनै पनि कुरा देशमा अस्तित्वमा देखिन्नन् तर राज्य भने आफ्नो उपस्थिति दर्शाउन , केही चर्चित मुद्दामा आफ्नो संलग्नता देखाउन लागेको देखिन्छ ।

हुनत सुन्दरी प्रतियोगिता हुन दिँदा वा नदिँदा , नेपालीको भाग्यमा कुनै कायापलट हुने पनि हैन र यसले हाम्रो नियतिमा त्यति ठूलो तात्विक अन्तर ल्याउने पनि हैन , तैपनि नारीहरूले आँफुले सुन्दरी प्रतियोगितामा भाग लिएर , जितेर आँफुले गौरव हासिल गरेको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको मानव अधिकार हो र त्यसको रक्षा राज्यले गरिदिनु पर्छ । माओवादी राजनीतिको आदर्श मानिने कम्युनिष्ट मुलुक चीनले समेत सन् २००३, २००४, २००५ र २००७ मा  मिस वर्ल्ड  प्रतियोगिताको आयोजना आँफै गरेको छ । आधुनि विश्वमा सबैभन्दा बढी पट यो सुन्दरी प्रतियोगिताको आयोजक  कुनै पूँजिवादी मुलक नभएर कम्युनिष्ट मुलुक चीन रहेको कुरा  पढेका र देखेका जो कोहीले बुझ्न नसकेको पहेली के हो भने यो सुन्दरी प्रतियोगिता महिला अस्मिताको बिरुद्द नै हो  कि नेपालमा अहिलेका  सत्तापक्षकाहरूको राजनैतिक स्टण्ट मात्र ?  बुझ्न सकिएको छैन ।  सुन्दरी प्रतियोगिता हुन दिएर  हामीलाई हुनुपर्ने घाटा केही छैन, भयो भने थोर बहुत फाइदा नै होला । अत: कसैको राजनैतिक अडानको स्वार्थमा यो प्रतियोगिताको भविष्य जोडिनु पर्ने केही कारण देखिन्न । त्यसैले हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता, कसैको केही खोसिने वाला छैन यसो गर्दा , इच्छुकहरूले भाग लिन्छन् त्यत्ति हो । बरू यो प्रतियोगिता ठीक हैन भनेर बिरोध गर्ने अर्को महिला समूह भएमा, तिनलाई पनि टुँडिखेलमा बिरोधसभा राख्ने अवसर दिँदा हुन्छ, भिडन्त टार्नु पर्‍यो त्यत्ति हो । तर, राजनीति नगर्ने हो भने कसैलाई बिरोध गर्न जानु पर्ने दरकार पनि हुन्न ।


गृहमन्त्रीको अरण्य रोदन र माओबादीको हुंकार

आज एकै दिनमा नेपालका मिडियामा दुईवटा अति भिन्न र पूर्ण विपरित समाचारहरु आए:

पहिलो समाचार थियो: उप-प्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमको संसदमा हतियार निषेध गरीएको 'अरण्य रोदन'। अरण्य रोदन यस मानेमा कि, उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनि हतियारलाई संसदमा मात्रै निषेध गर्न चाहन्थे र माओबादिलाई अनाधिकृत हतियार लिएर देशका अन्य कुनै पनि भागमा विचरण गर्न भने होलसेलमै छुट दिईएको छ । अनाधिकृत हतियार कसैले पनि कहि पनि लिन वा राख्न हुन्न भन्ने आँट गृहमन्त्रीलाई पनि आएन ।

शायद एकदमै शाहस जुटाएर उनले यत्ति पनि उदघोष गरेका थिए, तर उनको यो रोदन मिस्रित दरिलो उदघोषले केहि घण्टा पनि 'हिट' हुने मौका पाएको थिएन, राष्ट्रमा जुन बेला, जहाँ पनि र जे पनि गर्न अग्राधिकार प्राप्त माओवादिका तर्फबाट एक जना वरिष्ठ नेता टोपबहादुर रायमाझीले आफूहरुले त्यो निर्देशन पालना नगर्ने चुनौती दिई हाले।

रमाईलो कुरा त उनले बामदेवको ठाडै खिल्लि उडाएर त्यो उनको व्यक्तिगत विचार भएको बताए । वाह! गुण्डागर्दिको राजको यो भन्दा ठुलो आर्को के उदाहरण खोज्ने?। जहाँ देशका मूल कानून वा संबिधान निर्माण गर्ने दिग्गजहरुको भेलामा ज्यान लिन सकिने हतियारहरु आरामले बिना रोकतोक जान सक्छन र कानूनको ठाडो उलंघन त्यहि बाटै हुन्छन ।

एकातिर आफ्ना सुप्रिमोको कुनै यौटा जमघटमा अमेरिकि राष्ट्रपतिसंग भएको 'जम्काभेट' लाई 'वृहत वार्ता' र 'गहन छलफल' को नाम दिएर जहाँ माओबादिहरु, अमेरिकाले उनिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको र यो 'भेट-घाट' पछि अमेरिकि नजरमा माओबादिहरु आतंककारी नभएको पुष्टि गर्न लागी परेका छन भने त्यहि बेलामा दिउसै हतियारधारिहरु सभासदको भिडमा प्रवेश गरि आफ्नो त्रास कायम राख्दैछन ।

माओबादिले पटक-पटक आफू नसुध्रीने वा आफुलाई समान्य नागरिक भन्दा बिशेष सम्झिने कुराहरु यस्तै हरकतहरुबाट प्रदर्शन गर्दै आएकाछन भने अन्य दलका जिम्मेबार नेताहरु पनि खालि झारा तिर्ने हिसाबले मात्रै त्यसको बिरोध गर्दै आईरहेका छन । यस्तै कानून तोडने हिम्मत र झारा टार्ने बिरोध चलिरहे भोलिका दिनमा हाम्रो देशको हाल के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । तर कानूनको पालना गर्दा नूर गिर्ने माओवादिको यो सोच त्यत्तीनै हलुका र बिकृत छ जत्ती बन्दुक बोकेर हिडंदा शान बढने उनिहरुको आडम्बर । यो कुरा समयमै बुझेमा सबैभन्दा बढि फाईदा माओबादि लाई नै हुन्छ ।



निरिह संविधानसभा , नेताजीको सपरिवार विदेश शयर : न्यू नेपालको विचित्र मोडेल (एक परिहास)

     संविधानसभाको निर्वाचन भएको पुगनपुग ६ महिना हुन थाल्यो । २ वर्षे पधावधि रहेको सभाको मुख्य काम हो नया संविधानको लेखन, अनुमोदन र जारी भएको घोषणा गर्नु । तर नेपालको हालत देखेर यस्तो लाग्दैछ कि , संविधान लेखनको कार्य कतै प्राथामिकतामा नै छैन । ६०१ जनाको सभा गठन गर्दिएर अलिकति बेरोजगार पार्टीका हुल्लडहरूलाई जागिरको जोहो मिलाइएको छ । ती पार्टीको श्‍वरमा समर्थन जनाउन जम्मा पारिएका लठैत हुल्लडहरूलाई तलब र भत्ताको टौवा ठड्याइदिएर त्यहीँ चर्न अह्राइएको छ र ती त्यहीँ भुल्दैछन् । मन्त्री बनेका सुपर लठैतहरू भने आजकल , नया नेपालको राजनैतिक मोडेल खोज्न- भेट्टाउन जहान परिवार सहित सरकारी कोषको ब्रम्हालुट गर्दै विदेश शयरमा मस्त छन् । अनौठो छ, जनताको युद्द लडेका जनताका पार्टीमा सरकारी भ्रमणदलमा मिसिन जनता नै छैनन् , केवल छोराछोरी, पति-पत्नि र नातागोता मात्र छन् । अहिले जुन द्रूत एवं भीमकाय गतिमा माओवादी नेतृत्वको मन्त्री मण्डलका मन्त्रीहरू विदेश यात्रामा निस्केका छन् , त्यो देख्दा यस्तो लाग्छ मानौँ उनीहरू नया नेपालको विचित्र राजनैतिक मोडेल भित्र्याउन व्यग्र र आतुर छन् । हेर्नुस न नेताजीहरू भ्रमण गर्दै गरेका मुलुकहरू कस्ता कस्ता फर्मूला बोकेका छन् :

माओवादी पार्टी सुप्रिमो र मुलुकका प्रधानमन्त्री दुवै बनेका पुष्पकमल उर्फ प्रचण्ड साम्राज्यवादी अमेरिकाको भ्रमणमा छन् । उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिता देखाउने तथा अमेरिकी राष्ट्रपति बुशले दिने सामूहिक जलपानमा भाग लिने काम गर्ने छन् भन्ने विश्वास थियो। यो उनले गरिसके , तर नेपालमा रहेका माओवादी समर्थित मिडियाले भने यो सामूहिक जलपानको समारोहमा राष्ट्रपति बुशसंग मुखामुख भएको एउटा सामान्य सन्दर्भलाई माओवादीको अमेरिकमाथि भएको कुटनैतिक विजयको घटनाको रूपमा बहुप्रचारित पार्ने कोशिस गरे । यस्तै केही अमेरिकामा रहेका माओवादी समर्थक विद्यार्थी एवं अवसरकै मेसो खोजी रहने व्यवसायी र दूतावासका कर्मचारी अनि सानो गोराहरूको समूहलाई भेटेर प्रचण्डले गफगाफ गर्न पाएको साधारण घटनालाई उसका समर्थक चाटुकारहरूले प्रचण्डलाई अमेरिकामा भयंकर स्वागत गरिएको रूपमा प्रचार गर्ने कोशिस गरे । तर पनि वास्तविकता के हो भने, संयुक्त राष्ट्रसंघको यो कुम्भ मेलामा जात्रा भर्न जाने विदेशी नेताहरूको न्यूयोर्क र अमेरिकामा यतिबेला लथालिङ्ग उपस्थिति हुन्छ । राष्ट्रपति बुशसंग मुखामुख गर्न पाएको सन्दर्भलाई लिएर यति बिघ्न उत्तेजित बन्नु पर्ने कुनै कारण देखिन्न । तर पनि, भयंकर अमानुष र अमानवीय हिंस्रक शैलिको त्रासदि मच्चाएर संसारमै अछूत सरह तिरस्कार गरिएको समूहलाई भने यस्तो सामान्य भेट सन्दर्भ पनि पारसमणिले छोएर सुन बनाउने वा पवित्र पार्ने चमत्कारको लाग्न पनि सक्छ। यो छलाङ नै होला !

जनताको गणतन्त्रमा आफ्नी पत्निका साथमा छोरालाई स्वकीय सचिव बनाउँदै सरकारी खर्चमा कम्युनिष्टहरूले जन्मेका दिनदेखि नै साम्राज्यवादी भनेर गाली गर्न मन पराउने अमेरिका शयरमा निस्केका प्रधानमन्त्रीको यो भ्रमण उनले नै भन्ने गरेको आगामी नेपालमा लागू गर्ने भनिएको अनौठो मोडेलको तन्त्रको फर्मूला लिनका लागि पनि हुनसक्छ । प्रचण्डले भन्ने गरेको पूँजिवादी आर्थक चमत्कारको यो मोडेलवाला राजनैतिक परिपार्टीको अलिकति फर्मूला पूँजिवादी अमेरिकाबाट ल्याउने कुराका लागि उनी वहाँ पुगेको आशंका गर्ने हो भने , उनकै पार्टीका अन्य नेताहरूका बाँकि भ्रमणहरूको पनि चर्चा गर्नै पर्ने हुन्छ ।

सुनिएको छ , अर्का माओवादी मन्त्री रामबहादुर थापा आफ्ना छोरालाई सरकारी कोटाको सुरक्षा सल्लाहकार बनाएर चीनको रेडआर्मीले खेल्ने परेड हेर्न चीन पुगेका छन् । उनले रेड आर्मीको परेड हेरेर आएपछि माओवादी लडाकाहरूलाई कसरी नेपालको सरकारी सेनामा मिसाएर समग्र देशलाई माओवादी पार्टीकरण गर्ने भन्ने टेक्नोलिजीलाई मजाले प्रयोग गर्नेछन् । माओवादी नामले लडिएको यो युद्दलाई भर्खरै काठमाण्डौली जनताको निधी जात्राहरूको बजेट काटेर साँस्कृतिक क्रान्तिको पूर्व-पीठिकाका रूपमा प्रयोग गर्न थालिएको सन्दर्भमा , माओको देशबाट आयात गरिने नया मोडेलको राजनैतिक परिपार्टीको तन्त्रको प्रयोगका लागि , सँधै सेना र लडाईँको महत्वलाई मात्र बुझ्न चाहने माओवादी लडाका कमाण्डर एवं अहिलेका सरकारी रक्षामन्त्रीले आफ्ना सूत्रहरू र पाटपूर्जा लिन त्यहाँ गएका होलान् भन्ने बुझ्न गाह्रो छैन ।

माओवादी शान्ति-प्रकृयामा गएपछि सदावहार रहेका अर्का मन्त्री कृष्णबहादुर महरा पनि माओवादी मोडेलको आदर्श मानिने मुलक उत्तर कोरिया शयरमा आफ्ना सुपुत्र सहित निस्केका रहेछन् । आफ्ना पुत्रले बिदेश घुम्न पाउनु पर्ने जिरह गर्न थालेपछि यी कामरेडले पनि सरकारी कोटाको शाखा-अधिकृत बनाएर आफ्ना पुत्रलाई जनवादी शैलिले भ्रमणदलमा घुसाएका रहेछन् । उत्तर कोरिया भ्रमणबाट मन्त्री महराले ‘जनताको जनवाद र जुछ्छे विचारधारा’ को आदर्श फर्मूला ल्याएर नेपालमा प्रयोग गर्न चाहन्छन् भन्ने कुरा विश्वास गर्न सकिन्छ ।

उता अर्का माओवादि मन्त्री गोपला खुम्बु सपत्नि सरकारी भ्रमणमा ससुराली भेट्न हङ्कङ गएको कुरा पढ्न पाइयो भने सरकारमा रहेका माओवादी इतरका तीनवटा मन्त्री पनि मुलुक बाहिर नै छन् रे !

यता माओवादी पार्टीको प्रतिवद्दता पत्रमा रहेको १० वर्षमा १० हजार मेगावाट बिजूली निकाल्ने योजना कार्यान्वयन सजिलै गर्न सकिन्छ भन्ने उद्घोषका साथ , ठूलो भारतीय दलबल र त्यहाँका उर्जा मन्त्री जयराम रमेशको नेतृत्वमा काठमाण्डूमा ‘पावर समिट’ सम्पन्न गरियो , त्यही समिटको बाँकि रहेको कामकुरो पूरा गर्न अर्को सम्मेलनमा हिजैदेखि भारतको वराणसीमा हुँदैछ र त्यहाँ पनि माओवादी कानून मन्त्री देव गुरुङ पुगेका छन् । जति बेला चाहे पनि जान सकिने भएर होला त्यहाँ कामरेड गुरूङले आफ्ना जहान केटाकेटी लाने चहाना राखे राखेनन् त्यति चर्चा भएको छैन । तर पनि, माओवादीले भनेको चमत्कारी विकास र अभुतपूर्व मात्रामा निकालिने बिजुलीको यो ठूलो परिकल्पनामा भारतीयहरूको यति अन्तरंग चासो देख्दा भने, माओवादी प्रतिवद्दतापत्रको निर्माण पनि उतैका मित्रशक्तिले गर्दिएका रैछ्न् कि भन्ने कुरा सोच्नै पर्ने हुन्छ ।

घटानाक्रमलाई नजिकबाट नियाल्दा अनि संविधानसभा नामको जम्बो जुलुसका खातेपिते-रमिते सदस्यहरूको नकाम देख्दा अनि सरकारी नेताहरूको भ्रमण र सुख शयल देखेपछि भने आजकल यस्तो पनि लाग्न थालेको छ कि हामीले खोजेको संविधान पनि प्रोफेसर एस डी मुनी, प्रकाश कारत, इन्दर गुजराल, डिपि त्रिपाठी आदि महान राजनीतिज्ञ र राजनेताहरूको सल्लाहमा विज्ञहरू मिलेर जवाहारलाल नेहरू विश्वविद्यालयको विशाल पुस्तकालय भित्रै पो लेखिँदैछ कि ! हाम्रो चमत्कारी विकास र संविधान लिएर मित्र मुलुकका मित्रहरू नै हाम्रो कायापलटका लागि लागेपछि हाम्रा मन्त्रीहरूले के काम गर्ने त विदेश शयरको आनन्द नलूटेर ? यत्रा वर्ष जनतालागि जनतालाई नै डसेर जंगलमा बसियो, अब पनि विश्व भ्रणकको मंगल-आनन्द नलिने ?