International Management Consultancy firm Hay Group ले हालै गरेको एउटा आर्थिक सर्वेक्षणले मेरो ध्यान अचम्मै रूपमा खिच्यो । यसको कारण थियो यो सर्वेक्षणले देखाएको बिभिन्न मुलुकमा तल्लो तहको अफिस काम (clerical) गर्ने र उच्च पदका व्यवस्थापकीय ( managerial or executive) तहका जागिरेहरूका बीचमा उनीहरूले हासिल गर्ने तलब सुविधाको भिन्नताको अनुपात ।
हे ग्रुपको यो सर्वेक्षणले मध्य पूर्वका तेल उत्पादक धनी राष्ट्रहरूका- कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन र साउदी अरेबिया - व्यवस्थापकीय ओहदामा काम गर्ने व्यक्तिहरू आँफ्नो कमाइको भरमा सबैभन्दा बढी पैसा खर्च गरेर जिन्दगी व्यतित गर्ने हैसियत राख्छन् भन्ने कुरा पत्ता लगाएको छ । यसको मुख्य कारण , ती देशहरूमा कार्यरत उच्च ओहदावाला व्यवस्थापक वा म्यानेजरहरूले प्राप्त गर्ने उच्च तलब सुविधा र ती मुलुकमा सरकारलाई फिर्ता बुझाउनु पर्ने न्यून करको व्यवस्था नै हो ।
प्रस्तुत सर्वेक्षणको रमाईलो पक्ष भने यस्तो रहेको छ । यहाँ एशियाका केही चुनिन्दा मुलुकहरूमा हालका वर्षहरूमा अफिस वा फर्महरूमा काम गर्ने तल्लो र माथिल्लो तहका जागिरेहरू बीचमा कायम रहेको तलब सुविधाको अन्तरको अनुपात देखाइएको छ ।
जागिरेहरूको आयको ( कमाइको ) अन्तर दर गुणा ( अनुपात) थोरैदेखि धेरै क्रममा :
देश | २००६ | २००७ | २००९ |
जापान | ३.३ | ३.२ | ३.४ |
दक्षिण कोरिया | ३.१ | ३.७ | ४.१ |
सिंगापुर | ४.९ | ४.७ | ५ |
मलेशिया | ६ | ६ | ६.२ |
हङ्कङ् | ५.५ | ५.८ | ६.३ |
भारत | ७.४ | ७.७ | ९.१ |
भियतनाम | ११.७ | ११.८ | ९.८ |
थाइल्याण्ड | १०.६ | १०.७ | ११.४ |
इण्डोनिशिया | ८.७ | ९.१ | ११.८ |
चीन | १०.५ | ११.८ | १२.६ |
प्रस्तुत सर्वेक्षणले पत्ता लगाएको आयको अन्तर अनुपात एशियाका पूँजीवादी मुलुकहरू मध्येका जापान र दक्षिण कोरियामा सबैभन्दा कम र कम्युनिष्ट मुलुकहरू भियतनाम र चीनमा ( टेबलमा रातो अक्षरमा ) सबैभन्दा बढी रहेको छ भन्ने प्रष्ट देखियो । हामीले अक्सर सुन्ने गरेको तथा कम्युनिष्ट नेताहरूले अक्सर हामीलाई सुनाउने गरेको कम्युनिष्ट मुलुकमा गरीब –धनी बराबर वा समान हुन्छन् र ती देशमा जनताको बीचमा आर्थिक विषमता भन्ने कुरा हुँदैन भन्ने कुराको बिरुद्ध माथिको तथ्यांकमा आधारित तथ्यले मजाक गरेको हो कि जस्तो देखिन्छ ।
पूँजीवादी भनिएका मुलुकहरूमा बरू , ट्रेड युनियन र श्रमिक वेलफेयर ( कल्याणकारी) कानूनहरूको उचित व्यवस्था हुनाले त्यहाँका नागरिक वा कामदारहरूको हितमा पारदर्शी ढंगले नियम र व्यवहारको कार्यावन्यन र व्यवस्थापन हुने गर्छ , तर कम्युनिष्ट अधिनायकवादको चरित्र भित्र , पारदर्शिता भन्दा नारा र दावालाई चर्को प्रपोगाण्डाका विधिबाट जनतामा छरेर वास्तविकतालाई पर्दा लगाउने कोशिश गरिएको हुन्छ भन्ने सत्य यो कुराले जगजाहेर गरेको छ । अत: आर्थिक समानता र विषमता अन्त्यको खोक्रो दावामा , कम्युनिष्टहरू अरू बढी र सबैभन्दा चर्का पूँजिवादी हुँदै गरेको सत्य तथ्य मात्र यहाँ प्रकट भएको मान्नु पर्छ । नेपालका कम्युनिष्टहरू बलजफ्ति चन्दा, धान लुट्नेदेखि र महायज्ञबाट धन जम्मा गर्ने समजावादी कर्ममा लिप्त भएको देख्नु परेको भए अनि कम्युनिज्म भित्र समानताको यस खाले धज्जी उडाइको बिडम्नापूर्ण हूर्मत देख्नु वा सुन्नु परेको भए , कार्ल मार्क्स बाजे धुरूधुरू रून्थे होला !
स्रोत: http://www.haygroup.com/ww/press/index.aspx