November 26, 2009

पशूबध रोकौ

हस्त गौतम मृदुल

म जस्तै उ जीव हो, हत्या नगर
ज्यानको आशा सवैलाइ हुन्छन,फत्ते नगर
शान्तिमा जिउनु छ,सुख नखोस
निर्दोष प्राणी निरही ठानी, मृत्यु नहोस
यस्ले नबोल्न सक्छ, न गुनासो पोख्न सक्छ
प्राणी हत्या अपराध भनी, कस्ले रोक्न सक्छ
म जस्तै उ पनि ..............................


November 23, 2009

ब्लग गफ दिनेश राज ज्ञवाली संग

Dinesh Raj Gyawaliदौँतरी साझा ब्लग भएकोले अन्य ब्लगरहरुको वा समष्टिमा नेपाली ब्लग जगतको उत्थान नै दौँतरीको पनि सफलता हो । यसै प्रसंगमा, संसारभर छरिएर रहेका नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्ने क्रममा यसपाला निम्त्याएका छौं केही बर्ष देखी जापानमा आफ्नै व्यबसाय गर्दै रहनु भएका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरका अध्यक्ष यबं अनेसासको मुखपत्र “अन्तर्दृष्टि”को सम्पादक मण्डलीमा समेत रही नेपाली भाषा-सहित्य र कलाको लागि योगदान गर्दै आउनु भएका ब्लगर श्री दिनेश राज ज्ञवाली जी लाई ।

अब लागौं वहाँसंगको ईमेल संबाद तर्फ:

ब्लग खोल्ने बिचार कसरी आयो, ब्लग सुरु गरेपछिको तितो मीठो अनुभवहरु सुनाउनुस न ?
पहिला रचनाहरु कोर्दा कपि या नोटबुकमा कोरिन्थ्यो तर तिनीहरुलाई जतन गरेर राख्न नसकिने भएकोले धेरै रचनाहरु हराए , अनि रचनाहरु २-४ जना साथिभाइ हरुलाई सुनाएर सहि कमेण्ट पनि नआउने ,आफूले सुध्रिनु पर्ने ठाउँहरु पनि पत्ता नलाग्ने ,रचनाहरु पुस्तक को रुपमा प्रकाशन गरेपनि सबै ठाउँ ,क्षेत्रका पाठकहरु सम्म पुर्याउन नसकिने आदि दुर्गुणहरु हटाउनको लागि उपयुक्त माध्यम भनेको ब्लग जस्तो लागेर ब्लग लेखन आरम्भ गरेको हुँ ।

मलाई कम्प्युटरमा सामान्य ज्ञान मात्र भएको हुनाले रचना पोष्ट गर्ने कुरादेखिनै समस्या परेको थियो । तर त्यतिबेला ब्लग चलाइरहनु भएका बसन्त गौतम लगायतका साथिहरु सँग सोधपुछ गरेको थिएँ । अझै पनि समस्या परेको कुराहरु अनि थप नयाँ जानकारीहरु ब्लगर मित्रहरुलाई सोध्ने, अनि कम्प्युटरको क्षेत्रमा दक्ष ब्लगर साथिहरुको टाँसोहरु पढ्ने गर्दै बामे सर्ने कोशिस गर्दैछु ।

गजलले ब्लगर बनाएको हो कि ब्लगले गजलकार बनाएको हो ?

गजल म पहिला पनि कोर्थें, तर ब्लग सुरु गरेपछि केहि हद सम्म लेख्ने क्रम र निरन्तरता बढेको छ । अन्य ब्लगर मित्रहरुको सुझाबहरु अनि अलिकति प्रतिस्पर्धाको रहरले पनि मलाई समय मिलेसम्म गजल कोर्न अभिप्रेरित गरिरहेको जस्तो लाग्छ त्यसैले अहिले सोच्दा गजल ले ब्लग बनायो अनि ब्लगले गजललाई निरन्तरता दियो ।
गजल सुरा र सुन्दरीमा मात्रै बढी जम्छन कि अन्य विषयमा पनि लेख्न सकिन्छ ?

गजलको परिभाषामा सबैभन्दा बढी मतैक्यता भएको प्रेमालाप भन्ने अर्थलाई आधार मान्ने हो भने गजल प्रेमीप्रेमीका बिचको सम्बाद बाट शुरु भयो तर बिभिन्न समयहरुमा यस्ले आफ्नो क्षेत्रलाई फराकिलो पार्दै लगेको छ । अहिले देखिइरहेका गजलहरु पनि एउटै बिषयमा मात्र सिमित छैनन् ।हिन्दी र उर्दूमा केहि सुरा र सुन्दरी सम्बन्धि गजल राम्रा छन प्रख्यात भएका छन त्यसैले हामीलाई त्यस्तो लागेको मात्र हो । नेपाली गजलको कुरा गर्ने हो भने यो भन्दा बाहिरी बिषयमा धेरै गजल लेखिएका छन् जस्तो लाग्छ ।

• “बिदाइ को घडा राखेको प्रहर याद आयो । दुनियाँ देखेपछी बल्ल घर याद आयो । यो तपाईकै गजलको एउटा सेर हो । के घरको न्यानोपन घर छोडेपछि मात्रै बोध हुने नै हो त ?

घर हुँदा घरको माया पटक्कै नहुने या माया बोध नहुने भन्ने होइन, आफूसँग साथमा छ भने महत्व कति छ भनेर कसैले पनि सोचेका हुदैनन्। जब घरबाट टाढिइन्छ अनि महत्वको बारेमा बढि सोच्छन् त्यसैकारणले घर छोड्दा घरको, देश छोड्दा देशको बढि माया बोध गरिन्छ ।

नेपाली गजललाई बेला बेलामा खहरे र मौसमी बाढीको पनि नाम दिईन्छ, तपाईलाई कस्तो लाग्छ ?
गजलको बिशेषता भन्नु पर्छ यसले धेरैको मन आफूतिर आकर्षित गर्न सफल भएको छ। धेरै लेखिनु नराम्रो हो र ? धेरै मध्ये बाट पाठकहरुले राम्रो छान्न पाउनु भएको छ बिस्तार नराम्रो आफैं हट्दै जान्छन । राम्रा गजलहरु बाकी रहन्छन् । नेपाली साहित्यमा धेरै पछि मात्र छिरेको बिधाले धेरैको मन जित्नुनै ठूलो कुरा हो ।

गजल बनेपछि लेख्नु हुन्छ कि, लेखेर बनाउनु हुन्छ ?

त्यो दुईवटानै बिधि अपनाउँछु जस्तो लाग्छ । कहिले काहि लेख्छु भनेर पनि लेखेको पनि छु कहिले काहिँ सेरहरु तयार भएपछि लेख्न पनि बसेको छु । लेख्न बस्नु भन्दा पहिला मतलाको चाहि स्वरुप तयार गरिसकेको हुन्छु ।

विदेशमा बसेपछि नेपाल र नेपाली भाषामा बढि लगाव हुन्छ भन्छन के साँच्चै यस्तै हो त?

बिदेशमा अरुनै भाषाहरु बोल्नु पर्ने पढ्नु पर्ने बाध्यता भएकोले आफ्नो भाषा प्रति मोह पलाउनु स्वभाबिक नै हो। बिदेशमा थोरै मात्र नेपालीहरु भएकोले एकआपसमा भेट भएर आफ्नो भाषामा कुरा मात्र गर्न पनि रहर हुने भएकोले त्यस्तो देखिएको होला । मलाई लाग्दैन कि देशमा बस्नेको चाहि आफ्नो भाषाप्रति थोरै लगाव हुन्छ ।

१० बर्ष पछिको नेपालको बारेमा कस्तो कल्पना गर्नु हुन्छ ?

४६ बाट ५६ र ५६ बाट ६६ लाई फर्केर हेर्ने हो भने अबको दश बर्षमा केहि बिशेष होला जस्तो त लाग्दैन तर देशले राजनीतिक निकास पाउने हो भने दश वर्षमा धेरै परिवर्तन हुनसक्छ त्यसैले सकारात्मक आशा गरौं ।

आफ्नो र दौँतरी बाहेक तपाईलाई मन पर्ने अन्य ब्लगहरु कुन कुन होलान ?
प्राय सबै ब्लगहरु मलाई मन पर्छन । यो र त्यो मात्र छैनन्। सबैको आफ्नो आफ्नो छुट्टाछुट्टै बिशेषता भएकोले पनि त्यसरी छुट्याउन या तुलना गर्न सक्दिन ।

मन छुने गजलहरु लेख्नुहुन्छ, गजलकै कारणबाट कसैको मन त चोर्नु भाको छैन ?

त्यो आरोप अहिले सम्म लागेको छैन ,प्रतीक्षामा छु हा हा हा...।

नेपाली पत्रिका र ब्लग मध्य कुनलाई बढी विश्वास गर्नु हुन्छ ?
दुबैका राम्रा र नराम्रा पक्षहरु छन् । सहि हो कि हैन भन्ने यकिन भएपछि मात्र बिश्वास पलाउने हो । धेरै हदसम्म दुबैलाई बिश्वास गरिन्छ अनि केहि हदसम्म अबिश्वास पनि । समष्टिमा तुलना गर्नु भन्दा पनि पत्रिका मध्ये र ब्लग मध्ये भनेर छुट्याउँछौ होला हामी सबैले ।

दौँतरीलाई रोचक र राम्रो बनाउन के के गर्नुपर्ला ?

पठनीय सामग्रीहरु प्रशस्त छन् अहिले जसरी अगाडि बढेको छ त्यसमा निरास हुनुपर्ने अबस्था छैन । दौंतरीको आफ्नोपन नै बिशिष्ट रहेको छ यो क्रम चलिरहोस् बाँकी समयको माग अनुसार परिवर्तन त भइनै हाल्छ । तपाईंहरु जुन तरिकाले लागि रहनु भएको छ त्यो नटुटोस भन्ने कामना गर्न चाहन्छु ।
तपाईको ब्लगमा भएका तपाईलाई सबैभन्दा मनपर्ने तीन वटा चरनाहरु कुन कुन हुन ?

तपाईंले प्रश्न नगर्दा सम्म त्यसरी कहिल्यै छुट्याएको थिइन । मैले ब्लग सुरु गरेपछिका रचना मात्र ब्लगमा छन त्यहाँ बाट छुट्याउने हो भने मलाई मन पर्ने र अन्य पाठकहरुको प्राप्त प्रतिक्रियाहरुको आधारमा मन पराइएका गजलको मतलाहरुमा “पिडा मनमा बेरियो, अनि गजल केरियो । आफ्नो रहर शेरियो , अनि गजल केरियो। ” “बुझेर चोट पारियो ।अनि हाँसेर टारियो।” “कुरा बेग्लै थियो रातको ।आहा साहारा त्यो हातको ”हुन कि जस्तो लाग्छ ।

जापानको व्यस्त जीवनमा ब्लग र साहित्यलाई समय दिन कत्तीको अप्ठ्यारो मोल्नु परेको छ ?
नेपालका दिनहरु सँग तुलना गरेर भन्ने हो भने अलि गाह्रो नै छ । मेरो साहित्यमा बिशेष रुचि भएको कारणले जापान मा नेपाली साहित्य कला र संस्कृति को लागि लागि परेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरमा बिगत ५ बर्षदेखि सम्बन्धित रही हालै नेतृत्वमा पनि पुगेको छु ।समयको पाबन्दि त आफ्नो ठाउँमा छदैछ तर लगाव महत्वपूर्ण कुरा हो । सधैं साहित्य र ब्लग भनेर लागी पर्न गाह्रो भएपनि समय छुट्याएर लाग्न भने सकिएको छ ।

हामीले सोध्न बिर्सेको र तपाईलाई भन्न मन लागेको केही कुरा छ कि?

मैले ब्लग शुरु गरेको एक बर्ष पनि पूरा भएको छैन, तर धेरै ब्लगर साथिहरु सँग चिनाजानी हुनुका साथै धेरै साथिहरुबाट बिभिन्न बिषयका सर सल्लाह र सहयोग पाइरहेको छु उहाँहरुलाई धन्यबाद दिनुका साथै नयाँ साथिहरुलाई पनि ब्लग संसारमा स्वागत गर्न चाहन्छु

। अन्तमा दौंतरी टीमले मलाई यो लायक सम्झेर आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा दौँतरी टिम प्रति आभारी छु ।

----       -------             ----------           ---------       ---------      ------      --------           --------          ------------  ----

दिनेश राज ज्ञवाली जीको ब्लग:-   यात्राका ........सुस्केराहरु



November 22, 2009

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ

- निर्मलमणि अधिकारी "आयोदधौम्य"


विज्ञान अविरल प्रवाहमान् धारा हो । यो क्रमबद्ध ज्ञान-संचयको श्रृंखला हो । हामीले बुझ्नुपर्ने कुरा के छभने औपचारिक प्रयोगशाला ल्याबोरेटरी मा बसेरमात्र वैज्ञानिक अनुसन्धान गरिने होइन; यो त हामी प्रत्येकको दैनिकी पनि हो । जस्तोकि प्रसिद्ध भारतीय वैज्ञानिक रघुनाथ अनन्त माशेलकर भन्नुहुन्छ- व्यावहारिक अनुभव पहिले हुन्छ र त्यसलाई व्याख्या गर्नेवाला वैज्ञानिक सिद्धान्त त्यसपछि बनिन्छन् । प्रायः प्रविधि पहिले आउँछ र विज्ञान तत्पश्चात् । हामीलाई पांग्रा बनाउन पहिल्यै आउँथ्यो र त्यसपछिमात्र गति विज्ञानको विकास भएको हो । वाष्प-ईन्जिजन पहिले बनेका थिए र थर्मोडाइनामिक्स त्यसपछिमात्र । शताब्दीयौं वा सहस्राब्दीयौं देखिनै मान्छेले प्राकृतिक जीवनको प्रयोगशालामा अनेकौं परीक्षण (Test), प्रयोग (Experiment), एवम् पर्यवेक्षण (Observation) गर्दै


November 21, 2009

लिम्बुले नचाए, मञ्जुल र प्रदिपले भावुक बनाए यूएईका प्रवासी नेपालीहरुलाई

नेपाली गीत संगित जगतमा भर्खरै उदाएका र छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल यूवा यूवतीका ढुकढुकी तथा पहिलो नेपाली तारा दिपक लिम्बुले नेपाली समाज यूएईले आयोजना गरेको सुमधुर सास्कृतिक कार्यक्रममा यूएईका प्रवासी नेपाली विषेश गरेर यूवायुवतीहरुलाई छम छम्ती नचाए भने नेपाली गीत संगीतका हस्ती साहित्यकार तथा जनताका गायक मञ्जुल तथा क्रान्तिकारी गायक प्रदिप देवनले दर्शकहरुलाई भाव विहल बनाए ।
यहि नोभेम्वर २० २००९ का दिन दुवईको अस्टोरिया होटलमा नेपाली समाजले आयोजना गरेको कार्यक्रममा नेपालबाट निम्ताईएका नेपाली तारा दिपक लिम्वुले यहाँ देशको चिन्ता तिमी मायाँ मायाँ भन्छौ, तन प्रदेशी भयो मन गाउँ बेसी, तिम्रो रुपको चर्चा छ रुपको बजारमा, ढल्क्यो ढल्क्यो जोवन मेरो पल्कयो पल्क्यो, यो मन मेरो तिमी तिरै सानु, मागेर माग्ने भने म एउठा फुल के मागु यो धर्ती सँग तिम्रो लागि बरु तारा मागुकी यो धर्ती सँग तिम्रो लागि, लगायत विभिन्न नेपाली चलचित्रका गितहरु गाएकाका थिए भने उनको अतिनै लोकपि्रय हिम्मत चलचित्रको मैले त्यहि भएर मन पराए भन्ने गीतलाई दर्शकहरुले बढि रुचाए । कार्यक्रमको अन्त्यमा उनको भर्खरै आउन लागेको दोश्रो एल्वमको मायाँ मायाँ भन्ने गीत गाउँदा उनी लगायत दर्शकहरु स्टेजमा नै गएर उनलाई नाच्नमा साथ दिएका थिए भने उनको हॆ हे र हाहामा दर्शकहरुले साथ दिदा हल गुज्जयमान भएको थियो ।
साहित्यकार कवि तथा जनताका गायक माजुल स्टेजमा पुग्दा र उनको साथमा रहेको गितारको सुमधुर संगितको तालसँगै पहिलो पस्तुतिले दर्शकलाई अति मर्माहत बनायो । उनले गीत गाउनु भन्दा पहिला उपस्थित दर्शकहरुलाई ताली बजाउन हा हा हु हु गर्न र गायनमा उनलाई साथ दिन रोक लगाई उक्त गीतको शब्द तथा लय सुन्न आग्रह गरे र उनले भने म अन्त्यमा तपाईहरुले नेपाली लोक भाकालाई कत्तिको मनपराउनुहुने छ यदि मन पराउनु हुने छ भने म नेपालमा गएर यहि सन्देश दिनेछु भने र उनले लोक गायक झलकमान गन्धर्वको आमाले सोध्लीन खै छोरो भन्लीन भन्ने पुरानो भाकाको गित विना ट्याकमा गाए । गीतको अन्तिम शब्द नसकिदै दर्शकहरुको पटटट ताली र वान्समोर अनि विवहल मुद्रामा वाह वाह गर्दा उनि पनि विवहल भए र भने नेपाली लोक संगितलाई नेपालमा भन्दा पनि प्रवासमा धेरै मायाँ गर्नुहुदो रहेछ म यहि सन्देश नेपालमा सुनाउने छु भन्दै उनका चर्चित गित गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ लगायत अन्य गितहरु दर्शकहरुसँगै गाए ।
अर्का क्रान्तिकारी गायक प्रदिन देवनले क्रान्तिकारीले ओतपोत गीत गाई दर्शकहरुलाई मनोराजन दिलाए । अरुण तरेर नाना तम्मर तरेर उनको अति लोकपि्रय गीत तथा अन्य गीतहरु गाएका थिए ।
यूएईमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्ना उत्कृष्ट प्रस्तुतिहरु पस्कदै आएका किरण भट्राई, रिजन थापा, पूर्ण तमु, प्रकाश पराजुली, दिपक गुरुगं, ज्ञान लामा, मिना वाईवा, प्रेम लामा, अलिन दोड, सूर्य के।सी, सरस्वती थोकर, शान्ति शाह, आशिष राई, सुलोचना श्रेष्ठ, दिपक गुरुड., मेघ, रेखा, डिकी योजन, सम्झना वाईवा, विमला श्रेष्ठ, रबिन परियार, पूजा लामा,पृय स्याड।वो आदिले आफ्ना गीत तथा नृत्यबाट दर्शकहरुलाई मनोराजन दिए ।
स्याड।जालीलाई नभन जाली भन्ने लोक गितको नृत्य अति आकर्षक बनेको थियो उक्त गितमा दिपक लिम्वु महिलाको भेषमा भने उनलाई साथ दिएका थिए मेहले ।
नेपाली समाज यूएईका अध्यक्ष यम प्रसाद तमुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति नेपालीदूतवास अबुधावी यूएईका राजदूत अजुर्न बहादुर थापा रहेका थिए भने अत्य उपस्थितिहरुमा दूतावासका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेल श्रम सहचारिका पार्वती अर्याल एनआरएन आई सि सिका कोषाध्यक्ष रामेश्वर शाह एन आरएन ए एन सि सिका अध्यक्ष चुणामणी ढकाल लगायत यूएईमा स्थापना भएका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरु पत्रकार ब्यवसायीहरुको उपस्थिति रहेको थियो भने दुवई तथा अबुधावी र अन्य यूएईका स्थानबाट प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पहिलो चरणको कार्यक्रम नेपाली समाजका सचिव उत्तम अधिकारी तथा दोश्रो चरणको कार्यक्रम लोक गायक असिम महतले साचालन गरेका थिए । उक्त सास्कृतिक कार्यक्रममा उपस्थित सबैलाई नेपाली समाजका महासचिव नारायण अधिकारीले स्वागत गरेका थिए ।
नेपाली समाजलाई विगत लामो समय देखी सास्कृतिक क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्दै आएकी सरस्वती थोकरलाई समाजले विषेश सम्मान गरेको थियो भने विश्व पत्रकार साजालमा यूएईबाट संयोजकमा चुनिएका नेपाल पत्रकार महासँघ यूएईका अध्यक्ष जाकिर हुसेन तथा भर्खरै यूएईमा श्रम सहचारी भइ आएकी पार्वती अर्याललाई पनि समाजले सम्मान गरेको थियो ।
कार्यक्रम दिनको ५ बजे देखि सुरु भई साँझ १० बजे समाप्त भएको थियो । उक्त सास्कृतिक कार्यक्रमको प्रायोजन पानासोनिक नेपाल एयरलाईन्स जेट एयरलाईन्स यूएई एक्सचेन्ज डेनास्कि टाभल्सले गरेको थियो । उक्त सास्कृतिक कार्यक्रमको संयोजन तुलसी तामाड।ले गरेका थिए ।

November 20, 2009

कामरेडहरु, संघियतामा जातिय मानसिकता त्याग्नुस

पुष्पजीले एकलव्यजीको पोष्टसंगैको कमेन्टमा मेरो धारणा वा प्रश्नलाई केटाकेटी पाराको लाग्यो भन्नु भएको थियो, तर मलाई फलानो जातिको यो प्रदेश, अनि फलानाको यो प्रदेश भन्ने मनचिन्ते झोली रुपी चिन्तन र माग अपरिपक्व मात्र हैन अनाडी पनि लाग्छ भनेर मैले भनिसके, अझ यो भन्दा पनि धेरै लाग्छ भन्दा पनि फरक पर्दैन । धेरैजना जातीय र भावनात्मक राजनीतिलाई मान्छे बटुल्ने साधन बनाउनेहरुलाई मेरो प्रश्न : तपाइले कुन जातिलाई राज्य दिनु हुन्छ ? किन दिने , के पुष्पजीले भने जस्तै टुरिस्ट आएर जातीय पहिरनमा लगाएको फोटो खिच्छन र देश विकास हुन्छ भनेर ? कामरेडहरु, तपाइहरुलाई थाहा होला काठमाडौ सांस्कृतिक शहरको रुपमा चिनिन्थ्यो । तर अहिले काठमाडौ पर्यटकको लागि सांग्रिला रहेन । यसलाई नेवा प्रदेश बनाउदैमा यो धरोहर फेरि फर्किन्छ ? हैन फर्किदैन, अव्यवस्था र लथालिंगको थुप्रो हटाउनुस त्यसै सुध्रिन्छ । म आंफै पनि पर्यटक बनेर धेरै देश घुमेको छु घुमिरहन्छु पनि । मलाई थाहा छ मान्छेहरु के रुचाउंछन, किन घुम्छन र कसरी घुम्छन भनेर। वातावरण र संस्कृति राज्य छुट्ट्याएर बलियो वा प्रचुर हुने हैन । काठमाडौको इन्द्र जात्रा बाहुन, क्षेत्री, तामाङहरुले पनि मनाउंछन । तनहु, पाल्पा र स्याङजाको बोटेबजार मगर, नेवार, बाहुन, क्षेत्री, दमाई आदि इत्यादि सबैले मनाउंछन । खेमराज गुरुङले गाएको गित वाला एकादशी बजार, पक्कै पनि खेमराजले वा भोजपुरतिरका गुरुङहरुले मात्रै मनाउदैनन् अरुले पनि मनाउंछन । तपाईंलाई थाहा नहोला तीज नेवारहरु बाहेक काठमाडौ बाहिर लगभग ठाउं अनुसार सबै जातिले मनाउंछन । तर तीजको लाखे नाचको लागि नेवार नभई कसैले पुजा शुरुवात गर्न पाउंदैन । लाखे नाच विनाको तीज र कृष्णाष्टमी धेरै ठाउंमा कल्पना पनि गर्दैनन मान्छेहरु । अब कुन संघले वा कसको राज्यले कसलाई संरक्षण गर्ने हो थाहा भएन । यी संस्कृति बचाउन आफ्नै राज्य चाहिन्छ भन्ने कुरा पनि विश्वास गर्दिन म । कस्ता मान्छे हुन, वा कस्तो संस्कृति हो बजेट वा जागीर नपाए संरक्षण नहुने ?

कामरेडहरु, मैले कुनै बेला बि एस्सी पढ्दा देश कति धनी छ भनेर जांच्न त्यस देसमा कति सल्फ्युरिक एसिड उत्पादन हुन्छ भनेर थाहा हुन्छ भन्ने एउटा टेस्क्ट बुकमा पढेको थिएं। कसैले भन्छन देशमा कति बुल्डोजरहरु गुड्छन त्यसले देशको विकासको गति बताउंछ । कसैले भन्छन देशमा प्रति व्यक्ति बिजुली, वा ग्यास जस्ता संसाधन खपत हुन्छ त्यसले मान्छेको जीवनस्तर देखाउंछ भन्छन । यी यस्ता मापदण्डहरु आ-आफ्नै व्याख्या अनुसार होलान, कसैले कति जुलुश र कति चर्का नारा लगाउन सक्यो भने देशको मानव विकास सुचक माथि उठ्छ भन्ने सम्झेलान ।

मैले बुझे अनुसार धेरै नव शासकहरुमा काठमाडौ र बाहिरको परिस्थिति एकैनाशको मान्छन । अनि काठमाडौले के बुझ्छ भने अहो, यत्रो पैसा ! यो त सबै काठमाडौ प्रदेशमा लगाउन पाए कति मालामाल हुन पाइन्थ्यो । तर जुम्ला देखि ताप्लेजुङ सम्मको मान्छेले मेलम्चि ल्याउन लाखौं आफ्ना थाप्लोमा ऋण बोकेको कसैले देख्दैन । सबैले काठमाडौ वा पोखराका कालोपत्रे सडक (बिजोकै हालतको भए पनि) देख्छन, खाली खुट्टा भारी बोकेर डोल्पा वा मनाङतिर ५-६ दिन लगाएर नुन बोकेको कसैले देख्दैन किनकि ती अमुकहरुको कुनै पार्टी छैन । भोट कि त एक गिलास रक्सीको भरमा दिन्छन, कि त फलाना बाबु साहेबले भनेका भरमा दिन्छन कि त कसैले बन्दुक तेर्स्याएको भरमा दिन्छन । कामरेडहरु, कन्जर्भेसन अफ मास वा इनर्जीको सिध्दान्तलाई मान्नेहरु मध्य कसैले के पनि भन्छन भने बिल गेट्स वा माइकल ज्याक्सनहरुका बंगला र गाडिहरु काठमाडौ वा बिहारका सिकर्मी डकर्मी वा कुल्लीहरुका कमाईबाट छिनिएका हुन। किनकि मान्छे जन्मदा सबै उस्तै हुन्छ । मान्छे के हो भन्ने जान्न अस्पताल वा मुर्दाघाटहरुमा गए पुग्छ । मान्छे धेरै शक्तिशाली प्राणी हो र सबै भन्दा नीरिह पनि ।

अस्ति एकजना पर्यटकले भनेका थिए घान्द्रुक घुमेर उनलाई लाग्यो रे मान्छेहरु २१औं शताब्दीमा यसरी पनि बस्दा रहेछन भनेर । उनले इतिहासमा पढिने आदिमानवको जस्तो अवस्था नेपालमा देख्न पाइदोरहेछ भनेर दंग परे । खोइ कतिजना नेपालीलाई यी कुराले गर्वित तुल्याउला तर मलाई चाहि अप्ठेरो महसुस भयो ।


यहाहरुलाई थाहा नभएको अर्को कुरा (किनकी यहाहरुलाई त जुलुश, घोषणापत्र र पत्र पत्रिकामा चुलिएको कुरो बाहेक अरु थाहा नहुन सक्छ ) मेरो जन्मथलो र पुर्ख्यौली राज्यको राजा दमाइ थिए । किन अरुले राज्य पाउंदा दमाइहरुले नपाउने ? किनकी अहिलेको जातिय संघिय स्वरुप “प्रभु”हरुबाट निर्देशित छ । अंशुवर्माले चलाएको निर्देशन अहिले पनि विभिन्न प्रभुहरुबाट निर्देशित हुदै चलिरहेको छ । जातिय र क्षेत्रीय रुपमा बनेका भारतका मणिपुर, मेघालय, नागाल्याण्डहरु किन पछि छन ? केन्द्रको कारणले ? होइन आफ्नै कारणले । केन्द्रलाई केहि मतलव छैन । देशबाट छुट्टिने किसिमको दंगा नहोस अरु भांड मे जाए भन्छ केन्द्रले । युरोपका धेरै देश घुम्दा पनि कहि कतै जातिय राज्य (सर्विया, अल्बानिया तर्फ नजाऔं) र व्यवस्था देखेको छैन । बरु ३ वटा राष्ट्रिय भाषा भएको र एउटा ठाउंको भाषा अर्को ठाउंकाले नबुझ्ने बेल्जियम र दुइटा भाषा भएको स्विट्जरल्याण्डमा पनि यस्तो लफडा देखेको छैन । सबै देशहरुमा नेपालको केन्द्रले गर्ने काम नगरपालिका र गाउंहरुले नै गरिदिन्छन त्यसैले कसैलाई संघको आवश्यकता र संघिय राज्यको हेड क्वार्टर धाउनु पर्ने कारण देखेको छैन । एकपटक रोममा पुग्दा एउटा कुनै इटालियन ग्रुपले सांस्कृतिक नाच देखाइरहेको थियो , मलाई खुब मन पर्यो अरु ठाउं हेर्न छोडेर पनि त्यहि हेरेर बसिरहें । ती कुनै संघ वा राज्यका प्रतिनीधिहरु थिएनन बरु संस्कृतिलाई जोगाइराख्न स्वतस्फुर्त रुपमा तातेका ग्रामीण क्षेत्रका वासिन्दाहरु थिए र तीनिहरुको जात या राज्य के हो भनेर बुझ्न मलाइ कुनै दरकार परेन किनकी मेरो लागि उनीहरु सिसिलिया देखि मिलानसम्म जहांको भए पनि इटालियनहरु थिए । अर्को कुरा स्कटल्याण्डको स्कर्ट लाउने संस्कृती स्कटल्याण्ड छुट्टै राज्य हुदैमा अपार वृध्दि भएको छैन । ग्लास्गो र एडिनवर्गमा सुन्न नपाएको ब्यागपाइपरको धुन ह्यामवर्ग र ब्रसेल्समा सुनेको छु । हाम्रै देशमा पनि म हिन्दु होइन भन्नेहरुले पनि तिहार सकिएको १ हप्ता पछि सम्म पनि देउसी खेल्दै हिडेको फोटो नदेखेको र समाचार नपढेको होइन । कामरेड, यी उदाहरणहरुले मलाई के निश्कर्षमा पुग्न बाध्य बनाउंछ भने, कुरोको चुरो कसरी पैसा झार्ने भन्नेमा अडिदो रैछ । तपाइहरुले भन्नुहोला कस्तो संकिर्ण विचार राखेको ? तर यसले आम स्तरमा देखिएको सोंचको चित्रण गर्छ ।

अझ अर्को दुखदायी कुरा त नेपालको जातियताको लडाईले विदेशमा समेत नचिनेका नेपालीहरु र चिनेकैहरुको बिचमा पनि सौहाद्रपुर्ण वातावरण रहेन । पहिले जस्तो कुनै नेपाली हो कि भन्दै आंफै गएर “नमस्कार तपाई नेपाली हो ?” भन्ने स्थिति अहिले धेरै ठाउमा देखिदैन । त्यति मात्रै होइन न्युयोर्कमा १ वर्ष जति पहिले एकजना नेपाली मर्दा जातिपातिको कारणले शव नेपाल पठाउने पैसा पनि उठेन रे । कामरेडहरु, तपाइहरुको अग्रगामी सोचको कारणले सिर्जित अदृश्य दिक्षाले नेपालीहरु माझ न्युनतम मानविय संवेदना पनि हराउंदैछ। कामरेडहरु, भावनात्मक विष डमडम बन्दुकको गोली र सायनाइड भन्दा घातक हुन्छ । किन नेपाल जस्तो देशमा यस्ता विषहरु पोखिएका छन ? सामान्य कुरामा विदेशी प्रभू देख्नुहुन्छ तपाइहरु, तर तपाइहरुको दिमागभित्र विष भर्ने प्रभुहरु देख्नुहुन्न, होइन त यो बिडम्वना ?

कामरेडहरु, मैले काम गर्ने कर्मथलोमा जुन देशका मान्छेहरु कार्यरत छन, सबै देशको झण्डा प्रवेशद्वार भित्र राखिएको छ र जहिले पनि त्नेपालको झण्डा हेर्दै मान्छे झुम्मिरहेको देख्छु । मान्छेको पहिचान मान्छेले बनाउने हो, आंफै अरुले बनाउदैन । त्यसको लागि नारा जुलुश हैन काम गर्नु पर्छ । भड्काउने र फोड्ने हैन बनाउने र सपार्ने नसके चुप लागेर बस्ने गर्नु पर्छ । धेरै पश्चिमाहरुको सफलताका कडि यिनै हुन । घरै पिच्छे छुट्टै जात भएका पश्चिमाहरुले त्यसलाई आफ्नो घर भित्रमात्र सिमित गरे , तर हाम्रा लागि अझै यी संजिवनी बुटी छन, हैन त कामरेड यो विडम्वना !

अर्को कुरा बाहुन क्षेत्री, कामी, सार्की आदि र काठमाडौ बाहिरका नेवार समेतलाई राज्य चाहिदोरहेनछ अहिलेका नेताहरुको परिभाषामा । सिधा अर्थ के हो भन्दा जसले बल मिच्याइ र नेपाल बन्द गराउंछ देश उसैले पाउंछ । हामी केटाकेटीमा एक खुट्टे खेलेर कोठा जित्ने राज्य गेम खेले जस्तो । कामरेड, मागेर पाइन्छ भन्ने मानसिकता त्याग्नु पर्छ । जसले मेहनत गर्छ उसले फल पाउनु पर्छ भन्ने मान्यता लागु गर्नु पर्छ ।

मेरो मान्यतामा नेपालमा अझै पनि केहि परिवर्तन वा विकास हुन्छ भने केवल प्रगतिशील विचार बोकेका र अहिले पनि अगाडि देखिइरहेका वामपन्थीहरुबाट सम्भव छ न कि गिरीजा र गच्छेदार वा सुर्य बहादुर र गोरे बहादुरहरुबाट । देश बनाउन नसक्नुमा गिरिजा बाबुको कत्रो “महान योगदान” छ भन्ने कुरा दौंतरीमा नै करिब १ वर्ष पहिले धारावाहिक लेखहरु लेखिका थिए, मैले यहा भन्नै पर्दैन ।

करिव २ दशक अगाडि सारा विश्व एउटै देश र सारा मान्छे एउटै जातिका हुनेछन भन्दै मुठ्ठी उचाल्दै भुमिगत जिवनमा आफुले पनि गाएका सर्वहाराका गीतहरु अझै पनि मलाई याद छन । तर कामरेडहरु आंफै गर्ने भन्दा बिगार्नेहरुको जालमा फसेका छन र के हो प्राथमिकता भन्ने कुरो विर्सेका छन । गर्छु भन्नेहरुले भांडभैलेहरु र दिमागमा तन्तु नभएका झुण्डहरुबाट सिध्दान्त, बिचार र भिजनलाई जोगाइराख्न कति हम्मे हम्मे होला बाबुरामहरुलाई सोध्नुस ।

मेरो मान्यता संघियता देउसी भैलो र ६०१ जनाको नौटंकी भन्दा महत्वपुर्ण र दुरगामी असर राख्ने वृहत र आवश्यक योजना हो । यसको लागि धनुषवाणको लडाई होइन वृहत सोंच, भिजन र डिजाइन चाहिन्छ । यो योजनामा अब मैले राज्यरुपी जागीर पाएं वा पाउछु भन्नेहरुलाई माथि पारेर होइन कि देशको समग्र विकास र भलाइ सोच्नेहरुको सोचलाई कदर गरेर गरिनु पर्छ । होइन भने बिचार आआफ्नो हो, कस्तो भविष्य खोजेको हो सबैले आंफै जानुन र “जान्नेहरुले” नै भोगुन ! कामरेडहरु, मेरो विचार केटाकेटी भएकोमा मलाई दुख छैन तर राजनीति र कार्यप्रणाली नबुझेका तर आंफुले धेरै बुझेको छु र अग्रगामी छु भन्ने देखाउन खोज्ने उग्र कामरेडीपन प्रति चाहीं दुख लाग्छ । यस्ता कुराहरु नै समग्र देशको विकासका लागि मात्र नभएर आ-आफ्नै पार्टीका लागि पनि घातक हुन ।


अनि कामरेडहरु, घर जलेर आगो बल्दा केटाकेटीहरु पनि थपडि बजाउंदैनन बरु रुन्छन, केवल शिशुहरु मात्र बलेको उज्यालो देखेर दंग हुन्छन ।


बोली रुखो भएकोमा क्षमा पाउं कामरेडहरु !


November 19, 2009

Ethnic federalism लाई Natioanlity based भनेर व्याख्या गर्ने प्रयास, किन ?

डाक्टर मंगलसिद्धि मानन्धर ( नेवार विद्वान ) र परशुराम मेघी गुरूङ ( जनजातीय एमाले नेता ) लगायतको एउटा समितिले ड्राफ्ट गरेको , नेकपा एमाले दलको नया नेपालका लागि जातिय संघियताको खाका हिजो नेपाली छापाहरूमा सार्वजनिक भएको छ । एमाले पार्टी भित्रकै अर्को प्रभावशाली समूहले यसको औचित्यतामा प्रश्न उठाएको भए तापनि , यसको एक प्रति संविधानसभाको राज्य पुनर्संरचना समितिमा बुझाइसकिएको स्थितिमा यसैले नै वैधता हासिल गर्न सक्ने सम्भावना बलियो भाएको छ । एमालेले सार्वजनिक गरेको यो खाका हुबहु नभए पनि अधिकांश रूपले , माओवादी दलको अवधारणासंग मिल्दो जुल्दो रहेको छ । झलनाथ खनाल नेतृत्वमा रहेको एमाले पार्टीको अहिलेको संस्थापन पक्षका आधा जसो नेताहरू, अहिले पनि माओवादीसंग नै हरेक कुरामा कार्यगत तरिकाले एक भएर मुलुकको राजनीतिमा अगाडि बढ्नु पर्छ भन्ने मान्यता राख्ने भएकाले पनि यो बुझ्न गाह्रो छैन कि, यही पक्षको नेतृत्वको निर्देशनमा जातीय संघियता सन्दर्भमा समेत माओवादी अवधारणालाई एमालेले लगभग सोह्रै आना अनुकरण गर्न खोजेको छ । दुवै पार्टीका प्रस्तावित केही राज्य वा प्रदेशहरू केवल जातिका नाममा हुनेछन् र तिनका नामहरू: लिम्बुवान, खुम्बुवान, ताम्सालिङ, नेवा:, तमुवान, मगराँत, थारुहट रहनेछन् ।

अहिलेको संविधानभाको बनोटका आधारमा , पहिलो ठूलो पार्टी माओवादी र तेस्रो पार्टी एमालेको जातीयतावादी संघियताको अवधारणा मिल्न जानु भनेको निकै ठूलो निर्णायक प्रभाव पार्न सक्ने कुरा हो । जातीयतावादी संघियताको खरो बिरोधमा उत्रेको एक मात्र पार्टी मोहन विक्रमको नेकपा एकीकृतको संविधानसभामा कमजोड उपस्थिति एवं अन्य जातीय संघियता बिरोधी दल मध्ये दोस्रो ठूलो दल कांग्रेस र ऊ लगायतका दलहरूको समीकरण त्यति बलियो वा निर्णायक बहुमतमा नरहने स्थितिमा बहुमतका आधारमा निर्णय गरिने अवस्था पैदा भएमा , कम्युनिष्ट घटकहरूको जातिय संघियता नै भावी नेपालको लोकतान्त्रिक गणतन्त्रको स्वरूप हुने सम्भावना यस परिप्रेक्ष्यमा प्रबल बनेको महसुस हुनु स्वाभविक हो ।

जातिय संघियतामा हुरुक्क हुने दलहरूको रोचक कुरा त के छ भने जातिय संघियतामा जाँदा जाँदै पनि र मुलुकलाई जातियताका आधारमा पुनर्नक्शांकन वा सीमाङ्कन गर्न खोज्दा पनि , यसलाई जातियता कै आधार हो भनेर स्वीकार्ने सामर्थ्य भने देखाउन सकेका छैनन् । कामरेड बाबुराम भट्टराईदेखि डाक्टर मानन्धरसम्मको दलील छ , राज्यको पुनर्संरचना माथि उल्लेख गरिए झैँ जातिय आधारमा हुँदा पनि , यो इथ्निसिटी मा आधारित नभएर नेस्नालिटी मा आधारित हो रे ! तर उनीहरूले जे दावा गर्ने गरे पनि , तिनै पार्टीका अरू दस्तावेजहरू भने यो भाषामा बिमति जनाइरहेका देखिन्छन् । उदाहरणका लागि , माओवादीका प्रभावशाली नेता र सो पार्टीका संघीय पुनर्संरचनाको खाका तयार पार्ने जिम्मेवारी पाएका नेता देव गुरूङ् भने नया नेपालको संघीय स्वरूपले अहिलेसम्म खस बाहुन राज्यवादी संरचानले दमित बनाएका जनजातिहरूका नाममा अग्रधिकार समेत व्यवस्था गरिएको आत्मनिर्णयको अधिकारले सम्पन्न राज्यहरूको व्यवस्था गरिनेछ । यसको अर्थ यो पनि हुनसक्छ , उदाहरणका लागि तमुवानमा बसोवास गर्ने गुरुङ वा विशेष अधिकार प्राप्त कुनै निश्चित जातीले जग्गा वा संपत्ति आर्जन वा दर्ता , कर वा अन्य कुरामा जुन कानूनी व्यवस्थाको पालना गर्नेछ त्यो , त्यही प्रदेशमा बसोवास गर्ने अन्य जातिका लागि अलग प्रकारको पनि हुन् सक्नेछ । अग्राधिकारको अर्थ त्यही नै हुन आउँछ भने स्वायत्तताको आत्मनिर्णयको अधिकारले भने मुलुकको संघमा रहने वा नरहेर स्वतन्त्र मुलुकको रूपमा छुट्टिने भन्ने अधिकार सम्बन्धित राज्यको सरकारले चाहेमा संवैधानिक प्रकृया अनुसार जनमत संग्रह आदिबाट गर्न पनि सकिनेछ ।

जे होस्, प्रयोग नौला र नया हुन खोज्दै छन् । एक मधेश एक प्रदेश चाहनेहरूको मागमा , पहाडी जनजातिका लागि मात्र जातिय राज्य पस्किने तर उनीहरूको माग संबोधन हुन नसक्ने स्थितिले कुन तरंग पैदा गर्ला त्यो भविष्यको गर्भमा नै छ । अस्ति भर्खरै , एक मधेश एक प्रदेश नबने अरू कुनै प्रदेश बन्न दिइने छैन भन्दै तराईमा बसिसकेका पहाडी नेपालीलाई राज्यमा अंगीकृत नागरिकता दिन सकिनेछ भन्ने गर्जन गर्ने फोरमका जय प्रकाश गुप्ता र अन्य तराईया दलका प्रतिकृयाहरू भोलि कस्ता रूपमा आउने हुन र तिनको प्रभाव कहाँ कस्तो हुने हो त्यो कुराले पनि हाम्रो भावी नक्सामा अरू धर्सा थप्लान् वा हटाउलान् हेर्न बाँकि नै छ । यो कुरा देखिए जस्तो सजिलो त अवश्य छैन नै । य संघियताको गोलचक्ककरमा फँसेर , युगोस्लाभिया, पूर्व रसिया , नाइजेरिया , रुवाण्डा वा सुडान बन्ने अथवा , अरू कुनै समुन्नत मुलुक जस्तो नया नेपाल बन्ने भन्ने विषय नेपाली भविष्यको अत्यन्त पेचिलो प्रश्न हुनेछ । किनभने १९९० को विश्व राजनीतिको परिवर्तनमय दशक र त्यसपछि संसारका बिभिन्न मुलुकमा देखापरेका वा उठाइएका जातिय विषयहरू अनि यस्तो संघियताको बाटो अधिकांसत: सुखद रहेका भने छैनन् । हामीले आशा गर्नैपर्छ, नेपाल एउटा अपवाद बनोस् यो लहरमा । तैपनि , जातिय संघियतामा मुलुकको नक्सा बाँडेर पनि कामरेड बाबुराम र डाक्टर मानन्धरले, यो इथनिक बेस्ड हैन नेस्नालिटी बेस्ड संघियता हो भनेर अर्थ्याउन खोज्नुको मनसाय भने बुझ्न सकिएको छैन ।