June 29, 2008

बहुला र "पागलहरू"

सानै छँदा एक दिन बुबासंग डिल्लीबजार तिर हिडिरहेको थिएँ । बिच सडकमा एकजना चर्को स्वरमा चोर औला ठाडो पार्दै बर्बराउँदै थियो “ … मलाई यो देशको राजा बनाईदिनु, म यो बाटो सुनको बनाई दिन्छु … …” बाटोमा हिडने सबै त्यहि व्यक्तीलाई हेर्दै हिडिरहेका थिएं।

सुनको भाऊ र राजनीति बारे क, ख, ग पनि जान्ने उमेर थिएन त्यो, तर सुन भनेको महङ्गो बस्तु र राजा भनेका जे पनि गर्न सक्ने व्यक्ति हुन भन्ने थाहा थियो ।

त्यस दिन घर फर्के पछि मैले साँझमा सबै परिवार भएको बेलामा त्यो दिउसो देखेको मान्छेलाई किन राजा नबनाएको भनेर प्रश्‍न गरें । मेरो कुरा सुनेर घरमा सबैजना गलल्ल हासें “धेत! त्यो त बहुला हो … ”

बहुलाको परिभाषा पनि राम्रो नबुझेकोले त्यस पछिका केहि दिनहरुमा मेरो मानसपटलमा त्यो व्यक्ति र उस्को आबाज गुञ्जिरह्यो … । मेरो बाल मष्तिष्कमा त्यसपछिका धेरै दिनसम्म बारम्बार यौटै कुरा आईरह्यो :- त्यो मान्छेलाई राजा बनाए पनि हुन्थ्यो नी !

आफ्नो बचपनाको बारेमा हाँसो लागे पनि त्यो ‘राजा बन्न पाए सुनको बाटो बनाउने मान्छे’ को भने मलाई पछिसम्म सम्झना छ ।

यथार्थको धरातलमा बसेर सोच्दा सुनको बाटो बनाउने कुरा असम्भब भए पनि त्यतिबेला बाटोमा हिंडने ठुलै मान्छे पनि उसका कुरा सुन्दै हिडेको याद छ मलाई । त्यो यौटा केवल कोरा कल्पना र पागलपन थियो … तैपनि तात्कालीन समयमा ‘राजा’ र ‘सुन’ शब्दले सबैको ध्यान खिचेको हुनसक्छ ।

सोच्दा सोच्दै मेरो मानसपटलमा फेरि त्यो बहुलाको बिम्ब र आबाजहरु घनिभूत भएर गुन्जन्छन, म अचानक फेरि आफुलाई डिल्लीबजारको त्यहि सडक छेउमा पाउँछु । त्यो बहुला आज पनि पूर्वबत आफ्नो “घोषणा पत्र” को पाठ गरेर कराउँदै छ “ मलाई राजा बनाईदिनु … म यो बाटो सुनको बनाई दिन्छु … …”

अहिले म मा बचपना छैन र मलाई उस्को त्यो सुनको बाटो बनाउने योजनाले पनि तान्न सक्दैन । मलाई थाहा छ त्यो बहुला हो र उसलाई आफुले बोलेको कुराको न कुनै ज्ञान छ न जिम्मेबारिपनको बोध ।

म त्यो बहुलालाई वास्तै नगरि बाटोमा अगाडि बढ्छु … तर अचानक बाटोको आर्कोतर्फबाट झुण्ड-झुण्डमा हुलका हुल मानिसहरु देखापर्छन । म बिस्तारै त्यो झुण्ड भएतर्फ बढ्छु, अगाडि भीडको बिचमा अलिकता अग्लो मञ्च बनाईएको थियो र त्यसमाथी एकजना व्यक्ति चोर औंला ठडाएर मच्ची मच्ची कराउँदै थियो “ मलाई भोट दिनुहोस् म यो टोलामा ढल बनाईदिन्छु, … बाटो बनाईदिन्छु … , पानीको समस्या समाधान गर्छु … … ”

हेर्दा हेर्दै मेरो आखाँ अगाडी चलचित्रका दृश्‍यझै गरि सबै घटनाक्रमहरु घुम्न थाल्छन्। हेर्दा हेर्दै त्यस्तै अरु धेरै जना ठाँउ ठाँउमा देखीन्छन् । कोहि २ बर्षमा मेलम्चिको पानी ल्याउने, कोहि ५ बर्षमा नेपाललाई स्विटजरल्याण्ड बनाउने आदि आदि । सबैले यथार्थीय धरातलमा कुनै पनि हालतमा पुरा गर्न नसकीने सपना बाँड्दै थीए । तर सफा लुगा लगाएको र यौटा यौटा झण्डा पनि समाएकोले सबैजना ति व्यक्तिहरुको कुरा ध्यान दिएर सुनेका देखिन्थे ।

म पुन झसंङ्ग हुन्छु र बास्तबिकतामा फर्कन्छु । मलाई अब देशका नेताहरुको अगाडि त्यो डिल्लीबजारको बहुला ‘पागल’ लाग्न छाड्छ ।



4 Comments:

बिपलब said...

हि हि हि,,,,तपाइले देखेको बहुला त देखिएन, तर मानसपटलकमा कमरेड प्र पनि त्यसत्तै बहुलठ्ठि पुर्ण काम गर्ने डिल्लि बजारे लाग्यो।
हेरौ सत्तामा तिनै जाने भएका छन क्यारे, अब स्विजरल्याण्ड बन्ने हो की डम्पिगं ल्याण्ड बन्ने देख्न पाइन्छ।

Lokesh said...

your thought is very positive. i think all neta same delli bazar ka pagal hun.

Thanks
Lokesh

nepalean said...

सांकेतीक रुपमा भन्नु पर्दा अहिलेका नेताहरु डिल्ली बजारको पागल जती पनि योग्य छैनन। कम्तीमा त्यो पागलले आफ्नो भिजन कराएरै भए पनि सबैलाइ त भन्यो।
संसारकै गरिब देश नेपालका नेताहरुको देश सुधार्न के छ त भिजन?? लोकतन्त्र, गणतन्त्र ???

Panda said...

वास्तवमै पनि काठमाडौमा लक्षमण सिंह खड्का भन्ने बर्बरे नेता छन । चुनावमा उठ्दै जमानत हार्दै बस्दै गर्छन् । ठांउ ठांउमा बसेर नेताहरुलाई गाली गर्दै चिच्याउछन् , कहिले सिंह दरबारबाट मन्त्री निस्कदै गरेका मन्त्रीलाई यति घुस खाइस, तं नालायक होस भन्छन् । कहिले देश फोहोर भयो म देश सफा गर्ने खलासी हुं भन्ने ब्यानर बाटा बाटामा झुण्ड्याउछन । सबैले उनलाइ पागल भन्छन, मैले पनि उनलाइ पागलै भन्थे ।

अब जसको पछाडि ठुलो जमात वा भिड छ त्यो जति बर्बरायो त्यति ठुलो नेता, जसको पछाडी भिड छैन जति राम्रो बोले पनि पागल !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !