April 3, 2009

जिंदगी यात्रा गर्दा

सी "दोषी"
जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.

लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.

थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.

म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .

फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू


April 2, 2009

एक मित्रले सोधे नेपालमा अहिले कस्तो छ? के उत्तर दिनु खै??

समय मिल्दा दौतरीको फेसबुकमा छिरीहाल्छु। फेसबुकमा छिरेपछी प्राय हेर्ने भनेको What's on your mind? नै हो। सबैले आफ्नो दिमागको कुरा लेखेका रहेछन। अब आफ्नो दिमागमा बाड्ने कुरो केही पनि थिएन के लेख्नु? एक छिन यसो दिमाग घुमाए, अनि सम्झिए एक जना भारती मित्रले सोधेको कुरा याद आयो "जापानमा अहिले कस्तो छ?" मैले भने मेरो घर कांहा जापान हो त, नेपाल पो। ए! ए!, नेपालमा अहिले कस्तो छ भन्न खोजेको के, उनले आफुलाइ तुरुन्तै सुधारे। मलाइ के भन्ने के भन्ने भयो। उसंग फुत्कन ठिकै छ भनेर हिड्न लागेको अहिले आंतक त छैन नेपालमा, प्रश्न थपिहाले। शान्त छ भनौं त मान्छे मरेका मरै छन, बन्द हडताल उत्तीकै छ। शान्त छैन भनौ सबै पार्टी मिलेर संबिधान बनाउन कस्सिएका छन। ठिकै छ तर त्यस्तो शान्त त छैन भने।

किनहो शान्ती नभएको ती मित्रले प्रश्न पून थपिहाले। कस्तो गार्हो प्रश्न सोधे। सारा राजनितीक दिग्गज देखी नागरीक समाज, बिध्वान देखी बिदेशका नेपालीले भेट्टाउन नसकेको कुरो मैले कसरी फ्याट्टै भनुं। उनलाइ उत्तर दिएर भाग्नु त थिदै थियो। कानुन कमजोर छ के सोमालियामा जस्तै। आफुलाइ तुरुन्तै सुधारें, सोमालिया जस्तै त नभनौं, २०-३०% सोमालिया जस्तो होला। त्यसो भए त अधिनायकबाद होला है त्याहां, उनले ढुक्कै भने। क्या फसाद, उनलाइ कसरी सम्झाउ दिक्क लाग्यो। संबिधान बनाउदै छन क्या नेपालमा। जनताले नै भोट दिएका मान्छे हुन संबिधान बनाउने। त्यो त राम्रो हो,पहिलाको संबिधान राजाले बनाएको होला नि हैन? दिक्कै लगाए मेरो मित्र ले। २०४७ सालको संबिधान बनाउने पनि यिनै कांग्रेस र एमाले त हुन नि। अहिले माओबादी थपिएको त हो। उनलाइ उत्तर त दिनु नै थयो। अनि भने पहिला पनि यिनैले बनाएका हुन, अलि राम्रो भएन के। पहिला को अप्रजातान्तरीक होला नि, उस्ले आफै प्रष्टायो। खै के भन्नु उनलाइ, पहिलाको प्रजातान्त्रीक, अहिलेको लोकतान्त्रीक। प्रजातन्त्रलाइ डेमोक्रेसी भन्छन, लोकतन्त्र देशमा आएको पनि २ बर्ष हुन लाग्यो यसलाइ अंग्रेजीमा के भन्छन थाहा छैन। अहिलेको अलि "मोर डेमोक्रेटीक" भनेर हाम्रो संबिधान सभाको इज्जत बचाउन प्रयास गरें।

उनले फेरी थपे राजाको पावर त गयो होला। अब त सेरोमोनियल भयो होला। हैन राजा हाम्रोमा छैनन। अहिले गणतन्त्र भइसक्यो। किना फालेका त राजा, उ निकै बदमाश थियो कि ट्याक्स मनी सबै खान्थ्यो। सोचे उनलाइ सहि नै भनौं। पहिला का राजा त राम्रै थिए यो चाही अली बदमास निक्ल्यो। ट्याकस् मनी त सरकारमा जान्थ्यो सरकारले नै उस्लाइ छुट्टाएर दिन्थे। त्यसो भए किन निकालेको त? प्रश्न तेर्साइहाले। हैत्तेरी के भन्नु अब। भारतमा गणतन्त्र आएको कती बर्ष भइसक्यो तर उनिहरु नेपालमा अझै राजा रहुन भन्ने सोच्छन। उनिहरुको सोच छ नेपालमा राजा भए सबै हिन्दुहरुको आत्मबिश्वास रहिरहने छ। अब भारतका नेताले नेपालका नेतालाइ जांतो घुमाए जस्तै गर्छन यि भारती मित्रहरु भने राजा हटाएको मा दुखी छन। उनले अझ थपे नेपाल र भारत त एक्दम मिल्ने देश बन्नुपर्छ। बिस्वका हिन्दु देश यि दुइ मात्र त हुन। यता हेर्यो बंगलादेश,उता पाकिस्तान। चिनको त के कुरा गर्ने, मिल्ने भनेको नेपाल र भारत नै हो, उनले मेरो काननेर आएर भने। उनको भनाइले मलाइ एक किसीमको भवुक बनायो। कसौटी देखी इन्डियन आइडल सबै भ्याउंछौ। मौका मिले भारती जस्तै देखिने तराइका नेपालीलाइ पनि पिटपाट पार्न बेरलगाउदैनौं। आर्थिक बिकासमा नं १ हुन लागेकको भारतसंग जोरी खोजेर हैन जोडी बनेर नै हामी उंहो लाउन सक्छौ, यो धुर्व सत्य नै हो। मैल भने उसलाइ हो हो हामी एकदम मिलेर नै अघीबड्नुपर्छ। कती छ नेपालको र भारतको पैसाको फरक? उनले फेरी सोधे। भारती १०० रुपयांको नेपाली १६० रुपया हुन्छ मैले उत्तर दिए। ए तिमीहरुको पनि रुपया नै हो, उनी नेपाली र भारती दाजुभाइ नै भए जस्तै गरी दंग परे। साच्चै हामी भारतीहरु संग दब्बिएको महशुस नगरी कुममा कुम मिलाएर अघी बढे दाजुभाइ जस्तै भइने रहेछ भन्ने जस्तो लाग्यो मलाइ। समय मिल्यो भने पशुपती नाथ त पुग्नेछु, उनी नेपाल जाने आफ्नो धोको पोखे। मन मनै सोचे आफ्नो गाउं त नपुगेको कती भयो होला अब के जालान यि नेपाल? मलाइ एक जना भारतीले सामिप्य देखाएकोमा खुशसीहुन भन्दा पनि नेपालमा राम्रो भइराखेको छ भन्न नपाउदा मन खिन्न भयो। खिन्नै मनमा भने उनलाइ, अरू कुरा पछी गरौंला, आहिले घर तिर लागौं।



तिम्रो ढंगमा भूल्दा

नीर्मन केएम
नंखेल भक्तपुर

छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौ
कता कता यो मनभित्र माया राखी दियौ

चिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैले
यस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले

मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौ
हिंडाइको चालसंगै यो मन पनि साथै लग्यौ

कुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्यो
हेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्यो

दुनियाँको माझैबाट इशाराको झल्को लाग्यो
होकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो


औँलाहरू चुमेर

- वैरागी काइँला

औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।

के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।

औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)


गाउँखाने कथा - ९ (Nepali Gau Khane Katha)

अपडेट: भिर, पहरा बस्ने सानी सुकुमाइ फर्सी पनि होइन,मौरी पनि होइन,जुका पनि होइन। यस्कको उत्तर चिचीचीन्डो पनि होइन, घ्याम्पो पनि होइन। किर्नु उत्तर चाही एक्दमै सहि हो। लुना जीलाइ धेरै धेरै बधाइ छ। ल लुना जी कुन गाउं लिनुहुन्छ?
-------
सानी-सानी सुकुमाइ घ्याम्पा जत्रो पेट
काहा. बसेर मोटाइन? भिर,पहरा,लेक। के होला सानी सुकुमाइ?


April 1, 2009

कोशीस

शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्‍यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन