March 7, 2022

सगरमाथाको काखबाट

 

नेपाल टेलिकममा सेवा शुरु गरेको लगभग तेह्र वर्ष पछि पहिलो पटक व्यवस्थापनले काठमाडौं बाहिर जाने प्रस्ताव गरेपछि कार्यालय प्रमुखको रुपमा ओखलढुंगा जाने निर्णय गरियो | हिमाली  तथा पहाडी जिल्लाहरुमा कम्पनीको सेवा सुविधा विस्तारमा योगदान गर्न सकिने, लुक्ला, नाम्चे, खुम्जुङ लगायतका हिमाली भेगहरु घुम्न पाइने, कार्यालय संचालन सम्बन्धि नविन अनुभव हुने तथा सेवाको  शुरुवात देखि काठमाडौं बाहिर नबसेको बिषयमा पनि उत्तर दिन सकिने जस्ता कुराहरु सोचेर बाहिर जाने निर्णय त गरियो तर ओखलढुंगा मेरो लागी युगकवि सिद्दिचरण श्रेष्ठले रचना गर्नुभएको मेरो प्यारो ओखलढुंगा कविताको बर्णन बाहेक सर्वथा अपरिचित थियो |  पूर्वी पहाडमा रहेको ओखलढुंगा मेरो मानसपटलमा सुदुर क्षितिजको कुनै विकट जिल्ला मात्र थियो | एकातिर  परिवार, साथीभाई र काठमाडौंको फराकिलो व्यावसायिक नेटवर्क चटक्क छोडेर दुर्गम जिल्लातिर लाग्न खोज्नु निकै ठुलो चुनौती थियो भने अर्कोतिर जागिरे जीवनको वाध्यता | २०७७ भाद्र २१ गते केन्द्रिय प्रसासनबाट सरुवाको पत्र बुझेपछि मनमा एक प्रकारको छटपटी शुरु हुन थाल्यो | सोलुखुम्बु, खोटाङ, ओखलढुंगा जस्ता नितान्त अपरिचित जिल्लाहरुमा आगामी दिनहरु कसरी बित्लान्; परिवारहरुको  व्यबस्थापन कसरी गर्ने होला; अहिले सम्म अनुभव नभएको कार्यालय प्रमुखको जिम्मेवारी कसरी बहन गर्ने; लामो समय काठमान्डौ बसेर बनेको व्यावसायिक सम्बन्धहरु कसरी व्यवस्थित गर्ने भन्ने  जस्ता कुराहरु मनमा खेलि नै रहन्थे | अनेक बेचैनीहरुका बिच कोरोनाको वैश्विक महामारीबाट भने सुरक्षित रहन सकिन्छ कि भन्ने आशा चाँही थियो | सरुवाको पत्र बुझेको दिन नै छोरी स्मारिकाको आपतकालीन अपेंडिक्सको अपरेसन गर्नुपरे पछि त् झन एकदम नरमाइलो पनि लाग्यो, एक प्रकारको त्रास, शंका र बेचैनीले भरिएको थियो | महामारी र  पारिवारिक समस्याको बिचमा भएको मेरो सरुवाको बिषयलाई लिएर कार्यालय भित्र बाहिरका साथीहरु बिचपनि निकै नै खुल्दुली भयो| कतिपय निकट साथीहरुमा त कार्यालय भित्रको सम्बन्धलाई लिएर अनेकन शंका उपशंका पनि भएको थियो | जे जति कुराहरु भएपनि २०७७ असोज १३ गते ओखलढुंगा हिड्ने निर्णय गरें |

    करिव पाँच महिनाको लगातारको बन्दाबन्दीबाट पहिलो पटक काठमाडौं बाहिर निस्किएको दिन भने बाटोमा देखिएका हरियाली, खोलानाला, खुलेको मौषम तथा शरद ऋतुको स्वछन्दताको कारणले  जेलमुक्त भएको जस्तो अनुभव भएको थियो | सप्तकोशीमा मिसिने सानातिना खोलाहरु देखि इन्द्रावती, सुनकोशी, तामाकोशी, लिखु जस्ता नदीनालाहरुले मलाई मन्त्रमुग्ध पारिरहेको थियो | सुनकोशीको बगर भरि सेताम्मै फुलिरहेका काँसका फुलहरुले मलाई नै स्वागत गरिरहे जस्तै लाग्थ्यो | सुमधुर धुन भरिरहेका सुनकोशीका छालहरुले मेरो ओखलढुंगा बसाईका आगामी अविस्मरणीय दिनहरुको पूर्वानुमान दिईरहेका थिए | पहिलो पटक काठमाडौंबाट ओखलढुंगा सम्मको यात्रामा साथ दिने मेरो कार्यालयका लेखा प्रमुख सन्तोष न्यौपाने र प्रसासन हेर्ने प्रेम आचार्य हुनुहुन्थ्यो | उहाँहरुले बारम्बार विभिन्न ठाउँहरुको परिचय दिंदै मेरो यात्रालाई सहज बनाउने प्रयास गरि रहनुभएको थियो | म ओखलढुंगा पहिलो पटक आएको समय वातावरणीय हिसाबले साच्ची कै सुरम्य, कन्चन र मनामोहक थियो, जुन खालको प्राकृतिक सौन्दर्य  मेरो जीवनको बाल्यकालमा मैले  लम्जुङमा भोगेको थिएँ |   
    


    विधिवत रुपमा २०७७ साल असोज १४ गते कार्यालय परिसर भित्र काठमाडौं देखि ल्याएको एभोकार्डोको विरुवा सारेर ओखलढुंगा लेखा कार्यालयको कार्यालय प्रमुखको हैसियतमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु हेर्ने गरि कार्यभार शुरु गरें | कार्यालयको वातावरण, कार्यकक्षको अवस्था, कार्यालयको आन्तरिक व्यवस्थापन, सेवा प्रवाहमा सुनेका समस्याहरुले केहि दिन त मलाई खिन्न पनि बनायो तर प्राकृतिक सौन्दर्यता र काठमाडौं छोडे पछिको  खुलापनले भने मनमा एक प्रकारको आनन्द दिईरहेको थियो | शुरुका केहि दिनहरु सहकर्मीहरुसंग परिचित हुँदै लेखा, प्रसासन र प्राविधिक कामहरुको बारेमा बुज्दाबुज्दै नै बित्यो | नयाँ कार्यालय भवनमा फर्निचर / फर्निसिङ सहित  कार्यकक्षहरुको व्यवस्थापन गर्नुपर्ने देखि केहि आन्तरिक विषयको अलावा जिम्मेवारी शुरु गरेकै दिनदेखि लुक्ला, नाम्चे लगाएतका क्षेत्रहरुको टेलिफोन/इन्टरनेट समस्या; क्याम्जे, डाँडाखर्क, पत्ताले जस्ता महत्वपूर्ण रिपिटर स्टेसनहरुमा नियमित सेवा अवरुद्ध हुने समस्या; ओखलढुंगा, सल्लेरी, दिक्तेल लगायतका ठाउँहरुको जिर्ण आउटसाइड नेटवर्कको अवस्था, कर्मचारीको अभाव, ग्राहकहरुको गुनासाहरु र सेवाको अत्यधिक माग जस्ता कुराहरुले केहि दिन लगभग किंकर्तव्यविमूढ़ जस्तै बनाएको थियो | देशको अन्य भागहरुमा FTTH सेवाको काम धमाधम भईरहँदा यहाँ भने अत्तोपत्तो थिएन | देशभरि ६५-७० प्रतिशत भूभागमा 4G सेवा संचालन आइसक्दा पनि यहाँका तिन जिल्लाहरुमा सदरमुकाम वरपर रहेका जम्मा नौवटा टावरबाट मात्र 4G सेवा संचालन गरिएको थियो |  विगत वर्षहरुमा नै ठेक्का लागेका तर विविध कारणले बन्न नसकिरहेको टावर निर्माण कार्य अलपत्र जस्तै थियो | 4G परियोजना अन्तर्गतका टावरहरु बन्ने सुरसारमा मात्र थिए | सुचना महामार्ग अन्तर्गतको हर्कपुर- सल्लेरी खण्डको भूमिगत फाइबरको काम अलपत्र अवस्थामा थियो भने हिलेपानी-दिक्तेलको ADSS खण्डको काम शुरु भएको थिएन | रेडियो ट्रान्समिसन नेटवर्कको समस्या त्यतिकै थियो तर  ट्रान्समिसन ब्याकबोनको हिसाबले भने १००० कि. मि ADSS Fiber link” अन्तर्गत ओखलढुंगा र खोटांगलाई जोडिसकिएको थियो | यतिका समस्या हुँदाहुँदै पनि  काठमाडौं छोडेर आइसकेको हुनाले कम्पनीले दिएको जिम्मेवारीलाई छोडेर हिड्न सक्ने अवस्था थिएन | हरेक समय प्राकृतिक सौन्दर्यताले भने मलाई शक्ति दिईरहेको थियो | यति धेरै समस्याहरु देखेपछि मेरो मनमा एउटा सकारात्मक विचार आयो | मेरो केहि भूमिका र प्रयासले समस्याहरु समाधान हुन थाले भने सानोतिनो कामहरु सफल हुँदापनि  मेरो नाम रहन सक्छ भन्ने जस्तो लाग्यो | कार्यालय प्रमुखले इमान्दार प्रयास गर्दा धेरै सकारात्मक प्रतिफलहरु आइरहेका कार्यालयहरु तिर मेरो ध्यान गयो | मैले दृढसंकल्प गरें कि यी समस्याहरुलाई मौकामा बदल्छु, पहाडको कार्यालयलाई पनि सबैको ध्यान आकृस्ट गर्ने खालको कार्यालय बनाउँछु | सकारात्मक आन्तरिक उर्जाको प्रभावमा आफुलाई आफैले बनाएको परीक्षामा होम्ने निश्चिन्त गरें | त्यसपछि शुरु हुन थाल्यो मेरो लगभग १६ घन्टे कार्यालयको दैनिकी | 


    एक एक गरेर सम्बन्धित व्यक्तिहरुसंग कार्यालयको प्रसासनिक र प्राविधिक समस्याहरु बुज्न थालें, समाधानका उपायहरुमा चिन्तन गर्न थालें
| अनेकन व्यक्तिगत योजनाहरु बनाउन थालें  | विगतमा केन्द्रिय स्तरबाट कम्पनीको सुधारका कुराहरुमा निर्णायक भूमिकाहरु खेलेको, पेशागत व्यवसायिक संस्थाहरुमा नेतृत्वदायी भूमिकाहरु निभाएको तथा कम्पनि भित्रका प्राय सबै निर्देशनालयहरु तथा विभागहरुमा राम्रो व्यक्तिगत सम्बन्ध भएको कारणले सबैतिरबाट सहयोग हुने र समस्याहरु क्रमिक रुपमा समाधान गर्दै जान सकिने अपेक्षा सहित सबैतिर समन्यय गर्न थालें | आधारभूत समस्याहरुसंग सामान्य परिचित हुन थालेपछि  कम्पनि भित्रका सम्बन्धित विज्ञहरुलाई जोड्ने प्रयास गरें | प्रादेशिक तथा केन्द्रिय निर्देशनालय/ विभागहरु सम्म स्थानिय समस्या र सम्भावनाहरुलाई उजागर गर्ने प्रयासहरु निरन्तर  गरें | प्रतिस्पर्धीहरुको सेवा प्रवाहको अवस्था बुज्ने प्रयास गरें | सफल मानिएका कार्यालयहरुसंग नियमित सम्पर्कमा रही अनुभव साटासाट गर्ने र सिक्ने काम गरें |  कर्मचारीहरुको आन्तरिक मनसाय र आनीबानी बुज्ने, उनीहरुका समस्याहरुलाई व्यक्तिगत समस्या जस्तै महत्व दिई काममा उत्प्रेरित गर्ने र अनौपचारिकता विकास गर्ने जस्ता नीति लिएँ | संस्थागत संस्कार (Corporate Culture ) को रुपमा सहकर्मीहरु बिच विश्वास (Trust), सम्मान (Respect)  कदर (Appreciation), सदभाव (Harmony), सक्रियता (Proactive),  सामुहिकता (Team First),  हेरविचार (Care), नियमित सिकाई ( Update & Learn), नियमित मनोरन्जन (Regular Entertainment) जस्ता कुराहरु विकास गर्दै जाने निधो गरें | सेवा विस्तारलाई सहज बनाउन  कार्यालय बाहिरका विविध निकायहरु: स्थानिय तह, प्रादेशिक तथा संघीय प्रतिनिधि, राजनीतिक पार्टी, जिल्ला प्रसासन सहित अन्य कार्यालयहरु तथा सुरक्षा निकायहरुसंगको सम्बन्धलाई विशेष महत्वका साथ विस्तार गरें | भौतिक रुपमा सकेसम्म काठमाडौं तथा प्रादेशिक निर्देशनालय धेरै जानुभन्दा पनि अनलाइन मिटिङ, टेलिफोन तथा सामाजिक संजालमार्फत छलफल गर्ने तर समय मिल्ने बित्तिकै आफ्नो फिल्डमा गई समस्या बुज्ने र स्थानिय तहमा समन्यय बढाउने काम गर्न थालें |  सफल असफल जे भएपनि इमान्दार प्रयासका साथ काम गर्ने बाटो अख्तियार गरें |  


    जिम्मेवारी सम्हाले देखि नै केहि प्रभावकारी कामहरु गरेर आफ्नो उपस्थिति जनाउने इच्छा थियो | शुरुको केहि दिन भित्र नै लगभग तिन वर्ष देखि बन्द रहेको रुम्जाटारको ग्राहक सेवा केन्द्र संचालन गरेर सेवा शुरु गरियो, आजको दिनसम्म आउँदा उक्त केन्द्र निकै नै प्रभावकारी भएको छ, करिव दश लाख त पुरानो बक्यौता मात्रै उठाईसकेको छ | क्याम्जे, पत्ताले र डाँडाखर्क स्थित रिपिटर स्टेसनलाई केन्द्र र प्रदेशसंग समन्यय गरि धेरै हदसम्म स्थिर बनाउने काम भयो जसले गर्दा उच्च हिमाली भेगको सेवा प्रवाहमा सुधार भएको छ | ADSL सेवाको अत्यधिक मागलाई सम्बोधन गर्न कार्यालय कै क्षमतामा ओखलढुंगाबाट रुम्जाटार सम्मको विकट भूभागमा लगभग ७ कि.मि. फाइबर तानेपछि सो ठाउँको टेलिफोन, ADSL र मोबाइल सेवाको गुणस्तरमा व्यापक सुधार भएको छ | करिब तिन कि.मि. फाइबर तानी रामपुरमा नयाँ टेलिफोन एक्सचेन्जको शुरुवात भएको छ | गतवर्ष मात्र खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा गरेर पैतिस भन्दा बढी नयाँ मोबाइल टावरहरु बनिसकेका छन्, र अधिकांस संचालनमा पनि आइसकेका छन् | एकवर्ष अघि सम्म तिन जिल्लाहरुमा जम्मा नौवटा टावरहरुबाट मात्र 4G सेवा संचालन रहेकोमा हाल सो सेवा पचास भन्दा बढी टावरहरुबाट सुचारु भईसकेको छ भने अन्य धेरै टावरहरुमा काम धमाधम भईरहेका छन् | ओखलढुंगा, रुम्जाटार, दिक्तेल तथा सल्लेरीमा FTTH सेवाको सर्भे भईसकि ओखलढुंगामा तीनवटा FDC मार्फत सेवा संचालन भैसकेको छ भने दिक्तेलमा छिटै नै सेवा शुरु हुँदै छ | RTDF परियोजना अन्तर्गतको हर्कपुर-सल्लेरी खण्डमा भूमिगत फाइबर बिछ्याइ सकिएको छ भने हिलेपानी – दिक्तेल खण्डको ADSS फाइबरको काम पनि सम्पन्न भैसकिएको छ | कार्यालय कै प्रयास र समन्ययमा RTDF योजनाको लागी हर्कपुरमा दुई रोपनी जग्गा खरिद गर्ने काम भएको छ भने भवन निर्माण शुरु हुने प्रक्रियामा छ | यसै वर्ष हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक पत्ताले रिपिटर स्टेसन मार्फत अप्टिकल फाइबर लिंकले जोडिएको छ भने सो स्टेसन सम्म रास्ट्रिय प्रशारण लाइनबाट विजुली जोड्ने गरि संरचना तयार भैसकेको छ | कार्यालयको प्रयासमा सोलुखुम्बुको थुप्तेन छोलिंग जस्तो हिमाली भेगमा नयाँ टावर निर्माण गरि संचालनमा ल्याइएको छ भने  अनेकन  समन्यय पश्चात सगरमाथा रास्ट्रिय निकुन्ज भित्र केहि टावरहरु निर्माण हुँदै छन् | कतिपय मोबाइल टावरहरुमा रेडियो लिंकको ठाउँमा अप्टिकल फाइबरले जोडिने कामहरु सम्पन्न भई सेवाको गुणस्तरमा सुधार भईरहेको छ | लुक्ला, नाम्चे, खुम्जुङ जस्ता उच्च हिमाली भेगका स्थानिय जनताहरुमा कम्पनि प्रति अपनत्व बढिरहेको छ भने सेवा विस्तार पनि भईराखेको छ | कम्पनीले दिईरहेको सेवामा सुधार तथा विस्तारको अलावा कार्यालयको आन्तरिक व्यवस्थापन, कार्यकक्षहरु सुधार, सरसफाई र सजावटले पनि गति लिएको छ |


    हालसम्मको १५ महिने हिमाली/पहाडी जिल्लाहरुको अनुभवले  ग्रामिण भेगमा संचार सेवा विस्तारको चुनौती भन्दा पनि सेवाग्राहिहरुको सुजबुझ, अग्रसरता र सम्भावनाहरुलाई कम्पनीले झन बढी महत्व दिनुपर्दछ जस्तो लाग्दछ | नेपाल टेलिकम प्रतिको माया र कम्पनिबाट प्राप्त  संचार सेवाहरु नै प्रयोग गर्न खोज्ने जनताहरुको चाहनालाई हामीले समयमा नै उपयोग गर्नु पर्दछ | द्रुतगतिको सेवा माग र प्रतिव्यक्ति सेवा प्रयोगको हिसाबले ग्रामिण भेगमा कुनै कमि छैन | सामाजिक सुरक्षा लगायत स्थानीय सरकारी निकायहरुको वाध्यकारी इन्टरनेट प्रयोग र निजि सेवा प्रदायकको मनपरी मुल्यको कारणले त  झन टेलिकमको महत्व अझैं बढाएको छ | दुरसंचार सेवाप्रति आम जनताको जागरण, आवश्यकता, स्थानिय स्तरमा बढेको आम चहलपहल र विविध सम्भावनाहरुको खोजि हुँदै गरेको अवस्था देख्दा नेपाल टेलिकमले ग्रामिण भेगहरुमा गरेको लगानीको प्रसस्त प्रतिफल प्राप्त हुने कुरामा कुनै शंका छैन |    उच्च हिमाली भेगहरु लुक्ला, नाम्चे, खुम्जुंग लगायत सगरमाथा बेसक्याम्प सम्म कुनै बेला कम्पनीको साख र पहुँच बढाउनको लागी सेवा विस्तार गरिएको भएपनि हाल आएर बढ्न थालेको स्थानिय तथा बाह्य पर्यटनलाई बिशेष ध्यान दिदैं नाफामुखी सोचबाट सेवा विस्तार गर्न जरुरी देखिन्छ | ग्रामिण भेगमा रहेका विद्यालय, गैह्र सरकारी संस्था, समूह, क्लब, सहकारी, बैंक, स्थानीय निकाय तथा  विविध सेवा केन्द्रहरुमा सुचना प्रविधिको अनिवार्यता, अत्यधिक  माग र प्रसस्त  बजेटको अवस्था देख्दा नेपाल टेलिकमले छुट्टै ग्रामिण दुरसंचार निर्देशनालय या विभागको अवधारणा बनाई दिर्घकालिन सोच राखेर काम गर्नुपर्ने देखिन्छ| यस्तो अवधारणाबाट हिमाली ,पहाडी तथा तराईका गाउँघरहरुको स्थानिय अवस्थामा विशेष केन्द्रित हुदै ग्रामिण भेगमा सेवा प्रवाहलाई सरल, दिगो र  गुणस्तरिय बनाउन सकिन्छ |  गाउँघरमा कम्पनीको ठुलो विश्वसनियता बाँकी नै रहेकोले सुचना प्रविधिसंग सम्बन्धित स्थानिय तहको बजेट, ग्रामिण दुरसंचार कोष, तथा डिजिटल दुरी कम गर्न विदेशी दातृ निकायहरुले प्रदान गर्ने बजेटहरु समेत यस्तो विभाग मार्फत एकत्रित गर्न सकिन्छ |


     सेवा विस्तारको साथसाथै हिमाली/पहाडी जिल्लाहरुको कार्यालय, आवस्यकता अनुसार कर्मचारी तथा  सवारीसाधन लगायतका आन्तरिक व्यवस्थापनमा देखिएको फितलोपनलाई भने सुधार गर्नुपर्ने देखिन्छ | भौगोलिक विकटता, प्रतिकुल मौषम र परिवारबाट छुट्टिएर बस्नुपर्ने कर्मचारीहरुको वाद्यतालाई कम्पनिले विशेष ध्यान दिनुपर्ने देखिन्छ | दुई देखि तिन वर्षमा अनिवार्य सरुवा, आकर्षक आर्थिक प्याकेज सहितका प्रोत्साहनहरु र दुर्गम भेगमा काम गरेबापत थप स्वास्थ्य उपचारको व्यवस्था हुने हो भने यस्ता ठाउँहरुमा कर्मचारी खटाउन गार्हो हुन्छ जस्तो लाग्दैन |


    ओखलढुंगा बसाईको क्रममा आधा भन्दा बढी समय पहाडको रहनसहन र वातावरणमा       आमा र श्रीमती सहित छोरा छोरी पनि संगै भएकोले मलाई आफ्नै गाउँघरतिर सेवा गरिरहेको जस्तो हुन्थ्यो | हरेक दिनको व्यस्तताले निकै छिटो समय बिते जस्तो भयो | कार्यालयको आन्तरिक व्यवस्थापन, आमजनताको तहसम्म कार्यालयको सम्बन्ध विस्तार, ग्राहकको गुनासाहरु सम्बोधन,  सेवाको विस्तार र  मर्मतसम्भारलाई प्रभावकारी बनाउन  आपूर्तिकर्ता तथा फिल्डमा काम गर्ने दक्ष / अर्धदक्ष कामदारहरुसंग गरिने  नियमित सम्पर्क, सेवाको प्रवर्धन, अन्य कार्यालय र निकायहरुसंग समन्यय तथा केन्द्र/प्रदेशको ध्यान आकृष्ट गर्ने सन्दर्भमा कार्यालयबाट खेल्न पाएको भूमिका प्रति मैले गर्व महसुस गरेको छु | छोटो समयको बहुआयामिक भोगाइले मेरो धारणालाई  फराकिलो बनाएको छ भने व्यवस्थापकिय गुण, समन्ययात्मक क्षमता र आँट बढेको आभास भएको छ |  प्राकृतिक सौन्दर्यता र खुला वातावरणमा स्वच्छन्द रुपले हराउन खोज्ने म जस्ता घुमन्तेहरुको लागि त यो ठाउँ स्वर्गीय छ| पत्तालेमा पहिलो पटक परिवारसंगै हिउँ खेल्दा जिन्दगीको सबैभन्दा रमाइलो क्षण भेटेको छु| पिके हिलमा पुगेर गौरीशंकर, नुम्बुर लगायत सयौं हिमालहरुको एकैपटक दृस्यवलोकन गर्दा पुराणहरुमा व्याख्या गरेजस्तै कैलास पर्वत पुगी साक्षात भगवान शिवको सामिप्यताको आनन्द महशुस गरेको छु | हिलारी भ्यु प्वाइन्टबाट सगरमाथा लगायत हिमशैलहरु नजिकबाट नियाल्दा म भावविभोर भएको छु | थुप्तेन छोलिङ, सेर्लो, चियोंङ गुम्बाहरुमा टहलिंदा जीवनमा शुन्यताको आनन्द महसुश गरेको छु | स्थानिय शेर्पा, राई, मगर, तामाङ, क्षेत्री, ब्राह्मण आदि सबै जातिहरुको संस्कार भित्र आफुलाई भेटेको छु | सुन्दर खर्कहरु, खर्कहरुलाई शिरमा राखेर आकाश छुने होडमा रमाइरहेका सल्लाका कोणधारी सुरम्य जंगलहरु, कन्चन हिमनदीहरु, संगीतमय झरनाहरु, निर्दोष चौरीका बथान र गोठालाहरुसंग मैले मितेरी जोडेको छु, यिनीहरुको भावुक सुन्दरतामा म अनेकौं पटक हराएको छु,  धेरै पटक हर्ष विभोर भएको छु | सरलता, सुन्दरता र मौलिकता मैले यहि प्रकृतिबाट सिकेको छु | पोकली, जुनबेशी, सोताङ, छेस्काम, क्याम्जे, डाँडाखर्क, हलेशी, लुक्ला, नाम्चे, खुम्जुङ जस्ता ठाउँहरु घुम्दाका प्राकृतिक अनुभव मेरो मानसपटलमा जीवनपर्यन्त रहने छन् | प्रकृतिका बहुआयामिक अवयवहरु र जीवनका सप्तरंगी पाटाहरु अनुभव गर्न घुम्नुपर्ने रहेछ | सायद काठमान्डौ नछोडेको भए मेरो अनुभव अपुरो नै हुने थियो | सुनकोशीका सुन्दर छालहरू र वगर भरि फिंजिएका सेताम्मे काँसका फुलहरुले संकेत राम्रै गरेका रहेछन् |  धन्यवाद |

======================================== 

-        दिनेश चन्द्र पन्थी दीप

कार्यालय प्रमुख

दुरसंचार कार्यालय, ओखलढुंगा




3 Comments:

Unknown said...

बाहुनि ho बाहुनि Nepali film ko pall shah sang vko GHATANA. (1) Arko jaati ho vner jhuttoo bolna skchaa. (2) kamunist party ko Bharat Mohan adhikari Bahun ho. (3) Haamro gaau Maa Adhikari Bahun haru cha.

By Binod

nepalean said...

Excellent post Dinesh bhai. I really like your energy to document your work and update as an interesting article.

Anonymous said...

Hami / Hamroo Maanis haru Kasaile pni , Bahun laai Vote diyekoChainau. Tysaile, Bahun jitne chance 0 ( Zero ) cha. Yedi, arkaako Vote chiorrera Bahun le jiteyo vnnlaa. Maaridine ho. Bahun, Nepal ko pni Hainna.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !