March 7, 2011

मेरी बसन्ती प्यारी बसन्ती

इजरायलमा जाडो अझै घटेको छैन । आजकल अलि फुर्सद त्यति छैन, फेरी बिजी भएको छु, व्यस्तताको सेरोफेरो सधै उस्तै हुने रहेछ, जति मिलाए पनि नहुने । फेसबुक होस् या ब्लग कतै पनि अपडेटेड भइएको छैन ।

कता हरायौ हँ ? इनबक्समा कतै कतै प्रश्नका हरफहरु झुन्डिएका छन । कहिलेकाही कतै पनि केही नगरी त्यतिकै चुपचाप 'बिन्दास' बसे के फरक पर्ला र ? फेरी अलि अलि सन्चो पनि त छैन ।

धेरै दिन पछि दौतरीका नेपालियन भेटिए गुगल च्याटमा । कृष्णपक्षको लेखाइ पातलिदै गएको उनको गुनासो थियो, र यो सही थियो । साहित्यिक कथा, कविता र थोत्रा मोत्रा गन्थन बाहेक म के लेख्छु र नेपालियन जी ? अनि आजकल यस्तो सिर्जना(?) पढेर बस्ने फुर्सद पो कसलाई होला र ? गफ मोडियो, 'हो त नपत्याए हेर्नुस न कसरी ओझेल परे किशुनजीका अगाडी नेपाली भाषा साहित्यका अमुल्य निधि - डायमण्ड समशेर राणा । नेपाली भाषा साहित्यका लागि उनले छाडेर गएका अमुल्य सम्पत्ति र उनको योगदान के नेपाली मिडियाको चर्चाका लागि अपुग थियो त ? पक्कै थिएन । तर सत्य यो पनि हो कि मिडियाले त्यो पस्कन्छ वा पस्कनु पर्छ, जुन पाठक वा दर्शकले ज्यादा रुचाउछ, त्यो उसको व्यवसायिक धर्म पनि हो ।

तर यस्तो राजनीतिको मसला मात्र मन पराउने पारखी किन भयौं त हामी ? कता कता छाती भित्र दुखेझैं प्रश्न उभियो ।

फेस्बुक र ट्वीटर तिर केही मित्रहरुको स्टाटस पढेपछि मलाइ नि यस्तै लाग्यो, श्रष्टाको अवसानपछि पोखिने लोकाचारका झुठा आँसुहरुमा पनि कन्जुस्याइ हुदो रहेछ, भएको देखियो । त्यसो त नेता किशुनजीका महत्ता र सम्मानप्रति कसैको असहमति छैन तर उनका अनगिन्ति समाचार तस्वीर र प्रत्यक्ष प्रसारण समेत गरेर पलपलका खबर प्रकाशन/ प्रसारण भैरहंदा कतिपय वेव साइटले अहिले सम्म मुख पृष्ठमा नै साहित्यकार राणा केवल बिरामी भएको देखि यता उनको देहावसानको खबर अपडेट नै गर्न भ्याएका छैनन् ।

फेसबुकमा मित्र अशोक पार्थिवले लेखेका छन -

  • डायमण्ड शमसेरको मृत्युमा हामी साहित्य प्रेमीले मनमनै तोप पड्काएर बिदाई गर्यौं । जसलाई राज्यले सम्झिनुँ उचित ठानेन भने किसुनजीको मृत्युमा चाही पशुपतिको जंगल थर्किने गरी नेपाली सेनाले तोप पड्काएर बिदाई गर्यौ । धन्य होस् नेताहरूको बुद्दिलाई जसले यो देश तिनीहरूको मात्र ठानेका छन् । तर यो पनि नबिर्सिनु कि साहित्य, भाषा, संस्कृति ति मूला नेताहरू भन्दा पनि माथीको चिज हो जुन शताव्दियौं सम्म जिवित रहनेछ ।


उनको स्टाटस पढेपछि भित्र एउटा साहित्य अनुरागी बाँचिरहेको कृष्णपक्ष पनि प्रभावित भयो ।

म राजधानीमा भर्खर आउँदाका दिनहरु थिए, डायमण्ड समशेरका कृतिहरु अनिता,सेतो बाघ र वसन्ती पढ्दाका ती मिठा क्षणहरु आजपनि सम्झिरहेको छु । उनका कृतिहरु पढ्दा इतिहासको कुनै कालखण्डको सजीव चित्र दृश्यावलोकन गरेझैं या जीवनका वास्तविक घटना पढ़ेझैँ अनुभूत गर्थें म। नेपाली साहित्य आकाशका महान साहित्यकार डायमण्ड समशेर आज हामीमाझ हुनु हुन्न, सदा सदाका लागि विदा भइसक्नु भएको छ, यद्यपि उनका ती अनमोल कृतिहरु हाम्रो साहित्यको भण्डारमा युगौंयुग बाँची रहनेछन, सधै सधै भरी ।



वसन्तीको यो मिठो प्रेमिल गीत संगै, उनको आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछु ।

video
कृष्णपक्ष


5 Comments:

Luna said...

जानेको बुझेको यथार्थ ईतिहास जे दियौ तिम्ले
पाना पाना भरि भरेर
नेपाली साहित्य भण्डारलाई
तिम्ले लेखेका तिनै अक्षर अक्षरमा
हिरा स्वरूप
चम्किरहने छौ सधै सधै
नेपाली साहित्यका तारा
प्रिय डायमण्ड शमशेर राणा .

तिम्रो आत्माको चिरशान्तिको कामना गर्दछु .
भाबपूर्ण हार्दिक श्रदान्जली .

कृष्णपक्ष said...

लुनाजी कस्तो सुन्दर काव्यिक प्रतिक्रिया पो दिनुभयो यहाँले त , छोटो मिठो चुटुक्क परेको । धेरै धेरै धन्यवाद ।

कृष्ण पौडेल said...
This comment has been removed by the author.
कृष्ण पौडेल said...

नेपाली साहित्य र विशेषत: ऐतिहासिक उपन्यास लेखनका पर्याय हुनुहुन्थ्यो स्वर्गीय डायमन शमशेर राणा । धेरैलाई थाहा नहुन सक्छ , राणा परिवारबाट अपवादस्वरूप निस्किएका जनता पक्षधर एक कटिबद्ध प्रजातान्त्रिक आदर्शमा समर्पित व्यक्तित्वका रूपमा स्वर्गीय राणाले, राणा काल र पञ्चायतकालमा समेत निर्वासन ब्योहर्नु परेको थियो । वहाँको निधनमा बडो दु:खकासाथ श्रद्धसुमन अर्पण गर्न चाहन्छु । हार्दिक श्रद्धाञ्जली स्वर्गीय डायमन शमशेर राणामा ! वहाँको स्मृति र कृतित्व अमर रहनेछ !

deepak said...

daimond samsher ko basanti ta euta example nai ho. samjanele samjun birsane le birsun,tara unka kathaa nikai ramra chhan.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !