October 16, 2010

प्रवासमा यसपालिको दशैं खल्लो भयो

खेमनाथ पौडेल
बन्दिपुरे माहिलो
यूएई

पूजनिय बुवा आमा
सास्टङ्ग डण्डवत प्रणाम्
यो खाडीमा म लगायत भाइ आरामका साथ छौ त्यहाँ पनि तपाईहरु कुशलआरामै हुनुहुन्छहोला भन्ने उनै दयालु भगवान बसाहाथान सँग प्राथना गरिराखेको छु ।
आज हिन्दुहरुको महानचाड दशैंको आगमन भईरहेको बेलामा म भने प्रवासमा भौतारीरहेको छु । यसपालिको दशैंसँग छ ६ वटा दशै प्रवासीभूमिमा यस्तै खल्लो मानी बिताए । विगतका दशैंमा भने त्यति खल्लो महशुस भएको थिएन तर यसपालीको
  दशैंमा किन हो किन म भित्र भित्र रुन पुगे ।
आज मेरो साथिसंगीहरु विदेशबाट झोला गुम्टा बोकी घरतिर जाँदै गरेको बेलामा म भने त्यहि झोला गुम्टा बोकी दुवाईदेखि अबुधावी पुगें । संगै बसेका साथीसंगीलाई चटक्क मायाँ मारी फेरी अर्का नयाँ नौला साथीहरुको बिचमा घुलमेल हुदैछु । कम्पनीको कामले गर्दा एक ठाउँबाट अर्को ठाउँमा सरुवाहुँदा यहाँ यस्तै हुन्छ । केही समय सँगै बसेका साथीहरुसँग बिछोड हुँदा
 र त्यहि झोला गुम्टा बोक्दै अर्को ठाँउमा जाँदाको जतिको पिडा प्रवासमा अरु हुँदैन । त्यो दुवाईदेखी अबुधावीसम्मको दुई घण्टाको बाटो मेरोलागि ठुलो प्रलय भयो । आँखाबाट टिप टिप आँसु चुहिरहे । सम्झिन्न भन्छु फेरी मनमा गाँठो परेर आउछ र झलझल्ती त्यहि गाउषमा कल्पना गरी पुग्छु । घरको आँगनमा मखमली फूल थुंगे फूल बहिनीहरुले अति मेहनतका साथ तिहारमा हाम्रोलागि भनेर फूलाएको दृश्य । सप्तमिको दिन बन्दिपुर खड्कमाईको जात्रामा जाँन विहानै घरको धन्दा सकिवरी साथीहरुसँग रमाउदै उकालो धाएको । गाँऊघरका छरछिमेकमा बाबियो संकलन गर्दै त्यो बसाहा थानको वरको रुखमा लिङ्गे पिङ्ग थापेको । जुमडाँडाबाट सालका अग्रास काठहरु बोकी काँमिडाँडा र भूभसे्रमा िरंगटे पिङ्ग बनाएको । यही अवसरपारी भुभसे्रको फुटवल ग्राउण्डमा फुटवल भलिवल आयोजना गरेको । अष्टमिको दिन घरमानै पालेको कालो खसी खाटी भुत्लाएको । घटस्थापना देखी दशैको दिनसम्म बसाहाथानको मन्दिरमा नवदुर्गा पाठ गरेको । आज मेरो आँखावरीपरी घुमीरहेको छ । यो यात्राभरी मेरो शरिर यहाँ भएपनि मेरो आत्मा तपाईहरुको अगाडी घुमिरहयो ।
पूजनिय बुबा आमा असोज कार्तिकको महिना पिल्पले खेत पहेलां लह लह धानका बालाले झुमिरहेको होला । दशैंको चटारोले पहेलै भएका धान काट्न पनि मेसो मेलो मिलेको छैन होला । आँ हा अहिलेको मौशम कति सुन्दर हुन्छ है गाउँघरमा बेशीका फाँटमा पहेलै झुलेका धानका बाला पाखोबारीमा घैया कोदो लटरम्म फलेका बेलाउती सुन्ताला अनि घर आगनको डिलमा मखमली फूल र थुगें फूलको दृश्य । वरीपरी फूलेका विभिन्न फूलका सुगन्धले गाँउनै सुगन्धित हुन्थ्यो पहिला त अहिले पनि हुन्छ होला । खै अहिले बन्दिपुरबाट बेसी झर्ने बाटो कस्ले मर्मत गरेको होला गाउँका यूवाहरु सबै विदेशमा छौं दशैको बेलामा गाउलेहरु सबै मिलेर बाटो सफा गर्ने गर्दथ्यौं तर यसपाली गाउँ सुन्य छ । प्रवासीएका यूवाहरु पनि सप्तमिको दिन मात्र गाउँमा आईपुग्छन् ।

म जस्तै सबै साथीहरु प्रदेशिएका हुँनाले गाउँ सुन्य थियो अहिले त गाँऊमा सबै साथीहरु आएका छन् अरे । हामी त तिन दाजुभाइनै विदेशमा भईयो । खै यसपालीको दशै कसरी मनाउनुहुन्छ कुन्नि महङ्गीले आकाश छोएको छ । हामी नेपाली दाजुभाइहरु विदेशमा पनि सँगै बसेर दशै मनाउने जोहो गरिहेका छौ । हिजो बाटोमा आउँदा आउदै नेपाली साथीभाइहरुले आयोजना गरेको दशै कार्यक्रममा पसे तर त्यहाँ पनि खल्लो लाग्यो । प्रवासमा सोचेको जस्तो कहाँ पुग्छ र ।
हस्त बुवा आमा अब अर्को दशैमा भेट गर्ने गरी विदा माग्छु उहि तपाईको छोरा
बन्दिपुरे माहिलो यूएई

प्यारो भाइ
आर्शिवाद

हाम्रो मात्र नभएर देशको भरोसा तिमीमाथी छ । तिमीले जुन बाटो रोज्यौ त्यो अति उत्तम हो । नेपाली भएर नेपाल देशको रक्षा गर्न पाउनु त्यो भन्दा उत्तम केहि होईन । हेर भाइ हामी त पराई देशमा छौ । यहाँ जतिसुकै नंग्रा खिजाए पनि पारिश्रमिक त पाउँछौ र अर्कैको देशलाई उन्नत र विकाशमा टेवा दिएका छौ । हे र त हामी कति विवस छौ अर्काको देशमा आएर जस्तोसुकै काम पनी गर्न पछि पर्दैनौ तर स्वदेशमा सानो तिनो काम गर्न पनि लाज मान्छौ ।
भाइ देशको सुरक्षाको जिम्मा तिम्रो काँधका छ दर्शैको बेलामा तिमी कुन ठाउँमा सुरक्षाकोलागि बसेका हुन्छौ थाहा भएन तर भाइ घरमा सुन्य नबनाउनु । दर्शैको दिनमानै भए पनि जानु र बुबा आमाको हातको टिको लगाउनु । हामी तिन दाजुभाइ विदेशमा छौं यस पालीको दशैमा आउन पाएनौ । हामीलाई मात्र होईन घरमा सबैलाई खल्लो लागेको छ दशैं । अरु भाइहरु साना छन् केहि थाहा छैन त्यसैले भाइ यो दशैमा घरमा जानु ल । भाइ तिमीत देशको पहरेदार गाउँघरमा दशैको बेलामा जाँड रक्सी खाएर हो हल्ला गर्लान् परार सालको जस्तो पिङ्गमा एक आपसमा लडाभाती गर्लान् । सम्झाउनुहै तिनीहरुलाई यसरी लड्नु हुँदैन भनेर । ठुलोकान्छो भाइले कालो खसी किनेर लगेको छ अरे दशैमा मार हान्नु अनि रमाईलो गरी दशै मनाउनु ल ।
भाइ अब हामी भने अर्को दशैमा पक्का आउने छौ अहिलेलाई भने विदा ल ।
उहि तिम्रो दाजु
बन्दिपुरे माहिलो ।

प्यारी जिवनसंगिनी
आरामै छेउ हौली हैन

खै म त कसरी भनु आराम छु भनेर । बाहिरी शरिर आरामै देखिएता पनि भित्रीमन जलिरहेको छ तड्पीरहेको छ त्यहि गाऊँ जाँउ जाउ लागिरहेको छ तिमीसँग मिठा मिठा कुरा गरौ गरौ लागिरहेको छ । तर के गर्ने प्यारी म त सातसमुन्द्रपारी तड्पी रहेको छु । साँच्चै भनौ तिम्रो त्यो ढिप्पिले काम गरेन दशैमा जसरी पनि आउनु भनेर ढिप्पि गरेकी थियौ तर आउन सकिन । प्यारी आज यो रातो बालुवा र तातो हावामा तिमीले मोवाईलमा राखेको दशैको टोन सुन्दै रुदै बसेको छु । जतिबेला याद आउँछ अनि तिमीलाई कल गर्छु तर रिगं टोनको यो गितले झनै बेहाल बनाईदिन्छ ।
यो मनमा कतिपिर लाको छ
दशैं आयो के कस्तो भाको छ ।
मलेशिया साउदी दुवई छु
दशै तिहार आईपुग्यो गाउँघरमा
सम्झिरुदै छु ।
फर्किसके दौतरी साहारा
हाम्रो मात्रै घरसुन्य छ प्यारा
भन्छौ प्यारा साउदी दुवई छु ।


यि गितका मार्मिक शब्दले मेरो मन छिया छिया भएको छ । प्यारी प्रवासीएको पनि आज ७ बर्ष पुरा भएछ । यो सातौ बर्षको अन्तरालमा एक पटक भने सँगै दशै मनाएका थियौ । मलाई त्यहि दशैको दिनको झझल्को आँखाभरी आईरहेको छ । प्यारी तिमीले पनि याद गरत त्यो दशैको दिनको यात्रा कसरी वितेको थियो । बन्दिपुरदेखि नारायणघाटसम्म सायद तिमीले भुल्यौ होला तर मलाई भने ति झझल्काहरु वरीपरी घुमिरहेको छ । जिवन यस्तै रहेछ जुन बेला म प्रवासीएको थिए त्यतिबेला देशको अवस्था अहिलेको जस्तै भईदिएको भए पनि सायद प्रवासीने थिईनहोला । प्यारी तिमीले भन्ने गर्थेउनि हामी त जिवनभर सँगै बस्नेहो तपाई प्रवासीने होईन भनेर तर के गर्ने भनेको कुरा पुग्दो रहेनछ । अहिलेको दशैमा तिम्रो यात्रा एक्लो हुने भयो । चिन्ता नगर प्यारी अर्को दशैमा साथमा हौला । हेरन कस्तो बिडम्बना घर नजिकैको साथी दुर्ग भण्डारी सप्तमिको दिन सम्म घरमा पुग्छु भनेर छोरा छोरी भाइबहिनी सबैलाई लुगा किनिवरी दिएको थिए तर टिकटको समस्याले गर्दा उनी पनि आउन पाएनन् । दशैको पसर्िपल्ट मात्र यहाँबाट जानेअरे मलाई साह्रै आत्मग्लानी भएर आयो । तिमीलाई खवर गरे तर सामान दशैपछि मात्र पाउने भयौ । दशैंको दिन ठूलाबडाबाट टिका जमरा थाप्ने दिन म भने कम्पनीको अर्को कार्यस्थानमा पहिलोदिनको कार्यकोलागि जाँदैछु ।

आहा ! प्यारी असोज कार्तिक मंशिरको मौशम कति सुन्दर हुन्छ है । कृषकहरुले ६ महिना दुःख गरी उब्जानी गरेको बालीहरु थन्काउने समय जता हेर्यो उतै पहेला झुलेका धानका वाला काली याद छ तिमीलाई दशैको बेलमा खेतमा धान काट्न जाँदा मेरो हातमा ठेला उठेको । प्रवासको पानीले हातलाई पनि खिया लगाईदिएछ । तर पनि किसानको छोरा भएको हुनाले मैले किसानी काम कुनै पनि विसे्रको चाही रहिनछु है । माथिल्लो बारीको डिलमा फलले धान्न नसकेर लुगेंगेको बेलाउती अम्बाहरु टिप्दै तिमीले दिएको भर्खरै जस्तो लाग्छ मलाई । फलफूलमा सबैभन्दा प्यारो मलाई अम्बानै लाग्थ्यो । त्यसैले त तिमीले मेरो मनको कुरा बुझ्थेउनी हैन ।
प्यारी गन्थन जतिलेखेपनि सकिदो रहेनछ् अहिलेको दशै यसरीनै खल्लो गरी वित्यो अब अर्को दशैंमा म कसैलाई पनि निराश पार्ने छैन भन्दै विदा हुन्छु ।
एहि तिमीलाई धेरै मायाँ गर्ने बन्दिपुरे माहिलो

प्यारी छोरीहरु स्मृति तथा स्नेहा
तिमीहरु आरामै छौ होला हैन ।

हेरन अहिले पनि दशैमा घर आउन पाईन । तिमीहरुको याद आईरहन्छ तर के गर्ने म विवश मा छु । दशैं राम्रोसँग मान्नु ल छोरी स्मृति अष्टमिको दिन विहान तिमीसँग कुराकानी हुँदा म त रुन पुगे । बाबा दशैमा त तपाई नभएर खल्लो हुँदो रहेछ अब त जसरी पनि दशैमा आउनु भन्दा म थामीरहेको आँसु टिप्प भुईमा खसाउन पुगे । साच्चैनै दशैको बेलामा एकैसाथ नहुँदा खल्लो हुँदो रहेछ । यहाँ पनि मलाई यस्तै भएको छ । जसरी हुन्छ घरमा दशैको बेलमा नै जानु पर्ने रहेछ । तर छोरी अर्काको देशमा भनेको जस्तो नहुने रैछ नि त भनेको बेलामा बिदा नपाउने । छोरी पिङ्ग अलि विचार गरेर खेल्नु है सुनेको थिए अस्ति घर माथिको छिमेकीको छोरा पिङ्गबाट लडेर हात भाचियोरे भनेर । अनि सुन छोरी ममीलाई साथ दिनु ल दशैमा मामाघर सम्मको यात्रामा । अब त तिमी बुद्धिमानी भएकी छेउ है । बाबा नभए पनि रमाईलो गरी दशै मनाउनु । मलाई थाहा छ तिम्रा साथीहरुको बाबाहरु विदेशबाट आईपुग्नु भाको छ । उनिहरु बाबा ममीको साथमा सँगै हुँदा तिम्रो मन अवस्य रुने छ तर पनि मनलाई बुझाउनु ल । तिम्री बहिनी स्नेहालाई सम्झाउनु है अनि सानी छिन् । तिमीले जस्तो कुरा अलि बुझ्दिनन् । बाबा आउनु भएन भनेर पिरोल्छिन् होला भोलीपसर्ी आउनुहुन्छ भन्दै सान्त्वोना दिनु है । ल छोरी अब गन्थन धेरै गर्दिन । अर्को दशैमा भेट्ने वाचाका साथ विदा हुन्छु है ।
तिम्रो बाबा
उहि बन्दिपुरे माहिलो ।

1 Comments:

Nepalean said...

खेम जी यसरी खल्लो मान्नुभएन। दशै जस्तो चाडमा साथीभाइहरुसंग मिलेर परदेशमा भए पनि रमाइलो गरेर मनाउनु पर्दछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !